ऐन

- डा. विदुर चालिसे

––“खान्दानीहरूको कोखमा जन्मेको भए देउकली ‘परी’ हुन्थी होला ।”
देउकलीकी आमा साह्रै बखान गर्थिन । उसको रूप र स्वभाव राजा बास्साको भन्दा कम छैनन् । तर के गर्नु ज्वाईको सन्तान नहुने योगले चाहिँ खुब पछुतो मान्थिन । देउकली पनि मनमनै पाकेकी थिई । भन्ने आँट कुनै थिएन । महिला धर्मको कुरा थियो । पुरूष धर्म र्माित्तएको अनुभव सधैं देउकलीलाई हुन्थ्यो । आत्मीक पीडा त यसै हुने नै भए ।
––“खैमलल गाएर जा भन्दे त्यसलाई !”
जहरसिंह भुत्भुताउँदै घरको पछाडि पट्टिको उकालो लाग्यो । गाउँको दुख बेहोरेको उसले डालोमा मकै बोकेको थियो । बीच बाटो मै के सम्झ्यो कुन्नी फरक्क फर्कयो अनि भर्खर विवाह गरेर दिएको छोरी आज माइत आएकी न हो । मकैको डालो बिसायो र उसलाई बोलायो ।
––“अई, जा ! जा !! छोरी मकै जाँतोमा पिसेर ल्या है आज !”
देउकली मकैको डालो बोकेर जाँतो लाउन गई । जहरसिंह हतारहतार ओराला ेलाग्यो । समय चकमन्न थियो । जाँतो राखेको घर्तीले देउकलीलाई देख्यो । मनमनै के के चितायो कुन्नी घर्तिले सोध्यो ।
––“चकलेट खाने ?, कस्तो मिठो छ ! खाऊ ल ?”
देउकलीले चकलेट खाएपछि घर्तिले सोध्यो ।
––“चकलेट कस्तो छ ?”
––“स्वादिलो अनि मिठो !”
मनको कुरा के थियो थाहा थिएन । घर्तिको जाँतोमा उ मच्चिमच्ची मकै जसरी पिंध्थी त्यसरी नै उसले चकलेट चपाइचपाई खाएकी थिई । त्यसपछि सान्त्वना मिले झैं निःश्वास फेरी, एकछिन लत्रक्क परी अनि वाक्क गरी ।
विस्तारै मकैको च्याँख्ला जाँतोमा घुमेर झरेसरि गीतका भाकामा मनको बह घुमाएर पोखी ।
––“खैमल खुल्ला गर्याै दादै मनको मझेरीमा । तनको दैलो उघारेर छिर्याै पँधेरीमा !”
त्यसपछि उडालोभरि चाँख्ला बोकेर फर्की । तर किन हो किन उसलाई राति निंद्रा लागेन । अनिंद्रा मै रात बिताई । पेट पनि खुब दुखे झैं भयो । त्यसपछि उसका दिनहरू बेहोसी बन्न थाले ।
समयको क्रममा एकदिन एउटा नाबालक बोकेर निकै टाढा पुगी । उसमा दया हराइसकेको थियो । लज्जा जबरजस्त उठिरहेथ्यो । प्रश्न थियो, घर्तिको अगाडि देउकलीको हाड नाता । अचेल उसकी आमाले भनेको स्वरहरू सुनिन्थ्यो ।
––“पागलआइमाई !”
भलाद्मीहरू कचहरी बसाइरहेका बेला वरपरका गाउँलेहरू भन्थे ।
––“कहाँको ‘देउकली’ कहाँको ‘पातकी’ ।”
आकास जमिनको फरकमा घर्ति हाड नाता करणीको सजाय भोगिरहेथ्यो । शिशु बगरमा विधाताको दुहाइसँगै अबोधताले अलपत्र चिच्याइरहेथ्यो ।
––“मलाई मेरो इच्छाको ऐन छैन ?”
समाजका सबै जनाको नाजवाफमा मुण्टो घोप्टिदिन्थ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु