14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अन्धकारको यात्री

कविता युवराज घलेभाइ June 8, 2021, 12:04 pm
युवराज घलेभाइ
युवराज घलेभाइ

पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरि छ खाना
अरुचिले अघाएको छ, भोक हराएको छ ।

परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरु, समयहरु, दिनहरु कटे
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैं किनारा लागेको छ ।

आज 'म' अन्धकार छाम्दै हिँडिरहेको छु
आँखाहरु हुँदा दृश्यहरु थिएनन् र
फूलबारी, बगैंचाहरु, पहाड पर्वतहरु
नदीनालाहरु, वन- जङ्गलहरु
गाउँ, शहरबस्तीहरु, भूमण्डल, ग्रहहरु
मेरा वरिपरि छन् , 'म' उनीहरुसँगै छु ।
तर के गर्नु ? मसँग आँखा छैनन्
अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिनँ ।
आनन्दबोध गरेझैं हुन्छ, खुशी हुन सक्तिन ।

बाटो खन्दाखन्दै जीवन गयो
माटो बोक्दाबोक्दै सन्ध्या शुरु भयो
तर त्यो बाटोमा हिँड्ने 'रहर' कि 'भोक'
आफैं खुम्चिएर रहयो र मर्दै गयो ।

मेरा पसिनाका थोपाहरुले
जसलाई सम्याउने काम भयो
मेरा आकाङ्क्षाहरु जहाँ आकार आधार थिए
मेरा सपनाहरुले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरें
दिनरात 'भोक तिर्खा', घामपानी ,
अँध्यारो-उज्यालो सबै खेप्दै
आज 'म' त्यसलाई देख्न छाडेको छु ।
हिँड्न सक्तिन त्यो बाटो ।
भोग गर्न सक्तिन 'म' निर्माता
मलाई चोर औंंलो देखाएर जिस्काउँदै
बाटोमा दगुर्ने साना नानीहरू
मेरा पछि लश्कर आउँदै गरेकाहरु
फटाफट पाइला चलाइरहेका छन् ।

मैले बनाएका धारोहरुमा
तिर्खा मेटदै हिँड्नेहरु,गन्तव्य हेरिरहेछन् ।
'म' निर्माता, 'भोकाएको' र 'तिर्खाएको'
जान पनि सक्तिन
एक बूँद पानी दिने फुर्सद
कसैले देखाउन सकेनन् ।
पानी बोकेर हिँड्नेहरु शुरुशुरु हिँडिरहेछन् ।
ती मलाई देख्दैनन्
शायद मेरो याचना
कसैलाई थाहा भएन क्यारे ?
जीवन यतै कतै अल्झिएको छ
महासागरभित्र डुबुल्की मार्न उधत
शीतको सानो बिन्दु
कहाँ पर्छ ? कहाँ खस्छ ?
र कहाँ हराउँछ ?
आवृत आकाङ्क्षा, अनावृत तृप्ति
अन्धकारको 'म' यात्री थाहा छैन
अबको मेरो आफ्नै बाटो, सम्झेर
पनि हिँड्न सक्तिन
हिजो आफैंले बनाएको बाटो
आज अन्धकारको यात्री
अन्धकारमा नै हराइरहेको छु
र यसैमा बिलाइरहेको छु !!

गान्तोक सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।