17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘शिक्षा चिन्तन’ माथिको गन्थन मन्थन

कृति/समीक्षा यम ढुङ्गाना केसी October 24, 2021, 9:37 pm
यम ढुङ्गाना केसी
यम ढुङ्गाना केसी

जीवको सृजना देखिनै खानाको आवश्यकता पर्दछ । त्यो प्रकृतिले नै जुटाइदिएको हुन्छ । बनस्पतिका फलको दानाको फलका दुई वा एक दलका बिचमा बीज रहेको हुन्छ । अनुकुल वातावरण पाउँदा अङ्कुरण भएर जमिनबाट खाना लिन नसक्ने बेलासम्म आमा वा फलबाट खाना खाएर सक्षम भएपछि जमिनबाट खाना लिएर मुना पलाएर बढ्दछन । फुल पार्ने पंक्षी जातिमा फुलभित्र रहेको खाना खाएर बाहिरी संसारमा निस्कन्छन् माउले चारो खुवाउँदछन् । त्यस्तै दुग्धधारी जीवहरुमा भ्रुणले आमाको गर्भमा छउन्जेल आफ्नै आमाको खाद्यरसबाट खाएर जिएको हुन्छ । अबधि पुगेपछि बाहिर संसारमा जन्मेपछि आमाको स्तन चुसेर जिउँदछन् । बनस्पति जमिनबाट खाना लिएर जिउँदछन् । पंक्षीहरुले सक्षम नहुने बेलासम्म चारो खुवाएर हुर्काउँदछन् । पशुले पनि दुध खुवाएर सक्षम भएपछि आफै खानाको खोजमा हिड्दछन् । पशु, पंक्षीको आफ्नो छुट्टै भाषाले उन्को संसार चलाएका छन् । हामी उन्को भाषा बृझ्दैनौं, न उनीहरु हाम्रो भाषा बुझ्दछन् । यिनीहरु भविष्यका घटना पूर्वनै थाहा पाउँछन् हामी थाहा पाउँदैनौं । जीव जगतको प्रमुख कार्य खाना खानु र आफु जस्तै सन्तान जन्माउनु हो । यो सबै जीव जगतको प्रमुख कार्य हो ।
तर मानव जातिमा यतिले मात्रै पुग्दैन । जीव जगतमा मानव जत्तिको बुद्धिमान, ज्ञानी भनेर मानवले नै मानेको छ । त्यसैले मानव अगस्ति भन्ने कि नयाँ कुराको खोज गर्ने कारणले अरु पनि आहाराको जरुरी हुन्छ । त्यहि आहारा पूर्ती गर्न रातोदिन लागेको लागै हुन्छ । उस्लाई आहारा पुरा गर्न उस्लाई भोक प्यास निद्रा लाग्दैन रातो दिन खटेर आकास पाताल चाहारेर आफ्नो ज्ञानको प्यास मेट्दछन् । ज्ञानको भोक अचम्मको हुँदोरहेछ, जति पूर्ती भएपनि भोक जागिरहने तिन्लाई आफ्नो कार्य पूरा नहुने बेलासम्म भोक, प्यास, तीर्खा, नीद थकाइले नथकाउने हुँदो रहेछ । त्यसैले तिन्ले केहिगरेर देखाएकाछन् । त्यस्तै हाम्रा प्रिय विद्वान मित्र राजेन्द्र पहाडीज्यू हुनुहुन्छ । उहाँमा पनि अल्छी कहिल्यै लाग्दैन सदा ब्यस्त । मृदुभाषी, सदा हँसिलो मुहार, रीस, इष्र्या बाहिर कहिल्यै देखिंदैन । सदा अर्काको कल्याणमा लागेको मेरा आँखाले देख्दछन् । उहाँ भविष्यका कर्णाधार युवा युवतीका आन्तरिक ज्ञानका चक्षु खोलिदिएर ज्ञानको प्रकाश भरिदिने कार्यका साथसाथै सामाजिक साहित्यिक सेवामा ब्यस्त हुनुहुन्छ । शैक्षिक क्षेत्रको अग्रसरता पर्वत जिल्लामात्र नभएर अञ्चल, प्रदेश, राष्ट्र र अन्तर्राष्ट्रमा पनि परिचित र ख्याति प्राप्त हुनुहुन्छ । शैक्षिक क्षेत्रका गोष्ठी, सभा सम्मेलनमा भागलिने काम राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भाग लिनुभएको छ । यसरी भाग लिएर प्राप्त ज्ञान आफूमा मात्र सिमित नराखेर, समाजमा देखिएका राम्रा नराम्रा कृति र बिकृतिहरु अनि आफना भावनाहरु समाज समक्ष प्रस्तुत गर्नु भएको छ । जुन ज्ञानका भोकाहरुका लागि खुराक बनेको छ । उहाँले पोखेका ज्ञानका पोका (कृति) हरु (१) महिला बिरुद्ध हिंसा (२) शान्ति नारायणका कवितामा समाजशास्त्रीय चिन्तन (३) पर्वत साहित्य संगम संक्षिप्त सिंहावलोकन (४) सामाजिक सर्भेक्षणका लागि आधारभूत तरिकाहरु (५) सर्वदलीय घरको समाजशास्त्रीय नालीबेली (६) नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय (७) नेपालको शान्ति प्रकृयामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका (८) नेपालमा महिला हिंसा (९) बोल्नेको पिठो बिक्छ (१०) शिक्षामा सुशासन (११) बियाड (१२) विद्यालय सुधार योजना र शिक्षामा नागरिक सहभागिता (१३) शिक्षा चिन्तन (१४) सृष्टिमा दृष्टि आदि रहेकाछन् । यसका साथै उहाँले स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, जर्नल आदिमा आफ्ना लेख रचनाहरु प्रकाशन गर्र्नुभएको छ ।
अध्यक्ष पर्वत साहित्य संगम, प्रकाशक तथा सम्पादक समुदाय र सृजना यस्तै प्रशस्त लेख, कविता निबन्ध स्थानीय तथा राष्ट्रियस्तरका पत्र पत्रिकामा प्रकाशित हुने गरेका उहाँ एक शैक्षिक व्यक्तित्व तथा सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । शैक्षिक क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचय बनाएकाले उहाँले नेपालका पाँच विकास क्षेत्रमा नमूनाका रुपमा सञ्चालित पाँच सहिद स्मृति आवासीय मा.बि.हरुको अनुसन्धान, अनुगमन गर्ने सुअवसर प्राप्त गर्नु भयो र त्यसैका आधारमा ‘शिक्षा चिन्तन’ पुस्तक तयार गर्ने पृष्ठभूमि तयार भयो । जुन विद्यालयहरुमा दश बर्षे जनयुद्ध, उन्नाइस दिने तराई मदेश आन्दोलन आदि विभिन्न जनयुद्धमा होमिएर प्राणको आहुति दिएका द्वन्द्व पीडित अपाङ्ग, बेपत्ता नागरिक, घाइते, लोपोन्मुख, अति सीमान्तकृत, दलित, बिपन्न र भूकम्प पिडितका परिवार तथा सहिदहरुका छोराछोरीहरु शिक्षाको उज्यालो प्रकाशबाट बञ्चित हुन नपरोस् भनेर सहिदहरुकै नाममा नेपाल भरिका पाँच विकास क्षेत्रमा विसं. २०६६ सालमा नेपाल सरकारमार्फत सहिद स्मृति आवासीय मावि पूर्ण सरकारी दायित्वमा खोलिए । जस्को अनुगमन अनुसन्धानबाट पहाडीज्यूले पाउनु भएको तथ्य अभिलेख बिवरण यो अध्ययन अनुसन्धान गर्दा र प्रतिबेदन तैयार गर्दा निम्न बिधिहरु अबलम्बन गर्नुभएको पाइन्छ । (१) अध्ययन सार (१.२) अध्ययनको पृष्ठभूमि र सन्दर्भ (१.३) अध्ययनको पृष्ठभूमि (१.४) अध्ययनको उद्देश्य (१.५) अध्ययनको सीमा (३) पूर्ब साहित्यको अध्ययन (३.१) पूर्व साहित्यको अध्ययन (४) स्थलगत अध्ययनबाट प्राप्त भएका सूचना (४.१) अध्ययन गरिएका विद्यालयको संक्षिप्त विवरण (४.२) विद्यालयका सकारात्मक पक्षहरु (सबल पक्षहरु) (४.३) विद्यालयले अनुभव गरेका चुनौती (४.४) विद्यालयका आय श्रोतहरु (४.५) विद्यालयगत अध्ययन विवरण आदि ।
उपरोक्त शीर्षकका आधारमा संक्षिप्त विवरण बिशेष परिस्थितिमा देशका पाँच विकास क्षेत्रमा नेपाल सहिद प्रतिष्ठान नेपालले सहिदहरुकै नाउमा सहिद स्मृति आवासीय मावि स्थापना गरेर अँग्रेजी माध्यममा सञ्चालन हुँदै आएका अनुकरणीय रुपमा उत्कृष्ठ रुपमा नतिजा ल्याउन सफल विद्यालय पूर्ण सरकारी खर्चमा सञ्चालन भएका, कमजोर पक्षलाई निराकरणका उपाय दिनु उचित हुनेकुरा लेखक पहाडीले उल्लेख गर्नुहुन्छ । गुठीमार्फत सम्पूर्ण आर्थिक भार बहन गरी सञ्चालन हुन कति दीगो र ब्यवहारिक होला ? अब त शिक्षा विभागले आफ्नो नीति भित्र पारी सञ्चालन गर्न पनि उचित होला । शिक्षा सीमित नागरिकका लागि मात्र नभएर सबैका लागि हुनुपर्ने कुरा पहाडीले व्यक्त गर्नुहुन्छ । सबै विषयका बिषयगत शिक्षकहरुलाई समय–समयमा तालिम र पुनःर्ताजगी तालिम दिनुपर्ने, विद्यार्थीहरुलाई सीपमूलक व्यवहारिक र व्यावसायिक शिक्षा कक्षा ९ देखि १२ सम्म बिशेषगरी पीडितका सन्तानले बजारमा खपत भएर जनशक्तिको खाँचो पूर्तिद गर्न सकुन् । यी विद्यालयहरुलाई मूलधारमा ल्याई सबैको अपनत्व हुनेगरी समाबेसी बनाएर प्राबिधिक धारको पठनपाठन गरेर राम्रा पक्षलाई अँगालेर नयाँ खोजतर्फ लाग्नुपर्ने सुझाव पहाडीको लेखनमा आएको छ । शिक्षा देशको मेरुदण्ड भएकोले यस्ले योग्य, सबल र सक्षम नागरिक बनाउँदछ । त्यसैले यो प्राप्त गर्नु नेपालीको नैसर्गीक अधिकार हो । संविधानमा मावि तहसम्म निःशूल्क शिक्षा पाउने मौलिक हकमा उल्लेख छ । ज्ञान, सीप र अनुसन्धान गर्ने खुवी शिक्षाले दिएतापनि सरकारले नीतिमा लगानी शिक्षक सुबिधा, तालिम गरेको देखाइए तापनि व्यक्तिको आन्तरिक धारणा नहुँदा, ठोस उपलब्धि देखिएन भन्ने गुनासो पनि यस आलेखमा देख्न पाइन्छ । दक्ष, योग्य, सीपमूलक शिक्षा विश्व बजारमा प्रतिस्पर्धामा बिक्ने भएन । शिक्षामा आमूल परिवर्तन गरी ज्ञान, सीपमूलक शिक्षा दिन जरुरी ठान्नु हुन्छ लेखक पहाडीज्यू ।
१० बर्षे सशस्त्र जनयुद्धले धेरै बालबालिकाहरुलाई नराम्रो किसिमले प्रभाबित पारेर बिचल्लीमा परे । केहि थोरै छात्रबृत्ति र केहि राहत सुबिधा दिएर पनि सरकारले अभिभावकत्वको भूमिका निभाउन सकेको छैन । त्यति सुबिधाले त उन्को जीवन निर्बाह हुन सक्दैन । त्यसैले तिन्को लालन पालन र पठनपाठन, रोजगारीको ग्यारेन्टी लिनुपर्ने सल्लाह दिनुहुन्छ । अझसम्म सबैका लागि गुणस्तरीय शिक्षा सहजै पुग्न सकेको छैन । शिक्षाको स्थिति कमजोर नै छ । सिमान्तकृत, अल्पसंख्यक, गरीब, पीडित, अपांगसम्म शिक्षा त्यति पुग्न सकेको छैन । अब यिनिहरु प्रति द्दष्टि दिनु जरुरी देखिन्छ । दीगो विकासका लक्ष प्राप्त गर्ने शिक्षा साधन र साध्य पनि हो । सीप, क्षमता, ज्ञान आर्जन गर्ने माध्यम पनि शिक्षा नै हो भन्नु हुन्छ लेखक पहाडी जी ।
नेपालको संविधानले सबैका लागि अनिबार्य निशुल्क आधारभूत शिक्षा, निशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गरेको, स्थानीय निकायलाई अधिकार सम्पन्न गरी, स्थानीयआयश्रोत परिचालित गरी शिक्षा, स्वास्थ्य संस्था सञ्चालन गर्ने जिम्मा दिई समितिमा पनि सुधार हुनुपर्ने भन्ने उल्लेख छ । बिद्यालय क्षेत्र विकास योजनाले शिक्षाको गुणस्तर बृद्धि गरी पहुँच बिस्तारलाई निरन्तरता दिई दूर्गम, पिछडिएका पीडितलाई पनि शिक्षाको अबसर प्रदान र असमानता हटाउने कुरा गरेको छ । सन् २०१५ को सबैका लागि शिक्षा नीति कार्यान्व्यन गर्ने कुरा पनि यसमा उठाइएको छ । १० बर्षे जनयुद्धमा ज्यान गुमाउने र अपांगका सन्तानहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर सहिद प्रतिष्ठानको मातहतमा रहनेगरी विसं. २०६६ सालमा सहिदहरुकै नामबाट सहिद स्मृति आवासीय माविहरु स्थापना गरिए । राष्ट्रिय विकासका लागि आवश्यक पर्ने जनशक्ति योजनामा सबै किसिमका सन्तानले पढ्न पाउने गरी स्थापित यी बिद्यालयहरु सञ्चालनमा रहेका मावि, मावि शिक्षक, विद्यार्थी र यस सम्बन्धि विकासका बारेमा जानकारी लिन यस अध्ययन प्रतिबेदनले सरोकारवालालाई सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।
