17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली हिज्जेका समस्या र स्थायी समाधान

विचार प्रा. डा. माधवप्रसाद पोखरेल January 10, 2011, 7:50 pm

नेपाली लेखाइमा लाजमर्दो अशुद्धि

नेपालमा शिक्षा मन्त्री, शिक्षा सचिव, विश्व विद्यालयको कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, कुल सचिव, सङ्काय अध्यक्ष, विभागीय प्रमुख, प्राध्यापक, शिक्षाधिकारी र शिक्षक हुन अनि प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र प्रज्ञा परिषद् तथा प्रज्ञा सभाका सदस्य हुन चाहिँ हिज्जे शुद्ध लेख्‍न जान्नु पर्दैन, तर पाँचौँ कक्षा पास हुन चाहिँ हिज्जे शुद्ध लेख्‍न जान्छु पर्छ; जानेन भने नम्बर काटिन्छ ।

नेपाली लेखाइको ८०० वर्ष लामो इतिहास

अरू भारतीय आर्य भाषा सरह नेपाली भाषा जन्मेको झन्डै १००० वर्ष नाघ्यो । ऐतिहासिक अभिलेखमा नेपाली भाषा लेखिन थालेको कम्तीमा ८०० वर्ष भयो । नेपाली भाषामा साहित्य लेखिन थालेको झन्डै अढाई सय वर्ष भयो । पहिलो नेपाली व्याकरण (ऐटन १८२० ई) लेखिएको पनि झन्डै २०० वर्ष भइसक्यो र नेपाली भाषामै लेखिएको पहिलो व्याकरण (सिंह १९६९; पण्डित १९६९; दीक्षिताचार्य १९६९) प्रकाशित भएको पनि झन्डै १०० वर्ष भइसक्यो । नेपाली विषय विद्यालयमा पढाउन थालेको दरबार हाई स्कुल खुले पछि (१९१० सालदेखि) होला । नेपाली भाषामा नियमित रूपले अखबार (गोरखा पत्र १९५८) प्रकाशित हुन थालेको पनि ११० वर्ष नाघिसक्यो । भाषा र हिज्जेमा सचेत भएर नेपाली भाषाका ग्रन्थ प्रकाशित गर्ने आधिकारिक सरकारी प्रकाशन संस्था गोरखा भाषा प्रकाशिनी समिति (१९७०) खुलेको पनि झन्डै एक शताब्दी भयो ।

नेपाली शिक्षणको १५० वर्ष लामो इतिहास

त्यस हिसाबले नेपाली विषय पढाउन सुरु भएको झन्डै १५० वर्ष नाघिसकेछ । लोक परम्परामा व्यक्तिगत वा संस्थागत गुरुकुलहरूमा नेपाली विषयको पढाइ सुरु भयो होला, तर दरबार हाई स्कुल खुले पछि आधिकारिक संस्थाले नेपाली विषय पढाउने इतिहास सुरु भयो । दरबार हाई स्कुललाई पछ्याउने मुलुकभरका अनेक विद्यालय र त्रिचन्द्र कलेजलाई पछ्याउने मुलुकभरका अनेक महाविद्यालय अनि त्रिभुवन विश्व विद्यालयलाई पछ्याउने अनेक विश्व विद्यालयमा हजारौँ लाखौँ गुरुहरूले लाखौँ करोडौँ विद्यार्थीहरूलाई सिकाइने नेपाली लेखाइमा एकरूपता ल्याउन नसक्‍नु सारै लाज मर्नु कुरो हो । नेपाली विषय पढाइका प्रभावकारितामा यस दुर्बलताले सबै भन्दा ठूलो भूमिका खेलेको छ ।

