कृष्ण बजगाईं (२०२४) को कागजको मन्त्री लघुकथासङ्ग्रह २०८० को आरम्भमै प्रकाशित भएको हो । पहिलो लघुकथा ‘शोषण! (२०४९ फागुन, मधुपर्क अङ्क २८५) प्रकाशित भएपछि उनका यन्त्रवत् (२०६४), रोडम्याप (२०६५), कवच(२०७२०, संवैधानिक पत्नी (२०७७) गरी चार लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यस दृष्टिले यो उनको प्रकाशित चौथो लघुकथासङ्ग्रह हो । हाइकु, नियात्रा, कथा र बालकथामा पनि उनको दरो उपस्थिति रहेको छ । विदेश (पहिले बेल्जियम र अहिले लामो समयदेखि बेलायत) मा रहेर नेपाली साहित्यको उत्थानमा उनले गरेका कार्य उल्लेख्य र सराहनीय छन् । उनी मानवीय सूक्ष्म मनोवृत्तिलाई पक्डेर सामाजिक र राजनीतिक विकृति र विसङ्गतिलाई उजागार गर्ने एक सफल लघुकथाकार हुन् ।
कागजको मन्त्रीका लघुकथा यसै मूल मार्गमा देखापरेका छन् । सङ्ग्रहका अधिकांश लघुकथाले समकालीन नेपालको राजनीतिक यथार्थलाई उजागार गरेका छन् । ‘कागजको मन्त्री’, ‘घृणा’, ‘वादी’, ‘दलाल’, ‘चुनाव’, ‘मुर्दा शान्ति’, ‘भ्रष्ट’, ‘पुतला’, ‘उद्योग’, ‘परिवर्तन’, ‘प्रतिनिधि’, ‘सेवा’, ‘सङ्कट’, ‘यात्रा’, ‘सङ्क्रमण’, ‘निन्दा’, ‘नाङ्गेझार’, ‘आत्माहत्या’, ‘बन्धन’, ‘शोकतन्त्र’, ‘सुरक्षा’, ‘तितो सत्य’, ‘गालीको सङ्कट’ शीर्षकका लघुकथामा राजनीतिक विषयवस्तु रहेको छ । यिनमा राजनीतिक दाउपेच तथा राजनीतिक विकृति र विसङ्गतिको अभिलेखन भएको छ ।
‘कागजको मन्त्री’मा कलाकार (जनता) ले नेता र मन्त्री बनाएको तर आफू मन्त्री भएपछि उनै आफ्ना निर्मातालाई गार्ड लगाएर खेदेको देखाइएको छ । ‘घृणा’मा राजनीतिक नेतृत्वप्रति घृणा व्यक्त गरिएको छ । ‘वादी’मा आजको मानिस कुनै न कुनै वादमा लाग्न विवश भएको तथ्य उजागर भएको छ । ‘दलाल’मा हरेक प्रकारका दलालहरू राजनीतिक दलका संरक्षणका रहेको प्रस्ट्याइएको छ । ‘चुनाव’मा चुनाव, नेता, जनता र निर्वाचन पद्धतिप्रति व्यङ्ग्य गरिएको छ । ‘मुर्दा शान्ति’मा चुनावमा भोट वा मत माग्ने र जित्ने फरक शैली देखाइएको छ । ‘भ्रष्ट’मा भ्रष्टाचारीको कुनै जाति नहुने, समाजमा भ्रष्टको सङ्ख्या कम भए पनि तिनीहरूले भ्रष्टाचारबाट मनग्गे कमाउने गरेको प्रस्ट्याएको छ । ‘पुतला’मा प्रजातन्त्रका नेतृत्वगण अरूकै खेलौना वा कठपुतली भएकोमा दुखेसो व्यक्त गरिएको छ । ‘उद्योग’मा गरिबी हटाएर होइन, जसरीतसरी कायमै राखेर गरिबीकै नाममा राजनीति गर्ने दलहरूप्रति व्यङ्ग्य कसिएको छ । ‘परिवर्तन’मा पहिलेका टोले गुन्डाहरू राजनीतिका आडमा साइबर गुन्डामा रूपान्तरण भएको देखाइएको छ । ‘प्रतिनिधि’मा जनयुद्धका बेथिति देखाइएको छ ।
यस्तै, ‘सेवा’मा राजनीतिज्ञले जनताको सेवा भन्दै ठगी गरिरहेको प्रस्ट पारिएको छ । ‘सङ्कट’मा देश र जनतालाई समस्यामा राखेर राजनीतिज्ञले त्यसमै खेलेको तथा ‘यात्रा’मा वेश्या र दल बदलु भ्रष्ट नेता उस्तै भएको देखाइएको छ । ‘सङ्क्रमण’मा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले गर्दा राज्यमा अन्याय, अत्याचार, चोरी, तस्करी र भ्रष्टाचार मौलाएको निष्कर्ष निकालिएको छ । ‘निन्दा’मा राज्यमा जताततै निन्द्राले प्रश्रय पाएको तथा ‘नाङ्गेझार’मा मन्त्री आदि ओहदामा बस्नेले कार्यालयमा आफ्नो नातागोताका मानिसलाई भर्ती वा काममा लगाएको देखाइएको छ । एक प्रकारको भ्रष्टाचार हो यो । ‘आत्महत्या’मा मन्त्री बन्न बनाउन पैसाको चलखेल हुने गरेको देखाउँदै राजनीतिक भ्रष्टता तथा ‘बन्धन’मा राजनीतिले गर्दा युवा वर्गको विवेक बन्धित भएको तर राजनीतिबाट अलग हुनेबित्तिकै त्यस्तो बन्धनबाट मुक्त भएको देखाइएको छ । ‘शोकतन्त्र’मा जनतालाई शोकमा पारेर नेतृत्वले राज्यले ढुकटी लुट्ने गरेको तथा ‘सुरक्षा’मा सहरभरि युद्ध चलेको बेला चिहानघारीमा लुकेर सुरक्षित भएको देखाइएको छ । ‘तितो सत्य’मा सत्ताका आडमा गुन्डागर्दी हुने गरेको तथा ‘गालीको सङ्कट’मा राजनीतिक दल गालीगलोजमा चलेको देखाइएको छ ।
कागजको मन्त्रीका आधाजसो लघुकथाले समकालीन सामाजिक विकृति र विसङ्गतिको भण्डाफोर गरेका छन् । ‘कागज’, ‘आमा’, ‘सम्बन्ध’, ‘शङ्का’, ‘ईष्र्या’, ‘विस्मृति’, ‘नयाँ प्रेम’, ‘महँगी देवी’, ‘हतियार’, ‘गोजी’, ‘नवअवतार’, ‘दान’, ‘आशङ्का’, ‘प्रत्यभिज्ञा’, ‘संयोग’, ‘एकान्त’, ‘प्रतिच्छाया’, ‘पैंचो’, ‘हल्ला’, ‘लाज’, ‘पासो’, ‘पखेटा’ आदि त्यस्तै लघुकथाहरू हुन् ।
यीमध्ये ‘कागज’मा जीवनमा जेजे भयो सबै कागजी भएको बताइएको छ । यसले उत्तरआधुनिक खासगरी पश्चिमी संस्कृतिको झल्को दिएको छ । ‘आमा’मा आफूलाई दुख गरेर हुर्काएकी आमालाई वृद्धाश्रममा राखी विदेशबाट वृद्धाश्रममा रहेकी आमालाई फेसबुकबबाट जन्म दिनेको शुभकामना दिई आफू पार्टी (भोज) गएको देखाइएको छ । ‘सम्बन्ध’मा वैदेशिक रोजगारीको जोखिम देखाइएको छ । विवाह गरी श्रीमतीलाई घरमा छाडेर गएको मजदुरको काम गर्दा गर्दै पचासौंँ तल्लाबाट खसेर मृत्यु भएको छ । ‘शङ्का’मा बिरामी लोग्नेले सपना र सम्झना उच्चारण गर्दा श्रीमतीले को हुन् ती भनी शङ्का गरेको देखाएर महिलाको शङ्कालु चरित्रको उद्घाटन गरिएको छ । ‘ईष्र्या’मा लिपिस्टकहरूका बिचको संवादका माध्यमबाट महिलाले महिलाकै ईष्र्या गर्ने प्रवृत्तिको चित्रण गरिएको छ । ‘विस्मृति’मा अंश र स्वास्थ्य समस्या देखाइएको छ । बाबु र छोरा दुवै वृद्धाश्रममा रहेका छन् । नाति अमेरिकामा छ र ऊ अंश दिने भए देऊ नत्र अस्पतालको खर्च तिर्दिनँ भनी धम्क्याइरहन्छ । अल्जाइमर्सका रोगी बाबु छोरा (क्रमशः ९१ र ७० वर्षका) अस्पताल होइन, वृद्धाश्रममा पुगिसकेका छन् ।
