कवितामा अनुहारको भूगोल

- शरद कुमार क्षेत्री

नेपाली साहित्य संसारको एउटा फाँट हिजआज धेरै उर्वरशील बनेको छ । साहित्य बजारमा कलम कर्मीहरूको कर्मको उचित मूल्य निर्धारण भइरहेको छ फलस्वरूप गाँस-बास र कपासको जोहो मात्र नभएर समृद्धिको साधन भएको छ साहित्य । अर्को फाँटमा समृद्धिको कामनालाई कल्पनामै तुहाएर गाँस.,बास र कपासको निर्धारित बजेटको अंश घटाएर पुस्तकको प्रकाशनमा ल्याउने आतेसलाग्दो स्थिति छ । अर्थशास्त्रको मुख्य सिद्धान्त मात्र अनि आपुर्तीमाथि आधारित बनेका नियमहरूलाई ठाड़ो चुनौति दिँदै आपुर्तीमा मात्र क्रियाशील रहेर साहित्य सृजनामा रमेका छन् यो फाँटका कलमकर्मीहरू । सिद्धान्त र नियमको परिधिभित्र जीवन जगतमा संचालन भए कवि नियास्रो हुने थियो होला यो जगत यन्त्रवत जीवन वाध्य । संसार बेरमाइलो हुने थियो बाँच्न हाम्रो ।
हाम्रो संसार रमाइलो तुल्याउन प्रयासरत शिल्पीहरूको जमातका एक प्रमुख शिल्पकारको नाम हो – सुकराज दियाली । सुकराजले यसअघि आठवटा कृतिद्वारा साहित्यलोक उज्जवल तुल्याइ सकेका छन् – अनुहारमा भूगोल – कविता सङ्ग्रह सुकराजको नवौं कृति हो अर्थात नवरत्न हो यस रत्नले साहित्यलोक झलमल्ल हुने विश्वास राखेका छन् । यो पुस्तकभित्र आफ्नो शुभकामना, आशिष, वधाई अनि हौसला प्रदान गरेर लेखिएका लेखहरूले । सान फ्रान्सिको अमेरिका, कुवेत, आसम, रङ्गो, नागरी फार्म, कालेबुङ, धजे चियाबारी, धजे बस्ती, मणिपुर, काठमडौं, नयाँ दिल्ली भूगोलबाट प्रतिष्ठित अनुहारहरूले यो कविता सङ्ग्रहमाथि आ-आफ्नो विचार व्यक्त गरेकाले नै कविको प्रशिद्धि अनि मान्यताको स्वीकार्यताको अनुमान लगाउन सकिन्छ । डा. लक्खीदेवी सुन्दासले सिलगढ़ीको भूगोलबाट सफलताको शुभाशिर्वाद प्रदान गर्नु भएको छ । खेम सापकोटाद्वारा नई इण्डिया पब्लिकेशन दुर्गागढ़ीको पक्षमा प्रकाशित एकसय उन्नाइस पृष्ठको सुन्दर हार्टकभरले सज्जित यो कविता सङ्ग्रहको मूल्य भा.रू. दुईसय मात्रै राखिएको छ । यो सङ्ग्रह अर्न्तगत लामो भनिहाल्न पनि नमिल्ने साह्रै छोटो भन्दा नसुहाउने मोठ त्रिसठ्ठी कविताहरू पढ़न पाइन्छ ।
आफू बाँचेको समाज अनि भोगिरहेको जीवनप्रति कवि न त निरपेक्ष रहन सक्छ न त उदासीन । सामाजीक जीवन अर्न्तगत उसले विगत् अनि वर्तमानमा भोगेको अनि भोगिरहेको सामाजीक, राजतनैतिक, आर्थिक, सांस्कृतिक अनि साहित्यिक उत्तर चढ़ावको घटनाहरूद्वारा कुनै न कुनै रूपले प्रेरित, प्रभावित बन्दछ । प्रिय अप्रिय घटनाहरूमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न रहन्छ अनि एक सचेत स्रष्टाले यस्ता घटनाहरूको सुक्ष्मरूपमा अध्ययन गरेर आफ्नो सिर्जनाद्वारा सरल अनि सहज शैलीमा पाठक सामु प्रस्तुत गर्दछ । सरल र सहज छन् सुकराजका कविताहरू तर सतही र सामान्य़ नभई सशक्तरूपमा आफ्नो भावना पाठक समक्ष सम्प्रेरित गर्न सक्षम छन् सुकराज । परिवेश, सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक, शैक्षिकस अनि साहित्यिक धरातलबाट नै कविताको मूल्यहरूको निर्माण अनि कविताको सौन्दर्य सृष्टि गर्दछ ।यस्तै केहि विषयहरूमा केन्द्रित रहेर सिर्जना गरिएका कविताहरूको यो कविता सङ्ग्रह –अनुहारमा भूगोल – भित्र शीर्षक, प्रस्तुतीकरणको भिन्नै आयामहरू देखिए तापनि कविताको मूल तत्व, सार अनि भावना पुनरावृत भएको छ । भ्रममा पर्दछ पाठक । धेरै संख्यामा कविताहरू एउटै सङ्ग्रहमा अर्न्तभुक्त गरिएको दुष्परिणाम पाठकले बेहर्नु पर्दछ ।
मनुष्यको चिन्हारी उसको अनुहार हो भने अनुहारको चिन्हारी भूगोल बनाएका छौं सर्वश्रेष्ठ मनुष्यले । भूगोलविहिन हामी अनुहारमा नै बोकेर बाँच्न वाध्य छौं, हाँस्न बाध्य छौं । यही भूगोल, अस्तित्ववोध, संघर्ष, सपना, पलायनको प्रतिविम्व कविताले आफ्नै स्वरूप, आकृति, मूल्य र चिन्हारी गुमिसकेको अनुहार खोज्ने प्रयास गरेको छ ।
चियाकमानको पृष्ठभूमिमा रचित कविताले कहिले खुशी लेख्न सकेन, समृद्धि देख्न सकेन, सन्तोषको स्वास लिन पाएन, तृप्तीको अनुभूति पाएन यस्तै यथार्थको वर्णन छ भूगोलको संसारमा “सुनमाया”-शीर्षक कवितामा । चियाबगानलाई आफ्नो रगत पसिनाले खिँचेर सिँगार्ने सुनमायाको अभावको ग्राफ कम्पनीको मुनाफाको समानुपाती हुन्छ । सुनमायाको सस्तो पारिश्रमिक बजारमा मँहगो विज्ञापनको माध्यमले बिक्री गरिन्छ । बक्किस, सप्ताहको खर्च, वर्षको बोनस र बड़ापैसाको मोठ योगफलको गणितले सस्तो ऐनामा आफैलाई अँटाएर सिँगारिन वाध्य हुन परेको छ – सुनमाया । गुगलमा सम्मोहित सुनमाया चियाको पर्याय मात्र हो उसको जिन्दगीको वास्तविकता यसरी वर्णन गरिएको छ—
सुनमायाको यो जिन्दगानी
गम्बुट र टोकरी
घुम वर्षातीभित्र पार्सल भएको छ
सुनमायाको रगत र पसिना
गुगलभित्रै रातो रंगको चियासँगै खाँदिएको छ । { गुललको संसारमा सुनमाया, पृ.सं.24 }