हिज्जेमा एकरूपता ल्याउने एक शताब्दीको प्रयास र अनेकरूपताका कारण

(क). वीरेन्द्रकेसरी : बकार र व़कारको समस्या

नेपाली हिज्जेमा एकरूपता ल्याउने प्रयास सबभन्दा पहिले वीरेन्द्रकेसरी अर्ज्याल (१९६५ अघि) ले गरेको देखिन्छ (हेर्नू प्रेरणा खरेल) । अर्ज्यालको ध्यान नेपाली लेखाइमा वकार र बकारको उच्‍चारण र लेखाइको बेमेलमा देखिन्छ । यहाँ समस्या बकारको उच्‍चारण र लेखाइमा नभएर वकारको उच्‍चारण र लेखाइको बेमेलमा थियो । संस्कृतमा वकारको उच्‍चारण स्थान दन्तोष्ठ्य थियो । नेपालीमा वकार पनि बकार पनि द्विरोष्ठ्य भएकाले संस्कृतको वकार नेपाली उच्‍चारणमा दुई किसिमका द्विरोष्ठ्यमै बाँडिएको छ : अक्षरको आरम्भमा व्यञ्‍जन संयोग भएर कुनै व्यञ्‍जन पछाडि वकार आयो भने, त्यो संस्कृतको दन्तोष्ठ्य वकार नेपालीको द्विरोष्ठ्य व़कार (तल थोप्ली व़) मा बदलिन्छ; अन्यत्र संस्कृतको दन्तोष्ठ्य वकार नेपालीमा द्विरोष्ठ्य बकारमा बदलिन्छ । (वारि, व़ारि, बारी, विश्व, स्वाद, प्वाल) । यसरी संस्कृतको वकार नेपाली बकार र व़कारमा फेरिएर सिद्धिन्छ, तर वीरेन्द्रकेसरी अर्ज्यालकै समकालीन चक्रपाणि चालिसे, जयपृथ्वीबहादुर सिंह, राममणि आदी, हेमराज पण्डित, र विश्वमणि दीक्षिताचार्य जस्ता अरू व्याकरणकार र नेपाली भाषाका साधकहरू नेपालीमा चलेका संस्कृत शब्दको उच्‍चारण जस्तो भए पनि हिज्जे संस्कृतकै जस्तो राख्‍नु पर्ने अडानमा थिए, त्यसैले वीरेन्द्रकेसरीले नेपालीमा व़ उच्‍चारण हुन्छ भने तलथोप्ली दिने, व़ उच्‍चारण नभएर ब उच्‍चारण हुन्छ भने पेट नचिर्ने बरु संस्कृतकै वकार जस्तो लेख्‍ने प्रस्ताव गरे । प्रस्ताव यस्तो गरे पनि त्यसको पूर्ण रूपमा पालन भने वीरेन्द्रकेसरी आफैँले पनि गरेको देखिँदैन ।

(ख). राममणि : अक्षरान्त विराम चिन्ह (हलन्त) को बहिष्कार

नेपाली हिज्जेलाई सरलीकरण गर्ने दोस्रो प्रयास राममणि आदी (१९६५) ले गरे । राममणि बनारसका प्रेसवाला थिए । उनले के पाए भने, त्यही प्रेसमा हिन्दी भाषाका कृति छाप्‍न चाहिँ अक्षरान्तको विराम चिन्ह (व्यञ्‍जनको खुट्टो काट्ने चिन्ह) नचाहिने, तर नेपाली भाषाका कृति छाप्‍न चाहिँ थुप्रै विराम चिन्ह चाहिने रहेछ । त्यस समस्याबाट मुक्ति खोज्‍न उनले नेपालीमा ‘हलन्त बहिष्कार’ आन्दोलन चलाए । त्यसमा लेखनाथ पौड्याल (१९७१) ले पनि ‘परखाल बडे बडे नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे’ भनेर राममणिको ‘हलन्त बहिष्कार’ गर्ने प्रस्तावको समर्थन गरे । राममणिले नेपालीमा पनि अक्षरान्त स्थानको व्यञ्‍जन वर्ण हिन्दी भाषामा झैँ हल् वा खुट्‍टो काट्ने चिन्ह प्रयोग नगरी लेख्‍न सके नेपाली लेखक र प्रेसवालाहरूलाई पनि सजिलो हुन्थ्यो भन्ने प्रस्ताव अघि सारे । नेपाली लेखाइको सरलीकरणमा राममणिको यस आन्दोलनले पनि केही सघाएको छ, तर राममणिले नेपालीमा अक्षरान्तको विराम चिन्ह नराखी काम चल्दैन भन्ने कुरो चालै पाएनन् ।

(क). तँ एउटा लेख [lekʰ] लेख् [lekʰ] ।

(ख). तँ ‘एउटा’ लेख् [lekʰ] लेख् [lekʰ]

(ग). तिमी एउटा लेख [lekʰ] लेख [lekʰʌ] ।

(घ). तिमी ‘एउटा’ लेख [lekʰʌ] लेख [lekʰʌ] ।

(ग). हेमराज : नेपालीमा हलन्तको पूर्ण बहिष्कार गर्न नमिल्ने

नेपाली हिज्जेलाई नियमित गर्ने तेस्रा विद्वान् हेमराज पण्डित (१९६९) हुन् । उनले राममणिको ‘हलन्त बहिष्कार’ को प्रस्तावमा संशोधन गर्दै के कुरो अघि सारे भने, नेपाली लेख्ता क्रियामा चाहिँ हलन्त बहिष्कार गर्न सकिँदैन, अक्रियामा चाहिँ हलन्त बहिष्कार गरे हुन्छ । यसरी हेमराजले राममणिको हलन्त बहिष्कारको त्रुटि नाम, विशेषण र क्रियामा निकै मात्रामा सुधारे पनि क्रिया विशेषण र निपात (विभक्ति, संयोजक, ‘शब्द योगी’ वा ‘नाम योगी’, सर्वनाम, विस्मयार्थक) मा त्यो समस्या उभ्रेकै छ, किन भने यस्ता शब्दको उच्‍चारण स्वरान्त र व्यञ्‍जनान्त दुवै खाले पाइन्छ :

(क). सर्वनाम : म, तँ, हजुर, मौसुफ, सब

(ख). क्रिया विशेषण : नजिक, वर, पर, तल; अब, तब, जब, आज, तिर, तर्फ, अझ

(ग). निपात : सित, सँग, बाट, सम्म, त, र, तर, जब, नत्र, जुन, कुन, हत, हजुर, हैन

तर यी समूहमा क्रियामा जस्तो हलन्त र अजन्तको व्यतिरेक पाइँदैन ।

राममणिको हलन्त बहिष्कार र चक्रपाणिको उच्‍चारण अनुसारको हलन्त वा अजन्तको सूत्रमा हेमराजको यो मध्यम पन्थ निकै काम लाग्ने देखिन्छ । खालि यस नियमले संस्कृतका ‘जगत्, विद्वान्, राजन्’ जस्ता हलन्त भएका शब्दबाट पनि हलन्त बहिष्कार गर्न सके हुन्थ्यो । अहिले नेपाली भाषाको लेखाइमा यस्ता शब्द कसैले खुट्‍टो काटेर लेख्‍ने कसैले खुट्‍टो नकाटी लेख्‍ने अनि कसैले मन परी गर्ने बिथिति रहेको छ ।

(घ). गोभाप्रस, पुष्कर शमसेर र नेकशुले

चन्द्र शमसेरका पालामा खुलेको ‘गोभाप्रस’ ले जुद्ध शमसेरका पालामा नेपाली भाषा प्रकाशन समिति भन्ने नाम पायो र राजा महेन्द्रका पालामा त्यसको नाम फेरिएर साझा प्रकाशन भयो । यसरी साझा प्रकाशनको झन्डै १०० वर्षको इतिहासमा जुद्ध शमसेरका पालामा यस संस्थाले ‘नेपाली कसरी शुद्ध लेख्‍ने?’ भन्ने पुस्तिका निकाल्यो । नेपाली हिज्जेलाई नियमित गर्ने सबभन्दा सशक्त प्रयास त्यही नै थियो, किन भने राणा शासनमा साइनबोर्ड लेख्‍न पनि ‘गोभाप्रस’ सित अनुमति लिनु पर्थ्यो (जनकलाल शर्मा २०६०) । तारानाथ शर्मा (कुराकानी) को भनाइ अनुसार साझा प्रकाशनले २०२५ साल तिर ‘नेकशुले’ लाई अद्यावधिक गर्न चाह्यो, तर त्यति वेलाको पञ्‍चायती सरकार राणा सरकार जत्तिको शक्तिशाली थिएन । साझा प्रकाशनको त्यस गोष्ठीमा विद्वानहरू बीच सहमति नै हुन सकेन ।

नेपाली हिज्जेलाई नियमित गर्ने चौथो प्रयास गोरखा भाषा प्रकाशिनी समितिको ‘नेपाली कसरी शुद्ध लेख्‍ने?’ (१९९२) भन्ने पुस्तिका हो अनि नेपाली हिज्जेलाई नियमित गर्ने त्यो नै पहिलो संस्थागत प्रयास पनि हो । यस प्रयासमा विशेष गरी पुष्कर शमसेरको हात देखिन्छ, किन भने ‘नेकशुले’ र पुष्कर शमसेर (२००१) को हिज्जेको नियम झन्डै अक्षरश: मिल्छ । नेपाली हिज्जेलाई नियमित गर्ने त्यो प्रयास नै सबभन्दा सफल भयो ।

नेपाली हिज्जेलाई नियमित गर्ने केही व्यक्तिगत र संस्थागत प्रयास पुष्कर शमसेर (२००१), झर्रोवादी आन्दोलन (२०१३), श्यामप्रसाद शर्मा (२०१६), रूपरेखा पत्रिका (२०१७), रामराज पन्त (२०१६: २९-३१), साझा प्रकाशन (२०२५), शिवराज आचार्य (२०३०), मोहनराज शर्मा (२०३५) मुकुन्द शरण उपाध्याय (२०१७, २०३६) हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्‍टराई (२०६१), आदिले गरेका छन् ।

(ङ). त्रिवि, पाविके, अनेशिनि, नेराप्रप्र, नेबृश, दाहाल र बालकृष्ण पोखरेल

आगन्तुक शब्दहरूको लेखाइमा ऋकार, अनुस्वार, ञकार, णकार, शकार, षकार, क्ष र ज्ञ नलेख्‍ने, उकार ह्रस्व मात्रै लेख्‍ने इकार धेरैजसो नेपाली शब्दमा भए जस्तै गर्ने सहमति र प्रस्ताव वल्लभमणि दाहालको नेतृत्वमा त्रिभुवन विश्व विद्यालय पाठ्यक्रम विकास केन्द्रको संयोजनमा अधिराज्यभरका अनिवार्य नेपाली पढाउने शिक्षकहरूका राष्ट्रिय अधिवेशन र राष्ट्रिय तथा क्षेत्रीय अभिमुखीकरण कार्यशाला गोष्ठीहरूमा (२०३४-२०४६) पारित भयो । ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ र ‘नेपाली बृहत् शब्द कोश’ (२०४०) तिनै सहमतिहरूका दस्तावेज हुन् ।

राससको शैली पुस्तिका र गोरखापत्रको शैली पुस्तिका र पाठ्य क्रम विकास केन्द्र (सानो ठिमी) को शैली पुस्तिका जस्ता केही प्रयास पनि फाटफुट भएका छन् ।

(च). अपर्णा पोखरेल, पदयोगको समस्या र चन्द्रगढी घोषणा पत्र

नेपाली हिज्जेमा भएको पदयोग र पदवियोगको समस्याको समाधानका लागि अपर्णा पोखरेल (२०६४, २०६५) को अनुसन्धान उल्लेखनीय छ । अपर्णाका अनुसन्धानको निष्कर्ष अनुसार शब्द कोशमा फरक प्रविष्टि पाउने र व्याकरणबाट सिद्ध हुने दुइटा शब्द छुट्याउँदा शब्द कोशमा नभेटिने र व्याकरणबाट सिद्ध नहुने शब्दको अवशेष उभ्रिँदैन भने, त्यस्ता हरेक शब्द छुट्याउनु ठीक छ । यस आधारमा विभक्ति र नामयोगी पनि छुट्याउनु पर्ने देखिन्छ । विभक्ति पनि छुट्याउने प्रस्ताव नेपालीमा सबै भन्दा पहिले मुकुन्द शरण उपाध्याय (२०१७) ले ल्याएका हुन् ।

नेपाली हिज्जेमा एकरूपता ल्याउने पछिल्लो प्रयास झर्रोवादी चूडामणि रेग्मीको जन्म दिनको उपलक्षमा भेला भएका भाषाविद्, शिक्षाविद्, लेखक र साहित्यकारहरूको भेलामा चन्द्रगढीबाट जारी गरेको झापा घोषणा पत्र (२०६६) हो ।

नेपाली हिज्जे नियमित गर्ने प्रयास असफल

हिज्जेमा एकरूपता ल्याउन ‘गोभाप्रस’ बाहेक सशक्त रूपमा अर्को कुनै संस्था प्रभावकारी भएको छैन । यसमा कि त ‘गोभाप्रस’ को उत्तराधिकारी संस्था ‘साझा प्रकाशन’ ले, कि त ‘भाषानुवाद परिषद्‍’ को उत्तराधिकारी संस्था ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ ले, कि त जन स्तरमा नेपाली भाषाको उत्थानमा सबभन्दा ठूलो योगदान गर्ने ‘नेपाली शिक्षा परिषद्‍’ ले, कि त देशको सबै भन्दा ठूलो प्राज्ञिक संस्था ‘त्रिभुवन विश्व विद्यालय’ ले नेपाली हिज्जेको एकरूपतामा निर्णयात्मक पाइलो चाल्न सक्‍नु पर्थ्यो, तर यी सबै संस्था र यी संस्थामा आबद्ध भएका र स्वतन्त्र व्याकरणकार, कोशकार, भाषाविद् र विद्वानहरू यस काममा सफल भएका देखिँदैनन् । माथि लेखो गरिएका सबै आधिकारिक संस्था र व्यक्तिका बीचमा सहमति गराउने एउटा संस्थागत प्रयास हुनु पर्‍यो । नेपाली लेखाइको एकरूपता अहिलेको गम्भीर समस्या हो ।

नेपाली हिज्जेको असफलताका मूल कारण नै विद्वानहरू बीचको असहमति

अहिले नेपाली भाषाको हिज्जेमा एकरूपता ल्याउन नसक्‍नाको मूल कारण नेपाली विषयकै विद्वानहरूमा सहमति हुन नसकेर हो । यस कुरामा त्रिभुवन विश्व विद्यालय वा प्रज्ञा प्रतिष्ठान जस्तो कुनै एउटा आधिकारिक संस्थाले ती विद्वानहरू बीचमा सहमतिको टुङ्गो लगाउनु पर्ने खाँचो छ । यसै भेलामा सामेल भएका नेपाली भाषाका वरिष्ठ विद्वानहरूलाई एउटै अनुच्छेद श्रुति लेखन गर्न लगायो भने विद्वानहरू बीचमा नेपाली लेखाइमा अनेकरूपता भएको प्रस्टसँग देख्‍न सकिन्छ । यसै समस्याले गर्दा नेपाली विषयकै एउटा वरिष्ठ प्राध्यापकले लेखेका लेखोटको हिज्जे अर्को जुनसुकै तहको नेपाली शिक्षक, सम्पादक, पत्रकार, टाइपिस्ट र प्रुफरिडरले समेत फेरिदिने भाँडभैलो नेपाली लेखाइका सांस्कृतिक साम्राज्यमा कायम छ । यस्तो बिथिति कायम भए पनि नेपाली व्याकरणका वरिष्ठ र शब्द शुद्धिका नियन्ताहरू नेपाली लेखाइमा एकरूपता ल्याउने अचुक उपायमा सहमति नगरेर आआफ्‍नै हिज्जेका नियम हो कि बेनियममा रमाइरहेका छन् । (कार्य शाला प्रश्न १)

संस्कृत शब्दको हिज्जे नै नियमवादीहरूका लागि सबभन्दा ठूलो असाध्य हाँक

(क). उपमहाद्वीपको संस्कृत शिक्षणमा उच्‍चारण नसिकाउने परम्परा दोषी

नेपालीका ती पहिलो चरणका व्याकरणकारहरूले उच्‍चारण जस्तो गरे पनि संस्कृत शब्दलाई संस्कृतकै हिज्जे अनुसार लेख्‍नु पर्छ भन्ने नियम बनाउने पनि गम्भीर कारण थियो । पाश्चात्य जगतमा ध्वनि विज्ञानको जन्म नै लन्दनको गुरु कुलका भाषा वैज्ञानिकहरूले वैदिक प्रातिशाख्यहरूको अध्यययन गरे पछि भएको (फर्थ १९३४ ई) भए पनि, भारतीय उपमहाद्वीपका संस्कृत विद्यालय र विश्व विद्यालयहरूमा संस्कृतको मानक उच्‍चारण अहिले सम्म कतै पनि सिकाइँदैन । तिनीहरू संस्कृत पनि आआफ्नै मातृभाषाका वर्णमाला प्रयोग गरेर उच्‍चारण गर्छन्, त्यसैले ‘असमका पण्डितले दिएको उपदेश नलिनू’ भन्ने एउटा उखानै चलेको छ । असमिया भाषाका वक्ताले सकारको उच्‍चारण हकार गर्छन्, त्यसैले उनीहरूले ‘शतायु भव’ (सय वर्ष बाँच) भन्ने आसिक दिन चाहे भने, नचाहँदा नचाहँदै पनि ‘हतायु भव’ (ठहरै मर) भन्ने आसिक दिन पुग्छन् ।

(ख). विद्यार्थीलाई बोल्नु नेपालीमा लेख्‍नु संस्कृतमा पर्ने समस्या

वीरेन्द्रकेसरी अर्ज्याल, राममणि आदी र सोमनाथ सिग्द्याल जस्ता नेपाली व्याकरणका प्रणेताहरू आधारभूत रूपमा वाराणसीको गुरुकुलका उत्पादन भएकाले (र नेपालका संस्कृत विद्यालय र विश्व विद्यालय पनि त्यसै गुरुकुलका विस्तार भएकाले) नेपालीका संस्कृत पण्डितहरू पनि संस्कृत शब्दको उच्‍चारण नेपाली वर्ण व्याकरण अनुसार गर्न बानी परेका छन् । उनीहरूको त्यही कमजोरी अनुसार उनीहरू नेपालीमा लेखिने संस्कृत शब्दको हिज्जे समेत उच्‍चारण नेपाली गरे पनि संस्कृतकै जस्तो राख्‍नु पर्ने व़कालत गर्न पुग्छन् । विद्यार्थीहरूलाई नियमका आधारमा नेपाली हिज्जे सिकाउन नसकिने सबभन्दा गम्भीर समस्या यसै कारणले बनेको छ ।

नेपालीका ती प्रथम चरणका व्याकरणकारहरू संस्कृतका यी वर्ण (‘ई, ऊ, ऋ, अं, अ:’; ‘च छ ज झ ञ, ट ठ ड ढ ण, य, व, श, ष’) र व्यञ्‍जन संयोग (‘क्ष, ज्ञ’) हरू नेपाली भाषामा नभए पनि नेपाली लेखनमा अनिवार्य रूपले राख्‍नै पर्ने वकालत गर्छन् । नेपाली भाषाका विद्यार्थी, गुरु र लेखकहरूलाई नेपाली हिज्जेका गोरखधन्दामा अड्काउने र अल्मल्याउने मूल कारण तिनै आदि गुरुहरूको संस्कृतको मानक उच्‍चारणको कमजोरी हो । आज पनि तथाकथित नेपाली वर्णमालामा संस्कृत पण्डितहरूले पनि शुद्ध उच्‍चारण गर्न नसक्‍ने तिनै संस्कृत भाषाका वर्ण र व्यञ्‍जन वर्ण संयोगहरू पढाइने परिपाटि वा रूढि नेपाली पठन पाठन र लेखनमा छँदै छ । यस समस्याले गर्दा नेपाली विद्यार्थीहरूले संस्कृत शब्द बोल्नु नेपालीमा लेख्‍नु संस्कृतमा पर्ने भइरहेको छ ।

नेपाली हिज्जे सिकाउने दुइटा मात्र विकल्प : नियमवाद र अभ्यासवाद

उच्‍चारण नेपालीको जस्तो गरे पनि संस्कृत शब्दको हिज्जे संस्कृतकै जस्तो लेख्‍ने प्रस्ताव (अभ्यासवादी प्रस्ताव) नै सीमित नियमहरूका आधारमा नेपाली हिज्जेलाई सरलीकरण र एकरूपीकरण गर्ने (नियमवादी प्रस्ताव) नेपाली भाषाको शिक्षणमा प्रचलित प्रस्तावको विरुद्ध तेर्सिएको सबभन्दा कठिन र असाध्य तघारो हो । नेपाली हिज्जेलाई नियमित र सरलीकरण गर्न खोज्ने बाटामा यी दुइटा प्रस्ताव नै परस्पर विरोधी छन् । यी दुइटै परस्पर विरोधी प्रस्तावलाई मानेर नेपाली लेखनलाई सरल र नियमित बनाउनै सकिँदैन, तर नेपाली हिज्जे सिकाउने अहिले सम्मका परम्पराको ढिप्पी भने त्यही छ । नेपाली हिज्जेलाई व्यवस्थित गर्न कि अभ्यासवादलाई छोडेर नियमवाद रोज्‍नु पर्छ, कि त नियमवादलाई छोडेर अभ्यासवाद रोज्नु पर्छ ।

(क). सबै तत्सम र आगन्तुक शब्द नेपाली वर्ण मात्र प्रयोग गरेर लेख्‍ने (नियमवादी मार्ग)

(ख). स्रोत भाषाकै वर्ण प्रयोग गरेर लेख्‍ने (अभ्यासवादी मार्ग)

(अ). संस्कृत र आगन्तुक शब्द स्रोत भाषाकै हिज्जे अनुसार लेख्‍ने (अभ्यासवादी मार्ग)

(आ). संस्कृत शब्द मात्र स्रोत भाषाको हिज्जे अनुसार लेख्‍ने

नियमवादलाई रोजेर खालि नियमहरूका आधारमा मात्र नेपाली लेखाइलाई व्यवस्थित गर्ने हो भने, नेपालीमा प्रयोग हुने सबै संस्कृत र आगन्तुक शब्दलाई नेपाली वर्णको उच्‍चारण अनुसार लेख्‍ने परिपाटि बसाल्नु पर्छ । यसो गर्दा नेपालीको लेखाइबाट ‘इकार र उकारका ह्रस्व दीर्घको फरक छुट्याउने प्रथा, विसर्ग लेख्‍ने प्रथा, अनुस्वार लेख्‍ने प्रथा र ऋ, ञ, ण, व (तलथोप्ली व़ होइन), श, ष, क्ष, ज्ञ’ हटाउनु पर्छ । तालव्य र दन्त्य सकारको प्रयोगलाई बिर्सिनु हो भने, टर्नर (१९३१ ई) को प्रस्ताव प्रस्ताव यस्तै वर्णात्मक हिज्जेका लागि छ ।

नेपाली हिज्जेबाट यी वर्णहरूलाई स्वात्तै हटाउन सके नेपाली हिज्जेलाई नेपाली वर्ण विन्यास भन्न सकिन्थ्यो र नेपाली वर्णको पठन, पाठन र लेखन सजिलो र वैज्ञानिक हुन्थ्यो, तर यस गोष्ठीले पनि त्यति क्रान्तिकारी निर्णय गर्न सक्ला भन्ने विश्वास पटक्‍कै गर्न सकिँदैन ।

यस समस्याको गहिराइमा पसेर समाधान खोज्न नेपाल र भारतका संस्कृत विश्व विद्यालयहरूमा प्रातिशाख्यहरूको अध्ययन, अध्यापन र अभ्यास गराएर संस्कृत भाषाको मानक उच्‍चारण ठम्याएर पढाउने परिपाटिको थालनी गर्न पहल गर्नु पर्ला । त्यो नहोउन्जेल भारतीय उपमहाद्वीपको संस्कृत उच्‍चारणमा एकरूपता पनि नहुने भयो र त्यस्तो एकरूपता नभए सम्म संस्कृत शब्दको शुद्ध उच्‍चारण गर्न नसक्‍नेहरूले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको वर्णात्मक लेखन गर्न समस्या तेर्स्याइराख्‍ने सम्भावना छ । संस्कृतको मानक उच्‍चारण पढाउन थाल्नु पर्‍यो !

उच्‍चारण नेपालीको जस्तो गरे पनि संस्कृतकै जस्तो हिज्जे कायम राख्‍ने बाटो रोज्ने हो भने, सीमित नियमहरूका आधारमा संस्कृत भाषाका नेपालीमा प्रचलित सबै शब्दहरू जस्ताको तस्तै शुद्ध बनाउन त पाणिनिलाई जिउँद्याए पनि असम्भव छ । त्यस अवस्थामा नियमवादलाई नरोजेर अभ्यासवादलाई नरोजी सुख छैन । नियमबाट नेपाली भाषाको प्रचलित हिज्जे सिकाउन सकिन्छ भन्ने भ्रमलाई आजैदेखि सिद्ध्याउनु पर्छ र जुन विधिबाट अङ्ग्रेजीको हिज्जे सिकाइन्छ, त्यसै अभ्यास विधिबाट नेपाली भाषाको हिज्जे पनि विद्यार्थी र शिक्षकलाई आत्म विश्वास हुने गरी सिकाउन सकिन्छ । त्यसो भयो भने, (क). संस्कृत, आगन्तुक र नेपाली शब्द सबैको हिज्जेलाई एकनासको व्यवहार पुग्छ,

(ख). पहिलो कक्षामै नेपाली शब्द शुद्ध लेख्‍न सिक्‍न फलानो फलानो शब्द संस्कृत, आगन्तुक र नेपाली ठेट शब्द हो भनेर विद्यार्थीले चिनिराख्‍नु पर्दैन ।

(ग). नेपाली भाषामा प्रयोग हुने संस्कृत शब्द शुद्धसित लेख्‍न पहिलो कक्षादेखिकै विद्यार्थीले पहिल्यै पाणिनीय संस्कृतको पण्डित हुनु पर्दैन

(घ). (शहीद, शाह, राणा र श्रीपेच जस्ता) आगन्तुक शब्दको शुद्ध हिज्जे लेख्‍न सिक्‍न त्यस्ता शब्दका नानाभाँती समाज भाषा वैज्ञानिक लगतको जानकारी राखिरहनु पनि पर्दैन ।

(ङ). नेपाली भाषा शुद्धसित सिक्‍न र सिकाउन शब्दको (क्षतिपूरक दीर्घीभवन जस्तो) ऐतिहासिक वर्ण विज्ञानको नियम पनि पहिलो कक्षादेखि नै जान्नु पर्दैन ।

(घ). नेपाली भाषा ठीकसित लेख्‍न पहिलो कक्षादेखिकै विद्यार्थीले नेपाली भाषाको शब्द वर्ग जानिरहनु पर्दैन

(ङ). कुन शब्द धेरै प्रचलित भएर तद्भव तुल्य भएको हो, कुन शब्द थोरै प्रचलित हो भन्ने कुरो पहिलो कक्षादेखि नै नेपाली सिक्ता र सिकाउँदा छुट्याउन सक्‍नु पर्दैन ।

(च). अव्यय, विभक्ति र निपात सबै ह्रस्व नभएर किन ‘लाई’ र ‘हरू’ चाहिँ दीर्घ लेख्‍ने भन्ने जान्नु पर्दैन

(छ). ‘मङ्सीर’ र ‘दीघो’ वा ‘दीगो’ शब्द किन त्रिभुवन विश्व विद्यालय पाठ्य क्रम विकास केन्द्रको शिक्षण निर्देशिका अनुसार क्षतिपूरक दीर्घीभवन भएर दीर्घ लेख्‍नु पर्ने अनि किन ‘नेपाली बृहत् शब्द कोश’ र हेमाङ्गराज अधिकारी र बद्री विशाल भट्टराईको कोश अनुसार ह्रस्व लेख्‍ने भन्ने अलमलमा पहिलो कक्षादेखिकै विद्यार्थीले परिरहनु पर्दैन ।

(ज). ‘उन्नाइस’, ‘सत्ताइस’ र ‘अट्ठाइस’ जस्ता सङ्ख्या वाचक शब्दको इकार किन अनेशिनि अनुसार दीर्घ लेख्‍नु पर्ने अनि नेबृश अनुसार ह्रस्व लेख्‍नु पर्ने भन्ने कुरामा पहिलो कक्षादेखिकै विद्यार्थीले अल्मलिनु पर्दैन ।

(झ). आगन्तुक शब्दको हिज्जे ‘नेपाली नियम’ (?) लाग्छ भने पनि किन नेबृशमा ‘जीत’ शब्द दीर्घ भयो भन्ने अल्मलमा पहिलो कक्षादेखिकै विद्यार्थीले पर्नु पर्दैन ।

(ञ). कुन सिद्धान्तका आधारमा नेबृशका अनेक संस्करणको हिज्जेमा परिवर्तन भइरहेको छ भन्ने प्रश्न गारो हुने थिएन ।

(ट). किन एउटा नेपाली भाषाका विद्वानले लेखेको हिज्जे अर्को नेपाली भाषाको विद्वान् मात्र नभएर टाइपिस्ट, प्रुपरिडर र सम्पादक मात्र होइन जोसुकैले पनि बदलिदिन्छ भन्ने भाँडभैलाको रसरङ्ग देखिराख्‍नु पर्ने थिएन ।

(ठ). किन एउटै लेखकले एउटै पदावलीमा भएका शब्दहरू कहिले पद योग गर्छ कहिले पद वियोग गर्छ; कहिले बीचको शब्दलाई देब्रे तिरको शब्दसित जोड्छ, कहिले दाहिने तिरको शब्दसित जोड्छ; शब्द जोड्दा पनि कहिले योजक चिन्ह राख्छ कहिले एउटै डिको मुनि लेख्छ भन्ने समस्यासित प्राथमिक तहको पहिलै कक्षादेखिका विद्यार्थी र तिनीहरूका शिक्षकले रनभुल्लमा पर्नु पर्ने थिएन ।

सन १९९२ मा भारतीय संविधानको आठौँ अनुसूचीमा गाभिए पछि नेपाली भाषा अन्तरराष्ट्रिय भाषा भएको छ । अब राजनीतिक सीमा वारि र पारिको नेपाली भाषा लेखाइमा पनि एकरूपता ल्याउनु पर्ने खाँचो छ । त्यसका लागि दुवै देशका आधिकारिक निकायहरू जोडेर नेपाल र भारतका नेपाली भाषाका मर्मज्ञहरूका बीचमा सघन अन्तरक्रिया गर्ने एउटा अन्तरराष्ट्रिय गोष्ठीको खाँचो छ ।

वर्णहरूको नियम हुँदैन, संवर्णहरूको मात्र नियम हुन्छ, त्यसैले नेपाली हिज्जेको समस्यालाई वर्ण विन्यासको समस्या नभनेर हिज्जेको समस्या भन्नु पर्छ । वर्ण विन्यास भन्ने पदावलीलाई आजदेखि अन्त्य गर्नु पर्छ ।

सन्दर्भ सूची

अधिकारी, हेमाङ्गराज र बद्रीविशाल भट्‍टराई. सं. २०६१. प्रयोगात्मक नेपाली शब्दकोश. काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार.

आचार्य, शिवराज. २०३०. जिम्दो नेपालि भासा. काठमाडौँ : लेखक.

उपाध्याय, मुकुन्द शरण. २०१७. वरदान (धार्मिक उपन्यास). वृन्दावन : सर्वेश्वर प्रेस.

उपाध्याय, मुकुन्द शरण. २०२७. नेपाली भाषाको लेखाइ छपाइ. गण्डकी साप्ताहिक. ?

खरेल केसी, प्रेरणा. २०५८. वीरेन्द्रकेसरी अर्ज्यालका व्याकरणको समीक्षा. काठमाडौँ : लक्ष्मण खराल.

दाहाल, बल्लभमणि र अरू. २०३९. अनिवार्य नेपाली शिक्षण निर्देशन. लिथो. काठमाडौँ : त्रिवि, पाविके.

दीक्षिताचार्य, विश्वमणि. १९६९. नेपाली व्याकरण बोध. बम्बई : वेंकटेश्वर प्रेस.

नेपाल, शैलेन्दु प्रकाश. २०५०. राममणि आ.दी. : व्यक्ति र कृति. काठमाडौँ : सिर्जना प्रकाशन.

पण्डित, हेमराज. १९६९. चन्द्रिका गोरखाभाषा व्याकरण. काठमाडौँ : ढोकाटोल प्रेस.

पन्त, रामराज (२०१६). नेपाली लिपि विज्ञान. प्रयाग : सरोज प्रकाशन.

पोखरेल, अपर्णा. २०६५. नेपाली भाषामा पदयोग र पदवियोगको समस्या. काठमाडौँ : कमल दीक्षित.

पोखरेल, बालकृष्ण. सं. २०४०. नेपाली बृहत् शब्दकोश. काठमाडौँ : नेराप्रप्र.

पोखरेल, माधवप्रसाद र सुमन ढकाल. सं. २०६०. जनकलाल शर्माका सस्मरण. काठमाडौँ : साझा प्रकाशन.

पोखरेल, शैलजा. नेपाली बृहत् शब्दकोशका वर्णविन्यासको समीक्षा. ललितपुर : जगदम्बा प्रकाशन.

पौडेल, लेखनाथ. १९७१. ऋतुविचार. काठमाडौँ : नेभाप्रस.

शमसेर, पुष्कर (२००१). नेपाली सजिलो व्याकरण. काठमाडौँ : नेभाप्रस.

शमसेर, पुष्कर. सं. (?). १९९२. नेपाली कसरी शुद्ध लेख्‍ने? काठमाडौ : नेभाप्रस.

शर्मा, जनकलाल. २०६०. निर्विवाद र सौम्य व्यक्तित्वका खड्गमान मल्ल. माधवप्रसाद पोखरेल र सुमन ढकाल. सं., २०४-२१३.

शर्मा, मोहनराज (२०३५). शब्दरचना र वर्णविन्यास. काठमाडौँ : त्रिवि, पाविके.

सिंह, जयपृथ्वीबहादुर. १९६९. प्राकृत व्याकरण. काठमाडौँ : गोरखापत्र छापाखाना.

Ayton, James A. 1820. A grammar of the Nepali language. Calcutta: Philip Peraira.

Firth, J.R. 1934. The word ‘phoneme’. Papers in linguistics. 1957. London: OUP.

Turner, Ralph L. 1931. A comparative and etymological dictionary of the Nepali language. London: Kegan Paul, Trench and Trübner.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।