14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मन फाटनुको दु:खाइहरु

कविता युवराज घलेभाइ July 4, 2021, 4:55 pm
युवराज घलेभाइ
युवराज घलेभाइ

सपनाहरु देख्नु छैन
सपनाहरुसँग रमाउनु पनि छैन
आजकल मलाई ।

टुक्रिएका सपनाहरु जोडनु खोज्दा-खोज्दै
सपनाहरुसँगै टुक्रा-टुक्रा भइसके
म पनि ।
कति सजिलैसित सजाउन लगायौं
सपनाको ताजमहल
गाउँलेको छोरोलाई ।
कल्पनाको प्यारासुटमा उडान भर्न लगाएर
त्यसैको रंगले
पोत्न सम्म लगायौं सपनाको ताजमहल
कुनै रोमान्टिक कविले कविता सजाएजस्तै ।
भूँइचालोको झटकाले अस्त-व्यस्त भएको
भ्रष्टाचारले सप्रिएको गान्तोक शहर
शिक्षित बेरोजगार युवाहरू कहिले खडा नहुने ।

ऐ शासक
तिमीलाई के ज्ञात
मन फाटनुको दु:खाइहरु
अनि टुटनुको पीडाहरु ।

अन्धाका बजारमा स्वर्गको वर्णन नगर ।
भोकको बस्तीमा स्वादको चर्चा नगर ।
तिर्खाको भीडमा खोलाको विश्लेषण नगर ।
वियोगी मनको मलामीमाझ
मिलनको महत्त्वको प्रचार नगर ।
बिन्ती ।
कचल्टिएको, कटमेरिएको, रोगी मन लिएर ।
अरुलाई आश देखाएर
त्यसै आशमा अल्झिएको अलिकति श्वासको चिता जलाएर,
आङ सेक्ने बानी लागिसकेछ तिमीलाई ।

कहिलेसम्म कक्रोज ग्याङ्ग भई बाँच्छौं
मान्छेको बस्तीभित्र
बाँचिराख मज्जाले ऐययासी गर्दै ।
तिम्रो विचारजस्तो च्याप्टो छैन पृथ्वी
शायद भूगोलको अर्थ रटेकै छौं होला
बुन्यादि शिक्षामा ।

गान्तोक, सिक्किम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।