अनुभूति

- ममता पंत मिश्र

जिंदगीमा कोही मानिससंग आफै टाढिन मन लाग्छ। खासै केही भएको हुनु पर्दैन। मन मुटावको कुनै ठुलो कारण पनि चाहिदैन। बस्, यत्तिकै पनि तिनका अनुपस्थितिमा जीवन सहज लाग्छ। मनमा चैन मिल्छ। आफु माथि संतुष्टि बढ़छ र जीवनलाई सकरात्मक मर्गदर्शन गराउन सजिलो हुन्छ। आज डोसा हाउसमा मेरा आँखाहरू एक चिरपरिचित अनुहारसंग ठोक्किन पुग्दा मलाई यस्तै महसुस हुन्छ की म यस चिरपरिचित अनुहारलाई चिनेर पनि चिनिन चाहन्न। म बेवास्ता गर्दै, यस अनुहारसंग टाढीन खोज्छु।
जिंदगीमा प्राय यस्तै हुन्छ, केबेल नचाहेको कुरा हुन्छ। नमागेको चीज पाईन्छ अनि नखोजेको मानिस भेटिन्छ। यदि यस्तै नहुदो हो त आज तन्नुसंग जम्काभेट नै किन हुंन्थ्यो? अनि यस्तो नहूदो हो त किन मानिसको मनमा कास यस्तो भैदेको भए या कास उस्तो नभैदेको भए भन्ने भावनाले उत्पीड़न हुन्थ्यो।
त्यो चिरपरिचित अनुहार मेरो बाल्यकालको साथी तन्नुको थियो जो संगको मित्रता म आफैले तोढेको थिए। डोसा हाउसमा उ करिब ३,४ मीटर जती पर कुनाको टेबलमा एक्लै बसी रहेथी। झंडै ७,८ बर्ष भैसकेको थियो उसलाई नदेखेको। लगभग उस्तै रै’छे। अलिकती मोटी र कपालको स्टाइल अलि बदलिएछ, त्यत्ती हो।
कुनै समयमा निकै सम्बन्ध थियो हामी बीच। अधिकांस समय संगै बितथ्यो हाम्रो। सम्झनाका लहरहरू एक एक गर्दै गासिन्छन अनि जंजिर बन्छन। जंजिर जस्तै लाग्न थालिसकेको थियो उसंगको मित्रता। एउटा त्यस्तो जंजिर जुन तोड़न मलाई स्कुल जीवनको अन्त्यसम्म कुर्न पर्यो।
स्कूल जीवनको अन्त्य पछि पनि उसका मित्रताका हातहरू नफिजीएका त हैनन। तर मैले नै पन्छ्याएको थिए ती हातहरू। नपन्छाऊ पनि कसरी? बोझिलो लाग्थ्यो उ संगको मित्रता मलाई। थकान लाग्थ्यो त्यो साथित्वमा सामेल हुन।
वेटरले इंजोई योर मिल म्याम भन्दै टेबलमा राखेको प्लेटको आवाजमा झसंग भै मेरो मनको अन्तरक्रियाको यत्तिकै अन्त हुन्छ। उसलाई देख्दैमा रेस्टूरेंटमा आई सकेको अडरै छोडेर भग्ने कुरा त आएन तर उसको उपस्थितिमा सहजताका साथ बसेर खान पनि सक्दिन। म प्लेट आफुतिर तान्दै पलुक्क उ तिर हेर्छु। उसको आँखा पनि मै तिर थियो। म अपराधिले झै, उसंग आँखा जुद्धला भन्ने डरले नजर प्लेट तिरै झुकाई राख्छु।
नराम्रो त लाग्छ मनमा, यत्रो बर्ष पछि देखेको साथीलाई खुसी र उत्सुकताका साथ अंगालोमा बाध्न नसक्दा। तर के गर्नु? आत्माले नमन्दा र मनले अनुमति नदीदा कोशिस गर्नुको मैले कुनै औचित्य ठानिन। बरु जति सक्यो चाडै त्यहाबाट निस्किनु नै उचित ठाने।
