16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमाको पसिना र रहरको गन्ध

कविता युवराज घलेभाइ August 31, 2023, 11:48 pm
युवराज घलेभाइ
युवराज घलेभाइ

तपाईका बिम्बहरुमा दिदी बहिनीको आर्तनाद र आहातको ऐया छ ?
छैन, भने त्यो कविता च्यातिदिनु
तपाईको कवितामा सृष्टिको रगत छ ?

तपाईको कवितामा सतीहरु जलेको कथा छ ?
छैन भने त्यो कविता गीत जलाइदिनु ।
तपाईको पटकथाभित्र
चेलीको आँशु , जलाइएका सीता र सत्यवतीहरुको देह
बहिस्करणमा निचोरिएका फूलहरु,
र बोक्सीको घृणाले झारिएका आँशुहरुको तलाउभित्र
रिकुटेहरुले बलात्कार गर्दै गरेको घायल नारीको स्वर छ ?

अत्याचारको मयल पखाल्न नसकेर रुँदै न्याय मागेका
नमिता र सुनिताहरुको कम्पित आवाज छ ?
छैन भने ती सबै किर्तिहरु नदीमा बगाइदिनु ।

तपाईको कवितामा नारी बन्धनबाट मुक्ति दिलाउन
दिन रात एक बनाएर बालेका मशालहरुको ज्वाला छ ?
तपाईको कवितामा झुक्याएर फकाएर बेश्यालयमा बेचिन विवश नारीहरु,
धर्मले मुख छोप्न बाध्य पारिएका दिदीबहिनी र आमाहरु,
नियतिको लेखा भन्दै मार्नेहरुप्रति घृणा छ ?
छैन भने, त्यो कवितालाई आगोमा फ्याँकीदिनु ।
अनि,
कानुनको धार्मिक मेशिनले पिसिएका
इरानी चेलीहरुको कथा लेखिएको छैन भने,
तसलिमा, लक्ष्मी बाई र मालालाको नाम लिँदा
कविको हात लगलगी काँप्छ भने
क्रुप्स्काया,क्लारा जेट्किन, रुजा र आलेस्का
जसको नाम लिँदा जिउ थरथर हल्लिन्छ भने
त्यस्तो कायर काव्य किन राख्नु फोहरमा मिल्क्याइदिनु ।

साहित्यले चेतनाको दियो जलाउन,
संघर्षको झिल्का निकाल्न र
आमूल परिवर्तनको बाटो देखाउन सक्दैन भने,
त्यो साहित्यको मलामी जान अस्विकार गर्नु
किनकि, कायरको मलामी बन्नु पनि अपराध हो ।

आमाहरुको दशा बदल्ने चेत हुनुपर्छ २० अगस्त नेपाली भाषा मान्यतताको कवितामा
युगलाई कायापलट गर्ने आगो हुनुपर्छ भाषा मान्यताको कवितामा,
दलहनको कुर्सी भाँच्ने ताकत हुनुपर्छ
भाषा मान्यताको कवितामा,
दनदनी चेतनाको ज्वाला बल्नुपर्छ भाषा दिवसको कवितामा ।

अब रत्यौलीको संगीत गाउन छोड आमा
अब रतिरागको धुन बजाउन छोड चेली
युगले जेलेको पिंजडाभित्र के-को रति राग ?
धार्मिक सत्ताको जेलखानाभित्र के - को विलास ?
दलहन र दासताभित्र केको मनोरञ्जन ?
प्रदेशीका लाश अगाडि के-को अट्टाहास ?

आगो नबल्ने चुल्होमा खाजा पकाए जस्तै
घाम नलागेको बेला बिस्कुन सुकाएजस्तै,
न्यायको मरुभूमिमा मलाई कविता रसाउनु छैन
भविष्यको उन्मुक्तिमा अझैं दलहनको भारी छ
अन्याय,किनबेच र बलात्कार मलाई अझै भय छ ।

कलम त सबैसँग छ, आवाज दिने कलम समाऊँ,
साहस र हिम्मत त सबैसँग छ, भोलिको चिराग जलाऊँ,
भालेको एक डाँकोले सुतेकोलाई जगाउन सक्छ भने,
छिनो माथिको एक चोटले पहाड हल्लाउन सक्छ भने,
घायल आकाशको एक चट्याङले धर्तीमा कम्पन ल्याउन सक्छ भने,
समुन्द्रमा हावाको एक दौडले पुरै समुन्द्र हल्लाउन सक्छ भने,
तपाई त आधि आकाशको मनपर्ने कवि मान्छे !
तपाई त हुरीको कविता कोर्ने चरी जस्तै कवि मान्छे !

तपाईको शब्दमा आवाज हुनु पर्ने हैन र ?
तपाईको आवाजमा युग बोल्नु पर्ने हैन र ?
तपाईको हरफ हरफले संसार व्युँझिनु पर्ने हैन र ?
तपाईको लयमा अन्यायको प्रलय हुनु पर्ने हैन र ?
तपाईको कलमभित्रको मसीले आमाहरुको जीवन भर्नु पर्ने हैन र ?
तपाईको लाभा ओकल्ने कलमले लाश नझारोस्
आन्दोलनको गीत रच्ने कलमले श्वास नमारोस्
कवि महोदय, अचेल नि तपाईका कवितामा !
कवितामा उठाउने आवाज हैन लोरी छ,
उठेका मान्छे पुन: सुताउने लोरी,
जीवनलाई बिस्तारै मूर्छा पारेर मार्ने लोरी,
एक सुतेर चिहानमा लाखौँ ब्युँतनु पर्ने कवितामा
मन्द विष, लठ्याउने र बिस्तारै मार्ने संगीत,
केवल: केवल: चिहानको शान्त मृत्यु धुन,
यो हुन सक्दैन, कदापि सक्दैन कवि !

तपाईको कवितामा सृष्टिको रगत छ ?
तपाईको कवितामा सतीहरु जलेको भष्म छ ?
छैन भने, त्यो कविता वा गीत जलाइदिनु ।

आमाहरुको दशा बदल्ने चेत हुनुपर्छ
भाषा मान्यताको
कवितामा……………………?
युगलाई कायापलट गर्ने आगो हुनुपर्छ,
भाषा मान्यताको कवितामा,
दलहनको कुर्सी भाँच्ने ताकत हुनुपर्छ,
भाषा मान्यताको कवितामा
दनदनी चेतनाको ज्वाला बल्नुपर्छ
भाषा मान्यताको कवितामा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।