कवितामा समयका आभासहरू

- सुकराज दियाली

बिलोक शर्मा मदारीहाट डुवर्सका छोरा । युवा कवि, युवा साहित्यकार । सरकारी महाविद्यालयमा अध्ययनक्रमलाई सकेर नागरी फार्म चियाबारीमा आएर थकाई मारेको बेला डुवर्स ज्योति प्रकाशित हुँदैछ दाजु एउटा कविता पठाइदिनु होला भनेर भाइबाट अनुरोध र स्नेहराग प्राप्त भएपछि मैले बिलोक शर्मालाई सम्पादक भनी चिनें । यसरी हाम्रो परिचय कविताको आदन प्रदानबाट सन् 1994 – 1995 तिर भयो । हाम्रो पहिलो साहित्यिक भेट थियो । धेरैवर्षपछि जाने बुझे विलोक शर्मा डुवर्सको मदारीहाटमा जन्मीएका रहेछ भनेर ।
अक्टोबर 1983 – को जन्मतिथिले आज 26 वर्षको उमेरमा यति सुन्दर कृति भारतेली नेपाली साहित्यलाई दिनु भनेको सानो लरोतरो कुरो होइन । यसलाई हाम्रो कविता साहित्यको शुभसंकेत नै मान्नुपर्छ ।
उनका पिता प्रभात कुमार शर्मा माता जानकी देवी शर्मा हुन् । पेशाले उनी जुनियर वैज्ञानिक बहुराष्ट्रीय संस्था { कृषि विभाग } लुधियानामा कार्यरत छन् । उनी राम्रा अनुवादक पनि हुन् । बङ्गला भाषा, अंग्रेजी र हिन्दी भाषाका ज्ञातक पनि हुन् । धेरैवटा नेपाली भाषाका कविताहरूलाई अनुवाद गरेका छन् । बङ्गला पत्र- पत्रिकामा प्रकाशित गरिसकेका छन् । उनमा स्रष्टा व्यक्तित्वसितै द्रष्टा व्यक्तित्व पनि मौलिएको पाइन्छ । डुवर्सको मदारीहाटबाट प्रकाशित डुवर्स ज्योति- { सन् 2007}- का प्रधान सम्पादक पनि हुन् ।
समयाभास – को परिचयः
शान्त प्रकाशन, डुवर्सद्वारा सन् 2019- मा समयाभास, शर्माको पहिलो प्रकाशित साहित्यिक कृति हुन् । समयाभास – को प्रकाशनार्थ उदेश्यलाई सङ्ग्रह प्रस्टाउंदै शान्त प्रकाशन लेख्छन् – डुवर्समा कविता सङ्ग्रह प्रकाशनको परम्पराको शुभारम्भ बिरूवा – को प्रकाशनपछि डुवर्समा आजसम्म सयौं कविहरू देखा परे । यी कविहरूमध्ये औंलामा गन्न सक्ने कविहरू उत्तराधुनिक र नवीन संरचनालाई पक्रेर हिँड़िरहेको देखिन्छ । ती देखेका कविहरूमध्ये एकजना कवि हुन् – कवि विलोक शर्मा । ती कवि शर्माको समयाभास कविता कितापबाट उनको कविताकारिता झल्कीन्छ । समयाभास – कविता कितापमाथि समालोचकीय दृष्टिकोणबाट आफ्नो भूमिकामय मन्तव्य जय क्याक्टस, सी.के श्रेष्ठ, अबीर खालिङले राखेका छन् । उनीहरूका गहकिलो महत्वपूर्ण लेखबाट पनि समयाभास –को अर्न्तपाठीयपक्षले पाठकसित संवाद गर्नसक्छ । 96 पेजको कविताले ढाकेको पाइन्छ। कविताहरू छोटो र मोटो रहेको देखिन्छ । सन्जोक लामा कालचिनीद्वारा निर्मित रङ्गीन आवरण चित्रले ढाकिएको सुन्दर कविताको किताप समयाभास हो ।
समयाभास – भित्रका आभासहरूः
समय भन्ने वित्तिकै घड़ीपला, दिनरात तथा विहानदेखि बेलुकीसम्म घामको परिक्रमासंगै पृथ्वीको आफ्नै अक्षमा घुमेको गतिलाई ठान्दछौं । आभास झझल्को अस्पष्ट सम्झाना मिथ्या समयको ज्ञान रहनुपर्ने जस्ता अर्थलाई अगि राख्न सकिन्छ । अक्षरबाट शुरू भएको कविताले आजको डुवर्सलाई समयचक्रमा धुँवाझैं रूमलिन्दै गरेको अवस्थालाई कविले आभास गरेका छन् । सम्झानाका भग्नावशेषको नाममा घामले नभेटेका सपना-विपनालाई लथालिङ्ग भएको अवस्थालाई बटुल्ने प्रयास गरेका छन् । समयाभासमा आजको डुवर्सको जीवनशैलीका चित्रहरू टिप्ने काम गरेका छन् ।
आज भइरहेको जातिवाद, भाइ-भतिजावाद थिचिएर र होंचिएर बाँच्न परेको जातिको अस्तित्व तथा प्रशासनिक अवहेलना, द्वन्द्न्द र हिंसाले असुरक्षाको भाव लिएर डुवर्सका गोर्खाहरूले भोगिरहेको समयलाई आभास गरेका छन् । मानसिक विषमता र जटिलता आदिले ल्याएको विसङ्गतिको अनुभूतिले नयाँ पीड़िलाई नयाँ प्रकारले सोंच र लेख्न वाध्य गराएको पाइन्छ { हांगखिम, घिसिङ, 1992 :17 } । शिक्षित जमातको चिन्तनमा डुवर्सको भूगोल, इतिहास र समाजले आँखाबाट ओझेल नरहेको पक्ष पनि हो – समयाभास । कवि शर्माका समयाभास –भित्रका कविताहरूलाई हेर्दा कवि जस्तै जनमानसहरूले डुवर्सको भूगोलमा भोगेका भोगाई मात्रै नभएर समयको चिन्ता र चुनौतिहरू पनि हो । साहित्य जीवनलाई हेर्ने एक दृष्टिकोण हो र कविता लेख्नेको निजी भावनाभन्दा समयको चिन्ता, चुनौति अनि आनन्द र दुःखमा परेको व्यक्तिको अवस्थाको चित्रण गर्नु कविको कर्म हो { शर्मा, 2067 : 15} । यस मान्यातालाई शिरोपण गरी कवि शर्माले समयाभासका कविताहरू सिर्जना गरेका छन् ।
समयचेत
थाहा छैन
कति च्यातिने हन्
क्यालेन्डरका बाँझा पन्नाहर
अझै । { दृष्यालोकन, पृ 48 }
कविले समयको चेतहरू निफानेका छन् । समयको आँगनमा कविको दृष्यालोकनमा अनास्थाका पहाड़हरू, कोमामा पुगेका अवस्थाहरू आत्माघाती वीर्यका आत्माहरू, रटनदास ज्ञानेन्द्रयहरू, हिंसाको द्वन्द्वको चेपारो व्यापारमा कविले मानवता हराइरहेका स्थितिलाई कवितामा उतारेका छन् । समयचक्र, त्यो बुढ़ो रूख, घामले भिजेका सपनाहरू, युगवोध, आजको चित्रहरू 1,2,3 , समयको मेनोपेज र फर्की आऊन् ती दिनहरू जस्ता कविताहरूमा समयको चेतनालाई कविले दर्शाएका छन् ।
तर कति कथाहरू
तिम्रो किनारमा बनेका बालुवाका घरहरू झैं
भत्किएर जान्छन्..............
बगेर जान्छन्...................{ समुद्र अनि म, पृ -13 }
यी कविताहरूमा निजत्व र समयचेतना पाइरहनु भनेको समयाभास – को सफलता ठानीरहँदा फरक नपर्ला । डुवर्सका सांस्कृतिक, राजनीतिक र सामाजिक अनुभूतिको अभिव्यक्तिले कविता पाठकलाई समयाभासतिर खिच्न सफल बनेका देखिन्छ ।
समयको आभास कतिबेला हुन्छ ? मानिसलाई जब स्थितिसित सम्झौता गर्नुपर्छ, आफ्नो मनमा बिझेको कुरालाई खुलस्त प्रस्तुत गर्न सक्तैनन् । त्यतिबेला मानिस चूपचाप संवादहीन भेर बाँच्नुपर्छ । हरेक प्रशनहरूले घचघचिरहन्छ, चेतना छाउँछ । त्यतिबेला मानिसलाई समयको आभास हुन्छ । त्यस्तै कविले संवेदनशील समवेदनालाई छामेका छन् । परिस्थितिमा चेप्टिएर बाँचेका जीवनलाई कविले नजीकबाट हेरेका हुन्छन् । आधुनिकको नाम बाँचेका जीवनले समाजमा भित्राएका विसङ्गतिलाई भोगेका छन् । आफ्नो जातिको अस्तित्व कटघारोमा उभिएको आभास गरेका छन् । आर्थिक अवस्थामा चेप्टीएर वाध्याताको जीवन बाँचेका छन् । शोषण र दमन थिचिएका निमुखा जाति हेपिएर बाँच्नुपरेको समयहरू कविको अघाड़ि उभिएको आभास गर्दछन् । त्यसैले कविले आफ्नो कुरामा लेख्छन् – कवितालाई मैले सोंच्न नसकिने, बोल्न नसकिने, खप्न नसकिने – हरूको एउटा मूलरूप भएको अनुभव गरे । कविले देखेका, भोगेका कुराहरूलाई कवितामार्फत पोखेका छन् ।
अक्षरहरू
जुलुसमा हिँड़छन्
लठ्ठी खान्छन्, रगतपच्छे हुन्छन्
तर अर्को विहानीमा
घर – घरमा पुग्छन् । { अक्षर अनि गणतन्त्र, पृ.27 }
आफ्नो हक र अधिकारमाथि बोल्दा देशमा देशवासीले आफ्नै अधिकार माग्दा प्रशासनबाट अन्याय अत्यचार भोग्नुपरेको स्थिति चुपचाप सहेर बस्नु, संवादहीन रहनु नत्र यहाँ आफ्नै हक र अधिकारलाई माग्दा लठ्ठी खेर रगतुच्छे भई बस्नुपर्छ । यो केवल समाचारपत्रको एउटा समाचार हुनु मात्रै हो । हाम्रो कुरा, हाम्रो पीर व्यथा, शोषण दमनको पक्षलाई सुनिदिने कोही छैन भन्ने आभास कविले गरेका छन् ।
असमानताको द्वन्द्वले थिचिएको डुवर्सका गोर्खाहरूका अवस्थालाई कविले नजिकबाट हेर्ने प्रयास गरेका छन् । यस्तो विषमता अवस्थामा बाँचिरहेका जीवनहरू पीड़मय छन् । विवशता र व्याध्यतामा बाँच्नुपर्ने स्थितिलाई कविले संकेत गरेका छन् ।
सभ्यताको भारी पिठ्यूँमा बोकेर
पहिल्यै बिर्सिसकेको छ
यो दिन !
बाक्के बसेका जूनहरू
पूर्णिमा उजेलीका हाँक दिंदै
हाँसिरहेको छ । { समयचक्र, पृ.29 }
तुर्सा र टिस्टा भन्ने वित्तिकै डुवर्सका जीवन बुझिन्छ । तुर्सा जस्तै बगिरहने समयले पोलेका डुवर्सको जीवनलाई संकेत गरेका छन् । डुवर्सका गोर्खाहरूले भोग्नुपरेको परिस्थिति, विवसता र व्याध्यातालाई तथा आर्थिक अवस्थालाई यथार्थरूपमा चित्रण गरेका छन् –

भाग्यका कुहिएका चोइटाहरू
तुर्सा – टिस्टा – रङ्गीतमा
नुहाएपछि
गन्हाउन छाड़ेका छन् । { समयचक्र, पृ 31 }
त्यो बुढ़ो रूख- कवितामा आफ्नो थलोको बुढ़ापाखा जसले हराभरा बनाए, दुःख-सुख गरेर आफ्नो जातिको इतिहासलाई बँचाएर राखे, ती पितापूर्खा, गाउँका बुढ़ापाखालाई कविले मुग्धकण्ठले उनीहरूको कर्मलाई प्रशंसा गरेका छन् । यही माटो हो, उनीहरूको खूनपसिनाले बनिएको आज भएर सर्वनाम र विशेषण भएर गएको छ । उनीहरूकै छत्रछायामा हुर्केका सन्तानले आज विर्सिन्दै गएको आभास कविले गरेका छन् ।
अरू थुप्रै थुप्रै दृष्यहरू
जीवनका नग्न नृत्यहरू
प्रदर्शित हुन्छन् उसका अघिल्तिर
दिन – दिन प्रतिदिन..........
उ त केवल हेरिरहन्छ । { त्यो बुढ़ो रूख, पृ. 34 }
कवि शर्माको कवितामा मानवतावादी स्वर चहकिलो रहेको पाउँछौं । मानवीय आचार – व्यवहार आदिले दर्शाएको मानवहीन समयलाई कविले उद्घाटन गर्न खोजेका छन् । मान्छेले मान्छेलाई गर्ने व्यवहार नरहेको, मान्छेले मान्छेमाथि गरेको शोषण-दमन, शासन अन्याय अत्यचारलाई कविले कवितामा व्यक्त गरेका छन् ।
काँचो मासुको दुर्गन्ध
अनि
मानवको आर्तनादले
यो भूईँ वाकरूद्ध छ
सुकसुक रोइरहेछ
मानवता ! { धुँवाहरूको म्यारथन जुलुस, पृ. 35 }
यसरी चारैतिरको दमन अत्यचारले भित्रिएको आतङ्क भावले मानव जगतमा मानवता हराउँदै गइरहेको समयलाई कविले टिपेका छन् –
मानवताको आँसुले
कहिल्यै भिजेन
आतङ्कको पखेटा
कहिल्यै रोकिएन
यसको रफ्तार । { धुँवाहरूको म्यारथन जुलुस, पृ 36 }
मानव सर्वश्रेष्ठ सामाजिक प्राणी भएर पनि मानवीय आचार व्यवहारमा देखाएको कुव्यवहार प्रवृतिलाई धुँवाहरूको म्यारथन जुलुस – कवितामा पोखेका छन् ।
आजका डुवर्स 1,2,3, कविताहरूमा आजको गोर्खे सन्तानहरूले डुवर्समा भोगिरहेको दुरदशा र स्थितिलाई चित्रण गरेका छन् । आदिवासी, अन्य जातिसित नङमासु जस्तै मिलेर बसेतापनि उनीहरूमा हेर्ने दृष्टिलाई अर्कै प्रकारको विकाश गरिदिएका छन् । एकताको सूत्रलाई फुकाउने असमामाजिक तत्वहरूप्रति कविले गहनप्रकारले चिन्तन गरेका छन् । चियाबारीमा रूजीभिजी आफ्नो मेहनत र परिश्रमले हातमुख जोड़नेहरूलाई त्यतिनै शोषण र दमन गरिरहेका छन् । आर्थिक संकट झेलेर बाँचेका जनजिवनको कमजोरी पक्षलाई उठान गरी अझ शोषण गर्ने शोषणकारीहरूले आजको डुवर्सको भूगोलको इतिहासमा विकृति ल्याउन खोजिरहेका समयहरूलाई कविले आभास गरेका छन् –
वस्तुस्थिति बुझेर
परिस्थितिहरू च्याँखे थापिदिन्छन्
बुलेटहरू रमाइरहेका हुन्छन्
तातो रगतसित सहवास गर्ने निहुँमा । { आजको जुवर्स, 1, पृ. 39 }
डुवर्सका जनजीवनले कड़ा मेहनत र परिश्रम गर्दा गर्दैपनि, योग्य हुँदा-हुँदै पनि उनीहरूले पाउँन सक्ने सौलियत, अधिकार र हकभन्दा बञ्चित बनी बाँच्नुपरिरहेका छन् । योग्य हुँदा-हुँदै पनि प्रशासन र प्रशासनिकको आँखाबाट ओझेल हुनुपरेको तीतो स्थितिलाई कविताले बोलेका छन् । यसरी डुवर्सका गोर्खाजातिले भोग्नपरेको पीड़ालाई कविले बड़ो मार्मिकरूपमा चित्रण गरेका छन् । यो पीड़ा डुवर्सको मात्रै नभएर सम्पूर्णरूपमा भारतीय गोर्खाहरूको पीड़ा र विवशता भनिरहँदा फरक नपर्ला ।
भाग्यको चर्खाले सियेको लुगा
कतिदिन लाउनुपर्ने
थाहा छैन त्यो वालकलाई
उसका बुबाको अनसन अनि धर्माको क्रमले
रजत जयन्ती टेक्दैछ आज । { आजका डुवर्स, पृ. 41 }
डुवर्सको स्थितिको सापेक्षतामा भारतीय गोर्खाको अन्तरमनको जड़लाई कवितामा पोखाएका छन् ।
घरि- घरि बल्न खोज्छ
झिपिक – झिपिक गर्दतै
आगो
खरानीले छोपिएको पनि
अब धेरै दिन भएछ । { आजको डुवर्स -3, पृ 43 }
जातिय अस्तित्वमा अरूले जस्तै डुवर्सका गोर्खाहरूले पनि आफ्नो माटो र जातीयताको आन्दोलनमा काँधमा काँध जोड़दै आएपनि सानो प्राप्ति र खुशीमा ठेलिनुपरेको अवस्थालाई कविले गुनासो पोखेका छन् ।
घरभित्रको विकलङ्ग हेराइमा
आफ्नो संसार जिउँछ
लामो हिँड़इमा उसको थकानले
कहिल्यै भाव पाएन
दुखाइको अक्सनमा । { आजको डुवर्स-3, पृ. 43 }
आज विज्ञानले अकल्पनीय विकास गरेको छ । नयाँ नयाँ आविष्कारहरू मानवजातिको निम्ति भइरहेछ । नवीनतम् आविष्कारले मानव समाजलाई बनावटी र देखावटीको दिशातिर तानिरहेका पाउँछौं । टेस्ट ट्यूब बेबी जस्ता प्रविधिले निभ्याएको मानवजगतको विकृतिलाई औंलाउँदै कवि भन्छन् –
धेरै जन्मिरहेछन्
टेस्ट – ट्यूब बेबीहरब
विलासबहुल नर्सिङ होमहरूका
शल्यमक्षहरूमा
शुक्राणु – डिम्बाणुहरूको बिहे हुँदैछ
पुरोहित डाक्टहरू यज्ञमा घिउ थप्दैछन्
पति – पत्नीहरू फूल छर्दैछन्
विज्ञानले आर्शिवाद दिएरहेछ । { वैश्विक आगो, पृ. 46 }
दार्जीलिङ र डुवर्स चियाखेतीको निम्ति अर्न्तराष्ट्रीय बजारमा प्रख्यात छन् । डुवर्सका प्रायः चियाकमानमा गोर्खा र आदिवासीहरूले आफ्नो खूनपसिना आजसम्म बगाइरहेका छन् । चियाकै खेतीमा यहाँका गोर्खा सन्तान दर सन्तानले आफ्नो जीवन व्यतित गरिरहेका छन् । स्थित गरिसकेका छन् । ती श्रमिकहरूले उनीहरूले गरेका मेहनत र परिश्रमको उचित मूल्य पाउँदैनन् । कम्पनीको मुनाफामा आफ्नो रगत पसिना बेचिएको, शोषण र द्नमा बाँच्नुपरेको विषम परिस्थितिलाई कविले नजिकबाट हेरेका छन् । ती चिया श्रमिकहरूले भोगिरहेका आर्थिक अवस्था, अभाव अपुगलाई कविले अनुबूत गरेका छन् । चियाश्रमिकको खूनपसिनाको कुनै मूल्य छैन । उनीहरू मालिक र प्रशासनको शोषणबाट शोषित भएर बाँचिरहेका छन् ।
चियाका प्यालाहरूमा
आफ्नो पसिना पिउँदै
तापिरहेछन् मनबहादुरहरू
त्यो घामलाई
त्यसको तापलाई
त्यसको रापलाई । { घामले भिजेका सपनाहरू, पृ. 51 }
क्र्प्टोमेरिया अनि दार्जीलिङ – कवितामा कविले बुझेका/ जानेका दार्जीलिङलाई कवितामा अङ्कन गर्ने प्रयास गरेका छन् । क्रिपेटोमेरिया धुप्पीको वैज्ञानिक नाम । दार्जीलिङ आजभोलि धुप्पीको विकल्प नाम भएको पाउँछौं । डा. जीवन नामदुंगले पनि धुप्पीको रूख र दार्जीलिङमाथि सुन्दर कविता लेखेका छन् । अन्य धेरै कविहरूले धुप्पीमाथि प्रतीक, विम्व तयार पारेर मिठा-मिठा कविताहरू सिर्जना गरे अनि भविष्यमा पनि गर्नेछन् । कवि शर्माले यस्तो क्रिप्टोमेरिया लेर तयार गरेका कवितामा, धुप्पीको जस्तै दार्जीलिङ सँधै हरियो देखिन्छ। धुप्पीको रूख सँधै कुइरोमा बाँचे पनि त्यसले सहेको प्रकृतिको विभिन्न यामहरू, हिउँदोबर्खा, हुरूवतास, घामपानी, झरीवर्षा, कठ्याङ्ग्रिने जाड़ो पक्षलाई दार्जीलिङको अन्तमनका पीड़ालाई नजिकबाट अवलोकन गरेका छन् । दार्जीलिङ आफूभित्र दुखेर पनि अरूलाई आनन्द र खुशी दिन्छ । विभिन्न समस्यामा जुझ्दै भएपनि दार्जीलिङ सँधै सौन्दर्यको पगरी ओड़ेर धुप्पी नै हरियो बाँचिरहन्छ भन्ने भाव कविले प्रस्तुत गरेका छन् ।
यी क्रिप्टोमेरियाहरू
विपयी बन्नु नै छ उसलाई
आकाशको शीर्षविन्दु स्पर्श गर्नु छ
श्रीपेज पहिरिएर शङ्खघोष गर्दै
पहाड़को कण – कणमा
विजयका रागहरू प्रसारित गर्नु छ । { क्रिपेटोमेरिया अनि दार्जीलिङ,पृ. 64 }
भाषाशैलीः समयाभास – कविता सङ्ग्रह कवि विलोक शर्माको गद्ध्यात्मक कृति हो । समयाभासमा रहेका अनुभूति र अभिव्यक्ति दुवैपक्ष उत्कृष्ट रहेको दखिन्छ । अभिव्यक्तिको प्राणशक्ति भाषा हो । यसले शर्माको शब्दशिल्पी कवि हुन् भन्ने प्रमाण पनि गर्छ । कतिपय कवितामा प्रतीक र विम्वको बाक्लो प्रयोगले कविताहरू क्लिष्ट बनेको आभास हुन्छ । कविताहरू बुझे जस्तै लागेपनि वस्तुपरक जड़ समात्न गाह्रो पनि देखिन्छ यस कविता पढ़ीसक्दा । विलोक शर्माको कविकारितामा प्रयोगधर्मिताको दिशातिर रहेको पाइन्छ । समयाभास – कविता सङ्ग्रहको कविताहरूमा बाक्लोरूपमा ग्रेजी शब्दहरूको प्रयोग पाइन्छ । जस्तै- कर्फ्यू, मरिचिका, आउटडेटेड, एटोमिक, क्याटरिना, निकोटिन, टेलिभिजन, पेन्डुलम, बुट्टा, स्लोगन, नेकलेस, हिपोक्रिट, माइस्क्रोस्कोप, भ्याडोना, टेस्टट्यूब, मोडल, ग्रेजुएट, स्क्रिनसेभर, फोल्डर, किबोर्ड, एडहक, आइनोक्स, गेममेकर, सिरक मेटामोर्फोसिस्, क्लिपिडग्स, चियर, लिडर, मी-टु, गुगल, प्यारलाइज्ड, म्याराथन, क्रिप्टोमेरिया, क्लोरोफिल, मेनोपेज, फ्ल्याग, इत्यादि । विज्ञानका प्रयोगी शब्दहरू कवितामा घुसाकाले उनी विज्ञानका ज्ञातक हुन् भन्ने पक्षलाई अघाड़ि राख्न सकिन्छ । कवितामा महत्वपूर्ण पक्ष हो शैली । शैली भाषाका माध्यमबाट व्यक्त भएका कविताहरू कला सज्जा प्रष्ट रहेको पाइन्छ । विषयवस्तु र भावलाई सम्बन्धित बनाउनको लागि समयाभास - कविता स्रङ्ग्रहमा भाषाशैली महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
निष्कर्षः समयाभास भनेर कव ले बाँचेका समयलाई व्यक्त गरेका छन् । कुनै सर्जक जीवन अनुभूति उसको सिर्जना देखापर्नु उत्ताराधुनिक भाग्य रहन्छ । यसर्थमा कवि शर्माको कवितामा उनले भोगेका, देखेका जीवनलाई, समयलाइ, स्थितिलाई कवितामा व्यक्त गरेका छन् । स्थिति तथा युगवोध परिच्छेदमा रहेका कविताहरूमा आजका चित्रहरू 1,2,3, भनेर वर्तमान युवापीड़ि तथा जनमानसहरूले भोगिरहेका शोषण, दमन र अन्याय अत्यचारलाई उद्घाटन गरी असल समाजको निर्माणमा लागिपरेका छन् । कवितामा डुवर्सको परिस्थिति, डुवर्सकै जनजीवनको मानवविज्ञान, भूगोल, इतिहास, सांस्कृति, परम्परामा रहेका लेदोरूपी विकृतिलाई परिमेयकरण गर्न खोजेका छन् । कवितामा मानववाद स्वर चहकिलो पाइन्छ । आधुनिक युगको जीवनशैलीमा मानवमूल्यको हनन भइरहेको पक्षलाई अवलोकन गरेका छन् । उनका कविताहरू मानवीय मूल्य र मान्याता अनुरूप भाँगिएका देखिन्छ । जातिमा आइपरेका संकट, हेलित भएर बाँच्नुपरेको, आफ्नै आँगन, माटोको मोह कविताले प्रस्तुत गरेका छन् । यस युगमा व्यक्ति आफ्नो अस्मिता बँचाउन छटपटिएको छ, प्रताड़ित बनेको छ । व्यक्तिवादी प्रवृति यस युगमा जीवन जिउने मुख्य प्रवृतिको रूपमा विकसित भएको छ । व्यक्तिवाद सत्ताधारी, स्वार्थले भरिएको समाजमा उकुस – मुकुस भएका कवि मननै समयाभास हो । भारतीय नेपाली साहित्यमा डुवर्सबाट पाएको समयाभास – हाम्रो कविताले साहित्यमा थप कृति हुनुपुगेको भनिरहँदा फरक नपर्ला ।


दार्जीलिङ भारत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु