कृष्ण बजगाईंको ‘कुकुर क’ लघुकथा

- प्रा. डा. कपिल लामिछाने

विषयप्रवेश
सुनसरी जिल्लाको धरानमा २०२४ असार ९ गते माता तारादेवी र पिता रामकुमार बजगाईंका सुपुत्रमा रूपमा जन्मेका कृष्ण बजगाईं यता आएर बेलायतमा स्थायी बसोबास गर्दै त्यहीँबाट नेपाली भाषासाहित्यको संवर्धनमा लागिरहेका छन् । २०४८ को मधुपर्क मासिकमा ‘यन्त्रवत्’ लघुकथा प्रकाशनसँगै उनको लघुकथा यात्राको आरम्भ भएको हो । कथा, नियात्रा र हाइकुको सिर्जनाका समेत दखल राख्ने बजगाईँले नेपाली साहित्यको प्रवर्धनका लागि समकालीन साहित्य डट कम नामको वेभसाइट सञ्चालन गरेका छन्, जसमा नेपाली साहित्यका हजारौँ अमूल्य सिर्जनाको विशाल भण्डार भइसकेको छ । यन्त्रवत् (२०६४), रोडम्याप (२०६६) र कवच (२०७२) उनका हालसम्म प्रकाशित लघुकथासङ्ग्रह हुन् । उनका लघुकथामा स्वदेश तथा विदेशमा रहेका नेपालीका सूक्ष्मतम अनुभूतिलाई अभिव्यक्ति दिइएको हुन्छ । विवेच्य लघुकथा ‘कुकुर क’ अनन्त अर्याल समेतबाट सम्पादित समकालीन नेपाली प्रतिनिधि लघुकथा (२०७६) मा सङ्कलन गरिएको छ भने थोरै अंश थप गरी समकालीन साहित्य डट कममा २०७६ फागुन १३ मङ्गलबार पनि प्रकाशन गरिएको छ । यहाँ समकालीन नेपाली प्रतिनिधि लघुकथा (२०७६) मा प्रकाशित ‘कुकुर क’ लघुकथाको विवेचना गरिएको छ ।

आयाम
‘कुकुर क’ लघुकथा कृष्ण बजगाईंका प्रसिद्ध लघुकथामध्ये एक हो । यसमा लामाछोटा गरी चार अनुच्छेद र करिब १७५ शब्द रहेका छन् । एउटा लघुकथाका निमित्त यो आयाम एउटा मानक आयाम हो । छोटोछरितो भईकन पनि यहाँ विषयवस्तु र कथ्यले पूर्णता पाएको छ ।

कथानक
‘कुकुर क’ शीर्षकको लघुकथाको कथानक समकालीन राजनीतिक वृत्तसँग सम्बद्ध छ । राजनीतिक वृत्तमा एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति छ । यहाँ त्यसैलाई विषयवस्तु बनाइएको छ । यसलाई यहाँ वर्णमालाका अक्षरको प्रसङ्गबाट अथ्र्याइएको छ । प्राथमिक तहको वर्णमालाका अक्षरहरू आफूखुसी अथ्र्याएर पढाउन थालेको परिप्रेक्ष्यमा त्यसमा एकरूपता ल्याउन सरकारले राजनीतिक दलका शिक्षक र भाषाविद्हरूको बृहत् भेलाको आयोजना गर्नु, लेनिन कट दारी बनाएका क्रान्तिकारीले ‘कपुरी क’मा सत्ताको धङधङी देख्दै अबदेखि कम्युनिस्ट क भनेर पढाउनु पर्छ भन्नु, वी.पी. जस्तो चस्मा लगाएका भाषाविद्ले कम्युनिस्टभन्दा काङ्ग्रेस पार्टीको स्थापना पहिले भएकाले काङ्ग्रेस क भनेर पढाउनु पर्छ भन्नु, एकजना कुर्ताधारीले कबाट कलम भनेर सिकाउनु पर्छ भन्नु, यसैगरी कछुवा, कलम, कापी आदि शब्दमा समेत सहमति नजुट्नु, तर्क र विरोधले मर्यादा नाघ्नु, होहल्ला हुुनु, होहल्लाकै बीचबाट माइन्युट गर्ने कर्मचारीले कबाट कुकुर पढाउने प्रस्ताव पेस गर्नु, वास्तवमा कुकुर कसैको नाता नपर्ने हुँदा त्यसमै सर्वसम्मति जुट्नु जस्ता सूक्ष्मतम परिघटनाबाट प्रस्तुत लघुकथाको कथानकको निर्माण भएको छ । कथानक सरल र रैखिक छ । वर्णमालाका अक्षरहरू आफूखुसी पढाएको समस्याबाट यस लघुकथाको कथानकको आरम्भ भएको छ भने ‘कपुरी क’लाई ‘कुकुर क’ भनेर पढाउने सर्वसम्मतिमा पुगेर अन्त भएको छ ।

पात्र र चरित्र
‘कुकुर क’ लघुकथामा विचित्र प्रकारको पात्रविधान गरिएको छ । यहाँ सरकार छ र विभिन्न राजनीतिक दलनिकट शिक्षक र भाषाविद्हरू छन् । जोजे छन् तिनीहरू प्रतिनिधिमूलक छन् । सबैले आआफ्नो डम्फू बजाएका छन् । ‘कपुरी क’लाई कम्युनिस्ट, काङ्ग्रेस, कुर्तावाल आदिले क्रमशः ‘कम्युनिस्ट क’, ‘काङ्ग्रेस क’ र ‘कमल क’ भनी पढाउनु पर्ने प्रस्ताव राखेका छन् । एक पात्र माइन्युट लेख्ने कर्मचारी पनि छ । उसले ‘कुकुर क’ भन्ने प्रस्ताव राखेको छ र त्यो भने सर्वसम्मतिले पास भएको छ । यसले सहमतिको विन्दु बरु कर्मचारीले पहिल्याउन सक्छ भन्ने देखिन्छ ।

उद्देश्य
‘कुकुर क’ लघुकथाले राजनीतिक वृत्तमा देखापरेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरेको छ । परम्परादेखि प्रचलनमा रहेको र जसले कसैको केही नबिगारेको अवस्थामा पनि अनेक खोचे थापेर नयाँ र आफूअनुकूलको पढाउने प्रस्ताव अघि सार्नुले राजनीतिक दलहरूमा रहेको घोर असमझदारी र विद्वेषलाई सङ्केत गर्दछ । दलहरू कुकुरझैँ आपसमा निरर्थक लड्छन् र अर्को दलले राखेको राम्रै प्रस्ताव भए पनि त्यसलाई मानेर जानुभन्दा वरु ‘कुकुर क’ भनी पढाउन तयार भएका छन् । यस समकालीन राजनीतिक यथार्थलाई लघुकथाले छर्लङ्ग पारेको छ ।

राजनीतिक दलका बीचमा सानासाना र अनावश्यक विषयमा हुने माथापच्चीको प्रवृत्तिलाई यस लघुकथाले पटाक्षेप गरेको छ । माइन्युट लेख्ने कर्मचारीले ‘कुकुर क’ भन्ने प्रस्ताव राखेको र त्यो सर्वसम्मतिले पास भएको छ । यसले सहमतिको विन्दु बरु कर्मचारीले पहिल्याउन सक्छ भन्ने देखिन आउँछ । अन्तिम अनुच्छेद विचारवाक्यका रूपमा आएको छ । “होहल्लाकै बीचमा माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाउँ हजुर भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमति जनाए ।” यस अंशमै लघुकथाको उद्देश्य प्रतिध्वनित छ ।

परिवेश
‘कुकुर क’ लघुकथा २०६० यताको समकालीन परिवेशमा उभिएको छ । मुलुकमा राजनीतिक दलहरू त त्यसभन्दा अघि पनि थिए र त्यसपछि पनि छन् । तर हरेक कुरामा छाडापन र परिवर्तनको चाहना तथा परिवर्तन गर्दा आफूअनुकूल गर्ने लिँडेढिपी भने साठीको दशकमा बढी देखिएको हो । लघुकथा छोटोछरितो हुने हुँदा यसमा परिवेश चित्रणमा धेरै शब्द खर्च गरिँदैन । यहाँ पनि त्यसो गरिएको छैन, तथापि विषय र प्रसङ्गबाट परिवेश झल्कको छ ।

भाषाशैली
बाह्य दृष्टिविन्दुमा रचित ‘कुकुर क’ लघुकथामा प्रयुक्त भाषा सरल, सुवोध र स्तरीय छ । राजनीतिक दाउपेच, खिचातानी र लिँडेढिपीलाई प्रस्ट्याउनका निमित्त यहाँ ससाना बालबालिकालाई अक्षर चिनाउँदा प्रयोग गरिने ‘कुकुर क’लाई विषय बनाइएको छ । शैक्षिक क्षेत्रको विषय जस्तो लाग्ने गरी कथानकको आरम्भ गरी यसले राजनीतिक दाउपेच, खिचातानी र लिँडेढिपी अभिव्यञ्जित वा ध्वनित गरेको छ । यहाँ भन्न खोजिएको कुरालाई सोझै नभनी ध्वन्यात्मक रूपमा भनिएको छ । पुष्ट, खँदिलो वा सघन भाषिक प्रयोगले गर्दा भाषा प्रभावकारी बन्न गएको छ ।

निष्कर्ष
विदेशमा बसेर पनि नेपाली जाति, भाषा र साहित्यलाई सारै माया गर्ने कृष्ण बजगाईं लघुकथाको सिर्जना र संवर्धनमा समेत क्रियाशील
छन् । समकालीन यथार्थलाई कलात्मकता साथ लघुकथामा प्रस्तुत गर्नु उनको लघुकथा कौशल देखिन्छ । ‘कुकुर क’ एउटा त्यस्तै लघुकथा हो । साठीको दशकयता विकसित नेपालको राजनीतिमा परिवर्तनकामी आकाङ्क्षा, आफूअनुकूलको परिवर्तन गराउने चाह तथा राजनीतिक हठधर्मिता देखापरेको हो । परिवर्तनका नाममा दलहरू निरर्थक खिचातानी, द्वन्द्व र लिँडेढिपीमा पनि संलग्न हुने गरेका छन् । यस्ता कुरालाई यस लघुकथाले घतलाग्दो तरिकाले अभिव्यक्त गरेको छ । यहाँ त्यस्तो नहोस् भन्ने लेखकको चाहना पनि प्रतिध्वनित भएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 जेठ, 2077

लेखकका अन्य रचनाहरु