16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साइबर वाइफ

कथा विश्वराज अधिकारी August 15, 2023, 11:55 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

नितालाई साहित्यमा रूचि थिएन। उनको भनाइ अनुसार कुनै कथा वा कविता उनले कहिले पनि लेखेकी थिनन। तर कहिले काहिं पढ्ने गर्थिन। निताको त्येही कहिले काहिं पढ्ने बानीको उपयोग गर्ने अभिप्रायले मैले उनलाई प्रश्न गरे, “मैले एउटा कथा लेखेको छु। त्यो कथा कसरी समाप्त पार्ने भन्ने टुंगोमा म पुग्न सकेको छैन। अलमलमा छु। र त्यो अलमलको कारण त्यो कथा समाप्त हुन सकेको छैन। खासमा भन्ने हो भने कथाको उत्कर्ष लेख्न सकेको छैन।”
“सुनौ न त त्यो कथा कस्तो रहेछ।” निताको यो भनाइले मलाई सन्तुष्ट पार्यो। मैले कथा भन्ने तत्परता देखाएँ। तर एउटा सर्त पनि राखे, “निता जी, यो कथा सुनिसके पछि भने यो कथा कसरी समाप्त पार्ने भनी तपाइँले सल्लाह पनि दिनु पर्नेछ। अवश्य दिनु पर्नेछ है। कथाको समाप्ति दुई किसिमले हुन सक्छ। तपाइँले कुनै एउटा समाप्ति इमान्दारीपूर्वक रोज्नु पर्नेछ, है। मैले दुबै किसिमको समाप्ति प्रस्तुत गरेको छु।”
निताले हाँस्दै भनिन, “हुन्छ दिने छु।”
पाठक वृन्द, एँ साँच्चै, एउटा कुरा मैले भन्न छुटाए। पहिले नै भन्नु पर्ने थियो। मेरो र निताको भेट पहिलो पटक भएको थियो। मैले नै उनलाई नया सडक स्थित एउटा रेष्टुरेन्टमा दिउँसो लन्चको लागि आउन आग्रह गरेको थिएँ। र यो आग्रह फेसबुक मार्फत नै गरेको थिएँ। यो घटना सन् २०१८ को हो। नितासँग यो भन्दा पहिले कहिले पनि भौतिक रूपमा भेट भएको थिएन। केवल फेसबुकमा नै कुराकानी हुन्थ्यो। तर फेसबुकले हामी दुबैलाई ज्यादै नजिक पारिदिएको थियो। फेसबुकमा हुने च्याटले गर्दा लाग्थ्यो हामी प्रत्येक दिन भेट्छौ। मनका कुराहरू साटा साट गर्छौ।
म कथा भन्न उत्साहित भएँ। र आरम्भ गरे पनि। लन्च खाने क्रम पनि जारि थियो। खानेकुरा र तिनको स्वादमा भन्दा मेरो ध्यान केवल आफूले सुनाउने कथामा मात्र केन्द्रित थियो। के के खाने कुरा मैले ‘अर्डर’ गरेको थिएँ, राम्रो गरी याद पनि भएन।
“कथा यस्तो छ है निता जी।” वातावरणलाई केही सहज तुल्याउने प्रयास गर्दै मैले कथा भन्न आरम्भ गरे, “मेरो कथाको प्रमुख पात्र उमेश आज एउटा ठोस निष्कर्षमा पुगेको छ। कान्तालाई भेटेर आफ्नो मनको सबै कुरा भन्ने विषयमा उसको मनमा कुनै किसिमको द्विविधा अब छैन्। कान्तासँग उसको फेसबुक मार्फत दोहरो परिचय भएको नौ दस वर्ष भयो। फेसबुक चर्चामा आएदेखि उमेश र कान्ता नजिक भएका हुन्। कान्तासँग उमेशको एकहरो परिचय भएको त बयालिस वर्ष भइसकेको छ। त्यस्तो किन हो भने कान्तालाई उमेशले मन पराएको बयालिस वर्ष भयो। र यो बयालिस वर्ष भित्रमा, अर्थात कान्ताको बिहे हुनु भन्दा पहिलेसम्म, उमेशले कान्तालाई आफूले मन पराउने कुरा भन्ने हिम्मत कहिले गर्न सकेन। किन गर्न सकेन यसको पनि एउटा अर्को कथा छ। त्यो उपकथा पछि भन्ने छु। तर मुख्य कारण भने आर्थिक स्तर नै थियो। अहिले उमेश पहिले जस्तो भने गरिब छैन। तर कान्तालाई यी कुराहरू केही पनि थाहा छैन। कान्तालाई यति मात्र के थाहा छ भने उमेश र उनको मित्रता फेसबुक मार्फत भएको करिब दस वर्ष भएको छ। उमेश एक असल व्यक्ति हुन। एक इमान्दार व्यक्ति हुन। वौद्धिक व्यक्ति हुन। उमेशको सामाजिक छवि पनि राम्रो छ। उनले कान्तालाई धरै पहिले देखि, कलेजको जमानादेखि, चिनेको भन्ने कुराको सुइँको सम्म पनि छैन कान्तालाई।”
“उमेशको पनि बिहेबारी भएर उसका सन्तानहरूका पनि सन्तानहरू भइसेक छन्। यस्तै स्थिति कान्ताको पनि छ। तर दुबै नजिक छन, फेसबुक मार्फत। कान्तालाई उमेशको के कुराले आकर्षित गर्यो उमेशलाई थाहा छैन। तर अचम्म! फेसबुकले उनीहरूलाई झनै नजिक बनाइ दिएको छ। फेसबुकमा प्राय: दुबैले च्याट गरि रहन्छन। फेसबुकमा हरेक किसमका कुराहरू हुन्छन। आफ्नै सन्तानका देखि लिएर युवा अवस्थाका कुराहरू पनि। कलेजका कुराहरू पनि। सामाजिक परिवेश र नेपाली राजनीतिका समेत पनि।”
“फेसबुकमा उमेशले गरेका पोष्टिंगहरू कान्तालाई औधी मन परेर सोही अनुरूपको कमेन्टहरू आउँछन भने कान्ताले गरेका पोष्टिंगमा पनि उमेशको त्यस्तै किसिमका कमेन्टहरू आउने गर्दछन। दुई बीच सम्बन्ध सौहार्द छ। औपचारिकतामा मात्र सीमित छैन, फेसबुकका अन्य फ्रेन्डसहरूले गरे जस्तो।”
“दुबैबाट गरिएका फेसबुकका पोष्टिंग र कमेन्टहरूले दुबैलाई वैचारिक रुपमा पनि एक तुल्याइ दिएको छ।”
एक दिन उमेशले कान्तासँग फेसबुकमा कुरा गर्न न पाए उसलाई केही भुलेको, केही छुटेको जस्तो भान हुन्छ। यस्तै स्थितिमा कान्ता पनि हुनु पर्छ भन्ने उमेशको आशा छ। तर निश्चय भने छैन। उमेशको पोष्टिंकमा आएका कान्ताका सकारात्मक प्रतिक्रियाबाट उमेशलाई कान्ताले अति मन पराएको टुंगो मा पनि उमेश कहिलेकाहिं पुग्ने गर्दछ। र आफ्नो कलेजको जमानामा पुगेको, कान्तासँग प्रत्यक्ष कुराकानी गरेको क्षणिक कल्पना जनित आनन्द लिन्छ। आनन्दमा डुब्छ। मग्न हुन्छ।”
“फेसबुकका अन्य साथीहरू बीचको सम्बन्ध जस्तो उमेश र कान्ताको सम्बन्ध छैन। दुबै अति घनिष्ट छन। यो घनिष्टताले गर्दा नै उमेशलाई कान्तामाथि एक किसिमको अधिकार जस्तो अनुभव हुन्छ।”
“एक दिन उमेशले कान्तालाई पुतलीसडकको काठमाडौको नामी मानिएको एक रेष्टुरेन्टमा डिनरका लागि आउन आग्रह गर्छ। कान्ता आउछिन। उमेशले कान्ताई सबै कुरा भन्छ। आफूले कलेजको जमानादेखि नै कान्तालाई मन पराएको तर सो कुरा भन्ने आँट गर्न नसकेको रहस्य पनि खोल्छ। आफ्नो बिहे भइसकेको भएता पनि आफ्नी पत्नीलाई केवल एक ‘समाजिक पत्नी’ मात्र मानेको र मनसिक रुपमा भने आफ्नी पत्नीको रूपमा कहिले पनि नस्वीकार गरेको भन्छ उमेशले कान्तालाई।”
“उमेशले कान्तालाई तपाइँ मेरो साइबर वाइफ रहेको भन्छ। आफ्नो पत्नीलाई भावनात्क रुपमा पत्नी कहिले पनि नमानेको र केवल विवाहको धर्म मात्र निर्वाह गरेको पनि भन्छ। पहिलो संसारमा धर्म पत्नी र दोस्रो संसारमा साइबर वाइफसँग, यसरी, आफू सँधै दुई संसारमा बाँचेको यथार्थ पनि खुलस्त पार्छ।”
“कान्ता उमेशको कुरा सुनेर रिसाउँ छिन। मलाई यही भन्न बोलाएको, चर्को स्वरमा भन्छिन। तपाइँ खुस्केको मान्छे हो। मैले तपाइँलाई केवल एउटा साथी मात्र मनेको हो। त्यो भन्दा बढी केही पनि होइन। यस्ता अनेक कुरा गरेर कान्ता खाँदै गरेको लन्च छाडेर जान्छिन।”
“यो कथा यत्तिकै मा टुङग्याउँ? ल, भन्नुहोस निताजी, के गरौ?” मैले प्रश्न गरे।
मैले भन्ने क्रम जारि राखे, “कथाको अर्को समाप्ति यस्तो छ, बुझ्नु भयो निताजी। यस्तो- उमेशको कुरा सुनेर कान्ता हाँस्छिन। यस्तो पनि हुन सक्छ भनेर फेरि हाँस्छिन। कान्ताले भन्छिन- जे होस उमेशको कान्ताप्रतिको प्रेमलाई मैले इमान्दार प्रेम माने। साथै अनौठो पनि माने। तर उमेशले साइबर वाइफ भनेको चाहिँ मलाई मन परेन। हो, एक साथी जस्तो भएर उमेश र कान्ताको सम्बन्ध कायम रहनु भनेको चाहिँ राम्रो कुरा हो। त्यस्तो किसिमको पनि सम्बन्ध हुन सक्छ। शारीरिक सम्बन्ध बिनाको सम्बन्ध हुन सक्छ। होइन र?”
मैले नितालाई प्रश्न गरे, “यो कथाको दुबै थरिको समाप्ति मैले तपाइँलाई सुनाएँ। अब कृपया भन्नु होस, कुन चाहिँ समाप्ति तपाइँलाई ठीक लाग्यो, पहिलो अर्थात माथिको वा दोस्रो अर्थात तलको?”
निताले भनिन् “दोस्रो, अर्थात तलको समाप्ति मलाई ठिक लाग्यो।” उनले थपिन, “इमान्दार व्यक्तिको इमान्दार प्रेमको मूल्यांकन र कदर दुबै हुनु पर्छ।”
मैले भने, “म अति डराएको थिएँ?”
“किन डराएको?” निताले प्रश्न गरिन।
मैले भने, “मलाई डर थियो, मेरो डर डरमा परिणत नहोस भनेर।”
“कस्तो डर?”
“अचम्मको डर!”
मैले प्रफुल्लित मुद्रामा भने, “निता जी, माथिको कथामा वर्णनन् गरिएकको कान्ता तपाइँ नै हो। अनि उमेश म हो। मैले नै हो तपाइँलाई बितेको बयालिस वर्ष देखि प्रेम गर्दै आएको। फेसबुकमा तपाइँसँग फ्रेन्ड भएर तपाइँसँग च्याट हुन थाले पछि भने तपाइँलाई साइबर बाइफ मानेको। फेसबुकले कुरा गर्न हामीलाई यति सुविधा दियो, यति नजिक तुल्याइ दियो कि मैले त तपाइँलाई वाइफ जस्तो मान्न थाले। तपाइँलाई आफ्नो साइबर वाइफ माने।”
“साइबर बाइफसँग सम्बन्ध भने केवल कुराकानी र आक्कल झुक्कल भेटघाटमा मात्र सीमित रहने छ नि, है त?” निताले प्रस्ट पार्ने शैलीमा प्रश्न गरिन।
“होइन न भने………।.” निताले यो वाक्यलाई पुरा गरिनन।
“हो र sssssss?” मैले प्रश्न गरे।
निताले केही पनि बोलिनन।
एक अर्कालाई हेराहेर गर्दै वातावरण एक छिन शान्त रह्यो।
यो घटना पछि नितासँग पटक पटक भेट भयो।
त्यो क्रम अहिले पनि जारि छ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।