अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भन्ने आहान कहिलेदेखि थालनी भयो होला? मेरो मनले आफैलाई प्रश्न सोध्यो । उत्तरको खोजीमा घोत्लियो पनि तर यसको सजिलै उत्तर पाइँदैन भन्ने पनि तुरुन्तै थाहा पायो । यस्ता उखानहरू अनुभवले खारिएर माझिएर एवं जीवनका मार्गदर्शक भएर चलनचल्तिमा आएका हुन्छन् होला भन्ने अनुमान गर्न पनि मलाई बेर लागेन । हाम्रा पिता पुर्खाहरूले ब्यहोरेका कैयौँ यस्ता अनुभूतिहरू पछि गएर सुक्तिका रूपमा विकसित भएको हुनुपर्छ । सम्भवतः अगुल्टोको झटारो नखाएको कुकुर बिजुली चम्कँदा पनि तर्सन्न होला । यो सन्दर्भ मैले यहाँ किन जोड्न खोजेको हो भने आजकल म पनि अगुल्टाले हानेको कुकुर जस्तै भएको छु । घामले टिनको छानो कटकट गर्यो भने पनि झसङ्ग हुन्छु । खाटमा बसेर कसैले खुट्टा हल्लायो भने त सातो जान बेर लाग्दैन । यसका पछाडि एउटा कुकुरलाई हान्ने अगुल्टो लुकेको छ त्यो हो २०७२ सालको महाभूकम्प ।
म त्यो भूकम्पमा परेर घाइते भएको होइन, न मेरा परिवार र घरमा भयानक क्षति भएकै हो तापनि किन हो किन मलाई बैशाख १२ गते आयो कि झर्लक्क भूकम्पको त्यही रौद्र रूपको याद आइहाल्छ । पृथ्वी आफ्नै गतिमा घुम्छ । घन्टा, दिन, हप्ता, महिना हुँदै वर्ष फिर्छ । यो प्रकृतिको नियम हो । यसै गर्दागर्दै मान्छे यही धर्तीमा विलय हुन्छ । जीवन आखिर के नै रहेछ र ! अनुभवहरूको सँगालो मात्र त रहेछ । त्यस दिन पनि कति जनाले जीवन गुमाए, कति घाइते भए, कतिले अपाङ्गता ब्यहोर्नु पर्यो । घरबार विहीन त कति भए भए ! यस्तो महाभूकम्प नआएको भए नेपालको अहिलेको संविधान पनि बन्थ्यो वा बन्दैनथ्यो कुन्नि? मेरो बुझाइमा अरु जसले जे भने पनि संविधान भूकम्पले नै बनाइदिएको हो, नेताहरूको सहमतिबाट होइन ।
प्राकृतिक विपत्तिका अघि कसैको केही जोर चल्दैन । आआफ्ना दम्भ र अहम् नछोडेका हाम्रा नेताजीहरूलाई भूकम्पले नतमस्तक बनाइदियो र त त्यसै सालमा संविधान जारी गर्न बाध्य भए । नत्र ६४ सालदेखिको रडाको कसलाई थाहा छैन र? भूकम्पले जात भनेन, धर्म भनेन, यो वा त्यो पार्टी भनेन । यो प्रलय आयो सबैका लागि आयो । यत्ति हो, कसैको लागि त्यो महाकाल बन्यो होला त कसैको लागि महादेव । महाकाल तिनीहरूलाई बन्यो जसले ज्यान गुमाए । महादेव तिनीहरूलाई बन्यो जसले राहतका नाममा मोटो रकम लुँड्याए । मलाई भने न महाकाल बन्यो न महादेव ! केबल एक सम्झना मात्र । त्यो पनि अति महत्त्वपूर्ण मौकाविशेषमा पर्न गएकाले । त्यसैले त महाभूकम्पको अविस्मरणीय याद दिलाइरहने त्यो दिन र अघिपछिका गरेर केही दिनको संस्मरण नगरी मनले मान्दैमानेन । मष्तिष्कले फन्का मारेपछि यो शब्दमाला उन्न उत्प्रेरित गरायो । फुलबुट्टा नभरीकन सर्सर्ति कलम कुदाउनुपर्ने भयो । कतै पट्यार लाग्दो वर्णन मात्र त हुने हैन भन्ने पो आशङ्का लाग्न थाल्यो ।
डग्डग् डग्डग् सबैकाटेबिलहरू हल्ले । एउटा पाँच तले भवनको फेदमा कुनातिर थिएँ म । भर्खरै चिया खाएर शौचालय गई पसेका थियौँ हामी त्यस को ठाभित्र । अब गुगलमा के सर्च गर्ने ? खोमले सबैलाई सोधेर आफ्नो ल्यापटपमा शिक्षा विभागको वेभसाइड सर्च गर्न शुरुआत गर्दै थिए, एक्कासी डग्डग् डग्डग्को कम्पन भयो । ‘लौ ! भूकम्प आयो !’ मनोजले भनेपछि सबै कुर्सी उछिट्याउँदै बाहिर निस्के । मलाइ पनि जाउँ जस्तो लाग्यो र निस्कँदा डलेका कुर्सीले बाटो छेके । सटरछेउ पुग्दा चन्द्राले बाहिर तानिन् । कम्पन बढ्दै थियो । होहल्ला व्याप्त भैसकेको थियो । सडक हो या झोलुङ्गे पुल हो म अलमलमा थिएँ ।लामै समयसम्म यस्तो भूकम्प मैले अहिलेसम्म थाहा पाएको थिइन । कट्कट कट्कट् घरहरू बजेको आवाज आइरह्यो ।खुला ठाउँमा त गयौँ तर विजुलीका तारमुनि पो उभिएछौं । घरहरू पनि ढल्छन होला भन्ने लागेको थियो तर कुनै घर पनि केही भएनन् । केही समयपछि भूकम्प त थामियो तर तिघ्रो कम्प भने लामै समय थामिएन । मुटु कम्प अझै जारी नै छ ।
१२ बजेसम्म साइबरमा नेट सिक्ने योजना थियो हाम्रो त्यो दिन । सबै भूकम्पले खाइदियो । उता एप्पल क्याफेमा खाना तयार भैसकेको थियो । होहल्लाकामाझ हामी एप्पल क्याफेतिर लाग्यौँ । कसैको पनि मुटु हल्लन छोडेको थिएन । फोन गर्ने प्रयास गर्दा कतै पनि लागेन ।त्यति लामो समयसम्म र त्यति ठुलो भूकम्प ९० सालमा पनि आएन होला जस्तो अनुभव भएको थियो । हामी क्याफेको अगाडिको चौरमा भेला भयौ । तालिम लथालिङ्ग भयो । प्राकृतिक विपत्तिका अगाडि कसको के जोर चल्नु ?अर्को धक्का पनि गयो । सबै त्रसित ! मनोजको बुबाको फोन आएछ । ‘धरहरा ढल्यो रे !’ उसले चिच्याउँदै भन्यो ।उसो भए काठमाण्डौमा ठुलै क्षति भएको हुनुपर्छ । मेरो मन झन् डराउन थाल्यो । जतासुकै फोन गर्दा पनि नलागेपछि मुवाइलले काम नगरेर हो कि भन्ने शङ्काले मनोज रम होटेलतिर लाग्यौँ ल्यान्ड लाइनबाट फोन गर्न । धेरै प्रयास गरेपछि दाइको फोन लाग्यो । शनिबार भए पनि दाइ टाहाटिम जानु बएको रहेछ । भाउजू पनि आजै दाइसँग घर आएकाले काठमाण्डौतिरको खबर पनि दाइसित णै सोधेँ र ढुक्क भएँ । हाम्रो घरतिर जनधनको क्षति भएनछ । अरु साथीहरू पनि आत्तिइरहेका थिए । तीर्थ आलेको घर भत्केछ । तीर्थ पनि कम्प्युटर तालिमको एक सहभागी थिए । आतङ्कित हुँदै हामी सबै चौरमै बसिरह्यौ । धरहरा ढलेको खबर सञ्चार ! माध्यमहरूले पनि फलाक्न थाले । गोरखा, धादिङ, काठमाण्डौ तथा सिन्धुपाल्चोकमा भूकम्पले ज्यादै नोक्सान गरेको खबर सुनिन थाल्यो । विदेशिहरू राहत सामग्री बोकेर दनादन आउन थालेको खबर पनि रेडियोले भन्न थाल्यो । १२ घन्टापछि फेरि ठुलो भूकम्प आउँछ रे ! हल्ला चल्न थाल्यो । अरु पनि भ्रामक हल्लाहरू आउन थाले ।
हामी त्यो साँझ माइत घरमा खाएर एप्पल क्याफेमा जाने निर्णय गर्यौँ । रातभर भूकम्पको प्रतिक्षा गर्दै कतिखेर भित्र त कतिखेर बाहिर गर्दै बस्यौँ । १बजेतिरबाट अलिअलि फोन लाग्न थाल्यो । टेलिकमले निःशुल्क कल गर्ने अवसर पनि दियो । फोन भने ३ मिनेटमा काटिन्थ्यो ।त्यो रात हामी निदाएनौँ । तालिममा म लगायत १२ जना थियौँ ११ जिल्लाका ।अरु साथिहरूमा मनोज पङ्गेनी नवलपरासी,सुषमा थापा वाग्लुङ, अस्मिता भट्टराई तनहुँ, आत्माराम बास्तोला चितवन, राजेशकुमार अर्याल सल्यान, सुरेशकुमार खड्का: तोरण अधिकारी सुर्खेत, तीर्थ आले गोरखा, कृष्ण चेमजोङ पाँचथर, सदन राई इलाम र कुशल पौडेल कास्की रहेका थियौँ । कुशल अमरसिंहको शिक्षक र त्यहीँकै वासिन्दा भएकाले वसाइ हामीसित थिएन सुषमा खोमकी पत्नी भएकाले आफ्नै कोठामा बस्थिन् । अस्मितामात्र एउटी महिला हुनाले होटलको छुट्टै कोठा व्यवस्था नगरी खोमले आफ्नै कोठामा लैजान्थे । बाँकी १० जना र कृष्ण आचार्य तथा दिनेश थापा सहायक प्रशिक्षक गरी जम्मा १२ जना माइत घर नामक होटेलमा बस्थ्यौँ । त्यो रात भने होटलका सबै बाहिरै सुत्ने भएपछि हामी कोही पनित्यहाँ बस्ने कुरै भएन । सबै क्याफेमा गएर बास गर्ने निधो बयो । दिउसो तालिम गर्ने कुर्सीमा मन्टो अड्याएर कोही झुल्न थाले भने कोही सोफामा पल्टन थाले । विचविचमा धक्काहरू आइरहेकै थिए । मृतकहरूको सङ्ख्या थपिँदै गएको खबरबाहेक अरु केही सुन्न पाइँदैनथ्यो । धक्का आउँदा हतपताएर बाहिर निस्कन्थे साथीहरू । यस्तै तनावमा रात बित्यो ।
रातभरको अनिदो, भूकम्पको त्रास ! अनिश्चितताका विच होटलतिर लाग्यौँ हामीहरू । हल्ला भए झैँ रातको १२ बजे ठुलो भूकम्प आएको भए के हुँदो हो ? तर आएन अब खाना खाएर तालिम शुरु गर्ने सल्लाह भयो । करिब ११ बज्ने बेलातिर सबै जम्मा भएर तालिम थाल्न के लागेका थियौँ एक झड्का हान्यो । बिजुली गतिमा बाहिर दौड्यौँ हामीहरू। त्यसपछि के को तालिम । चौरमा छलफल तर्क वितर्क गर्दै बस्यौँ । त्यो रात पनि होटेलमा सुत्न डराएर क्याफेमै रात काट्यौँ हिजो जस्तै । दुई दिनको गडबडी पछि तालिम त सुचारु भयो तर भूकम्प नआउँदैको परिस्थिति र आएपछिको स्थितिमा धेरै फरक हुन पुग्यो । चाहेबमजिम इन्टरनेट सिक्ने इच्छा पूरा भएन । गुगल सर्च गर्दागर्दै भूकम्प पो सर्च भएछ ।
