दाइबुचु भित्र यात्रा गर्दा

- विनोद अधिकारी

मन र मस्तिष्कलाई भूत र वर्तमानमा प्रविष्ट गराई गद्य र पद्य दुबैको मिश्रण गरि लेख्न सकिने नियात्रा विधाको साहित्यमा विशिष्ट स्थान छ । साहित्यकार कृष्ण बजगाईंको ‘दाइबुचु’ नियात्रासङ्ग्रह पढ्ने अवसर पाएपछि म त्यसभित्रको प्रत्येक शिर्षक, अनुच्छेद, वाक्य र शब्दसँग दौडिन थालेँ । नियात्रामा प्रस्तुत भएका हाइकुसँग हिड्न थालेँ । त्यसले मलाई जापान मात्र पुर्याएन त्यसभित्रको साहित्यिक भूगोलसँग परिचत बनायो ।
साहित्यकार बजगाईंको यो भन्दा अघि विभिन्न विधामा ११ कृति प्रकाशित भइसकेका छन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पदकबाट सम्मानित भइसकेका बजगाईंका तेह्रवटा नियात्रा यस सङ्ग्रहमा छन् । नियात्राकारका हरेक अनुभूति साहित्यिक अनुरागमा प्रस्तुत गरिएको यो कृति हाइकु, नियात्रा र साहित्यका अन्य विधामा कलम चलाउने स्रष्टाका लागि एक दर्पण हुने देखेको छु ।
समालोचना र समीक्षा गर्ने हरेक समालोचक र समीक्षकको आआफ्नै शैली हुन्छ । तथापी यसमा अपनाउनु पर्ने मूल तत्व चाही छाड्नु हुदैन । यहाँ मैले समालोचना गर्दा वैचारिक ध्रुब, लिंग, धर्म र वर्ग नछुट्याई नियात्राका प्रत्येक कोणमा तटस्थ बसी प्रत्येक शिर्षकको पाइला पछ्याउँदै त्यसले जन्माएको कौतुहलतामा दौडिएको छु ।

सम्राटको आत्मा दर्शनः टोकियोको गगनचुम्बी कंक्रिटको जंगलबाट अत्तालिएका लेखकको गन्तब्य ‘मेइजी जिंगु’ थियो । बाहिरको संसार र पवित्र स्थल छुट्याउने सिमारेखा टोरी गेटमा पुगेपछि उनले थाहा पाए जापानीहरुको धार्मिक सहिष्णुता । सिन्तो धर्म जसको न त कुनै संस्थापक छन् न त गुरु नै । सिन्तो धर्ममा कुनै देवताको पूजा नभइ आत्माको सम्मान गरिन्छ । मानिसलाई देवत्करण गरि सम्राट मेइजी र महारानी शोकेनको आत्मा रहेको विश्वास गरिएको स्थान मेइजी जिंगुलाई पवित्र स्थलको रुपमा जापानीहरुले मानेका छन् । त्यहाँ मानिसहरु आफूलाई शुद्धिकरण गर्न र मनोकामना पुरा गर्न जाने परम्पराको नियात्राकारले रोचक वर्णन गरेका छन् । आत्माको पूजा गरि पितृको सम्मान गर्ने जापानीहरुको प्राचिन परम्परालाई नियात्राकारले नेपाल र जापानको संस्कृतिसँग समानता खोज्दै प्रकृति पूजाको चर्चा गरेका छन् ।
त्यहाँ रहेको ‘एमा’मा काठको सानो पातामा आफ्नो मनोकामना लेखेर रुखमा टाँसेपछि पुरा हुने जापानी विश्वास, आफ्नो भविष्य आफै तान्नु पर्ने ‘ओमिकुजी’मा भाग्य लेखिएका कागजका टुक्राका वर्णनले अचम्मित बनाउँदछ ।
यात्राको क्रममा जापानी साथी कुमीको दिशा निर्देशन र जापानी शिष्टाचार सिकाएर उनले बजगाईंलाई अनन्त गुन लगाएकी छिन् । थोरै भए पनि जापानको इतिहास समेटिएको उक्त नियात्रामा त्यहाँको राजनैतिक र सामाजिक परिवर्तन तथा आधुनिक जापानको निमार्णमा मेइजीको योगदानलाई राम्ररी बुझ्न सकिन्छ ।

टोकियोको झरीः लन्डनको झरीले चुटेर बानी परेका लेखकलाई टोकियोको फुसफुसे भरीले केही लछारापटो लगाउन सक्दैन । सुविधायुक्त सवारी साधान छाडेर उनका पाइला सडकमै रमाएका देखिन्छ । ढाडिएको जुत्ता र ओभानो आँखाले जापानी सुन्दरीका कर्के नजरमा दृष्टि लगाउँदै उनी रंगिन छाताहरुको सागरमा सलह झैं हिँडिरहे । त्यस सागरलाई कोल्टै पार्दै हिँड्दा देखिएको जापानको सरकारी टेलिभिजनको उद्येश्यको वर्णन नेपालका संचार माध्यमका लागि अनुकरणिय छ ।
जापानमा कुकुर बिरालाहरुको लोकप्रियता र सुन्दरीहरुको तिघ्रामा ‘ट्याटू’ बनाइ विज्ञापन गर्ने कायदाको वर्णन गजबको छ । संसारकै अति ब्यस्त शिवुया जेब्राक्रसमा पाइला राख्दाको आनन्दको सुन्दर वर्णन छ । मानिसहरु आफन्त गुमाएको केही महिनामै तिनलाई बिर्सन्छन् । तर शिवुया स्टेशन अगाडि ‘हाचिको’ नामको कुकुरको मूर्तिले मार्मिक कथा भनेर पाठकलाई रुवाउँ छ । मानिस र कुकुर बीचको प्रेम दर्शाउने महान इतिहासको वर्णन गर्दै लेखकले आफूलाई बिम्ब बनाई तुलना गर्दा त्यसले मानिसलाई गिज्याएको अनुभूति हुन्छ ।

जापानका केराघरे माचुओः योकोहामा सहरबाट टोकियो तर्फ हुइँकिएका नियात्राकार बजगाईं हाइकुले स्पर्श गरेपछि उठेका खुसीका पाइलाहरु गन्तब्यमा पुग्न हतारिएको देखिन्छ । हाइकु सम्राट माचुओ बासोको म्युजियममा भेटिएको परालको चप्पल होस् वा छेउको बगैंचाको ढुंगामा कुँदिएका हाइकु, घण्टी झुण्ड्याइएको मन्दिर जस्तो देखिने छाप्रो, केराका बोट, ससाना पोखरी आदिमा मुग्ध भएका लेखकले गरेको वर्णनमा म आफै मुग्ध हुन पुगेँ । सुमिदा र ओनागी नदीको दोभानमा रहेको बासोको सालिक, हाइकु पाथ, साकुराको बोट मुनि हाइकुको सुवास लिँदै गरेको वर्णनले यात्रामा सुगन्ध छरेको छ ।
जापानमा दिवंगत मात्र होइन जीवित सर्जकहरुलाई गरिने प्रोत्साहन, सम्मान र तिनको इतिहासलाई सुरक्षित राख्न साहित्यिक तिर्थस्थल बनाउने जापानीहरुको श्रद्धा नियात्रामा बेजोड ढंगले प्रस्तुत भएको पाइन्छ ।

कामाकुराका बुद्धः बुद्ध धर्मलाई जापानको राजधर्म बनाउने सामुराईको चर्चाले नियात्रा ज्ञानवद्र्धक बन्न पुगेको छ । प्राचिन राजधानी कामाकुरामा शाही निर्णयद्धारा सामुराईलाई शासन चलाउन सेनापति नियुक्त गरेपछि विभिन्न ठाउँमा पनि सोही परम्परा सुरु भई एक सय चालिस वर्ष सैनिक शासन संचालनको इतिहास रोचक छ । आफ्नै वंश मात्र सामुराई हुन पाउने नियम बनाएर कुलिन वर्ग हुन पुगेको इतिहास पढ्न पाउँदा नेपालको राणा शासनको झझल्को गराउँछ । तिनै सामुराईहरुले कामाकुरामा बनाएको बुद्धको ठूलो मूर्ति ‘दाइबुचु’ जापानको दोस्रो ठूलो बुद्ध मूर्ति हो । त्यसैको नाममा नियात्रासङ्ग्रहको नाम राखिएको छ । मारकाट र लडाइ गर्ने सामुराइहरु बुद्ध धर्मप्रति कसरी आकर्षित भए भनेर नियात्राकारले अचम्म मानेको कुराले पाठकलाई समेत अचम्मित बनाउँदछ ।
असीवटा भन्दा बढी बौद्ध मन्दिर र धार्मिक स्थल रहेको कामाकुराको पवित्र भूमिमा लेखकका पाइलाले स्पर्श गर्दा उनका पाइला फूर्तिला भएका छन् । हरिया डाँडा काँडा, दायाँबाया रंगिन फूलहरु, हरियाली बृक्षका सुन्दरतामा ध्यानमग्न बुद्ध मूर्तिको दर्शन गर्न आएका भिक्षुभिक्षुणीहरुँसँगसँगै पाइला चालेका छन् ।
विशाल ठूलो बुद्ध मूर्ति देखेर कुन कलाकारले सिर्जना गरेका होला भन्दै नियात्राकारको मनमा प्रश्नहरु अग्लिएका छन् । यस्तै एउटा प्रश्नले उनलाई हल्लाउँदछ–‘बुद्ध जन्मिएको देशका मानिसले संसारको ठूलो बुद्ध मूर्ति हेर्न किन विदेश जानु पर्ने ?’
विशाल बुद्ध मूर्तिको प्रांगणमा फन्को मारी गर्भ गृहमा प्रवेश गरि ध्यानमग्न बुद्धलाई स्पर्श गरेको वर्णन रोचक छ । खुला आकाश मुनि राखिएको मूर्तिका बारेमा दैवि प्रकोप लगायतका कैयौं अनौठा प्रसंगहरु नियात्राकारले जोडेका छन् । मन्दिर परिसरमा राखिएका काव्यका टुक्राहरु, पाँच पाँच वर्षमा चढाइने बडेमानको परालको चप्पलको चर्चा गर्दै दाइबुचुको दर्शनले पुण्य प्राप्त भएको अनुभूतिमा नियात्राकार रमाएका छन् ।

युद्ध पोतलाई गुलाफः दोस्रो विश्वयुद्धपछि क्षतविक्षत भएको जापानी भूमिमा अमेरिकनहरु गुलाफका फूल झैं फुलेका रहेछन् । त्यहाँ जापानीहरुको अमेरिकन क्रेज देखेर नियात्राकार अन्योलमा परेका छन् । योकोसुकामा अमेरिकन शैलीका भवन, रेष्टुरेण्ट, घरघरमा अमेरिकन झण्डा, अमेरिकन आर्मीको गस्ती, त्यहाँका मान्छेहरुको हिँड्ने, बोल्ने, खाने, लगाउने, गीत, संगीत र अमेरिकन मोहको वर्णनले अचम्भित तुल्याउँछ । दोस्रो विश्व युद्धपछि अमेरिकाले अहिलको आधुनिक जापानको पुनः निर्माण गर्न अमेरिकन प्रविधी र दक्ष जनशक्ती उत्पादन गर्नका लागि गरिएको भरपुर सहयोगलाई धन्यवाद दिएको नविन जानकारी नियात्रामा पाइन्छ ।
यसै गरी नियात्राकार बजगाईले त्यहाँ ‘टोकयो वे’को किनारामा अवस्थित मिकाशा पार्क, त्यहाँको जल नृत्य, युद्धपोत संग्राहलय, बाँदरे टापु, दोस्रो विश्व युद्धपछि बनाइएको ‘पिस आर्च’, गुलाफको बगैंचा, अत्याधुनिक हातहतियार देखेर मनमा उठेका बारुद, धुँवा र आक्रोशित मनलाई प्रशान्त महासागरमा चिस्याएर गरेको वर्णनमा कौतुहलता पाइन्छ ।

ओनसेनमा नांगानांगैः सृष्टिको उषाकालमा तातो पानीको कुण्डलाई भगवानको उपहार मान्ने जापानीहरु मन, मष्तिष्क, शरिरलाई निरोगी बनाउन, आराम गर्न, भेटघाट, मनोरंजन र आनन्दका लागि ओनसेन नामक तातो पानीको कुण्डमा डुबुल्की लगाउँदछन् । ओन्सेन जाँदा मानिसलाई सानो, ठूलो, धनि, गरिब छुट्याउने भौतिक आवरण बाहिरै छाडेर सर्वाङ्ग नांगो भएर छिर्नु पर्ने नियम रहेछ । नियात्राकारले त्यहाँको परिवेश, सावर लिँदाको संकोच, तातो पानीको कुण्ड, कुण्डभित्र अपरिचित मुण्डहरु, स्टिम रुम, रक वाथको सेकुवा प्रसंग, जापानी जीवन संस्कृतिमा लिंग जात्राको वर्णनले नियात्रा पढिरहँदा अलिकति लजालु र अलकिति रोमांचित बनाउँछ ।

क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दाः नियात्राकार शिवुया स्टेशनबाट बाहिर निस्केर क्याट क्याफे हेर्न उत्सुक पाइला अगाडि बढाउँछन् । बाटामा देखिएका रुपवतीहरु, रंगीचंगी केश बिन्यास भएका थरिथरीको मेकअप र पहिरनमा सजिएकाहरुको रुप र चाल मात्र होइन अल्ट्रा मोडर्न शहरको क्याट वाकको वर्णनले पाठकलाई लोभ्याउँदछ ।
जापानमा तीनवटा टापु क्याट आइलेण्डको नामले प्रसिद्ध छ । क्याट ट्रेन समेत संचालन भएको रोचक जानकारी उक्त नियात्रामा छ । जापानीहरु आफ्नो सन्तानको संख्या बताउँदा बिरालोलाई समेत गन्ती गर्ने गरेका कुरा थाहा पाउँदा अचम्म लाग्दछ । निःसन्तान वा बिरालालाई माया गर्नेहरु क्याट क्याफेमा जाँदा रहेछन् । नियात्राकारलाई क्याट क्याफेमा छिर्दा मन्दिर छिरे जस्तै जुत्ता फुकालेर जानु पर्ने नियम , बिरालाको वंशावली आदिको क्याटलग हेरेर आश्चर्यचकित भएका छन् । करिव एक घण्टा बिताएर सन्तुष्ट भएका नियात्राकार एक सुन्दर युवतीलाई बिरालीको उपमा दिन पुग्छन् । उनले लजाउँदै, मोबाइल खेलाउँदै क्याफेमा लुकिछिपी मुक भाषामा नियात्राकारसँग गरेको मौन संवाद, कर्के नजर र विदा हुँदा हात हल्लाउँदै बिछोडिएकी ती जापानी युवतीको मनोदशा थाहा पाएर माया लाग्छ । ससाना अनुभूतिलाई नियात्रामा दौडाउने नियात्रकारको कला अनुपम देखिन्छ ।

लामो यात्राः लभ होटलमा जात्राः पहिलो पटक जापानमा पाइला टेकेका नियात्राकार बजगाईं त्यहाँको मनोरम दृश्य हेर्दै कौतुहलताका साथ तिब्र बेगमा दौडिएका छन् । योकोहामा सहरदेखि हिरोशिमा सहरसम्मको नौसय किलो मिटरको यात्रामा देखिएका प्रकृतिको सुन्दर दृष्यलाई धीत मरुञ्जेल हेर्दछन् । माउन्ट फुजी हेर्न उत्सुककता बोकेका बजगार्इं बादलको पर्दाले त्यसको रुप छोपेर हेर्न नपाएपछि निराश हुँदै हुइकिन्छन् । कतै पानी बिनाको पुल, कतै समुद्र माथी पुल, कहिले उकालो त कहिले सुरुंगभित्र सुलुलु गाडीमा दौडदा जापानको अदभुत विकाशले उनलाई प्रभाव पारेको देखिन्छ । जतातै पुल देखेपछि नेपालको तुइन सम्झी चित्त दुखाएका छन् । उनी नेपाल र जापानको गाउँ तथा सहरको संरचनाका बारेमा बौद्धिक तर्क गर्दछन् ।
अत्याधुनिक सहर ओसाकाको गगनचुम्बी भवन बिचबाट रेल र मोटर दौडने हाइवे देखेर चकित बन्छन् । ओसाका सहर प्रवेश गरेपछि उनका मनमा अनेकौं कौतुहलता जाग्छ । त्यहाँ साहित्यिक कार्यक्रममा सहभागी भएपछि साहित्यको वृक्षमा सुन्दर फूल फुलेको अनुभूति लिँदै १९ घण्टाको दौडाह पश्चात थकित शरिर लभ होटलमा गएर बिसाउँछन् । त्यस होटलकोको चर्चा, परिचर्चा, नियात्राकार र यात्रा दलका साथीहरुलाई परेको सकस र त्यहाँको अनुभवबाट पाठकहरुले रमाइलो र नौंलो जानकारी पाउँदछन् ।

हिरोसिमामा रोएको मनः मानवता पराजित भएको सहर हिरोसिमामा अवस्थित शान्ति संग्राहलयको शान्ति घडी अगाडि पुगेर नियात्राकार टक्क अडिन्छन् । हिरोसिमाको विभत्सताको अनुमान पनि गर्न नसकिने गरि नियात्राकारले क्रुर युद्धको इतिहास पल्टाएर गरेको वर्णनले मुटुमा कम्पन गराउँछ ।
युद्धबाट त्रसित पृथ्वीलाई नियात्राकारले शान्तिको कामना गर्दै लेख्नु भएको विश्व शान्तिको उत्कृष्ट हाइकु पढ्न पाइन्छ । दोस्रो विश्व युद्धले गिज्याएको मानव इतिहासको त्यस कालखण्डको शब्द चित्रले पाठकको मन रुवाउँदछ ।

क्योटोको किंकाकुजीः कला, साहित्य र दर्शनको मात्र होइन धार्मिक तथा औद्योगिक सहर हो क्योटो । जापानको हजार वर्षको राजधानी क्योटो हेर्न आतुर नियात्राकार त्यहाँको प्राचिन रेशमी कपडा, चिनियाँ माटा तथा धातुका भाँडाकुँडा, खेलौना हेर्न उत्सुक देखिन्छन् ।
क्योटो सहरको उत्तर पश्चिममा अवस्थित किंकाकुजी अर्थात गोल्डेन टेम्पलमा पुगेपछि उनी चढेको गाडी रोकिन्छ । मनोहर तलाउ, अलिक पर हरियाली डाँडाकाँडा, छेउमा बगैचा, सल्लाको रुख आदिको सौन्दर्यले भरिएको स्थानमा पुग्दछन् । स्वर्ग र पृथ्वीको सिमा छुट्याउने गोल्डेन टेम्पलको भूमिमा उनका पाइलाले स्पर्श गर्दा शान्तिको शास फेरेर मुग्ध भएका छन् । सुनैसुनले झकिझकाउ उक्त मन्दिरको सुरक्षार्थ कुनै सुरक्षाकर्मी नदेखेर चकित भएका नियात्राकार आफ्नै घरमा साँचो नलगाउने जापानीहरुको इमान्दारिताको प्रशंसा गर्दछन् । भाग्य जाँच्ने बटुकामा सिक्का चढाउँदै आफ्नो लहड पुरा गर्ने बजगाईं प्रकृतिलाई सुरक्षा प्रदान गर्ने ‘फुडो –म्यो–ओ’ देवताको दर्शन गरी फर्कन्छन् । यस नियात्रामा उनको रोचक वर्णन शैली र बुद्ध दर्शनका कुराले पाठक दंग पर्दछन् ।

हाइगाको हाँगाः हाइकु र चित्रको संयुक्त सिर्जना हाइगालाई बजगाईं काव्यचित्र भन्न मन पराउछन् । हाइगा हेर्न सिबुया ट्रेन स्टेशनबाट हुँकिदै टोकियो स्टेशनको साउथ गेटबाट बाहिर निस्किन्छन् । स्मार्ट सिटीको अनुभव बटुल्दै उनी अचम्मको भेन्डिङ मेसिन र जापानी भिखारी देखेर ट्वाल्ल पर्दछन् ।
पानी रंग बढी प्रयोग गरिएको चित्रमा काव्यिक अभिव्यक्ति हाइकु सिर्जना देखेर टोल्हाइरहेका नियात्राकार अचानक टोकियो बसाईको दोस्रो दिन भूकम्पले अत्याएको सम्झन्छन् । उक्त नियात्रामा नेपालीहरुलाई नयाँ लाग्ने हाइगा विधाको ब्याख्या गरेका छन् ।