सर्च इञ्जिन गुगलले समस्त संरचना समेटन सक्षम रहेतापनि गाउँ-बस्ती अनि कमानको वास्तविकता गुगलले समेटन नसकेको गुनासो अनि चियाबारी सँधै सुख अनि समृद्धिको प्यासमा काकाकुली भएर बाँच्न पर्ने कविता पढ़न पाउँछौं क्रमशः हाम्रो गाउँ, कविताको गुगल अनि चियाबारीभित्र मेरी आमा –शीर्षकभित्र । वाध्याताले आफ्नो जन्मथलो बाट टाड़ो हुनुको पीड़ा मानिसले भोग्न परेको छ । आफ्नो गाउँको दुखद घटना सुखद यादमा परिणत हुँदछ परदेशमा । पलायन हुन पर्ने प्रयोजन जे जस्तो भए पनि सँधै सम्झानामा बल्झन्छ आफ्नो थलो ।यो पीड़ा कवि शिद्धिचरण श्रेष्ठले पनि भोगेर लेखेका थिए यसरी –
भाग्य लहरमा लहरी-लहरी
पुगे म यस मरूस्थलमा कसरी ।{ मेरो प्यारो ओखलढुङ्गा }
बदँलदो समय अनुसार पलायन हुने प्रक्रिया अनि प्रयोजनको पद्धति परिवर्तन आयो तर उस्तै रह्यो विस्थापनको । नव पुस्ताका कविहरूले नौलो ढङ्गमा कविता लेखे मर्म पुरातन नै रह्यो वाध्याताको । सुकराज जागिरको निम्ति तराई ओलर्न पऱ्यो, गाउँको धारा, शीतल वायु, साथी-संगी, पर्यावरणको याद साबिकरूपमा आउन स्वाभाविक रह्यो । सुकराजले विस्थापनको दुःख कोरा भावुकतामा रून्चे कविता लेखेनन् नक्कली आवरणभित्रको सक्कली हामीलाई नङ्ग्याए –
हामीलाई हाम्रै मन पर्दैन
हामी अरूकै मन पराउने भयौं
...................................
हामीले हाम्रो घर बनाएनौं
हामीले अरूकै घर बनाउन मात्रै जान्यौं । {कोर्न नसकेको चित्र, पृ.सं. 49}
भूगोल परिवर्तन गरेपनि साधारण मानिसको शोषणबाट उन्मुक्ति पाएका छैनन् । स्थान अनुरूप शोषकको रूप अनि प्रवृति भिन्न भए पनि उही रूपमा पीड़ित भइरहनु परेको छ शोषित ।
हाम्रो खुन चुस्नेहरू
माथि पनि रहेछ
तल पनि रहेछ
टोकाइदेखि बपाँच्न
हामी सकेनौ ।{ शोषण, पृ.सं. 50 }
शोषकलाई जुगा र मच्छरको विम्बको रूपमा स्थान अनुरूप सुन्दर रूपमा प्रस्तुत गरेका छन् । चियाकमानको श्रमिकको रूपमा आफ्नै माता-पिताको नामको प्रतीक प्रयोग गरेर कवितालाई आडम्बर रहित यथार्थवादी अनि जीवन्त तुल्याएर कविताको विषयप्रति निष्ठावान रहेका पाउँछौं ।
हर्कबहादुर अनि दिलमायाले जीवन
पुग –अपुग जीवन चियाबारीमा नै बिताएको । { कविताको गुगल, पृ. 52}
तरूणी उमेरमा नै विधवा वाध्याता – सेतो गुलाब-कवितामा प्रतिकात्मक ढङ्गमा लेखिएको छ । सम्झाना सँधै आलो रहोसको कामनाले सापेक्षित रूपमा धुप्पीलाई सुन्दर रूपमा उभ्याएका छन् –
मैले मायाहरू पनि छाड़ीराखेको छु
त्यहीको हरियो धुप्पीका रूखहरूमा
.................................................
कतै याद नआए
धुप्पीलाई सम्झीदिनु ।{ समझानाको पोस्टर, पृ.102}
सुकराजको कल्पनाशक्ति अनि जीवन र जगतको अनुभवद्वारा प्राप्त गरेका अनुभूतिकले प्रतीक निर्माण गर्न सिपालु कसवि हुन् । प्रतीक प्रयोग गर्नै पर्छको वाध्यातामूलक सोंच नरहेको पलस्वरूप सौन्दर्य अभिवृद्धि भएको छ कवितामा ।
जीवनको भोगाई र संवेदना मानिस पिच्छे आफ्नो अनुहार र स्वरूप झैं फरक-फरक हुन्छन् भूगोल पनि । जीवनको भोगाई र संवेदना बँचाई र सम्भावना, सोंच र अपुर्णतताको मेलले निर्माण गर्दछ जीवन गीत अनि सङ्गीत सजाउँदछ समयले सुहाउँदो । जीवन जिन्दगीका कविताहरू सुकराजले नलेखेको भए जीवनलाई परिभाषित गर्ने क्रम टुट्ने थियो निश्चय नै त्यसैले अटुट राख्न लेखे कविता जतीवनको जिन्दगीलाई । श्रृंखलावद्ध रहन अनुशासनको घेरोमा जिन्दगी । समयानुरूप सजाउनु सक्तिन जीवनलाई हुनु र नहुनुको भ्रममा पिङ्ग खेल्थे जीन्दगी ।
थुक्क ! जीवन
जीवन हुनुको नाम
जीवन नहुनुको नाम
जीवन कतै छैन ।{ जीवन हुनु नहुनुको बोधमा, पृ 30}
जीवनको प्रत्येक काल खण्ड भोगेर अनुभवको उद्गार यसरी पोखिन्छ –
सेक्सको प्रभोलनमा
फाँसियो होला मेरा कविताहरू
वैंशको ति बेलाहरूमा
लाप्पा खेल्यो होला
खाता किताप बोकेका
हुद्दाका-हुद्दा नानीहरूसित
..................................
कैंयौं भूँइचालोहरूमा चोइटियो होला
...........................................
कैंयौं घाम पानीले चुर्ण
भयो होला
यी मेरा बुड़ा कविताहरू । {जीवन समारोहमा बुढ़ा कविताहरू }
जीवनका अव्यवस्थित बचाई यसरी व्यक्त गर्दछन् अर्का कवितामा –
जीवनको अनिंदो सपना
यो फिका विपनामा । { फेरि यो जीवन, पृ 73}
इन्द्रबहादुर राईले आज रमिता छ – मा लेखे “ मैले देखे जीवन चलिरहेरछ तर सुव्यवस्थित भई यो ठीक ठीक मिलेर चलेको छैन ।“ अव्यवस्थित अनि बेठीक चलेको जीवनको आठवटा कविता लेखेर समावेश गरेका छन् यो सङ्ग्रहभित्र । जीवन शीर्षकको दुईवटा कविता यही पुस्तकमा परेकोले केही भ्रम पर्नसक्छ जीवन जस्तै । जीवन पृ.सं. 92 अनि जीवन पृ.सं.108 प्रकाशक वा लेखको सम्पादकीय चेतको कमि ।
पाँचवटा कविता देशको विषयमा लेखिएको छ । देशभक्तिका कविताहरू लेखिएका छैन तर देश र नागरिक कर्तव्यवोधक छन् कविताका भावना । अघि उल्लेख गरे जस्तै यति धेरै कविता एउटा सङ्ग्रहमा समेट्न खोज्नु वाध्याता हो कि रहर लेखकको बुझ्न सकिएन तर विचार र मूल भावनाको आवृत भएको मात्र नभएर केही तल-माथि गरेर लेखिएको पाउँदा पाठक अलमल्ल पर्नु स्वाभाविकै हुन्छ एउटा दृष्टान्त हेर्नु होस् –
देशले अनुहार खोज्छ
मान्छेलाई होइन
देशले पाखुरा रोज्छ
भाग्यलाई होइन । { देशको अनुहार पृ 56 }
अब अर्को कवितालाई हेरौं –
तिम्रो देशको कुरा गर्दै
...............................