बैशाख २ गते विजयको फोनमा घन्टी आयो । खोमले मेरोमा नलागेर गरेका रहेछन् । ४ गतेदेखि तालिम थाल्ने भयौँ, काशी दाइ तपाइँ भोलि नै हिड्नुस् । सस्तो टिकट पनि ल्याउनुहोला । लुगाफाटो आफ्नै भैहाल्यो । एयर फोन पनि राख्नुहोला सबैका ल्यापटप बोल्दा हल्ला हुन्छ । खोमले फोन गर्दा मैले थपेँ- पोखराको बसाइ कहाँ हो ? मलाई लोकेसन देऊ न । सहयोगी त छैनन् नि । उनले भनेका थिए – पृथ्वी चोक झरेर बगरको गाडी चढ्नुहोला गाडीको अन्तिम स्टपमा म लिन आउँछु । खोमसित यति कुरा भएपछि मैले दोलराज सरलाई फोन गरेर सबै बृतान्त बताएँ । राम गिरी सरलाई पनि भनेँ । भोलि नै हिड्नुपर्ने भएकाले खर्चको जोहो गर्नु पर्ने थियो । हतपतको काम लतपत भने झैँ एयर फोन नै राख्न बिर्सेँछु, त्यो त तालिम थालेपछि पो थाहा भयो ।दाइलाई फोन गरेर झोला सोधेँ । गतिलो झोला थिएन । प्रवेशकहाँ रहेछ त्यही लैजाने निधो भयो । झोलामा कपडा र ल्यापटप राखेँ, बाटोमा खाना खान गाह्रो हुने भएकाले रोटी बनाएर आलु फ्राइ गरी पोको पारेँ । आठ बजे टक्सार आउनुहोला भनेर विमलले भनेका थिए सोही बमोजिम खाना खाएर ३ गते बिहानै म हिँडे पोखरातिर ।
यात्रा त शुरु भयो,तर कठिन । तानसेनसम्म बसमा उठेर गएँ । त्यसपछि क्याबिनको ढोकानिरको सिट पाइयो तर खुट्टा हलचल गराउन मिल्दैनथ्यो । झोला काखमा राखेर कोचिएँ । बर्तुङ पुगेपछि अर्को एक जना युवक पनि थपियो । झन् दायाँबायाँ गर्नपनि नमिल्ने भयो । वालिङसम्म यसैगरी चल्यो बस ।खाना खाने बेलामा पनि बर्तुङबाट चढेको युवक र तानसेनबाट चढेकी महिला झरेनन् । त्यहाँसम्म पुग्दा उनीहरूसित धेरै कुराकानी भइसकेको थियो । झोलाका रोटी ननिकाली चट्पटे, बटुक र काँक्रो किनेर खाँदै गयौँ । रोटी निकाल्नै परेन ।वालिङ पुगेर एकपटक खोमलाई फोन लगाएँ । बगरको लास्ट स्टेपमा आएर कल गर्नुस् म ठाउँको ठाउँ लिन आउँछु ।वालिङबाट त सिट पनि राम्रै पाएँ । कार्तिकमा टिपिडि तालिममा जाँदा त्यही बाटो गएको हुनाले नौलो त लागेन तर त्यसपटक पनि गल्लिमा बस्नु परेकाले राम्रो अनुबव भएको थिएन । यस पटक भने वालिङबाट के के नामका ठाउँहरू आउँदारहेछन् भन्ने चासो राख्दै यात्रा गरेँ । यात्राका परिचित ति दुई जना पनि जिविसको तालिममा हिँडेका रहेछन । पोखरा पुगेर बसको टिकट खोज्ने आवश्यकता उसलाई पनि भएकाले काउन्टरतिर लाग्यौँ तर बन्द भैसकेको रहेछ । मलाई बगरको गाडी चढाइदिएर ऊ आफ्नो बाटो लाग्यो । म पनि बगरको अन्तिम स्टपमा पुगेर खोमलाई फोन गरेँ । फोन ऊठ्यो- ‘म ठाउँको ठाउँ लिन आउँछु भनेको थिएँ दाइ तर अहिले अलि माथि छु । तपाईँ केआइ सिंह पुल जाने बाटो सोधेर आउनुस् । ३ मिनेट जति हिँडेपछि एउटा गोलो चौपारी आउँछ त्यसबाट १००मिटर जति हिँडेपछि दाहिनेतिर आई ई सी साइबर पर्छ त्यहाँ आउनुहोस् । त्यहाँ साथीहरू लिन आउँछन् ।‘ यति सुनेपची म तीन चार जनालाई सोधेर त्यस ठाउँमा पुग्न सकेँ । ढोकाभित्र पुग्दा मसिनो नारी आवाज आयो सर ! नमस्कार कुन जिल्लाबाट आउनुभयो सर ? मैले छोटो उत्तर दिएँ गुल्मीबाट ।
सानु अर्थात् साइबरकी कर्मचारी रहिछिन् उनी । कुन्नि ककसलाई फोन गरेर बोलाइन् मलाई थाहा भएन । केही समय बस्नुस साथीहरू यहीँ आउनुहुन्छ भनेर उनी आफ्नो काममा लागिन् । अरू कहाँबाट आउनुभएको छ त साथीहरू ? भनेर मैले सोधेँ खै सर कुन कुन ठाउँबाट हो सभैलाई त मैले पनि चिन्दिन उनको छोटो उत्तर थियो ।केही समय कुरेपछि कृष्ण आचार्य र तोरण अधिकारी अभिषेक आए त्यहाँ । परिचय भएपछि हामी बासस्थानतिर लाग्यौँ । माइतघर नामक होटलमा बस्ने व्यवस्था रहेछ ।सबै साथिहरू नआइपुगेकाले कुन कोठामा को बस्ने भन्ने टुङ्गो लागेको थिएन । सुरेश कुमार खड्का र राजेश कुमार अर्याल भने आइसकेका रहेछन् तर बाहिरतिर गएकाले हामी भन्दा लगत्तै पछाडि प्रवेश गरे । ति सबै मेरा नौला साथि थिए । परिचय गरेपछि मैले आफूले रोटी ल्याएर खान नपाएको कुरा गरेँ । कोही खान ईच्छुक भए खान सकिने कुरा पनि गरेँ । सुरेश खड्काले खाने भनेपछि बाँडेर खायौँ मनोज पनि आउने कुरा मैले पछिमात्र थाहा पाएँ । खोमले मसँग नम्बर मागेपछि । मनोज रम एउटै कोठामा सुत्ने भयौँ । मनोज पङ्गेनी भने मेरो पूर्वपरिचित मित्र हो । उमेरले कान्छो र मलाई दाइ सम्बोधन गर्ने भएकाले मनोजलाई साथी भए पनि ‘तपाईँ’को औपचारिक सम्बोधन गर्दिन मैले । वास्तवमा तपाईँमा भन्दा तिमीमा र तिमीमा भन्दा तँमा बढी आत्मीयता देख्छु मैले । यसैमा नै घनिष्ठता झल्किन्छ । खोमराज शर्मा पनि पूर्वपरिचित साथी नै हुन् । २०५७ सालमा काठमाण्डौको बाँसबारीमा एक महिनासम्म सँगै संगठन व्यवस्थापन तथा नेतृत्व विकास तालिम गरेका थियौँ हामीले । त्यतिखेर मैले सुनाएको चराहरूको आवाजबाट मात्र रचिएको शार्दूलविक्रिडित छन्दको एउटा कविताले मलाई चर्चित बनाएको थियो । यद्यपि त्यो मेरो मौलिक रचना थिएन । रामायणको अश्वमेध काण्डबाट टिपेर मैले कण्ठ पारेको थिएँ । जसले गर्दा आजसम्म पनि साथीहरूले मलाई विभिन्न किसिमका नामसमेत राखेका छन् । खोमले पनि टिटिरि पिटिरी दाजु भन्छन् । जे होस् सूचना प्रविधिमा दक्षता हासिल गरेर अरुलाई सिप सिकाउने र यसमा मलाई सहभागी गराउने मौका दिएकोमा मेरो हृदय नै प्रफुल्ल थियो ।
मलाई स्मृति दिलायो कार्तिकको तालिमले । २०७१ सालको कार्तिकमा टिपिडि तालिमका लागि पोखरा बोलाइएको थियो ।उक्त तालिमको एउटा सूचना प्रविधिसम्बन्धी कक्षा खोमराजलाई दिइएको थियो । खोमले त्यो तालिममा योजना नबनाएको भए आजको दिन सायद आउने थिएन । २० जना सहभागि रहेको उक्त तालिमको एक साँझ खोमले ल्यापटपमा अपेच्छा सङ्कलन गरेका थिए र पो यो तालिम जन्म्यो । म उक्त समयको प्रत्यक्षदर्शी थिएँ । अरू कोही थिएनन् त्यो तालिम र यो तालिमका साझा सहबागी । चैतमा नेत्रहीन संघको साधारण सभामा जाँदा खोमसित भेट भएको थियो । तालिमको बारेमा खोमले आफ्नै ल्यापटप भएको हुनुपर्ने शर्त छ भन्ने कुरा गरेकाले मैले ल्यापटप किनिहालेँ । खोमलाई भनेँ पनि आफ्नो विचार । मलाई पार्नै पर्छ है म अति इच्छुक छु भनेर सचेत पनि गराएँ । यसो नगरेको भए यहाँ आज आइने थिएन । मेरो मन केही बेर विगततिर घोत्लियो । कोठामा दुईओटा खाट थिए तर मनोज र म भने एउटै खाटमा सुत्यौँ । कतिखेर निदाइएछ पत्तै भएन । बाँकी रहेको खाटमा कहिले खोम कहिले सुमन त कहिले को सुते ।
साँझपख रमाइलो गर्न पनि जान्थ्यौँ कहिलेकाहीं । रमाइलोका धेरै अर्थ लाग्न सक्छन् – नाच्नु, गाउनु, चुट्किला भनेर मनोरञ्जन लिनु, गीत वा कविता सुनाउनु आदि । केही नभए हावा खाँदै महेन्द्र पुलसम्म पुगेर भए पनि फर्कन्थ्यौँ । एक दिन खोमले छुट्टै प्रस्ताव राखे तुङ्वा तान्ने । ‘कान्छीको भट्टीमा तुङ्वा तानौँ यार !’ भन्ने गीत त मैले सुनेको थिएँ तर तुङ्वा भनेको के हो मलाई थाहा थिएन त्यतिखेरसम्म । नयाँ कुराको जानकारी पाइने भयो भनेर म पनि लागेँ साथीहरूले जता लान्छन् त्यतै । बाटोको छेउमा रहेको एउटा घरमा हामी यसरी छिर्यौँ कि त्यहाँ अपरिचित मान्छे जानै सक्दैनथ्यो । घरको भित्तो र कम्पाउन्ड वालको दुरी एक बित्ता जति थियो होला । मान्छे सोझै हिँड्न मिल्दैनथ्यो । घरको भित्तापट्टि पिठ्युँ पारेर वाल समाउँदै कोखे परेर उक्त घरको पछाडि पुग्यौँ जहाँ तुङ्वा तान्ने ठाउँ थियो । तत्काल लाग्दैन, अलिक ढीलो मन्द गतिमा लाग्छ दाइ । कोदाको जाँड हो, यो सुइरोले इच्छा लागेजति तान्नुहोला । मलाई खोमले सिकाइरहेका थिए । कडा भए जस्तो लाग्यो भने पानी थप्न पनि सकिन्छ । मनोज,सुरेश, आत्माराम र तोरण पनि साथमै थिए । पुनः त्यही साँगुरो बाटोबाट बाहिरिएर हामी माइतघरमै आएका थियौँ । सबै लेख्न थाल्यो भने उपन्यासै बन्छ भन्ने डर !
साँझबिहान दिनेश र कृष्णले थप सिकाउने वातावरण पनि थियो तर त्यसको सदुपयोग साथीहरूले गरे जस्तो लागेन ।मैले सातौँ दिनको प्रतिवेदन वर्णमालामा टाइप गरेर सुनाएँ ।वर्णमाला सिकेको धेरै दिन भएको थिएन तर कति छिटै प्रितिको टाइपिङ बिर्सन गइएछ आफैलाई अचम्म लाग्छ ।आठौँ दिनसम्म सुचारू तालिम नवौँ दिनको भूकम्पले अस्तव्यस्त बनाइदियो । म खासै अन्धविश्वासलाई नमान्ने मान्छे ! तर बिहानै साढे चार बजेतिर हामी सुतेको कोठाको झ्यालबाट कुकुर रोएको सुनेँ मैले पल्लो घरमा । हाम्रो घरसँगै जोडिएको हुनाले र रातको समय हुनाले कुकुरको आवाज असाध्यै टड्कारो र नराम्रो लाग्यो । मलाई त्यो बेला कुनै अपसकुनको लक्षण भन्ने सम्झना आएन ।एकाबिहानै कुकुर रोएको भाषा कसले बुझोस् ? कुकुरले रुँदै भनेको थियो आज भयानक भूकम्प आउँदैछ तिमीहरू होसियार होऊ । मलाई याद थियो भूकम्प आउनुअघि जनाबरहरू कराउँछन् । तर त्यति छिटै कुकुरले जानकारी गराउला भन्ने कसरी थाहा पाउनु ?जे होस् जनावरले थाहा पाउने रहेछन् भन्ने थप प्रमाण मलाई प्राप्त भयो । कुनै कुनै कुरा अन्धविश्वास पनि विश्वासमा परिणत भएका छन् मेरो जिवनमा । मलाई पूरा याद छ मेरो पिताको निधन हुने वर्षमा गोठछेउको केरा घरको मूल ढोकातिर फर्केर पसाएको थियो ।दलानमाथि गौँथलिले गूँड लगाउँदा पनि ढोकापट्टि नै मुख पारेको थियो । फ्याउरो कराउनु पनि अलच्छिन नै मानिन्थ्यो । सधै जसो फ्याउरो कराइरहन्थ्यो ।आफ्नो सन्दर्भमा लागु भएकाले यी कुराहरू अन्धविश्वासै भए पनि मलाई विश्वास लाग्छ । नत्र कसरी मिल्यो त के त्यो संयोग मात्र हो ?
मान्छेले मान्दै आएका कैयौँ यस्ता प्रमाणविनाका कुराहरू छन् जो अझै पूर्णतः नकार्न र नमान्न नसकिने अवस्थामा छन् । धर्म, संस्कार, संस्कृति तथा प्रथा र प्रचलनहरू यस्तै कसैको जीवनमा मेल खाएका घटनाहरूबाट त सुरु भएहोलान् । मलाई एकतमासको तर्कले समात्यो । साथीहरूले तालिममा सिकेका कुराहरू छलफल गर्दा पनि मेरो ध्यान डुल्दो रहेछ भूकम्पका तरङ्गसँगै । पराकम्प त गइरहेकै थिए । गुगल सर्च गर्न नदिएको त्यो भूकम्पले अरु के के गर्नसमेत नदिने हो भन्ने त्रासले छोड्दैछोडेन ।
इन्टरनेट सिक्ने चाहना अधुरै रहे पनि कम्प्युटरका कैयौँ नयाँनयाँ कुरा सिकेर म बैशाख १८ गते पोखराबाट फिर्ता भएँ । माइतघरको खाना खाएर सँगसँगै जाने सल्लाह मनोज र मैले गरेका थियौँ । के लैजाने त दाइ पोखराको चिनो ? मनोजले सोध्दा म अलमलमा परेको थिएँ । मलाई त जेठाबुढा चामल लैजाने मन छ। नाम सुन्दै अनौठो लाग्यो र मैले पनि लैजाने विचार गरेँ । माइतघरका नरबहादुर दाइले त्यसको थोक विक्रेताकहाँ पुर्याएर हामीलाई सहयोग गरे । पाँचपाँच किलो चामल किनेर हामि विदा भयौँ माइतघरबाट । पोखराबाट भने महेन्द्र पुल झरेर नानीहरूलाई खेलौना किनेपछि मात्र विदा भयौँ ।