17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली डायस्पोरिक साहित्यमा बेलायत

विचार डा. रुपक श्रेष्ठ, गोपीकृष्ण प्रसाई November 10, 2013, 5:38 am

१. डायस्पोरा एक परिचय

अक्सफोर्ड अंग्रेजी शब्दकोशका अनुसार 'डायस्पोरा' ग्रिसेली भाषाबाट अंग्रेजी हुँदै उद्भव भएको शब्द हो र यसको शाब्दिक अर्थ 'देश बाहिर' भन्ने हुन्छ / यस शब्द यहुदीहरुको आफ्नो मुलुकबाट भएको निर्वासनको सन्दर्भमा उत्पत्ति भएको पाईन्छ / आफ्नोभूमी प्यालेस्टाईनबाट यहुदीहरुलाई ई. पू. ५८६ देखि ५३८ सम्मको चालिस बर्षको अबधिमा बेबोलोनियामा गरिएको निर्वासन अबधि नै डायस्पोरा शब्दसंग जोडिएर आउने ऐतिहासिक पृष्ठभूमी हो / आफ्नो मातृभूमिबाट छरिने क्रममा उनीहरु पोल्याण्ड, रसिया, स्पेन, जर्मनी, फ्रान्स, यू एस ए लगायतका मुलुकहरुमा बस्न पुगे /

डायस्पोरा निर्माण क्रममा बेबिलोनियन, आर्मेनियस, अफ्रिकन, आईरिस, प्यालेस्टाईन डायस्पोराहरु प्रारम्भिक अवस्थाका पिडित डायस्पोराका रुपमा देखा परेका छन भने चिनिया, जापानिज, ईटालियन, उत्तर अफ्रिकीहरू जो श्रमीकको रुपमा करारबद्द भएर निस्केकाहरु प्रोलेटरियन डायस्पोरामा दरिए भने स्पेन, रुस, पोर्चुगल आदि देशहरुबाट उपनिबेषित डायस्पोराका रुपमा परिचित भए/ बन्द व्यापारको शिलशिलामा मुलुक बाहिर रमाएका लेबानिज, चाईनिज, भारतीय र जापानिजहरुको आ-आफ्नै डायस्पोरा निर्माण भयो भने अन्य क्यारेबियन, सिन्ध, फारसी, लगायतका डायस्पोराहरु पनि आफ्नो अस्तित्वको फरक पहिचान सहित निर्माण भए /कुनै पनि देशबाट गृहयुद्द, अबसरको खोजी, सुखी जीवनको अभिलाषा जस्ता कारणहरुले मानिसहरु परदेशिन्छन / बिशेषगरि विकासोन्मुख मुलुकहरु बाट बिकसित मुलुकहरु मा यिनै कारणहरुले पलायन हुने क्रम बढ्दो छ / यसरी अनेक प्रकारका प्रबास जस्तै देश निस्कासित, निर्वासित, राजनैतिक शरणार्थी, बिदेशी बसाईं सरुवा, ईत्यादीले डायस्पोराको निर्माण गरेको पाईन्छ /

बिदेश बसाईको शिलशिला स्वदेशमा जस्तो एक नासको नभई भिन्नभिन्न परिस्थितीहरुबाट पार गर्नु बाध्य हुन्छ र यी बिभिन्न चरणमा सृजित साहित्यहरुले त्यहि खालको विषयबस्तुको प्रतिबिम्ब दिने गर्छ / डायस्पोरिक साहित्यको विश्लेषण गर्दै समालोचकहरुले डायस्पोरिक साहित्यलाई विभिन्न चरणहरुमा विभाजन गरेका छन् / भिन्न चरणहरुमा हुने भिन्न भोगाई अनुसार नै भिन्न साहित्यको सृजना हुन आईपुग्छ / बिदेशमा पस्दादेखी स्थायी रुपमा बस्न खोज्ने क्रममा उसको व्यक्तिगत, पारिवारिक र सामाजिक जिबनमा गर्नुपर्ने कर्तव्यहरू सहित जन्म देशको मोहमा बल्झिन्छ र लेखनमा पनि कर्म भूमी र जन्म भूमीका आ-आफ्ना कर्तब्य बोधको संघारमा उभिएर उसले साहित्य सृजना गर्छ / डायस्पोरिक साहित्यमा आफ्ना संस्कृति, परम्परा र देशलाई चिनाउन सहज अवस्था आईसकेपछी स्थायित्वको फरक अनुभूति गर्न सकिन्छ र स्थायी आवास र कामको निश्चितता लगायतका कुराहरुले भावी योजना र चिन्तन पनि सोहि अनुसार साहित्यमा व्यक्त हुन्छन / अर्कातिर शरणार्थी भएको अबस्था, कामको निश्चितता नभएको अबस्था, आफ्नो स्पष्ट परिचय बनाईनसकेको अबस्था, काममा पाईंने अनेक ठक्कर र स्वदेशको सम्झना, परिवारको सम्झना, घरदेशको राजनैतिक, आर्थिक र सामाजिक परिस्थितिको पिरलो, यस्तै अनेकौं अनिश्चित चिन्ता र छटपटीबाट सृजित डायस्पोरिक साहित्यमा यिनै परिस्थितिहरु प्रतिबिम्बित हुन्छन /

१.२ नेपाली डायस्पोराहरु

प्रथमत: डायस्पोरिक हुने शिलशिलामा दक्षिण एशियाबाटै नेपालीहरुको यात्रा शुरु हुन्छ / भारतको सिक्किम, दार्जिलिंग, आसाम, लाहोरतिर लामो समयसम्म काम र बसोबास गर्दै लाहुरेको संज्ञा पाएको; अनि लाहुरे भएर ब्रिटिश अधिनस्थ ईन्डियाको सेनामा भर्ना भएपछी देहरादून लगायत बर्मा देखि भुटानसम्म गएर सपरिवार बस्न सुरु गरेपछि नेपाली भोगाईहरुमा डायास्पोरिक साहित्यले जरो गाडेको पाईन्छ / यस्तै गरि भुटानबाट नेपाली मुलका बासिन्दाहरु लखेटिएर नेपालका पूर्बी भूभागमा बसोबास गर्नु र डायास्पोरिक हुनु अनि फेरी तिनै भुटानी शरणार्थीहरु यूरोप, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकहरुमा स्थायी बसोबासको लागि लगिनुले नेपालको डायस्पोरा अझ फराकिलो भएको छ/ मध्यपूर्वमा नेपालीहरु अस्थायी रुपमा कामको खोजीमा गएपनि लामो समयसम्म परिवारसंग सम्पर्क बिच्छेद भई ति मुलुकहरुमा उत्त्पन्न परिस्थितिहरुले डायस्पोरिक भोगाईहरुलाई जिबन्तता दिन्छ / नेपाली डायस्पोरा निर्माणको वर्तमान सन्दर्भमा अमेरिकी-नेपाली समालोचक होम नाथ सुबेदीका अनुसार परम्परागत यहुदीहरुको आफ्नो भूमी बाट निर्वासन भएको अबस्थालाई आधार मान्ने कुरा एक ठाउँमा छ भने अहिलेको उत्तरआधुनिक दुनियामा ठूलो संख्यामा संसारैभरि बसाई सराईको लहर बढेको अबस्था काम र दामको प्रसंगमा सृजीत कारुणिक अवस्था एकातिर छ भने बिदेशमा पनि नेपाली सुसंस्कारले बनाएको नेपाली सुन्दर पहिचान अर्कातिर छ/ यसले गर्दा डायस्पोराको निर्माण र परिस्थिति बर्तमान समयमा फरक भैसकेको छ /

सन् १९६० पछी यूरोपका बिभिन्न देशहरुमा अध्ययन, काम, शरणार्थीको रुपमा नेपाली समुदायको देखा पर्छ/ डि भी चिठ्ठाको माध्यमले तथा अरु बिभिन्न माध्यमले अमेरिकामा पुगेर अमेरिकी-नेपाली डायस्पोराको निर्माण भएको छ / अमेरिकी-नेपाली डायस्पोरिक श्रस्टाहरुबाट सृजीत साहित्यले बिगत आधा दशकदेखि अग्रगति लिएको पाईन्छ / त्यस्तै गरि यूरोप, अष्ट्रेलिया, हंगकंग, ब्रुनाई, मध्यपूर्वका बिभिन्न मुलुकहरुमा विभिन्न कारणले रहेका नेपालीहरुले आफ्नो भाषा र साहित्यको जगेर्ना गर्न लागि परेका पाईन्छन / मध्यपूर्वका धेरै मुलुकहरुमा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुले जन्माएका साहित्यहरु पनि नेपाली डायस्पोरा फैलाउने शक्तिहरु हुन /

१.३ बेलायती-नेपाली डायस्पोरा

बेलायतमा नेपालीहरु १९७० को दशकदेखि फाट्टफुट्ट कामको शिलशिलामा आएता पनि १९९० को दशकबाट बिध्यार्थीहरु, राजनैतिक शरणार्थीहरु, र सन् २००० पछी बेलायती सरकारले भू पू ब्रिटिश गोर्खाहरु र तिनका परिवारहरुलाई आवासको लागी अनुमति दिएपछि उनीहरुको बसाईंसराईले बेलायतमा नेपाली डायस्पोरा फैलिएको पाईन्छ/ त्यस्तै गरि ब्रिटिश सरकारले भू पू गोर्खा सैनिक र तिनका परिवारलाई हंगकंगमा बसोबासको लागि अनुमति दिएपछि हंगकंग-नेपाली डायस्पोरा बनेको र त्यहि डायस्पोराबाट पनि बेलायतमा आउने अवसर पाएका प्राय हंगकंगका नेपालीहरु पनि बेलायतमा बसाई सरेपछि बेलायतमा नेपाली डायस्पोरा अझ फैलिएको छ र नेपाली डायस्पोरिक साहित्यमा पनि थप उर्जा आएको प्रत्यक्ष देखिन्छ /

झन्डै एक लाखको संख्यामा बेलायतको बिभिन्न ठाउंहरुमा छरिएर रहेका नेपालीहरुको आ-आफ्नै जातीय, क्षेत्रीय, पेशागत, राजनैतिक आस्थाका आधारमा संघ संस्थाहरुमा आबद्द छन् / दशैं, तिहार, म्ह पूहा, योमरि पुन्ही, ईही, सामुहिक ब्रतबन्ध, तिज, क्रिसमस, जनै पूर्णिमा, कृष्णाष्टमी, बुद्ध जयन्ति, राम नवमी, शिवरात्री, ल्होसार, साकेला (उन्ध्यौली, उंभौली), माघे सक्रान्ती, नेपाली नयाँ बर्ष, अंग्रेजी नयाँ बर्षमा बिभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाउनुका साथै ग्रिष्म ऋतुभरि यहाँको मौसम घमाईलो र करिब १८ घण्टा लामो दिन हुने भएकोले त्यस रमाईलो मौसममा बार्बिक्यू गर्ने , मेला तथा खेलकुदको आयोजना गरि बेलायती डायस्पोरामा नेपाली पहिचान बनाउंदै गएको अबस्था छ / यहाँका नेपालीहरु र जिबिकाका लागी ब्यापार, ब्यबसाय, जागिर मा लागेका पाईन्छन /

बेलायती-नेपाली डायस्पोरालाई साहित्यमा प्रतिबिम्बित गर्न लागिपरेका संस्थाहरुमा मा अनेसास (स्था: सन् २००४) बाहेक नेपाली साहित्य बिकास परिषद (स्था: सन् १९९५) , नेपाली प्रतिभा प्रतिष्ठान (स्था: सन् २००७) , प्रबासी नेपाली साहित्य समाज (स्था: सन् २००१) , र बिश्व नेपाली साहित्य महासंघ (स्था: सन् २०१०), साहित्यघर.कम (स्था: सन् २००७), साहित्यसंगालो.कम (स्था: सन् २०१०) ले पनि बेलायती-नेपाली डायस्पोरामा आ-आफ्नै ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गरिराखेका छन् / यी साहित्यिक संस्थाहरु बाहेक बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु नेपाली संदेश, नेपाली पत्र , तथा सगरमाथा टाईम्सले पनि नेपाली भाषा, संस्कृती र साहित्यलाई आ-आफ्ना ठाउँबाट उजागर गरिराखेका छन् बेलायती माटोमा /

२. डायस्पोरिक साहित्यको परिभाषा

केहि समालोचकहरूका अनुसार गैह्रआवासीय साहित्य सृजना नै डायस्पोरिक साहित्य हो भन्ने देखिन्छ भने अर्कातिर लामो समयसम्म बिदेशी भूमीमा बसोबास गरि त्यहिंको भोगाईलाई समेटेर लेखिने साहित्यलाई डायस्पोरिक भनि ब्याख्या गर्दै आएको देखिन्छ भने आफ्नो मातृभूमि कल्पेर नोष्टाल्जिकभावबाट सृजित साहित्यलाई पनि डायस्पोरिक साहित्य भनेर मानेको पाईन्छ /नेत्र एटमका अनुसार डायस्पोरामा बाँच्ने मान्छेको यथार्थ भूमी मात्र नभई मानसिकता पनि विभाजित हुन्छ / उसको दिमागमा परिचय संकट मडारिरहेको पाईन्छ किनभने ईछित भूमीलाई उसले आफ्नो ठान्न सक्दैन भने पुर्ख्यौली छोडीसकेको हुन्छ र यसबाट उसलाई बेला बेला मातृद्रोहको गल्ति बोध पनि हुन्छ र स्थापित हुन खोजेकै भूमिमा संघर्ष गर्दाका अनुभूतिहरुबाट डायस्पोरिक साहित्यको जन्म हुन्छ / डायस्पोरिक अध्ययनको शिलशिलामा डा. गोबिन्द राज भट्टराई, डा. खगेन्द्र प्रसाद लुइंटेल, नेत्र एटम, होम नाथ सुबेदी एबम श्रष्टा र डिजिटल बार्तामा कृष्ण बजगाईंले सम्पादन गर्नुभएको लेखहरुले नेपाली डायस्पोरिक साहित्यको उठान गर्ने प्रयत्न गरिएको पाईन्छ / यि व्याख्याहरु ईतिहासको कुनै कालखण्डमा सहि भएता पनि अहिलेको उत्तरआधुनिक समयमा डायस्पोरिक साहित्यको पूर्ण व्याख्या गर्न सकेको देखिदैन / अहिलेको यस उत्तरआधुनिक समयमा आएर बिश्वग्रामको परिकल्पनाका साथमा बिश्वमा मानिसहरु अस्थाई वा स्थायी बसोबासको लागि बिभिन्न कारणहरुले छरिएर आ-आफ्नै डायस्पोराहरुको सिर्जना गरिरहेका छन् र यस नयाँ परिबेशले डायस्पोरिक साहित्यमा पनि नया मोड आएको प्रष्ट हुन्छ / यसर्थ डायस्पोरा शब्द र डायस्पोरिक साहित्यले फराकिलो क्षेत्र ओगटिसकेको हुँदा साहित्यको यस धारलाई पनि फराकिलो दृष्टिकोणबाट हेर्न आबस्यक देखिन्छ / अहिलेको यस उत्तर आधुनिक समयको सन्दर्भमा डायस्पोराको परिभाषा गर्दा कुनै पनि कारणले प्रबासमा अस्थाई वा स्थायी बसोबास गर्दा प्राप्त भएका अनुभव र ज्ञानबाट त्यहि प्रबासी पृष्ठभूमिमा वा मूल थातथलोको सम्झनालाई पृष्ठभूमी बनाएर सृजना गरिएका साहित्य नै डायस्पोरिक साहित्य मान्नुपर्दछ /

२.१ डायस्पोरिक साहित्यको जन्म

नया मुलुकमा जानु, अबसरको लागि संघर्षमा धापिनु अनि आफ्नो अस्तित्वको संकटले बेचैन हुनु जस्ता समस्याहरुले आक्रान्त भएर मानिसभित्रको चेतले एउटा छुट्टै अस्तित्वको लागि संघर्ष गर्नु डायस्पोरिक जीवनको बाध्यता हो / सम्बन्धित भूमीमा स्थायित्व प्राप्त गर्न संघर्ष गर्नु, लगातार भय र अनिश्चयताको चपेटाले आक्रान्त हुनु, नोस्टाल्जिक भावमा व्याकुल हुनु डायास्पोरिक बचाईहरु हुन र यिनै डायस्पोरिक भोगाई, चिन्तन र संघर्षले डायस्पोरिक साहित्यको जन्म हुन्छ / व्यक्तिपिच्छे आ-आफ्ना घरदेशको सम्झना र परदेशको बिबिध भोगाईहरुले साहित्य लेखनको रुप नौलो भएर आउँछ / आफ्नो देश, गाउँ र समाजको सम्झना र आफ्नो परिवार सम्झने शिलशिलामा कतिपय व्यक्त-अव्यक्त कुराहरुले व्यक्ति उद्द्वेलित हुन्छ बिदेशी भूमीमा / तै पनि त्यही बिदेशी भूमीबाट आफ्नो परिचय स्थापित गर्न उ लगातार लागिपरिराखेको हुन्छ र यस्तै बिविध परिस्थितिलाई प्रतिनिधित्व गर्दै डायस्पोरिक साहित्यको सिर्जना हुन्छ/ यसरी डायस्पोरामा स्थाई वा अस्थाई भन्दा पनि ति भाषीहरुले त्यसै परिवेशमा सृजीत साहित्यहरु नै डायस्पोरिक साहित्य हुन /

डायस्पोरिक जीवन हरपल आफ्नो मूल थलो र नया थलो गरि दुईतिर विभाजित मानसिकतामा रहन्छ/ डायस्पोरामा बाँच्नेले न त आफ्नो मूल पहिचानलाई बिर्सन सक्छ न त नयाँ परिवेशलाई पुरै अङ्गीकार गर्न सकेको हुन्छ / यिनै द्वैध परिस्थिति, द्वैध चेत, द्वैध परिचय अनि संगसंगै आफ्नो परिचय हराएको आभास अनि आफैभित्रको द्वैध र द्वन्दात्मक मानसिकताले गर्दा हुने असुरक्षाको अनुभव नै डायस्पोरिक साहित्यको जन्मका कारणहरु हुन् / डा. गोविन्दराज भट्टराईका अनुसार ''डायस्पोराको सम्बन्ध अभिघातसंग हुन्छ - भय, चिन्ता, अपरिचितता र अन्त्यमा भयङ्कर असुरक्षा-चेतनाले ढाकेर/'' त्यसैले डायस्पोरिक साहित्य ''यताबाट फुक्लिनुको, उता नजोडिनुको नियति भोगिरहनेहरु'' को भोगाई र भावनाबाट जन्मन्छ /

३. अन्तर राष्ट्रिय नेपाली साहित्य समाज र बेलायती शाखा

अमेरिकामा सन् १९९१ मा साहित्यकार होमनाथ सुबेदीको अध्यक्षतामा अन्तर राष्ट्रिय साहित्य समाज (अनेसास) स्थापना भयो / यसका शाखा विस्तारका क्रममा विभिन्न देशमा गरि हालसम्म ७० वटा शाखाहरु निर्माण भएर, ति शाखाहरुले विभिन्न नेपाली साहित्यिक स्रस्टाहरुको जन्मजयन्ती मनाउने, डायस्पोरिक साहित्य सृजनामा बल पुर्याउने अनि नेपाली डायस्पोरिक साहित्यलाई नेपाली साहित्यको मूल प्रवाहमा लगेर जोड्ने, डायस्पोरिक साहित्यकार एबम समालोचकलाई प्रोत्साहन गर्नका हेतु बिभिन्न पुरस्कारहरु स्थापना, हरेक दुई बर्षमा अन्तर राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गर्ने अभियान जस्ता सार्थक प्रयासहरु भईरहेका छन् / यसै सन्दर्भमा सन् २००९ मा न्यू योर्कमा भएको अनेसासको प्रथम अन्तर राष्ट्रिय साहित्य सम्मेलनको घोषणा पत्रमा उल्लेखित निम्नानुसारका बुँदाहरुले डायस्पोरिक साहित्यलाई कसरी उठान गरेको छ भनेर छर्लंग बुझ्न सकिन्छ :

१. परम्परागत भाषा, भाव र शैलीको बन्धनबाट मुक्त भएर डायस्पोरिक नेपाली साहित्यको सृजनालाई प्रोत्साहन दिने /

२. समालोचनामा डायस्पोरिक साहित्य र व्याख्यालाई प्रोत्साहित गर्ने /

३. डायस्पोरामा नेपाली भाषा तथा संस्कृती बिध्यालयहरुको स्थापना, बृद्दी र बिकास गर्ने / यिनको प्रमाणपत्रलाई स्थानीय बिध्यालयमा मान्यता दिलाउन प्रयत्न गर्ने र अरु शैक्षिक संस्थामा पनि नेपाली कक्षाहरु खोल्न प्रेरित गर्ने आदी /

४. जहाँ जहाँ नेपाली बसेका छन् त्यो देशको भाषा, कला र साहित्यमा नेपालीको भाषा, कला र दर्शनलाई जुनसुकै प्रकारले पनि रुपान्तरण गर्न प्रोत्साहन गर्ने /

यसै उद्देश्य अनुरुप संसारका बिभिन्न मुलुकहरुमा यस संस्थाको शाखाहरु स्थापनाको गति तिब्ररुपमा अघि बढिरहेको छ /

३.१ अनेसास बेलायत शाखाको स्थापना

अनेसासको यहि उद्देश्यहरुको सार्थकतासाथ बेलायतमा रहेका नेपाली भाषाप्रेमी र साहित्य सर्जकहरुको पहलमा नेपाली भाषा, संस्कृती र साहित्यको जगेर्ना र बिकास गर्न अनेसास बेलायत शाखाको सन् २००४ मा पोषेन्द्र सत्यालको अध्यक्षतामा स्थापना भयो / त्यसैगरी दोश्रो कार्यसमिती हरि सिवाकोटीको अध्यक्षतामा बन्यो / अध्यक्षज्यूको बिशेष परिस्थितीले गर्दा कार्यकाल बेलायतमा बसी पुरा गर्न नसकेकोले निला अधिकारीको कार्यकारी अध्यक्षतामा संस्थालाई अगाडी बढाई डिसेम्बर २०१० मा तेश्रो कार्यसमितीको चयन गरि हस्तान्तरण गर्यो / उक्त दोश्रो कार्यसमितीमा गोपीकृष्ण प्रसाई तथा गणेश राई उपाध्यक्ष, विश्वासदीप तिगेला महासचिब, नवराज राई सचिब, नवराज भट्टराई सहसचिब, र बिदुर सिटौला कोषाध्यक्ष हुनुहुन्थ्यो / अनेसास बेलायत शाखाले सेप्टेम्बर २००८ मा भिम लिम्बुको अध्यक्षतामा स्कटल्याण्ड उपशाखा गठन गरेको थियो /

अनेसास बेलायत शाखाको तेश्रो कार्यकारी समिति होम परिवागको अध्यक्षतामा डिसेम्बर २०१० मा चयन भयो / यसका उपाध्यक्षद्वयमा जया राई र डा. रुपक श्रेष्ठ, महासचिबमा लारा, सचिबमा प्रकाश के सी, कोषाध्यक्षमा विकल आचार्य रहुनभएको छ भने कार्यकारी सदस्यहरुमा गोपीकृष्ण प्रसाईं, शशी थापा सुब्बा, रुपक बनबासी, जोन नकर्मी, नवराज भट्टराई, बिदुर सिटौला, सुशिला कार्की, बुद्दि राई, जगत नवोदित, मिरा आंगबोहांग, भगवान चामलिंग र केदार संकेत रहनुभएको छ / यसको संरक्षकमा पदेन महामहिम राजदूत डा. सुरेश चन्द्र चालिसे हुनुहुन्छ भने सल्लाहकारहरुमा खगेन्द्र पाठक, ईश्वर मानन्धर, हरिसिं थापा, दिपक कोईराला, नारायण भट्टराई र माईकल हट चयन हुनुभएको छ /

४. बेलायती-नेपाली डायस्पोरिक साहित्यमा अनेसास बेलायतको भूमिका

बेलायती-नेपाली डायस्पोरामा अनेसास यू के शाखाले स्थापना कालदेखि नै बिभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्ने, साहित्यकारहरुको सम्मान गर्ने, नया स्रष्टाहरुलाई उत्साह दिने, प्रकाशनमा सहयोग पुर्याउने जस्ता उदाहरणिय कामहरु गर्दै आएको छ / यसरि पहिलो र दोश्रो कार्यकालमा भए गरेका कामहरुलाई निरन्तरता दिंदै यस तेश्रो कार्यसमितीले आफ्नो कार्यकालको सुरुदेखि नै भाषिक र साहित्यिक उत्थानको लागि आफ्नो कार्यक्रमहरु तिब्ररुपमा अघि बढाईरहेको छ / एक बर्षको कायकालभित्र नै ३१ जना नयाँ सदस्यहरु बनाई जम्मा ४० जना आजीवन सदस्य दर्ता हुनुले यस शाखाको लोकप्रियता प्रष्ट हुन्छ/ यस शाखाले हरेक बर्ष आदिकवि भानुभक्त र महाकवि देवकोटा जयन्ति मनाउंदै आएको परम्परालाई कायमै राख्दै थप अरु नया कार्यक्रम र अभियानहरुको सुरुवात गरि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ / यसै सन्दर्भमा यस शाखाले पारिजात जयन्ति २०११ भब्यताको साथ सम्पन्न गरि पारिजात स्मृति भवन निर्माण सहयोगार्थ रु. ५०,०००/ पचास हजार रुपैया सहयोग शाखाका तथा क्षेत्रीय उपाध्यक्ष जया राई हस्ते हस्तान्तरण गर्यो/

यस शाखाले सन् २००९ अक्टोबरमा देवकोटा शतबार्षिकी बिशेष रुपले मनाएको थियो / उक्त गोष्ठीमा देवकोटाको व्यक्तित्व र कृतित्वको बारेमा गोपीकृष्ण प्रसाई, गणेश राई, निला अधिकारी, खगेन्द्र पाठक, ईश्वर मानन्धर र जया राईले बिशेष चर्चा गरेका थिए / दिपावलीको अवसर परेकोले नेपाली मौलिक संस्कृति अनुसार देउसी भैलोको पनि आयोजना गरिएको थियो/ शाखाका अर्का उपाध्यक्ष डा. रुपक श्रेष्ठका परिकल्पना अनुसार हरेक महिनाको पहिलो शनिबार मासिक साहित्यिक कार्यक्रम गरि सन्ध्या नायक/नायिकाको प्रकाशोन्मुख कृतिहरुमाथि समालोचना, र छलफल गरि श्रष्टालाई अझ मुखरित हुन सहयोग गर्ने कार्यक्रमले लामो शृंखला पार गरिसकेको छ जसले गर्दा यस शाखाबाट यसै सन् २०१० भित्र बिभिन्न श्रष्टाहरुको ८ कृतिहरु प्रकाशनमा आईसकेका छन् जसको विवरण तल पेश गरिएको छ /

४.१ अनेसास बेलायत शाखाबाट प्रकाशित साहित्यिक कृतिहरु:

१. रात ढलेको थिएन (कबिता संग्रह) - २०६८ - गोपीकृष्ण प्रसाई

२. बेकार स्ट्रिटका दुई आँखा (कथा संग्रह) - २०६८ - जया राई

३. बिगबेन र समय (कबिता संग्रह) - २०६८ - डा. रुपक श्रेष्ठ

४. म, आकाश र ताराहरु (कबिता संग्रह) - २०६८ - ईश्वर मानन्धर

५. बेलायती आँगनमा नेपाली सुबास (नियात्रा संग्रह) - २०६८ - बिकल आचार्य

६. पात्रहरुसंग एक साँझ (कथा संग्रह) - २०६८ - लारा

७. पैयूँ फूल (हाइकु संग्रह) - २०६८ - केदार संकेत

८. एथेन्सको झरी (नियात्रा संग्रह) - २०६८ केदार संकेत

डा. श्रेष्ठकै परिकल्पना अनुसार स्वर्गारोहण गरिसकेका श्रष्टाहरुको मात्र जन्मजयन्ती मनाउने पुरानो परम्पराभन्दा अगाडी बढेर सहयात्री लगायत समकालीन जीवित श्रष्टाहरुको सम्मानमा जन्मोत्सव मनाउने नयाँ परम्पराको अगष्ट २०११ देखि थालनी भई बेलायती-नेपाली डायस्पोराका स्रष्टाहरु होम परिबाग, गोपीकृष्ण प्रसाई र जया राईको जन्मोत्सव मनाईसकिएको छ /

भाषाप्रेमी खगेन्द्र पाठकद्वारा केहि महत्वपूर्ण नेपाली पुस्तकको हस्तान्तरणबाट शुरु भएको अभियान अरु बिभिन्न स्रष्टाहरु र दाताहरुबाट प्राप्त किताबहरूले थेम्स एकाडेमीले ब्यबस्थापन गरेको कार्यालयको पुस्तकालयमा ठुलै रुप लिईसकेको छ / यस पुस्तकालयबाट थुप्रै भाषा साहित्यप्रेमीहरु लाभान्वित भईसकेका छन /

अनेसास बेलायत शाखाले आफ्ना नियमित कार्यक्रमका अतिरिक्त समयानुकुल बिभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ / २२ अगष्ट २००८ मा साहित्यकार तथा उत्तर आधुनिक समालोचक डा. गोविन्दराज भट्टराईसंग उत्तरआधुनिकताबाद सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो/ उक्त कार्यक्रममा गोपीकृष्ण प्रसाईं, जगत नबोदित, विश्वासदीप तिगेला, काजिमान लिम्बुले उत्तरआधुनिक साहित्यप्रति आफ्नो अवधारणा राखेका थिए / त्यस्तै गरि २५ अक्टोबर २००८ मा अनेसासले बेलायती-नेपाली डायस्पोरामा पहिलो पटक बेलायतब्यापी खुल्ला कबिता प्रतियोगिताको आयोजना गरेको थियो /

अनेसास बेलायत शाखाले बिश्वभरि छरिएर रहेका नेपाली बांग्मयका उत्कृष्ट स्रष्टाहरुको सम्मान गर्दै आएको छ / समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टराईलाई २२ अगष्ट २००८ मा, कृष्ण चन्द्र सिंह प्रधानलाई २५ अक्टोबर २००८ मा, अनेसास बेलायत शाखा र नेपाली साहित्य बिकास परिषदले संयुक्त कार्यक्रमको आयोजना गरि अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई १४ मार्च २०१० मा; साहित्यकार एबम भाषाविद कृष्णप्रसाद पराजुलीलाई १७ मार्च २०१० मा; १०१औ देवकोटा जयन्तीका अवसरमा साहित्यकारद्वय डा. देवी प्रसाद सुबेदी र बिश्व बिमोहन श्रेष्ठको सम्मान; बिबिसी नेपाली सेवाका पूर्ब प्रमुख खगेन्द्र नेपालीलाई २०१० मा बिभिन्न ऐतिहासिक साहित्यिक कृतीहरुलाई स्वरांकन गराई नेपाली साहित्यलाई नयाँ गति दिएबापत गरिएका सम्मानहरु केहि उदाहरणको रुपमा लिन सकिन्छ /

४.१ अनेसास बेलायतद्वारा दोश्रो अन्तर राष्ट्रिय साहित्य सम्मेलन २०११ को संयोजन

अनेसासको प्रत्येक दुई बर्षमा गरिने अन्तर राष्ट्रिय साहित्य सम्मेलन पहिलो पटक सन् २००९ मा अमेरिकामा नै भएको थियो भने दोश्रो पटकको सम्मेलन बेलायतमा यहि अगष्ट २६, २७ र २८ तारिखमा अनेसासको क्षेत्रीय उपाध्यक्ष जया राईको मूल संयोजकत्व तथा होम परिबाग, डा. रुपक श्रेष्ठ, विकलचन्द्र आचार्य, गोपीकृष्ण प्रसाई, लारा, शशी थापा सुब्बा, खगेन्द्र पाठक, राधेश्याम लेकाली, गीता खत्रीको संयोजकत्वमा सम्पन्न हुँदैछ / डायस्पोरिक साहित्यको उत्थान एबम बिकासको लागि यस अन्तर राष्ट्रिय साहित्य सम्मेलन - २०११, लन्डन पनि आफैमा अर्थपूर्ण रहने छ /

नेपालबाट डायस्पोरिक समालोचनाका अभियन्ता प्रा. गोविन्दराज भट्टराई, प्रा. सुषमा आचार्य, बेलायतबाट प्रा. माइकल हट, डा. रुपक श्रेष्ठ तथा गोपीकृष्ण प्रसाई र अमेरिकाबाट अनेसासका संस्थापक तथा बि ओ टि का अध्यक्ष होम नाथ सुबेदीद्वारा कार्यपत्रहरु प्रस्तुत हुँदैछन भने नेपालबाट साहित्यकारहरु प्रदिप नेपाल, शर्मिला खड्का दाहाल, अस्मिता भण्डारी, गीता रेग्मी, कमला वली, कर्ण थापा, पत्रकार डम्बर कुमार गिरि, यज्ञ ढकाल, क्यानाडाबाट गोकुलभण्डारी, बेल्जियमबाट अनेसास केन्द्रिय अध्यक्ष कृष्ण बजगाई, संजु बजगाई, फ्रान्सबाट हरिहर अर्याल, अनेसास बेलायत बाहेक नेपाली साहित्य बिकास परिषद, प्रबासी नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासंघ, अनलाईन लिटरेचर डट कम लगायत बेलायतका सबै साहित्यिक तथा बिबिध संस्थाबाट प्रनिधित्व हुने यस सम्मेलनमा डायस्पोरिक साहित्य, भाषा र संस्कृतीको उत्थान र बिकासका लागी ब्यापक चर्चा गरिने नै छ /

५. उपसंहार

अनेसास बेलायत शाखा सन् २००४ देखि स्थापना भएको बेलायती भूमिमा छरिएका नेपाली भाषीहरुको साझा चौतारी हो / यस चौतारीले नेपाली भाषा, संस्कृती र साहित्यप्रेमीहरुलाई शितल छाहारी प्रदान गरि सिर्जनाका लागि सँधै ओतप्रोत गराइराखेको छ, जसको फलस्वरूप यसै बर्षमात्र बिभिन्न आठ कृतिहरु प्रकाशनमा आए भने अरु थुप्रै प्रकाशनका तांतीमा रहेका छन्/ बिभिन्न मासिक कार्यक्रमहरु, परिचर्चा कार्यक्रमहरु, समालोचना कार्यक्रमहरु, जन्मोत्सव र जन्मजयन्तिहरु, खुल्ला प्रतियोगिताहरु, गोष्ठीहरु, अन्तर राष्ट्रिय स्तरका सम्मेलनहरुको आयोजना गर्दै बेलायती डायस्पोरामा नेपाली भाषा र संस्कृतीको उठानमा लागिपरेको पाईन्छ / यसरि प्रबासी भूमीमा बसेर पनि दिएको भाषिक, सांस्कृतिक र साहित्यिक योगदानले सिंगो नेपाली बांग्मयको बिकासमा प्रत्यक्ष टेवा पुर्याईरहेको प्रमाणित हुन्छ / मूल धारको साहित्य र डायस्पोरिक साहित्यको चर्चा गर्दै डा. गोबिन्द राज भट्टराईलाई उद्दृत गर्दा – “एक देशको मात्र साहित्य पूर्ण बन्दैन; त्यो मूल धार पनि होईन / विभिन्न भाषामा लेखिएका, देश भित्र र बाहिर लेखिएका, विभिन्न लिपी र संस्कृतिका, विभिन्न वर्ग र समुदायले ब्यक्त गरेका समग्रता मिलेर मात्र मूल धारको साहित्य बन्छ / डायस्पोरिक साहित्य मूल धारको मुटुमै रहन्छ/” बेलायती-नेपाली डायस्पोराबाट अनेसास बेलायत शाखाले नेपाली मूलधारको साहित्यको मुटुमै रही आफ्नो विशिष्ट पहिचान बनाउंदै आएको पाईन्छ /

अनेसास बेलायत शाखाका कार्यक्रमहरु सफल बनाउन बिभिन्न भाषा तथा संस्कृतीप्रेमी, साहित्यकार र साहित्यप्रेमीहरुको हात रहेको छ / बेलायती-नेपाली डायस्पोरिक साहित्यमा योगदान दिने व्यक्तित्वहरुमा होम परिबाग, जया राई, डा. रुपक श्रेष्ठ, गोपीकृष्ण प्रसाई, लारा, प्रकाश के सी, बिकलचन्द्र आचार्य, प्रो. माइकल हट, शशी थापा सुब्बा, खगेन्द्र पाठक, ईश्वर मानन्धर, सुमल कुमार गुरुङ, सुशिला कार्की, लय प्रसाई, जोन नकर्मी, भगवान चामलिंग, प्रतिभा बोहोरा,निलहरि घिमिरे, नारायण अधिकारी, विश्वासदीप तिगेला, राजिव रेग्मी 'माया क्यालेन्डर', रुपक बनबासी, केदार संकेत, रामकृष्ण सुनुवार 'आंकला', भगवान चामलिंग, जगत नबोदित, मुकेश राई, मिरा आंगबोहांग, खगेन्द्र नेपाली, डा. राघब प्रसाद धिताल, डा. सुधा श्रेष्ठ, बिशेष गुरागाईं, कोमल मल्ल श्रेष्ठ, प्रेरणा थापा, पोषेन्द्र सत्याल, गोबिन्द बेलबासे, बीरेन्द्र कुबर, अनिश अधिकारी, अजिता सिंखडा, सुरेशजंग शाह, नीला अधिकारी, डि आर पराजुली, हरिसिं थापा, विजय हितान, किरण टि. लिम्बु, कांगमांग नरेश, चन्दा मानन्धर, रक्ष राई, दया कृष्ण राई, नवराज राई, जितेन्द्र चेम्जोंग, सुरेन्द्र इंगनाम, मिजास तेम्बे, इन्दिरा बस्याल, मनिष श्रेष्ठ, बिनोद न्यौपाने, डा. सुनिल बुढाथोकी, मुना भुषाल, दुत पुन, टंक वनेम, गोपी सापकोटा, देवी गौतम, मुलाबिर राई, बासु शर्मा, अपजसे कान्छा, दुर्गा प्रसाद पोखरेल, देवेन्द्र खेरेश, दिव्यानी शर्मा, नारायण गाउँले आदि उल्लेखनीय नामहरु हुन् /

सन्दर्भ सामाग्री

नेत्र एटम, (२०६७) नेपाली डायस्पोरा र अन्य समालोचना, एकता बुक्स: काठमांडू

अमर नेम्बांग लिम्बु, अमेरिकामा नेपाली डायस्पोरा:एक विहंगम दृष्टि: साहित्यघर.कम (१५ जुन २०११)

डा. भट्टराई, गोविन्दराज (२०६२): उत्तरआधुनिक ऐना, मोडर्न बुक्स: काठमान्डू

(२०६४): उत्तर आधुनिक विमर्श, मोडर्न बुक्स: काठमान्डू

डा. खगेन्द्र प्रसाद लुइंटेल, डायस्पोराको सैद्दान्तिक स्वरूप, समकालीनसाहित्य.कम

होम नाथ सुबेदी, (२०६५) समुन्द्रपारका समालोचना, अनेसास: वाशिंगटन डि सी

कृष्ण बजगाईं (सम्पादन: २०६७) श्रष्टा र डिजिटल बार्ता, अनेसास: वाशिंगटन डि सी

समकालीनसाहित्य.कम (१५ जुन २०११)

Mark Shackleton (Edt. 2008) Diasporic Literature and Theory – Where Now? Scholars Publishing : Cambridge

Patricia Waugh &, Philip Rice (2001) 4th Edt., Modern Literary Theory: A Reader, Arnold: London.

http://www.thefreedictionary.com/Diaspora (16 August 2011)

http://oxforddictionaries.com/definition/diaspora (16 August 2011)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।