तिम्रो अनुहारलाई
देशले अनुहार खोज्छ
मान्छेलाई होइन
देशले पाखुरा रोज्छ
भाग्यलाई होइन । { देशभित्रको देश, पृ. 104 }
यसै क्रममा आन्दोलन विषयमा तीनवटा कविता अनि गाउँको सम्बन्धमा पाँच कविताहरू राखिएको पाउँदछौं ।
वर्तमानमा शिक्षाको महत्व अनि वाध्यातालाई सुन्दर ढङ्गमा लेखिएको छ – मेरो नानीले अक्षर सिक्दैछ – कवितामा । शिक्षाको बारे लेख्छन्-
अक्षरहरू जोड़िएर
भाग्य बनिन्छ भनेर
अक्षरहरू घोटेर
भाग्य तुयाइन्छ भनेर । { पृ. 32 }
अब वाध्यता –
अक्षरहरू उच्चारण गरी रहन्छ
.........................................
क र ख छोड़ेर A, B, C, D सिक्दैछ
मेरो नानी अक्षर सिक्दैछ
मेरो नानी अंग्रेजी स्कूल पढ़्दैछ । { पृ. 33}
छोरो शीर्षकको कवितामा कविले आफ्नो मित्रलाई यस्तो छोरो जन्माउने आग्रह गरेका छन् जो दरभङ्गे, लिखेभीरमा अल्झिएको ढुङ्गा जस्तै डरलाग्दो होस भूगोलको मानचित्रभित्र हाम्रो किपट खोज्न सक्ने होस अर्थात समस्याहरूसँग जुध्न सकोस् भन्ने कामना गरिएर लेखिएको छ । मेरो नानीले अक्षर सिक्दैछ र छोरो – कवितालाई मनोविश्लेषणात्मक अध्ययन गरे मानव तर स्वार्थपरक गुण देख्न पाउँदछौं, दुःख विद्रोह अनि कष्ट खप्ने र गर्ने अर्का नै हुन् आफ्नो होइन । विगतको चिन्हारीको आन्दोलन पार्ट वान अनि पार्ट टू – ले चिन्हारीको नाममा आन्दोलनले एउटा नयाँ दर्शन सृष्टि गऱ्यो – झण्डा दर्शन । के समेट्न सकेको थिएन झण्डाले ? समग्र दर्शनहरूको निचोड़बनाइएको थियो – झण्डा दर्शन । त्यो कालखण्ड अनि अझै जागृत अवस्थामा रही दर्शन व्यक्त छ कविता झण्डा – भित्र । नौलो परिपाटीमा कविता लेख्न प्रयास गरिरहने कविहरूमध्ये सुकराज अग्र पंक्तिमा नाम दर्ता गर्न सफल हुन् भन्न वाध्यता तुल्याउँदछ - उनको कविताको गुगल अनि झण्डा कविताले । कविताको गुगल – शीर्षक भएको कवितामा उप-शीर्षक झैं कवितालाई चार उपवर्गमा विभाजन गरिएको छ । उपशीर्षक 1. कविता लेख्छु 2. कविता लेख्छु 3. आज म कविता भन्छु, कविता देख्छु अनि 4.कविता सुन्छु । यसरी नै एक दुई गरेर लेखेका छैनन् त्यो मेरो नितान्त आफ्नो बुझाई हो । सुन्दर वस्तुमा अधिक सोंच पलाए जस्तै सुन्दर कवितामाथि मेरो सोंच नाँच्न खोजे जस्तै हो । कविताको गुगल – कविताले यो सङ्ग्रहमा भएका धेरै कविताहरूको विम्ब दर्शाउन सक्षम छ । यो सङ्ग्रहको बीज कविता हो – कविताको गुगल ।
सुकराजका कविताहरूमा लेख्नुको लक्ष्यार्थ, बुझाई अनि पाठकले पढ़ीसके पश्चात गर्ने अर्थ निर्माणमा सामांजस्य पाउँछौं । कवितामा साज अनि जीवनको परिवर्तित स्वरूपको प्रतिविम्ब पाउँदछौं । विषयवस्तुको स्पष्टताको आपेक्ष राख्न सकिन्छ सुकराजबाट ।
कालेबुङ, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु