16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रगतिवादी दृष्टिमा ‘इच्छुक’ रचित कान्छी, भट्टी र देश कविताको विश्लेषण

कृति/समीक्षा डा. शेखरकुमार श्रेष्ठ August 31, 2023, 11:57 pm
डा. शेखरकुमार श्रेष्ठ
डा. शेखरकुमार श्रेष्ठ

१. विषय परिचय
नेपाली साहित्यमा इच्छुक उपनामले परिचित कवि कृष्ण सेन (जीवनकालः २०१३–२०५९) प्रगतिवादी कवि हुन् । इच्छुकको जन्म भारतको देहरादुनमा भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा सञ्चालित नेपाली जनयुद्घ २०५२ मा सक्रिय भएको आरोपमा तत्कालीन सरकारको कारवाहीमा परी सहादत भएका थिए । उनको शोकान्जली (२०४८), बन्दी र चन्द्रागिरी((२०५७) र इतिहासको यस घडीमा (२०५६) काव्य सङ्ग्रह प्रकाशित छन् । प्रस्तुत कान्छी, भट्टी र देश शीर्षकको विवेचनाका लागि चयन गरिएको कविता इच्छुक रचनावली भाग २ अन्तर्गत इतिहासको यस घडीमा सङ्कलित कविता हो । कवि इच्छुक नेपाली काव्य परम्परामा वि.सं. २०३२ पछि देखा परेका कवि हुन् । कवि इच्छुकले शोषित, पीडित निम्न वर्गीय जीवनयापन गर्ने जनताको सामाजिक, अर्थिक, राजनीतिक समस्यालाई विषयवस्तु बनाई काव्य रचना गरेका छन् । जनताको जीवनमा देशको समुच्च राजनीतिले प्रभाव पारेको हुन्छ । जबसम्म देशको राजनीति शोषित वर्गको हितमा केन्द्रित रहन्न तबसम्म देशको जनताको हक र अधिकार सुनिश्चित हुन सक्दैन भन्दै क्रान्तिचेतनाले भरिएको काव्य सिर्जना उनले गरेका छन् । देशको राजनीति कुलीनतन्त्रको हितमा रहेको, देशमा स्वार्थी, शोषक, फटाहा र जालीको रगरगी र चकचकी रहेको स्थिति प्रस्तुत गर्दै कवि इच्छुकले दुःख पीडाको गर्तमा अभागी र दारुण स्थिति जिएको नेपाली जीवनको वास्तविक यथार्थ प्रस्तुत गरेका छन् उनी राजनीतिक परिवर्तनबाट मात्र शोषित जनताले मुक्ति पाउने भाव कवितामा प्रस्तुत गर्दछन् । देशमा राजनीतिक गतिशीलता अनिवार्य छ मुक्तिकामी जनताको हक र हितमा राजनीति केन्द्रित रहनु पर्छ । यसका लागि शासन सत्ता मुक्तिकामी जनताको हातमा आउनु पर्छ । देशलाई यथास्थितिबाट गत्यात्मक अवस्थामा लैजान पीडित वर्गले सङ्घर्ष गरी आफ्नो लागि परिवर्तनको संवाहक आफै बन्नु पर्छ भन्ने भाव उनको कवितामा व्यक्त छ । त्यसैले उनी प्रगतिवादी सर्जक हुन् । उनको काव्यमा वर्गीय द्वन्द्व सशक्त रूपमा प्रस्तुत गरिएको छ । उनको कवितामा मूलतः माक्र्सवादी भोतिकवादी द्वन्द्व प्रस्तुत छ । उनको कवितामा पञ्चायतकालीन राजनीति परिवेश प्रस्तुत गरिएको छ । पञ्चायती तानासाही कालरात्रीले गरिव, किसान, मजदुर र निम्न वर्गीय जीवन जिउने वर्गको सामाजिक, अर्थिक, शैक्षिक, राजनीतिक जीवनमा प्रभाव पारेको तथ्यलाई उनले काव्यमा प्रस्तुत गरेका छन् । उनको कवितामा सामन्तवादलाई पिठ्युँमा बोकी साम्राज्यवाद र विस्तारवादलाई हातमा लिई गरिव, निमुखा,असहाय जनतामाथि हस्तक्षेप गर्ने विरुद्घ सशक्त हुन आह्वान गरिएको छ । यसका साथै इच्छुकको ०४७ सालपछि बहुदलीय व्यवस्था स्थापना भएपछिको कवितामा नेपालमा राजनीतिक व्यवस्था लुगा फेरेझैँ मात्र फेरिएको शरीर भने उही खोक्रो, आडम्बरयुक्त भएको प्रति असन्तुष्टि व्यक्त भएको छ भने माआवादीले २०५२ सालमा सशस्त्र आन्दोलनको घोषणा गरेपछिको उनको कवितामा देशको राजनीतिक व्यवस्था परिवर्तन गर्न, समतामूलक समाज निर्माण गरी साम्यवाद स्थापना गर्न, जनताको भाग्य बदल्न अन्तिम क्रान्तिको अपेक्षा गर्दै सङ्घर्षको मागसहित क्रान्ति सन्देशयुक्त काव्य सिर्जना गरेका छन् । उनका यस चरणका कवितामा गाउँमा ठुलाठालुको रगरगी र चकचकीले श्रमिक किसान आहत भएको भाव व्यञ्जना गर्दै सामाजिक रूपान्तरणका लागि गाउँबाट शोषक र सामन्तीको जालो फाल्न क्रान्ति गरी समुल नष्ट गर्नुपर्ने चेतना प्रवाहित भएको छ । उनका कवितामा वर्ण, शब्दको आवृत्तिले अनुप्रास सिर्जना गरेको छ भने उनको कवितामा सरल, सहज र ओजपूर्ण भाषाशैलीको प्रयोग छ ।
२. सैद्घान्तिक आधार
प्रगतिवादी धारालाई समाजवादी यथार्थवादी धारा पनि भनिन्छ । यस धाराको मूल दर्शन कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवाद हो । यस धाराले वस्तु वा पदार्थलाई मूल वा सत्यको रूपमा स्वीकारी मानवीय बुद्घि, विचार तथा चेतनालाई त्यसको प्रतिबिम्ब मान्दछ । यस धाराले जगतलाई परिवर्तनशील मान्दछ र परिवर्तनको कारण वस्तुमा विराधी तत्वबिच हुने सङ्घर्षलाई मान्दछ ।यस वादले जगतमा विद्यमान भौतिक परिस्थितिले व्यक्तिको मानवीय चेतना निर्माण हुन्छ । यही व्यक्तिगत चेतना सामाजिक हुँदा वर्गीय समाज निर्माण हुन पुग्दछ । प्रगतिवादले समाजलाई वर्गीय दृष्टिले हेरेजस्तै साहित्य पनि वर्गीय हुनु पर्ने मान्यता राख्छ । प्रगतिवादी साहित्य शोषित, पीडित वा सर्वहारा वर्गको हितमा हुनु पर्छ । प्रगतिवादी साहित्यमा बुर्जुवावर्ग अर्थात् शोषक वर्गको हार र सङ्घर्षशील शोषित वर्गको विजय वा उत्थान प्रस्तुत गरिएको हुन्छ र यही विजयबाट साम्यवादतिर उन्मुख हुने मान्यता राख्छ । यस वादमा भविष्यको मिठो आशा पनि प्रस्तुत गरिएको हुन्छ । प्रगतिवादी साहित्यमा उत्पादन व्यवस्था र सामाजिक सम्बन्धका बारेमा प्राप्त गरेको ज्ञानको प्रयोग गरेर द्वन्द्व र त्यसबाट निस्कने गुणात्मक परिवर्तनलाई प्रकट गरिएको हुन्छ (बराल र एटम,२०५८ः१५८)यसमा सङ्घर्षका लागि वैयक्तिक भावनाको प्रवलता नरही भौतिकवादी नियमनका आधारमा संगठन र एकताको आवश्यक पर्दछ । मूलतः प्रगतिवादी साहित्यमा वर्गीय सङ्घर्ष र द्वन्द्वको प्रवलता रहन्छ । आर्थिक, सामाजिक, राजनीतिक विषमताका कारण समाजमा उत्पन्न हुने वर्गीय असमानताको विरोध गरी समतामूलक समाज निर्माणमा यसले जोड दिन्छ ।साथै परम्परागत रूढि, कुरीति, कुसंस्कार कुप्रवृत्तिको अन्त गर्नु पनि यस वादको साहित्यिक मान्यता हो । यस वादले लिङ्ग, जाति धर्म आदिबाट उत्पन्न हुने वर्गीय धरातलको पनि अन्त चाहन्छ र आदर्श समाजको निर्माणमा जोड दिन्छ । यो जोड आदर्शोन्मुख नभई वैज्ञानिक सिद्घान्तमा आधारित हुन्छ ।
३. कान्छी, भट्टी र देश कविताको विश्लेषण
कृष्ण सेन इच्छुकद्वारा रचित कान्छी, भट्टी र देश कवितामा आख्यानात्मक तथा प्रगीतात्मक दुवै संरचना पद्घतिको मिश्रित प्रयोग छ । प्रस्तुत कविता चार कवितापुन्जको ३९ हरफमा संरचित छ । यस कवितामा निम्न वर्गका नारीले भोग्नु परेको अभाव, दुःख, कष्ट र पीडाको मार्मिक भाव वर्णन गरिएको छ ।
३. १ मूल भाव वा विचार
यस कवितामा अभाव, गरिबी, पीडाको जीवन बाँच्न विवश निम्न वर्गीय नारी कान्छीको जीवन प्रस्तुत छ । कान्छीले आफ्नो जीवन पाल्न गरिव माइतीले दिएको पुरानो दाइजो हिमालझैँ सफा र ताजा हाँसो लिई भट्टी पसल थापेकी छ । उसको दुःखी मन चियाको किट्ली उम्लेझैँ उम्लिरहेको छ । उसले रक्सीका बोतलसँगै आफ्नो बैँसालु यौवन विवशताको भोका थाली र कचौराहरूमा पस्केर सन्तप्त मुस्कान र उदास बाँडेकी छ । यात्रीहरू र परदेशीहरू आउने जाने गर्दा उसको रूपको नशा र जीवनको दुर्दशा पिउँछन् । यसकै कारणले ऊ आफ्नो विदीर्ण मन र जीर्ण तन एकै ठाउँमा जोडेर ताता भुङ्ग्रोभित्र छट्पटिएकी छ । ऊ खिन्न सुस्केरामा पीडाका धुवाँहरू फाल्दै दिनरात क्लेश काटिरहेकी छ । उसको भट्टीमा उसले पकाएको भातसँगै लाज र मासुसँगै आँसु पाकिरहेको छ । भट्टीमा बेचिने रक्सीसँगै उसको श्री विक्री भएको छ । ऊ नेपालकी छोरी र हिमालको गोरी भए पनि देशभित्र नै विदेशी कोठीमा बेचिएकी चेलीझैँ गहबाट आँसुका नदीहरू बगाउन बाध्य छे । उसका आँसुहरू खुसी खोसिएका कोसीका अशान्त छाल, उसका रहर बन्धकी परेका गण्डकीका बेचैन लहर बनेका छन् । साथै कान्छी गरिब घरकी सुन्दरी कन्यामा ठालुका कामुक आँखा परी कर्णाली डामिएझैँ डामिएकी छ । यसरी दुःख पीडाको भुँवरीमा परेकी सानी टाढा अर्काको देशको सुरक्षाका लागि खटिएर रहेका प्रिय पति र आफ्ना आफन्तलाई स्नेहले डाक्दै भट्टी थापिरहेकी छ । यसरी कान्छीले आफ्नो जीवनको कारुणिक व्यथा प्रस्तुत गर्दै वर्गीय सङ्घर्षका लागि क्रान्तिचेतना जागृत गराएकी छ । ऊ आफू शोषणबाट मुक्त भई देशलाई मुक्ति दिलाउने प्रतीक्षामा रहेकी देखिन्छ ।
३.२ कविताको विश्लेषण
अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मिठो हाँसो– नेपालको परिवेश

र अलिकति गरिव माइतीको पुरानो दाइजोले– कान्छीको आर्थिक स्थिति

मानौँ प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर –(उत्प्रेक्षा अलङ्कार) उपमेय कान्छीबाट उपमान नेपाललाई नै कान्छीको रूपमा हेरिएको

चियाको किट्लीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि– (उपमा अलङ्कार) उपमेय कान्छीको मनलाई उपमान भक्भकी उम्लिरहेको किट्लीसँग सादृश्य देखाई मनमा क्रान्ति भाव जागृत भएको प्रसङ्ग

रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहेछ – (अतिशयोक्ति अलङ्कार) जीवन परिवर्तनका लागि कान्छीले गरेको काम तथा चेतना जागृतको प्रसङ्ग

कान्छी भट्टी थापिरहेछ – कान्छी शोषणको विरुद्घ लड्न आह्वान गरिरहेछ
प्रस्तुत कविताको पहिलो अनुच्छेद पुन्ज नेपालको प्राकृतिक परिवेशको चित्रण गरी कान्छीको दयनीय गरिबीको अवस्थाबाट कविता सुरु गरिएको छ । जन्मँदा गरिव घरमा जन्मेकी कान्छी यौवनको अवस्थामा पनि गरिब नै रहेकी छ । गरिबीबाट व्यथित कान्छी सरल जीविकोपार्जनको खातिर राजनीतक परिवर्तन आवश्यक देख्छे । त्यसैले ऊ वैँसमा रक्सी पिउने अनि बरालिने युवकहरूको भोका थाली र कचौरामा जीवनको सन्तप्त मुस्कानका साथ जीवनको उदासी बाँड्दछे । यही उदासीसँग कान्छी जीवन परिवर्तनका लागि जसरी भट्टीमा धातुहरूलाई गलाउने काम गरिन्छ त्यसै गरी कान्छी शोषक निर्मित राजनीतिको जालो भत्काउन चेतनाको बीज बाँड्दछे ।
यस कवितापुन्ज अनुसार नेपाल प्राकृतिक सौन्दर्यले भरिएको देश हो । नेपाल विश्वकै जनताका लागि आकर्षक भूमिको रूपमा रहेको छ । तर यस देशमा विद्यमान अव्यवस्थित राजनीतिको मारमा परेर जनताहरू गरिब, निरीह जीवन बिताइरहेका छन् । उनीहरूको आर्थिक अवस्था ज्यादै रुग्ण र कमजोर छ । यही अवस्थाबाट मुक्ति प्राप्त गर्नका लागि गरिव शोषित, अवहेलित जनता तथा समाज र राष्ट्र परिवर्तनका लागि गतिशील रहने नारी वर्गको प्रिितनधि पात्रका रूपमा कान्छीले कुव्यवस्थालाई सखाप पार्न क्रान्ति जागृत गराउने भट्टी चलाइरहेकी छ ।
यस कविता पुन्जमा कविले नेपालको प्रतीकको रूपमा कान्छीलाई उपस्थित गराएका छन् । हिम सौन्दर्य र प्राकृतिक छटाले भरिएको देश नेपाल भए पनि यहाँका जनताहरूमा गरिबीको साम्राज्य रहेको छ । गरिबीबाट मुक्ति दिई जनताका मुक्तिका लागि यो देशमा राज्य लागेको छैन । देशमा शोषणको जालो व्याप्त छ । यसैबाट मुक्ति प्राप्त गर्नका लागि कान्छी जस्ता उपेक्षित नारी क्रान्तिको शिक्षा प्रचार गरिरहेकी छ । बरालिन लागेका युवालाई एकजुट गराई कुव्यवस्थाको विरोधमा सङ्गठित गराइरहेकी छ ।
यात्रीहरू आइरहेछन्÷गइरहेछन्
परदेशीहरू गइरहेछन्÷आइरहेछन्– उल्लेख अलङ्कार
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्– (उल्लेख अलङ्कार) यात्री र परदेशी आउने जाने क्रममा कसैले कान्छीको रूपको नशा पिएका छन् भने कसैले उसको जीवनको दुर्दशा हेरिरहेका छन् ।
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छट्पटीको तातो भुङ्ग्रो भित्र
खिन्न सुस्केराहरूमा पीडाका धुवाँहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ– (अतिशयोक्ति अलङ्कार) कान्छी विदीर्ण मन र जीर्ण तनको दाउरा बालेर चिन्ताको रापभित्र बलिरहेकी छ । उसको शरीर र मन दुवै स्वस्थ छैनन् ।त्यसैले चिसो दाउरा बाल्दा धुवाँ आएजस्तै गरिबीका व्यथा ऊबाट निस्सासिएर निस्किएका छन् । यही निस्सासिएर निस्किएको पीडाबाट उसले परिवर्तनका लागि क्रान्ति गर्नुपर्नेे विचार वा सङ्घर्षको आह्वान गरेकी छ ।
प्रस्तुत कविताको दोस्रो पुन्जमा कान्छीको भट्टी पसल रहेको गाउँमा यात्रीहरू र परदेशीहरूको
आवतजावत हुने गर्दछ । यी आउनेजाने यात्री तथा परदेशी÷लाहुरेहरूमध्ये कसैले उसको रूपको नशा र कसैले उसको जीवनको दुर्दशा भोग्ने र हेर्ने गरेका छन् । कसैबाट उसको उपकार र परोपकार भएको छैन । न त कसैले उसको मानव हुनुको अधिकार संरक्षण गरिदिएका छन् । यसरी कसैबाट सहाराको टेको नपाएकी कान्छी भित्रभित्रै जलेकी छे र पीडाबाट आफूले मुक्ति प्राप्त गर्न तथा गरिव वर्गलाई मुक्ति दिनका लागि सङ्घर्षका र क्रान्तिका विचार व्यक्त गरेकी छ ।
यस अनुच्छेद पुन्जमा कान्छीलाई देशको प्रतीकको रूपमा हेर्दा नेपालको सुन्दरतामा लठ्ठ परेर विदेशी मुलुकले विस्तारवाद तथा साम्रज्यवादको विस्तार गरिरहेका छन् । नेपालको मुक्तिका लागि भन्दा पनि नेपालमा विश्व साम्राज्यवादले चलखेल गर्ने थलो भएको छ । नेपाललाई स्वाधीन र स्वावलम्बी राष्ट्र बन्न नदिने कोसिस भएको छ । नेपालको यस्तो घृणित वर्तमान अवस्था परिवर्तन गर्न वर्गीय पात्र कान्छी गरिबीको तिक्त वेदना बगाउँदै क्रान्तिकारी भूमि निर्माण गर्दै छे ।
भट्टीमा भात पाकिरहेछ
भातसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासुसँगै कान्छीको आँसु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सीसँगै कान्छीको श्री बिकिरहेछ

नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ – (रूपक अलङ्कार)कान्छीलाई नेपालकी छोरी र हिमालको गोरीकै रूपमा लिइएको

विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ– (उपमान अलङ्कार)उपमेय कान्छीलाई उपमान विदेशी कोठीमा बेचिएकी चेलीको सादृश्यमा प्रस्तुत

कान्छीले दैनिक जीवनयापनका लागि पनि लज्जित हुनु परेको छ । ऊ भात खान गर्नु परेको काममा लाज पकाइरहेकी छे । ऊ भट्टीमा मासु पकाउँछे तर मासुमा आँसु पाकिरहेको छ । उसले रक्सी बिकाउँदा उसको इज्जत, गौरव र स्वाभिमान बिक्न पुगेको छ । वीर, साहसी नेपालकी छोरी कान्छी विरङ्गना भए पनि, हिमाल जस्तै अटल र पवित्र भए पनि ऊ नेपाल भित्रै बेस्या बन्न विवश छे । यसैका कारण उसका आँखाका डिलबाट बलिन्द्र धारा आँसु झरेका छन् । उसका आँखाबाट बग्ने यी आँसुले क्रान्तिको स्वर प्रस्तुत गरेका छन् ।
उसका आँसुहरू
मानौँ खुसी खोसिएका कोशीका अशान्त छालहरू हुन् –उत्प्रेक्षा अलङ्कार
उसका रहरहरू
मानौँ बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्– उत्प्रेक्षा अलङ्कार
र ऊ, मानौँ गरिब घरकी सुन्दर कन्याजस्तै घरिघरि ठालुका कामुक आँखाबाट डामिएकी कर्णाली हो –(उत्प्रेक्षा र उपमान दुवै अलङ्कार) कान्छीको खुसी खोसिएका आँसुलाई कोशीका अशान्त छालहरू, रहरलाई बन्धकी परेको गण्डकी नदी र कामुक आँखाबाट डसिएकी कर्णाली नदी भएको भनी सम्भाव्यता प्रकट गरिएको छ ।
यस कविताको चौथोँ अनुच्छेद पुन्जमा कान्छीको अाँसुलाई भारतले सय वर्षका लागि भाडामा लिएर पर्खाल
लगाएपछि आफनो स्वतन्त्र वेग थुनिएकोमा रिसाउने कोशीसँग, रहरलाई भारतमा बन्धकी परेको गण्डकीसँग र नेपालबाट बेचिन तयार भएको, गिद्घे नजर गडेको कर्णालीसँग दाँजिएको छ । यसरी यस कवितामा कान्छीको जीवनको हर खुसी, रहर र इच्छा खोसिएको भाव व्यक्त छ । यसको साथै नेपाल देशका ऊर्जाशील नदीहरू विदेशीको हस्तक्षेपमा परेको र पर्दै गएको भाव पनि व्यक्त छ ।

यस कविताको चौथोँ अनुच्छेद पुन्जको अन्तिम चार पङ्क्ति बाहेक सबै अनुच्छेद पुन्जमा कान्छीको गरिबी र गरिबीका कारणले जिउनु परेको दुःखद र बन्धकीपूर्ण जीवन तथा प्रतीकात्मक रूपमा नेपालको दयनीय र उपहासपूर्ण जीवन कवितामा व्यक्त छ । त्यस्तै अन्तिम चार हरफमा देश र देशको जनता कान्छीको उपहासपूर्ण जीवनको उद्घार गर्न छाडेर सुदूर छाउनीमा विदेशी माटो र विदेशी जनताको सुख समृद्घिका लागि काम गरिरहेका पति र आफन्तलाई सम्झेर मायालुपूर्ण रूपमा कान्छी तथा देशले डाकिरहेको भाव व्यक्त छ । यसरी यस कविताको अन्तिममा कान्छीको माध्यमबाट देश छाडेर जानेहरूलाई देश परिवर्तनका लागि, देशको संरक्षणका लागि, देशको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्ता जोगाउनका लागि नेपाल फर्कन र नेपालमा रहन डाकिरहेको भाव कवितामा व्यक्त छ । यसरी यस कवितामा क्रान्तिका लागि ऊर्जाशील भूमि कान्छीले तयार पारेको भाव कवितामा व्यक्त छ ।
३. २ कविताको धारागत विश्लेषण
प्रस्तुत कविता कान्छी, भट्टी र देशमा नेपालमा सामाजिक, आर्थिक, राजनीतिक असमान व्यवस्थाका कारण कान्छी जस्ता नेपाली नारीको जीवन प्रताडित बन्न पुगेकी छ । कान्छी यस कवितामा गरिबीकी कारणबाट कठिनसाध्य जीवन चलाउन बाध्य छे । उसको पति र आफन्त देशभन्दा बाहिर कामका लागि गएका छन् जसको खवरसम्म कान्छीले पाउन सकेकी छैन । आफ्नो जीवन चलाउन कान्छीले भट्टी पसल चलाएकी छ । उसका शरीरमाथि सबैको गिद्घे नजर परेको छ । ऊ आफ्नो शरीर जीवन चलाउनकै लागि बन्धकी राख्न बाध्य छे । उसका चरित्रमा देखिने यी विशेषताले उसलाई वर्गीय पात्रका रूपमा उपस्थित गराएको छ । कहाली लाग्दा उसका जीवनका यी पाटाहरू नेपाली यथार्थ जीवन हुन् । यस आधारमा प्रस्तुत कविता यथार्थवादी कविता हो । यस कवितामा कान्छीका यिनै दर्दनाद जीवन जियाइबाट गरिब, शोषित सम्पूर्ण नेपालीको प्रिितनधित्व भएको छ । कान्छीको जीवन जस्तै नेपालको सिङ्गो जीवन पनि कवितामा प्रतिबिम्बित भएको छ । यसरी गरिबीको मारमा परेको कान्छी यस कविताको वर्गीय नायक पात्र हो र उसकै नायकत्व ग्रहण गरेर कवितामा क्रान्तिको प्रचार भएको छ । यस कवितामा वर्गीय सङ्घर्षको तयारीका लागि कान्छीले भट्टी चलाएकी छ । यस कवितामा प्रस्तुत भट्टी अनेकार्थक शब्द हो । भट्टीले सामान्य अर्थमा जाँड रक्सी बेच्ने पसल सङ्केत गरे पनि अर्का अर्थमा धातुजस्ता पदार्थलाई पगाली निश्चित आकार, तौल दिने स्थान हो । त्यसैले कविता अनुसार कान्छी आफूले जीवनमा भोगेका जीवनका पीडा, गरिबी, दुःखलाई परिवर्तन गर्न, कुसंस्कार र अव्यवस्थित राजनीतिलाई भट्टीमा हालेर भष्म गर्न चाहन्छे । भट्टीमा परेको धातु परिवर्तन भएझैँ ऊ विवश, दुःखी टिठ लाग्दो जीवन परिवर्तन गर्न चाहन्छे । प्रस्तुत कवितामा कान्छीको जीवन, उसले चलाएको भट्टी र उसको देशको अवस्था प्रस्तुत छ । यस कवितामा विदेशिने नेपालीले पराइका लागि ज्यान थाप्ने तर नेपाल तथा नेपालीको जिन्दगीप्रति उदासीन रहने प्रवृत्तिप्रति अपरोक्ष रूपमा व्यङ्ग्य प्रस्तुत छ । आफ्नै देशको चेली देशभित्रै बेचिएको हेरेर बस्ने, आफ्नो देशको भूभाग बन्धकी पर्दा र विदेशीको कामुक आँखाको डसाइबाट डसिँदा त्राण लिन सङ्घर्षका लागि सबैलाई चेतना जागृत गराएकी छ । उसमा विदेशीएको उसको पति तथा आफन्तजन फर्केर आई देशमा विद्यमान शोषकको जालो फाल्न क्रान्ति गर्ने आशा छ । त्यसैले प्रस्तुत कविता प्रगतिवादी कविताको रूपमा रहेको छ ।
४. निष्कर्ष
कवि कृष्ण सेन इच्छुक नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि दैहिक तथा साहित्यिक दुवै माध्यमबाट क्रान्तिमा होमिने प्रगतिवादी कवि हुन् । उनका कवितामा विस्तारवादी तथा सामा्रज्यवादी विदेशी चलखेलको विरुद्घ जनतालाई प्रतिबद्घ, एकजुट र सङ्घर्ष गर्न आह्वान गरिएको छ । उनको प्रस्तुत कान्छी, भट्टी र देश कवितामा पनि वर्गीय चरित्र उपस्थित गराई वर्गीय सङ्घर्षका लागि युवालाई चेतना जागृत गराएकी छ । यस कवितामा प्रस्तुत भट्टी शब्दले श्लेष अर्थ प्रकट गरेको छ । ‘कान्छीले भट्टी थापिरहेछ’ पङ्तिको यस कवितामा कान्छीले जीविकोपार्जनका लागि गरेको कार्य भन्ने एउटा अर्थ लाग्छ भने अर्का अर्थमा कान्छीले शोषणबाट मुक्ति प्राप्त गरी समानतामूलक समाज निर्माणका लागि चेतनाको भट्टी चलाइरहेको छ भन्ने अर्थ प्रकट भएको छ । त्यसैले साझो अर्थमा भन्दा प्रतीयमान र वक्रोक्तिपरक अर्थमा प्रस्तुत कविता प्रगतिवादी कविताको नमुना बन्न पुगेको छ । यस कवितालाई काव्यात्मक कसौटीमा राखेर जाँच्ने हो भने सुन्दर, अनुप्रासयुक्त भाषा प्रयोग भएको छ । वर्ण, शब्द तथा वाक्यगत आवृत्तिबाट लय सिर्जना गरिएको छ । यस कवितामा नेपाली परिवेश, नेपाली माटोको सुगन्ध छ । अतः समष्टिमा कविता कुशल कविद्वारा सिर्जित उत्कृष्ठ कविता बनेको छ ।

सन्दर्भ सामग्री सूची:

इच्छुक साहित्यिक प्रतिष्ठान(सम्पा.),(२०६५) इच्छुक रचनावली भाग २,
काठमाडौंःइच्छुक साहित्यिक प्रतिष्ठानका लागि प्रगतिशील अध्ययन केन्द्र ।

बराल, कृष्णहरि र नेत्र एटम, (२०५८)उपन्यास सिद्घान्त र नेपाली उपन्यास,(दोसं),
ललितपुरः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव,(२०६५) पाश्चात्य समालोचनाको सैद्घान्तिक परम्परा भाग २, (पाँचौ
सं), ललितपुरः साझा प्रकाशन ।
अधिकारी,इन्द्रविलास,(२०६१) पश्चिमी साहित्यसिद्घान्त, ललितपुरःसाझा प्रकाशन ।
एङ्गेल्स, माक्र्स(२०६३), माक्र्स एङ्गेल्स साहित्य र कला(दोसं)(अनु.राजेन्द्र मास्के र
सूर्यप्रकाश पौडेल ,काठमाडौंः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.।
चैतन्य,(२०६४) क्रान्ति र सौन्दर्य,काठमाडौंः प्रगतिशील अध्ययन केन्द्र ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।