नानी बिवुको अनुक्रोश विमोचित

भाद्र ४, शनिबार ।
नानी बिवु जन्मजात अल्पदृष्टीविहिन छिन् । अल्पदृष्टिविहिन भइकन पनि उनले मोइबाइलमै उपन्यास लेखिन् । अनुक्रोश नामक उनको उपन्यास शनिबार गैंडाकोटमा विमोचन भएको छ । गैंडाकोटस्थित होटेल द नारायणीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुमाया कँडेल सापकोटा, स्रस्टाहरु शान्ति शर्मा, तर्कना शर्मा, बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बिसी र लेखक नानी बिवुले संयुक्तरूपमा पुस्तकको विमोचन गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै समिक्षक शान्ति शर्माले पुस्तकले शाश्वत प्रेमलाई विजयी गराएर लेखकले प्रेमको सम्मान गरेको बताइन् । साथै उनले पुस्तकले अभिभावकत्व नपाउदा बालबालिका कसरी सडकमा पुग्छन् भन्ने कुरालाई सजिवताका साथ उठाएको धारणा राखिन् । त्यसैगरि समिक्षक तर्कना शर्माले पुस्तक सरल र सललल बगेको बताउदै सडक बालबालिकाको कथालाई लेखिकाले नयाँ कोणबाट उठाएको धारणा राखिन् । लेखकको पहिलो किताब भइकन पनि लेखन शैली र कथा बुनोट प्रशंसायोग्य रहेको विचार समेत उनले व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णुमाया कँडेल, डा. मतिप्रसाद ढकाल, डा. एकनारायण पौडेल लगायतले पुस्तकबारे संक्षिप्त धारणा राखेका थिए ।
‘मेरा आँखाका नानी स्थिर छैनन् जसका कारण उपचार समेत हुन सकेको छैन । पुस्तक पढ्न एकदमै गाह्रो छ । पुस्तकका पाना मोबाइलको क्यामेराले खिच्छु । त्यसपछि जुम गरेर पढ्ने गर्छु ।’ लेखिका बिवुले आफ्ना अनुभूति सुनाइरहदा हल स्तब्ध देखिन्थ्यो ।
बिएन पुस्तक संसारले बजारमा ल्याएको उक्त उपन्यास सूर्य बिसीले सम्पादन गरेका हुन् । बिएन पुस्तककै आयोजना र सम्पूर्ण किताब नारायणगढको ब्यवस्थापन संचालित सो कार्यक्रमको सभापतित्व सूर्य बिसीले गरेका थिए भने सहजिकरण लेखराम सापकोटाले गरेका थिए । १९२ पृष्ठको सो पस्तकको बजार मूल्य ३०० तोकिएको छ ।

Tuesday, September 24, 2019