17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार गोपाल गाउँले

व्यक्तित्व / कृतित्व अर्जुन यावा October 21, 2023, 11:37 pm
अर्जुन यावा
अर्जुन यावा

(क) परिचयः
नेपाली साहित्य जगतमा आफ्नो छुट्टै परिचय स्थापित गर्न सक्षण साहित्यकार गोपाल गाउँलेबारे यहाँ त्यति धेरै जानकारी प्राप्त गर्न सकिएको छैन। उनीमाथि उसो त अघिबाटै धेरै कामहरू भइसकेका छन्। यद्यपि, उनको पूर्ण परिचय प्राप्त गर्न अझ केही काम गर्न बाँकी नै रहेको स्पष्ट हुन्छ। जन्मथलो र कर्मथलो दुई अलग-अलग राष्ट्रलाई लिन सकिने उनलाई नेपाली साहित्यमा गोपाल गाउँले भनेर चिनिन्छन्।
उनको जन्म गौरादह, झापा, नेपालमा सन् 1949 अर्तातवि.सं 2006-को मङ्सिर 25 गते भएको थाहा लाग्छ भने पछिबाट विराटनगर, नेपालमा स्थापित भएका हुन् भन्ने जान्न सकिन्छ। सन् 1980-को 1-2 वर्ष अघि-पछितिर सिक्किम भित्रिएका उनको 8 जून, 2000 अर्थात वि.सं. 2057-को जेठ 26 गते एसटीएनएम अस्पतालमा मुटुको रोगका कारण निधन भएको थियो।
हाल, विराटनगरमा पनि उनको परिवारका सदस्यहरू छैनन्। उनकी धर्मपत्नी काठमाडौतिरै बस्नेगरेकी अनि छोरो विदेशतिरै छन् भन्ने जान्नमा आएको छ।
साहित्यकार गोपाल गाउँलेलाई एकजना असल कवि, कथाकार, निबन्धकार तथा कुशल सम्पादकका रूपमा चिन्न सकिन्छ। उनी ‘एक सशक्त कवि थिए, परिश्रमी थिए अनि कलमवीर थिए’ भनेर धेरै साहित्यकारहरूको मान्यता पाउन सकिन्छ।

(ख) गोपाल गाउँलेका कृतिहरू-
प्रकाशित कृतिहरू -
(1)- अझै एउटा छोरो जन्माउँन बाँकी छ
(2)- स्वाभिमानका कुरा र
(3)- गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू (माथि उल्लेखित दुवै कृतिसहित अन्य अप्रकाशित रचनाहरूको संकलन)
यसबाहेक पनि ‘व्यक्ति एक व्यक्तित्व अनेक’ नामक पुस्तक पनि उनकै नाममा प्रकाशित पाइन्छ। यद्यपि, त्यसलाई गोपाल गाउँले स्वयंले 15 अगस्त 1995-मा ‘यो पुस्तक मैले लेखेको हुँदै होइन’ भनेर प्रेस विज्ञप्तिसम्म दिएर स्पष्ट पारिसकेका छन्। उनले लेखेको विज्ञप्तिको प्रतिलिपि ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-मा पढन सकिन्छ।
अप्रकाशित कृतिहरू -
‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-को प्राक्कथनमा उल्लेख गरिएअनुसार विराटनगर, नेपालबाट प्रकाशित सामयिक पत्रिका ‘साथी’-को ‘गोपाल गाउँले सम्झना अङ्क’ (पूर्णाङ्क-37)-मा जनाइएअनुसार उनका निम्नलिखित अप्रकाशित कृतिहरू रहेका छन्-
(1)- आँखाको भाषा (लेख सङ्कलन)
(2)- कविता कै कुरा (खण्डकाव्य)
(3)- फर्केर हेर्दा (संस्मरण लेख) र
(4)- रगतको साइनो (कविता सङ्कलन)
