14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जीवन

कविता युवराज घलेभाइ May 9, 2021, 10:27 am
युवराज घलेभाइ
युवराज घलेभाइ

अविश्रान्त अविचलित
नदी जस्तै बगोस् भन्छु जीवन
स्वतन्त्र बादल जस्तै
उडोस् भन्छु जीवन
जीवन कहिले आँखाभित्र
काँडाबीचको फूल भएर बस्छ
कहिले मुटुभित्र
शूल भएर डस्छ
कहिले उड्दा- उड्दैको
घाइते चरा भएर जीवन
अचानक मनको सिकुवामा
खुत्रुक्क खस्छ ।

गतिमान समयजस्तै
बगोस् भन्छु जीवन
जीवन बगरजस्तै अतृप्त
नियति भोग्छ
आकाश जस्तै अनन्त-अनन्त
फैलियोस् भन्छु जीवन
जीवन कहिले
भीर बोक्छ ।
कहिले पीर भोग्छ
कहिले विनाशकारी
बाढी र पहिरोसँगै
उदास समयको उदास
तकदीर भोग्छ ।।

खेलिरेछ जीवनसँग
घाटा-नाफाको खेल
कहिले आँसु , कहिले मुस्कान
कहिले साँझ , कहिले बिहान
जीवनसँग खेल्नुको आनन्द
बेग्लै हुँदो रहेछ
जीवनसँग हराउनुको आनन्द
बेग्लै हुँदो रहेछ ।।।

गान्तोक सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।