तात्कालिन पाँच विकास क्षेत्रमा स्थापित सहिद स्मृति आवासीय माविहरुको बर्तमान अवस्था, शैक्षिक, भौतिक गुणस्तर, पूर्वाधार लगानी, सुशासन, समता र समाबेशिताका दृष्टिले विद्यालयको अवस्था निहाल्ने, सिकाइ अबस्था र उपयुक्त सिकाइ वातावरण जानकारी राख्नु यस अध्ययनको उद्देश्य रहेको देखिन्छ । यी बिद्यालयहरु नेपाल सरकारको मूलधारमा ल्याउने र बिद्यालयलाई ब्यबस्थित ढंगले सन्चालन गर्न सकिने औजार वा उपाय तैयार पार्नु अध्ययनको अर्को उद्देश्य भएको सोधकर्ता राजेन्द्र पहाडीले प्रष्ट पार्नुभएको छ ।
विसं २०६६ सालमा स्थापित सहिद स्मृति आवासीय मावि मात्र अध्ययनको सीमाभित्त रहेका छन् यस अध्ययन कार्यमा । ती बिद्यालयहरुका सबल दूर्बल र सुधार गर्न सकिने कुराको सीमा, बिद्यालयका भाबि कार्यक्रमहरु अध्ययनका क्रममा प्राप्त तथ्य अभिलेखका आधारमा सम्बन्धित निकायलाई सुझाब प्रस्तुत गरिएको छ यस अध्ययनमा । छनौटमा परेका बिद्यालयहरुको स्थलगत अध्ययन बिद्यालय परिवार, शिक्षक, बिद्यार्थी, समिति र अभिभावकहरुसँग कुराकानी, सम्बाद, पुस्तक, पत्रपत्रिका, विद्यालयहरुका प्रतिबेदन, तथ्यांकहरु द्वितीय सामग्रीका रुपमा प्रयोग गरिएको कुरा अध्ययनकर्ताबाट ब्यक्त भएको छ । संबिधानको भाग ३, धारा ३१ मा प्रत्येक नागरिकले आधारभूत तहसम्म अनिबार्य र निशुल्क शिक्षा र माध्यमिक शिक्षा निशुल्क पाउने हक छ भनी उल्लेख गरिएको छ । अपाड्ग, असहायलाई उच्चशिक्षा पाउने र दृष्टिबिहीनलाई ब्रेललिपि अनि बहिरा र स्वरबिहीनलाई सांकेतिक भाषाबाट शिक्षा दिने र पाउने अधिकार छ । र मातृभाषामा शिक्षा पाउने हक छ । शिक्षा चारित्रिक, ब्याबहारिक, ब्याबशायिक, बैज्ञानिक, जनमुखि हुनपर्ने भन्ने छ । यिनै तथ्यका आधारमा अनुसन्धाता राजेन्द्र पहाडीले आफ्नो सोध निश्कर्षमा सबैका लागि गुणस्तरीय शिक्षा दिने दायित्व सरकारको हो तर शिक्षा बजारीकरण गरिएको छ भनेर उल्लेख गर्नुभएको छ ।
सबै दलको चुनाबी घोषणापत्रमा स्थानीय तह पूर्ण सक्षम नहुने बेलासम्म केन्द्रले देशका कुनाकाप्चासम्म बिद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक, ल्याप्टप, ई पुस्तकालय खोल्ने, दशकक्षासम्म निशुल्क शिक्षा दिने उल्लेख छ । सुसंस्कृत, उद्यमशील, दक्ष नागरिक तयार गर्ने, देशका नव युवायुबतीहरुलाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा दिनको सट्टा, कलिला, अपरिपक्व दिमागका युवायुवतीहरुलाई युद्धको भुमरीमा हुरलियो । यसरी होम्दा कैयौले ज्यान गुमाउन परो, कैयौ अपांग भएर मर्नु न जिउनु भएर बाँच्न परेको छ । सबैलाई सुरक्षित, अहिंसा, समाबेशी र प्रभावकारी शिक्षा प्रदान गर्ने लक्ष्य, शिक्षाको पहूँच देशको कुनाकुनासम्म पुगोस्, कोहि नछुट्ने गरी समानताका आधारमा बिभिन्न जातीय, धार्मीक सांस्कृतिक, भौगोलिक क्षेत्रका सबै अपांग सीमान्तकृत अल्प संख्यक बिभिन्न घटनामा पीडितका सन्तानहरुले शिक्षा पाउनु नैसर्गीक अधिकार हो भन्ने सन्र्दभलाई यहाँ जोडिएको छ ।
सीमान्तकृत, अपांग, अल्पसंख्यक, बिभिन्न घटनामा पीडितका सन्तानहरुले नेपालका पाँच बिकास क्षेत्रका खुलेका पाँच सहिद स्मृति आवासीय माविमा अध्ययनरत विद्यार्थीहरुमा छात्र १०१९, छात्रा ६०५ गरी जम्मा १६२४ मध्येमा आवासमा १३८३ र स्थानीय २४१ छन् भने जम्मा कर्मचारीहरु ३५ र शिक्षकहरु जम्मा ९० रहेका छन् भन्ने कुरा अध्ययनकर्ता राजेन्द्र पहाडीले यस आलेखमा उल्लेख गर्नुभएको छ । दोलखाको जिरी र डोटीको दीपायलमा १० कक्षासम्म सञ्चलित विद्यालयहरु अब १२ कक्षासम्म संचालन गर्ने योजना भएको सूचना पाउनू भएको पहाडीज्यूले शिक्षक बिद्यार्थी बिरण ग्राफ र तालिकामा पनि उल्लेख गर्नुभएको छ । सबै बिद्यालयहरुको अध्ययन पश्चात सम्पूर्ण बिद्यालहरुका सकारात्मक पक्षहरु (सबै बिद्यालयहरुका सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने, पीडितका सन्तानहरुले निशुल्क शिक्षा पाउने ब्यबस्थाले सहिदहरुको सम्मान भएको महशुस, प्रतिष्ठानका सबै बिद्यालयहरु एकै नीति, नियम र अनुशासनमा चलेका कुरा यसमा उल्लेख भएकाछन् । पाँचै क्षेत्रका पाँच बिद्यालयका सबै बिद्यार्थीहरुले गासबास पोशाक लगायतका सुविधा पाएका, आर्थीक, भौतिक सुबिधाहरु बृद्धि हँुदै थपिदै जाने कुराको पनि यस लेखमा चर्चा भएको देखिन्छ । जिरी बाहेक अन्य बिद्यालयहरुलाई भूकम्पले प्रभाव नपारेको, सबै बिद्यालयहरुमा अँग्रेजी माध्यममा पढाइभएको, स्थानीय बिद्यार्थीहरु पनि यी बिद्यालयमा अध्ययनरत रहेका, ब्यबहारिक ज्ञान, सीपका लागि कृषि, पशुपंक्षि पालन भएको, कर्मचारी, शिक्षकले सिमित सेवा सुबिधामा राम्रो सेवा गरेका, संचयकोष कट्टीमा पारदर्शी हुनपर्ने, स्थानीयको पनि बिद्यालयप्रति अपनत्व भएको लगायतका सकारात्मक कुराहरु अध्ययनबाट लेखक राजेन्द्र पहाडीले निकाल्नुभएको छ ।
दुर्बल पक्षामा बिद्यार्थी संख्याको अनुपातमा कोठासहितको भौतिक संरचना कम, माथिल्लो कक्षामा बिषयगत र ब्याबशायिक शिक्षकको अभाव, छात्राबासमा बस्ने बिद्यार्थीका लागि शैक्षिक सामग्री र कोठा, खाट, ओड्ने ओछ्याउने, लगाउने पोशाक, जाडोमा लाउने कपडाको अभाव हुने, एउटै खाटमा दुईजना सुत्न पर्दा स्वास्थ्य समस्या रोगको डर, विरामी हुँदा आफ्नै अभिभावकले चासो नलिइदिने समस्या, शैक्षिक तथा अन्य सामग्री समयमा नआइदिने, दाङ र डोटीमा जग्गा प्रयाप्त नहुनु, शिक्षक दरबन्दी सेवा, सुबिधा कमभए पनि बिहान बेलुका अतिरिक्त कक्षा लिनपर्ने, ेहोष्टेल वार्डेनको केहि सुबिधा नभएको, न्यून सेवासुविधामा २४ घण्टा खट्नपर्ने, २४ सै घण्टा विद्यार्थीहरु विद्यालय परिसरमा बसिरहन पर्ने हुँदा चौतर्फी बिकासमा बाधा, छात्रछात्राको छात्राबास एकै ठाउँमा आमने सामनेमा हुँदा उमेरका हिसाबले समस्या, बिद्यार्थीहरु चाडबाड र अन्य अबस्थामा विना सूचनाबाहिर जाने, स्थानीय जनताको बिद्यालयप्रति रुचि नदेखिएको पाइएको लगायतका कुराहरुलाई उठान गरिएको छ ।
सहिद स्मृति आवासीय माबि चाउथे मझेरीपाटन १४ काश्कीमा राजेन्द्र पहाडीज्यूको अध्ययन अनुसन्धानको यो पहिलो बिद्यालयको रुपमा प्रवेष हो । बिद्यालयबाट स्वागत, परिचय, प्रशनाबली र अन्तबार्तामा सत्तरी रोपनी जग्गामा स्थापित यो बिद्यालयमा छ जना कर्मचारी र बीस जना शिक्षकहरुले एकदेखि बाह्रकक्षासम्म छात्र एकसय उनान्साठी र छात्रा एकसय एघार गरी दुइसय सत्तरी विद्यार्थीहरुलाई अध्यापन गराइरहेको तथा कक्षा ११ र १२ मा विज्ञान, ब्यबस्थापन र मानविकि विषय अध्यापन भैरहेको उल्लेख छ । भौतिक साधनमा खेतिमा तरकारी, मकै, सबै असिनाले खाएको अन्य तरकारी राम्रो र खेतिमा बीस पच्चिस मुरी धान उब्जने आशा, पशुपालनमा बिद्यार्थीहरुको ब्याबहारिक ज्ञानका लागि गोठमा ३ गाई, दुई बाच्छी र दुई पाडी भएको, गाईले दशपन्ध्र लीटर दिएको दुध बिद्यालय प्रयोगलाई हुने, दाना औषधिमा घाटा हुने उद्यमशील शिक्षाका लागि दश बंगुर पालेको भाइरसले नौ मरी एक बाँकि रहेका र चार पुनः थपेको, पंक्षीमा कुखुरापालनमा हाल रेखदेख गर्ने ब्यक्तिको अभाबमा बिद्यालय समितिको निर्णयले मासिक तेह्र हजारमा तीन बर्षको ठेक्कामा दिएको, घाटै भएपनि ब्यबहारिक र ब्याबशायिक ज्ञान सीपका लागि कृषि, पशु, पंक्षीपालन गरेको जानकारी बिद्यालयबाट प्राप्त गर्नुहुन्छ सोधकर्ता राजेन्द्र पहाडीले । साथै आफ्ना उपलब्धिहरुमा ०७४ को एसइइमा २७ र बिज्ञानका २० जना बिद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका, खेलमा शिल्ड पाएका, बिज्ञान प्रदर्शनीमा राम्रो गरेकोले बिद्यार्थी जापान जाने मौका पाएका आदि विषयको चर्चा गरिएको देखिन्छ । समस्यामा खानेपानी, बाटोको, स्थायित्व र सेवा सुविधा कम हुँदा उच्च कक्षामा पढाउने शिक्षकको समस्या, पालेघर, बिज्ञान प्रयोगशाला सहिद स्मारक नहुनु, कक्षा १२ पास पछि छात्रबृति आदिको ब्यबस्था नहुनु, भावि योजना, बिज्ञान प्रयोगशाला, सहिद स्तम्भ, सहिदपार्क, खेलमैदान, सेकुरिटी गार्ड भवन, हेल्थ रुम, शिक्षकको शौचालय, बिद्यालय घेराबार र विद्यलय आउने बाटो निर्माण गर्ने योजना आदि सबै बिद्यालय परिवारले अनुगमन, अनुसन्धानकर्तासँग बिद्यालय बिबरण खुलस्त राखेको देखिन्छ । भोलीको लागि कमिकमजोरी र सुधारका लागि केहि आशा राख्दै थोरै बसाइको छोटो माया भएपनि माया माया नै हो बिद्यालय परिवार सबैसँग मूस्किलले बिदा भएर धन्यबाद दिदै अघि बढ्नु हुन्छ अनुसन्धानकर्ता पहाडी जी । मााछापुच्छ्रेको चीसो हावासँगबाट बिदा भएर बसमा सरर तातो हावा लिन सिधा सुदुरपूर्व नारायणगढ, हेटौडा हुँदै सुनसरीको इटहरीमा पुग्नुहुन्छ । जहाँ खुल्ला र रमाइलो बातावरण उहाँका आँखामा पर्दछ ।
चाउथेमा रहेको विद्यालयको अध्ययन सम्पन्न गरी सहिद स्मृति आवासीय मावि इटहरी उप म.नपा २५ सुन्सरी पुग्नुहुन्छ अध्ययनकर्ता राजेन्द्र पहाडी । लगभग बीस कट्ठा जगामा तैयारी बिद्यालय क्षेत्रको प्रबेश द्वारका भाइको सूचना अनुसार बिद्यालयका प्रअसमेत आई अचानक नौलो पाहुना पाउँदा खुिशका साथ स्वागत गर्दै कार्यालय प्रबेश गराउनुका साथै परिचय हुन्छ । कार्यक्रम अनुसार प्रश्नावली अन्तर्वार्तासहित अवलोकन विधिबाट त्यहाँबाट बिभिन्न सुचना बटुल्न सुरु गर्नु हुन्छ । सैतीस कोठे दुईतले दुई छात्राबास, सत्र कोठे बिद्यालय भवनमा २४७ छात्र, १७० छात्रागरी ४१७ जना छात्रछात्राले अँगे्रजी माध्यमबाट अध्ययन गरिरहेका छन् । स्थानीय ७९ र छात्राबासमा ३३९ बस्छन् भने आठ कर्मचारी र शिक्षक बीस जनाले अध्यापन गराउनुहुन्छ त्यस विद्यालयमा । अध्ययनरत सबै बिद्यार्थीहरु पीडित, द्वन्द पीडित अपांग र युद्धमा होमिएका बाबुआमाका सन्तान हुन् । यहाँ एक देखि बाह्र कक्षासम्म पढाइहुन्छ । कक्षा ११ र १२ मा ब्यबस्थापन बिषय छ । बिद्यार्थीको निरन्तर मूल्यांंकन गरिने तिनको सर्बांगीण विकासका लागि भित्रै नियमित अतिरीक्त क्रियाकलाप, शैक्षिक भ्रमण गरिने, हाताभित्रनै सबैको स्वास्थ्य परिक्षण गरिने, शिक्षा कार्यालय र अन्य संस्थामार्फत बिषयगत तालिम शिक्षक, कर्मचारीलाई दिइने गरेको बिद्यालयप्रति स्थानीय को पनि रुचि बृद्धि भएको कुरा यहाँ चर्चा गरिएको छ । यसका साथै ३ कोठे भण्डारसहितको भान्साघर, सबैका लागि शौचालयको समुचित ब्यबस्था, बिद्यालय समिपको पाँचसय मीटर बाटो पीच गरिएको, राष्ट्रिय उर्जामार्फत बीस घनमीटरको बायोग्याँस र २६५ वाटको सोलर बत्ती छात्रावासमा जडान,त्यस्तै सिमएन धरान समेतको संयुक्त लगानीमा ७५ घनमीटरको बायोग्याँस निर्माण भएको कुरा अनुगमनकर्तालाई प्रशासनले जानकारी दिएको देखिन्छ ।
उक्त विद्यालयको समस्याहरुमा पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रयोगात्मक, शैक्षिक सामग्री, बत्ती नपुग, प्रशासनिक भवन, पाहुनाघर, सफा पिउने पानी, कर्मचारी र बिद्यार्थी अनुपातमा शिक्षक दरबन्दिको अभाव, कर्मचारी, शिक्षकको श्रमको अनुपातमा पारिश्रमिक कम, शिक्षक तालिम, होस्टेल वार्डेन र वार्डेन भत्ता र होस्टेल आवास भत्ता नहुनु, प्रभावकारी शिक्षणका लागि सामग्री, पुस्तक, निर्देशिका नहुनु, बिभिन्न ज्ञानका लागि बिद्यालयहरुका बिच सुचना आदान प्रदान नहुनु, जवान छात्रछात्राको छात्रावास आम्ने साम्ने हुँदा ११ र १२ का छात्रछात्रामा समस्या र बिद्यार्थीमा भाषिक समस्या भोग्न परेको गुनासो आदि उठान भएको पाइन्छ । भाबि योजनामा सभाहल, कार्यालय भवन ,अतिथि गृह, शिक्षक आवास निर्माण गर्ने, टीटीबोर्ड, छात्रावासका कोठाहरुमा टेबल, रेक, कपडा झुंड्याउने ह्यांगर, पुस्तकालय, पुस्तकालयाध्यक्षको ब्यबस्था गर्ने, साना नानीको अध्यापनमा मण्टेश्वरी र ठूलामा मल्टिमेडिया अपनाई अध्यापनमा सुधार गर्ने आदि प्रस्तावको रुपमा आएको देखिन्छ । बंगुरपालनमा सुधार गर्ने, इ.लाइब्रेरिलाई ब्यबहारमा ल्याउने, बिषय बिशेषज्ञ बोलाई कक्षाबलोकन गराई पृष्ठपोषणको मार्फत अध्यापनमा सुधार ल्याउने, बिद्यार्थी शिक्षकको लेखनकला बिकासका लागि बार्षिक मुखपत्र प्रकाशन गर्ने, परीक्षा प्रणालीलाई सुधार गरी सोको अभिलेख ब्यबस्थित गर्नेजस्ता बिभिन्न योजना विद्यालयसँग भएको तथ्यहरु पनि सोधकर्ता राजेन्द्र पहाडीले पहिचान गर्नुभयो । यसरी बिभिन्न बिधिबाट बिद्यालयको बिबरण संकलन गरिसकेपछि बिद्यालय परिवारलाई धन्यवाद दिंदै बिद्यालय परिबारबाट बिदा भएर सोधकर्ता पहाडी जी सुदुर पश्चिमाञ्चल तिर लाग्नुहुन्छ ।
तातो हावा छाडेर हेटौडा, बुटबल, भालुबाङ, लमही, अत्तरियाबाट माथि लागी स्याउलेबाट झरी सेती नदीको तिरैतिर राजपुर डोटी पुग्नुहुन्छ सोधकर्ता पहाडी अर्को विद्यालयको अध्ययनका लागि । सहिद स्मृति आवासीय मावि राजपुर डोटी विसंं. २०६६ सालमा नेपालका पाँच विकास क्षेत्रमा सहिद प्रतिष्ठान नेपाल अन्तरगत एउटै उद्देश्यमा द्वन्द पीडितका सन्तानहरुलाई शिक्षा दिन १५ रोपनि जग्गामा खोलिएको यो बिद्यालयमा अनुगमनमा प्रबेश गर्दा उद्देश्यअनुरुपको बिद्यालय नपाउँदा त्यत्ति सन्तोष देखिनु हुन्न सोधकर्ता । तैपनि कर्तब्य भित्रको अनुगमन, अनुसन्धानमा परेको हुँदा आफ्नो मार्गमा लाग्नुहुन्छ । प्रावि २०६६ मा, निमावि ०६७ मा र मावि २०७० मा अनुमति लिएर संचालन गरेको यस विद्यालयमा कक्षा १२ सम्म विज्ञान र ब्यबस्थापन विषय सञ्चालन गर्ने योजना बिद्यालय प्रशासनले पहाडी ज्यूलाई बताउनुहुन्छ । नेरफेरमा धेरै बिद्यालय भएर हो वाा पखेराको जगामा खोलिएको भएर हो बिद्यालयको गतिविधिले त्यत्ति सन्तुष्ट पार्न सकेन तापनि देश भरका पाँच विद्यालयहरु कसरी चलेका छन् भनेर अनुगमन, अनुसन्धानमा जानुभएको हुनाले स्वभाबिकै कुरा हो । तैपनि मानव मन र स्वभाव न हो केहि प्रभाव त पक्कै पार्छ । बिद्यालयमा ७ कर्मचारी, १५ शिक्षकले कक्षा १ देखि १० कक्षासम्म छात्र १७३, छात्रा ८२ गरीजम्मा २५७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र छात्रावासमा २२५ जनाको वास र ३२ जना स्थानीय बिद्यार्थी उक्त विद्यालयमा रहेको विवरण यस आलेखमा अटेको छ ।
विद्यालयले अध्ययन अवधीसम्ममा हासिल गरेका उपलब्धीमा एसइइको परीक्षामा गणित बिषयका अतिरिक्त अन्य बिषय सिकाइ उपलब्धि राष्ट्रिय एबम् जिल्ला औषतभन्दा उच्च रहेको, इटीसीमार्फत शिक्षकको तालिमको ब्यबस्था र विद्यार्थीको कक्षा छाड्ने क्रम रोकेकोे, बिद्यार्थीको सरसफाइ, खानपान र स्वास्थ्यमा सुधार, बिहान बेलुका कोचिङ कक्षा संचालन, कम्प्युटर ल्याब सुधारी प्रयोगमा ल्याएको, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट तारजाली ल्याई भिरालो जमिन उकास्ने काम र शिक्षा कार्यालयमार्फत शौचालय निर्माण, परिसर भित्र जाली राखि सिँढी, नाली निर्माण, प्राबिधिक कार्यालय सिलगढीमार्फत २ कोठे सहिद स्मृृति भवन निर्माण गर्ने योजना, अधुरो छात्रावास भवन सम्पन्न हँुदै, बिषम परिस्थितिमा पनि विब्यस, अभिभाबक, शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्थाको संयुक्त प्रयासबाट बिद्यालय संचालन गर्न सफल भएको कुरा प्रशासनबाट अध्ययनकर्ताले पाउनुभयो ।
यसैगरी विद्यालयले भोगेका समस्यामा छात्रावास, भान्सा घर, भिडियो हल, बिज्ञान प्रयोगशाला, पुस्तकालयको अभाव, ठूलो अण्डरग्राउण्ड ट्यांकिको अभावले पानीको दुरुपयोग, आठ रोपनि जग्गा सदुपयो नभएको, बिद्यालय मुनिको तारबार मर्मत गर्न पर्ने, सवारी साधनको अभाव, राम्रो नराम्रो कामको अभिलेख नहुँदा दण्ड र पुरस्कारको व्यवस्था गरी अनुशासन कायम नभएको, भवनमा टीनको छाना भएकोले जाडो र गर्मीमा कक्षामा बस्न कठिन, खेलमैदान, खेल सामान, शिक्षक तालिम र शैक्षिक सामग्रीको अभाव, पूर्णरुपमा पैरो नियन्त्रण नहुनु, बिद्यार्थीमा देखिने रोग नियन्त्रणको समस्या, शिक्षक कर्मचारी स्थायी नहुनु र संचय कोष नकाटिनुले शिक्षकमा निरासा जस्ता समस्या र समाधानको आशा राख्दै विद्यालय बिबरण अध्ययनकर्ता पहाडीज्यू समक्ष बिद्यालय प्रशासनले राख्नुभएको विस्तृत चर्चा यहाँ गरिएको छ । बिद्यालयको तथ्य बिबरण संकलन गर्न नै आफु त्यहाँ गएको, तथ्य बिबरण संकलन गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पेश गर्ने विश्वास दिलाउँदै छोटो मायाबाट विद्यालय परिवारसँग मुस्किलले बिदा भएर अघि बढ्नु हुन्छ सोधकर्ता ।
उक्त विद्यालयको अध्ययन सम्पन्न गरी राजेन्द्र पहाडी दिपायलदेखि बसमा तिरैतिर हुँदै स्याउले डाँडामा पुगी तल झरेर अत्तरिया पुग्नुहुन्छ । तहाँबाट सिधा उत्तर लागेर कोहलपुर हुँदै लमहीबाट पश्चिम उकालो लागि दाङ उपत्यकामा प्रबेश गरी घोराही हुँदै तुल्सीपुर पुग्नुहुन्छ । उत्तरतिर माथि स्वर्गद्वारी बिचमा अबस्थित छ दाङ उपत्यका । त्यहीँ अवस्थित छ सहिद स्मृति आवासीय मा.वि. तुलसीपुर १७ बनकट्टी दाङ । बिसंं. २०६६ सालमा देशका पाँच विकास क्षेत्रमा पूर्ण सरकारी अनुदानबाट सहिदहरुकै नामबाट एउटै उद्देश्य लिएर खोलिएका बिद्यालयहरु मध्येको एक हो यो विद्यालय । बसबाट झरी बिद्यालय प्रबेश द्वारबाट आफ्नो आगमनको सूचना बिद्यालय प्रशासनमा पुगेपछि प्रअसमेत हाँस्दै आएर स्वागत गरेर लैजान्छन् । कार्यालयमा पुगेर परिचय पछि पहाडीज्यूले आफ्नो उपस्थितिको कारण जनाउ दिएपछि प्रश्नाबली अन्तर्बार्ता र अबलोकन बिधिबाट सूचना संकलन कार्य आरम्भ गर्नुहुन्छ । प्राप्त विवरणअनुसार ठूला २ भवनमा ९ कोठा दुई तलेमा, १४ कोठा, ३ तले भवनमा जम्मा २३ कोठाको टीनको छाना भएको बिद्यालयमा ७ कर्मचारी, २० शिक्षकहरुले छात्र ३०३, छात्रा १४८ गरी ४५१ छात्रछात्राले एक कक्षादेखि १२ कक्षासम्म अध्ययनरतरहेको, कक्षा ११ र १२ मा ब्यबस्थापन विषय रहेको र ४०७ छात्राबासमा बसेर पढ्ने र स्थानीय ४४ जना बिद्यार्थीहरु भेटिन्छन् । विद्यालयमा पाक घर र भान्सालय गरी २ घर अलग्गै छन् । सबलपक्षहरुमा बिद्यालयको भौतिक र शैक्षिक प्रगतिका लागि समिति इमान्दारिसाथ निरन्तर खटेको, बिभिन्न जातजाती, धर्म, संस्कृति, भूगोल, भाषाका बिद्यार्थीहरुलाई निर्धारित पाठ्यक्रममा अंगे्रजी माध्यममा पढाइ भएको, प्रयाप्त बिद्युतको अभावमा भएका कम्प्युटर पनि सबै सञ्चालन गर्न नपाइएको, मागेकै जग्गा भएपनि प्रयाप्त खैलमैदान, शान्त, मनोरम प्राकृतिक बाताबरणमा पहाडीजी लोभिनु हुन्छ । बिभिन्न संघ संस्थाहरुले बारम्बार सहयोग गर्ने गरेको, नबौं राष्ट्रपति रनिङ शिल्डमा दोस्रा स्थान प्राप्त, कक्षा दशमा अध्ययनरत छात्राले जापानमा दशदिने शैक्षिक अबलोकन भ्रमण गरेको आदि कुरा विद्यालयको प्राप्तीका रुपमा रहेकाछन् ।
यस विद्यालयका चुनौतीहरुमा कोठाहरु कम र भौतिक साधनको अभावमा द्वन्दग्रस्त क्षेत्रको केन्द्र भएर पनि सबै पीडितका सन्तानले पढ्ने मौका नपाएका, नपाउनको अन्य कारण बिद्यालय प्रशासनले अभिभाबकहरुलाई बालबालिका भेट्न आउँदा बस्ने सुविधा दिन नसकेको, साना नानीहरुलाइ खेल्ने र खेलेर पढ्ने मौका नपाएका, शैक्षिक सामग्रीको कमी र शिशु कक्षा नहुँदा सुरुमा नै एक कक्षामा भर्ना लिनुपर्ने अबस्था, बिद्यालय हाता पूरा नघेर्दा सिंचाइको बाँधमा परी बिद्यार्थीले ज्यान गुमाउन परेको, बिद्यालयमा भौतिक साधन र प्रयाप्त जनशक्ति नहुँदा स्थानीयका सन्तानको भर्नाचाप थेग्न नसकिएको, बिद्यार्थीलाई ब्यबहारिक र ब्याबसायिक शिक्षा दिनसके बिद्यालयबाट निस्केपछि पेशा अपनाई आत्मनिर्भर हुन्थे, तर साधन स्रोत छैन । उमेर पुगेका ११ र १२ का छात्रछात्राको छात्राबास अलगअलग नहूँदा नैतिकताका हिसाबले समस्या भैरहने भनाई, बिषयगत शिक्षकको दरबन्दि नहूँदा अध्यापनमा कठिनाई, बिद्यार्थी संख्या धेरै र शिक्षक र भौतिक साधनको अभावमा बिद्यार्थीहरु बिदाबाट नआउने आफु खुशि हिंड्नाले पढाइ र परीक्षाको नतिजामा नकारात्मक प्रभाव पर्ने, धेरै बिद्यार्थी भएकोले र अनुशासन बिना नियन्त्रण गर्न कठिन परेको, छात्राबासमा कोठा बिछौनाहरु थोरै, बिद्यार्थीहरु धेरै भएकाले एउटा विछौनामा दुईजना सुताउँदा स्वास्थ्यमा समस्या आउने डर, छोराछोरी बिरामी हुँदा मातापिताले चासो नलिने समस्या, शिक्षक र कक्षा कोठा कम हूँदा ५५–६० बिद्यार्थी कक्षामा राख्नुपर्ने अबस्था, पाहुना घर, पालेघर, सभाहल नभएको, संस्कृृत बिश्व बिद्यालयको जग्गा भाडामा लीई तरकारी खेति गरिएको र खेल मैदान बनाइएको कुराको जानकारी पहाडीजी पाउनुहुन्छ । अपेक्षाहरुमा बिद्यार्थी संख्याका आधारमा भौीतक सुधार र शिक्षक, कर्मचारी थपिनु पर्ने, आवासीय शिक्षक र वार्डेनलाई बिशेष भत्ता हुनपनेर्, सरकारी शिक्षक सरह यहाँका शिक्षकले पनि सबै सुबिधा पाउन पर्ने, यस्तै बिद्यालयबाट उत्तीर्ण बिद्यार्थीले छात्रबृत्तिमा प्रतिस्पर्धामा भागलिन पाउनपर्ने, बिद्यालय प्रभावकारी सञ्चालन र अनुशासन कायम गर्न प्रतिष्ठानले कडा नीति नियम बनाई लागु गर्न पर्ने, बिद्यालयलाई उपलब्ध हुने रकम मूल्यबृद्धि अनुसार बृद्धि हुनुपर्ने, कसंकोष कट्टी गरिएको रकम पारदर्शी हुनपर्ने, यस्तै बिद्यालयमा अध्यापन गराउने शिक्षकले पनि शिक्षा सेवा आयोगमा भागलिन पाउनपर्नेलगायतका विषय रहेको देखिन्छ । भाबि कार्य योजनामा छात्राबास, सभाहल, पालेघर, बिद्यालय प्रबेश द्वार, बिज्ञान प्रयोगशाला, फर्निचर निर्माण गर्ने, होष्टेलका खाट, सिरकडसना, तन्ना, बिज्ञान सामग्री र विद्यालय हाताको ४५० मीटरमा तारबारको ब्यबस्था गर्नेm विषयगत शिक्षक तालिम, स्वास्थ्य परीक्षण गर्ने, दक्ष जनशक्ति, परिसरमा सीसी क्यामेरा राख्ने, शिक्षक कर्मचारीका लागि बिद्युतीय हाजिरी राख्ने, थप भान्से, पलम्बर र इलेट्रिसियन आदिको ब्यबस्था गर्नेजस्ता बिद्यालयमा भएगरेका सारा बिबरणहरु पहाडीज्यू समक्ष बिद्यालय प्रशासनबाट पेश भएको देखिन्छ ।
त्यसपश्चात बिद्यालय परिवार र विद्यालय व्यवस्थापन समिति समेतसँग मुश्किलले बिदा भएर उक्त विद्यालयबाट बाहिरिनुहुन्छ सोधकर्ता पहाडी । दाङ उपत्यका वरिपरिका हरियाली डाँडा बीचको रमाइलो तुलसीपुर घोराही र दाङ उपत्यकाबाट विदा हुँदै लमही झरेर भालुबाङ हुँदै चन्द्रौटा–बुटबल, नारायणगढ–मुगलिन–काठमाण्डौ–धुलिखेल–लामोसाँगु–खोप्रे–चरकिोट–भोटेकोशी पुल तरी उकालो चडेर जिरीको चिसो डाँडामा पुग्नुहुन्छ उहाँ ।
जिरी नगरपालिका वडानं ६ दोलखा जङ्गले ढुंगेडाँडाबाट हेर्दा पूर्बपश्चिम लम्बिएको जिरीढंगे बजार वारिपारि जंगले डाँडा उत्तरदक्षिण फैलिएको जिरी प्राबिधिक बिद्यालय र हवाई मैदानले अनुसन्धानकर्ता राजेन्द्र पहाडीज्यूलाई साँच्चिकै नेपालको मनामोहक र आनन्ददायक स्वैजरल्याण्डको आनन्द महशुस गर्नुहुन्छ ।
राष्ट्रियस्तरमा एउटै उद्देश्य लिएर एउटै सालमा खोलिएका देशभरिका ५ बिद्यालयहरुमा चार बिद्यालयहरुको अध्ययन अनुसन्धान गरी यो अन्तिम बिद्यालयमा प्रबेश गर्नु हुन्छ । बिद्यालयलाई भूकम्पको क्षति देख्दा त्यस ठाउँले दिएको आनन्दमा ठेस लाग्दछ । १२ रोपनी जग्गामा १५ कोठे भवनमा पाँच कोठा भूकम्पले क्षति भएर बाँकिमा ७ कर्मचारी, १५ जना शिक्षकहरुले कक्षा १ देखि १० सम्म छात्र १३६, छात्रा ९३ गरी २२९ बिद्यार्थीहरुले अँगे्रजी माध्यमबाट अध्ययन अध्यापन गराई राखिएको, तीन पटक एसइई परीक्षामा सम्मिलित भै सर्बोत्तम अंक प्राप्त गरी शतप्रतिशत उत्तीर्ण, राम्रो गर्नेलाई पुरस्कृत गर्न एकलाख अक्षयकोष ब्यबस्था गरिएको ११ र १२ कक्षा पनि सञ्चालन गर्ने योजना, भबनमा छ कोठे नयाँ पक्की भबन, भान्सा घर र भोजनालय निर्माणाधिन र भत्केको कोठा तुरुन्त मर्मत गर्ने योजना रहेको विद्यालय परिवारबाट जानकारी प्राप्त हुन्छ । सबल पक्षमा दक्ष, अनुभवी, मेहेनति शिक्षकको मेहेनतले एसइई परीक्षामा पूरा उत्तीर्ण, बिद्यार्थीको सर्बाडगीण विकासका लागि नियमित अतिरिक्त क्रियाकलाप र शैक्षिक भ्रमणको ब्यबस्था, इच्छुक बिद्यार्थीका लागि तेक्वाण्डो शिक्षकको ब्यबस्था, बिद्यार्थीको ब्यबहारिक ज्ञान, सीप र मासुका लागि चार बंगुरपालन, रेखदेख बिद्यालयबाट हुने, मासिक ६५०० भाडामा स्मार्ट सेललाई परिसरमा टावर राख्न दिएको, आयब्ययको अभिलेख चुस्त राखी जिशिकाबाट नियमित लेखापरीक्षण गराइने गरेको विवरण प्राप्त भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । बिद्यालयका चुनौतिहरुमा कक्षा सञ्चालन गर्न भत्केका कोठाहरु र अन्य भौतिक साधनहरु छिटो मर्मत गर्ने, अति चिसो ठाउँ भएकोले धुन, नुहाउन पानी तताउन सोलर प्यानलको आबश्यक, ल्याप्टप, टीभीको मर्मत गर्न नसकिएको आदि कुराहरु आएकाछन् । यस विद्यालयका समस्या र अपेक्षाहरुमा पनि अन्य चार विद्यालयसँग मिल्दाजुल्दा नै देखिएको तथ्य अध्ययन प्रतिवेदनको सघन अध्ययन गर्दा जानकारी प्राप्त हुन्छ ।
नेपालका पाँच विकास क्षेत्रका पाँच बिद्यालयहरुको अनुगमनबाट प्राप्त अभिलेखका आधारमा आफुले पाउनुभएका तथ्य सुझावहरु सम्बन्धित निकायमा पेश गरेको विवरण प्रतिष्ठानमार्फत सञ्चालित बिद्यालयहरु शिक्षा विभागमा तहतहमा सञ्चालन गर्नउचित, आबश्यकताका आधारमा गाउँ, नगरपालिकामा यस्ता आवासीय बिद्यालय खोलिन उपयुक्त हुने, पाइरहेको बिभिन्न छात्रबृति कटाई अपांग पिडितका सन्तानका लागि जिल्लास्तरमा सुविधा सम्पन्न आवासीय मावि खोल्ने, आर्थीक, भौतिक सदुपयोगका लागि कलस्टरवाइज र देश भरिका विद्यालयलाई आवासीय रुपमा खोलिनु पर्ने, हाल चलिरहेका पाँच आवासीय माविलाई सुरक्षा विपद, जोखिम न्यूनिकरण कार्यक्रम संचालन गर्नपर्ने र देशभरी थप गरिएका नमूना विद्यालयलाई आवासीयमा बदल्न सकिने ठाउँ र आवश्यकताअनुसार कृषि, बागवानी, भेटेनरी, तरकारी खेति, इञ्जिनिरीङ कक्षा खोल्न जरुरी छ भन्ने लगायतका सुझावहरु सम्बन्धित निकायका लागि राजेन्द्र पहाडीले प्रस्तुत गर्नुभएको छ ।
अब यस्ता बिद्यालयमा स्थानीय विद्यार्थी भर्ना गरी र अभिभाबकहरुलाई पनि समितिमा समाबेस गरी अपनत्व बिकास गर्ने, यस्तै बिद्यालयबाट उत्तीर्ण विद्याथीहरुले पनि अन्यबाट उत्तीर्ण विद्यार्थीले जस्तै छात्रबृति आदिमा भाग लिनपाउन पर्ने, यी बिद्यालयहरुमा पढाउने शिक्षक, कर्मचारीहरुलाई बिधि पुराएर स्थायी बनाइनुपर्ने, ११ र १२ मा पढाउने शिक्षकका लागि अन्य विद्यालयमा पढाउने शिक्षक सरह समान सेवा सुविधा पाउन पर्ने, यहाँका शिक्षकहरुको कसंकोष, स्थायी ब्याज आउने बैंकमा राखी पारदर्शी हुनुपर्ने, यहाँका शिक्षकहरुले पनि गोल्डेन ह्याण्ड सेक सुबिधा पाउनपर्नेु, सरकारी स्तरबाट चलाइने बिषयगत र अन्य जुनसुकै तालिममा यहाँका शिक्षकले पनि सरिक हुन पाउन पर्ने, ब्यबशायिक शिक्षा तल्लो स्तरबाट आरम्भ हुनुपर्ने, आवासीय बिद्यालयमा होष्टेल वार्डेन , कृषि जेटी, भेटेनरी जेटी, भीटी र योग्य अहेबको दरबन्दी हुनपर्ने, शिक्षक बिद्यार्थी सबै बिद्यालय आवासमा बसेर ब्यबशायिक विषय अध्ययन, अध्यापन गराउँदा नयाँ कुराको अनुसन्धान गर्दा नयाँ कुरा पत्ता लगाउन पनि सकिने हुन्छ भन्ने सुझावहरु प्रस्तुत गरिएको देखिन्छ ।
सबैका लागि गुणस्तरीय शिक्षाका लागि बहूमुखि सिकाइको थलो बन्न कुनै पनि दलको राजनीति पहूँचबाट टाढा हुनपर्दछ । शिक्षा सुधारका लागि विद्यालय शान्तिक्षेत्र मान्न सबै राजनीतिक दल, नागरिक तैयार हुन पर्दछ । आर्थीक प्रभाव पार्न हुँदैन । पहिले हुनेखानेको मात्र शिक्षा भएको र मात्र ३०० बिद्यालय, रकम १ प्रतिशत बजेट भएकोमा अहिले सबैका लागि शिक्षा, चौतीस हजार भन्दाबढि बिद्यालय र रकम पनि प्रसस्त बढेको छ । यी पाँच विद्यालय र अन्य शिक्षाक्षेत्र सुधर्न अति जरुरी छ । नैतिकता, अनुशासन र गुणस्तरीय शिक्षामा नैतिक शिक्षा अनिबार्य छ । सक्षम, उत्प्रेरित शिक्षक, नेपाली सभ्यता, संस्कृति, परम्परा नेपाली बहूमूल्य सीप, ज्ञान, कला प्रयोगमा ल्याउन पर्ने, स्थानीय श्रोत साधन, भौगोलिक, एैतिहासिक, सांस्कृतिक र सामाजिक बाताबरण समाबेस गरेर पाठ्यक्रम बनाएर माविसम्मको आर्थीक स्रोत जुटाई सञ्चालन गर्न स्थानीय निकाय सरकारले दायित्व संबिधानले दिएको छ । घरको कामले थाकेर बिद्यालय जाने शिक्षकबाट स्तरीय शिक्षाको आशा हुँदैन । स्तरीय तालिम, शैक्षिक सामग्री, अध्यापन रुची बिना स्तरीय शिक्षाको आशागर्न सकिंदैन । यस्मा सबैको रुची र सहभागिता हुन जरुरी छ भन्ने कुरा सम्बन्धित निकायलाई आफुले पाएका र अनुभव गरेका महसुस र सुधारका लागि सुझाव प्रस्तुत गर्नुभएको छ । यस अर्थमा यी पाँच विद्यालयहरुको समग्र पक्ष समेटेर गरिएको यो अध्ययन र यसमा समाविष्ट सुझावहरु निकै महत्वपूर्ण छन् भन्न सकिन्छ । यस अध्ययनले प्रस्तुत गरेका सुझावहरुलाई नेपाल सरकार र सम्बन्धित पक्षहरुले सकारात्मक रुपमा मनन गरेर कार्यान्वयनमा लैजाने हो भने त्यसले नेपालको सार्वजनिक शिक्षा सवलीकरण तथा सुदृढीकरणको क्षेत्रमा रचनात्मक सहयोग पुग्न सक्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । अन्तिममा यति महत्वपूर्ण अध्ययन तथा अवलोकन कार्य सम्पन्न गरी आम पाठकलाई सत्यतथ्य तथा सुझावहरु प्रस्तुत गरिदिनुभएकोमा अध्ययनकर्ता राजेन्द्र पहाडीजीलाई धन्यवाद दिनु बान्छनीय ठान्दछु ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।