१. पृष्ठभूमि
खण्डकाव्यकार नारायण मरासिनी (२०२९) को नेपाली साहित्यमा मुक्तक, गीत, कविता, कथा, खण्डकाव्य, समालोचना एवम् साहित्यिक पत्रकारिता विधामा महत्वपूर्ण योगदान रहेको छ । हालसम्म मरासिनीका आधा दर्जनजति कृतिहरु प्रकाशित छन् । मरासिनीद्वारा सिर्जित ‘साने’ (२०५६) सामाजिक यथार्थमा आधारित खण्डकाव्य हो । नेपाली समाजको यथार्थ रूप यस कृतिमा देख्न पाइन्छ । राजा, महाराजाहरूको आडमा गाउँघरका सामन्त, शोषकहरूले दीनदुःखी, गरिब किसानलाई गरेको अत्याचारको ज्वलन्त उदाहरण प्रस्तुत भएको यस खण्डकाव्यको नायक हो साने । ऊ एउटा सामान्य किसान हो । उसका मनमा अनेक आशा, आस्था र सङ्कल्पहरू छन् । उसमा शक्ति छ तर अवसर छैन । चेतना छ तर मूल्य छैन । श्रम र सीप छ तर प्रयोग गर्ने ठाउँ छैन । जीवन्त मान्छे छ तर मान्छेमा देखिने बाहिरी आवरण छैन । यसर्थ हाम्रो समाजका सानेहरू गोरुजस्तै जोतिन्छन्, सानेहरू कहिले साहुको घरको नोकर बन्छन् त कहिले परदेशिन बाध्य हुन्छन् तर कहिल्यै मान्छे बन्न पाउँदैनन् । तिनले आफ्नो अधिकार प्रयोग गर्ने अवसर कहिल्यै पाएका छैनन् । त्यसैले तिनमा आशा र आक्रोश दुवै छन् ।
मरासिनीले यस खण्डकाव्यको सुरुमा केही पद्य हिमाल, पहाड र सुन्दर प्रकृतिको मुक्त कण्ठले वर्णन गरेका छन् । त्यसै गरी जन्मभूमिको पनि विशेष वर्णन गरेकाले वस्तु–निर्देशात्मक मङ्गलाचरण मानेर ग्रन्थारम्भ भएको भन्न सकिन्छ । उनले यसमा शार्दूलविक्रीडित छन्दको प्रयोग गरेका छन् । सामन्त र शोषकका शोषणमा पिल्सिएर नबसौँ । देशमा रहेका अन्यायी र अत्याचारी ठगाहाहरूलाई समाप्त गरेर शोषित र पीडित नेपालीहरूमा सुखका दिन आउनुपर्छ, परदेशिनु समस्याको समाधान हैन स्वदेशमा नै केही गर्नुपर्छ भन्ने क्रान्तिकारी विचार दिन चाहेका छन् । यस लेखमा साने खण्डकाव्यको कथावस्तु\आख्यान, पात्र वा चरित्र, परिवेश, लय–विधान, भाषाशैली, शीर्षक, प्रकाशन र संरचना पक्षको अध्ययन गरिएको छ ।
२ आख्यान\कथावस्तु
कथानक खण्डकाव्यको पहिलो अनिवार्य तत्व हो । खण्डकाव्यको विषयवस्तु ऐतिहासिक, पौराणिक, सामाजिक आदि हुन सक्छ । काल्पनिक विषयवस्तुमा पनि खण्डकाव्यको कथानक रहन सक्दछ । साने सामाजिक विषयवस्तुमा आधारित खण्डकाव्य हो । यसमा शोषित तथा परदेशी सानेलाई नायक बनाई सानेको जीवनवृत्तलाई प्रस्तुत गरिएको छ । सानेसँग सम्बन्धित अन्य पक्षहरूलाई पनि चित्रण गरिएको छ । वस्तुनिर्देशात्मक मङ्गलाचरण गरेर प्रारम्भ भएको यस खण्डकाव्यको कथानक झिनो छ । खण्डकाव्यमा कुनै सर्ग या खण्ड प्रयोग गरिएको छैन । सामाजिक धरातलमा रचिएको हुनाले गाउँघरका साहु भनिने मुखिया, जमिनदारबाट सिधासादा गाउँलेलाई गरिने शोषण, दमनको यथार्थ चित्रण यस खण्डकाव्यमा पाइन्छ ।
कथानकको आरम्भमा सानेको परिचय गराउने क्रममा उसको पारिवारिक अवस्थाको प्रसङ्ग आएको छ । सानेको बाल्यकाल दुःखमय थियो । समाजका लागि हितैषी उसका पिताको सानै छँदा मृत्यु हुन्छ र ऊ टुहुरो हुन्छ । साने सानो दुधे बालक हुन्छ । उसकी अधबैँसे आमा टुहुरो बच्चालाई के खुवाउने ? कसरी पाल्ने भनी चिन्तित हुन्छिन् । बिहानदेखि बेलुकीसम्म मेलापात गरेर जेनतेन बच्चालाई दुध पिलाउँछिन् । उता सानेका बाबु मर्दा क्रियाखर्च स्वरूप लिइएको ऋणको भुक्तान गर्न नसकेकामा चिन्तित हुन्छिन् । साहुले पनि बेलाबेलामा दुःख दिइरहन्छ । खण्डकाव्यकारले साहुको व्यथालाई यसरी व्यक्त गरेका छन् –
पोल्टामा मनमा सबैतिर यहाँ साहू भयो राक्षस,
पाईलै पनि खेद्छ आज किन हो साँपै बनी डस्दछ ।
मेलापात असारमा विरहको भाका उराल्छिन् तिनी,
होचाको मुखमा सधैँभरि यहाँ गाडिन्छ घोँचो पनि ।। (साने ३४, पृ.७)
सानेको परिवारको स्थिति नाजुक हुन्छ । घरको छानाबाट पानी चुहिन्छ । सानो बच्चा घाँटीमा अड्काउदै ढिँडो खान सिक्दै जान्छ । यस्तै चरम गरिवीमा तातेताते गर्दै साने विस्तारै हुर्कदै जान्छ । गरिबीमा बाँच्न विवश सानेको चित्रण खण्डकाव्यकारले यसरी गरेका छन् –
देखिन्नन् सुखका झिलिक्क झिलका आश्वास मात्रै पिई,
फाटेको मन यो सिऊँ म कसरी धूजा भयो च्यातिई ।
डल्लो गाँस ढिंडो सकी र नसकी आँसु सरी तीहुन् ,
त्यै नै छैन भरीभरी उदरमा सक्छु म के जीउन ।।(साने ३३, पृ.७)
साने विस्तारै आमाका स्थिति र मर्म बुझ्न सक्ने खालको हुन्छ । वयस्क भइसकेको साने खाली खुट्टा बिहनमा घाँस काट्न वनमा, पानी भर्न पँधेरो, आमालाई मेलापातमा साघाउने हुन्छ । नयाँ वस्त्र नलगाई उसका कयौँ दशैँतिहार जान्छन् । धनी वर्गले पढ्ने गरीबले अक्षरसम्म देख्न नपाउने परिस्थितिमा सानेका साथीहरू पढ्न जान्थे भने ऊ दिनभर गोठालो जान्थ्यो । निःशुल्क शिक्षा भनिए पनि ठूलाबडाको हैकमबाजीले गर्दा गरीबनिमुखाले पढ्न पाउँदैनथे । सानेको त्यही अवस्थालाई खण्डकाव्यकार यसरी चित्रण गर्दछन्–
साथी दौंतरका डटे पुगिगए ती पाठशालातिर,
आशाको सपना भएन विपना खोक्रो भयो तक्दिर ।
निःशुल्कै भनिए तथापि महँगा दीक्षा र शिक्षा भए,
पैसावाल पढे अरू सब लडे दुस्साहसी फैलिए ।। (साने ५४, पृ.११)
साने विस्तारै सबै कुरा बुझ्ने हुन्छ । जङ्गलमा ऐसेलु, काफल खाँदै, दौँतरीहरूसँग खेल्दै, हलो, जुवा र मेलापात गर्दै सानेका दिनहरू बित्छन् । गाँउमा गरिवीका कारणले विदेशिने लहरो फैलन्छ । घरमा आमालाई एक्लै छाडेर विदेश जान नसकेर सानेले संस्कारी केटी खोजेर बिहे गर्ने निर्णय गर्दछ । अनपढ, टुहुरी केटी भए पनि सानेले अन्तर्जातीय विवाह गरेर समाजमा विद्रोह गर्ने सोच बनाउँछ । दुबै जना मेलापात जाँदा प्रेममा परेका हुन्छन् । आफ्नो प्रेमलाई सानेले यसरी व्यक्त गरेको छ–
तिम्रै याद छ प्रेम शुद्ध मनमा माया अती गर्छु म । (साने ६९, पृ.१४)
यसरी निरन्तर चलेको प्रेमले केही समयपछि विवाहको रूप धारण गर्दछ । उसको विवाहको वर्णन खण्डकाव्यकार यसरी गर्दछन् –
सीमाना नभई खुसी र सुखको उर्लेसरी भेल भो,
इच्छा त्यो मनको पुगेछ अबता दो जीउको मेल भो ।
कालो बादल कत्ति छैन नभमा धब्बा न त्यो चाँदमा,
लक्ष्मी साथ लिएर पस्छ घरमा गर्छिन् मुमा कामना ।। (साने ७०, पृ.१४)
अनेक दुःख–पीडा र समस्याको सामना गर्दै उसको दाम्पत्य जीवन अगाडि बढ्दछ । गाँउघरमा अन्तर्जातीय विवाहको धोर भत्र्सना भए पनि उनीहरूले दुःख तथा सङ्घर्ष गर्दै घरपरिवार चलाएका छन् । घरको चुहिने छानो, साहुको कचकच, आमाका सपना तथा श्रीमतीको दुःख देखेर सानेले विदेश जाने अठोट गर्छ । आफू परदेसिँदा साहुरूपी भमराले फूलरूपी श्रीमतीलाई चुस्ने डर सानेको मनमा पैदा हुन्छ । आफ्नो कर्तव्य पूरा गर्न भने पनि विदेश जानै पर्छ भनी सानेले आफूलाई सम्झाउँछ । पैसामा सारा संसार लुब्ध छ भन्ने कुरा कविले यसरी वर्णन गरेका छन्–
पैसा धेर कमाउने भनिभनी मेट्छन् भरी मानव,
पैसै हो मनको चिता दनदनी दन्काउने दानव ।
हत्तेरो धन हो बुझेर पनि ती सम्पत्तिको खातिर,
गर्छन् आपसमा लडाईं झगडा मान्छे स्वयम् आखिर ।।
यसरी आफ्नो मनलाई सम्झाउँदै माता र पत्नीलाई पनि सम्झाएर एकबिहानै साने परदेशको बाटो लाग्छ । खोलाको बगर–बगरै जाँदा बाटामा कतै कालो सर्प देखिन्छ, कतै काँस फुलेर सेतै बगर देखिन्छ । घरिघरि जाडो हुन्छ, घरि खुट्टामा ठेस लागेर पीडा असह्य हुन्छ । उकालीओराली गर्दै स्याङ्जाको वालिङ्बाट भैरहवा र भैरहवाबाट साने गोरखपुर पुग्दछ । सबै कुरा नौलो मानेको सानेले पैसा तिरेर खाना खान्छ । जाडो याममा एक साता बिना काम बस्नु पर्दा सानेको सबै खर्च सकिन्छ । कतै भर्ती खुलेको सुनेर साने सेनामा भर्ती हुन जान्छ र बहुत सङ्घर्षपश्चात् साने भारतीय सेनामा भर्ती हुन्छ । समयान्तर पछि गाँउ नै बिरानो हुँदै जान्छ । सानेले आफ्ना परिवारलाई बारम्बार स्मरण गरिरहन्छ । परदेशको दुःखभन्दा त आफ्नै देशमा दशनङ्ग्रा खियाएर बस्नु ठिक हुने रै’छ भन्ने कुरा सानेलाई बोध हुन्छ । परिवारलाई पठाएका ३ वटा चिठीको जवाफ नआउँदा साने चिन्तित हुन्छ । दुई वर्ष सेनामा काम गरेपछि सानेलाई घर जाने इच्छा हुन्छ तर पल्टनमा छुट्टी पाउँदैन । साने घरको बारेमा चिन्तित हुन्छ । श्रीलङ्कामा गृहयुद्ध साम्य पार्न भारतीय सेनालाई पठाउने आदेश आएको हुन्छ । सानेलगायतका साथीहरू पनि त्यही टिममा पर्दछन् र उनीहरूको श्रीलङ्कामा जाने तयारी हुन्छ । टाढाको यात्रा रेल चढेर शरीरमा राइफल, बम र खुकुरी बोकेर उनीहरू श्रीलङ्कातर्फ जान्छन् । जङ्गलको बाटो हिँड्दा गोडाभरि काँडा बिझ्छन् । जङ्गलको बास तथा कर्नेलको ठाडो आदेशले उनीहरू कयौँ रात अनिद्रामा बिताए भने कतिखेर कताबाट आक्रमण हुने हो भनी भयग्रस्त पनि थिए । युद्ध चल्दै थियो । गोली, बम, बारूदको धुँवा सबैतिर फैलिएको थियो । रगतको खोलो बग्दै थियो । मानवताको कलङ्क युद्ध हो । जहाँ सयौँ ज्यान गए । कति पानी नपाएर र कति उपचार नपाएर मरे । कसैका हात त कसैका खुट्टा, कसैका टाउका त कसैका आँखा गुमेका थिए । यस्तै युद्धले मानवता हराउने भन्दै कविले यसरी चिन्ता व्यक्त गरेका छन्–
मान्छेले किन हो दया र ममता बेच्दै छ बेच्दै छ हे,
नेपाली परजीवि भो किन यहाँ लड्दै छ लड्दै छ हे ।
जीत्यौं युद्ध भनी भनी समरमा हामी नगम्कौं यहाँ,
आफू हुन्छ भलो भने जगतकै सारा भलो हो जहाँ ।। (साने १६६, पृ.३४)
युद्धमा यसरी नै भयावह स्थिति बन्दै थियो भने गोर्खाली सेनाले युक्त भारतीय सेनाले युद्ध जित्दै थियो । रातको समयमा सबै आराम गरेको ठाँउमा पठानहरूले आकस्मिक आक्रमण गर्दछन् । साथीलाई गोली लाग्छ र उसलाई बचाउने क्रममा सानेमाथि नि हमला गर्छन् । साने घाइते हुन्छ । उनीहरूको उपचार गर्न अस्पताल लगिन्छ । हप्ता दिनपछि सानेलाई होस आउँछ । उसका घाइते साथीहरूको स्वास्थ्यमा सुधार आउँछ भने साने हरबखत घरपरिवारको चिन्तामा भएकाले स्वस्थ हुन् सक्दैन । साथीहरूको आश्वासनले गर्दा धिपिर धिपिर भएर बाँचेको सानेको घरबाट चिठी आउँछ । आमाको चिठीमा अनेक विडम्बना पोखिएका छन् । साहुले घरबारी आफ्नो नाममा गरेको, आफूलाई दुःख दिएको तथा आफ्नी प्राणभन्दा प्यारी श्रीमती पोइला गएको खबर सुनेपछि साने भावविह्वल हुन्छ । सानेको पीडालाई यसरी वर्णन गरिएको छ –
ऐलेको अहिले व्यथा दनदनी दन्क्यो बिरामी भएँ,
पीडा हुन्छ विछोडको अब यहाँ ओतै कहाँको लिने ?
साह्रै जीर्ण छु, छैन शक्ति सहने धैर्य कहाँ पाउने ?
बल्क्यो घाउ जताततै शरिरमा पीपै बढी आउने ।। (साने १८५, पृ.३६)
यसरी भावविह्वल बनेको साने एक महिनासम्म विस्तारामै पर्दछ । साँझपख श्रीसूर्य आकाशमा विलीन भएझैँ साने पनि यो संसारबाट विलीन हुन्छ । उता गाउँमा एउटा गाइनेले सारङ्गीको धुनसँगै सानेको सारा वृतान्त सुनाउँछ । आमा त्यो कुरा सुन्नेबित्तिकै बङ्लङ्ग ढल्छिन् ।
यसरी प्रस्तुत खण्डकाव्यमा निम्नवर्गीय नेपालीले आफ्नो र परिवारको जीवन चलाउनका लागि गरिने सङ्घर्षलाई तथा गरीब निमुखालाई शोषकहरूले गर्ने शोषणलाई मुख्य आख्यानका रूपमा प्रस्तुत गरिएको छ ।
३ पात्र-चरित्र
‘साने’ झिनो कथानक भएको खण्डकाव्य भएकाले यसमा पात्र र भावको प्रबन्ध पाइन्छ । यस खण्डकाव्यमा नायकका रूपमा सानेलाई चित्रण गरिएको छ भने अन्यमा साहु सहायक पात्रका रूपमा चित्रण देख्न सकिन्छ । त्यस्तै सानेकी स्वास्नी, सानेकी आमा, सानेका साथीहरू, ल्याप्टेन, पठानीहरू गौण पात्रका रूपमा देखिन्छन् । यिनै पात्रहरूले खण्डकाव्यको कथानकलाई अगाडि बढाउने काम गरेका छन् । तिनै चरित्र वा पात्रहरूको सामान्य परिचय ती पात्रहरूको, खण्डकाव्यमा स्थिति, भूमिका र औचित्यको तल चर्चा गरिन्छः
क. साने
खण्डकाव्यको मुख्यपात्र साने खण्डकाव्यको नायक हो । साने शोषित वर्गको किसानहरूको प्रतिनिधिमूलक वर्गीय पात्र हो । साने सरल, निर्दोष, टुहुरो र निर्धो छ । साने खण्डकाव्यको अनुकूल पात्र हो । साने खेतीकिसानी गर्ने परिश्रमी स्वभाव भएको पात्र हो । आफ्नो परिवारलाई सुखी राख्ने तथा साहुको ऋण तिर्ने अभिलाशाले परदेशिएको उसका इच्छाआकाङ्क्षा केवल आशामा नै सीमित भएका छन् । सानेलाई शोषक–सामन्तहरुका विरूध्द लड्न मन छ तर देशमा उच्चपदस्थको पर्खाल छ जसले गर्दा ऊ अगाडि बढ्न सकेको छैन । सानेले गरीवीविरूद्ध, अन्तर्जातीय विवाहविरूद्ध तथा खराब सामाजिक परिपाटीविरूद्ध आवाज निकालेको छ ।
अतः साने शोषकसामन्तबाट आफूलगायत आफू जस्तै दीनदुःखी, शोषितपीडितलाई मुक्त गर्न कटिबद्ध भएर लागेको पात्र हो । यसरी हेर्दा साने स्थिर पात्र हो । जीवनचेतनाका आधारमा साने वर्गगत पात्र हो । साने सोझो, निश्छल, मिहिनेती र पीडित तथा निम्नवर्गीय पात्रका रूपमा देखापर्दछ ।
ख. साहु
साहुको उपस्थिति खण्डकाव्यमा खल पात्रको रूपमा छ, त्यसैले ऊ यस खण्डकाव्यको असत् चरित्र हो । यस खण्डकाव्यमा हाम्रो नेपालको ग्रामीण परिवेशलाई साहुको माध्यमबाट चित्रण गर्न खोजिएको छ । साहुजस्ता कयौं शोषकहरूले हाम्रा गाउँघरका सोझासाझा किसान तथा निमुखाहरूलाई पेलेर, दुःख दिएर समाजमा आफ्नो अस्तित्वलाई ठूलाबडाको संज्ञा दिएर आफूलाई अग्रगण्य साबित गर्न गरेका छन् । त्यसैगरी साहु पनि आफ्नो मान सम्मानको भोकले गर्दा दुःखी निमुखाहरूलाई प्रताडित गर्न उद्यत देखिन्छ । साहु वर्गीय चरित्र हो अर्थात् साने जस्ता निमुखाहरूलाई दुःख दिनु उनीहरू जस्ताको प्रवृत्ति बनेको छ । यही प्रवृत्तिको कारणले साहु काव्यको खलनायक पात्र हो । निमुखाहरू जति सहन्छन् उत्ति नै उनीहरूमाथि अन्याय र अत्याचार गर्नु साहुहरूको प्रवृत्ति हो । ऊ गाउँका सोझासाझा मानिसहरूको भलो चिताउँदैन । त्यसैले ऊ शोषक सामन्ती वर्गको प्रतिनिधित्व गर्ने पात्र हो । सोझो साने गरीव, परदेशी जस्ताको परिवारलाई अत्याचार गर्ने प्रवृत्ति उसको छ । उसको मपाईंत्वले गर्दा समाजमा सहेर बस्नेहरू अब नबस्ने अवस्थामा छन् ।
अतः काव्यमा स्थिर चरित्रको रूपमा साहुको उपस्थिति रहेको छ । साहु धूर्त, सामन्ती उच्च वर्गीय पात्रका रूपमा आएका छ ।
४. परिवेश
साहित्यको काव्य विधाअन्तर्गत पर्ने खण्डकाव्य एक उत्कृष्ट विधा हो । त्यसैले यसको कथानक फैलनको लागि परिवेशको आवश्यकता पर्दछ । कथानक, समय, स्थान र अवस्थाको सापेक्षतामा घटित हुनुपर्दछ । पूर्वीय एवं पाश्चात्य साहित्य शास्त्र दुवैतिर यसको मान्यता रहेको छ । पूर्वीय काव्य शास्त्रीहरूले खण्डकाव्यमा वन, सहर, गाउँ, प्रकृति आदि सम्पूर्ण पक्षको यथोचित चित्रण रहनुपर्ने धारणा राखेको पाइन्छ । सामाजिक, सांस्कृतिक, युद्ध, क्रान्ति, विनाश, यात्रा आदि परिस्थितिको चित्रण रहनुपर्ने पाश्चात्य काव्यशास्त्रीहरूको मान्यता रहेको पाइन्छ ।
साने खण्डकाव्य ग्रामीण परिवेशमा रचना भएको हो भने पछि भारत श्रीलङ्का जस्ता देशहरू पनि परिवेशका रूपमा आएका छन् । कथानकमा प्रस्तुत वातावरण, रीतिरिवाज, बोलचाल आदिले यसको पुष्टि गर्दछन् । निम्न वर्गको आर्थिक समस्याको चित्रण गर्दै सामन्ती शोषण र थिचोमिचोको जीवन्त चित्रण यसले गरेको छ । यसमा निम्न वर्गका गरीवहरूको श्रमको मूल्य नपाउने समाज तथा गरिबी छल्न परदेशिने समाज छ । वि.सं. २०५० भन्दा अगाडिको नेपाली ग्रामीण समाज यसमा रहेको छ । यसरी खण्डकाव्यमा यथोचित मात्रामा परिवेशको चित्रण रहेको पाइन्छ ।
५. उद्देश्य
उद्देश्य विना कुनै पनि काम मानिसले नगर्ने हुनाले खण्डकाव्य पनि निरुद्देश्य भएर लेखिएको हुँदैन । खण्डकाव्यको मूलभाव वा मूल–सन्देशलाई नै उद्देश्य भनिन्छ । खण्डकाव्यले केही न केही भावना, मान्यता वा विचारलाई आत्मसात गरेको हुनुपर्दछ । पूर्वीय साहित्य मान्यताअनुसार धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये कुनै एकको प्राप्ति उद्देश्य रहनुपर्ने नियम रहेको पाइए तापनि साने खण्डकाव्यले यस नियमलाई अवलम्बन गरेको छैन ।
साहित्यकारले भावक र पाठकालाई कुनै मूलभाव, विचार वा भाव सम्प्रेषण गर्ने उद्देश्य राखेको हुन्छ । साने खण्डकाव्यमा पनि खण्डकाव्यकारले महत्त्वपूर्ण सन्देश दिएका छन् । कृषि गरी पृथिवीलाई किसानहरू हराभरा गराई अन्न उत्पादन गर्दछन् । आफू पनि खान्छन् र अरु सबैलाई पनि खुवाउँछन् । देशका सम्पन्न वर्गका लागि बाँच्ने आधार भनेका गरीब किसान नै हुन् । सारा मानिसको बाँच्ने आधार भएर पनि उनीहरू आफू चाहिँ भोकै र नाङ्गै बस्नुपर्ने परिस्थितिमा पुगेका छन् । शोषक सामन्तहरू किसानका श्रममा रजाईं गरेर उनीहरूकै मतबाट सत्तामा पुग्छन् र सत्तामा पुगेपछि किसानलाई चटक्कै भुल्दछन् । देशमा काम गर्ने उपयुक्त वातावरण नभएकाले साने जस्ता हजारौ व्यक्तिहरू परदेशिएका छन् । त्यसकारण सत्तासीन नेताहरूले देशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । गरीब तथा निमुखाको भाग खोसेर आफ्नो पेट भर्ने शोषक तथा सामन्तहरूलाई देशनिकाला गर्नुपर्दछ । यसरी परम्परित रूपमा गरीबलाई शोषण गर्दै आफ्नो पेट भर्ने तथा गरिबीका कारण परदेशिनुपरेको बाध्यताप्रति आक्रोश पोख्दै चेतना र जागरणका लागि शङ्खघोष गर्नु यस खण्डकाव्यको उद्देश्य हो । यस्तै ती शोषक र सामन्तीको चरित्र जस्ताको तस्तै उतार्नु पनि खण्डकाव्यको मुख्य उद्देश्य हो ।
६. शीर्षक
पूर्वीय साहित्य मान्यताअनुसार शीर्षक कवि, नायक वा कथावस्तुका आधारमा राख्नुपर्ने हुन्छ । प्रस्तुत खण्डकाव्यको शीर्षक नायकको नामबाट राखिएको छ । यस खण्डकाव्यमा साने भनेर नायक सानेलाई बुझाउन खोजिएको हो । काव्यभरि सानेकै केन्द्रीयतामा शीर्षक अडिएको पाइन्छ । गरिब तथा परदेशी साने सम्पूर्ण गरिब किसान र परदेशी नेपालीको प्रतिनिधि पात्र हो । यस खण्डकाव्यको सम्पूर्ण कथानक र परिवेश सानेकै वरिपरि घुमेको छ भने यस खण्डकाव्यको उद्देश्य पनि सबै शोषित, पीडित नेपाली दाजुभाइका साझा समस्यालाई गरिब तथा परदेशी साने मार्फत् प्रस्तुत गरिएकाले शीर्षक सबैतिरबाट सार्थक र औचित्यपूर्ण रहेको छ ।
७. लयविधान
संस्कृत साहित्यमा छन्दको उल्लेख वेदका ६ ओटा अङ्गहरूमध्ये एउटा अङ्गको रूपमा वैदिक कालदेखि नै चलिआएको पाइएता पनि लौकिक प्रयोगका रूपमा इसाको दोस्रो शताब्दीतिरका संस्कृत वाङ्मयका आचार्य पिङ्गल मुनि मानिन्छन् । छन्दका प्रथम आचार्य पिङ्गलले आफ्नो छन्दसूत्रमा छन्दशास्त्रसम्बन्धि प्रथम चर्चा गरेको पाइन्छ । पहिले छन्दको प्रयोग वेदहरूमा मात्र हुन्थ्यो भने पछि आएर वाल्मीकि, वेदव्यास, भारवी, कालिदास, माघजस्ता विद्वानहरूले लोकमा पनि छन्दको विस्तार गरेको पाइन्छ । वस्तुतः गति, यति र लय मिलेको मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने निश्चित मान वा रूप जसमा आधारित भई काव्यसिर्जना गरिन्छ, त्यो नै छन्द हो । शास्त्रीय छन्द, जातीय छन्द, लोक छन्द अन्य देशीय छन्द र मुक्त छन्द गरी छन्दका विविध भेदहरू रहेका छन् ।
मरासिनी लोक तथा शास्त्रीय छन्दमा कविता लेख्ने कवि हुन् । उनका खण्डकाव्यमा शास्त्रीय छन्दको प्रयोग पाइन्छ । यस साने खण्डकाव्यमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यस खण्डकाव्यमा प्रयोग भएको छन्दलाई निम्नअनुसार प्रयोग गर्न सकिन्छ–
शार्दूलविक्रीडित
जुन छन्दमा छैठौँ एवं बाह्रौ अक्षरमा विश्राम हुने गरी क्रमशः मगण, सगण, जगण, सगण, तगण, तगण, र अन्त्यमा एक लघु वर्ण रहेर एक चरण तयार हुन्छ त्यस छन्दलाई शार्दूलविक्रीडित छन्द भनिन्छ । यो छन्दशास्त्रको अतिधृति भेद अन्तर्गत पर्ने सुरसा, शम्भु, चन्द्रमाला, विभु, छाया आदि जस्तै उन्नाइस अक्षरको एक चरण बन्ने र चार चरणको एक पद्य बन्ने छन्द हो ।
पैसामा किनियो दया र ममता मान्छेहरू नै पनि,
पाइन्छन् रूपियाँ गनेर जसले चाहन्छ अर्थोक नि ।
ज्यूँदो मासु कतै बजार भरिमा छानेर पाइन्छ रे,
के हो यो जमना अचम्म अबता मान्छे गनायो हरे ।। (साने २१, पृ. ०५)
यस पङ्तिमा कविले शार्दूलविक्रीडित छन्दको वार्णिक नियमलाई न तोडिकन रचेकाले यो पद्य शार्दूलविक्रीडित छन्दको उपयुक्त उदाहरण हो । कविले यस खण्डकाव्यमा २०० वटा श्लोकमा यस छन्दको प्रयोग गरेका छन् ।
८. अलङ्कारविधान
पौरस्त्य काव्यशास्त्रमा अलङ्कार शब्दको व्युत्पत्ति अलङ्कृतिरेव अलङ्कारः तथा अलङ्क्रियते अनेन इति अलङ्कार भनी दुई प्रकारले गरेको पाइन्छ । अलङ्कार शब्दको व्यत्पत्तिलाई हेर्दा अलङ्कार भनेको काव्यको सौन्दर्य वा काव्य सौन्दर्यको कारकतत्त्व भन्ने हुन्छ । अलङ्कार शब्दको प्रथम प्रयोग ऋग्वेदमा त्यसपछि यास्कको निरुक्तमा अनि पाणिनीको अष्टाध्यायीमा भएको पाइएता पनि यसको काव्य–शास्त्रीय चिन्तन भने भरतमुनिको नाट्यशास्त्रमा भएको पाइन्छ । साहित्यमा अलङ्कारलाई सर्वोच्च र महत्त्वपूर्ण स्थान दिने काम छैटौँ शताब्दीका आचार्य भामहले गरेका हुन् । अलङ्काराको परिभाषा दिने क्रममा कसैले काव्यको साधन भनेका छन् भने कसैले अलङ्कारलाई सर्वोपरि महत्ता दिँदै अलङ्कारलाई साध्य बनाएका छन् । जे भएपनि काव्यको शोभाबर्द्धक धर्मका रूपमा चाहिँ अलङ्कारलाई सबैले स्वीकारेका छन् । जे होस् काव्यमा अलङ्कारको महत्तम स्थान छ । शब्दको विशेष प्रयोगमाथि आश्रित उक्ति वैचित्र्य वा उक्ति चमत्कारलाई नै शब्दालङ्कार भनिन्छ । शब्दालङ्कारले काव्यलाई वर्णविन्यासद्वारा श्रुतिमधुर तथा सौन्दर्यमय बनाउन मद्दत गर्दछ । अनुप्रास, यमक, वक्रोक्ति, श्लेष आदि शब्दालङ्कारभित्र पर्दछन् ।
शब्दको विशेष प्रयोगमाथि नभएर अर्थमा आश्रित हुने अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । यो शब्दमा भन्दा पनि अर्थमा निर्भर रहेको हुन्छ । यसमा एउटा शब्दको साटो समानार्थी वा पर्यायवाची अर्को शब्दको प्रयोग गर्दा अलङ्कार नाश हुँदैन । यो अलङ्कार अर्थगत, चमत्कार, वैचित्र्य एवं विलक्षणतामाथि आश्रित रहन्छ । यसका उपमा, रूपक, उत्प्रेक्षा, समासोक्ति आदि भेदहरू रहेका छन् । खण्डकाव्यकार मरासिनीले खण्डकाव्य सानेमा विभिन्न अलङ्कारहरूको प्रयोग गरेका छन् । अलङ्कारको वर्गीकरण वा विभाजन विभिन्न वर्गमा गरिएको पाइएता पनि ती सबै मान्यताहरू त्यति प्रचलनमा छैनन् । यसका शब्दालङ्कार र अर्थालङ्कार गरी दुई भेद बहु–प्रचलित र सर्वमान्य देखिन्छ । खण्डकाव्यकार मरासिनीले पनि आफ्नो खण्डकाव्यमा शब्दालङ्कार, अर्थालङ्कार सम्बन्धि केही अलङ्कारहरूको प्रयोग गरेको देखिन्छ । मरासिनीको साने खण्डकाव्यमा प्रयुक्त अलङ्कारहरू यस प्रकारका छन्–
क. अनुप्रास
स्वर वर्णहरूको विषमता रहे तापनि व्यञ्जन वर्णहरूको समान आवृत्ति हुने अलङ्कारालाई अनुप्रास अलङ्कार भनिन्छ । अनुप्रासको प्रयोग जहाँ गरे पनि त्यसको आवृत्ति भने उही स्वरूप र उही क्रममा हुनु अनिवार्य मानिन्छ । अनुप्रासका विभिन्न भेदहरू प्रयोग गरी लेखिएको साने विशेषतः अन्त्यानुप्रासयुक्त खण्डकाव्य हो । यसकारण खण्डकाव्य शोभायमान, पठनीय, रसानन्दीय अनुभूति दिन सफल छ । अन्त्यानुप्रासको उदाहरण काव्यमा यसरी गरिएको छ–
चिन्ता घोच्दछ छातिमा भतभती आगो सरी पोल्दछ ।
साँपै मार्छु म आज भन्छ उसको त्यो चेतना बोल्दछ ।।
कापी छैन किताब छैन कसरी जानू र मैले त्यहाँ ।
इच्छा हुन्छ पढूँ पढूँ त कसले गर्ला किसानी यहाँ ।। (साने ५४, पृ.११)
प्रस्तुत पद्यमा पहिलो र दोस्रो पाउको अन्तिम पोल्दछ र बोल्दछ शब्दहरूमा व्यञ्जनवर्ण स्वरवर्णसहितको समानता भएकाले यहाँ अन्त्यानुप्रासको प्रयोग भएको देखिन्छ । त्यस्तै तेस्रो र चौँथो पाउको अन्तिममा त्यहाँ र यहाँ व्यञ्जनवर्णहरूको समानता भएकाले यहाँ अन्त्यानुप्रास अलङ्कारको प्रयोग भएको देखिन्छ ।
ख. कारकदीप अलङ्कार
एउटा कारकका धेरै क्रियाका साथ सम्बन्ध जोडिएमा कारकदीप अलङ्कार हुन्छ । जस्तै–
बाच्छी एक थिइन् उसै र टुहुरी शोभा त्यहाँ गोठको,
बस्थिन् रोइकराइ गोठ तहरो पानी नि छेल्दैन त्यो ।
बन्साको भरमा सधैँ छ घरमा डाँडा र पाखा वन,
सोच्दै छे बिचरी अमुक नयनी कैले म हो फुस्कने ।।(साने१५, पृ.०३)
यहाँ बाच्छीको थिइन्सँग बस्थिन्सँग सोच्दै छेसँग सम्बन्ध भएकाले यो कारकदीप अलङ्कारको उदाहरण हो ।
ग. उपमा अलङ्कार
उपमाको अर्थ नजिक वा छेउ हो । कुनै चिजलाई अर्को चिजको नजीक वा छेउ राखेर त्यसको समानता अथवा असमानता देखाउनु वा प्रस्तुत गर्नु नै उपमालङ्कार हो । उपमा र उपमेयका बीच रूप,गुण, क्रिया आदिको समानता देखाउँदा वा दाँज्दा उपमा अलङ्कार हुन्छ । जस्तै–
आऊन् शब्दहरू खुलेर मनमा जस्तै असारे झरी,
बर्सून् कोमलकान्त पङ्क्ति रसका फैलाउने माधुरी ।। (साने ०१, पृ.१)
उपर्युक्त श्लोकमा उपमान– असारे झरी, उपमेय– शब्दहरू, सादृश्यबाचक– जस्तै, धर्म– आउनु क्रिया भएकाले यो श्लोकमा उपमालङ्कार प्रयोग भएको छ ।
९. भाषाशैली
भाषाविना साहित्यमात्र नभएर पूरा वाङ्मय नै निष्प्राण हुन्छ । साहित्यको भाषा झन् सशक्त हुनु जरुरी छ । खण्डकाव्यमा पनि चित्ताकर्षक भाषा हुन सकेन भने काव्य जतिसुकै भाव भरिएको भए पनि हृदय संवेद्य, लोकोत्तराह्लादजनक र पठनीय हुन सक्दैन । जब स्रष्टाले भाषालाई भावानुसार नचाउन सक्दैन, तब त्यो रचना निरस हुन्छ । सुललित पद–पदावलीको प्रयोग साहित्यमा अपरिहार्य छ । काव्यिक तत्त्वलाई अविभक्त गर्न सक्ने भाषाको चयन नै कुशल काव्य रचयिताको योग्यता हो । शैली कुशल कला शिल्पीको ढङ्ग हो । यो सर्वत्र आवश्यक हुन्छ । ललितकलाको क्षेत्रमा त झन् भाषाको भूमिका व्यापक छ । सुरुदेखि अन्तिमसम्म पाठकलाई मन्त्रमुग्ध बनाएर तान सक्ने प्रभावोत्पादक शैली खण्डकाव्यमा अत्यावश्क छ । काव्यको प्रतिपाद्य परिवेश, पात्र आदिको अनुकूल भाषाशैली अपनाउनु असल स्रष्टाको धर्म हो ।
नारायण मरासिनी स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि हुन् । त्यसैले उनका काव्यहरूमा भावमा बगेको भाषा पाइन्छ । प्रस्तुत साने खण्डकाव्यमा शार्दुलविक्रीडित छन्दको सफल प्रयोग गरिएको छ । यदाकदा छन्दभङ्ग पनि पाइन्छ । साथै अन्त्यानुप्रासको भङ्ग पनि देखिन्छ । शास्त्रीय छन्दका लागि आवश्यक ललित शब्दहरूको प्रयोग पाइन्छ । बिम्बात्मक एवं प्रतीकात्मक प्रस्तुतीकरणले झन् उच्चकोटीको बनाएको छ । यसरी सरल, सहज भाषा यसमा पाइन्छ । काव्यमा कतै कतै सन्दर्भ जनाउनका निम्ति गद्य भाषाको प्रयोग गरिएको छ भने अन्यत्र सबै पद्यात्मक भाषाको प्रयोग गरिएको छ । गरीब किसान तथा परदेशीको जीवन पद्धतिलाई विषयवस्तु बनाइएकाले यसमा प्रयुक्त भाषा सामान्य पाठक वर्गले सजिलैसँग बुझ्न सक्ने सरल र बोधगम्य भाषा पाइन्छ । शास्त्रीय लयमा लेखिएकाले यसमा प्रयुक्त भाषा परिष्कृत, लोकप्रयुक्त तथा सरल र सहज हुनु उचित देखिन्छ ।
१०. सर्गयोजना
कविताको बृहत् रूप महाकाव्यमा सर्गयोजना आवश्यक मानिए पनि खण्डकाव्यमा भने यसलाई वैकल्पिक रूपमा लिइएको पनि पाइन्छ । कतिपय समीक्षकहरूले सर्गयोजनालाई अनिवार्य नभए पनि अनुभूति र आख्यानलाई व्यवस्थित रूपमा संयोजित एवं संरचित गर्न सर्गयोजना आवश्यक रहेको स्वीकार गर्दछन् । कविताको मझौला रूप खण्डकाव्यमा अर्थ, भाग–विभागसहित पङ्क्ति, श्लोक, पृष्ठ आदिको सु–संयोजन सहित भावना एवं अनुभूतिको सु–व्यवस्थित संरचना कायम गर्न सकियो भने आवश्यक नहुन पनि सक्छ । तापनि सर्गमा विभाजित गर्नाले सरल हुन्छ । प्रस्तुत साने खण्डकाव्यमा सर्ग, अध्याय, परिच्छेद वा छाल आदि केही नभनेर कविले मौलिक प्रयोग गरेका छन् । गरीव तथा परदेशीको जीवन–पद्धतिमा केन्द्रित रहेर तिनकै आशा र सपनाहरूमा विषयवस्तु बाँधिएको हुनाले काव्यमा विच–विचमा सन्दर्भ जनाउन गद्य भाषाको प्रयोग गरेका छन् तर कुनै सर्ग योजना नभएकाले अन्य काव्य भन्दा सान्दर्भिक देखिन्छ ।
११. संरचना एवं प्रकाशकीय
संरचना भन्नाले सामान्यतः आकार–प्रकारलाई बुझिन्छ । प्रस्तुत सामाजिक विषय–वस्तुमा आधारित साने एक कृति हो । यस खण्डकाव्यलाई खण्ड आदिमा विभाजन गरिएको छैन तसर्थ सोझै आरम्भ भएर अन्त्य हुन्छ । यस खण्डकाव्यको समग्र श्लोकसंख्या २०० छ । प्रस्तुत खण्डकाव्यमा शार्दूलविक्रीडित छन्दको मात्र प्रयोग गरिएको छ । यसमा पृष्ठसंख्या ४० छ । मुख पृष्ठमा कलात्मक ढङ्गको चित्र राखिएको छ । मुख पृष्ठको तलतिर नारायण मरासिनी भनी लेखिएको छ । वि. सं. २०५६ सालमा शौर्य प्रकाशनले प्रकाशन गरेको यस खण्डकाव्यले वर्गीय पात्र सानेको विविध पक्षलाई चित्रण गरेर राष्ट्र–निर्माणमा लाग्न आह्वान गरेको छ । यस खण्डकाव्यको पुनः प्रकाशन भएको पाइँदैन ।
१२. निष्कर्ष
नारायण मरासिनीद्वारा रचित ‘साने’ समाजमा शोषक–सामन्तको निर्मूल हुनुपर्दछ, परदेशीको पीडा बुझ्नुपर्दछ, देशमा नै केही काम गर्ने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने विचार प्रस्तुत भएको खण्डकाव्य हो । खण्डकाव्यमा कथानक झिनो छ । पूर्णतः पूर्वीय साहित्य मान्यताको अवलम्बन नगरिए तापनि केही हदसम्म प्रयोग गरिएको छ । पाश्चात्य साहित्य मान्यताको पनि अवलम्बन गरिएको पाइन्छ । खण्डकाव्यका लागि आवश्यक पर्ने कथानक, चरित्र आदि विभिन्न तत्वहरूको उत्कृष्ट प्रयोग र केही औपचारिक प्रयोग रहेको साने खण्डकाव्य आकारमा छोटो र आख्यान तथा चरित्रविधानमा कमजोर देखिए पनि काव्यात्मक मूल्यका दृष्टिले उच्च र सन्देशप्रद छ ।
मरासिनी नेपाली साहित्यका स्वच्छन्दतावादी धारा तथा प्रगतिवादी धारा शैली–शिल्पका साहित्यिक व्यक्तित्व हुन् । साहित्यका विविध विधामा आफ्नो लेखनी सशक्त रूपमा चलाएका मरासिनीले विशेषतः कथा तथा खण्डकाव्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । उनको ‘साने’ (२०५६ खण्डकाव्य) तेस्रो प्रकाशित कृति हो । यस खण्डकाव्यलाई खण्ड, छाल आदिमा विभाजन गरिएको छैन । नेपालको ग्रामीण समाजको वस्तुस्थिति खण्डकाव्यमा दर्पणझैँ स्पष्ट छ । शोषितपीडित गरीब वर्गलाई सामन्त वर्गले के गर्नसम्म पछि पर्दैन, ती शोषित गरीबलाई किन माथि उठ्न दिँदैनन् र तिनका कारणले परदेशिन बाध्य तथा परदेशमा मृत्युवरण इत्यादि सबै देख्न सकिन्छ । खण्डकाव्यमा वर्गीय प्रतिनिधि पात्रका रूपमा नायक सानेलाई उभ्याइएको छ । बीच–बीचमा खण्डकाव्यकारले राष्ट्रिय भावना, वर्गीय असमानताका विरुद्ध आवाज उठाएर समुन्नत समाजका लागि आह्वान गरेका छन् । सामाजिक विषयवस्तु रहेको यस खण्डकाव्यमा झिनो कथानक छ । अतः कथानक पक्ष त्यति सबल छैन । कथानकमा हुनुपर्ने क्रमिक विकास यहाँ पाइँदैन । मुख्य रूपमा दुई पात्र देखिएका छन् । ती पात्र पनि शोषक र शोषित हुन् । शोषित पात्र नायक साने हो भने शोषक पात्र साहु हो । सहज र सरल भाषाशैलीले गर्दा खण्डकाव्य बोधगम्य छ । बिम्ब–प्रतीकले गर्दा झन् मिठास थपेको छ । शार्दूलविक्रीडित छन्दको प्रयोग गरेर लेखिएको खण्डकाव्यमा २०० श्लोकहरू छन् र ४० पृष्ठमा संरचित छ । खण्डकाव्यको नामले नै यसको विशेषतालाई सङ्केत गर्न खोजेको छ । शोषितपीडित वर्ग सधैँ शोषित भएर बस्नुपर्ने बाध्यतालाई यसमा चित्रण गरिएको छ । यही समस्यालाई निराकरण गर्न खण्डकाव्य प्रवृत्त देखिन्छ । अतः साने खण्डकाव्यलाई काव्यतात्विक दृष्टिले हेर्दा सफल खण्डकाव्यको रूपमा लिन गर्न सकिन्छ ।
आँधीखोला, स्याङ्जा