तुसको टुसो

- राम बिनय


फागुनको महिना । विबाह,ब्रतबन्ध लगायतका शुभकार्यहरु गर्ने बेला । नदीको किनारको समतल भुभाग,उत्तर पश्चिम तिर लहरै उभिएका हरिया डाँडाहरुको एकपछि अर्काे पहाडीश्रृङ्गखला । त्यही पहाडिश्रृङ्गखलाको सेरोफेरोमुनिको त्यो बजार । भरखरै नगरपालिकामा परिणत भएको त्यो सानो सहरबजार । बास्तबमा निकै मनमोहक देखिन्छ । त्यहि बजारमा रहेको एक सम्पन्नसालि ब्यक्तिको घरमा आज धुमधामको बैबाहिक कार्यकम भैरहेको थियो । आफनोभाईको छोरा (भतिजा)सनदको शुभबिबाहमा सामेल हुन अजयपनि सपरिवार नारायणगढबाट त्यहाँ पुगेको थियो ।
अष्ट्रेलियामा धेरैवर्ष बसेर धनसम्पति कमाएर फर्केका भतिजाको बिबाहको चहलपहल निकै रौनक हुनेनै भयो । भयो पनि । त्यहाबाट पोखरामा दुलही लिन जाने जन्तिमा उ पनि सामेल भयो । पोखरामा दुलहिको माईती तर्फबाट गर्नुपर्ने बिबाहको सबै कामकारबाई रितपुर्बक सकिएपछि बाजागाजा सहित जन्ति दुलहि लिएर दुलहाको घरमा फर्कियो । भोजमा निकै पाहुनाहरुको उपस्थिति थियो । पाहुनाहरुको आउने र जाने क्रम चल्नथाल्यो । कोही विदाईहुने क्रममा थिए ।
घरको बैठककोठाको सोफामा अजय पनि आफनो जेष्ठनागरिक पिता र भाईको बिचमा बसेकाथिए । बिदाईको लागि त्यहाँ एकजना महिला पनि आईन ।
अजयले देख्यो “उसँग कक्षा ४ देखि निकै समय सँगै पढेकि कक्षाको साथी अन्जना पनि विबाह कार्यक्रमा भागलिन आएकि रहिछ ।”
सायद उनी उन्का भाईबुहारीको कोहीनातेदार होलिन । अन्जनालाई देखेर अजय छक्कपरेर उन्लाई हेरे । अन्जनाले पनि उस्लाई त्यसरीनै हेरिन । उनीहरुको बिचमा सामान्य औपचारिक बोलिचालि पनि भएन । उनीहरुको बिचमा मौनताको पर्खाल उभिएको थियो ।
अन्जना आफनो लोग्ने,छोरा बुहारी र नाति नातिनीहरु सित आएकि रहिछ । बिदाई हुनेबेलामा अन्जनाले उस्को भाईलाई ढोग्यो । उ बिचमा थियो । उस्लाई ढोगेन । उनीहरुको घरको सबभन्दा जेष्ठनागरिक बुवालाई ढोग्यो । त्यस पछि उनी सरासर बाहिर निस्किन । गाडिमा बसिन । आफनो घर पोखरामा सपरिवार फर्किन ।
आज उसलाई अन्जनाले गरेको ब्यबहार अनौठो लाग्यो । राम्रो लागेन । उस्ले आफूलाई आफनो भाईबुहारी लगायत सबैकोअगाडि अपमानित भएको महसुस गरयोे । उस्लाई सारहै नमिठो लाग्यो । भाईबुहारीेको नाताले पनि त्यस महिलाले अजयलाई त्यस्तो ब्यबहार गर्नु हुन्नथ्यो । अजयलाई लागेको थियो— “ उनीहरुको पुरानो ईतिहास चिहानमा बिलाई सकेको होला । तर बिलाएको रहेनछ ।” उ यस्तैउस्तै शोचेर उ बसेको ठाउँबाट जुरुक्कउठयो । ढोकाबाहिर सडकमा निस्क्यो र एकहोरो टोलाएर उभिरह्यो ।
उ अन्जना गएकोबाटो तिर निकैबेर नियालेर बसिरह्यो । अन्जना बसेकोेगाडि नदेखिने गरी बेपत्ता भैसकेको थियो ।
उ एकोहोरिएर उभिरहेको ठाउँमा एकजनाकेटो आयो । त्यो केटोले एउटा मोटोखाम दिदै भन्यो “ अँकल यो खाम तपाईलाई दिनु भनेर अघि यहाँबाट जाने अन्टिले दिनुभएको हो, लिनु होश ।” उस्ले त्यो खाम लियो । उसले त्यो खाम लिएर सरासर आफुबसेको कोठामा गयो । त्यो गहकिलो खाम बसेर खोल्यो र बिस्तारै पढन थाल्यो ।


मिस्टर अजय ,
आज मैले घरबाट निस्कँदा अबस्य पनि तिमीसित भेट हुन्छ होला भन्ने शोचेकि थिएँ । हाम्रो देखादेख त भयो । हाम्रो बोलिचाली भएन । त्यो हाम्रो पहिले देखिको मौनताको निरन्तरता थियो । मेरो जीवनभरमा मेरो मनमा तिमीप्रति धेरै बर्षदेखि दबेर बसेको भाबनाको अतृप्त आकांक्षाको तुसलाई तिमीलाई कसैले चाल नपाउने गरी बयबहारबाट देखाउनेछु भन्ने सोचेर म तिम्रो भतिजोको विबाहमा पुगेकि थिएँ । तिमीलाई कहिले पनि नबिर्सने गरी प्रतिशोधको ब्यबहार तिमीमाथि मैले जानाजानी गर्छु भनेर मैले जे शोचेर गएकि थिए, आज त्यहि ब्यबहार मैले तिमी प्रति गरँे । तिमीलाई थाहा छ कि छैन तिम्रो बुहारी सित मेरोमाईतिको नजिकको नाता सम्बन्धमा पर्छ । त्यहि नाताले आज म आउन पाएको हो र तिमीसित मौनबार्ता गर्न पाएँ ।
तिमीलाई मैले आज जुन ब्यबहार गरे, त्यो ब्यबहारले गर्दा तिमी छक्क परेकोे होला । छक्क पर्नु पर्देन । मैले त्यस्तो ब्यबहार शोचिबिचारी नियतपूर्वक गरेको ब्यबहार हो त्यो । तिम्र्ो मनमा भित्र सम्म चोट पर्ने गरी, तिमीलाई बेस्सरी चित्तदुख्ने गरी,सबैको सामुन्ने अपमान हुनेगरी गरेको मेरो ब्यबहार हो त्यो ।मेरो मनभित्र दबिएर रहेको तुसको बिस्फोटन हो त्यो । मैले तिमीसित गरेको अपेक्षा पुरानभएको बिरोधमा पोखिएको आक्रोश हो त्यो । तिमीप्रतिको असन्तुष्टिले मेरोमनमा सानै देखि लुकेर बसेको तुसको अभिब्यक्ति हो त्यो । तिमी म सित बेस्सरी रिसावस भनेरनै मैले तिमी प्रति गरेको नियोजित शोच र ब्यबहार हो त्यो ।
तिमीलाई मैले त्यस्तो ब्यबहार किन गर्रे ? तिमीलाई थाहा छ ? अवस्य पनि थाहाछैन । पुरुष भन्दा महिला कति श्रद्धालु र कहिलेकाहि कति ईखालु हुन्छ भन्ने कुरा तिमी पुरुषहरु कमैलाई थाहा होला । भनाई पनि छ नि ”परेको बेलामा फुल भन्दा नरम र कुनैबेला दुङ्घा भन्दा कठोर ।”
रिसउठेको बेलामा नारी कस्तो रणचण्डि हुन्छन भन्ने कुरा तिमीलाई थाहा छ कि छैन ? नारीहरु जति बढि सहनशील हुन्छन त्यतिनै कोही कोही आफनो आक्रोश,क्रोध,असन्तोष र अतृप्तिलाई प्रतक्ष्यरुपमा र कोही अप्रत्यक्षरुपमा प्रकट गर्छन् । कोही त्यस्ता बिषयलाई जबरजस्त रुपमा दबाएर राख्छन । त्यस्ता सदरनारीमा म पनि पर्दछु । बेला आएपछि कुनै पनि नारीले त्यस्लाई पोख्ने पनि गर्दछ । मैले पनि आज तिमीप्रति अलिकति भएपनि ब्यबहारबाट मौनक्रोध र आक्रोस पोखेँ । मनको असन्तुष्टिलाई उजागर गरेँ ।

तिमीलाई सम्झना छ कि छैन ? तिमी त्यतिबेला आफनो गाउँबाट तनहँु जिल्लाको तत्कालिन सदरमुकाम बन्दिपुरमा पढन आएका थियौ । हामीले पढने गरेको हाम्रो भानु हाई स्कुुल त्यतिखेर टुडिखेलनेर थियो । हामीहरुले पढिरहेको कक्षा ४ मा तिमी पनि भर्ना भएका थियौ । पहिलोपटक मैले तिमीलाई त्यहाँ देखेँ । तिमीसित साथसँगत बोलिचाली हुन थाल्यो । तिम्रो सबै शोचाई र बोलि ब्यबहार मैले थाहापाएँ । तिमीलाई नजिकबाट नियाल्न थालेँ । तिम्रो सिधासाधा स्वभाब देखेँ । तिमीलाई देख्नासाथ अचम्मसित म तिमीसित आकर्षितहुन थालेँ । म सहरबजारमा बस्ने केटी अनि तिमी गाउँबाट बजारमा बसेर पढन आएका केटो । यहाँ बजारमा भएका केटाहरु भन्दा तिमी गाउँबाट आएका केटा मेरोलागि सबभन्दा राम्रा, शिष्ट, ईमान्दार र असल तथा सरल केटा थियौ । हाम्रो कक्षा ४ मा हामी जम्मा जम्मी ३५ जना (छात्र छात्रा )बिद्यार्थीहरु थियौ । ती ३५ जना बिद्यार्थीहरु मध्यमा मेरो आँखा तिमीमा गहिरोसँग पस्यौ । सायद तिमीलाई थाहा थिएन । नपत्याउने गरी म तिमी सित नजिक हुन, लहसिन खोजे । तर म भित्रको मेरो आँट प्रकटहुन सकेको थिएन ।
कक्षा ४ मा पहिले देखि पढने धेरै( छात्र छात्राहरु )बिद्यार्थीहरु थिए । तिमी हाम्रो कक्षामा भर्ना भएको एक महिना पनि भएको थिएन । हाम्रा सरहरुले तिमीलाई हाम्रो कक्षाको मोनिटरको पदमा मनोनित गर्नु भएको थियो । त्यसमा हामी सबैको सहमति थियो र खुसियालीमा हामी सबैले तिम्रो सर्मथनमा जोडदार ताली बजाएर तिमीलाई मोनिटर मानेका थियैो । त्यो मेरोलागि निकै खुसियालीको क्षण थियो । तिमी हाम्रो कक्षाको मोनिटर भएकोमा म लगायत मेरा धेरै साथीहरु असाद्धे खुसी भएका थियौ ।
तिम्रो अगुवाई हाम्रो कक्षा राम्रोसँग चलिरहेको थियो र साथीहरु सबैले तिमीलाई सहयोग गरेका थिए । सरहरु पनि तिम्रो शोच र ब्यबहारले सन्तुष्ट हुनु हुन्थ्यो ।
एकदिन हाम्रा कक्षाका एकजना खराब स्वभाबका छात्रले तिम्रो बिरोधमा अनाबश्यक कुरा गरेका रहेछ । उसले तिमीलाई तानाशाह, निरंकुश भयो बनेर कुरा गरेर हिडेको रहेछ । सायद उसलाई मोनिटर हुन नपाएकोमा, उस्को मनमा सन्तोष लागेन होला । गाउँबाट आएका तिमी जस्ताले त्यो पद पाएकोमा उस्लाई रिस उठेको थियो होला ।
आफनो काममा कसैलाइ पनि चित्त बुझेन भने र कसैले बिरोध जनायो भने त्यस्मा तिमी निकै शँबेदनशील हुन्थ्यौ । साथीहरु मध्य कसैलाई पनि आफू प्रति असहमति भयो भने अथवा सर्बसम्मत भएन भने पनि त्यस्ता पदमा नबस्ने तिम्रो स्वाभिमानी स्वभाबले गर्दा त्यसमा तिमी बस्न चाहेनौ । उ जस्ता निकृष्ट ब्यक्तिको छोटा बचनले तिमीले चित्त दुखायौ । त्यत्तिकैमा तिमीले राजिनामा गरयौ ।
हामीलाई दुःख लाग्यो । हामीहरु तिमी नजिक गएर सम्झाउँन गयौ र भन्यौ “किन राजिनामा गरेको ?हामीले गतिलो सक्षम मोनिटर साथी पाएका छौ । त्यो एकजना फटाहाले भनेर हुन्छ ? उसको पक्षमा कोही पनि छैनन । हामी सबैले तिम्रो सर्मथन गर्छाै । राजिनामा फिर्ता गर ।” तर तिमीले राजिनामा फिर्ता गरेनौ ।
हामी त्यतिबेला बालकै थियौ । यस्तो अबस्थामा पनि बालसुलभ शोच, खै कताबाट आयो खोई ? भाग्य बिधाताले हामीलाई यो संसारमा मन मिल्ने गरी बस्न पठाएको हो कि क्या हो ? मैले तिमीलाई मेरो मन भित्र बलियो सँग राख्न पो थालेछु । चिन्नु न जान्नु सित नपत्याउने गरी मैले तिमीलाई मनपराउन थालेछु ।

केही समय तिमी आफनो गाउँमा फर्कियौ । करिब २ वर्षपछि तिमी फेरी हाम्रो स्कूलमा भर्ना हुन आयौ । त्यतिबेला हामी कक्षा ६ मा पुगेका थियौ । सरहरुको मुल्यांकनको आधारमा होला तिमी एकैपटक कक्षा ८ मा भर्ना भयौ । पहिले एउटै कक्षामा पढेको जस्तो हाम्रो भेटघाट भएन । तर पनि पर परबाट हाम्रो देखादेख र भेटघाट हुने गरेको थियो ।
त्यतिबेला हाम्रो बजारमा नाटक मंचन हुन थाल्यो । बजारका एकजना अर्को बालकलाकार र तिमी मिलेर बालकलाकारको भुमिका निर्बाह गर्न थाल्यौ । नाटकमा बालकलाकारको भूमिकामा तिमीले मन्चन गरेको धेरैले मन पराए । मलाई मन नपर्ने त कुरा भएन । तिम्रो साथी र तिमीले भोटे बच्चा बालकलाकार भएर नाच गर्दा ‘ओम माने पेमे होम’ भन्दै, छुक छुक गर्दै नाचेको मलाई हिजो अस्ति जस्तै लाग्छ । तिमी नाचेको बेलामा मानिसहरुको हुल छिचोल्दै म पनि रमाएर, खुसी हुदै तिमीहरु नाचेको नजिक पुग्ने गर्थे । तिम्रो त्यो प्रतिभा देखेर म त नतमस्तक हुन्थे । त्यतिबेला तिमीलाई देख्दा मात्र पनि मेरो मन आनन्दले गदगद हुन्थ्यो । त्यतिखेर केटाकेटीको बुद्धि न हो तिमीलाई भेटेर बोल्ने केहि आँट हुदैनथ्यो । र पछि नपत्याउने गरी तिम्रो पछि पछि लाग्न मन लाग्थ्यो । तिमी कता छौ होला भनेर तिमीलाई खोज्न मलाई मनलाग्थ्यो र कसैले थाहा नपाउने गरी म तिमीलाई खोज्न हिडथे पनि ।
त्यतिबेला तिमी स्कुलबाट फर्केपछि एउटा बिद्धयार्थी संगठनको कार्यालय सचिव भएर काम गर्ने गर्दथ्यो । म पनि स्कूलबाट घर फर्केर जाने बेलामा मेरो बहिनी र म तिम्रो कार्यालयमा गएर तिमीलाई जिस्क्याउने गथ्र्याै । तिमीले भोटे बच्चा भएर गाएको गीत तिमीलाईनै सुनाउने गरेर तिमीलाई हैरान पार्ने गथ्र्यौ । तिमी चुप लागेर आफनो काममा ब्यस्त हुन्थ्यौ । हामीले तिमीलाई जिस्काउँदा पनि तिमी हाँसेरमात्र बस्थ्यौ । तिम्रो मुस्कान पाएपछि बल्ल हामी आफनो बाटो लाग्थ्यौ ।

हाम्रौ उमेर पनि सायद बिस्तारै युवाचुलितिर उकालो लाग्दै थियो अर्थात युवास्थामा प्रबेश गर्दैथियो । यस्तोबेलामा हाम्रो मनोदसा, मनोबिज्ञानमा र शारिरिक बनौटमा परिबर्तन आउनु स्वभाबिकै थियो । तिमी कक्षा १०मा पढदै थियौ र म कक्षा ८ मा पढदै थिएँ । मैले तिमी सित खुलेर कुरा गर्ने बातारण थिएन । तिमीले मलाई नजिकबाट केही कुरा गर्छौ कि जस्तो मनमा लागि रहन्थ्यो । म त आईमाई केटी मान्छे, तिमी सित खुलेर कुरा गर्न कहाँ सक्थेँ र? त्यस्तो आँट पनि हुन्नथ्यो । अहिले भएको भए मैले तिमीलाई जानेको थिएँ । मिठो बोलेर, धम्काएर, घुर्कि देखाएर, रोएर तिम्रो मन जित्ने थिएँ । तर त्यतिबेलाको बाताबरण र चलन अनुसार केही पनि गर्न सकिने अवस्था थिएन । तिमीलाई म मन पराउँछु, माया गर्छु भन्ने आँत पनि आउन्नथ्यो । पुरुष भएको हिसाबले तिमी म प्रति आक्रामक भएर बोलिदिए पनि हुने थियो भन्ने मनमा लागि रहने गर्दथ्यो । तर त्यस्तो केही पनि भएन । कता कता यो मेरो एकोहोरो माया पे्रम पो हो कि जस्तो लाग्न थाल्यो । मेरो घरमा नपत्याउने गरी मेरो उमेर अनुसार मेरो विबाहको कुरा चल्न थाल्यो ।
मलाई एउटा आशा थियो यस्तो बेलामा तिमीले आफनो घरमा कुरा गर्नेछौ र मलाई माग्न आउनेछौ । तर त्यस्तो केही भएन । त्यो त मेरो एउटा सपना न हो । मैले कल्पना गरेजस्तो, कल्पना गरे जस्तो कहाँ हुनेरहेछ र ? मेरो एकतर्फि मायाले के पो हुने रहेछ र ?
मेरो काका जसबहादुर र तिमी एउटै कक्षामा पढने साथी थियौ । तिमी र काका मिलेर नाटक खेलेको, घनिष्ठ साथी भएकोले तिम्रो र मेरो सम्बन्धको बारेमा केही थाहा पाएको रहेछ । उहाँले मलाई एकदिन भन्नु भयो “ए अन्जना, तिमी अब विबाहा गर्न योग्य उमेरमा पुगेकि छौ । तिम्रो मनपर्ने कोही केटोसाथी छ ? भन म कुरा चलाउँछु ।“
काकाको कुरा सुनेर म त छक्क परेँ । कसरी भाग्य बिधाताले मेरो मनको कुरा सुनेछ । कसरी मेरोकल्पना साकार हुने वाताबरण बन्न थालेछ । त्यसदिन म मुस्कुराएँ मात्रै । म केही पनि बोलिन । मेरो काका जसबहादुरलाई हाम्रो सम्बन्धको बारेमा केही थाहा रहेछ ।
भोलीपल्ट हामी स्कुलमा भेट भयो र भन्नु भयो “अन्जना, मलाई तिमीहरुको माया पे्रमको सम्बनधको बारेमा राम्रो सित थाहा छ । म तिम्रो मनपर्ने साथी अजय सित म कुरा गरौं है, हुन्छ ?
मैले स्विकृति जनाएँ । काकाले तिमी सित कुरा राख्नुभएछ । तिमीले भनेछौ —“ म गाउँको किसानको छोरा, अन्जना धनी ब्यापारीको छोरी, कसरी मिल्ला र ?”
“हामी एउटै कक्षामा पढने साथी । हाम्रो कुरा मिल्छ । तिमी हुन्छ मात्र भन न म सब कुरा मिलाउँछु । “काकाले जोड दिएर भन्नु भएछ , तिमीले आँट गरेनछौ । यो कुरा तिम्रो फुुपुकहाँ पनि पुगेको रहेछ । त्यहाँ पनि तिमीले आँतगरेर कुरा गरेनछौ ।
तिमीले एस एल सी टेष्ट पास गरेर फाइनल जाँच दिने भनेर पोखरा जानको लागि आफनो गाउँमा फर्केर गयौ । तिमी पोखरामा एस एल सी फाईनल दिन गएको र जाँच सकिए पछि सदरमुकाममा तिमी आउनेछौ भन्ने लागेको थियो । तर तिमी आएनौ ।

तिमीले त्यसबेलाको एस एल सी परीक्षा फष्ट डिभिजनमा पास गरेको खवर मैले पनि सुनेँ । मलाई असाद्धे खुसी लाग्यो । मेरो मनममा हर्षको सिमा रहेन । एस एल सी परीक्षा पास गरेपछि तिमीले आफनो गाउँको स्कूलमा पढाउन थालेका छौ रे भन्ने खवर पनि सुने । तिमी जहाँगए पनि, जहाँबसे पनि मलाई तिम्रोबारेमा चासो हुने गर्दथ्यो ।
एकदिन संयोगवस तिम्रो फुपुकहाँ पुगेकीे थिएँ । त्यसको भित्री उद्देश्य त मलाई तिम्रो बारेमा बुझनु थियो । फुपुसित कुरा भैरहेको थियो । फुपुबाट मलाई थाहा भयो “तिम्रो विबाह त्यतै गाउँको एकजना धनिमानीको छोरीसित हुने भएछ ।“ त्यो खबर सुनेर मेरोमनमा ठुलो चडकन परेजस्तो भयो । मेरोमनमा अशान्तिको बाढी उर्लियो । तिम्रो त्यो नरमाईलो खवर सुनेपछि त्यहाँ मलाई एकछिन पनि बस्न मन लागेन । फुपुसित बिदा भएर म घरमा पर्केर आएँ ।कोठामा बसेर एकोहोरो टोलाएर बसे । त्यस दिनभरी मलाई नरमाईलो लागिरहेको थियो ।बेलुका आमाले खाना खान बोलाउनु भयो । खाना खान मन छैन आमा भनेर टारिदिएँ ।
राति सुत्नेबेलामा मेरो अगाडि तिम्रो मात्र अनुहार नाचिरह्यो । तिमीसित हाँसेको खेलेको र दगुरेको सम्झना भैरह्यो । तिमीले नाटकमा गरेको रमाईलो प्रहसनको याद आईरह्यो ।तिम्रो स्वभाब,मैलेजतिसुकै गाली गरेपनि,जतिसुकै जिस्काएपनि नरिसाउने बानी सम्झि रहेँ । म रातभरी निदाउन सकिन । त्यसबेला मलाई एउटा कलाकारले गाएको गीत याद आयो ।
“उस्लाई मेरो माया नै ला छैन ।
म लाटीलाई त्यति नै था छैन ।
रोएको देख्ने आकासमा जुनछ ।
त्यो मायाले तडपाउने था छ ।“
मेरोआँखाभरि आँसुको धारा उर्लिरहेकोे थियो । रुँदा रुँदा कुनबेला निदाएछु पत्ता भएन । सिरानी भने आासुले लपक्क भिजेको पाएँ ।
भाग्य बिधाताको खेल हो कि केहो थाहा छैन ।मैले तिमीलाई मनमनै आफनो पतिकोे रुपमा स्वीकार गरी सकेकि थिएँ । आदिमकालमा एकजना महिलाले धेरै पुरुषहरुसित यौन समागम गर्नसक्ने स्वतन्त्रता थियो रे । पछि महिलाहरुको यो स्वछन्दता, स्वतन्त्रतामा नियन्त्रण भयो र एकल महिला र एकल पुरुषको परिवार प्रणालि चलेको रे भन्ने सुने । पतिब्रता महिला भएर जीबन चलाउनु पर्ने बारेमा सुने । एकनारी ब्रम्हचारी बारेमा सुने ।त्यही भएर म पनि तिम्रो एकमात्र पतिव्रता पत्नी भएर बाँच्ने कल्पना गरे । तिमीले त्यो मेरो कथाको ब्यथालाई बुझेनौ । तिमीले मलाई चिनेनौ ।तर पनि मेरोमनमा गहिरोसित बसेको तिमीप्रतिको पे्रम र आसक्तिलाई मैले मेरो मनबाट फाल्न सकिन । तिमीलाई मैले बिर्सनै सकिन । त्याग्न सकिन ।
तिमीलाई यो कुरा सम्झना छ कि छैन? तिमीले आफनो विबाहमा सामेल हुन तिमीले आफनो फुपुलाई लिन आएका थियौ २ दिनको बाटो हिँडेर ।तर तिम्रो फुपु तिम्रो बिबाहमा सामेल हुन जानु भएन । बहाना बनाएर अन्तै जानु भयो । त्यस्को कारण थाहा छ ? त्यो मेरो कारणले थियो । तिमीले आफनो फुपुले भनेको मानेनौ । मलाई तिमीले बिबाह गरेनौ भनेर उहाँले बेस्सरी चित्त दृखाउनु भएको थियो । त्यो तिम्रो बिबाहमा उहाँ अनुस्पिति उहाँ बिरोध हो र म प्रतिको सहानुभुतिहो ।हामी सँगै बसेर रोएको मलाई यादछ । तिमीले हाम्रो कम्ति चित्त दुखाएनौ , त्यतिबेला मिष्टर अजय ।
तिमी आफनो बिबाह पछि फुपुकहाँ आएका थियौ ।त्यतिबेला तिमीलाई फुुपले भन्नुभएको रहेछ “ए भदा बाबु तिम्रो बिबाहमा तिमी सन्तुष्ट छौ कि छैनो ? छैनो भने अर्को बिबाह गर ।म अहिलेनै तिमीलाई मिलाइ दिन्छु आँट गर ।“
तिमीले फेरि पनि आँट गरेनौ । केही प्रतिकृया जनाएनौ । तिमी चुपचाप घर फर्कियौ ।त्यसपछि मलाई झन नमज्जा लाग्यो । नरमाईलो लाग्यो ।तिमी सित बेस्सरी रीसउठयो ।रीस उठेर मैले के पो गर्न सक्थे र तिमीलेनै वास्ता नगरेपछि ?
तिम्रो बिबाह भएको केही महिनापछि मेरो पनि बिबाहको कुरा चल्यो । मेरो बिबाहको बारेमा बा आमा,काका काकी सबैले मेरो मनशायको बारेमा सोध्नु भयो ।मलाई रुन मनलाग्यो ।आँखाभरि आँसुलिएर टाउको हल्लाएर स्विकृति जनाएँ ।
धुमधाम सँग मेरो शुभबिबाह सम्पन्न भयो ।बिबाहको जन्तिको बिचमा नयाँ दुलहासित म उस्को घर पोखरामा दुलही भएर प्रवेश गरेँ ।जीवनमा पहिलोपटक बिल्कुलै नयाँ ब्यक्तिसित मैले आफनो जीवन सर्मपण गर्दैछु भन्ने लाग्यो । दुलहाको घरमा पुगेपछि मैले उस्को अनुहार नियालँे ।उसको अनुहार त तिम्रो अनुहार जस्तै रातोपिरो रहेछ । मलाई त्यस्तो लाग्यो । उस्को अनुहारमा तिम्रो अनुहार देखेँ । बिबाहापछिको सुहागरातमा उसलाई तिमीनै सम्झेर आफुलाई उसैलाई सर्मपण गरीदिएँ ।उसलाई तिमीनै सम्झेर त्यो लोग्नेलाई अपनाएँ ।
माया प्रेम भन्नु र बासना भन्नु अलग भन्थे । हो रहेछ । मायाप्रेम बिनाको लोग्ने स्वास्नीको सम्बन्धमा महिला भनेको सन्तान उत्पादन गर्ने मेसिन हो भन्थे । मलाई हो जस्तो पो लाग्यो ।मेरो लोग्नेसित मेरो बिबाह त भयो । तर एकपटक मनमा गहिरोसित गाडिएको मायाप्रेमको जरा त्यसै उखेलिने रहेनछ । मैले उस्लााई अपनाएँ । उ सँग भएको मेरो शारिरिक सम्पर्क र
समागममा मैले तिमीलाइनै सम्झेर उ सित समागम गरेँ ।सन्तान उत्पादन गरेँ ।छोरा छोरीहरु भए । अहिले त नाति नातिनीहरु पनि भएकाछन ।जे जस्तो भएको भएता पनि मेरो मनको गहिराईबाट तिमी हटन सकेनौ ।मैले तिमीलाई मानशिकरुपमा त्याग्न सकिन । यसो भनेर मैले नारी जातिको बेइज्जत गरेको होइन । यो मेरो मनको यर्था ब्यथा बिना कुनै ढाकछोप ईमान्दारिताकासाथ पोखिएको हो ।
कहिलेकाँही यसो बिचार गर्छु “तिमीले मलाई वास्ता गरेनौ । मेरोमात्र एक तर्फिमात्र माया पे्रम पो भएछ कि सायद ?अहिले मैले तिमीले मलाई धोखा दिएको महसुस गरेकोछु ।त्यसैले मैले तिमीलाई माया पे्रम गर्दा गर्दै घृणा गर्नलागेकोछु । तिमीले मलाई वास्ता नगरेको, नअपनाएको र जीवन भरिको साथी बन्न बिबाह गर्ने आँत नगरेकोमा मेरो मनभित्र तिमी प्रति ठुलो ईख छ । मन भित्र माया प्रितिको तुस हटेकाछैन । त्यस तुसमा तुसारो परेकोछ र त्यस तुसारोले त्यसलाई छोपेको छ । त्यसेले मलाई तिमी बिनाको जीबन कृतिम जस्तो लागिरहन्छ र त्यहि कृतिमतामा बाँच्न विवश छु ।
मेर जतिसुकै भएपनि चट्टानको बिचमा परेको पिपलको बिउ बिचमा उमे्रजस्तै मायापिरतिको बिउको जराको तुस हटेको हुनेरहेनछ । अहिले हाम्रो जीवनको बाटो दुई भँगालो भएर अलग भएकोछ ।हाम्रो आआफनो घर परिवार अलग छ । तर तिमीले एकजना स्वाभिमानी महिलाको मनको कुरा नबुझेकोमा, मलाई स्वीकार नगरेकोमा म तिमीलाई घृणा पनि गर्न पनि सक्दिन । गाली पनि गर्न सक्दिन तिमीलाई ।तर तिमी प्रति ईख छ, ईश्र्या छ । त्यसैको तुस मनभित्र छ । तुसाउन सकेको छैन ।
मेरो परिवार छ । तिम्रो परिवार छ । हामी आआफनो भँगालाका बगिरहेकाछौ । तिम्रो र मेरो माया पे्रमको कुरा कसैले थाहा पायो भने मेरो लोग्नेले के भन्ला ?अरु परिवार र समाजले के भन्ला ? तिमीले त आफनो मनको कुरालाई के कसरी दबएर राखेकाछौ कुन्नि ? मेले त जबरजस्ति दबाएर राखेकिछु ।
आज तिम्रो भतिजाको बिबाहमा तिम्रो बुहारीको माईति तिरको नाताले मैले त्यस बिबाहको कार्यक्रममा भाग लिन गएको थिएँ । पुरानो कुरा सब बिर्सेर तिम्रो भाई बुहारीको नाताले हाम्रो परम्परा र सँस्कृति,सँस्कार अनुसार
मैले तिमीलाई पनि ढोग्नु पथ्र्यो । तर मैले तिमीलाई जानाजानी ढोगिन । एक मनले त लागेको थियो एकपटक पतिको कल्पना गरेर मन सुम्पि सकेकोलाई खुटटामा ढोगे पनि हुने भन्ने मनमा उट्पट्याङ विचार पनि नआएको होईन । तर त्यसो गर्नु भनेको आत्माघाति र पागलपन हुने देखिने थियो । झण्डै म जोगिए । तिमीलाई ढोगिन । टाउको निहुराईन । त्यसकोलागि म पहिले देखिनै मानसिकरुपले जवाफको तयारी गरेको थिएँ “त्यो के भने कसैले मैले तिमीलाई कि नढोगेको भनेर कसैले सोधेमा म भन्नेछु । उ र म त एउटै कक्षामा पढेको साथीहो,त्यसैले मैले उसलाई ढोगिन । सँयोगनै मान्नुपर्छ कसैले मलाई सोध्ने आँट पनि गरेन, म गजबले जोगिएँ । तर तिम्रो बुहारीले तिमीलाई नढोकोमा स्पष्टिकरण सोधिन ।मैले जे शोचेर गएको थिएँ उन्लाई मैले त्यहि जवाफ दिएकि थिएँ ।बिचरा तिम्रो बुहारीलाई हामी बिचको कुरा के थाहा ?
यसरी मैले जानाजानी तिमीलाई अपमान गरेँ । मनको तुस देखाएँ । तिमीले मलाई पुलुक्क हेरयौ । मैले पनि तिमीलाई अघाउन्जेल हेरेँ । सरासर बाहिर निस्केर पोखरा जाने आफनो बाटो लागेँ । बाटोलाग्नु अघि एकजना केटोलाई यो पत्र दिनको लागि ब्यबस्था मिलाएको थिएँ र तिमीलाई दिनु भनेर छोडेर म आफनो बाटो लागेँ ।
मिष्टर अजय, तिमीलाई यस्तो ब्यबहार किन गरेको होला भनेर मनमा लागेको होला ।तिम्रो मनमा मैले गरेको ब्यबहार तिमीले कहिले पनि नबिर्सियोस भनेर अथवा तिम्रो मनको भित्री भागसम्म जमेर बसोस भनेर नै मैले त्यो ब्यबहार गरेकोहो । यसलाई तिमी जे सुके भन म वास्ता गर्दिन ।
तिमी मलाई घमण्डी, सन्कि जेसुकै भन, तिमीलाई मेरो स्वभाव थाहा छँदैछ । तिम्रो मनको भित्र सम्म गएर तिमीलाई चिमोट्न पाएकोमा मलाई असाद्धे खुसि र सन्तोष लागेको छ । यसकोलागि म तिमी सित माफी पनि माग्दिन । अब त मेरो कुरा तिमीले बुझयौ होला नि मेरो बिर्सि नसकिने निर्दयी साथी ।
ल बिदा ।
उही अभागी अन्जना ।
उ त्यो लामो पत्र पत्र पढेर लामो स्वास तान्यो । खातमा डंरङ पल्टियो र मनमन भन्यो ‘मैले तिम्रो तिब्र ईच्छा पुरा गर्न सकिन अन्जना, मलाई माफ गर ।’ उस्लाई फेरि लाग्यो “यो महिलालाई आफनो ईच्छा पुरा नभएकोमा कस्तो ईख राखेको रहेछ । बिगतका क्षणहरु बिर्से पनि हुने । कस्तो नबिर्सि बसेको होला ?उन्ले लेखेका सबै घटना बास्तविकतामा आधारित थियो । अन्जनाले सबै घटनाहरु ईमानदारिताका साथ राखेकोमा उस्लाई उनको प्रशंसा गर्न मन लाग्यो । तर के गर्नू ? कसैलाई भन्ने कुरा पनि भएन । उ दिन भरी कोठामा एक्लै चुपचाप बसिरह्यो । कसै सँग बोलेन । भोलिपल्ट बिहानै नारायणगढ घरमा सपरिवार फर्किए ।


समय सँधै कहाँ एकनास हुन्छ र ? समय र सँसारको प्रकृति परिबर्तनशील भन्ने सिद्धान्त बाहेक हरेक कुरा परिबर्तनशील छ भन्ने भनाई जो कोहीमा पनि लागु हुन्छ । हुनेरहेछ । अजयको जीबनमा पनि यो प्राकृतिक नियम लागुभयो । उस्लाई हिजोआज पहिले देखिको प्रचलित उखानहरुको खुब यादहुन थालेकोछ ।
“ बारह छोरा तेरह नाती,बुढाको ढोक्रो काँढैमाथि । ”
त्यस्तै “आमा बाउको मन छोराछोरी माथि,छोराछोरीकोमन ढुँगामुढा माथि ।” र “ सानो छँदा मर्ला भन्ने पीर,ठुलो भएपछि मार्ला भन्ने पीर ।” ईत्यादि ।
उस्लाई धेरैबर्ष पछि हिजोेआज ती उखानहरुको अर्थ लाग्न थालेको जस्तो लाग्न थालेको महसुस भएको जस्तो लागेकोछ ।
उस्ले सोचेअनुसार, उस्ले भनेअनुसार घरब्यबहार चलेको छैन । सबै आआफनो सुरमा छन् ।उसको केही शोधखोज छैन ।सरसल्लाह, बिचार विमर्श छैन । आफूलाई सबैबाट बेवास्ता गरिएका महशुस भैरहेकोछ । कसैलाई केही सोधखोज गरेमा बेवास्ता गर्ने, झँझट मान्ने, अपमान गर्ने, बेलाबेलामा उसप्रति दुब्र्यबहार गर्ने गरेको पनि उसले ब्यहोर्नु परेको छ । उसको मनमा एकप्रकारले बैराग्य उत्पन्न भएकोछ । पहिलेका मानिसहरु घरब्यबहारको जीवनबाट फुर्सद लिएर वनमा तपस्या गर्न जान्थे रे । त्यही देहत्याग गर्थे रे । आफू त्यस्तोमा पनि परिएन । यो चितवन, नवलपरासीमा तपस्या गर्ने ठाउँ पनि कहाँछ र ? त्यसरी आश्रम बनाएर बस्ने स्थान पनि कहाँ छ र?
घरमा मनको कुरा मिल्ने बुढीमाउ पनि छैन । मलाई छोडेर परलोक भएको पनि निकैदिन भैसक्योै । त्यसैले भनेकोहोला “बच्चाको आमा नमर्नु, बुढाको बुढी नमर्नु ।” वास्तवमा म पनि उनी बिना टुहुरा पो भएको छु । मेरो त आफनो स्वास्थ्य अबस्था ठीक छ । अहिलेनै हरेश खानु पर्ने अवस्था छैन ।
तर हरिभक्त काका जस्तो भएर बस्नु परयो भने बाँचेको पनि के सार जस्तो पो लाग्छ मलाई । काकालाई त तल कोठामा एक्लै राखेकोछ ।कोही सोधखोज गर्न आउन्नन । एकजनाले खाना ल्याई दिन्छन र जान्छन । खाए खा नखाए घिच जस्तो ब्यबहार गर्दो रहेछ । उहा कहाँ एकजना सहयोगी महिला राखेको थियो ।उनी छँदा हेरबिचार राम्रो थियो । पछि उन्लाई पनि के के आरोप लगाएर काकालाई थाहै नदिएर लखेटेर पठाएछन् ।अहिले उहाँलाई स्याहारसुसार गर्ने कोही छैनन् । विचरा काकाको हाल बेहाल छ । मैले त त्यसरी बस्नु परेमा मेरोमन असह्य हुनेछ ।त्यसैले बेलामा नै कसैलाई थाहा नदिएर नारायणी नदीको पुलबाट नदिमा हाम्फालेर आफुलाई समाप्त पार्छु । यो सबभन्दा उत्तम उपाय हो । उ एकोहोरोसित यस बारेका ध्यानमग्न भयो ।
घाम पश्चिमतिर लाग्दै थियो ।उसले के के शोचेर बसेको ठाउँबाट जुरुक्क उठ्यो । आफनो के मिलाउनु पर्ने काम मिलायो । एउटा सानो झोला भिरयो । कसैलाई थाहै नदिएर उ कोठाबाट बाहिरियो । फटाफट हिडेर उ पुलचौकमा पुग्यो । त्यहाँ मानिसहरुको होहल्ला थियो ।गाडीहरुको आवत जावत बाक्लो थियो ।त्यो होहल्लामा उ एकसुरले हिडिरहेको थियो । नारायणीको पुलमा पुग्यो ।पुलबाट कसरी अरुले नदेख्ने गरी हामफाल्ने भनेर उ हेर्दे थियो ।उ बिचार गर्दे थियो । गाडीको ओहरदोेहर भएको बाहेक त्यहाँ मानिसहरुको त्यति बाक्लो उपस्थिति थिएन । उस्ले यता उती हेर्यो । केही पर एकजना महिला पनि घर परिवारबाट दिक्क भएर बैरागिएर पुलबाट कसरी हाम्फाल्ने भनेर बिचार गर्दे थियो । पुलबाट तलतिर नियाल्दै थियो । अजयलाई लाग्यो “यो पनि म जस्तै हामफल्न लागेको होला । को रहेछ ?” उसलाई उत्सुकता लाग्यो ।
अजय उनको नजिक गयो । उस्ले सजिलै थाहा पायो । तिनी त उस्लाई अपमान गर्ने, पुरानो तुस पाल्ने, अन्जना पो रहेछ । अहिले सम्म खुलेर नबोलेका अजयले अनयास बोल्यो
“ए के भयो अन्जना ?”
“खै के भनु ? यो जीबन पनि के हो ? के हो ? आज छ , भोली छैन ।यस्तै बेलामा
मलाई तिमी सित भेटन लेखेको रहेछ कि के हो ?”
“ म त जीवन देखि बैरागिए बैरागिए । तिमी किन बैरागिएको हो ?”
“खै के भनु मिष्टर अजय, घरमा सबैको बन्दोबस्त भएको हो । लोग्ने भनाउँदोले पनि मलाई धोकादिएर बुटवल तिर गएर बसेकोछ । मलाई त्यहाँ जान दिएन । त्यहाँ उसको पहिले देखिको रखौति रहेछ ।घर नफर्कने भनेर खबर पठायो । छोराबुहारीहरुको आफनै धुन छ, सुर छ । मेरो कुनै मान्यता छैन ।मलाई तिनीहरु सबले हेला गर्छन । अपमान गर्छन । दुरब्यबहार गर्छन् । भन्छन “एउटा बुढोलाई पनि सम्हालेर नराख्ने, खुसी नपार्ने, झगडा गर्ने भनेर मलाई दोष दिन्छन् ।”
“ तिमी साँच्चीनै नारायणिमा यो पुलबाट हामफाल्न पोखरा देखि किन आएको त ? त्यहीँ सेती नदी छँदै थियो नि ।”
“मन बैरागिएको बेलामा माइृतिमा केही मनमा सानत्वना होलाकि भनेर आएको हो । बाउ आमा नभएको माईति पनि त्यस्तै रहेछ । भनाई पनि छ “चेली भन्छे माइती । माइती भन्छ किन आइती ?” माइतीमा पनि मेरो अपमान भयो ।कसले सुनि दिनेर मनको बह ? त्यसैले “मनको बह कसैलाई नकह” भने जस्तै कसैलाई केही नभनेर कसैलाई थाहा नदिएर पुलबाट हाम्फाल्न आएको हो मिष्टर अजय म त ।”
“अहा कस्तो हाम्रो कुरा मिलेको ? म पनि यो जीवन देखि बैरागिएर यो पुलबाट हामफाल्न आएको हो,कसैलाइ थाहा नदिएर ।”
“ ल उसो भए मिष्टर अजय हामीले जीबनभर गर्न नपाएका कुरा गरौ र सँगै हाम्फालेर मरौ हन्छ ?”
घाम डुबेर साँझ पर्लापर्ला जस्तो थियो । तिनीहरु दुबैजना पुलपारी गैडाकोट तिर घुम्न तिर लागे । दुबैजना हषर््बिभोर थिए । अन्जनाले हिडदा हिँडदै अजयलाई सानोमा जिस्काएको भोटेनाचको “छिक छिक“ शब्द उच्चारण गरेर अजयलाई जिस्काएर छकक पारिन ।
“ए पगली ! तिमीले अझ पनि त्यो बिर्सेकि छैनौ ?”
“ छैन मिष्टर अजय, तिमी जतिसुकै टाढा होउ । म तिमीनेर छु, सदा सदा । मेरो मनमा बसेको तुस हराएको छैन । यसमा तुसारो परेकोहो । अब त्यो तुस तिमी भेटेर मेरो मनमा टुसो पलाएको छ ।आज म तिमीलाई भेटेर संसार जितेको महशुस गरेकी छु । तिमीलाई कस्तो लाग्यो मेरो कुरा मिष्टर अजय ?”
“के हामीलाई साँच्चिनै मिलन गराएको हो भाग्य बिधाताले ?”
“हो अजय, पहिले हामी बन्धनमा थियौ ।अहिले हामी बन्धनमा छैनौ । हामी बिच अब केही अबरोधहरु छैन । हामी अब स्वतन्त्रछौ ।”
तिनीहरु यस्तै उस्तै कुरा गर्देै केही पर एकान्त चौरमा पुगे । झमक्क साँझ परिरहेको थियो । तिलीहरु आनन्दले निस्फिक्रि कुरा गरे । अन्जना भाबुक भईन । आँखाभरि आँसु पारेर क्वा क्वा आवाज निकालेर रोईन ।अजयले उन्लाई सान्त्वना दिएर आफनो काखमा राखे । दबैजना भावबिभोर भएर रोए । दुई भँगालाहरु आपसमा अँगालोमा बेरिएर बग्न थाले ।जीवन भरको तिर्र्खाको उत्कर्षको प्यास मेटे । आफूहरुको जीवनमा रहेको माया प्रेमकको टुसमा तुसारोले छोपिएको तुसारो पन्साए । त्यसैबाट टुसो पलाएको महशुस गरे तिनीहरुले ।
भोलि बिहानै लँकुबाट छुटने माइक्रोबसमा बसेर काठमाडौ जाने निधो गरेर फोनबाट टिकट निधो गरे र त्यहाँबाट तिनीहरु छुटिटए ।

बिहान ५बजे अजय लँकुको माइृक्रोबसमा बसे । पुलचौक नारायणगढबाट अन्जना त्यही बसमा पसे र उनीहरु सँगैको सिटमा बसे । यात्रुहरु आउनुपर्नेहरु आएपछि माईक्रोबस नारायणगढ बजारलाइ पछाडि पारेर रामनगर भएर मुग्लिन तिर सरर बग्न थाले ।
अजयले भने ः “अंजना ! तिमी त्रिसुली र म मस्र्याङ्दी भएर हामी मुग्लिनमा मिसिएका छौ । मस्र्याङदी र त्रिसुली मिलेर नारायणीमा मिसिन तलतिर दगुरिरहेको छ । हामी भने त्रिसुलीकोे किनारै किनार काठमाडौ पुग्न उकालो लागिरहेकाछौ । हाम्रो मिलन उल्टो भयो कि सुल्टो भयो ?“
गम्भिररुपमा चुपचाप बसेकि अन्जना बिस्तारै बोलिन ः“हामीहरु नारायणी नदीमा हाम्फालेर मर्न भनेर भनेर निस्केका थियौ । हामीलाई फेरि पनि बाँच्न मनलाग्यो , हाम्रो भेट भएपछि । हामीहरु घनघोर बिध्न बाधाबाट उम्किएका छौ । खुल्ला आकासमा उन्मुक्त भएर उडिरहेका चखेवाका जोडि भएका छौं । अब हामीलाई कुनै प्रकारको अवरोधको पर्खालले हामीलाई छेक्ने छैन । हामी स्वतन्त्र छौ ।”
तिनीहरु काठमाडौ पुगे । सुरक्षित बसे ।
तिनीहरु काठमाडौ पुगेको पर्सिपल्ट अजयले पत्रिका पसलबाट एउटा पत्रिका किनेर ल्याए । अजय र अन्जनाले पत्रिका पढे । त्यस्मा २ वटा अलग अलग सूचना थियो फोटो सहितको ।
महिला हराएको सूचना र पुरुष हराएको सुचना ।
दुबैजनाले पत्रिकामा सुचना पढेर सल्लाह गरे । उनीहरुले पनि पत्रिकामा सूचना प्रकाशित गर्ने निर्णय गरे । स२चनामा दुबैजनको फोटो राखेर भनेः —
“हामी हराएका छैनौ । हामी सुरक्षितका साथ बसेका छौ । हाम्रो चिन्ता नगर । हाम्रो खोजी पनि नगर । तिमीहरुलाई हाम्रो आर्शिवाद छ ।”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 श्रावण, 2077

लेखकका अन्य रचनाहरु