डा. विदुर चालिसेको ‘स्मृतिका पहाड’ सार्वजनिक

८ अगष्ट, २०१८, काठमाण्डौं

सहप्राध्यापक, भाषाविद तथा कवि डा.विदुर चालिसेको कविता संग्रह ‘स्मृतिका पहाड’ बुधवारका दिन काठमाण्डौंमा बिमोचन भएको छ ।
राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा समकालीन साहित्य प्रतिष्ठान बेलायतको नेपाल शाखाको आयोजनामा डा.विदुर चालिसेको कविता संग्रह ‘स्मृतिका पहाड’ सार्वजानिक भएको हो ।
साहित्यकार श्री ओम श्रेष्ठ रोदन, वरिष्ठ कवि तथा संकृतिविद तुलसी दिवस, पद्म कन्या क्याम्पसका प्राध्यापक डा.कुमार प्रसाद कोईराला, प्राध्यापक रेणुका जोशी, समीक्षक डा. लेखप्रसाद निरौला र लेखक विदुर चालिसेले उक्त कृति सार्वजनिक गरेका थिए ।
समीक्षक तथा प्राध्यापक डा. लेखप्रसाद निरौलाले पछिल्लो समय नेपाली साहित्य क्षेत्रलाई शसक्त रुपले अघि बढाउन यो कविताले महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । कवितामा प्राचिनतमदेखि नविनतमसम्मका कुराहरुलाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको बताए । यस सङ्ग्रहका कविता भित्र परिवर्तन गर्न सक्ने विचार, कवि भूपि शेरचनको जस्तै विम्वात्मक अभिव्यक्ति र महाकवि लक्ष्मिप्रसाद देवकोटको कवितामा जस्तै भाषिक शैली पाएको बताए ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवसले सिद्धान्तलाई जबर्दस्ती कवितामा मिसाउँदैमा कविता राम्रो नहुने कुरा बताउँदै सिद्धान्तलाई भन्दा कवितालाई प्राथमिकता दिनुपर्छ र डा. चालिसेका कवितामा कवितालाई नै प्राथमिकता दिएको बताए । उनका कविताहरु विल्कुलै फरकधारका प्रगतिवादी, नविनतम र मौलिकता जगाउने खालको पाएको बताए ।
लेखक डा.विदुर चालिसे आफू प्रेम, जीवन र प्रकृतिप्रति कविता लेख्न रुचाउने कवि रहेको बताउदै उनलाई उक्त कृतिकै मन परेको ‘सर्कस र साइरन’ कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा कवि प्रदीप सापकोटाले स्वागत मन्तब्य दिएका थिए भने डा. फणीन्द्रराज निरौंलाले कार्यक्रम संचालन गरेका थिए ।
उक्त कविता संग्रहमा ९६ वटा कविता संगृहित छ भने पुस्तकको मुल्य रु. ३०० रुपैयाँ रहेको छ ।

Wednesday, August 8, 2018