रेस्टूरेंट बाहिरको चिसो सिरौटोमा मन र मस्तिस्क दुबै ठंडा महसुस हुन्छ। जाडो महिनाको मध्य भए पनि कठांग्रिने नै चिसो भने छैन। बेलकीको धूमिलो साँझमा पिट स्ट्रीटको मलमा थरी थरिका पहिरनमा हिडिरहेका छन मानिसहरू। कोही हिमाल चड्न जान लागे झै गम्म लुगामा लपेटीएका त कोही छोटो हाफ कट्टू र गंजीमा आधुनिकताको नमूना पेश गरी हिडेका। यस्तै बेजोडका रंगी बेढंगी नमूनाहरुको भिड छिचोल्दै, म लम्किन्छु। पछाडीबाट कसैले ‘राही’ भन्दै बोलाएको आवाज सुन्छु। त्यहि स्वर थियो, बर्षौं पुरानो। त्यो स्वोर चिन्न मलाई २ सेकेंड पनि लागेन। नचाहदा नचाहदै पनि म आवाज तिर फर्कन्छु। तन्नु लम्किदै म तिर आउछे। लामो समयको अन्तराल पछिको देखादेख अनि अपरिचित रहने चहमा भागेकी म, उसले चिनेर पछ्याउदा म एकछिन हडबड़ाउछु।
‘छि कस्तो नचिनेकी नी!’, उ भन्दै थिई। ‘रेस्टूरेंटमा त म पनि अली कनफ्यूजै भएँथे।‘ एकै छिनको अंतरालमा उ हास्दै भन्छे, ‘निकै चेंज भैछस तँ। मोटाईछस पनि। तँलाई देखे पछि त अब हामी बुढी भएछौ भने झै लाग्यो।'
भर्खर २४ बर्ष भयौ। के भन्न खोजेकी हो, म बुझ्न सक्दिन। सायद मलाई केही संकेत गर्दै थिई उ। म उसका कुराहरूमा अर्थ खोज्नुको सट्टा 'हो है', भन्दै उ संगै सहमती जनाई हाँसी दिन्छु।
'यत्रो बर्ष पछि भेटेको! कस्तो सपना जस्तो लागिरा’छ,’ उ भन्छे।
‘त्यै त,’ म मुस्काउछु। उत्सुकता र खुसीको प्रवाह हुदैन ममा।
‘आई एम रियल्ली, सो एक्साइटेड टु सी यु,' उ मेरो हात समाऊछे, ‘अहिले कता नि तँ?’
'म काममा जान लाग्या हेर न। आज नाइट डिउटी छ।‘
‘के गर्छेस तँ? त्यै नर्स हो की के हो?’ उ हास्छे। ‘यो देशमा आए देखि मैले जती नेपाली भेटें, सबै नर्स।‘
झन्नक रिस ऊठछ कुरा सुन्दा। नर्स हुनुमा के खराबी छ? अनि लाग्छ, हुन त यस्तो मिजास नहूदो हो त म किन नचिने झै गरी भग्थे र यो संग?
‘तँ चाई कता नी?’ म उसका कुरा बेवास्ता गर्दै, आफ्नो प्रश्न पसार्छु।
'म त यत्तिकै घुमघाम गर्न हिडया। सिड्नीको नाइट लाईफ हेर्न।‘
‘एक्लै?’
‘हैन हबीसंग जाने प्लान थियो। उ बिजीनेस गर्छ। बिजी हुन्छ जतिखेर पनि। छिन छिनमा प्लान बदलिन्छ उसको। आज पनि अकस्मात क्लायंटसंग मीटिंग पर्यो, अनि म एक्लै परे डिनरमा। तर नो प्रबलम। कहिले काही एक्लै पनि इंजोय हुन्छ।‘
'ए बिहे पनि भैसक्यो तेरो हैई? अनि काम’साम?’ म सोध्छु।
‘२ बर्ष भयो बिहे भएको। काम छैन। बुढाले काम गर्नै दिदैन। के काम गर्नु?’
‘ए मस्ती रै’छ त,’ म यति भन्दै उसंग छुट्टिने कोसिस गर्छु।
‘पख न। एकछिन। दुई मिनेट’, उ भन्छे’, ‘तँ त अझै सिंगल जस्तो लाग्यो। बिहे गरेकी छैनस?’
‘छैन।‘
‘बिहे गर के, चाडै। आनन्द हुन्छ। यो कामको झन्झटबाटै मुक्ति मिल्छ। सेक्युर हुन्छ लाईफ। मेरो जस्तै,' उ मुस्काऊदै भन्छे। 'ल ल तेरो फोन नम्बर दिई राख। म फोन गर्छु। अनि फुर्सदमा बसेर कुरा गरौला।'
बालककाल हुदा म पछि लाग्थे उसको, अनि उ मेरो पीछा छुटाऊँन खोज्थी। अहिले उ पीछा लागे झै म पिछा छुटाउने कोसिसमा छु। उसका यस्तै अनावस्यक सुझाबले मलाई उसंग नजिकिन बन्चित गर्छ। पहिले पनि उसंगको कुराकानीपछि सधै मनमा एक किसिमको तनाब हुन्थ्यो। बिना अर्थ मन भित्र हीनताको बीजारोपण हुन्थ्यो। आफु कम्जोर र आत्महिन महसुश हुन्थ्यो अनि आफु त्रसित र न्यून पाउथे? म सम्झन्छु, उसको अनावस्यक जिद्दी र जोडमा परेर मैले आफुमाथि धेरै अन्याय गरेको थीए। यहाँ सम्मकी कती पटक त स्कुलको परीक्षा पनि अपुरो छोडेर म उसले भनेको जस्तो गर्न बाध्य हुन्थे। आज उससंगको जम्का भेटले मन फेरी उस्तै बोझिलो हुन्छ। फेरी आफु दबबमा परे झै महसुस हुन्छ।
॰॰॰
बालककालको संगिनी कति प्यारो हुनु पर्ने? उसलाई भेट्ने बित्तिकै, साटेर लाएको जामाको कथा र लुकेर दलेको लिपिस्टिकको रंग आँखामा उत्रिनु पर्ने। झुक्काएर चखाएको रक्सीको स्वाद अनि भागेर हेरेको सिनेमाको गाथामा मन मुस्काउनु पर्ने। संगै बसेर पढेका प्रेमपत्रका कुराहरू सम्झी सम्झी फेरी काउकती लाग्नु पर्ने। तर यस्ता मीठा अनुभूतीहरू प्रदर्शित हुने सम्झनाको संग्राहलय थिएन म भित्र। त्यस्तो हदों हो त म उसंग किन टाढिन खोज्थे? मेरो मोबाइलमा दौडीरहेको उसको नाम हेर्दै म किन दोधारमा पर्थे? अनि खुसी र उत्साह बिना म किन उसलाई बाध्य भए झै महसुस गर्दै घरमा निम्त्याउथे?
सुक्रबरको दिन उ मेरो घरमा बिहान लंचको लागि आऊदैछे। म भने भान्छामा उसको लागि खाना बनाउदैछु तर मन चाहीं बाल्यकाल तिर दौडीरहेछ। हामी सानै थियौ त्यतिखेर। सायद ५,६ कक्षामा पढ़थ्यौ। उसको बुवा ब्यापारी, निकै देश बिदेश गर्नु हुन्थ्यो। त्यसैले उसको घरमा बिदेशी सामानहरुको जगजगी थियो। मेरो बुवा भने साधारण जागिरे जसको सोचाईमा भौतिक सुबिधा भनेको देखावटी मात्र हो, सम्पती भनेको त नगद अनि जग्गा जमिनमा लगानी हो भन्ने थियो। घरमा अत्याधुनिक सरसामानको जोडजाड उहाकोलागि पैसाको दुरुपयोग थियो। त्यसैले आर्थिक स्थितिमा फरक नभए पनि बाहिरबाट हेर्दा तन्नुको र मेरो जीवन स्तरमा धेरै फरक देखिन्थ्यो। त्यसमाथी तन्नुले सधै त्यो फरक जताई रहने हुदा, मनमा सधै हीनताबोध हुन्थो। बेलबेलामा बुवालाई रिसाएर पनि भन्थे, सुनाउथे। तर त्यस्ता कुराहरूको असर हुदैनथ्यो उहालाई। उल्टो भन्नु हुन्थ्यो, 'आफ्नो आफ्नो जीवन जिउने तरिका हुन्छ। के कमी छ हमीमा? घरमा बिदेशी सामान भएन भन्दैमा तिम्रो ईज्जत जांदैन। तिमि जुन स्कुलमा पढ़छ्यौ, तिम्रा मै हूँ भन्ने साथीहरु पनि त्यहि स्कुल जान्छन। अनि तिम्रो स्कूलको लुगा, जुत्ता, तिम्रो स्कुलको फिस आदि इत्यादि तिम्रो साथिहरूको भन्दा केही फरक छैन भने तिमी तिनिहरू भन्दा कम कसरी भयौ?’
बुवाको कुरा पटक्कै चित्त बुज्दैन थियो तर के गर्ने, बुवा त बुवा नै भैहाल्नुभो, कल्ले जिद्दी गर्न सक्नु?
