“Philosophy poses the question: what should we do to have the best possible lives? I am afraid we haven’t made much progress in arriving at an answer to this question.”
-Jacques Derrida (विनिर्माण सिद्धान्तका प्रवर्तक)
यसै त दार्जीलिङे साहित्यिक (=बुद्धिजीवी)-हरूको एउटा ठूलै जमातले नेपालीहरूको निम्ति प्रशासनिक र भाषिक मागहरू सरकारसमक्ष उठाउँदै आइरहेको इतिहास लामै छ| यी मागहरूको पक्षमा उक्त जमातले जनतालाई संगठित पनि पार्दै थिए|
आश्चर्यजनक ढंगमा अगमसिंह गिरी भने अविचलित रहेका थिछन्। उक्त कार्यदेखि असम्पृक्त तर पनि बेग्लै ‘गम्भीर’ कार्यमा जुटेका थिएछन् तिनी| गिरी चलन-चल्तीको वैचारिक कसरतबाट बाहिर रहेरै अर्कै ‘मुक्ति’-को कल्पना गर्दै थिएछन् भन्ने थाहा लाग्दछ जब हामी गिरीलाई हेर्ने-हेरिने प्रचलित हेराइबाट बाहिर निस्किएर छुट्टै हेराइले हेर्ने प्रयास गर्छौं|
जातिको नाममा हुँदै गरेको चल-खेलबाट असन्तुष्ट गिरी मुक्तिको प्रश्नलाई वस्तुता (OBJECTIVITY) दिने योजनाबद्ध अभियानमा जुटेका थिएछन्| वितण्डता होइन, ठोस सवालहरू उठाए, पार्थक्यहरू चिन्हित गरे अनि जातिको तात्कालिक वार्तालाई ऐतिहासिकता प्रदान गर्न एउटा महाख्यान (ग्राण्ड-न्यारातिभ) सिर्जना गरे “युद्ध र योद्धा” |
मतवादको थुनाइमा थिएनन् उनी| सृजनात्मक उड़ान छ तिनको रचनामा| तर तिनी विचलित हुँदैनन्| तिनीभित्र लेखकीय भावनाको यथेष्टता हुँदा-हुँदै समाज विकासका आर्थ-सामाजिक कड़ीहरूलाई तिनले औंल्याउन भुलेनन्| सामन्तवाद र साम्राज्यवाद जस्तै चिन्हारीहरूमाथि प्रहार गरेका छन् तिनले “युद्ध र योद्धा”- मा|
त्यसबेलाको ‘घीनलाग्दो परिवेश’-मा रहेर यस्तो सचेत अनि उन्नत मानको कुरा उठान गर्नु समयभन्दा धेरै अगाड़ि हुनु हो| थिए पनि तिनी|
जातीय मुक्तिको निम्ति ऐतिहासिकता चाहिन्छ| किनभने, ऐतिहासिक निरन्तरता (historical continuity)-ले नै समाजलाई केन्द्र (centre) प्रदान गर्दछ| केन्द्रसँगै त्यसका छेऊहरू (extremes) पनि| ती छेउहरू नै मौलिक पार्थक्य (radical differences) हुन्| किनभने पार्थक्य मौलिक छन्, त्यसैले यी पार्थक्य राजनैतिक छन्|
यसरी गिरीले तत्कालिन वर्तमानलाई तर्कसंगत (rationalization) गरेर न्यायको दृष्टिबाट मुक्तिलाई राजनैतिक बनाएका छन्| “युद्ध र योद्धा” राजनैतिक दस्तावेज बन्यो- गोर्खा जातिको मुक्तिको निम्ति| यहि “युद्ध र योद्धा” को भूमिका लेखेर इन्द्रबहादुर राईले त्यसको सार (essence)-लाई नाश गरेका रहेछन्| अझ ठीक ढंगमा भन्नु हो भने – भ्रूण हत्या! “युद्ध र योद्धा”-लाई “गिरीको दुःखवाद” (?) देखेका रहेछन राईले|
“युद्ध र योद्धा” दुःखवाद मात्रै होइन तर ‘सक्रिय दुःखवाद’ हो| यही सक्रिय दुःखवादभित्र अन्तर्निहित सक्रिय रोमान्सवाद (active romanticism)- ले पछि गएर महान् गोर्खाल्याण्ड आन्दोलनलाई वैचारिकता प्रदान गर्योा|
“भाषा-आन्दोलन”-ले जनतालाई गणतान्त्रिक कसरत गर्ने अवसर दियो, जनतालाई राजनीतिकरण गराउँदै लग्यो| जनतामा आफ्नो हक-अधिकारको निम्ति लड़्ने विभिन्न गणतान्त्रिक पद्धतिहरुको विकास हुन सक्यो| यसै अवधिमा, भाषा मान्यताको परिधिमा रहेर हुँदैन, सर्वांगीण मुक्तिकै निम्ति लड़्नुपर्छ भन्ने खालको राजनैतिक अन्तर्धारा (under-current) जनतामा प्रबल हुन थालेको थियो| तर नेतृत्वले भने जनभावनाको जोश र अन्तर्धारासँग बेपत्ता रहेर एकादमी र पुरस्कार गुठीहरुको न्यानो र सुरक्षित काखमा लुटुपुटु हुने स्वार्थी बाटो नै रोज्यो जनतालाई आफ्नै बेहालीमा छोड़ेर।
बुद्धिजीवी (=साहित्यिक)-हरूको अवसरवादी अनि सुविधाभोगी नीतिको भण्डाफोर गर्दै जनताले आफ्नो जोश, आवश्यकता र स्तर अनुसारको नेतृत्व खड़ा गरेर गोर्खाल्याण्डको आन्दोलन थाले| गोर्खाल्याण्ड आन्दोलन थियो- “भाषा आन्दोलन”- को वा त्यसको समापनको अनिवार्य परिणति|
फलत: जनताले स्थापित (परम्परागत) बुद्धिजीवी र तिनीहरुका परिचित धुपौरेहरूलाई गोर्खाल्याण्ड आन्दोलनकालताका आन्दोलित परिदृश्यमा ढिम्किनु पनि दिएन| समाजबाट पहिल्यै कटेका बुद्धिजिवीहरू आन्दोलनबाटै काटिए| कतिको ग्लानि! कतिको अहम्!
यसखाले बुद्धिजीवीहरूको सामाजिक-राजनैतिक बहिष्कार नयाँ घटना होइन सामाजिक र राजनैतिक इतिहासमा| फ्रान्सेली क्रान्तिकारी ‘सिण्डिकेलिजम’ अवधिमा त्यहाँका जनताले बुद्धिजीवीहरूलाई तिनीहरूको संगठन वा आन्दोलन प्रक्रियामा ढिम्किनै दिँदैन थिए| यो आन्दोलनका मूल सिद्धान्तकार जर्ज सोरेल-ले त बुद्धिजीवी- विरोधी सिद्धान्त नै प्रस्तुत गरेका थिए|
गोर्खाल्याण्ड आन्दोलनमा दार्जीलिङका अपदस्थ र सत्ताच्युत बुद्धिजीवीहरूको कुण्ठित जमात आफ्नै ठाउँमा निर्वासित भयो भने जनताले चाहिँ समाजदेखि कटेको तिनीहरूको साहित्यको नौका बनाएर बगाउनु थाले| सामाजिकताबाट विमुख, सृजना र प्रयोगको नाममा अन्धानुकरण वा रचिएको मनोगत, निस्सार र बेअर्थी भ्रमवाद र कुण्ठाहरूको कुन स्तिथि हुँदो रहेछ भन्ने पाठ दार्जीलिङे जनताले सबैभन्दा राम्रोसँग सिकाएको छ हामीलाई|
तर गोर्खाल्याण्ड आन्दोलनले परम्परागत बुद्धिजीवीहरूलाई निषेध र अपदस्थ गरे पनि नयाँ अनि जुझारू बुद्धिजीवी जमात जन्माउनु सकेन, जसले अगम सिंह गिरीले शुरु गरेको परम्परालाई त्यसको ठीक गन्तव्यसम्म पुर्या,उनु सकोस्| बुद्धिजीवीहरूको विरोध नितान्त बुद्धिकै विरोध हुने संस्कार बनियो| दार्जीलिङे समाजको दुर्भाग्य बन्यो यो|
तर यी अपदस्थ बुद्धिजीवीहरूले अझसम्म यो स्तिथिको निम्ति आफूलाई जिम्मेवार ठान्न चाहँदैनन्| इमानदारी छैन| यो स्तिथि आउनुको आत्मगत र वस्तुगत कारणहरू के-के हुन् भनेर मूल्यांकन नगरी गोर्खाल्याण्ड आन्दोलनका नेताहरूलाई अन्धाधुन्ध दोष्याउने मात्र गरेको देखिन्छ यी बुद्धिजीवीहरूले|
एकातिर, कमजोर सैद्धान्तिक आधार, सठीक कार्यनीति र रणनीतिको अभाव र अर्कोतिर, शक्तिशाली अनि कौशलसम्पन्न शत्रुको सामु आन्दोलनले अपेक्षाकृत लक्ष्यमा पुग्नु नसक्नु नै थियो| अन्ततः सम्झौता र समर्पणमा गएर आन्दोलन तुहियो|
गोर्खाल्याण्ड आन्दोलनले गोर्खा जाति, जातीय मुक्ति जस्तो महाख्यान (ग्राण्ड-न्याराटिभ) –लाई वहन गरेको थियो भने यो महाख्यानले दबाएका वा ओझेलमा पारेका अन्य वैशिष्ट्यहरू आन्दोलनपछि समाजमा देखा परे| ‘गोर्खा जातिको मुक्ति’- जस्तो ‘प्रभुताशाली आख्यान’ (डोमिन्याण्ट-न्याराटिभ)-लाई स्थानान्तरण गर्दै स-साना उप-जातीयताहरू ‘सूक्ष्म आख्यान’- (माइक्रो-न्याराटिभ)- को रूपमा समाजमा देखा परे| जात-जातका संगठनहरू द्रुतताको साथमा खड़ा हुनलागे| गोर्खा जातीयताको ठाउँमा यी उप-जातीयताहरूले आफूलाई प्रतिस्पर्द्धात्मक तवरले उभ्याउने कसरतहरू शुरु गरे| जाति र भाषाको ठिका लिएर बसेका बुद्धिजीवीहरू यी सूक्ष्म आख्यानहरू सामाजिक परिदृश्यमा देखा पर्न साथै झन् विलखबन्द, निरूत्तर र हतप्रभ भए| कोही लुकिछिपी जात-जातका संगठनहरूमा लागे भने कोही खुलेआम त्यसको प्रवक्ता भए| अनि, कति चाहिँ “ओल्ड ह्याबिट डाइज हार्ड” भनेझैँ गोर्खाल्याण्ड र गोर्खा जाति नाम जपिरहे| तर त्यो पनि कुनै कटिबद्धता, प्रतिबद्धता र इमानदारीबिना|
यहाँ के कुरा स्पष्टसँग बुझ्नुपर्ने छ भने इतिहासको कुनै निश्चित चरणमा जाति, अझ सठीक भन्ने हो भने, राष्ट्र (नेशन्स)-हरू बनिन्छन अनि “भत्किन्छन्”| यसरी नै गोर्खा जाति पनि बनिनु पुग्यो| र अहिलेको स्थितिमा यो बनिने प्रकिया नयाँ ढंगले अभिव्यक्त हुन खोजेको देखिन्छ| यसलाई हाम्रा साहित्यिकहरुले ‘भत्केको’ संज्ञा दिएर बिस्मात् मानेको देखिन्छ| तर यो त ऐतिहासिक यथार्थ हो, यो साँचो हो कि राजनीतिले यो यथार्थलाई आवश्यकता अनुरूप दोहन गर्ने गर्दछ| यही भइरहेको पनि छ अहिले|
हुनु पनि गोर्खा जाति, समाज-शास्त्रीय भाषामा भन्ने हो भने, साँच्चै जाति नै हो के त भन्ने शंका पनि जायज नै ठहर्छ| के यो जातिका घटक सम्प्रदाय र “जात”-हरूले समानताको आधारमा गोर्खा जातीयताभित्र मौलाउने, फस्टाउने अवसर पाएका छन् त? आखिर गोर्खा जातिको भाषा, संस्कार र संस्कृति मूलतः आफैले उच्च ठान्ने छेत्री-बाहुनहरूकै भाषा, संस्कार र संस्कृति नै त होइन र? तामाङ, राई, लिम्बू, गुरुङ, मगर, थारुहरू जस्ता समृद्ध अनि उदार जातिहरू भाषा, संस्कार र संस्कृति गोर्खा-जातिको एकताको नाममा जहिले पनि दबिएका छैनन् र? गोर्खा जातिको यो एकता आंगिक (organic) नभएर यान्त्रिक (mechanical) मात्रै त होइन?
यो कथित जातीय एकता सुरक्षाको दृष्टिले गर्दा हुनु गएको सामाजिक-राजनैतिक आवश्यकता नै हो कि यो ऐतिहासिक अनिवार्यता वा स्वतः स्फूर्तता हो? यी प्रश्नहरू हाम्रा साहित्यिक बुद्धिजीवीहरुले न उठाउँछन्, न नै यसलाई हाक्की जनतामाझ बहस गर्ने साहस राख्दछन्| बरु अगम सिंह गिरीले जातिको कुरा उठाएता त्यो उठाउने हतारमा उनले जातिभित्रको विद्यमान वर्गीकरणलाई भुलेका छैनन् भन्ने कुरा उनको कविता “मोहब्बत गल्ली”-लाई विचार्दा थाहा हुन्छ| “तामाङ-कुल्ली” त त्यहाँ नेपाली जातिभित्र दबिएका थुप्रै जन-जातिहरूको साझा (common) प्रतिनिधि मात्रै होइन र? सम्भवतः गिरीले यसरी सूक्ष्म आख्यानहरू पनि चिन्हित गरिदिन्थे कि हाम्रो लागि?
आज विसंगतिहरू धेरै छन् समाजमा| पिउने पनि छैन, राम्रो अस्पताल छैन, राम्रो स्कूल छैन, ढुक्कै बसेर गफ गर्ने ठाउँ छैन, राम्रो तर सस्तो डम्म अघाउने रेस्टुराँ छैन, खेल्ने मैदान छैन, आदर्श र नैतिकताको मान छैन, अध्ययन-चिन्तनको संस्कार छैन... छैनहरू थुप्रै-थुप्रै-थुप्रै छन्, ‘छ’- हरू पटक्कै छैनन्| यस्तो त छ दार्जीलिङ, तब साहित्य कहाँ राम्रो हुन्छ? गतिशील दर्पण त हो समाजको साहित्य| साहित्य र कलामा स्वाङ छ| जाबो बिरालोको चित्र कोर्नु नसक्नेहरू दार्जीलिङमा ‘एब्स्ट्रयाक्ट आर्ट’ गरेर ख्याति आर्जन गर्छन्| कुण्ठा बोकेकाहरूले कुण्ठा संक्रमण गराउनु संक्रमण-साहित्य शुरु र अन्त दुवै एकैचोटि गर्छन्| लीला शब्दको भ्रामक खोलाभित्र क्वान्टम मेक्यानिक्स, टेन्सर्स, अन्सर्टेण्टी प्रिन्सिपल, बौद्ध दर्शन, उत्तर- आधुनिकता र विनिर्माणका आम र सामान्य स्तरका ‘ज्ञान’ (जानकारी) बटुलेर ठूल-ठूला कुराहरू हाँक्छन् दार्जीलिङका वरिष्ठ साहित्यकारहरू, धुपौरेहरू| सानो कुरा गर्ने कोही छैनन्, सबैको मुखमा खाली फ्वाँक देखिन्छ|
मार्का (brand)-हरू छन् साहित्यमा– साई-मार्का, सतपाल-मार्का, निरंकारी-मार्का, बहाई-मार्का| बुद्धिको कुरा गर्नेहरू भेटिन्छन्, तत्त्वको कुरा गर्नेहरु भेटिन्छन् तर मान्छेकै कुरा गर्नेहरू भने भेटिँदैनन् दार्जीलिङको वैचारिक जगतमा।
अन्यान्य मुलुकतिर उत्तर आधुनिकताको देखासिकी गरेपछि ‘गे’, ‘लेस्बियन’, नारी अधिकार, बाल श्रम, श्रम अधिकार, जन-जातिहरूको अधिकार जस्ता मिहिन र मसिना आख्यानहरूको कुरा गर्दछन् त्यहाँका साहित्यिक र बुद्धिजिवीहरू तर दार्जीलिङ भने विडम्बनाले भरिएको छ। यहाँका साहित्यकारहरू, बुद्धिजीवीहरू भने उत्तर आधुनिकताको देखासिकी गरेपछि उठाउँछन् लीलाको नाममा भ्रमहरू, मिथ्याहरू, छलहरू, कपटहरू, बित्थाहरू र सबभन्दा धेर ढोङहरू|
एउटा समाजमा आरपी लामाहरू जस्ता संस्कृति विशेषज्ञहरू, हर्कबहादुर छेत्रीहरू जस्ता वैचारिक अनुशासनविहीन बुद्धिजीवीहरु र इन्द्रबहादुर राईहरू जस्ता दार्शनिक-विचारकहरू हुन्छन् भने, नेताहरू सुवास घिसिङहरू जस्ता नै त हुनेछन्| प्रतिभाहरुको धनी हो दार्जीलिङ निःसन्देह| उम्दा र नवजात साहित्यिक-कलाकारहरुले के बुझ्नु पर्योन भने कुनै पनि समाजमा धेरै समयसम्म एउटै मात्र ‘प्रभुताशाली आख्यान’ (डोमिन्याण्ट-न्याराटिभ), जस्तै गोर्खा जाति, गोर्खाल्याण्ड हावी रहिरह्यो भने त्यो समाज अघि बढ़्न सक्तैन| हाम्रै छिमेकी बंगाली जातीयता यसको प्रत्यक्ष उदाहरण हो| यसैले हामीले अन्य सूक्ष्म चिन्हारी (identity)-हरू बारे कुरा उठान गर्न सक्नु पर्योस|
अगम सिंहले आफ्नो समयमा जातीय चिन्हारीको कुरा उठाए आफ्ना रचनामा| हामीले नयाँ चिन्हारीहरू उठाउनु सक्नुपर्योए हाम्रो रचनामा, हाम्रो समयमा| गिरीकै आख्यानमा गुजुल्टिएर बस्नु मिल्दैन अब| अहिले समाजमा सक्रिय जात-जातका चिन्हारीहरूलाई तर्कसंगत गरेर त्यसलाई निर्वाह गर्नु सक्ने वैचारिक कौशलहरु हामीले हासिल गर्नु पर्यो-| अनि यसैसँग महिला अधिकार, बाल अधिकार, मानव अधिकार, यौन अधिकार जस्ता आख्यानहरु हाम्रो सामाजिक परिपाटीमा रचनात्मक ढंगमा उठाउनु सक्नु पर्योक हाम्रा उम्दा साहित्यकारहरूले| (उठाउनै पर्छ भनेको होइन, यिनीहरू पनि सम्भावना-आवश्यकताहरू हुनु सक्छन् भनेको मात्रै हो)।
यी चिन्हारीहरू समाजमा आए वास्तवमा नै अन्तरक्रिया सम्भव हुनेछ| यी अन्तरक्रिया ठोस र एकैसाथ तरल बन्नसक्नेछन् तब नै| त्यसो भए ती आख्यान-चिन्हारीहरूले खेल्ने, फस्टिने मौका पाउनेछन्| सम्बन्धित चिन्हारीहरूले आफूलाई जाहेर गर्न ‘एजेन्सी’ (तर एनजीओ होइन)-हरू बनाँउछन्| थुप्रै ‘एजेन्सी’-हरूको खुल्ला अन्तरक्रियाले समाजको प्रजातन्त्रीकरण सम्भव हुनेछ, स्वस्थ नागरिक समाज (civil society)- को निर्माण हुनेछ र यही नागरिक समाजभित्र बुद्धिजीवीहरुले सृजना गर्नेछन् निरन्तर नितान्त मान्छेलाई काम लाग्ने कुराहरू| हामी मुक्तिको नजिक पुग्नेछौं, त्यो मुक्तिको, जसको कल्पना अगम सिंह गिरीले गरेका थिए|
७०-को दशकपछि दार्जीलिङमा रचनाको खड़ेरी परेको छ भन्दा अतियोक्ति नहोला| ३० वर्षको लामो र गहिरो खाड़ल छ हाम्रो साहित्यमा, हाम्रो वैचारिक जगतमा| हाम्रो साहित्यले हामीलाई त्यस अवधिमा गान्धीका तीन असामाजिक बाँदर मात्र बनाएर छाडे| बित्थाहरूमा बिताएको यो समय हाम्रो साहित्यको ‘होलोकास्ट’ (पूर्णाहुति, महासंहार, विध्वंस –स॰) साबित भएको छ|
अब अगमसिंहबाट सैद्धान्तिक रूपमा केही सिक्नुछैन होला तर उनको निष्ठा, एकचित्तता, वैचारिक एकरूपता, आत्मविश्वास, लगन, इमानदारी अनि ‘प्याशन’ र ‘स्पिरिट’ हामीले सिक्नुसक्छौँ| यसरी हामी अगमसिंहसँग जोड़िन पुग्नेछौँ| वर्षमा एक दिन गिरीको तस्वीरअघि धुप घुमाएर, दियो बालेर, शंख फुकेर गिरीको अपमानै मात्र त गरिरहेका छौँ| यसो गर्नु सजिलो चाहिँ छ| तर गिरीसित वास्तवमा नै जोड़िने काम भने क्रान्तिकारी छ| यसको निम्ति वैचारिक तैयारी चाहिन्छ| अध्यन र पर्यवेक्षणलाई गहिरो अनि प्रगाढ़ बनाउनु पर्नेछ| विद्यमान वैचारिक जेलखानालई तोड़्नु पर्नेछ| नत्र यो (जातीय?) मुक्ति-को आकाँक्षाको सयवर्षे इतिहासले अझ सय वर्ष नाघ्ला|