17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जनकपुर-जयनगर रेल र जापानी मेट्रो

नियात्रा डा. बद्री पोख्रेल March 30, 2008, 5:03 am

फू बसेको होटेलको बुइल्डिङ र आफूले टेकेर हिँडेको भुइँभन्दा तल मुसाले जताततै प्वाल पारेझैं गरेर मेट्रो रेलका गन्तव्यहरू यता र उतातिर तर्ेर्सिएका छन् । कतै ग्रीन, कतै रेड, कतै एलो र कतै ब्राउन कलरका चिन्हहरूले भुइँका कुना कुना रङ्गिएका छन् । छिया छिया परेका भुइँभित्र आफ्नै संसार छ, लाग्छ त्यो छुट्टै र अचम्मको दुनियाँ हो । लगभग चौबीसै घण्टा उत्तिकै व्यस्त लाखौँ मान्छेहरूको ओहरदोहर, रेल आउने र जाने क्रममा देखिएको निरन्तरता, निश्चितता र प्रभावकारिताकै अर्काे नाम हो । टोकियोको मेट्रो सेवा र सिष्टम ।

मैले पनि जापानको मेट्रो सेवा लिने उद्देश्यले होटलको रिसेप्सनमा गएर मेट्रो म्याप र टोकियोको म्याप मागंेँ । लबीमा गएर दुवै म्याप पल्टाएँ । अङ्ग्रेजीमा लेखे पनि जापानी नाम उच्चारण गर्न र सम्झन भने मलाई निकै असजिलो भयो । म बसेको होटल अनाबाट मेट्रो रेल्वेस्टेसन २ मिनेट पनि लाग्दैनथ्यो । होटलबाट भुइँ तलामा पनि झर्नु पर्दैनथ्यो । त्यो भन्दा माथिबाटै बाहिर निस्केर सपिङ मल हुँदै इलेक्ट्रोनिक भर्‍याङको माध्यमबाट बाहिर निस्किएँ । गिज्जा लाइनको मेट्रो स्टेसन त्यही रहेछ । भित्र पसेँ ।

अरु केही देशमा देखेको भन्दा नितान्त भिन्न लाग्यो । स्टेसनभित्रको सब-वे, रेल्वे सूचना डेस्क र रेल्वे कनेक्सन प्रणाली, सिम्बासी स्टेसनसम्मको टिकट लिने विचार गरेँ । आफूसँग ५०० येनको सिक्का थियो । त्यसैलाई मेसिनमा हालिदिएँ र नम्बर हानंेँ । लाग्ने १६० येनको टिकट र बाँकी पैसा ३४० येन मेसिनले फिर्ता दियो । लिएँ र गन्तव्यतिर जान खोजेँ । ठाउँ ठाउँमा सुरक्षा गार्ड जस्ता देखिने युनिर्फम लगाएर कसको लागि सेवा गर्न पाइएला भने जस्तो गरी अत्यन्त शालीन, अत्यन्त उत्साही र हँसिलो मुख लगाएर उभिएका व्यक्तिहरू देखिन्थे तर ती मध्ये भाषाको कारणले हामीलाई मद्दत गर्न भने बडो समस्या थियो उनीहरूलाई । तथापि मैले किनेको टिकट देखाइदिएँ । देख्ने बित्तिकै मैले जानु पर्ने लेन देखाइदिन्थे । यो मेरो टोकियो बसाइँको लगभग दैनिकी नै थियो ।

रेल चढ्न प्रतीक्षा गर्नेहरू प्रशस्तै हुन्थे । लगभग हरेक २ मिनेटभित्रमा रेल आइसक्थ्यो । स्टेसनमा आएर यता र उताबाट आउनेमध्ये मलाई जानु पर्ने डेस्टिनेसन पत्ता लगाउने बित्तिकै सबै समस्या समाधान भई हाल्थ्यो तर शुरुमा डेस्टिनेसन पत्ता लगाउन हम्मे पर्‍यो । त्यो समस्याबाट पार पाउन मैले हरेक २ मिनेटमा आउने २ वटा रेल छोडिदिएँ र दायाँ बाँया हर्ेन थालेँ । करिब ६/७ मिटर पर भित्तामा नक्सा रेलको रङ्ग र त्यो रेलले पुर्‍याउने स्टेसनहरूको नाम लेखिदिएको रहेछ । त्यो नक्सा र जानकारी नै मेरो लागि गुरु शिक्षा बन्यो । त्यसबेलाको लागि मात्र नभएर अरु दिनको लागि, अरु ठाउँको लागि र अरु देशको लागि पनि त्यो गुरु शिक्षा नै बन्यो ।

करिव ५ मिनेटपछि म पनि रेल चढेँ । चढ्ने बित्तिकै गेट बन्द भयो । रेलले तुफान गति लियो । जापानी रेल छिटा हुन्छन् र बुलेट रेल पनि जापानमै चढ्न पाइन्छ भन्ने सुनेको थिएँ । त्यो सुनाइले मलाई रेलको गतिले त्यति धेरै नौलोपन दिएन । मेरो देशमा मेट्रो रेलको कल्पनै नभएको भए पनि जापानी मेट्रो रेल देख्दा म पुलकित भएँ र पनि माइण्ड मेकअप भइसकेकाले होला, आर्श्चर्य लागेन ।
रेल्वे स्टेसनमा उभिँदा उभिँदै म विभिन्न कल्पनामा डुब्न थालेँ । मानसिक तरङ्ग मैले अमेरिकामा चढेको मेट्रो रेलसम्म पुग्यो र दिल्लीमा गत वर्षेखि मात्र सञ्चालनमा आएको रेलसम्म फैलियो । अनि जनकपुर जयनगर रेलमा झुण्डिएर जयनगरमा बबी सिनेमा हर्ेन गएको याद आयो ।

विदेशी उपनिवेशबाट जापानले र राणा एकतन्त्रीय शासनबाट नेपालले लगभग उस्तै प्रकृतिबाट स्वतन्त्रता पाएका थिए । सधैँजसो भुइँचालो आइरहने र कैयौँ पटकका भुइँचालाले अर्बाैं डलरका भौतिक संरचना र मानवीय विनासको दर्द भोग्न बाध्य भएको जापानको भौतिक प्रगति देख्दा आर्श्चर्य नलाग्ने कुरै हुँदैन । त्यसमाथि, दोस्रो विश्व युद्धमा हिरोसिमा र नागासाकीमा खसालिएका लिटिलब्वाय र फ्याटम्यानका करामतले कति वर्षसम्म मरुभूमिको रूपमा रहन बाध्य भएका ती जापानका सहरहरूको वर्तमान विकास सुन्दा मरुभूमिको कल्पना सम्म पनि हुँदैन ।

मेरो कल्पना जापानमै हिँडेको एउटा बिहानको घटनासँग तरङ्गति हुन पुग्दछ । म र एक जना चिनिया भित्र मर्निङ वाक गर्दै थियौँ । बिहानै भएकाले बाटोमा त्यति धेरै भीडभाड र घुइचो थिएन बरु चकमन्न र सुनसान थियो । फेरि हामी हिँडेको बाटो मेन रोड पनि नभएकाले होला गाडीका आवाज पनि निकै कम सुनिन्थ्यो । प्रायः अधबंैसे युवा युवती जोडी एउटा कुकुर लिएर हिँडेका देखिन्थे । नेपालमा कहिले काहीं बिहान चाबेलबाट पशुपति, गुहृयेश्वरी जाने अभ्यासले गर्दा मर्निङवाकमा कुकुर लिएर हिँड्नेहरूको बढ्दो सङ्ख्या र दृश्यले जापानमा देखेको दृश्य सामान्य अनुभव हुन्थ्यो ।

त्यति सम्म ठिकै थियो । तर कुकुरले बाटोमा गरेको दिसा ककुर मालिकले प्लास्टिकमा राखेर लिएर हिँडेको दृश्यले भने मलाई आर्श्चर्यान्वित बनाएको थियो । मलाई याद छ- कुकुरलाई दिसा पिसाब गराउन नेपालमा पनि बाहिर लगिन्छ, तर प्लाष्टिक बोकेर त्यसमा दिसा पिसाब गराएको देख्न पाएको छैन, त्यो दृश्य मैले त्यहीं देखेँ । जापानी मेट्रो रेलको नजिकैको लबीमा एकैछिन उभिँदा मेरो मनमा तरङ्गति भएका यस्ता घटनाहरूले म खुसी र पीडाको दोधारमा परेँ । खुसी यस अर्थमा कि मानवीय प्रगतिको एउटा दृष्टान्त देख्न पाएँ भन्ने र बेखुसी यस अर्थमा कि विश्वका झण्डै २०० देशमा नेपाल र जापान दुवै पर्ने भए पनि जापानको प्रगति र उन्नतिको अगाडि नेपालको अवस्था हुम्ला, जुम्ला र काठमाडौँको जस्तो पार्थक्य र विभेद देख्नु पर्दा । त्यसपछि सिम्वासी जाने रेल चढेँ ।

रेलभित्र चढ्ने बित्तिकै गेट बन्द भयो । रेल हुइँकियो । यात्रुहरू आधी जापानी र आधा विदेशी जस्तो लाग्यो । जापानीहरूलाई अङ्ग्रेजी बोल्न अप्ठेरो रहेछ । त्यसैले सोध्ने कुरै भएन । विदेशीहरू उनीहरू आफंै विदेशी भएकाले सोध्ने कुरा व्यावहारिक लागेन । गेटको ठिक माथितिर नक्सा, गन्तव्य स्टेशनका नाम र तुरुन्त आउने -रेल रोकिने) स्टेसनको बारे माइकबाट सूचना सम्प्रेषण हुँदो रहेछ । जसले गर्दा म जस्ता नौला र पहिलो पटक यात्रा गर्नेहरूका लािग पनि कुनै असजिलो अनुभव भएन ।

मेरो गन्तव्यमा गएर रेलबाट बाहिर निस्केँ र नक्सा, इलेक्ट्रोनिक भर्‍याङ हुँदै इनर ट्राकमा पुगेँ । मैले यात्रा गरेको रेलको टिकट छिराएँ, त्यसपछि आग्लो उघ्रियो र म बाहिर निस्केँ । कसैले विना टिकट वा कम टिकटमा यात्रा गर्ला भन्ने आशङ्का कतै छैन । प्रणालीले व्यवस्थित गरेको हुँदा पुलिसको आवश्यकता थिएन । चारैतिर लेखिएका, टाँगिएका र टाँसिएका चित्र, सूचना र जानकारी मूलक सङ्केतहरूले जस्तो सुकै नौलो भए पनि आफैले बाटो पहिल्याउन सकिने मेट्रो रेल्वे प्रणाली निकै नै प्रशंसायोग्य र सरल लाग्यो ।

एक करोड ३० लाख जनसङ्ख्या भएको टोकियो सहर, आफ्नै हितायी, मित्सुबिसी, पजेरो जस्ता वाहनले सजिसजाउ भएको देखिन्छ । बाटोमा सडक जाम हुने सम्भावना भए पनि व्यवहारमा त्यो समस्या कमै भोग्नु पर्‍यो । सहर र चोकहरूमा त फ्लाइ ओभर, डबल ट्राक जस्ता विकल्पहरूले सडक जाम हुने सम्भावनालाई निकै न्यून बनाएको देखियो । यस्तै दृश्य, अनुभव र यथार्थ बोकेर पुनः मेट्रो रेलकै सहायताबाट म मेरो होटल अना आइपुगेँ । अनि नेपालको यातायात र जापानको यातायात सुविधाकाबारे घोत्लिँदै थिएँ, भुसुक्क निदाएछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।