लामो समयको मित्रता पछि पनि मैले तन्नुलाई आफ्नो घरमा बोलाएको थिईन। एकदिन उसको जोडमा परेर म उसलाई आफ्नो घरमा ल्याउन बाध्य हुन्छु। मेरो घरमा छिर्ने बित्तिकै उसका आँखाहरू कोठा कोठा अनि कुना काप्चा यत्रतत्र सल्लबलाउछन।
भोलि पल्ट स्कुलमा अरु साथी लगायत उसको ब्यबहार पनि म पट्टी बेग्लै हुन्छ। त्यै खासखुस कुरा। खिसखिस हाँसो। खै के के कुरा गरे, के के भने तर सबै मिलेर मेरो बेईज्जत गरे। मलाई एक्लै पारे। त्यती खेर स्कुल पछडीको पेटीमा एक्लै बसी खाएको खाजाको स्वाद कती नमीठो भएको थियो। त्यो सम्झनाले आज पनि उत्तिकै पिडा दिन्छ। खाटा लागिसकेको त्यो घाउ फेरी बल्झेर दुख्छ। सम्झनाहरू फेरी करौतीको धार बनी मुटुलाई रेट्छ।
कतीकालागि यी कुराहरू बाल्यकालका सामान्य घटनाहरू जस्तो पनि लाग्दा हुन। कती बालबालिकाहरूले यो भन्दा धेरै माथिका दमन र सोषणको दुख र पिडा पनि भोगेका होलान। तर प्रत्यक मान्छेलाई आफ्नै पिडा ठुलो हुन्छ चाहे त्यो अर्काको नजरमा सामान्य नै किन नहोस। त्यसमाथी मानिसहरू बेग्ला बेग्लै मनोबलका हुन्छन। कमजोर मनोबलका बलबालिकाको मनस्थितिमा धब्बा लगाउन यिनै अनुभबहरू काफी हुन्छ। चोटिला छाप बनी हृदयमा कुँदिन यीनै पर्याप्त हुन्छन। अनि समाजमा बेग्लै जीवन बिताउन र मानसिक रोगको सिकार बन्न यीनै चोटहरू यथेस्ट हुन्छन। बिकाशित मूलकमा बुली अर्थत दमनको बिरोधमा हरेक बाल बालिकालाई किन सचेत गराइदो रहेछ भन्ने कुराको बल्ल ज्ञानबोध हूदैछ।
कहिले काही लाग्छ, जिंदगीमा यस्ता मान्छेसंग भेटै नभाएको भए के जिंदगी अर्कै मोडमा हुन्थ्यो त? म फेरी १४, १५ बर्ष अघि फड्को मार्छु। त्यतीखेर भर्खर भर्खर मानिसहरुको घरमा ल्यांड लाइन फोन आउँन थालेको थियो। तन्नुको घरमा सायद सबै भन्दा पहिले आएको थियो फोन। तर आफ्नो घरमा भने बुवा निबेदन हालेर आनन्दले बस्नु भएथ्यो। आमा कराउनु हुन्थ्यो, 'यसो भनसुन गरे त फोन चाडै आउथ्यो की?'
तर बुवा नियम अनुसार चल्न पर्छ भन्दै चुप लागेर पालो कुर्दै बस्नुहुन्थ्यो।
एकदिन स्कुल सकिएर घर फर्कदा तन्नुले जोड गरेर उसको घर लगी मलाई जबरजस्ती कसैलाई ब्लफ कल गर्न बाध्य गराउछे।
म 'हेलो' मात्रै भन्छु, कुनै पुरुषको स्वोर थियो उताबाट। उसंग ब्लफ दिएर जिस्कने मस्कने ममा हिम्मत थिएन। ब्लफ कल भन्ने बुझेरै होला सायद, उ मलाई जथाभाबीसंग गाली गर्छ, फोहरी फोहरी अस्लिल सब्दहरुको प्रयोग गरेर।
तन्नु मरीमारी हास्न थाल्छे। फोनको पृष्टभूमिमा अरु कसैले कुरा सुनिरहेको महसुस हुन्छ। नराम्रो लाग्छ, डर पनि लाग्छ र म फोन भ्याट राखिदिन्छु। एकछिनमा अर्को कोठाबाट तन्नुको भाई र दीदी हास्दै आउछन, मेरो मूर्खताको धज्जी उडाउदै। उनीहरुको योजना रहेछ मलाई फसाउने, बेबक़ूफ बनाउने। कुरा त केही भएको थिएन त्यस मानिससंग। उसले दिएको अस्लिल गाली सबैले सुने भन्ने कुराले लज्जित तुल्याऊँछ।
भोली फेरी अर्को पल्ट स्कूलमा मेरो बेईज्जती हुन्छ। म फेरी हाँसोको पात्र बन्छु, लज्जित हुन्छु। फेरी साथी बिहीन, म एक्लो ‘लोनली उल्फ’ हुन्छु।
त्यो मान्छेले फोनमा अलपेको अस्लिल सब्दहरू आजसम्म दिमाखबाट हटेको छैन।
उता मूल ढोकामा बजेको घण्टीको आवाजसंगै म बर्तमानतिर धकेलिन्छु। तन्नु आईपुगी। म बिगतलाई त्यतै छोडेर तन्नुलाई आफ्नो घरमा स्वागत गर्छु। लाग्छ म आज १०, १५ बर्ष अघि जस्तो लाचार र कमजोर छैन। उसको अगाडी म न्यून र मुक छैन।
उ खुसी हुदै, हास्दै मेरो घर भित्र छिर्छे। जब आफ्नो सोच भन्दा धेरै बाहिरकी सजिली, फरासिली, उदार, रमाईली, अभिमान र आत्मगौरब बिहीन, साधा, सरल तन्नु भेट्छु, लाग्छ नबदलिएको त म आफु नै रै’छु। निर्दोष बालापनका दोषहरू बटुलेर आजसम्म त म आफै पो प्रदूषित भैई राखेको रहेछु।
म फेरी खुल्छु उ संग। उसले राखेका मेरा जीवन सम्बन्धी कौतुहलता म बिना झींझक सबै भन्छु। मन भित्रका सबै तुष र नमिठा भवानाहरूलाई पखालेर मनको भकारीमा जम्मा भएका आफ्ना दुःख सुखका सबै काहानीहरू सुनाउछु उसलाई। उ प्रति एउटा नया बिस्वासको बीजारोपण हुन्छ मन भित्र।
स्कूल देखि नेपाल छोडेसम्म। पढ़ाईं देखि जागिरसम्म अनि बिहे देखि संतानसम्म, कुराको दौड़ान चलिरहयो। बिस्तारै उ पनि खुल्छे। तर उसका कुराहरुमा म फेरी त्यहि तितोपन, आत्म-अभिमान, आत्मगौरब, अहमपन, अरुको अपमान, अरुको तिरस्कार र प्रयोजनको दुर्गन्ध बढ़दै गएको पाउछु। उसको केही छिनको मृदुलतामा मैले धोका खाए। उसले ममा बिस्वासको बीजारोपण गरी अबिस्वासको फूल फुलाई। फेरी पनि उ पहिलेको जस्तै गरी आफुलाई अकास्दै गगन छुआउछे र मलाई धकेल्दै धर्तीमा गिराउछे। म उसको अहंकारलाई पछार्न सक्दिन।
मेरो अबिबाहित जागिरे जीवनलाई प्रहार गर्दै उ फेरी बिहेको ताना दिन्छे। भन्छे, अब पनि मैले बिहे गरीन भने त म आफु बुढी भएको पनि पत्तो पाउन्न। ‘हेर, बिहे गरेपछि जीवन नै अर्कै हुन्छ,’ उ भन्छे, ‘काम गर्नु भनेको त अप्सनल हुन्छ। बुढाले मजाले कमाइदिए पछि के दुख गर्नु पर्यो र? मलाई नै हेर न। आनन्दले सोख गरेर बसी राखेको छु। तँ रात भरी नसुती अरुको स्याहर सुसार गर्दा म मस्त निंद्रामा मिठो सपना देखिरा’को हुन्छु। सुंदा नराम्रो सुनिएला तर बस्तबिकता त यही हो। बिहे पछि काम जरुरत हुदैन, रहर बन्छ। समय बिताउने माध्यम।‘
उसका कुराले मनमा कस्तो कस्तो लागे पनि मुखभरीको जवाफ भने दिन सक्दिन म।
‘आफ्नो आफ्नो सोचाई’, म भन्छु, ‘काम जरुरत मात्रै हैन आत्म निर्भर रहनु पनि त हो नी। सधै लोग्नेको पछि लागेर उसले खटाएर दिएको खर्चमा गुजरा गर्दै अनि कैले उसैको पैसा लुकाएर, चोरेर आफ्नो रहर पूर्याउनु भन्दा त आफै दुख गर्नु बेस नि। मलाई त यस्तै लाग्छ।'
'सबैलाई त्यस्तो गर्न कहाँ पर्छ र?’ उ तातिन्छे। ‘मेरो बुढाले त उसको पुरै ए टि एम कार्ड नै मलाई दिएको छ। उसको पैसा सबै म नै म्यानेज गर्छु। चोर्न, लुकाउन केही गर्न पर्दैन।'
उ रंकी। मलाई नराम्रो लाग्यो।
'त्यै त। सबै तँ जस्तो भाग्यमानी कहाँ हुन्छन र?'