यद्यपि, अहिलेसम्म अप्रकाशित यी कृतिहरूको पाण्डुलिपि प्रकाशक, सम्पादक तथा समीक्षकहरूको हात लाग्न सकेको छैन। यस विषयलाई लिएर ‘साथी’-का सम्पादक-प्रकाशकहरूसित भेट गर्न सकिएको छैन। अहिलेसम्म हामीमाझ यो एउटा खोजी कै विषय बनेको छ।
सम्पादन-
(1)- अर्चना-का सहसम्पादक (तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी यसका प्रमुख सम्पादक थिए।)
(2)- निर्माण-का उप-सम्पादक (वर्तमान मुख्यमन्त्री पवन चामलिङ यसका प्रमुख सम्पाक हुन्।)

(ग) साहित्यिक योगदान-
साहित्यमा उनले कहिलेदेखि प्रवेश गरेका हुन्, उनको प्रथम रचना कुन हो? इत्यादि जिज्ञासा रहनु स्वभाविक लाग्ने भए पनि ती कुराहरू गर्भमै छन्। हामीले यहाँ प्राप्त हुनसकेको भनेको 1983- देखि यता हो, जुनबेला उनको पहिलो कृति ‘अझै एउटा छोरो जन्माउँन बाँकी छ’ प्रकाशित भएको थियो। यसका साथै उनी ‘अर्चना’ पत्रिकाका सहसम्पादकका पदभार सम्हालेका हुनाले, अनि त्यो समय पत्र-पत्रिकाहरू छपाउन धेरैजसो बनारस नै जानुपर्ने हुनाले घरिघरि उनी बनारस गइरहन्थे, जहाँ उनले डाइमन शमसेर, भवानी घिमिरे, रमण नेपाल, शंकर कोइराला, कृष्णचन्द्रसिंह प्रदान, धर्मराज थापा, स्वामी प्रपन्नचार्य आदिसितको घरिघरि भइरहने भेटहरूबाट धेरै कुरा सिक्ने अवसर पाएको र साहित्यप्रतिको रूची अझ बड़ेर गएको अनुमान लगाउन सकिन्छ। यतिमात्रै नभएर आफ्नो कर्मभूमिको रूपमा उनले लिइसकेको सिक्किममा तत्कालीन मुक्यमन्त्री नरबहादुर भण्डारी, तत्कालीन सिक्किम डिस्टिलेरिजका अध्यक्ष एवं वर्तमान मुक्यमन्त्री पवन चामलिङ, भीम दाहाल, वीरु वाङ्देल जस्ता व्यक्तित्वहरूसित काम गर्ने अवसर पाएका थिए। यहाँ उनका कृति र रचनाहरू अनि सहसम्पादकका रूपमा रहेर गरेका सम्पादन कार्यहरूबारे संक्षपित्मा चर्चा गरिने छ-

अझै एउटा छोरो जन्माउँन बाँकी छ-
उनका कृतिहरूको उल्लेख अघि नै गरिसकिएको छ। यहाँ दिइएको 20 मिनटमा उनका सम्पूर्ण रचना, कृति, पत्र-पत्रिका सम्पादन जस्ता विभिन्न विधामा उनले पुऱ्याएको साहित्यिक योगदानलाई लिएर विस्तृत छलफल गर्न सम्भव हुँदैन। वास्तवमा साहित्यकार गोपाल गाउँलेले जीवन जति बाँचे थोरै बाँचे भन्ने मेरो विचार हो। तर, जति बाँचे अनि आफ्नो जीवनकालमा जति काम गरे त्यसमाथि विस्तृतमा छलफल गर्नु पनि धेरै समय लाग्नेहुन्छ। उनले जति लेखे समाजलाई लेखे, समाज कै निम्ति लेखे। जति परिश्रम गरे आफ्नो निम्ति भन्दा धेरै समाज कै निम्ति गरे। आज दिइएको थोरै समय मै पनि उनका सिर्जनाहरूका एक-दुई उदाहरण नराखी उनीमाथिको कुरा अधुरै रहनसक्ला। त्यसैले केही उदाहरणहरू राख्दैछु। उनले ‘अझै एउटा छोरो जन्माउँन बाँकी छ’-मा लेखेका छन्-
लेख्ने नै रहन भए
किन लेख्दैनौ बिहान-बेलुका
तिम्रो चुल्हा आगो नबलेको कथा?
-(लेख्ने नै रहर भए)
कविले प्रेमालाप, शृङ्गार, नैराश्यता, रङग-रसका कुराहरू लेखेका छैनन्। ती सबैदेखि पर बसेर समाजलाई झकझक्याउने काम गरेका छन् कवितामा। उङ्न लागेकाहरूलाई चिसो पानी छ्याप्ने काम गरेका पाइन्छन् उनलाई हरेक कवितामा। ‘अझै एउटा छोरो जन्माउँन बाँकी छ’-बाट गोपाल गाउँले कै भनाइमा- ‘सर्वसाधारणलाई अलिकति मात्र भए पनि विश्वास दिन सकोस्, जसको प्रेरणा अनुसार फेरि अर्को छोरो जन्माउने मेलोमेसोतिर सोच्नुपर्ला।’
यसरी उनले आफ्नो पहिलो कृति मै स्पष्ट पारेका छन्, उनी समाजका सर्वसाधारण मानिसहरूका लागि लेख्छन्। 1983-मा पहिलो संस्करण छापिएको उनको पहिलो कृति ‘अझै एउटा छोरो जन्माउँन बाँकी छ’-को दोस्रो संस्करण निर्माण प्रकाशनद्वारा 2001-मा ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-को पहिलो खण्डको रूपमा प्रकाशित छ। यसमा जम्मा 22 वटा कविता संकलित छन् अनि हरेक कविता नै उस्तै-उस्तै लाग्छन्। कविताहरूमा गाउँको कुरा, जिम्मेवारीका कुराहरू नै छन्। उनको पहिलो कृतिबाट दोस्रो कविता ‘जिम्मेवारी’-को एक पद यस्तो छ-
जिम्मेवारी आइलागेको छ आज
अन्याय, अत्याचार र घूसखोरी
शोषण, ढिलासुस्ती अनि तेरो-मेरो
ज्यूँदा ज्यानका रगत-पसिना खानेको उछितो
अनि आफ्ना श्रमले बाँच्न धौ-धौ परेकालाई
कान फुकी ब्यूँताउने
ताकत र साहस भरिदिई
न्यायको विरुद्ध लड्ने बनाउने
जिम्मेवारी आइलागेको छ।
-(गोपाल गाउँलेका सम्पूर्ण कृतिहरू, पृष्ठ-5)

स्वाभिमानका कुरा-
‘केही अभिव्यक्ति स्वाभिमानका’ कवितासंग्रहको दोस्रो संस्करण ‘स्वाभिमानका कुरा’ भएर प्रकाशित भयो। गोपाल गाउँलेको पहिलो कविकासंग्रह जस्तै दोस्रो कवितासंग्रह ‘स्वाभिमानका कुरा’-भित्रका कविताहरू पनि उस्तै बेजोडका छन्। जम्मा-जम्मी 27 वटा कविताहरू सङ्कलित यो संग्रहको पहिलो संस्करण 1986-मा प्रकाशित भएको थियो भने यसको पनि दोस्रो संस्करण उनको निधनको एकवर्षपछि निर्माण प्रकाशनद्वारा ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-मा दोस्रो खण्डका रूपमा समावेश गरी 2001-मा प्रकाशित गरिएको छ।
कवि गोपाल गाउँले व्यवहारले नै स्वाभिमानी थिए। यहाँसम्म की उनले कृतिको नामसम्म राखिदिए ‘स्वाभिमानका कुरा’। यसै सन्दर्भमा उनले आफ्नो दोस्रो कृतिमा ‘भन्नुपर्ने कुरा’-मा यसो भनेका छन्- ‘शब्द-शैलीमा सुधार ल्याउनुपर्ने सुझाउ पाएर पनि त्यसो गर्न सकिनँ, भनौं अर्काको शैली पैंचो ल्याएर आप्नो मौलिकता बन्धकी राख्न सकिन। सर्वसाधारण जनतालाई शब्द र शैलीभन्दा वास्तविकता चाहिने हुँदा त्यसै नुरूप साहित्य लेखिनुपर्दछ भन्ने सत्यलाई काँध हाल्ने जिम्मेवारी मेरो पनि हो भन्ने सोचेर...।’
अथवा, यहाँबाट उनको स्वाभिमानसितै उनको कविताको उद्देश्य पनि स्पष्ट झल्किएको पाइन्छ। पहिलो कवितासंग्रहमा जुन उद्देश्य थियो दोस्रो कवितासंग्रहमा आइपुग्दासस्म उनलाई त्यसैमा अडिग रहेको पाइन्छ। त्यसैर उनी पहिलो कविता ‘स्वाभिमानका कुरा’-मा लेख्छन्-
लेक्नैपर्दछ भने आजका दिनमा यस्तै-यस्तै सत्य कुरा लेखौं
न्यायलाई निर्मूल गरी न्याय ल्याउने थुप्रै गीतहरू हामी लेखौं।
-(गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू, पृष्ठ-67)
दोस्रो कृतिमा ‘भन्नुपर्ने कुरा’-मा यसो पनि भनेका छन्-
‘चार वर्षपछि नै दोस्रो संस्करण पुनः छपाउनुको मुख्य कारण हो यो कवितासंग्रहलाई सही ठाउँमा पुऱ्याउन सकेको थिइनँ।’
अर्थात 2001-मा ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-मा उनको दोस्रो कृतिको दोस्रो संस्करण प्रकाशित हुनुभन्दा एक वर्षअघि नै उनको देहान्त भएको थियो। तर, त्यसअघि नै उनले आफ्नो दोस्रो कृतिको दोस्रो संस्करण प्रकाशित गर्ने तयार गरिसकेको पनि यो भनाइबाट बुझ्न सकिन्छ। यस संग्रहभित्रको अर्को कवितांश पनि हेरौं-
‘बाबु-बाजेका चिहान औंल्याउन
आफ्नै औंला आफ्ना हुन सकेकन्
स्वाभिमानको सास फेर्न पनि अब त
आफ्नै स्वच्छ र पवित्र हावा यहाँ छैन।’
-(तिमीले भन्न नसकेका कुरा -(गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू, पृष्ठ-99))
जन्मथलो नेपाल भए पनि कर्मभूमि सिक्किम बनाएका गोपाल गाउँलेले त्यतिबेला लेखेका कविता अहिले पनि सान्दर्भिक नै लाग्छ। उनको दोस्रो कृतिमा परेको यो कविता सन् 1986-मा पहिलोपल्ट प्रकाशित भएको कुरा यहाँ दोहोऱ्याउन चाहेँ। सन् 1986-मै दार्जीलिङ पहाडभरि नेपाली भाषीहरूको रगत बगेको इतिहास कसैले बिर्सन सक्तैनन्। जाती, अस्तित्व, अस्मिता र चिन्हारीको निम्ति, माटोको निम्ति भएको त्यो जनआन्दोलनले उनलाई पनि पोलेको थियो भनेर मैले ठोकुवा गर्न नसक्ने भए पनि उनको यो कवितामा त्यही कुरालाई बुझाएको पाइन्छ। उसो त केही वर्षअघि सिक्किममै पनि यो कुरा छुटपुटरूपमा नउठेका होइनन्, पोस्टरिङहरू नभएका होइनन्। यहाँबाट पनि उनका कविताहरू कति चिन्तनीय छन् भन्ने हामी बुज्न सक्छौं।

गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू-
साहित्यकार गोपाल गाउँलेको मरणोप्रान्त 2001-मा प्रकाशित उनका प्रकाशित र प्राप्त अप्रकाशित रचनाहरूको संकलित ग्रन्थ हो ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’। यस ग्रन्थमा उनका रचनाहरूलाई चार खण्डमा विभाजित गरिएका छन्। पहिलो र दोस्रो खण्डमा क्रमैले उनका पूर्वप्रकाशित दुई कृतिलाई समावेश गरिएका छन्, जसका बारेमा हामीले माथि चर्चा गरिसकेका छौं। तेस्रो खण्डमा उनका फुटकर कविता र मुक्तकहरू छन् भने चौथो खण्डमा कथा, निबन्ध र लेखहरू समावेश छन्। गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू-को प्राक्कथनमा पवन चामलिङ “किरण’-ले उनका रचनाहरूलाई चार खम्डमा राखिएको स्पष्ट पारेका भए पनि ग्रन्थमा पहिलो र दोस्रो खण्डलाई छोड़ेर ‘फुकटर कविता, गीत र मुक्तकहरू’, ‘कथाहरू’ र अन्तमा ‘निबन्ध र लेखहरू’ भनेर वर्गीकरण गरिएबाट यस ग्रन्थलाई जम्मा पाँच खण्डमा पाउन सकिन्छ। यसबाहेक अन्तिम खण्डको अन्तिम पृष्ठमा गोपाल गाउँलेद्वारा लेखिएको ‘प्रेस विज्ञप्ति’ पनि समावेश गरिएको छ, जुन विज्ञप्तिमा ‘‘एक व्यक्ति अनेक व्यक्तित्व’ पुस्तक मैले लेखेको हुँदै होइन।’’ भनेका छन्।