योकोहामाको समुद्र र माचुरीः जापानको दोस्रो ठूलो सहर योकोहामा अन्तर्राष्ट्रिय बन्दरगाह भएको आधुनिक सहर हो । विकास र विनाश दुबै इतिहासको साँक्षी बसेको त्यस सहरमा मानिसले बनाएका गगन चुम्बी भवनको अगाडि हिँडेका मानिस लिलिपुट जस्तो देखिने कुरा नियात्राकारले रोचकरुपमा वर्णन गरेका छन् । प्रशान्त महाशागरको किनारामा उभिएको सहरको विकाशको ग्राफ हेर्दै उनी अघि बढ्छन् । एउटा कलाकारले बनाएको सिंगो महाकाव्य सिर्जना गर्न सक्ने क्षमता बोकेकी कामिनी अवतारमा प्रस्तुत सर्वांग नांगो मूर्तिमा नियात्राकारका आँखा ठोकिदा तिरमिराउन पुगेका सुन्दर वर्णन छ ।
नेपालको हाटबजार जस्तो देखिने माचुरी नामको सांस्कृतिक पर्वको भीडभाड हेर्ने उत्सुकता बोकेका नियात्राकार जापानी र अंग्रेजी गीत तथा नृत्यले सजिएको स्टेज छेउमा पुगेर मुग्ध हुन्छन् । खट जात्रा र लाखे नाच जस्तै सांस्कृतिक झाँकीको आयोजना हुने उक्त पर्वले उनलाई नेपालको सम्झना दिलाएको छ । समुद्र पुरेर समुद्र माथि बनाइएको गगनचुम्बी भवन आदिका प्रसंगले नियात्रालाई रोचक बनाएको पाइन्छ ।

कोनिचिवा जापानः सायोनारा जापानः अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सवमा भागलिन जापान पुगेका हाइकुकार बजगार्इं नियात्राकाको पुस्तक लिएर फर्केका छन् । उसो त उक्त पुस्तकमा छ दर्जन भन्दा बढि हाइकु पनि छ । जापानमा रहेका नेपालीहरुसँगको भेटघाट, साहित्यिक कार्यक्रम तथा नेपाली विद्यालयको भ्रमण आदिको जानकारी रहेको यस नियात्रा मार्फत नेपालीहरुको गतिविधी थाहा पाउन सकिन्छ ।

निष्कर्षः दाइबुचुलाई नियात्रासङ्ग्रह भने पनि यसमा हाइकु र यात्रा संस्मरण सँगै लेखिएको छ । जापानी साहित्यमा यस्तो लेखनलाई हाइबुन भनिन्छ । दाइबुचु नेपाली साहित्यको पहिलो हाइबुन सङ्ग्र हो ।
जापान यात्रामा लेखकले पाइला चाल्दाका अनुभव, सुनेका, भोगेका र स्पर्श गरेको निजात्मक अनुभूतिका परिदृश्यहरु आत्मापरक शैलीमा साहित्यिक मिठासले रंगिएका छन् । भावको संघनता र तार्किकता बौद्धिकरुपमा बगेको छ । दाइबुचु जापानको यात्रानुभूति मात्र होइन साहित्यमा यात्रा गर्ने हरेक स्रष्टाका लागि अजस्र श्रोत हो । त्यस सङ्ग्रहमा भाव, शैली र चिन्तनको मनोरम प्रस्तुतीले यात्राको सुन्दरतामा सुवास छरेको पाइन्छ । जापानको कला, साहित्य, धर्म, सस्कृति, विकाश र जनजीवनको जानकारी दिने दाइबुचु उत्कृष्ट नियात्रासङ्ग्र हो ।
बेलायत
–०–

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु