लघुकथा समालोचना खेमराज पोखरेलको ‘विवेकी कुकुर’ लघुकथा

- प्रा. डा. कपिल लामिछाने

विषयप्रवेश
सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–१२ (साबिक रूपनगर–२), बस्तीपुरमा २०१३ भदौमा आमा दुर्गादेवी र बाबु उद्धवप्रसाद पोखरेलका सुपुत्रका रूपमा जन्मेका खेमराज पोखरेल सानैदेखि साहित्यमा लागेका भए पनि लघुकथामा लागेपछिमात्र साहित्यिक जगत्मा परिचित भएका हुन् । उनका हालसम्म पछेउरीको आइसक्रिम (२०७३), दह्रो लौरो (२०७३), सिमानामा आमा (२०७५), राम शाहको चौतारो (२०७५) र ईश्वरको मृत्यु (२०७६) गरी पाँचवटा लघुकथासङ्ग्रह प्रकाशित भएका छन् । लघुकथामा लागेपछि पोखरेल यसकै सिर्जना र संवर्धनमा समर्पित भएका छन् । उनका लघुकथामा स्वदेश तथा प्रवासका नेपालीले अनुभव गरेका जीवनका विभिन्न समकालीन घटनाहरूलाई लघुकथाको रूप दिइएको हुन्छ । प्रस्तुत सन्दर्भमा उनको ईश्वरको मृत्यु (२०७६) लघुकथासङ्ग्रहभित्रको ‘विवेकी कुकुर’ शीर्षकको लघुकथाको संरचनात्मक अध्ययन गरिएको छ ।
आयाम
‘विवेकी कुकुर’ लघुकथामा लामाछोटा गरी आठ अनुच्छेद रहेका छन् । लघुकथा लघु अर्थात् छोटो हुन्छ । छोटोको मापन गर्ने एउटा आधार शब्दसङ्ख्या पनि हो । प्रस्तुत लघुकथामा करिब २५० शब्द छन् । त्यसैले शब्दसीमाका दृष्टिले प्रस्तुत लघुकथा लघुकथाको मानक ठहर्छ । कथानक, चरित्र, उद्देश्य, परिवेश र भाषाशैली लघुकथाका मुख्यमुख्य घटक हुन् । यहाँ यिनको समीचीन उपयोग भएको पाइन्छ ।
कथानक
प्रस्तुत लघुकथाको कथानकको स्रोत समाज हो । अमेरिकी सामाजिक पृष्ठभूमिमा कथानक बुनिएको छ । सोरौँ तलामा भएको अपार्टमेन्टको झ्यालबाट तल सडकमा हेर्नु, सडकमा मान्छे कम र गाडीमात्र गुडेको देख्नु, लिफ्टबाट तल झर्नु, नजिकैको पार्कमा जानु, पार्कमा कुकुर डो¥याएका मानिसहरू देख्नु, आपसमा नबोल्नु, बोले पनि सुस्तरी बोल्नु, एउटी अधबैंसे महिलाले सेतो रङको भुन्टे कुकुरलाई केही भन्नु र कुकुर उसको वरिपरि घुम्नु, कुकुरलाई काखमा लिनु, उसले जिब्रो निकाल्नु, कुकुरले जिब्रो ल्यापल्याप चाट्नु, कुकुरलाई आफ्नो साथी बताउनु, घरमा अरू कोही छैनन् भनी सोध्दा उसले आफू डिभोर्सी भएको, सात वर्षअघि डिभोर्स गरेको, छोराछोरीले आफ्नै संसारमा भएको हुँदा घरमा जेडी (कुकुर) र आफूमात्र भएको बताउनु, कुनै मान्छेलाई साथी बनाए हुन्थ्यो नि भन्ने सल्लाहका प्रत्युत्तरमा उसले जेडी जति बेलासम्म मसँग छ अब्बल, विश्वासिलो र आज्ञाकारी भएको बताउनु जस्ता सूक्ष्म घटनाबाट कथानक बनेको छ ।
लघुकथाको कथानक सूक्ष्म हुन्छ भने यस लघुकथाको कथानक पनि सूक्ष्म छ । पार्कमा भेटिएको एक अधबैँसेले पारिवारिक सदस्यका सट्टा कुकुरलाई साथी बनाएको मुख्य घटनाका केन्द्रमा अन्य सूक्ष्म घटनाहरू उनिएर आएका छन् । अपार्टमेन्टको सोरौँ तलाबाट आरम्भ भएको कथानक नजिकै पार्कमा कुकुर डुलाउने अधबैँसेको कथनमा गएर टुङ्गिएको छ । अधबैँसेले कुकुरलाई मानिसभन्दा विश्वासिलो साथी बताउनु नै कथानकको चरम र समापन वा अन्त्य पनि हो ।
पात्र र चरित्र
प्रस्तुत लघुकथामा एउटा म पात्र र अर्को अधबैँसे महिला मानव पात्र तथा सेतो कुकुर मानवेतर पात्र रहेका छन् । म पात्र लघुकथाको समाख्याता हो । अधबैँसेसम्म पाठकलाई डो¥याउने काम उसैले गरेको छ । महिला अधबैँसे मुख्य पात्र हो । उसले लोग्नेसँग सात वर्षअघि नै डिभोर्स अर्थात् पारपाचुके गरेकी छ । उसका छोराछोरी वयस्क भएका र आआफ्नो बाटोतिर लागिसकेका छन् । उसले एउटा सेतो रङको कुकुर पालेकी छ । त्यही नै उसको साथी रहेको छ । गौण पात्र कुकुर (जेडी) मानवेतर चरित्र हो । अधबैँसे महिलाका दृष्टिमा ऊ अब्बल, विश्वासिलो र आज्ञाकारी छ । उसको चारित्रिक गुणको समुल्लेखसँगै कथानकको अन्त भएको छ ।
उद्देश्य
प्रस्तुत लघुकथाले सभ्यताको विकाससँगसँगै पारिवारिक विघटन भएको, मान्छे स्वार्थी र व्यक्तिवादी भएको देखाएको छ । मान्छेको सुखदुखको साथी मान्छे अर्थात् परिवारका सदस्य हुनुपर्ने थियो । लोग्नेसँग डिभोर्स भएको छ र छोराछोरी आआफ्नो बाटो लागेका छन् । त्यसैले ऊ कुकुरलाई साथीका रूपमा लिन वाध्य भएकी छ । विश्वको यस्तो समकालीन यथार्थलाई झल्काइदिनु नै प्रस्तुत लघुकथाको उद्देश्य रहेको छ । हरेक मानिस आफ्नो पार्टनर र सन्तान सबैभन्दा अब्बल, विश्वासिलो अपेक्षा पूर्ण हुने अवस्था छैन । लघुकथाले यही यथार्थलाई देखाइदिएको छ ।
परिवेश
लघुकथाको सन्देश वा उद्देश्य सम्प्रेषणका निमित्त परिवेश महŒवपूर्ण हुन्छ, तर यसको लघुत्व र तीव्रताका कारण परिवेश सूच्य रूपमा मात्र उपस्थित हुन्छ । लघुकथामा परिवेशको व्यापक चित्रणका लागि ठाउँ रहँदैन । प्रस्तुत लघुकथामा सोह्रौं तलामा रहेको आफ्नो अपार्टमेन्टको चर्चा, अपार्टमेन्टको नजिकै रहेको बगैँचा, बगैँचामा घुम्न गएका हरेक उमेरका मानिसहरू, कम र विस्तारै बोलेको तथा कुकुरलाई साथी मानेको, डिभोर्स गरेको जस्ता कुराहरूले लघुकथा नेपालको कुनै गाउँ वा सहर नभएर विकसित मुलुकको सहर भन्ने बुझिन्छ । लघुकथाको अन्तमा ‘सान एन्टोनियो अमेरिका’ उल्लेख भएकाले प्रस्तुत लघुकथा त्यहीँको परिवेशमा त्यहीँ बसेर रचना गरिएको बुझिन्छ । अमेरिकाली परिवेशमा रचना गरिए पनि लघुकथाले दिने सन्देश बदलिँदो सामाजिक संरचना भएको कुनै पनि देशका नागरिकका लागि रहेको छ ।
भाषाशैली
प्रस्तुत लघुकथाको समाख्याता म पात्र (लेखक) स्वयम् उपस्थित भएकाले यस लघुकथामा आन्तरिक दृष्टिविन्दु देखिन्छ । कथानक र उद्देश्यका केन्द्रमा अधबैँसे भएको हुँदा दृष्टिविन्दु आन्तरिक भए पनि परिधीय रहेको छ । म पात्र केन्द्रमा नभएर कथानकको परिधिमा मात्र रहेको छ ।
प्रस्तुत लघुकथाको भाषाशैली सरल, सहज र बोधगम्य रहेको छ । छोटाछोटा वाक्यहरू एकपछि अर्को शृङ्खलित भएर विचारलाई सम्पे्रषण गर्न जुटेका छन् । लघुकथाको भाषा अझ सघन र कसिलो हुनु पर्ने देखिन्छ ।
निष्कर्ष
जीवनको उत्तरार्धमा लघुकथामा लागेर एकपछि अर्को कीर्तिमानी काम गर्ने खेमराज पोखरेलको नेपाली लघुकथाको विकासमा उल्लेख्य योगदान छ । उनका पाँच लघुकथासङ्ग्रह प्रकशित भइसकेका छन्, जसमा ७१।७१ लघुकथा रहेका छन् । उनको विवेच्य लघुकथा ‘विवेकी कुकुर’ भने ईश्वरको मृत्यु (२०७६) मा सँगालिएको छ । विज्ञान–प्रविधिको विकास र सुखसुविधाको खोजीले गर्दा पारिवारिक विघटन र व्यक्तिवादी चिन्तन हावी भएको छ । परिवारका सदस्य एकै घरमा रहने र आत्मोन्नति गर्ने परम्परा टुट्न गएको छ । बाबु, आमा, पति, पत्नीप्रतिको जिम्मेवारीबोध शिथिल भएको छ । बुढेसकालको साथी पति, पत्नी या छोराछोरी हुनुपर्नेमा कुकुर हुन पुगेको छ । यहाँ विवेक गुमाएका मान्छेलाई कुकुरभन्दा तल्लो कोटिमा स्थानापन्न गरिएको छ । यो यस लघुकथाको व्यञ्जना हो । यहाँ प्रत्यक्षतः कहीँ कसैलाई गालीगलोज छैन, तर अविवेकीप्रति त्यो ध्वनित भएको छ । यहाँ मान्छेले बुझोस्, सिकोस् र जिम्मेवार बनोस् भन्ने सकारात्मक सन्देश सुटुक्क दिइएको छ । लघुकथाका सम्यक् संरचक घटकको उपयोग गरी रचना गरिएको प्रस्तुत लघुकथा एउटा उद्देश्यमूलक र स्तरीय कृतिका रूपमा देखापरेको छ ।
--

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 जेठ, 2077

लेखकका अन्य रचनाहरु