चालिस वर्षदेखिको पश्चाताप

- विश्वराज अधिकारी

मुटुमा एउटा किला रोपिएको निस्कन सकेको थिएन। चालिस वर्षदेखि यसले निरन्तर रूपमा पीडा दिइरहेको थियो। बितेको चालिस वर्षमा पचासौ पटक देवनगर गए तर तेतरीलाई भेट्ने आँट हुन सकेन। तेतरीलाई भेट्न नसक्नु नै मेरो लागि मुटुमा किला गडेको जस्तो भएको थियो। तेतरीलाई नभेटी शान्तिपूर्वक बस्न पनि सकेको थिन। उनलाई नभेट्नु मेरो लागि मैले कुनै ठूलो अपराध गरे जस्तो थियो। भन्ने गरिन्छ नि, अरुको नजरमा स्वार्थी र पापी देखिनु भन्दा आफ्नो नजरमा त्यस्तो देखिनु झनै पीडादायी हुने रहेछ। त्यही पीडादायी स्थितिमा म बाँचिरहेको थिए, चालिस वर्षदेखि, निरन्तर। र आफूलाई आफै धिक्कारी रहेको थिएँ। हरेक दिन।
हुन पनि म निकै स्वार्थी हुन पुगेको थिएएँ। चालिस वर्ष पहिले।
यस यल सी दिएर म बीरगंजबाट आफ्नो गाउँ पुगेको थिए। घटना २०३१ सालतिरको हो। त्यस गाउँमा नै तेतरीसँग मेरो भेट हुने संयोग जुरेको थियो।
त्यस गाउँको स्कूलमा केवल सात कक्षासम्मको मात्र पढाइ हुने गर्थ्यो। विद्यार्थीको संख्या पनि पचास साठ्ठी भन्दा बढी थिएन। तराइको ग्रामिण क्षेत्रको त्यो स्कूल, अभिभावकको आवश्यकता भन्दा शिक्षाको प्रचार गर्ने सरकारी लक्ष्य अनुरुप संचालित थियो, जिल्लाको मध्यमा पर्ने त्यो गाउँमा।
एक दिन त्यस स्कूलका हेड मास्टर केदार मिश्रले भन्नु भएको थियो, “रामभरोसी यादव, तिमी पढ्नमा राम्रो छौ। यस स्कूलका विद्यार्थीहरूको हिसाब विषय अलि कमजोर छ। तिमीले बलियो बनाइ दिनु पर्यो, केही दिन पढाएर। हिसाब पढाउने शिक्षक दिनकर पण्डित एक महिनाको छुट्टीमा आफ्नो घर जानु भएको छ, पनि।”
सात कक्षामा पढ्ने तेतरीले पढाइ अलि ढिलो सुरु गरेकी थिन। तर पढाइमा भने उनको निकै अभिरूचि थियो। हिसाबमा त बढी नै। स्कूलमा पढाईरहेको समयमा गहिरो जिज्ञासका साथ धेरै प्रश्नहरू राख्थिन नै, म घरमा भएको बेलामा पनि हिसाबका प्रश्नहरू सोध्न आइ पुग्थिन। उनको परिवारको पेशा माछा मार्ने, मलाह भएता पनि अभिभावकहरू तेतरीलाई पढाउन चाहन्थे। हामी तेतरीलाई यो स्कुलको मास्टर बनाउन चाहन्छौ, भन्थे। तर त्यसबेलाको सामाजिक व्यवस्था अनुसार तेतरीका बाबु आमाको त्यस्तो इच्छा पानीमाथि उठेको फोका थियो। पानी बेगसाथ बग्दा फोका उठ्छ, तर त्यो उठ्नासाथ तुरुन्त फुट्छ भन्ने मलाइ थाहा थियो। तर पनि म उनीहरुको हौसला बुलन्द गर्न भन्थे- हो, यो गाउँको मास्टर बनेर तेतरीले नाम कमाउनु पर्छ। आमा बाबुको नाम रोसन गर्नु पर्छ। मेरो कुरा सुनेर तेतरीका बाबु आमा प्रशन्न हुन्थे नै, तेतरी पनि मुसुक्क हाँस्थिन। सहरमा बसेर मलै कसरी मिठो बोल्नु पर्छ भन्ने सिकिसेको थिए। मान्छेलाई खुसी पार्न कस्ता कुराहरू गर्नु पर्छ, मलाई निकै जानकारी भइसेको थियो। सहरमा बसेको चार पाँच वर्ष भन्दा बढी भइसको थियो।
तेतरी र मेरो हेम खेम निकै बढी सकेको थियो, एक महिनाको त्यो गाउँको बसाइमा। तर अर्कोतिर मैले बीरगंज जानु पर्ने पनि थियो, आइ यस्सीमा भर्ना हुन। मैले पनि डाक्टर बन्ने, सर्जन बन्ने सपना पालेको थिएँ। यो सपना कसरी पाले मलाई थाहा छैन्। म बाहेक मेरो परिवारमा कोही पनि पढेलेखेको थिएन। डाक्टर बन्ने मेरो विचार निर्माण हुनमा हुन सक्छ त्यसबेला मैले हरेका हिन्दी फिल्महरुको प्रभाव पनि हुन सक्छ।
एक दिन, बिहानै देवपुर छाडेर हिंडे म। कसैलाई पनि खबर गरिन। आफ्नो परिवारका सदस्यहरूलाई पनि सूचित गरिन्। पाँच घण्टाको पैदल यात्रा पुरा गर्दे, गौर, बैरगनिया र रक्सौल हुँदै म बीरगंज पुगे। बीरगंज पुगे पछि करिब पाँच वर्षसम्म फर्केर देवपुर गइन।
पाँच वर्ष पछि भने म देवपुर वर्षमा एक वा दुइ पटक पुग्ने क्रम सुरू भयो।
देवपुर यो पटक पुगेको बेलामा भने, चालिस वर्षपछि भने, मैले तेतरी सहनी बारेमा धेरै जानकारी संकलन गरे। बिहे भएर उनी पुगेको गाउँ, हरिपुर पुगें, दुई घण्टा हिंडेर पुगें। तेतरीलाई भेटे पनि।
आश्चर्य! चालिस वर्ष पछि पनि उनले मलाई प्रष्ट गरि चिन्हिन। मलाई चिन्हमा कुनै विलम्ब गरिनन्। बरू आश्चर्य मान्दै प्रश्न गरिन, “मेरो घर यहाँ छ भनेर कसरी थाहा पाउनु भयो?।”
“देवपुरमा तिम्रो माइतीको मान्छेहरुलाई सोधेको थिएँ।” मैले भने।
तेतरीले प्रश्न गरिन् “एउटा सदी बिते पछि बल्ल मेरो याद आयो? बल्ल मलाई सम्झिनु भयो?”
“मलाई चिन्न सक्नु भयो त? म तेतरी हो भनेर कसरी थाह पाउनु भयो?” तेतरीले थपिन।
ग्लानी र लज्या मिश्रित स्वरमा मैले भने, “तिम्रो छिमेकीले भने पछि थाहा पाएँ।”
“तिम्रो छिमेकलाई सोधें। तिम्रो उमेरको एक महिलाले चटाइमा बसेको बुढिया तेतरी भने पछि थाहा पाएँ।” मैले प्रष्ट पारे।
तेतरीले अतीतको स्मरण गर्दै प्रश्न गरिन, “त्यो दिन किन गाउँबाट भागे जस्तो गरेर बेपत्ता हुनु भयो?”
मैले केही पनि बोलिन।
“गाउँबाट हिंड्ने बेलामा किन केही खबर गर्नु भएन?”
“गएको धरै वर्षमा किन एक पटक पनि मलाई सम्झिनु भएन?”
“किन यति निष्ठुरी हुनु भयो?”
“के भएर त्यस्तो गर्नु भयो?”
“तपाइँ मान्छे त बेदर्दी होइन। त्यस्तो कसरी हुनु भयो?”
तेतरीका धेरै प्रश्नहरू वर्षा बनेर ममाथि वर्षिए।
त्यो वर्षाले मेरो मन, मष्तिष्क, शरीर र आत्मालाई निथुक्क पार्यो।
तर पनि म मौन बसे।
केही बेर मौनता कायम रह्यो।
घाँस खाँदै गरेको भैंसीलाई घाँस हाल्न तेतरी छेउको नादतिर लागिन।
फर्केपछि भने प्रशंग परिवर्तन गर्दै भनिन, “के गर्नु हुन्छ आजभोलि?”
“काठमाडौको एउटा अस्पतालमा काम गर्छु। चिरफार गर्ने काम गर्छ। डाक्टर हुँ।” मैले प्रष्ट पारे।
आफ्नो बारेमा बताउँदा भने मलाई कुनै उत्साह भएको थिएन। एक किसिमको लज्या बोध भएको थियो।
हामी बीच करिब एक घण्टा जति कुराकानी भयो। तेतरीले धेरै आग्रह गर्दा पनि मैले केही पनि खाइन। सूर्यास्त हुनु भन्दा पहिले देवपुर पुग्नु छ, पटक पटक भने। उनीले धेरै आग्रह गरेपछि एक लोटा मही पिएँ।
हामीले कुराकानी गरिरहेको क्रममा नै एक पाको उमेरको व्यक्ति, उमेरले चालिस एकचालिसको देखिन हामी नजिक आयो। तेतरीतिर हेरेर उसले मेरो परिचयमा मागेको आफ्ना आँखाहरूबाट प्रदर्शित गर्यो।
त्यो व्यक्तितिर हेर्द तेतरीले भनिन् “मेरो छोरा हो, यो। यसको नाम हो भोला सहनी।”
अनि मतिर हेर्दै भनिन, “ऐ, भोलबा, तेरो ममहर गाउँको डाक्टर साहेब हुन। यिनको नाम रामभरोसी यादव हो।”
मैले आफ्नो प्राविधिक आँखाले भोला सहनीको एक्सरे गरे। म र भोला माझी बीच, अनुहार र शरीरमा, केवल वर्णको भिन्नता थियो। ऊ कालो वर्णको, म भने गोरो वर्णको। तर हामी दुई लगभग उस्तै। आँखा उस्तै, मुहार उस्तै। शरीर पनि उस्तै। कद उस्तै, बोल्ने तरिका पनि उस्तै।
मेरा दृष्टिहरू भोला माझीका आँखाहरूबाट उफ्रेर तेतरीका आँखाहरूमा गाडिए।
मैले र तेतरीले हाँस्नु एकै पटक भयो। तर ज्यादै छोटो समयका लागि। पुन: गंभिर भयौ।
मलाई भोलि काठमाडौ पुग्नु छ भन्दै, हतारिंदै, म देवपुरतिर लागे।
जति जति म तेतरीको गाउँबाट टाढा पुग्दै थिएँ त्येति त्येती मेरो मुटुमा रोपिएको त्यो पुरानो किला झन झन मुटु भित्र पस्दै थियो। तर अनौठो किसिमले। जति जति मुटु भित्र पसिरहेको थियो त्यति त्यति पीडा भने कम भइरहेको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु