शिवपुरी सैर

- राजेन्द्रमान डंगोल

“ह्वाइ नट वि टेक अ भिक्ट्री शट !”
प्रकृतिमाथि विजय हासिल गरेकोमा खुसी हुँदै तोबियाजले भने ।
तीनैजना सँगै बसेर र एक्लै–एक्लै सेल्फी लियौँ ।
मैले नाम दिएँ– ‘शिवपुरी सेल्फी ।’
शिवपुरी– महाभारत पर्वत शृङ्खलाको एउटा हिस्सा । शिवपुरी– काठमाडौँको उत्तर किनारमा अवस्थित फूलचोकी डाँडापछिको अग्लो पर्वत । शिवपुरी– काठमाडौँ उपत्यकाको जलाधार । शिवपुरी– स्तनधारी वन्यजन्तु, पन्छी र पुतली कीट–पतङ्गको साझा बासस्थान ।
शिवपुरी थलीको एक छेउमा छ– प्रजापती बाबाले साधना गरेको गुफा । त्यसैको नजिक सेतो वस्त्र, सेतै दारी र फुलेको कपाल झल्किने मूर्ति छ– शिवपुरी बाबाको । तत्लोपट्टि छ– उनै बाबाको आश्रम ।
भारतको केरला राज्यमा जन्मेका योगी गोविन्दानन्द भारती यहाँ आएर बसेपछि शिवपुरी बाबाको नामले चर्चित भए । उनी १०० वर्षको उमेर पुग्दा दोस्रो पटक वि. सं. १९८२ मा कैलाश मानसरोवर हुँदै एक हप्ताका लागि नेपाल आएका थिए । प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मोहित भएका बाबाले चन्द्रशमशेरको अनुमति लिएर यहीँ नै अन्तिम विश्रामस्थल बनाउन पाएका थिए ।
सय वर्षको उमेरमा पनि हिँडिरहन सक्ने बाबाजीको योगशक्तिलाई पनि मान्नैपर्छ । १०० वर्षमा त के पो भइसकुँला । सोच्दै थिएँ म ।
सम्यक जीवनका गुरु थिए– शिवपुरी बाबा । शारीरिक, नैतिक र आध्यात्मिक अनुशासन सिकाउँथे उनी । यही हो– मानव जीवनको सत्य र सत्य साक्षात्कार गर्ने कायदा । उनले सिकाएका स्वधर्मको ज्ञान सबैले जीवनमा लागू गर्ने हो भने संसार कस्तो हुन्थ्यो होला !
शिवपुरी बाबाले भनेका कुरा कतै पढेको थिएँ– ‘आर्ट सुड बि आइडियालिस्टिक, थिङ्किङ सुड बि रियालिस्टिक एन्ड लाइफ सुड बि आर्टिस्टिक ।’
शिवपुरीको टुप्पोबाट एकछिन जीवन र जगतलाई नियाँलेँ मैले ।
चारैतिर जङ्गलले घेरिएको छ । रूखका छिद्रहरूबाट उत्तरपट्टि तादी उपत्यकादेखि लाङटाङ हिमशृङ्खलाका सुन्दर दृश्यहरूमा नजर डुलायौँ हामीले । चियाएर हेरेजस्तै भएको थियो– हिमालले हामीलाई र हामीले हिमाललाई ।
“लेट्स टेक अ गुड रेस्ट बिफोर वि डिसेन्ड ।” मनसुवा व्यक्त गरे तोबियाजले ।
थलीमा पलेँटी कसेर बस्यौँ हामी तीन यायावर । हामीबाहेक अरू केही थिएन त्यतिबेला ।
नागी गुम्बादेखि उठाएका प्रत्येक पाइला र पलहरूको झल्को आउन थाल्यो आँखामा ।
०००
‘ह्वाट अ ब्यूटिफुल मोनास्ट्री !’
‘चुन गोन नाङ्की थोङ्साल लिङ’ नागी गुम्बा पुग्नेबित्तिकै तोबियाजले मुख खोले ।
पहेँलो रङ पोतिएको विशाल गुम्बा अगाडि पुगेका थियौँ हामी । सहरबाट हेर्दा अक्करे भीरजस्तो देखिए पनि फराकिलो छ, गुम्बा भएको ठाउँ । काठमाडौँको खाल्डोमा नअटेर डाँडाकाँडा सबै ढाकिइसकेका छन् गुम्बाहरूले । मन्दिरमात्र होइन, गुम्बाको सहर पनि हो काठमाडौँ ।
“अ प्लेस अफ साल्भेसन । एक्स्क्लुसिभ्ली रन् बाइ दि नन्स ।” मैले सङ्क्षिप्त जानकारी गराएँ ।
अघिल्लो वर्ष भदौ महिनामा आएको थिएँ, अमेरिकी नागरिक जामी नोम्र्यान र उनका पति टडसँग । बुढानीलकण्ठदेखि नै पैदलयात्रा गरेका थियौँ । यहाँसम्म आइपुग्दा बेगिन्ती मिनी झरनासित साक्षात्कार गरेको थिएँ मैले । अहिले आइयो बाइकमा । हिँड्नु र गुड्नुमा खासै अन्तर हुँदोरहेनछ ज्यानलाई । कहाँको न्याय ग¥यो र उबडखाबड सडकले ! नागी गुम्बाको आँगनमा उक्लिएर दुनिएको कम्मरलाई सोझ्याएथेँ मैले ।
‘वाह, भ्यूज आर एब्सोल्युट्ली फ्यान्टास्टिक !’ चारैतिर फर्केर नजर डुलाउँदै फेरि बोले तोबियाज ।
प्रशन्न मुद्रामा थिए उनी ।
शरद सम्पातको पहिलो दिन । वर्षात्लाई बिदामात्र के गरेथ्यो शरदले, जगमगाउँन थालिसकेको थियो धर्ती । पहाडहरूले पनि विरहका गीत गाउन छाडिसकेका थिए । मज्जैले हाँसिरहेको थियो प्रकृति । प्रभातदेखिकै चिरबिरको मधुरङ्खव फैलिइरहेको थियो यत्रतत्र । गुम्बाको आँगनमा उभिएर तारेभीरदेखि काठमाण्डौँको दृश्य हेर्दा प्रकृतिजस्तै मुस्कुराएथ्यो मेरो मन ।
गुम्बाभित्रबाट आइरहेको छ आनीहरूले मन्त्रको समवेत ध्वनी । आँगनको डिलमा मन्द गतिमा फर्फराइरहेका छन् बौद्ध झण्डा र ध्वजाहरू ।
सुनेको थिएँ– तिब्बती शरणार्थी परिवारमा जन्मेकी आनी छोइङ डोल्मा (भुमो) पारिवारिक परिवेशबाट मुक्ति खोज्दै यही गुम्बामा आएर नयाँ जीवनको थालनी गरेकी थिइन् रे । बाल्यावस्थादेखिकै भोगाइका उतार–चढाव र प्रताडना खेपेकी आनी छोइङको सङ्घर्षमय जीवन र त्यसपछि उनले हासिल गरेको अपार सफलताको उचाइ र लोकप्रसिद्धीलाई प्रेरणादायी रूपमा ग्रहण गर्छु म ।
हठात् गुन्गुनाउँन पुगेँ म उनकै कर्णप्रिय आवाज–
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार....’
तस्बिरमा मात्रै हो । प्रत्यक्ष देखेको छैन मैले भुमोलाई । गुम्बाको आँगनमा निस्केका स–साना आनीहरूले उनकै प्रतिविम्बन गरायो मलाई । सबै आनीहरूले भुमोकै पदचाप पछ्याउन सकून् ! कामना गरेँ मैले ।
०००
नौ बजेको थियो, नागी गुम्बा छाडेर उकालो लाग्दा ।
आदर्श महतसमेत तीनजना थियौँ हामी । पेशाले उनी ‘ट्रेकिङ गाइड’ नै हुन् । मैले ‘शिवपुरी जाऔँ’ भनेपछि उक्सिएका थिए उनी ।
हामीसँगै उकालिँदै थियो बैँसे घाम ।
केही खुड्किला उक्लेपछि पछाडि फर्केर गुम्बालाई हेरेँ मैले । स्वाभिमानको आकाशतर्फ फैलिएका बौद्ध तोरणहरू बताससँग छिनाझप्टी गर्दै अस्तित्वको लडाइँ लडिरहेका थिए । तोरणका रङहरूको अर्थ खोज्दै उकालिएँ म । त्यही बेला बताससँगै प्रेमालाप गरिरहेका फूलहरूले बेवास्ता गर्दै थिए नश्वरताको ।
०००
लौ, दर्शन पाइयो एकथान ढेंडु बाँदरको ! ऊ फालहाल्दै थियो एउटा रूखबाट अर्कोमा र बेस्सरी हल्लाउँदै थियो हाँगा । मानौँ– ऊ आँप झार्न खोज्दै छ । नजिकैको रूखमा रहेछ अर्को । उसैको नक्कल गर्दै थियो त्यसले पनि । अचम्मकै प्राणी हो ! एउटाले जे ग¥यो, अर्कोले पनि त्यही गर्नु पर्ने । बाँदरको चर्तिकला भनेको यही हो !
“लुक याट देम । दे वेल्कम्ड अस ।” हाँसो निकाल्दै तोबियाज बोले ।
“दे डिड दियर जब ।” आदर्श बोले ।
“दे मे बि अनह्याप्पी विथ अस ।” म बोलेँ ।
कति भाग्यमानी छन् यहाँका बाँदरहरू ! रसिलो जङ्गलमा बस्न पाएका छन् । स्वच्छ हावामा श्वास फेर्न पाएका छन् । ऋषिमुनिहरू जत्तिकै बाँच्छन् होला यहाँका बाँदरहरू । यहाँ भएका फलफूल र कन्दमूलका हकदार उनीहरू नै हुन् । उता पशुपति र स्वयम्भूकालाई भने कहिले मान्छेले बिस्कुट र चाउचाउ देलान् र खाउँला भनेर कुर्नुपर्छ । मान्छेका पुर्खा हो भन्छन् । ब्यहोरा गतिलो नभए पनि बिछट्टै माया लाग्छ मलाई बाँदरको । बरु उताकालाई पनि यतै ल्याइदिए त उद्धारै हुन्थ्यो । मनोलाप गरेँ मैले ।
‘वि आर इन्टरिङ टु दि डेन्स फरेस्ट । वि मे इन्काउन्टर विथ वाइल्ड एनिमल्स । बि केयरफुल !’
टिकट काउन्टरमा सेनाले भनेबमोजिम सचेत गराएँ मैले तोबियाजलाई ।
चितुवा र बँदेलसँग त सतर्क रहनै पर्छ । भेट्यो कि झिरिप्पै पारिहाल्छन् यिनले । कहिलेकाहिँ त सैर गर्दै बुढानीलकण्ठसम्म पनि पुग्छन् यिनीहरू । अनि त बेलाबेलामा पर्ने गर्छ हाहाकार !
पारिस्थितिक प्रणाली जोगाउनका लागि जीवजन्तुको रक्षा गर्नुपर्ने दायिङ्खव छ हाम्रो ।
सचेतनाका लागि बोर्डमा लेखिएको छ– ‘शुट द एनिमल्स विथ क्यामरा, नट विथ गन् !’
पर्यटकहरूले तिरेको शुल्क यिनीहरूकै सुरक्षाका लागि हो ।
मान्छेको शुल्क । सवारी साधनको शुल्क । नेचर गाइडको शुल्क । एकजना विदेशी र दुईजना नेपालीको जम्माजम्मी रु. एकहजार आठ सय तिरेका थियौँ । जङ्लभित्रको यात्रा भएकाले नेचर गाइडको अवधारणा राम्रो हो । म भन्छु– यो हुनैपर्छ । रोजगारीको सवाल पनि त छ । विडम्बना ! नेचर गाइड जानु नपर्ने; तर शुल्क चाहिँ तिर्नुपर्ने । यस्तै रहेछ यहाँको चलन......... !
१,६५० मि.बाट पुग्नु छ २,७३२ मि.सम्म । निरन्तर चढिरहेका छौँ प्रस्तरका खुड्किला ।
उपोष्ण र समशीतोष्ण रेखाभित्र पर्छ– शिवपुरी पर्वत । त्यसमाथि पनि शरदको श्रीगणेश भइसकेको अवस्था । पदयात्राका लागि उत्तम हो मौसम । मौसमले साथ दिए पनि खुड्किलाहरूले गलाउँदैछ हामीलाई ।
तातिँदै गयो ज्यान । तन्किँदै गए तिघ्राका मांसपेशी । बढ्दै गयो मुटुको धड्कन ।
“ख्यालख्याल गर्दागर्दै थकायो खुड्किलाले ।” बिलौना गरे आदर्शले ।
साँच्चिकै कठिन थियो ठाडै उकालोको खुड्किला चढ्न । धन्न ! खस्रु, कटुस, बाँझ र चिलाउनेको छहारी ओढ्न पाएका थियौँ हामीले ।
“टन्टलापुर घाममा उकालिनु परेको भए त बाउकै बिहे पो देखिने रहेछ हगि !” बिलौना पोखेँ मैले ।
“हाउ आर यू ?” तोबियाजको नाडी छामे आदर्शले ।
“स्टेप्स ड्रेन्ड माइ इनर्जी । आइ एम नट इन याज गूड अफ हाइकर याज आइ थट । मे बि, इट वाज द कपल अफ स्ट्र«ङ बियर्स लास्ट नाइट ।” लामो श्वास तान्दै तोबियाजले जवाफ पर्काए ।
सुरुमा त फटाफट लम्किएका थिए । हामीलाई जस्तै भएको रहेछ उनलाई पनि ।
“लेट्स एसेन्ड स्लोली !” मैले भनेँ ।
छिनछिनमा उभिँदै उक्लिएका थियौँ हामी ।
फर्कंदा यही बाटो भइदिन्छ तारेभीर । घुँडा र पाँसुलालाई पर्ने भयो भार । सुर्ताएथेँ म ।
खोटे सल्लाका वासनाले हल्का राहत दिएको थियो हामीलाई ।
“एकछिन त थकाइ मार्नु पर्ला कि !” म बोलेँ ।
“त्यसै गर्नु पर्ला दाइ ।” स्वीकारोक्ति आदर्शको ।
“ह्वाइ नट वि टेक अ रेस्ट फर अ ह्वाइल ?” तोबियाजलाई सोधेँ ।
“स्योर !” उनको जवाफ ।
भोटेनी धारा १,६८५ मि.मा पुगेर रोकियौँ हामी ।
खुड्किलाको खण्ड सकिएपछि बिस्तारै घट्दै गयो मुटुको ढुकढुकी ।
जतिजति उकालियो, त्यतित्यति नै बाक्लिन्छ जङ्गल । यो घना जङ्गलको गोरेटोमा अरू पदयात्री भेटेका छैनौँ हामीले ।
लगभग एक घण्टामा आइपुग्यो तल्लो देउराली २,३७० मि. । पाइला नरोकी अगाडि बढ्यौँ हामी ।
बाटो सजिलो भएकोले गति बढेकै थियो हाम्रो ।
आइपुग्यो देउराली २,३९० मि. । यो चाहिँ माथिल्लो देउराली । घना जङ्गलको बीचमा पनि खाली ठाउँ हुँदोरहेछ । फिरन्तेहरूलाई सुस्ताउने राम्रो ठाउँ ।
“बाफ् रे ! झण्डै डेढ घण्टा भइसकेछ !” आश्चर्यभावमा आदर्श ।
सूचना पाटीमा लेखिएको छ–
‘बाघद्वार– ४० मिनेट
तीनचुली– ५० मिनेट
शिवपुरी पिक– १ घण्टा’
बाटो छ– तेर्पे उकालो । उकालो, उकालो र मात्र उकालो । शिवपुरी टाकुरोसम्मै उकालो ।
बाघद्वार नजिकै आइपुगेको जानकारी गराउँछ देउराली खोल्साको बोर्डले ।
एवम् रीतले उकालिइरह्यौँ हामी । बोल्ती बन्द भएको छ सबैको ।
ढलेका रूखहरूले बाटो छेक्न आइपुगेका छन् ठाउँठाउँमा । सुस्ताउँदै सुस्ताउँदै उचाइ हासिल ग¥यौँ हामीले ।
४० मिनेट नबित्दै टुप्लुकियो बाघद्वार २,४९० मि. को उचाइमा ।
चार जोडी हाइकर्स प्रतिविम्ब सजाउँदै थिए पोखरीमा र छिल्लिरहेका थिए, घरी पानी छ्यापाछ्याप त घरी फोटो खिचाखिच गर्दै ।
म पुग्नेबित्तिकै एउटीले भनी– “दाइ, हाम्रो एउटा ग्रुप फोटो खिच्दिनुस् न, प्लिज !”
विभिन्न कोण मिलाएर चार ‘शट’ लिइदिएँ मैले ।
उनीहरूकै हाँसोको फोहोराले गुञ्जायमान भइरहेको छ, बाघद्वारको शान्त सेरोफेरो । तिरिमिरी झ्याइँ भएका छन् मेरा आँखा, त्यो स्वैरकल्पनाजस्तै दृश्यले ।
“दिस इज बाघद्वार ।” तोबियाजलाई जानकारी गराउँछन् आदर्श ।
“दिस इज द सोर्स अफ होली रिभर वागमती । इट्स कनेक्टेड विथ द स्टोरी अफ लर्ड शिव ।” म थप्छु ।
पौराणिक कालमा प्रह्लादले शिवजीको प्रार्थना गरेपछि शिवजी उत्पन्न भएको र वागमती गङ्गाको स्थापना गरेका थिए रे । शिवजीले यो ठाउँमा बसेर ध्यान गर्दा बाघहरूले पहरा दिएका थिए रे । त्यसैले बाघद्वार भनियो यो ठाउँलाई । र, सिङ्गै पर्वतको नाम शिवपुरी रहन गयो । अरू पनि थिए होलान् पौराणिक कथाहरू । आफूले जाने जति भनेर पथप्रदर्शकको धर्म निर्वाह गरेँ मैले ।
जाँदाजाँदै देब्रेपट्टि छ– पाटी । त्यसपछि दायाँपट्टि आउँछ– शिवलिङ्ग । अगाडि देब्रेपट्टि छ– सानो र अँध्यारो गुफा । बाघको मुखबाट झरिरहेको छ– पवित्र अमृतमय रसमाला र, चञ्चल भएर ढुङ्गा र माटोसित समेटिँदै बाटो लिइरहेको छ । अगाडि छ– पोखरी । कुनाकाप्चामा छन्– श्री स्वस्थानी शिवलिङ्ग लगायतका लिङ्ग, नाग देवता र चैत्यहरू ।
हरेक वर्ष वैशाख १ गते राति हजारौँको सङ्ख्यामा भक्तजनहरू मेला भर्न आउँछन् र यहीँबाट टोखाको सपनविनायक दर्शन गर्न पुग्छन् । यसो गरेमा सम्पूर्ण पापबाट मुक्त होइन्छ रे । अचम्मै छ– पापबाट मुक्ति पाइन्छ भनेपछि जहाँ पनि पुग्छन् मान्छेहरू ।
बाघद्वारबाट निस्केको कञ्चन पानी बगेर सुन्दरीजलमा मिसिन्छ । र, पशुपति पुग्दासम्म बदलिसक्छिन् वागमतीले आफ्नो रूप ।
काठमाडौँको मुटुको सतह भएर बग्छिन् वागमती । उपत्यकामा सभ्यता बसाउने नदीमध्येको एक हो– वागमती । सभ्यता विकासको क्रमसँगै नालीमा रुपान्तरण भएकी छिन् यति पवित्र नदी । वागमती सफाइ अभियान पनि भएकै हो । अझै जारी छ– अभियान । तैपनि खै किन हो, सङ्लो रूप देखाउन पाएकी छैनन् बागमती गङ्गाले । विष्णुमतीको पनि हालत उस्तै हो । काठमाडौँसित मानवता र सभ्यता खोजिरहेझैँ लाग्छ, मानव सभ्यताको परिचायक वागमती र विष्णुमतीले ।
यतापट्टि धेरै नतन्कीकनै एक बोत्तल पानी भरेर उभोँ तन्किएँ म । मेरो पाइला पछ्याए आदर्श र तोबियाजले । हामै्र लयमा उकालो लागे ती युवायुवती पनि ।
हाम्रो सम्वाद हुन्छ उनीहरूसँग–
“तपाईंहरू कहाँबाट आउनु भएको ?”
“पाटनबाट ।”
“के काम गर्नुहुन्छ नि ?”
“पढाइ सकेको वर्ष दिन भइसक्यो । जागिर पाइएन कतै । सरकारी जागिर खान आफ्नो मान्छे ठाउँमा हुनुपर्छ । हामी प¥यौँ सर्वसाधारण । हामीले त विदेश जाने सोच बनाएका छौँ ।” दुखेसो पोखे उनीहरूले ।
भनेजस्तो अवसर नपाएपछि अचेलका युवाहरू स्वदेश भनेर किन बर्बाद गर्थे अमूल्य समय । यसरी नै युवाशक्ति यसरी नै पलायन भइरहने हो भने भोलिको नेपाल कस्तो होला ! कल्पना गर्छु म ।
“कुन विषय पढ्नु भएको ?”
“हामी सबैको विषय– व्यवस्थापन ।”
“राम्रो विषय छान्नु भएछ । हरेक कुरामा चाहिन्छ– व्यवस्थापन ।” मैले भनेँ ।
रोजगारीका लागि विदेश नै जाने हो भने डिग्री हासिल गरिरहनुको के अर्थ भयो र ! ‘राइट म्यान’, ‘राइट प्लेस’को अवधारणा लागू कहिले हुने नेपालमा ? राज्यले दक्ष जनशक्तिलाई उपयोग गर्न सके पो ! मनोलाप गरेँ मैले ।
हँसिला र रसिला थिए ती । जतिसुकै हँसिला भएपनि पीडा त लुकेकै हुँदोरहेछ । पीडा लुकाउँन सक्ने खुबी छ हामी नेपालीमा ।
झोलाबाट च्यूरा र दालमोठ निकालिन् र बाँड्दै भनिन् एउटीले– “हजुरहरू पनि लिनुस् न ।”
एक–एक मुठी लियौँ हामीले पनि । यो देखेर आँखीभौँ उचाले तोबियाजले । के भन्न खोजेका थिए कुन्नि ! ओकलेनन् उनले ।
नेपालीनेपाली बीचमा भातृप्रेम हुन्छ भन्ने कुरा युरोपमा जन्मेकालाई के थाहा ! एकैछिनको भेटले पनि आत्मीयता बढेथ्यो हाम्रो । बाँडिचुँडी खाने नेपालीको वैशिष्ट्य देख्दा उनी अचम्भित भएका थिए भन्ने बुझ्न कठिन थिएन ।
बिहान सात बजे लिएको दुई पिस टोस्ट र अम्लेटलाई पचाइसकेकोे थियो खुड्किलाले । आफैँले ल्याएको ‘प्याकलन्च’ शिवपुरी पुगेर मात्र खाने योजना थियो । दालमोठ मिश्रित नुनिलो च्यूराको फाँकोलाई पानीले भिजाएर निल्दै उकालो लागेथ्यौँ । भोक मारेथ्यो एकमुठी च्यूराले । कृतज्ञ भएथेँ म ।
वसन्तजस्तै समशीतोष्ण मौसमको ऋतु हो– शरद । गर्मीको समाप्ति र चिसोको सुरुवात भएकोले जतिजति माथि गयो उतिउति नै चिसो महसुस हुँदै थियो । हावापानी, भू–बनोट, यहाँको माटो एवम् जैविक तत्वहरूले गर्दा विभिन्नता देखिन्छ वनको संरचनामा । गुराँससहितका मिश्रित वनको हरियाली भित्र छौँ हामी । चराप्रेमीहरूका लागि उत्तम गन्तव्य हो यो ।
०००
धीमा हुँदै गयो युवायुवतीको गति । उनीहरूको सारमा लाग्दा समयमै शिवपुरी पुग्न सकिने छाँटकाँट देखेनौँ हामीले । घाम टाउको माथि आइसकेको छ । नागीगुम्बा फर्केर फेरि कपन गुम्बा पु¥याउनु छ तोबियाजलाई ।
“दाइ, हामी चाहिँ लम्किने हो कि !” फुस्फुसाए आदर्श ।
“तपाईंहरू बिस्तारै आउँदै गर्नुस है त ।” मैले औपचारिकता निर्वाह गरेँ ।
तीनचुली पुगेपछि उनीहरूलाई छाडेर तन्किएका थियौँ हामी गन्तव्य छिचोल्न । झ्याउँकिरीले हालेको भाकामा चलेको थियो हाम्रो खुट्टाको चाल । सरासर शिवपुरी टाकुरो पुगेरमात्र रोकिए हाम्रा पाइला । २,७३२ मिटरको त्यो उचाइमा चलिरहेको थियो चञ्चल वायु । कम आनन्द आएको थिएन गन्तव्य चुमेर लामो श्वास तान्दा ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु