स्याङ्जा जिल्लाको ज्याग्दीखोलास्थित चिन्नेबासमा रहेर साहित्य सिर्जनालाई निरन्तरता दिने देवेन्द्र लम्साल (वि.सं. २०११) जनजिन्दगानीका स्रष्टा हुन् । तीसको दशकबाट काव्ययात्राको प्रारम्भ गरेका लम्साल मूलतः कविता विधाका साधक हुन् । कविताका अतिरिक्त यिनले कथा, निबन्ध, नाटकलगायतका विधामा पनि कलम चलाएका छन् । यिनका ‘ज्याग्दी र म’ (खण्डकाव्य– २०३६), ‘ज्याग्दी किनारमा बल्छी खेलेर’ (कवितासङ्ग्रह– २०४२), ‘स्मृतिपटलमा पिताजी विश्वनाथ’ (स्मृतिकाव्य– २०५३), ‘बौलाही राइँदाल्नी’ (सामाजिक काव्य– २०५४), ‘अभिशप्त प्रेम’ (कथासङग्रह– २०५६), ‘शान्तिको खोजीमा’ (गीत–कविताको सँगालो– २०६१), ‘दम फुस्केका मान्छेहरू’ (कवितासङ्ग्रह– २०६३) र ‘पेनाल’ महाकाव्य– २०७४) प्रकाशित कृतिहरू हुन् । यी आठ वटाकृतिहरूमध्ये सातवटा कृति कविता विधासँग सम्बन्धित छन् भने एउटा कृति कथाहरूको सङ्ग्रह हो । यस लेखमा उनको कवितासङ्ग्रह ‘दम फुस्केका मान्छेहरू’लाई वैचारिक दृष्टिमा विश्लेषणको प्रयत्न गरिएको छ ।
‘दम फुूकेका मान्छेहरू’मा ६३ वटा कविता सङ्गृहीत छन् । यसमा सङ्कलित सबै कविता गद्य कविता हुन् । यसमा सङ्कलित हुनुभन्दा अगावै यहाँका कतिपय कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि भएका हुन् । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् क्रमशः जनयुद्ध र २०६२-०६३ को जनआन्दोलनभन्दा पूर्वका कविताहरू यसमा समावेश छन् । यो लगभग डेढ दशकभित्र रचना गरिएका कविताहरूको सङ्ग्रह हो । फैलावटका दृष्टिले यहाँका केही कविता लघु आकारका छन् भने केही कविता लामो आकारका पनि छन् । दन्त्यकथालाई आधार बनाएर लेखिएका दुईवटा कविता केही लामै आकारका देखिन्छन् भने अन्य धेरैजसो फुटकर कविताहरू गद्य कविताकै औसत आकारमा देखिन्छन् ।
वर्णमात्रिक छन्दका कवितामा कलम चलाउने लम्साल गद्य कविताहरूको सिर्जनामा पनि उत्तिकै सशक्त देखिन्छन् । जीवन र जगत्लाई उनी आफ्ना कवितामा कलात्मक तवरले प्रतिबिम्बन गर्दछन् । उनले आफ्ना गद्य कवितामा समेत आन्तरिक लयको सिर्जना गरी अन्त्यानुप्रासलाई पनि विशेष जोड दिएको पाइन्छ । कवितामा हुनुपर्ने प्रमुख तत्व भनेको अन्तर्वस्तु हो । प्रगतिशीलताका सन्दर्भमा अन्तर्वस्तु भनेको यथार्थपरक अनुभूति र कलात्मक विचारको संयोजित रुप हो । कवितामा विचार पक्ष सुन्दर तथा कलात्मक हुनु आवश्यक छ । सुन्दर विचार भनेको जीवन र जगत्लाई मार्गनिर्देश गर्ने वैज्ञानिक दृष्टिकोण हो । एउटा सुन्दर कवितामा कुरुप यथार्थ वा यथास्थितिको आलोचना मात्रै होइन त्यसमा कुरुप यथार्थ वा यथास्थितिलाई सुन्दर रुपमा बदल्नका लागि मार्गनिर्देशन गरिएको हुनुपर्छ । भविष्यप्रति दह्रो विश्वास प्रकट गर्न नसक्ने अनुभूति समाजसापेक्ष हुँदैन । प्रगतिवादी स्रष्टामा जीवन र जगत्लाई नियाल्ने वर्गीय चिन्तन र विश्वदृष्टिकोणको सवाल प्रमुख रुपमा आउँछ । सामाजिक यथार्थ र स्रष्टाको अनुभूतिका बीचमा जुन प्रकारको विचारको प्रकटीकरण हुन्छ त्यो समाजसापेक्ष हुनु आवश्यक छ ।
समाज वर्गीय छ । समाज वर्गीय भएकै कारणले साहित्य पनि वर्गीय हुन्छ । राजा–महाराजा तथा सामन्तहरूको स्तुतिगान गर्ने एकथरी स्रष्टा हुन्छन् भने अर्काथरी स्रष्टाले सर्वहारा वर्गको सामूहिक पीडालाई व्यक्त गर्दछन् । सर्वहारा वर्गका लागि लेखिने साहित्य माक्र्सवादी सौन्दर्य चेतनासँग सम्बन्धित हुन्छ । प्रगतिशील साहित्य सामाजिक यथार्थभन्दा अगाडि बढ्दैन अर्थात् यथार्थको आलोचनात्मक प्रस्तुति प्रगतिशील साहित्यमा हुन्छ । कुरुप यथार्थलाई सुधार गर्नुको सट्टा आमूल परिवर्तन अर्थात् क्रान्तिकारी रुपान्तरणको विचार प्रवाहित गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । जुन स्रष्टा जीवनप्रति आशावादी हुँदैन, त्यो स्रष्टा प्रगतिवादी हुन सक्तैन । यसर्थ विचारका सवालमा अर्थात् पक्षधरतामा स्रष्टा स्पष्ट हुनु जरुरी छ । विचारमा अर्थात् पक्षधरतामा स्पष्ट नहुँदा रचनाले दिने सन्देश पनि स्पष्ट हुँदैन । मार्क्सवादी सौन्दर्यशास्त्रमा विश्वास गर्ने स्रष्टाहरूको जीवन र जगतलाई हेर्ने दृष्टिकोण जब रचनामा स्पष्ट आउँदैन तब त्यस्ता स्रष्टाहरूले पाठकलाई या त भ्रममा पार्छन्, या त समन्वयवादी चिन्तनमा जोड दिन्छन् । यसै चिन्तनलाई आधार बनाएर यहाँ ‘दम फुस्केका मान्छेहरू’भित्रका कवितालाई वैचारिक कोणबाट विश्लेषण गरिएको छ ।
देवेन्द्र लम्साल ग्रामीण समाजको यथार्थको अभिव्यक्ति प्रस्तुत गर्ने स्रष्टा हुन् । उनले ग्रामीण समाजका मूल्य र मान्यतालाई आफ्ना कविताको विषयवस्तु बनाएका छन् । नेपालका अधिकांश ग्रामीण बस्तीहरू अन्धकारमा रुमल्लिएका छन् । गाउँका धेरैजसो किसान, हली तथा खेतालाहरू पीडा पिएर बाँचेका छन् । लम्सालले आफ्ना कवितामार्फत् गाउँको मुहार फेर्नका लागि सर्वहारा वर्गलाई युद्धको मैदानमा उत्रन आह्वान गर्छन् । शोषित तथा अपहेलित वर्गको सत्ता स्थापनाका निमित्त क्रान्ति गर्नुपर्दछ । क्रान्ति बिना शान्ति सम्भव छैन । मुक्तिको आन्दोलनमा नहोमिएसम्म श्रमिक, मजदुर, किसान तथा सर्वहारा वर्गको हातमा सत्ता आउँदैन भन्ने कुरामा उनी सचेत पनि छन् । सङ्घर्षको समर्थनमा उनी लेख्छन्ः
असारको झरीलाई
कुनै तानाशाहको फौजले छेक्न सक्दैन
असारका भ्यागुताको जैजैकारलाई
कुनै निरङ्कुशताको बुटले थिच्न सक्दैन
जे पर्छ पर्छ साइँला झरीमै पस
अर्काको छाता ओढेर छेउमा बसी
रमिता नहेर, मेलैमा पस
मङ्सिर निम्त्याउनकै निम्ति आएका छन्
विश्वमा अनगिन्ती असारहरू
(असार, पृष्ठः ११)
जनतालाई भेडाबाख्रा बनाएर सत्ताको भत्ता कुम्ल्याउनेहरूप्रति लम्साल आक्रोशित देखिन्छन् । जनतालाई घोडा बनाएर बुई चढी कोर्रा हान्नेहरूले नै राष्ट्रलाई कङ्गाल बनाएका हुन् । ती घोडचढीहरूलाई नेपाली जनताले घोडा बनेर बोकी हिँड्नुपरेको छ । घोडाहरूलाई थाहै नदिई घोडचढीहरूले घोडा मात्रै होइन तबेलैसमेत बेच्ने गरेका छन् । यसरी घोडाको नियति बोकेर मान्छेहरू दगुर्नुपरेकामा कवि चिन्तित छन् । आजका सभ्य र प्रतिष्ठित भनाउँदा मान्छेहरूका दुर्व्यवहारको उनले पर्दाफास गरेका छन् । आज देशको नेतृत्व सज्जनहरूले गरेका छैनन् । ड्राइभरहरूलाई पछाडि राखेर सहचालकले गाडी हाँक्दा गन्तव्यमा पुग्न सकिँदैन । अहिलेको नेपालको अवस्था पनि त्यही नै हो भन्ने कुरामा कवि सहमत देखिन्छन् । उनी लेख्छन्ः
खलाँसीहरूहरू केवल हाँक्ने रहरमा व्यस्त छन्
र हाँकिरहेछन् निरन्तर
खलाँसीहरू गाडी हाँकिरहेका छन् !
(खलाँसीहरू गाडी हॉकिरहेछन्, पृष्ठः ५)
कुनै कवितामा लम्सालले हातहतियारको दुरुपयोग भएकामा चिन्ता प्रकट गरेका छन् भने कुनैमा रोगभोकमा डुबेका गरिबनिमुखाहरूलाई शोषक–सामन्तहरूले बढी सताउने गरेको प्रवृत्तिको विरोध गरेका छन् । भाट प्रवृत्ति तथा हनुमान संस्कृतिप्रतिको विरोध पनि उनका कवितामा विषयवस्तु बनेर आएका छन् । हनुमान संस्कृति भनेको दास मनोवृत्ति हो । समाजमा जबसम्म दास मनोवृत्ति रहन्छ तबसम्म देशमा आमूल परिवर्तन सम्भव हुँदैन । आजका मान्छेमा स्वावलम्बीपनको अभाव टड्कारो देखिएको छ । अर्काको पसिनामा पौडी खेल्नेहरूले ताण्डव नृत्य मच्चाइरहेका छन् । लुटेराहरूले सर्वसाधारण जनताको रगत चुसेर बदलामा महङ्गी पस्किरहेका छन्, राष्ट्रको अस्मिता लुटिरहेका छन् । हाम्रो समाज आजसम्म पनि सामन्तहरूको पन्जाबाट मुक्त भएको छैन । शासकहरू जनतालाई रैती ठान्दछन् । शासकहरूको सामन्तवादको नाइके तथा ठग नेताहरूप्रति पनि कविले रोस प्रकट गरेका छन् । हत्याआतङ्कको साम्राज्य फैलाएर शासन गर्ने प्रवृत्तिको पनि उनले उछित्तो काढेका छन् । कवि निर्दोष प्राणीहरूको रगत चुस्ने सिंहराजको अन्त्य चाहन्छन् । बरु आफू मर्नुपर्छ भने पनि तयार तर देश बिगार्नेहरूलाई निर्मूल पार्नैपर्छ भन्ने सन्देश दिने कवि लम्साल नेपालीहरूको अस्तित्वमा मडारिएको कालो बादल हटाउन चाहन्छन् । २०४६ सालको परिवर्तनपश्चात् दल तथा दलीय नेताहरूले चुनावी नाटकको मञ्चन गरेर जनतालाई ठग्ने लाइसेन्स लिए र आफ्ना लागि महल बनाए, पजेरो अनि थुप्रै घरघडेरी जोडे । दरबारको यशोगान गर्दै ती दल तथा नेताहरूले आफूलाई सत्तामा पु-याउने भ-याङको ढाड भाँचे । बहुदलीय शासनकालको निर्वाचनमा बहुमत ल्याएकै आधारमा जनता र राष्ट्रमाथि घात गर्नेहरूलाई सङ्केत गर्दै उनी लेख्छन्ः
देश निचोरेको तेलले
आफ्नो मालिकको लुतो निको हुन्छ भने
देशै निचोर्न आदेश दिन्छन् तिनीहरू
आफ्नो घर बनाउँदा देश भत्काउनुपर्छ भने
देशै भत्काउने निर्णय गर्छन् गर्छन् तिनीहरू
आफूले घडेरी किन्नुपर्दा
देश बेच्नुपर्छ भने
देशै बेच्ने निर्णय गर्छन् तिनीहरू ।
(ती बहुमतवालाहरू, पृष्ठः ६५)
दरबारको भलो चिताएर जनतासँग पनि चोचोमोचो मिलाउन खोज्ने दहीचिउरे नेता र तिनका कार्यकर्ताहरू नै राष्ट्रघाती हुन्, विकासका विरोधी हुन् । जनताले कहिल्यै विकासको विरोध गर्दैनन् तर मालिकको सोझो जिताउने हनुमान प्रवृत्तिका नेता तथा कार्यकर्ताहरू आफ्नो मात्रै दुनो सोझ्याउँछन्, तिनीहरू अरुको भलो चाहँदैनन् । यस किसिमका नेताहरू त आशीर्वाद लिन देशविदेशका दरबारमा पनि पुग्छन् । यस सन्दर्भलाई लिएर कवि लम्साल लेख्छन्ः
अर्काको आशीर्वादमा नाचेका हनुमानहरू
याद गर
आशीर्वादका मुहानहरू क्रमशः सुक्दै छन् ।
(हनुमानहरू, पृष्ठः १७)
लम्सालका कतिपय कवितामा विद्रोह तथा क्रान्तिचेत स्पष्ट रूपमा आएको छ । नेपालमा नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धप्रति पनि उनले कुनै कुनै कवितामा सकारात्मक विचार प्रकट गरेका छन् । सत्यको पक्षमा लाग्नेहरूको जित सुनिश्चित छ । अन्याय गर्नेहरूले एक न एक दिन हार स्वीकार गर्नैपर्ने हुन्छ । विजय हासिल गर्नका लागि जङ्गल पस्नुपर्ने परम्परा पौराणिक कालदेखिकै हो । न्यायको सत्ता स्थापनार्थ अर्थात् अन्यायलाई निर्मूल पार्नका लागि जङ्गल पनि पस्नुपर्छ भन्ने यथार्थलाई सङ्केत गर्दै कवि लेख्छन्ः
एउटा शाश्वत सत्य के छ भने
पौराणिक कालदेखि इतिहास हुँदै
आज आधुनिक कालसम्म आइपुग्दा
कौरवहरूको विजय कतै पाइएको छैन
र पाण्डवहरूको विजय नै सुनिश्चित छ
कौरवहरूविरुद्ध पाण्डवहरू पनि
जङ्गलै पसेका थिए ।
(पार हुन सक्ने सुनिश्चित एउटा जङ्ग, पृष्ठः ४८)
पराधीनतालाई अस्वीकार गर्ने कवि लम्साल काम नगरी ठगेर खानेहरूलाई अगस्तिको संज्ञा दिन पुग्छन् । आफ्ना कविता भोकाउनेहरूका निम्ति लेखिएका हुन्, अघाउनेहरूका लागि होइनन् भन्दै उनले आफ्नो विचार पक्षलाई कवितामार्फत यसरी प्रस्तुत गरेका छन्ः
अघाउनेहरूको कविता कविता होइन डकार हो
भोकाउनेहरूको कविता कविता होइन चित्कार हो ।
(विभाजित कविताहरू, पृष्ठः २८)
कवि लम्सालभित्र नारी संवेदना पनि ब्युँतेको देखन्छ । उनी स्वास्नीमानिसहरू सन्तान जन्माउने मेसिन मात्र होइनन् भन्दै नारीहरूप्रति श्रद्धाभाव व्यक्त गर्दछन् एकातर्फ भने अर्कातर्फ नारी सस्तो लोकप्रियताका लागि विज्ञापनको खेलौना भएकामा चिन्ता प्रकट गर्दछन् । गरगहना तथा फेसनको प्रतिस्पर्धामा नारीहरूले आफ्नो अस्तित्व आफै गुमाइरहेको अवस्थाप्रति पनि कवि संवेदनशील देखिन्छन् ।
कवि नयाँ तथा सुनौलो नेपालको निर्माण होस् भन्ने चाहन्छन् । उनी कुराभन्दा बढी काम भएको देख्न चाहन्छन् । शासन बुढाहरूले भन्दा युवाहरूले राम्रो चलाउन सक्छन् । सजिएका बुढा गोरुहरूबाट सृष्टि सुचारु हुन सक्दैन । नयाँ पिढीको जोश र जाँगरको सदुपयोगका लागि पनि थोत्रापुराना बुढाहरूले ठाउँ छोड्नुपर्छ भन्दै कवि लेख्छन्ः
कोरली ओगट्न छोड
बैँसालुहरूको सिर्जनशीलताको
अवरोधक नबन
किनकि देश गोरु–गोरुको
मात्र बुढा गोरुको होइन
र देश
आधुनिक नश्लका बहरहरूलाई छोड
कोरलीहरूलाई छोड ।
(बुढा गोरुहरू, पृष्ठः ५७)
यस्तै एक अर्को कवितामा कविको नयाँ नेपालको निर्माणको चाहना यस्तो देखिन्छः
मौजुदा वसन्तभन्दा बेग्लै
रक्तबीजहरू उमारोस् योद्धाहरूका
धर्तीमा एउटा अर्कै आकाश चाहिएको छ
नक्षत्रहरू चम्कून् योद्धाहरूका
धर्तीमा एउटा ठूलै परिवर्तन चाहिएको छ
यो मौसम परिवर्तनभन्दा बेग्लै
झुलून् आस्थाका बालाहरू र
फुलून् विश्वासका फूलहरू
(एउटा नयाँ सृष्टि रचौं, पृष्ठः ७७)
जनता खच्चड भएका छन् । खच्चडकै दानापानी खाएर खच्चड धपाउनेहरूले खच्चडलाई टन्न भारी बोकाएर भोकै धपाएका छन् । खच्चडहरू निरन्तर भारी बोकिरहेका छन् । न चर्को घाम भन्न पाउँछन्, न झरीमा ओत बस्न पाउँछन् । उल्टै खच्चड धपाउनेको कोर्रा खाँदै खच्चडहरू जीवन घिसार्न बाध्य छन् । जनतालाई खच्चड बनाउनेहहरूप्रति कवि यसरी लेख्छन्ः
खच्चडले बोकेको दानापानी खाएर
धपाउनेहरू नेता भएका छन्
खच्चडलाई नै दाना भनेर
कतै रिन र कतैबाट अनुदान ल्याएका छन्
खच्चडको नाममा आफैले चइन गरेर भ्याएका छन् ।
(खच्चडहरू, पृष्ठः ७८)
राष्ट्र र राष्ट्रियताप्रति पनि कवि निकै संवेदनशील देखिन्छन् । महाकालीको पानी बेचिँदाको सन्दर्भ होस् या सिमाना मिचिएको सन्दर्भ होस्, यी राष्ट्रघाती सन्दर्भबाट उनी निकै चिन्तित देखिन्छन् । यही चिन्तामा उनी अङ्ग्रेजहरूको साम्राज्यवादी नीति र भारतीय विस्तारवादी नीतिको पनि विरोध गर्न पुग्छन् । यस सन्दर्भमा उनको अभिव्यक्ति यस्तो छः
म टनकपुरमा पानी दुःखेको छु
म जनकपुरमा नानी दुःखेको छु
नालापानीमा युद्ध फुकेको थिएँ
कालापानीमा गाला दुःखेको छु
गण्डकीमा कुलो दुःखेको छु
घरको साँधसीमामा आँखाको फुलो दुःखेको छु
म मेरो देशको माटो दुःखेको छु ।
(शङ्खघोष, पृष्ठः ३९)
संवेदनाहीन हत्यारा शासकहरूले जति नै चर्को स्वरमा राष्ट्रियताको नारा घन्काए पनि उनीहरूमा रतिभर राष्ट्रियताको भावना हुँदैन । हिंस्रकहरूको देशमा जनता भयरहित जीवन बाँच्न सक्दैनन् । राष्ट्रियताका सवालमा उनको एक अभिव्यक्ति यस्तो छः
न बाघहरू राष्ट्रियताको नारा लाउँछन्
न बाजहरू राष्ट्रवादको नारा घन्काउँछन्
बरु उनीहरू त
पृथ्वीको वल्लो किनारदेखि पल्लो किनारसम्म
वल्लो पाटोदेखि पल्लो पाटोसम्म
जहाँजहाँ आफ्नो शिकार भेट्टाउँछन्
त्यहीँत्यहीँ काकाकुलले पानी भेट्टाएझैँ
तनक्क तन्काउँछन्
सर्पले भ्यागुतो भेट्टाएझैं
सिनित्त पार्छन्
अनि आफ्नो खुला र स्वतन्त्र चरित्रको
परिचय दिन्छन् र स्वतन्त्रताको डिङ्री छोड्छन् ।
(बाघ र बाजमा राष्ट्रियता हुँदैन, पृष्ठः ८२)
सहिदहरूप्रति सम्मान, केही अग्रज कविहरूको सम्झना, दन्त्यकथा आदिलाई पनि लम्सालले आफ्ना कवितामा विषयवस्तु बनाएका छन् । सरल तथा सहज भाषाको प्रयोगका कारण यस सङ्ग्रहका कविताहरू दुर्बोध्य छैनन् । आन्तरिक लयको सिर्जना गर्ने क्रममा केही कवितामा जबर्जस्ती शब्द प्रयोग गरिएको जस्तो महसुस भए पनि अधिकांश कवितामा लय तथा अनुप्रास योजना सुन्दर तवरबाटै भएको देखिन्छ । सङ्ग्रहमा सङ्कलित अधिकांश कविता नेकपा माओवादीले सुरु गरेको जनयुद्धकै कालमा रचना गरिएका हुन् । सङ्गृहीत कविताहरूमा नेपालमा सर्वहारा वर्गले लडेको युद्धको परिवेशलाई अझै प्रभावकारी र कलात्मक रूपमा प्रतिबिम्बित गर्न पनि सकिन्थ्यो तर कतिपय कवितामा त्यसो हुन सकेको छैन । कविले सामन्ती तथा शोषणमूलक समाज, कुसंस्कृति, अन्धपरम्परा आदिप्रति विद्रोह गरेका छन् तर त्यो विद्रोह सबै कवितामा सामूहिक तथा साङ्गठनिक रुपमा नआएर अझ कुनै कुनै कवितामा त व्यक्तिगत असन्तुष्टि तथा व्यक्ति विद्रोहका रुपमा पनि आएका छन् । यसमा सङ्कलित कतिपय कविता सामान्य भावका छन् भने कतिपय मध्यमस्तरीय भावका पनि छन् । बढीजसो कविताहरू कुरुप यथार्थ अर्थात् यथास्थितिका विरुद्धमा छन् । सङ्कलित कविताहरू वैचारिक दृष्टिमा प्रगतिशील भावका छन् । वर्गीय धरातलमा टेकेर वर्गद्वन्द्वलाई बुझ्दाबुझ्दै पनि कतिपय कवितामा प्रतिबद्धताको अभाव देखिनुलाई यस कवितासङ्ग्रहको सीमा मान्न सकिन्छ ।
पोखरा- १७, कास्की