बजगाईंको नियात्राकृति ‘भाया साक्रा’ सार्वजनिक

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह ‘भाया साक्रा’ बजारमा आएको छ । ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा बेलायत, इटाली र बेल्जियमका २१ वटा यात्रानुभूतिहरु छन् । लेखकले ती देशका इतिहास, कला, साहित्य आदिको बिस्तृत जानकारी सरल र गाह्र्य भाषामा नियात्रा मार्फत पाठकलाई दिएका छन् ।
आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय हुँदै नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् ।
यसअघि उनका यन्त्रवत्, रोडम्याप र कवच (लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह), स्रष्टा र डिजिटल वार्ता (अन्तर्वार्तासङ्ग्रह ), कमरेड भाउजू (कथासङ्ग्रह ) एवम् युरेशियाको स्पर्श (नियात्रासङ्ग्रह ) पुस्तककृति प्रकाशित भइसकेका छन् ।

साहित्यकार बजगाईं सुप्रमा साहित्य पुरस्कार(बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार(अमेरिका), लिटरेरी वेब जर्नालिज्म अवार्ड(अमेरिका), देवकोटा शताब्दी सम्मान(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानहरुद्वारा सम्मानित स्रष्टा पनि हुन् । उनले थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् ।
सांग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २९५/- रहेको छ |

Thursday, February 15, 2018