‘नयाँ प्रेम’मा विवाह भई तीनवटा बच्चा समेत जन्माई विवाह भएको बिस वर्षपछि चिनजान भएको एक महिनामै नयाँ मान्छेलाई लोग्ने र प्रेमी मानेको देखाइएको छ । ‘मूर्ख’मा श्रीमतीलाई नपढेकी र जागिर नखाएकी भनी आरोपित गरेकोमा श्रीमतीले पढेर र जागिर खाएर देखाइदिएकी, त्यसपछि बच्चा जन्माउन नसक्ने भनी आरोपित गरेपछि अर्कैसँग विवाह गरेर वर्षदिनमै छोरा पाएको थाहा पाएर आफैँलाई मूर्ख भनी लोप्रे हात लगाएको देखाइएको छ ।
‘महँगी देवी’मा महँगी अत्यधिक बढेर आजित भएका सर्वसाधारणलाई त्यसबाट उन्मुक्ति दिन तिनैबाट चन्दा, भेटी र सामग्री लिएर महँगी देवीको मन्दिर स्थापना गर्ने र मन्दिरका माध्यमबाट अकुत कमाइ गर्ने घनचक्करको चित्रण गरिएको छ । ‘हतियार’मा अहिलेका महिला खेलौना नभएर हतियार भएको देखाइएको छ । प्रभाकी छोरी राजधानी गएर दुई वर्षसम्म लिभिङ टुगेदरमा बर्सकी तर केटाले छाडेपछि केटालाई ठिक पार्न बलात्कारको मुद्दा हालेको छ । यसले महिला हतियार भएको बुझाउन खोजिएको छ ।
‘गोजी’मा धनाढ्य र सम्पन्न भएको ठान्ने मान्छेको निधन भएपछि गोजी खानतलासी गर्दा गोजीमा धनदौलत आदि नभई एउटा चिट भेटिएको जसमा भ्रम भजाएर आफूले गुजारा चलाएको लेखिएको देखाइएको छ । ‘नव अवतार’मा नेताको भक्ति र परिक्रमामा तत्काल लाभ देखेर मानिसहरू देवभक्ति र मन्दिरको परिक्रमा गर्न छाडेर नास्तिक भएको विषयमा देवताहरूबिच छलफल हुँदा अब केही गर्न नसकिने निष्कर्षमा पुगेको देखाइएको छ । ‘दान’मा अरूको अङ्ग आफूमा प्रत्यारोपण गरी अझ लामो बाँच्न चाहने शक्ति, सत्ता र सम्पत्तिमा मदमत्त व्यक्तिको अन्तिम अवस्था हुँदा अङ्ग दान गर्न अनुरोध गर्दा कसैले अङ्ग दान गर्न नमानेको र मरेपछि उसैलाई महादानी, समाजसेवी, कुशल राजनेता तथा व्यापारी भनी समाचार र समवेदना छापिएको छ । यसले मृतकको बढी प्रशंसा गर्ने सामाजिक लोकाचार प्रकट भएको छ ।
‘आशङ्का’मा युवा जोसमा प्रेमी प्रेमिका बन्ने विवाह गर्ने अनि अदालत पुगेर पारपाचुके (डिभोर्स) गरेका बाबुआमाका उदाहरण देखेर नयाँ पुस्ता प्रेम गर्नुअघि झस्केको वा सशङ्कित भएको देखाइएको छ । ‘प्रत्यभिज्ञा’मा श्रीमतीको मानसिक सन्तुलन ठिक नभई अनेक डाक्टरको औषधी खाँदा ठिक नभएकोमा पछिल्लो डाक्टरले दिएको त्यही औषधीले ठिक हुँदै गएको देखाइएको छ । पछिल्लो डाक्टरको स्पर्शले मात्रै ठिक भयो । वस्तुतः ती स्कुले साथी रहेको र केटा डाक्टरी पढ्न विदेश गएकाले केटीलाई बाआमाले करकापमा पारी विवाह गरिदिएकाले मानसिक असन्तुल भएको देखाइएको छ । ‘संयोग’मा संयोगले भेट, प्रेम, विवाह, बच्चा, पारचुके, प्लेनमा भेट र दुर्घटना, दुर्घटनाबाट बचेकाले पुनः प्रेम अनि ट्याक्सीबाट घर र ट्याक्सी दुर्घटनामा परी मृत्यु भएको कुरा प्रेमिकाबाट सुनेर प्रेमीले हामी दुईबिचको सम्बन्ध आजैदेखि सकिएको घोषणा गरेको देखाइएको छ । लघुकथाले भावनामा बगेर निर्णयमा पुग्न नहुने सन्देश दिएको छ ।
‘प्रतिच्छाया’मा एक क्रान्तिकारीको कथा छ । देश र जनताको अनुहार उज्यालो पार्ने भन्दै आन्दोलनमा लागेको क्रान्तिकारी लन्डनस्थित भारतीय साहुको रेस्टुरेन्टमा भाँडा माझ्ने काम गर्दै गर्दा बेलाबेलामा पहिलेको क्रान्तिभाव उठ्ने गरेकोमा एक दिन भाँडाकुँडा बजारेको देखेर साहुले कामबाट निकालिदिएको देखाइएको छ । ‘हल्ला’मा चिहानघारीको शान्ति पनि भङ्ग भएको देखाइएको छ । ‘लाज’मा सीताकी छोरी लिव इन रिलेसनसिपमा बसेकी भनेर पधेर्नीहरूले कुरा काटेको, सीताले यसको अर्थ नबुझी दङ्ग परेकी र छोरी रखेल्नी भन्दा तल्लो दर्जामा रहेको अर्थ बुझेपछि लाजले निथु्रक्क भिझेको देखाइएको छ । ‘पासो’मा महिलाहरू युवाहरूलाई तह लगाउने हतियार भएको देखाइएको छ, ‘हतियार’मा जस्तै ।
‘पैँचो’मा लोग्ने र स्वास्नीबिचको सम्बन्धलाई विषयवस्तु बनाइएको छ । यहाँ थोरै फ्यान्टासी छ । लोग्ने चोरी हुन थालेको त्यसलाई रोक्न पैंसो प्रथा चलाउने स्वास्नी सङ्घले बहुमतले पारित गरेको, तर अध्यक्षलाई चित्त नबुझी टेबल ठोक्दा सँगै सुतेको लोग्नेको छातीमा लागेर अस्पताल जानुपरेको, अस्पतालबाट डिस्चार्ज भएपछि ज्यान मार्ने उद्योग गरेको भनेर स्वास्नीका विरुद्ध जाहेरी दिएको जस्तो घटनाबाट लोग्ने स्वास्नीबिचको तिक्त वा कटु सम्बन्धलाई प्रस्ट्याइएको छ ।
कृष्ण बजगाई मानवीय सूक्ष्म मनोवृत्ति केलाउन खप्पिस छन् । उनको ‘पखेटा’मा न्युयोर्कको अस्पतालमा रहेको रोगी (मानसिक रोगी) पतिको उपचार खर्च जुटाउन रातमा ओभर टाइम काम गरेको देखाइएको छ । ‘भ्रम’ शीर्षकको लघुकथामा एक मानसिक रोगीको चित्रण छ । प्रेम, सम्पत्ति, राजनीति, साहित्य, कला आदि क्षेत्रमा सपना देख्ने वा केही गर्न खोज्नेले आफ्ना त्यस्ता सपना पूरा गर्न नसक्ने भएकाले त्यस्ता सपनाको हत्या गर्ने गरेका छन् । यस्तै सपनाको हत्यारा (म पात्र) यहाँ अस्पतालमा उपचार गराइरहेको देखाइएको छ । ‘एकान्त’मा शान्तिका लागि एकान्तमा रहँदा एकाकीले खोतली खोतली एकान्तमा बस्ने प्रयोजन वा कारण खाजेको देखाइएको छ ।
‘सदृश’मा भ्रष्टाचारको चित्रण छ । सपनामा मालपोत कार्यालय, व्यापारी, सत्ताधारी पार्टीको कार्यालय, जुवा, भट्टी, प्रहरी चौकी पुग्दा ठग, दलाल, अतृप्त र लोभी आफ्नै आत्मा वा अनुहार त्यहाँ देखेको घटना विवरणबाट यी स्थल भ्रष्टाचारका अखडा भएको सङ्केत गरिएको छ ।
‘हरियाली’मा कोरोनाकालमा वृक्षरोपण गरी हरियाली बनाउने गरी छुट्याएको अरबौँको बजेट फ्रिज हुने चिन्ता रहेकोमा साइबर सल्लाहकारका सल्लाहबमोजिम सो रकम फेसबुक प्रोफाइल पिक्चर बनाउने, होर्डिङ बोर्ड राख्ने, कार्यालयका पुराना पर्दा र कार्पेट हटाएर हरियो रङका नयाँ पर्दा र कार्पेट लगाउने, हरियो रङका बिजुलीबाट चल्ने गाडी किन्ने आदि कार्यक्रम तय गरिएकाले मन्त्री, सचिव र कार्यालय प्रमुखहरूको मनमा हरियाली छाएको देखाइएको छ ।
‘शिक्षा’मा नेपालको गलत शिक्षा नीतिले गर्दा वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता देखाइएको छ । आमाको उपचार गर्न र पुरानो ऋण तिर्न विद्यार्थी विदेसिएको तथा राजनीति र क्रान्तिमा लागेर सम्पत्ति सकिएर शिक्षक विदेसिएको तथा दुवैको भेट विदेशको मासु कारखानामा भएको छ भने कामको समयमा गफ गरेको सुनेर सुपरभाइजरले हप्काएको देखाइएको छ ।
‘ई–क्रान्ति’मा प्रविधिको प्रयोग गरी क्रान्ति गर्ने कुरा छ । क्रान्तिकारीहरूको भर्चुअल बैठकमा विदेशी ह्याकरको सहयोग लिएर फेक न्युज फैलाउने, वेबसाइट, इमेल, सामाजिक सञ्जालका सारा एकाउन्ट ह्याक गरेर सरकार र विरोधीहरू माझ विजय पाउने योजना बनाइएको छ ।
लघुकथाको विधा सिद्धान्तका दृष्टिले कागजको मन्त्रीका अधिकांश लघुकथा उत्कृष्ट रहेको पाइन्छ । लघुकथाको आयाम छोटोछरितो हुन्छ । यता आएर लघुकथालाई अढाइ सय या बढीमा तीन सय शब्द सीमा कायम गरिएको छ । कागजको मन्त्रीका अधिकांश लघुकथा यही सीमामा रहेका छन् भने उद्योग । ‘यात्रा’, ‘ईं–क्रान्ति’, ‘नाङ्गेझार’, ‘पैंँचो’ र ‘बन्धन’ जस्ता केही लघुकथा अलिक बढी शब्दमा रहेका छन् । बाह्य दृष्टिविन्दुको प्रयोगमा बजगाईंको रुचि रहेको छ । संवादको यथेष्ट प्रयोग भएको छ । यसले नाटकीयता थापिएको छ । संवादमा सिङ्गल इन्भर्टेड कमा दिइएको छ ।
लेखक विदेशी भूमिमा रहे पनि अधिकांश लघुकथाको मुख्य परिवेश नेपालको छ । केही ठाउँमा बाहेक परिवेशको चित्रणमा लेखक उदासीन रहेका छन् । लघुकथा छोटोछरितो हुने हुँदा यसमा परिवेश वर्णनका लागि समय र ठाउँ कमै हुन्छ । लघुकथामा पात्र कम हुनुपर्ने हुन्छ । हो यहाँ थोरै पात्रबाट काम चलाइएको छ । कथावस्तुले मागेका ठाउँमा त्यही बमोजिम पात्रहरू रहेका छन् । यसमा लेखक सचेत देखिन्छन् । ‘सम्बन्ध’मा लोग्ने स्वास्नीलाई नट र बोल्ट भनिएको छ । ‘किचेन क्याविनेट’मा आलु, भान्टा, भिन्डी, खोर्सानी, करेला, फुलगोभीलाई तथा ‘महँगी देवी’मा महँगीलाई पात्रका रूपमा उभ्याइएको छ ।
लघुकथामा यसको आरम्भ र अन्त्य महŒवपूर्ण हुन्छ । अकस्मात् आरम्भ र हठात् अन्त्य यसको विशेषता हो । कागजको मन्त्रीका लघुकथामा यस्तै पाइन्छ । अनावश्यक वर्णनका लागि यहाँ कुनै ठाउँ हुँदैन । यहाँ वादी बस्ती (वादी), समस्यापुर (सङ्कट), भक्तिपुर (सङ्क्रमण), निन्दापुर (निन्दा), शोकपुर (शोकतन्त्र) गालीपुर (गालीको सङ्कट), भ्रष्टपुर (भ्रष्ट) जस्ता निर्मित स्थाननाम प्रयोग भएको छ । ‘ईष्र्या’मा विभिन्न रङ्गका लिपिस्टिकहरू पात्र रहेका छन् ।
कागजको मन्त्रीका लघुकथाको भाषा परिमार्जित मानक नेपाली छ । भाषा सहजबोध्य, प्रवाहशील अर्थात् सलल्ल बगेको छ । छोटाछोटा वाक्य र अनुच्छेद रहेका छन् । तर दाँतमा ढुङ्गा लाग्ने गरी अशुद्धि रहेका छन् । उदाहरणका लागि देखाउ (पृ.९), बत्ति (पृ.१०), गाँस, रमाईस् (पृ.१३), उ (पृ.१४), अशिर्वाद, सिमा, ईमान्दार (पृ.१५), अस्विकर (पृ.२४), तलाई (पृ.२५) आदिलाई लिन सकिन्छ ।
कृष्ण बजगाईको कागजको मन्त्री एक उत्कृष्ट लघुकथा कृति हो । यसमा ५२ लघुकथा सँगालिएका छन् । बजगाईको यस पाँचौँ लघुकथासङ्ग्रहका लघुकथामा समकालीन सामाजिक र राजनीतिक विकृति र विसङ्गतिलाई उजागर गरिएको छ । यहाँ समकालीन समाज र राजनीतिको कुरूप वा विद्रूप यथार्थलाई छर्लङ्ग गरी उतारिएको छ । समाज मात्र होइन, राजनीति पनि भ्रष्ट भएको छ । राज्यको नीति राजनीति हो । त्यो नै भ्रष्ट भएपछि वा धमिलिएपछि राज्य र राज्यका हरेक पक्ष त्यसैगरी विकृत हुँदै जानु स्वाभाविक छ । मन्त्री, नेता र तिनका आसेपासे भ्रष्टाचारमा लिप्त छन् । सर्वसाधारण गाउँ, ठाउँ र देश छाडेर पलायन हुन वाध्य र विवश छन् । जताततै दलालको चकचकी छ । जगजगी छ । चाँदी कटाइ छ । समाजमा राज्यको यो भ्रष्ट र हरितन्नम् नीतिको प्रस्ट छाया छ । यस्तै, यी लघुकथामा पश्चिमा र साइबर संस्कृतिको हावाले पनि छोएको देखाइएको छ । आफ्नो परम्परा र संस्कृति छाडेर अरुको हाहामा लाग्दा समाज दुर्घटित भएको छ । पारिवारिक विघटन भएको छ । आपसी विश्वास र समझदारी खजमजिएको छ । वस्तुतः यी लघुकथामा सामाजिक तथा राजनीतिक यथार्थको अभिलेखन भएको छ भन्न सकिन्छ । यी लघुकथा आदि र अन्त्य मिलेका, छोटाछरिता, घतलाग्दा तथा मार्मिक पनि छन् । बजगाईंका यसअघिका लघुकथाभन्दा यी लघुकथा अझ उच्चकोटिका र खारिएका देखिन्छन् । यिनमा मन्द हास्य र भित्तै लाग्ने गरी चोटिलो व्यङ्ग्य पनि पाइन्छ । यिनै कारणले नेपाली लघुकथाका विकासमा कागजको मन्त्रीले विशिष्ट स्थान राख्ने देखिन्छ ।