फुकटर कविता, गीत र मुक्तकहरू-
कवि गोपाल गाउँलेका पूर्वप्रकाशित दुईवटा कवितासंग्रहमा 22 र 27 गरी जम्मा-जम्मी 49 वटा उत्कृष्ट कविताहरू प्रकाशित छन्। यी दुईवटा कृतिमा रहेका कविताहरूबाहेक उनको जीवनकालमा अप्रकाशित रहेका कविताहरू ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-को तेस्रो खण्डमा परेको ‘फुकटर कविता, गीत र मुक्तकहरू’ अन्तर्गत राखिएका छन्। यस खण्डमा उनका कविता, गीत र मुक्तकहरू गरी जम्मा 51 वटा रचनाहरू परेका छन्।
हेरौं गोपाल गाउँलेको एउटा कवितांश-
नाउ खियार पारि पुग्छ
जाने खियाउन जीवन
नलागे चोट छातीमा
निष्क्रिय बन्छ मानव
खाए चोट, पाए दुःख
सफल बन्छ जीवन।
नभए दिन सक्दैन
नजानेर सिकाउन नगरे कर्म संसारी
सफल हुन्न जीवन
-(जीवन, (गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू , पृष्ट-128))
हामी भन्छौं जीवन संघर्ष हो। संघर्षबिना जीवन सफल बन्नसक्दैन। कवितामा कविले यहि कुरा दर्शाउन चाहेका छन्। जीवनमा जस्तै दुःख, कष्ट, चोट-व्यथा, समस्या आइपरे पनि पछि हट्नुहुन्न भन्न चाहेको पाइन्छ कविले। यस खण्डमा उनका डम्मा तीनवटा गीत समावेश भएका छन्। कवितामा जस्तै गोपाल गाउँलेका गीतहरूमा पनि उही स्वर गुञ्जिएको पाउन सकिन्छ। उनी भन्छन् गीतमा-
आफ्नो भाग्य फै बनाउँ...
विचार बद्ली मनको मैला पौरखले हटाउँ
आकाश ताकी झर्दैन, पाताल सोची फल्दैन
कर्मको रेखा रहरले कोरेर भाग्य बन्दैन...।
यहाँ गीतकार गाउँलेले भन्न चाहेको अर्थ खुलाइरहन त्यति आवश्यक देखिन्न।
कथाहरू-
साहित्यकार गोपाल गाउँलेद्वारा कविताको तुलनामा कथा थोरै लेखेका छन्। यहाँ प्राप्त उनका कथाहरू ‘गुरुजीको लौरो’, ‘पश्चतापको आशु’, ‘उ छाड़ेर गई’, ‘उसलाई दुइ सिन्का काँटी-धूप...’, ‘बहिनीलाई चिट्ठी’ र ‘रहर फेरि बाँच्ने हो, होइन’ गरी जम्मा-जम्मी 6 वटै मात्र छन्। साहित्यका हरेक विधाका स्रष्टाहरूले यदि उनलाई जो-कोहीले ‘तपाईं किन लेख्नुहुन्छ?’ भन्ने प्रश्न गरिदिने हो भने उनको सायद एउटै जवाब हुनेथियो- ‘समाजको निम्ति, समाज उत्थानको निम्ति, समाजको विकासको निम्ति, समृद्ध समाजको निम्ति।’ उनले आफ्नो पहिलो कृतिमा लेखेका पनि छन्- ‘प्रायः जहिले मेरा आँखा अगाड़ि कसैप्रति अन्याय, अत्याचार भएको हुन्छ, त्यसैगरी मभित्र पनि एउटा विचारले जन्म लिन्छ। बाध्य भएर एउटा सेतो कागजभरि ती प्रत्येक अन्याय र अत्याचारहरूको विरोधबारे लेख्ने जमर्को गर्दछु।’
गोपाल गाउँलेका कविता र गीतहरूमा झैं कथामा पनि पाइने मूल स्वर भनेको त्यही हो। ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-मा समावेश भएका 6 वटा कथाहरूमध्ये पहिलो कथा हो ‘गुरुजीको लौरो’। यहाँ शीर्षकबाटै हामी अनुमान लगाउन सक्छौं की कथामा उनले के भन्न चाहेका छन्। समाजको विकासमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षा हो। शिक्षाबिना केही पनि हुन सक्दैन। कुनै एउटा समय थियो ‘पढी लेखी के काम, हलो जोती खायो माम’-को। अहिले समय धेरै अघि बडिसकेको छ। अघिको त्यो भनाइको ठीक विपरीत ‘शिक्षा नै सफल जीवनको आधार हो’ भन्ने समय हो अहिले। उनी कथामा भन्छन्- ‘‘हेर छोरा! अहिलको समयमा नपढ़ेको मान्छे गोरुसमान हुन्छ। सबैले हेप्छन्। मेरैजस्तो दुःखी जीवन बिताउनुपर्छ। त्यसैले म तलाईं धेरै पढ़ाउँछु; तँ राम्रोसँग पढ़...।’ कथाकारका रूपमा पनि सफल देखिएका गोपाल गाउँलेका सबै कथाहरू उस्तै लाग्छन्।
निबन्ध र लेखहरू-
‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-भित्र परेको अन्तिम खण्ड हो ‘निबन्ध र लेखहरू’। यस खण्डमा उनका 13 वटा लेख-निबन्धहरू समावेश छन्। यी 13 वटा लेख-निबन्धहरू यसप्रकार छन्- 1. आजको दिन, 2. पैसा, 3. चलचित्र, 4. घर झगड़ा, 5. विवाहः बन्धन कि आवश्यकता?, 6. भारतीय गोर्खा आवाज, 7. हाम्रो समाज र नारी-रूप, 8. खोइ के लेखु!, 9. म रक्सी हुँ, 10. भाषा र साहित्यका धमिराहरू, 11. जीवन थीङ अझै जिउँदै छन्, 12. मेजर सोमनाथ शर्मा र 13. सिक्किममा नेपाली साहित्यः हिजोदेखि आजसम्म। यीमध्ये पनि उनको ‘सिक्किममा नेपाली साहित्यः हिजोदेखि आजसम्म’, मरणोप्रान्त परमवीर चक्र प्राप्त गर्ने भारतीय गोर्खा सेनाको जीवनीपरक लेख ‘मेजर शोमनाथ शर्मा’-लाई महत्वपूर्ण मान्न सकिन्छ। उसो त उनका अन्य लेख तथा निबन्धहरू पनि उत्तिकै पठनीय रहेका छन्।
सम्पादनः
(1) अर्चना- गोपाल गाउँले एक असल कविता, कथाकार, मुक्तककार, गीतकार मात्र थिएनन् अपितु, उनमा एक कुशल सम्पादक तथा व्यवस्थापकसित हुनुपर्ने गुण पनि थियो भन्ने त्यससमयको लोकप्रिय पत्रिका ‘अर्चना’-ले प्रमाणित गरेको पाइन्छ, जसको सहसम्पादकका रूपमा रहेर काम गरेका थिए। अर्चना पत्रिकामा गोपाल गाउँलेले कहिलेदेखि कहिलेसम्म काम गरे भन्ने यहाँ भन्न सकिएन। कवि पवन चामलिङको ‘अन्तहीन सपनाः मेरो विपना’ प्रकाशन हुँदैगर्दा गोपाल गाउँले ‘अर्चना’-कै प्रकाशनका लागि बनारस पुगेका कुरा ‘निर्माण’-को ‘गोपाल गाउँले स्मृति अङ्क’-मा पुण्यप्रसाद शर्माले उल्लेख गरेका छन्। शर्माअनुसार ‘अर्चना’-को मुद्रण व्यवस्था कै लागि त्यस समय बनारस पुगेका बेला दुवैको भेट भएको थियो।
(2) निर्माणः संस्कृति विशेषाङ्क- सिक्किमेली नेपाली साहित्यमा ‘निर्माण’ पत्रिकाले छुट्टै स्थान बनाएको हामी पाउन सक्छौं। यसका विभिन्न विशेषाङ्कहरूले नेपाली साहित्य जगतमा जुन योगदान पुऱ्याएको छ, त्यो वास्तवमै उल्लेखनीय रहेको पाइन्छ। ‘निर्माण’-का विभिन्न विशेषाङ्कहरूमध्ये पनि ‘संस्कृति विशेषाङ्क’-को झनै छुट्टै महत्व रही आएको छ। सिक्किममात्र नभएर भारत तथा नेपालभरिबाट वरिष्ठ एवं स्थापित लेखकहरूका लेखहरू समावेश गरिएको यस अङ्कले समग्र नेपाली साहित्य समाजलाई ठूलो टेवा पुऱ्याएको पाउन सकिन्छ, समग्र नेपाली जाति र भाषीका लागि यो अङ्क संग्रहनीय रहेको छ। यस अङ्कमा पवन चामलिङ सम्पादक रहेको यस अङ्कमा पनि गोपाल गाउँले सहसम्पादक रहेका छन्। यद्यपि, पवन चामलिङ स्वयंले ‘निर्माण’-को गोपाल गाउँले स्मृति अङ्कमा भनेका छन्- ‘उनकै (गाउँलेकै) अथक प्रयासको परिणामस्वरूप ‘निर्माण’-को संस्कृति विशेषाङ्क संग्रहनीय संकलन बन्न सक्यो।’ 1984-मा पवन चामलिङ लगायत अन्य साहित्यकारहरूले चन्दा संग्रह गरेर गोपाल गाउँलेको आँखा उपचार गराएका थिए। आफ्नो स्वास्थ्य उपचार गराउनसम्म नसक्ने उनी तर साहित्यप्रति कतिसम्म समर्पित थिए भने कुरा निर्माणको संस्कृति विशेषाङ्कले प्रमाणित गर्दछ। लगभग 950 पृष्ठमा रहेको निर्माणको संस्कृति विशेषाङ्कलाई हेरेपछि नै भारतीय नेपाली साहित्यका शिखर पुरुष इन्द्रबहादुर राईले गोपाल गाउँलेलाई निर्माणकै पर्याय भनेका हुनुपर्छ। निर्माणको गोपाल गाउँले स्मृति अङ्कमा इबराले भनेका –‘‘निर्माण गोपाल’ अथवा गोपाल निर्माण’ भन्दा पनि हुने।’ इबराले अझ भनेका छन्- ‘निर्माण नै उनको परिवार, यसका अंकहरू नै उनको छोरा, उनकी छोरी। निर्माण राम्रो हुनु उनलाई सिक्किम राम्रो हुनु थियो।’
गोपाल गाउँलेको निधनपछि एक वर्षसम्म ‘निर्माण’-को नयाँ अङ्क प्रकाशित हुन सकेन। एक वर्षपछि उनकै स्मृति अङ्क प्रकाशित भएको थियो जून 2001-मा।

(घ) साहित्यइतर-
गोपाल गाउँलेलाई एक असल कवि, कथाताक, निबन्धकार अथवा एक असल साहित्यकारका रूपमा चिन्न सकिन्छ। यसका साथै कुनै समय नेपालमा उनी एकजना राजनेता पनि थिए भन्ने कुरा श्री टीबी चन्द्र सुब्बाद्वारा सम्पादित ‘इतिहास निर्माताः सिक्किमका प्रमुख दिवङ्गत स्रष्टा र द्रष्टाहरू’-मा श्री पुण्यप्रसाद शर्माले बताएका छन्। शर्माअनुसार गोपाल गाउँले नेपालको कतिपय चुनाउमा उम्मेदवारका रूपमा खड़ा भएका थिए। यद्यपि, उनलाई राजनीतिक सफलता हात लागेको थाहा पाइन्न। राजनीतिकै कारण उनी सिक्किम प्रवेश गरेका हुन् भन्ने पनि धेरैको मान्यता छ।

अन्तमाः
गोपाल गाउँलेले ‘म रक्सी हुँ’ निबन्धमा एकठाउँ लेखेका छन्- ‘संसारमा सबैभन्दा ठूलो शक्ति म नै हुँ किन भने प्रत्येक बुद्धिजीवीको बुद्धिको बिर्को खोल्नु र बन्द गर्नु मेरै हातमा छ।’ यसो भनेर समाजलाई गतिलो व्यङ्ग प्रहार गर्ने गोपाल गाउँलेलाई तर रक्सीले नै उनको जीवनदेखि पराजित गरिदिए। उनी एसटीएनएम अस्पतालमा जीवन र मृत्युसितको अन्तिम लड़ाईं लड़िरहेका समय मुख्यमन्त्री पवन चामलिङले गाउँलेकी धर्मपत्नीसित ‘पैसा र प्रयासले हुन्छ भने गाउँलेलाई बँचाउन म जे पनि गर्न तयार छु’ भनेका थिए। तर, उनलाई पैसा र प्रयास दुवैले विजयी गराउन सकिएन। अनि त उनको चितामा आगो लगाइँदै गर्दा सेत्तै केशराशी फुलेका उनकै पिताले भनेका थिए- ‘यसले नखाने कुरा धेर खाएरै मऱ्यो।’
गोपाल गाउँलेको अन्तिम दिनलाई सम्झेर गाउँले कै स्मृति अङ्कमा साहित्यकार वीरू बाङ्देलले लेखेका छन्- ‘गापोल गाउँलेको अनुहार 8 जून 2000-को दिन माईखोलाको बगरमा देख्दा-देख्दै खरानी भयो। उनीसँगै सिसौका वृक्षहरू स्याहार्दै बुढ़ेसकाल बिताउने उनको रहर पनि शेष भयो। ‘इतिहासमा बाँच्छु’ भन्ने उनको सपना पनि त्यसैदिन पूर्ण विराम लाग्यो।’
गोपाल गाउँलेले जतिदिन जीवन बाँचे साहित्य र गाउँ-समाजको निम्ति बाँचे। मान्छेले जति नै चाहे पनि सबैलाई सधैं राम्रै गर्छु भन्दाभन्दै पनि कहिँ, कति, कुनै न कुनै गल्ति हुन्छ नै। सायद गाउँलेबाट पनि त्यस्तै केही भएको हुनुपर्छ। साहित्य र गाउँ-समाजको निम्ति उनले जे-जति गरे, त्यो जो-कोहीको निम्ति सम्भव छैन भन्न त सकिन्न, तर उनले दुई-अढाई दशकको अवधिमा साँच्चै उल्लेखनीय कार्य गरेर गए। विडम्बनाको कुरा त के छ भने, उनको निम्ति मलामी खोज्नु परेको तीतो लाग्ने कुरा लेखेका छन् विनोद के. प्रधान सोरकीले निर्माणको गोपाल गाउँले स्मृति अङ्कमा। सोरकीले लेखेका छन्- ‘बिहान आउनेहरू आए, नआउनेहरू आएनन् गाउँलेलाई मरेपछि हेर्न। दुःखको कुरा आउनुपर्नेहरू पनि आएनन्। कृति किन छोड़्नुहुन्छ ज्यू? कर्म किन गर्नुहुन्छ? गाउँलेलाई मलाई खोज्नु परेथ्यो।’
आखिरमा यति भन्न चाहन्छु, उनी अन्याय-अत्याचारको विरोधमा सधैं खरो उत्रने, क्रान्ति बोल्ने, जाति, समाज र देशको समुन्नत विकास चाहने एक निडर र निर्भिक व्यक्तित्व थिए। सामाजिक एकता, समानता र मानव मूल्यको मूल स्वरमा उनी साहित्यमार्फत यस्तै आवाज बुलन्द गरिरहन्थे। उनी सशरीर मरेर गएपनि उनले छोड़िराखेका कृति र कर्महरूमा उनी हामीसितै छन्। उनी जीवित छन्।
गोपाल गाउँलेले कतै भनेका छन्- ‘जुन दिन म यो ठाउँ छोड़ेर जान्छु, त्यस समय मात्र मेरो कमी धेरैले महसूस गर्नेछन्।’ गाउँलेले त्यस समय कुन सन्दर्भमा यसो भनेका थिए? त्यो यहाँ भन्न सकिन्न। उनले यो ठाउँ अर्थात यो संसारै छोड़ेर गएको पनि 18 वर्ष भइसकेको छ। यो 18 वर्षमा कसैले उनको कमी महसूस गरे-गरेनन्? तर नेपाली साहित्य समाजमा अहिले पनि उनीजस्ताको कमी छ।
अन्तमा, यहाँ शिव प्रधानको कुरालाई अघि सार्दै मेरो कलम यहीँ राख्न चाहन्छु- ‘गाउँले जीवन र साहित्य दुवैमा संघर्ष गर्न रुचाउँथे।’

सन्दर्भः
(1) गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू, निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम, पहिलो संस्करण, 2001.
(2) निर्माणः गोपाल गाउँले स्मृति अङ्क, प्रधान सम्पादक- पवन चामलिङ ‘किरण’, वर्ष-20, अङ्क-35, 2001.
(3) इतिहास निर्माताः सिक्किमका प्रमुख दिवङ्गत स्रष्टा र द्रष्टाहरू, सम्पादक- टीबी चन्द्र सुब्बा, वर्ष-2008.
(4) निर्माणः संस्कृति विशेषाङ्क, निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम, सम्पादक- पवन चामलिङ ‘किरण’, वर्ष-19, अङ्क-34, अप्रेल-1999.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।