उ दंग पर्छे, 'ठीक भनिस।, ’म त एकदम भाग्यमानी नै हो। कहाँ सबैको बुढा मेरो जस्तो हुन्छ र? उ त यस्तो सोझो छ। भगवान राम भन्नु हुन्छ आमा, ज्वाईलाई। मेरो बुढा त मैले जे भने पनि गर्छ। मेरो लागि त पर्यो भने ज्यान पनि दिन्छ। त्यति विश्वास छ उ माथि। गतिलो लोग्ने पाउनु भनेकै केटीको भाग्य हो। त्यै भएर भनेको, तँ पनि खोजि हाल त्यस्तै एउटा।‘
उ फेरी भन्छे, 'साँच्ची, तँ सम्झिन्छेस हाम्रो घरमा भर्खर भर्खर ल्याण्ड लाइन आउदा तैंले ब्लफ कल हानेको केटा?' उ हास्छे। ‘कस्तो इनोसेंट थिस यार तँ। ब्लफ दिन पनि नजान्ने,’ उ हास्दै भन्छे, 'कस्तो मन पराउथ्यो नि तेल्ले तँलाई।'
त्यस्तो इनोसेंट नहूदो हुँ त त्यतिखेर मेरो त्यसरी दुरुपयोग नै कहाँ हुँदो हो र?
'को थियो त्यो केटा? मलाई त अहिलेसम्म पनि त्यो दिन मैले को संग फोनमा कुरा गरे भन्ने थाहा छैन। तेरो जोडमा परेर बोलेको। जिंदगी भरको लागि शक परे झै भा’छ,' म भन्छु, 'ओहो! त्यस केटाले त्यतिखेर मुख छोडेको मलाई आजै जस्तो लाग्छ।‘
'त्यो त तँलाई नचिनेर जथाभाबी भनेको नि। कस्तो राम्रो परीवारको मान्छे हो नि उ। म त अहिले पनि सम्पर्कमा छु उसंग। तँलाई पछि सम्मै चाह्न्थ्यो। तँ यता आइसके पछि पनि तलाई खोजेको थियो उसले। अस्ति मात्रै बिहे भयो। अहिले त गजब छ ऊसको। बेपत्ता राम्री छ ऊसको वाइफ।‘
तन्नु सधै यस्तै गर्थी। मेरो अवसरहरुलाई कुनै पनि तरिकाबाट म सम्म आईपुग्न बन्चित गर्थी अनि पछि त्यहि कुरा उठाएर मलाई पश्चातापको रापमा होम्न खोज्थी, मलाई नीच र निकम्बा देखाऊन खोज्थी। पहिले देखि कै आदत थियो उसको यो। सबैलाई यसै गर्थी की गर्दैनथी तर मलाई उ यस्तै गर्थी र आज पनि उ त्यहि गर्दै छे। उ भन्छे, 'अँ, उसको नाम अंकुर। तँलाई अलिकती अघि मात्रै भेटेको भए, म उहीसंग तेरो बिहेको कुरा मिलाई दिन्थे। के गर्नु? तेरो भाग्य मै नलेखेको भन्नु पर्यो अब, राम्रो मान्छे।‘
झनक्क रिस नउठेको त हैन त्यै पनि कुनै प्रतिक्रिया नदेखाई म उसको कुरा सुनिरहन्छु। लाग्छ उ जन्मजात नीच स्वभाबकी हो। यस्तो नहूदो हो त यत्रो बर्षको अंतरालमा उसको स्वभाबमा केही परिवर्तन त आउथ्यो होला नी?
कोही मान्छे किन यती तीता हुन्छन? किन आफ्ना निश्कृष्ट सोच भित्र पनि आफुलाई सधै उत्कृष्ट ठान्छन? अनि लाग्छ कोही किन बदल्लिनै सक्दैनन?
म उसलाई हेर्दै अनि सोच्दै थिए, यति लामो समय पछिको हाम्रो भेट, कास! मेरो लागि यो भेट एउटा मिठो अनुभूति भैदिएको भए!

- आस्ट्रेलिया

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु