प्रकाशनमा निषेधित मोफसल

- संगीतश्रोता

'मधुपर्क' मासिकको पूणाङ्क ४७२ -असोज २०६५) मा लेकाली कान्छा नामका एकजना पाठकले चार वर्षदेखि लगातार रचना पठाइरहँदा पनि आफ्नो एउटासम्म रचना नछापिएकोमा दुःखेसो गरे । उनले विसं ०६२ मा आफ्नो गीत/गजलसंग्रह प्रकाशन गरेर समीक्षार्थ पनि 'मधुपर्क' मा पठाए, तर प्राप्ति स्वीकार पनि भएन । ताप्लेजुङका ती पाठकले 'पत्र-पत्रांश' स्तम्भमा भनेका छन् '... मधुपर्क' जस्तो पत्रिकाले नै नवसर्जकलाई जन्म दिन कन्जुस्याँइ गरिरहेकोमा दुःखी छु ।'

मोफसलका क्रियाशील सर्जक र नवसर्जकले बारम्बार लेखरचना पठाइरहने र राजधानीका पत्रपत्रिकाले बारम्बार उपेक्षा गर्ने गरेको यो एउटा सानो उदाहरण मात्रै हो । तर, यसरी बारम्बार प्रकाशनार्थ लेखरचना पठाइरहने न लेकाली कान्छा मात्रै हुन्, न त निषेध गरिरहने सम्पादक 'मधुपर्क'का मात्रै हुन् । गोरखापत्र संस्थान, साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी स्वामित्वका प्रकाशनमा मात्रै हैन, बहुदलकालपछि खुलेका ठूला निजी मिडिया हाउसका पत्रपत्रिकाले पनि मोसफलको साहित्य-सिर्जनालाई खासगरी नवसर्जकलाई तिरस्कारको मुंग्रोले ठटाइरहेकै छन् । लाखौं खर्चेर पुरस्कार 'किन्न' सक्ने र लामो बायोडाटा बनाएका 'स्रष्टा'ले नै सबैतिर स्थान पाइरहेका छन् । सम्पादक महोदयहरूका लागि हुलाकी खामको के काम ?

झन्डै दस वर्षअघिदेखि 'मधुपर्क' मासिकको नियमित पाठक बनेपछि मैले पनि आफ्ना लेखरचना सम्प्रेषण गर्न थालेको हुँ । त्यसयता निरन्तर रचना ठेलेकोठेल्यै छु । सम्पादकहरूले छापेनन्, मैले भने पठाइरहेँ । एक वर्षभरि छापेनन्, मैले पठाइरहेँ । दोस्रो वर्ष पनि छापेनन्, तर मैले चिठी लेखिरहेँ । नछापिए पनि सम्पादकलाई हैरान पार्न पनि मैले लेखरचना पठाइरहेँ । मभित्र एउटा विश्वास थियो- कुनै दिन 'सम्पादक' हार्नेछ । मैले पनि पत्रपत्रिकामध्ये रचना पठाउन सुरु गरेको 'मधुपर्क'बाटै हो । तर, केही समयपछि मैले 'मधुपर्क' मात्रै होइन, गरिमा, युवामञ्च, साप्ताहिक, नेपाल, समय, विमोचन, हिमाल, नवयुवा, मूल्यांकन, कान्तिपुरलगायतमा पनि त्यही गतिमा पठाउन थालेँ । -रेडियो नेपालका विभिन्न कार्यक्रम, बिबिसी नेपाली सेवा, अलइन्डिया रेडियो र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका कार्यक्रममा पनि मैले आफ्ना रचना पठाइरहन्थँे । तर, रेडियोले मात्र मोसफललाई फरक व्यवहार गरेनन् ।) पत्रपत्रिकामा त्यसरी रचना पठाउन थालेको अहिले दस वर्ष हुन लागिसक्यो तर, केही सम्पादकले अझै पनि मलाई निर्ममतापूर्वक निषेध गरिरहेका छन् । म भने अलिकति पनि विचलित र हतोत्साही नभईकन जागिरहेकै छु । कुश्मामा बसेर पत्रकारिता गर्ने मेरा मित्र ओमप्रसाद घायलले पनि मैलेझैं आफ्ना साहित्यिक रचना राजधानीतिर पठाइरहन्थे । धेरैवटा कविता पठाउँदा पनि नछापिएपछि उनले 'नेपाल' साप्ताहिकका कला/साहित्य संयोजकलाई सिधै फोन गरेर सोधेछन्- मैले कविता पठाएको थिएँ, तर छापिएन किन होला ?' संयोजक महोदयले बडो सानका साथ भनेछन्- 'कहाँ त्यति सजिलै छापिन्छ ! यहाँ रचना छनोट गर्ने एउटा सेन्सरबोर्ड छ । बोर्डले पास गर्‍यो भने मात्रै मकहाँ आइपुग्छ, अनि बल्ल निर्णय हुन्छ । रचना अस्वीकृत पनि त हुन सक्छ ।'

कहिलेकाहीँ लाग्थ्यो, कतै मेरा रचना हुलाकबाट बीचैमा गायब पो भए कि ! तर, रेडियोमा सँधै पुगिराख्ने, पत्रिकामा नपुगी गायब हुने कसरी हुन्थ्यो र ! एक महिनाअघि म 'मधुपर्क' मासिकको कार्यालयमा पहिलोपल्ट पुगेँ । त्यसका एकजना सम्पादकलाई भेटेर आफ्नो रचना दिएँ । कागजमा मेरो नाम देखेर उनले बडो जिज्ञासाका साथ सोधे- 'ओहो, फलानो नाम गरेर रचना पठाइराख्ने तपाइर्ं नै हो ?' मैले भनें- 'हो, ए ! मेरा रचनाहरू आउन त आउँदारहेछन् नि है !×' त्यसपछि उनी केही बोलेनन् । मलाई चाहिँ प्रष्ट भयो कि सम्पादकले मेरो चिठी पाइरहँदा रहेछन् । एक महिनापछि 'मधुपर्क' हेरँे, त्यहाँ मैले दिएको रचना प्रकाशित पनि थिएन र समीक्षार्थ मैले बुझाएको पुस्तकको समीक्षा पनि थिएन । त्यसपछि केही दिनअघि म फेरि सो मासिकको कार्यालय छिरेँ । यसपटक अर्को एकजना सम्पादकसँग भेट भयो । मैले यसपटक पनि त्यहाँ आफ्नो रचना दिएँ । उनले पनि मेरो नाम देखेर 'तपाइर्ंका रचना त खुब आइरहन्थे' भने । मैले भनेँ- 'हो, पठाउन त मैले पठाइरहन्थेँ, तर, छापिनचाहिँ त्यत्तिकै भयो ।' उनले मेरो निबन्धमा मिति लेख्दै भने- 'ठीक छ, तपाईंको नाम परिचित नाम हो । तपाइर्ंका अरू रचना पनि छँदैछन्, हेरौंला नि ।' यी सम्पादक, सह-सम्पादक, उप-सम्पादकदेखि सबैखाले सम्पादकलाई मेरो नामचाहिँ कण्ठस्थ रहेछ, तर रचना किन नछापेका होलान् ?

पछि मात्रै थाहा भयो- मधुपर्क, गरिमा, समकालीन साहित्य, कविताजस्ता पत्रिकामा रचना छापेपछि पारिश्रमिक पाइने रहेछ । र, त्यही पारिश्रमिक खान पल्केकाले पत्रिकाभरि आफ्ना र आफूअनुकूलका स्रष्टाका लेखरचना मात्रै छाप्दा रहेछन् । मधुपर्क र गरिमामा त आफंै समीक्षा लेख्ने, आफंै स्तम्भ लेख्ने, आफंै अन्तर्वार्ता लिने, आफ्नै रचना छाप्ने र आफंैले पारिश्रमिक बुझ्न मिल्नेका लेखरचना छापेर पैसा कुम्ल्याउन त्यहीँका सम्पादकहरू खप्पिस हुँदारहेछन् । कतिपय जागिरे सम्पादकहरू युवामञ्च, मुना, गोरखापत्र, मधुपर्कमा सबैतिर आफ्ना र आफूअनुकूल रचना छापेर एकै महिनामा आफ्नो तलबबाहेक पनि मोटो रकम बुझ्छन् भन्ने थाहा पाउन मलाई धेरै लामो समय लाग्यो । निजी क्षेत्रका समय, नेपाल, हिमाल, कान्तिपुरजस्ता नाम चलेका पत्रिकाले पनि मोफसलबाट चिठीका खामभित्र हातैले लेखेर पठाएका लेखरचनालाई 'दलित'लाई जस्तो अछुत व्यवहार गरिरहेका छन् । इमेल-इन्टरनेट र कम्प्युटर प्रविधिको जमानामा सुविधासम्पन्न सहरमा बस्ने र पहुँचवाला लेखकले टाइप गरेका सामग्री इमेलबाट सिधै र तुरुन्तै प्रेषित गर्छन् । त्यसैले पनि गाउँठाउँमा बसेर आफ्नो दुःखसुख गर्दै साहित्य सिर्जनामा क्रियाशील स्रष्टालाई सम्पादकहरूले जबर्जस्ती पेलिरहेका छन् । पुरानो सामन्ती राजतन्त्रात्मक व्यवस्थामा एउटै क्षेत्र, एउटै लिंग, एउटै धर्म, एउटै जाति र एउटै वर्गको शासनसत्तामा हालीमुहाली हुने गथ्र्यो । राजनीतिमा त्यस्तो प्रवृत्ति अब कम हुँदै छ । तर, राजधानीका पत्रपत्रिकामा लेखरचना प्रकाशनको सन्दर्भमा यो ठालुवादी प्रवृत्ति ज्युँकात्यूँ छ । गणतन्त्र स्थापनापछि सञ्चारजगतमा नयाँ आशाका किरण देखिएका छन् र सम्भावनाका ढोका उघ्रने अपेक्षा चौतर्फी छ । नढाँटी भन्ने हो भने गणतन्त्र स्थापनार्थ राम्रै योगदान दिएका पत्रपत्रिका पनि नयाँ प्रस्तुति, नयाँ प्रतिभा र नयाँ विचारलाई आत्मसात गर्न अझै आनाकानी गरिरहेका छन् । प्रकाशनमा बारम्बार भइरहने उपेक्षा र निषेधीकरणका कारण प्रतिभा पलायन हुने वा अर्को बाटो रोज्न बाध्य हुने अवस्था आउँछ । मोफसलमा कस्सिएर लेख्ने सबै स्रष्टा सशक्त त छैनन् । उनीहरूसँग राजधानीमा बस्ने 'घगडान' विद्वान्को जस्तो सिर्जनात्मक सामथ्र्य नहोला । उनीहरू उत्तरआधुनिकतावादका ज्ञाता पनि नहोलान् र माक्र्सवादी सौन्दर्यशास्त्रमा पोख्त पनि छैनन् होला । तर, प्रतिभालाई अवसर नै नदिईकन नखारिएका वा नमौलाएका कसरी भन्ने ? राजनीतिक र सामाजिक क्षेत्रमा अझै पनि महिला भनेका तुच्छ, सानो चित्तका, केही गर्न नसक्ने, कमजोर हुन्छन् भनेर जसरी 'लिंग' लाई दोष दिने तर, त्यसको कारक नखोज्ने प्रवृत्ति छ, ठीक त्यसैगरी मोफसललाई हेर्ने सन्दर्भमा साहित्यमा पनि त्यस्तो दृष्टिकोण व्याप्त छ ।

आफ्नो जानकारीका लागि पनि र अभिलेख नै रहोस् भनेर पनि मैले पछिल्लो पाँच वर्षयता रचना पठाउँदा आफ्नो नोटबुकमा चलानी गरेर पठाउने गरेको छु । कुन मितिमा कुनकुन रचना, कुन प्रकाशनमा पठाएँ भनेर राखेको रेकर्डको सूचीले पनि मेरा २/३ वटा नोटबुक भरिएका छन् । राति बाह्र-एक बजेसम्म बसेर लेख्ने र बिहान झन्डै २ घन्टाको बाटो हिँडेर हुलाकमा चिठी खसाल्न जाने क्रममा मैले आफ्नो जीवनको महत्त्वपूर्ण उमेर र समय खर्चेको छु । यसरी अनवरत लेखरचना पठाउने, तर निषेधको सिकार भइरहने स्रष्टा पूर्वमेचीदेखि पश्चिम महाकाली, तराईदेखि हिमालसम्म सयौं छन् । 'प्रकाशननिषेधित लेखक मञ्च' नामक संस्था खोल्ने हो भने पक्कै पनि त्यो सशक्त र जुझारु संगठन बन्थ्यो होला ।

राजधानीका सरकारी तथा निजी प्रकाशनमा संगठित हस्तक्षेप नगर्ने हो भने नयाँ प्रतिभा, नयाँ विचार र नयाँ सिर्जनाले स्थान पाउने छाँटकाँट अझै देखिएको छैन ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु