नर्थ क्यारोलाइनामा नियात्राकार तथा कवि जय छाङ्छासंग नियात्रा सम्बन्धी भर्चुअल छलफल

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको हुने मासिक कविता गोष्ठी नियात्राकार तथा कवि जय छाङ्छाको उपस्थितिमा भर्चुअल सम्पन्न गर्यो । नियात्राकार छाङ्छाको साहित्यिक परिचयबाट शुरु भएको उक्त कार्यक्रममा पाठकका विभिन्न जिज्ञासाहरुको उत्तरपछि कविता वाचनमा पुगेर टुगिंएको थियो ।
२०११ सालमा भोजपुरमा जन्मनुभएका जयबहादर राइको साहित्यिक नाम जय छाङ्छा हो । कथाबाट आफनो साहित्य प्रवेश भन्न रुचाउने छाङ्छाले साहित्यिक यात्रामा निस्किदा कवि भएर धेरै कवितापनि लेख्नुभयो त्यसपछि नियात्रा गहिरिन पुग्नुभयो । दुइ दशकभन्दा बढि समयदेखि नियात्रा बिधा नेपाली साहित्यको छुट्टै विधा हो भन्दै आफनो कलम चलाइरहनुभएका साहित्यकार छागंछाका धेरै नियात्राका कृतिहरु प्रकाशित भइसकेका छन । सरकारी जागिरमा रहेर बिभिन्न देशहरुमा भ्रमण गरिसक्नु भएका छाङ्छाले जागिरमात्र नखाएर त्यहांको रहनसहन र बस्तुस्थितिलाइ आफना नियात्रामा उतारेर पाठकलाइ संगसगै हिडाउनु भएको छ । केही चर्चित नियात्रा संग्रहहरु “कंगारुको देशदेखि आइफेल टावरसम्म”, “चॉप फुल्ने पहाडमुन्तिर”, “विव्लेटो आकाशको धरातलतिर” ले नेपाली साहित्यिक आकाशमा नयां उचाइ थपेको छन । धेरैले यात्रा साहित्य लेखेका छन तर समय संगसंगै हिडेको यात्रा साहित्य लेखेर पाठकलाइ आफनो यात्रामा संगसंगै लैजाने साहित्यकारको नाम हो जय छाङ्छा जो आफना सिर्जनालाइ वर्तमानसंग मात्र हिडाइरहुन हुन्छ । वहांको नियात्रा पढदा जहिलेपनि आजै हिडेकोजस्तो लाग्छ । नढांटी भन्दा प्रचार प्रसारको विज्ञापनबाट टाढा रहेर निरन्तर यात्रा लेखिरहने नाम हो जय छाङ्छा । कुनैपनि विषयबस्तलाइ समातेपछि त्यसको गहिराइसम्म नपुगी नछोडने साहित्यकारको नाम हो जय छाङ्छा ।
जय छाङ्छाको नियात्राका बारेमा विक्रम गौतन, निर्मला राजभण्डारी, उमा शर्मा, ऋषि बस्ताकोटी, ददिन पाण्डेले राखेका आ आफना जिज्ञासाहरु जस्तो नियात्रा के हो? किन लेखिन्छ र लेख्दा नियात्राकारले के कस्ता दुख झेल्नुपर्छ माथि प्रकाश पार्दा यसरी आफनो विचार प्रस्तुत गर्नुभएको थियो — “इतिहांस जित्नेको बयान हो भने नियात्रा जीत हारको भन्दा परिबेश र बस्तुस्थितिको बयान हो जसले पाठकलाइ समय र घटनाको नजिक पुरयाउंछ । नियात्रा खोलो हो जो गहिरिनमात्र जान्दछ, जति गहिरियो उति नयां कुरा भेटिन्छ तर नियात्रा लेख्दा ढाटन हुदैन । पहिलाको यात्रा वृतान्त अथवा यात्रा साहित्य नै अहिलेको नियात्रा हो जो सधै हिडिरहन्छ, जो सधै चलायमान भैरहन्छ । ब्यागप्याक थ्यौरी अपनाएर लेखिएको नियात्रामा भन्न खोजेको कुरा सबै अटाएका हुन्छन जसरी यात्रामा निस्कंदा एउटा ब्यागप्याकमा आफूलाइ चाहिने सबैकुरा मिलाएर राखिन्छ । नियात्रा एउटामात्र यस्तो बिधा हो जुन बिधामा आफूले भन्न खोजेको बाल, बैश्क र बृदा अबस्थासम्मका सबै कुरा भन्न सकिन्छ तर झुठो लेख्नचाहिं पाइदैन । पाठकलाइ ढाटन पाइदैन । समय र ठाउं अनुसारका सांस्कृतिक बिबिधताले कहिलेकाहिं सत्य कुरा लेख्न गाह्रो हुन्छ तर साहित्यकारले आफनो लेखाइमा सिधै नभनेरैपनि सत्य कुरा दिन सक्छ ।"
नम्रता गुरागाईंको अध्यक्षतामा उमा शर्माले शुरु गर्नुभएको कार्यक्रमको अन्त्यमा कविता वाचनको कार्यक्रम राखिएको थियो । कविता वाचन गर्नेहरुमा नियात्राकार स्वंय, निर्मला राजभण्डारी, गीता बस्नेत, रमेश प्रसाद गौतम, नगेन्द्र न्यौपाने, मनोज प्रधान, उमा शर्मा, ददिन पाण्डे र नम्रता गुरागाईं हुनुहन्थ्यो ।

Sunday, October 4, 2020