खम्पा विम्ब

- राजेन्द्रमान डंगोल

भोलिपल्ट ।
आइरहेको थियो आँखामा उही खम्पा विम्ब । मेरो मन र मस्तिष्कभरि छाइरह्यो त्यो कालखण्ड । साँच्चै त्यो विद्रोह साम्य नभएको भए......... । भयग्रस्त तानामा तरङ्गिएँको थिएँ म ।
“च्याखुमा यताबाट जाँदा पहिलो चाहिँ (डिकी रेस्टरेन्ट) हाम्रो हो । त्यहाँ मेरो बुरा बस्छ । म फोन गर्छ । त्यैँ जा है लन्च गर्न । तपाईंहरूको खाना तयार भइराख्छ ।”
मेताबाट निस्कनु अघि श्रीमान्को कार्ड थमाउँदै डिकीले सम्झाइन् हामीलाई ।
मेतामा बूढी, च्याखुमा बूढा । याम रहेसम्म दाम कमाउने गज्जबको काइदा । लगानी गर्नसके प्रतिफलको त के कुरा !
यात्रा तालिकाअनुसार त पुग्नुपर्ने फु थियो तर उचाइ अनुकूलनका लागि क्याङ (३,८०० मिटर)मै बस्ने तारतम्य मिलाइसकेको थिएँ ।
“तपाईंहरू जाँदै गर्नुस् । म च्याखुमा भेट्न आइपुग्छु । अनि सँगै जाउँला ।” क्याङका टासी देलेक होटलका सञ्चालक कर्मा तेन्जिङले भने ।
डिकी होटलकै डाइनिङमा चिनाजानी भएको थियो उनीसँग अघिल्लो साँझ । क्याङमा उनकै होटलमा बस्ने निधो गरेको थिएँ मैले ।
००००
लगभग एघार किलोमिटर हो आजको हिँडाइ ।
चिसोले मेताको प्रहरीचौकी केही दिनअघि नै सरिसकेको रहेछ । इजाजत–पत्र जाँच गराउने झन्झट पनि भएन । क्या मज्जा !
पहाडको सेपिलो पखेरोमा हिँड्दै छौँ हामी । फराकिला पाटन, घुम्ती र देउरालीहरूसँग परिचय भइरहेको छ यतिखेर । नाउरले मात्रै राज्य चलाइरहेका यी भूगोलहरूमा मनमनै यार्चागुम्बा, निर्मर्सी, पाँचऔँले, वनलसुन र जिम्बुजस्ता बहुमूल्य जडीबुटीहरूको व्यावसायिक खेती गरिरहेको छु म ।
००००
हिजोको झैँ आज पनि ज्यानले धोका देला कि भन्ने चिन्ता थियो । तर दिएन । फिलिपले दिएको ‘मसल इन्फ्लामेशन क्रिम’ले पनि राम्रै काम गरेछ । त्यसो त आजको बाटो पनि सजिलो छ ।
पारिपट्टि टल्किरहेका छन्, विशालकाय नाङ्गा पहाडका नागीहरू । देखिन्छन्– नारफेदीको साते गुम्बा र नारगाउँ जाने पदयात्राको नागबेली धर्सा । त्यसैको पुछारमा जम्काभेट हुन्छ, दुई खोला लोप्से र फु । हेर्दा साना तर आवाज ठूला । सायद यिनले आगन्तुकहरूलाई सुनाइरहेछन्– नारपा भूमिको अलिखित कथा र ब्यथा ।
“पर्सिको दिन हामी त्यही गुम्बामा रात बिताउँदै छौँ ।” फिलिपलाई भनेँ मैले ।
सुनेर पनि कुनै प्रतिक्रिया जनाएनन् उनले ।
बाटोको छेउछाउमा छन्– तन्किन नसकेका धूपीका बुट्यानहरू । ज्यादै ज्याद्रा वनस्पति । हरेक वर्ष हिउँले थिच्दा, मिच्दा र लछार्दा पनि बाँचिरहेका छन् । तिनैले फ्याँकेको प्राणवायुले प्राण धानिरहेको छौँ हामी । नाउरका बथान आएका छन् बाटैसम्म, हामीलाई स्वागत गर्न ।
तस्बिर पनि कति मात्रै लिनु । ग्रान्डालाका बथानले उडान भर्न थालिसकेका छन् आकाशमा, घरी यता घरी उता गरेर चक्कर मार्दै । हेर्नलायक थियो तिनीहरूको रगरगी र चकचकी । चराजस्तै उड्न सक्ने भए त फु पुगेर पनि फर्केर आजै नार हुदैँ काङ्ला पास गर्ने थिएँ । स्वैरकल्पनामा डुब्न पुगेँ म ।

आकाश त देखिन्छ नै । यति निखुर भने देखिन्न सितिमिति । फेरि निलोमा सेता बादलका लाप्साहरू छुन्मुनाएको बेला सौन्दर्य अर्कै । बादलको बुई चढेर कुमारी पहाड र हिमालको थाप्लो टेक्दै आकाश छुन पाए गुञ्जाइदिन्थेँ आफ्नो आवाज ब्रह्माण्डभरि ! फेरि कल्पनाको सागरमा डुबुल्की मारेँ मैले ।
मेताबाट हिँडेको डेढ घण्टासम्म कोही कसैको बीचमा सम्वाद नहुनु आफैँमा रोचक थियो । प्रकृतिको वशवर्तीमा थियौँ हामी सबैसबै । चुपचाप ।
तोड्न मन लाग्यो मलाई त्यो मौनता ।
झुनुम देउराली(३,६४० मिटर) मा पुगेपछि फिलिपलाई सोधेँ, “कोम भु सँते–भु म्यातनाँ ? अर्थात् ‘अहिले कस्तो महसुस भइरहेको छ ?’
उनको भनाइ थियो– “नु सम् याब्सोलुम प्याख्दु दँ ला नात्यू !” अर्थात् ‘हामी एकदम प्रकृतिमा हराइरहेका छौँ ।’
लिनेजति तस्बिर लिएर पनि क्यामरालाई आकाशतिर सोझ्याउँदै थिए बाबुछोरा । चलायमान बादलको भिडियो लिएको रे । मोबाइलबाट सेल्फी पनि त्यत्तिकै लिइरहेका छन् । लाग्थ्यो– प्रकृतिबाट पाएको खुसी र उमङ्गलाई क्यामरामा कैद गर्दै छन् उनीहरू ।
“आजसम्म त मौसम राम्रै छ । भोलि र पर्सिचाहिँ खै के हुने हो । राम्रो हुने छाँट देखिन्न । यो दुई दिन मज्जाले हिउँ प¥यो भने त काङ्ला पास गर्ने सपना तुहिन्छ नि !” वेदर एप्स हेर्दै गरेका जयनाथको चिन्ता ।
“काङ्ला पास गर्न नसके कोतो फर्कने नि ! ट्रेकिङ पनि छोटिने । झन् मज्जा । तलब पाकिहाल्छ के रे !” ठट्टाभावमा राम ।
००००

पुरानोे बस्तीको भग्न अवशेष देखिन्छ झुनुममा । परित्यक्त बस्तीझैँ भान हुन्छ । कसरी खण्डहरमा परिणत भयो होला ? कतै कुनै महामारीको कारणले त होइन ? जान्न खसखस लागिरहेको छ तर कसलाई सोध्नु ? मान्छे नभेटिएर अनुत्तरित रहे म ।
झुनुमबाट टड्कारै देखिन्छ च्याखु । हेर्दा नजिक देखिए पनि बोर्डमा भनिएको छ– एक घण्टा । हिँड्न त परि गो । ज्यान नपुगेपनि मन दगुेर पुगिसक्छ च्याखु र च्याखुको हिमनदीसम्मै ।
झर्नुजति झरिसकेर दुई पहाडको खोँचमा अडिएको हिउँको रास देख्दा परेलीबाट चुहिन लागेको आँसुको ढिक्काजस्तै लाग्छ– च्याखु हिमनदी । यसैले सौन्दर्य बढाएको छ प्रकृतिको । म सोच्छु– हिमनदी नहोस् त प्राकृतिक सौन्दर्यमा कति कमी आउँथ्यो होला । हिउँ बनेर पहाडका सिउँदाभरि छरिएको महसुस गर्छु म ।
पातलिइसकेका छन् वनस्पती । भोजपत्रका उजाड बोट र खङ्रङ्ग सुकेका धुईफूलहरू मात्र भेटिन्छन् बाटोका छेउछाउमा । कतैकतै भेटिन्छन् याक र नाकका जोडी उघ्राईबसेका ।
आज पनि बाटोमा भेटिएका प्लास्टिकका खोलहरू टिप्न छाडेका छैनन् म्याक्सिमले । मान्नैपर्छ उनको जाँगरलाई । हुन त ‘नयाँ जोगीले धेरै खरानी घस्छ रे’ भन्छन् । हामीजस्तै पथप्रदर्शक भएर आउने हो भने उनलाई पनि यही उखानको याद आउँथ्यो होला । मेरो मनोवाद ।
यात्राका हरेक पाइलामा गाँसिएको हुन्छ– फोहोर । फोहोरबाट पृथक रहन नसकेपनि हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ । म्याक्सिमले जस्तै गर्ने गर्थे पहिलेपहिले जयनाथले । ट्रेकिङ गाइड एसोसिएसन (ट्रेगान)को अध्यक्ष हुँदा ताक उनी पनि प्लास्टिकका खोलहरूलाई यसरी नै टिप्थे, सहयात्रीलाई पनि टिप्न लगाउँथे र ‘ट्य्रास बिन’ भएको ठाउँसम्म ल्याएर छाड्ने गर्थे । एकपटक टिप्यो, अर्कोचोटि जाँदा फेरि त्यत्तिकै । आँखाले देखेको फोहोरको दृश्य मान्छेको मनसम्म नपुगेपछि फोहोर, फोहोरै भएर बस्दोरहेछ । सफाइ त चेतनाको कुरा हो । पछि उनले चाल पाए– एउटाको प्रयत्नले मात्र सफल नहुने रहेछ यस्ता कुरा ।
राम र म्याक्सिम सँगसँगै छन् । पछाडि जय आफ्नै पयरको तालमा । यतिखेर भने फिलिप र म सँगै छौँ ।
“मेरी पहिलो श्रीमतीपट्टिको छोरो हो म्याक्सिम । मेरी एउटी छोरी पनि छे । म्याक्सिम चार वर्षको मात्रै थियो हाम्रो पारपाचुके हुँदा । प्रसङ्गवस अन्तरङ्ग कुरा खोले फिलिपले ।
उनको कथन थियो– ‘उनीहरू दुबै आमासँगै बस्ने भएकोले मैले माया गर्नै पाइनँ । तर उनीहरूको भरणपोषण भने मैले नै गरेको हुँ । म्याक्सिम नाम गरेका अरू पनि भएकाले स्कुलमा मैले म्याक्स मात्र लेख्न लगाएँ । मायाले म उसलाई म्याक्सु भन्ने गर्छु ।”
गम्भीर भावमा पुगेर उनी टक्क रोकिए ।
बिहे हुनु, बच्चा जन्मनु र परिवार टुक्रनु सामान्य कुरा हो युरोपमा । फगत् भावुक अभिव्यक्ति मात्र हुन्, सँगै मर्ने सँगै बाँच्ने बाचाबन्धनहरू ।
उनी भन्थे– ‘पारपाचुके त संस्कार नै हो युरोपको ।’
‘कसरी भयो त पारपाचुके ?’ सोधौँ कि जस्तो लागेको थियो ।
सोधिनँ ।
विगत सम्झाएर उनी उदास भएको देख्न चाहन्नथेँ म ।
कति विदेशीहरू पारपाचुके भएपछि मनलाई सान्त्वना दिन पनि नेपाल आउने गर्छन् । कतिपय त साथी खोज्ने अभिप्रायका साथ आएका हुन्छन् । यस्तोमा पथप्रदर्शकहरूलाई चिठ्ठा पनि पर्ने गर्दछ । कति पथप्रर्दक त यस्तै अवसरको खोजीमा हुन्छन् । ‘जुँगा चल्यो कुरा बुझ्यो’ भनेझैँ मनोभाव बुझ्न बेरै नलाग्ने । यसरी नै कतिले जिन्दगी बनाए त कतिले भत्काए पनि । लेखान्तको कुरा न हो !
खहरेले खण्डित गरेका थुमहरू छिचोल्दै खस्रो चट्टानका विशाल टाकुराको सामुन्ने पुग्यौँ हामी । भोजपत्रका बोटजस्तै खङ्ग्रङ्गिएको चट्टानी पहाडमा सेता धर्का कोरिएका छन्, कतै सीधा र कतै बाङ्गा । बोर्डमा लेखिएको छ– ‘च्याखु– ३,७३५ मिटर, खम्बा सेटलमेन्ट ।’
सानो उपत्यका हो– च्याखु ।
च्याखुडाँडाको फेदीमा छ च्याखुबस्ती । छेउको डिलले च्यापेर बसेको छ– खण्डहर । उतिबेला खम्पाहरू बस्ने घर र उनीहरूको सुरक्षापोस्ट थिए ती । भग्नावशेषहरूले मूक भाषामा भनिरहेका छन्– इतिहासको गर्तमा लुकेको खम्पा विद्रोहको कथा ।
सानो छँदा सुनेको थिएँ– खम्पाहरू तिब्बतबाट आएका रे । सन् १९५० मा चीनले तिब्बत निलेपछि खम्पा मूलका तिब्बतीले हतियार उठाए र चिनियाँविरुद्ध विद्रोह थाले । मुस्ताङ, मनाङजस्ता दुर्गम स्थानमा तत्कालीन श्री ५ को सरकारको उपस्थिति नभएकाले यही ठाउँलाई आधार बनाएर गुरिल्ला युद्ध लडे । सीआईएलगायतका बाह्यशक्तिले खम्पाहरूलाई शस्त्र सहयोग गरेपछि चीनले नेपाल सरकारलाई दबाब दियो । नेपालले खम्पा विरुद्ध अपरेसन थाल्यो । गे वाङ्दी भनिने मूल नेतालाई मारेपछि विद्रोह सकियो । धेरै खम्पा विद्रोहीहरू हातहतियार बिसाई सामान्य नागरिक जीवनमा फर्किए । नुवाकोटको महारानी डिमा पनि खम्पाहरूलाई क्याम्प बनाएर राखिएको थियो । धुमिल याद छ मसँग स्थानीय खम्पाहरूको ।

यो विद्रोहको अन्त्य बेलैमा हुनुपथ्र्यो र भयो पनि । नत्र प्रत्युत्पादक हुन्थ्यो नेपालकै लागि । लोपोन्मुख जङ्गली जनावरहरू मारेर सखापै पारिसकेका थिए रे खम्पाहरूले । स्थानीयबासीले उनीहरूको आततायी ब्यबहार सहिरहेका थिए रे । बिझेको काँडा झिकेजस्तै भएथ्यो होला स्थानीयहरूलाई ।
यो विद्रोहको अन्त्यपछि चीन विरोधी गतिविधि नहोस् भनेर तत्कालीन श्री ५ को सरकारले हुम्ला, डोल्पा, मुस्ताङ र मनाङजस्ता चीनको सिमाना जोडिएका गाउँ पञ्चायतमा बाहिरी विश्वका लागि प्रवेश निषेध ग¥यो । नेपालले ‘एक चीन नीति’मा सहयोग पु¥यायो ।
सन् २००१ सम्म निषेधित क्षेत्रका रूपमा थियो नार–फु । त्यसपछि मात्र खुला गरिएको हो पदयात्राका लागि । त्यो पनि मुस्ताङ, डोल्पा, मनास्लु हुम्लाजस्तै नियन्त्रित क्षेत्रका रूपमा । यी क्षेत्रहरूमा पदयात्रा सञ्चालन अहिलेजस्तो सहज कहाँ थियो र ! सरकारले सम्पर्क अधिकारी खटाइदिन्थ्यो । बिरलै अधिकारीले मात्र जिम्मेवारी निर्वाह गर्थे । धेरैजसो जाँदैनथे, कोही बीचबाटोबाटै फर्कन्थे । कागज मिलाउँथे, भत्ता पचाउँथे । क्या मज्जा उनीहरूलाई ! घाँडो भइरहेको थियो व्यवसायीहरूलाई । ब्यर्थमा प्याकेजको मूल्य मात्र बढ्थ्यो । यो चलन हटाउन खोज्दथे व्यवसायीहरू तर गृह मन्त्रालयले छिर्के हानेको हान्यै । सन् २००२ मा सुमन पाँडे ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को अध्यक्ष हुँदा सम्पर्क अधिकृत पठाउने चलनको अन्त्य गर्न सफल भए । त्यसपछि त लुतो फालेकोजस्तै भयो व्यवसायीहरूलाई ।
००००
भर्खर मात्र दश बजेको छ । भोक छैन । क्याङ जाउँ भने कर्मा आइपुगेकै छैनन् । फु जाउँ त छ घण्टा लाग्छ । छिट्टै लन्च गर्नुको विकल्प थिएन हामीसँग ।

मेताको डिकी होटलकी डिकीले भनेबमोजिम च्याखुको डिकी रेस्टुरेन्टमा छि¥यौँ । टेबल, कुर्सी मिलाउँदै थिए एक जवान । साहुजी उनै होलान् भन्ने लाग्यो र ‘नमस्ते’ गरेँ । प्रतिवचन आएन । ठानेँ– उनले देखेनन् वा सुनेनन् । दोहो¥याएर ‘नमस्ते’ गरेँ । कुनै प्रतिक्रिया नआएपछि तेस्रो पटक भने गरिनँ । अक्सर पाहुनाहरू आइपुग्दा मुस्कान फ्याँक्ने गर्छन् होटलवालाहरू । तर उनमा त्यो संस्कार रहेनछ ।
केही बेर पछि उनैले सोधे, “खाना खान छिटो हुन्छ होला । चियामात्रै खाने त होला नि ?”
“पहिला चिया पिऔँ, अनि खाना खाउँला ।” मेरो जवाफ ।
चिया पिएको धेरैबेरपछि उनले सोधे, “तपाईंहरू खाना खाने हो कि होइन ?”
रुखोे बोली । ‘हर्रो खाएर टर्रो भएको’ भनेजस्तै ।
“हो । ल्याउनुभए हुन्छ ।” मैले भनेँ ।
“अघि नै भन्नु पर्दैन त ? समय लाग्छ ।”
“मेताबाट दिदीले फोन गरिदिन्छु भन्नुभएको थियो त ।” नम्रभावमा पेश भएँ म ।
“फोनसोन आ’छैन कसैको ।” फेरि टर्रो जवाफ ।
यतिसम्म रुखो बोलिबचन भएको व्यवसायी पनि हुँदारहेछन् । उनी स्थानीय महिलासँग बिहे गरेर बसेका बेनीका मगर । बेनी त धेरै पटक पुगेको छु । तर यति टर्रो मानिस देखेको थिइनँ ।
खाना पनि खाउँ कि नखाउँ बनायो उनको रुखो बोलीले । मनले भनिरहेको थियो– सायद माथिल्लो रेस्टुरेन्टमा गएको भए कम्तीमा रुखो वचन त सुन्नु पर्ने थिएन कि !

भान्सा नजिकैको टेबलमा रक्सीको चुस्की लगाउँदै थिए एक अधबैँसे । उनी थिए छाम्जीको ओडारमा भएको रेस्टुरेन्ट मालिक अर्थात् कृष्ण श्रेष्ठ । उनकै रहेछ हिजो हामीले खाना खाएको रेस्टुरेन्ट । चौध वर्षकै उमेरमा दोलखाबाट आएर खच्चर धपाउने काममा लागेका रे । अग्लो भएकोले स्थानीयले ‘लङ्गुरे’ भन्दारहेछन् । अहिले आफ्नै चौधवटा खच्चर छन् । श्रीमती छाम्जीमा, उनी यता । फापेकै रहेछ उनलाई पनि नारपाभूमि ।
कुराकानीको क्रममा उनले भने, “नराम्रो काम गरेन । राम्रो काम ग¥यो । यतै बस्यो । यतै बिहे ग¥यो मैले ।”
सानैदेखि यतै बसेकोले लवज पनि यतैका मान्छेको जस्तै छ उनको । यतैको हावापानीले छोएको छ उनलाई । मदिराकै नास्ता, मदिराकै लन्च र मदिराकै डिनर लिँदारहेछन् उनी । मौसमले चुनौती दिएपछिको बाध्यता उनको । यही त होला– ‘देश गुनाको भेष, टाउको गुनाको केश र साथी गुनाको सङ्गत’ भनेको ।
“बिहान सात बजे पानी लिन आएको मान्छे अहिलेसम्म पनि रक्सी धोकेकोधोक्यै छ यो लङ्गुरे ।” निचोरिँदै थिए रेस्टुरेन्टवाला मगर ।
खाना खाइरहेका एक जनाले हरियो खुर्सानी मागे ।
“हरियो खुर्सानी खान बेसीसहर जानू ।” उनको जवाफ ।
मीठो बोलेको त सुन्नै नपाइने । अक्क न बक्क परे बिचरा ग्राहक ।
लन्च गर्दा एक बज्यो ।
क्याङका होटलवाला कर्मा पनि आइपुगे, च्याखु छाड्न लाग्दा ।
“तपाईंहरू क्याङ पुग्दा म पनि आइपुग्छु ।” उनको आश्वासन थियो ।
००००
फन्को मार्दै छ घडीको सुईले । घडी समयसँगै हामी उकालिँदै छौँ ।
सम्झनलायक इतिहास नभएपनि मानसमा खम्पा विद्रोह खेलिरहेको छ र आँखामा आइरहेको छ खम्पा–विम्ब । त्यही खण्डहर हेर्छु घरीघरी पछाडि फर्केर । बलिया देशहरूले निर्धालाई सर्लक्क निल्छन् र पचाइदिन्छन् । छिमेकी चीनले तिब्बत र भारतले सिक्किम पचाए मज्जैले । गरेनन् कसैले कसैको विरोध । तैँचुप मैँचुप । जमिन जति भएपनि पुग्दोरहेनछ यी भूमिपतिहरूलाई । सिक्किमका तत्कालीन राजा पाल्टेन थोन्डुप नाम्ग्याल स्व. श्री ५ वीरेन्द्रको राज्याभिषेकमा नेपाल आएका बेला स्वतन्त्र राष्ट्रका रुपमा बचेकोमा बधाई दिएका थिए रे । कालापानी, लिपुलेक र लिम्पियाधुराको फेरो तानिइसकेको छ । कतै त्यो कालो साम्राज्यसित बलात्कृत हुनुपर्ला कि भनेर झस्किरहन्छु म बेलाबेला ।
तीनवटा पच्याङ पार गरेपछि पाइलो राखियो, लुङदर फर्फराइरहेको डाँडोमा ।
चारैतिर खगरे पहाड र अक्करे भीर । तल देखिन्छ फराकिलो जमिन । कोप्चेरोमा छ– एउटा सानो बस्ती । एकअर्कामा जोडिएका छन् ढुङ्गामाटोका छानाबिहीन घरहरू । बस्तीनजिक ठाउँठाउँमा ढुङ्गाहरूको थुप्रो लगाएर बनाइएको छ देउराली । बस्तीसँगै छन्– निलो र हरियो छानासहितका तीनवटा होटल । अशोभनीय लाग्थ्यो, प्राकृतिक रङले भरिएको क्याङमा निलो र हरियो रङका जस्तापाता ।
दश मिनेट लाग्यो ओर्लन । मात्र तीन बजेको थियो क्याङ पुग्दा । ठ्याक्कै दुई घण्टा लागेछ च्याखुबाट । लामो दिन भए त फु पुगिने रहेछ । छोटो दिनमा क्याङमै बस्नु ठीक । सही थियो हाम्रो निर्णय !
“इट्स इनफ फर टुडे ।” टासी देलेक होटलको आँगनमा झोला बिसाउँदै फिलिपले भने ।

साढे पाँच घण्टा हिँडेछौँ । अब आरामै आराम । न्याय पाए गलित पैतालाहरूले ।
चौरमा बसेर उग्राइरहेका थिए केही याक र नाकहरू । यताका अधिकांश बासिन्दाले याक र नाक पालेका हुन्छन् । बेलगाम हुन्छन् यिनीहरू हिउँदभरि नागी–यँुमा ।
कस्तो संयोग ! एकै चोटि भयो क्याङ पुग्नु र हिमकणहरू बर्सिनु । आँखा चारैतिर पु¥याएँ । काङ् ला भञ्ज्याङको आकाशमा काला बादलका पत्रहरू खापिँदै थिए । मौसमले छाँट पार्न थालेपछि कसको के लाग्छ र ! सप्रन र बिग्रन बेरै नलाग्ने । यता हिमकण बर्सनु भनेको काङ लातिर हिउँ परेको सङ्केत थियो ।
“भोलि र पर्सि मौसमले धोका दिँदै छ हामीलाई ।” वेदर एप्स हेर्दै च्याँट्ठिए जयनाथ ।
काङ लामा बाक्लो हिउँ पर्ला कि भन्ने चिन्ता हुँदाहुँदै पनि मैले भनेँ– “यो शुभ सङ्केत हो ।”
पैँतीसवटा घरहरू छन् क्याङमा । ती पनि खम्पाकालमा बनेका । अहिले यी घरहरू फुका वासिन्दाहरूले हिउँदमा प्रयोग गर्ने गर्छन् ।
आइपुगे कर्मा ।
चारवटा कोठा रहेछ उनको होटलमा । पाहुना हामी मात्रै । बन्द गरिसकेका होटल हाम्रै लागि खोलेका थिए उनले । नत्र फु नै पुग्नुपथ्र्यो बास बस्न । लामो हिँडाइले कुन हविगत हुँदो हो हाम्रो !
“हप्तादिन भयो होटल बन्द गरेको । गणेशजीको वहानले के पो उपद्रो मच्चाइसक्यो होला ।” डाइनिङ रूम खोल्दै उनले भने, लाक्षणिक भाषामा ।

नभन्दै त्यस्तै गरेको रहेछ । असरल्ल थिए– टेबलभरि जताततै चाउचाउ, बिस्कुटका टुक्रा र त्यसका खोलहरू । खाली बोराहरू धुजाधुजा पारेका ।
स्थानीय मुसाले क्याङको टासी देलेक होटल चलाएछ कर्मा नभएको बखत । चारखुट्टे भएर होला यतिमात्रै गरेछ । उता राजधानीमा बसेर दुईखुट्टे मुसाहरूले त देशै तहसनहस पारिसके । मौका पाएपछि के छाड्थ्यो । मुसाको जात न हो ! त्यसमाथि पनि ढाडेमुसा ।
उनी भन्दै थिए– “प्वाल त कहीँ राखेको थिएन । कहाँबाट छिरेछन् यी डाम्नाहरू । धन्न चामलको बोरा चाहिँ छोएनछन् ।”
“सिमानामा सुरक्षा पुगेन कि !” मेरो ठट्टा ।
“झ्यालमा चुक्कुल त लगाएकै थिएँ ।” कर्माको भनाइ ।
उनी किचन खोल्नपट्टि लागे । हामीले डाइनिङ सफा ग¥यौँ । बिचरा एक्लैले के पो गरोस् । सहयोग त गर्नै प¥यो ।
००००
फुस्फुसाइरहेछ हिउँ । चिसोले बाहिर निस्कन मन लागेको छैन । चुला सल्काउँदै थिए सोनाम । किचनमा पस्यौँ हामी पनि ।
भारमा टाँगिएको छ याकको फिला र पिठो भरिएको आन्द्रा । कोतोदेखि नै यस्तै देखिरहेका छौँ हामी । सुकिसकेकोले मात्र हो नत्र आलो भइदिएको भए तपतपी चुहिन्थ्यो होला त्यसको रस । आफूले नखाने भएपछि दिगमिग त लाग्ने नै भो ।
एक मनले भन्छ– ‘यसरी नराखिदिएको भए हुन्थ्यो नि !’
अर्को मनले भन्छ– ‘उनीहरूको संस्कार नै यस्तै ।’
घरीघरी भारमै पुग्थे मेरा आँखा ।
“सुकुटी खानु हुन्छ कि तपाईं ? खाने भए बनाइदिन्छु ।” उनको सोधाइ ।

सुकुटीको त सौखिन नै हुँ नि । राँगाको पोलेको सुकुटीलाई सिलौटामा थिच्दा छुट्टिएका केस्राहरूलाई साँधेर रक्सीसित खाँदा ख्याल मिठो हुँदैन । आफूले खाने चाहिँ नपरेपछि के गर्नु ।
“अहिलेसम्म त मुखमा पारिएन । अब के पार्नु । भो दुःख नगरौँ होला ।” मेरो जवाफ ।
सोनामसहित पाँचजना थियौँ हामी त्यो साँघुरो किचनमा । धिपधिपाइरहेको थियो सोलार बत्ती । सोनामले बालेको चुलोबाट प्रशारण भइसकेको थियो ताप ।
उनले पानी तताए । चिया बनाए ।
पहिले चिया पियौँ, त्यसपछि लगायौँ तीनपानेको भित्रीकोट । ज्यान तात्न बेरै लागेन । गफको न्यानो । आगोको न्यानो । तीनपानेको न्यानो । झ्याल ढोका बन्द । सख्त निषेध थियो चिसोलाई भित्र छिर्न । फिलिपका बाबुछोराले पनि रहर गरे तीनपानेको भित्रीकोट लगाउँन । उचाइमा स्थानीय मदिराको भित्रीकोट लगाउनु राम्रो त होइन तर बानी परेकालाई एक पेगले त केही लछारपाटो लाउँदैन ।
विशेष तरिकाले मनाइरहेका छौँ साँझलाई मानौँ– कुनै विशेष पर्वको दिन हो आज ।
सोनामले भात बसाले । करेसाबाट एक मुठी साग ल्याएर चिमोटे र ताइमा ओल्छ्याए । उम्लिएको दालमा जिम्बु झाने । मनमा लागिरहेको थियो– ‘आहा, सागको सट्टा गुन्द्रुक उमाल्न पाएको भए यो चिसोमा क्या मज्जा आउँथ्यो होला ! बरु आफैँले बोकेर आउनु पर्ने रहेछ ।’ बेस्सरी याद आयो मलाई गुन्द्रुकको स्वाद ।
बेलैमा गरियो रात्रीभोज । दाल–भातमा निकै खुसी भए फिलिप र म्याक्सिम पनि । भागमा परेको थियो, चार–चार त्यान्द्रा साग । कति स्वादिलो ! थप चार त्यान्द्रा अरू भइदिएको भए त गज्जबै हुने । तैपनि मेरो केही गुनासो थिएन । यति भनेपनि गरे हाम्रा लागि । बिचरा सोनामको आतिथ्य । धन्य थियौँ हामी ।
खानापछि उनीसित केहीबेर कुराकानी भयो ।
“उमेर कति भयो त कर्माको ?”
“अठ्ठाईस ।”
“बिहे भयो ?”
“छैन ।”
“कहिले गर्ने त ?”
“खोई ! इच्छा नै भएन अहिलेसम्म ।”
“किन र ?”
“मन पर्ने थिई, अर्कैसँग बिहे गरी । त्यसपछि गर्नै मन लागेन ।”
बाहिरका मान्छे यहाँ आएर घर बसाएका छन् । यहीँको मान्छेमा बिहे गर्ने इच्छा नहुने । कस्तो अचम्म !
उनी भन्छन्– मनमा शान्ति हुनुपर्छ त्यति भए पुग्ने रहेछ ।
अति नै निरञ्जन देखिन्थे । छलकपट केही नभएझैँ लाग्थ्यो उनमा ।
साढे छ बजे नै गइयो ओछ्यान तताउन । योबाहेकको विकल्प पनि थिएन हामीसँग ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु