17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अङ्गना–२

कविता कृष्ण उपाध्याय November 5, 2023, 4:09 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

१.
मेरो महापुरुष !
अङ्गनाले जड वृक्ष हेरिरहँदा,
ऊ एक पटक म पट्टि फर्किन्छे
वाल्मिकी वास हेर्छे,
फेरी म पट्टि फर्किन्छे
दौडिन्छे प्रथम प्रतियोगी जस्तै ।
चिसा चिसा आँखा चिम्लेर
अनि चुर्लुम्म चोभिन्छे
चिसो चिसो पानीमा !

मन मस्तिस्क चिसो बनाएर
ऊ फेरी वाल्मिकी वास हेर्छे
पारि पट्टिको गजेन्द्रधाम हेर्छे,
अलि पर पिपलको चौतारीमा बस्छे,
म पट्टि फर्केर
मलाई आमा भन्छे,
तिमीलाई सम्झेर
आक्रोषित अङ्गना
भक्कानिदै भकभकाउँछे

छमक छ्मक हिँडिरहेँ
छुप्लुक छुप्लुक गरिरहेँ
हस्याङ्ग फस्याङ्ग हस्याङ्ग फस्याङ्ग
उतै तिर बगिरहेँ ।

चटक मटक गरिरहेँ
पटक पटक ठगिरहेँ
गज्याङ्ग मज्याङ्ग गज्याङ्ग मज्याङ्ग
उतैतिर हिँडिरहेँ

नजाऊ नजाउ भनिरहेँ
फत्र्याक फत्र्याक परिरहेँ
उकुसमुकुस उकुसमुकुस
बनैबीच लडिरहेँ

मदन मदन भनिरहेँ
कराई कराई लडिरहेँ
झरक झरक झरक झरक
लुसुलुसु हिँडिरहेँ ।

कदम कदम मरिरहेँ
डराई डराई बाँचिरहेँ
खुम्चुक खुम्चुक खुम्चुक खुम्चुक
भेट्ने आशा पालिरहेँ ।

आमा !
बाङ्गे बाङ्गे काले काले जता तिर भागे
त्यतै त्यतै दौडी दौडी म नि पछि लागे
पछि पछि लाग्दा लाग्दै यहाँ आइ पुगेँ
कहाँ पुगेँ कहाँ पुगेँ, को हुँ भन्न थालेँ ।
आ.............मा.......!

२.
मेरो महापुरुष !
अङ्गना
भकभकाएर
भक्कानिएर
सानो सानो चौतारीमा बसिरहँदा
साना साना बेल वृक्ष देख्छे,
पल्लवित पात देख्छे
साना साना बेल वृक्षका,
अनि सुन्छे
पल्लवित पातका शाश्वत स्वर लहरीः

अङ्गना ! प्यारी अंगी !
बस ! बस !
छायामा ब , माया !
तिमी पनि रुखै त हौ नि
रुख जस्तै तिमी पनि
फल फलाउछेउ
तिता मिठा
टर्रा अमिला ।
तिम्रा दुःख छन्
तिम्रा सुख पनि छन्
तिनै त हुन्
तिमीमा लाग्ने दुई फल ।

रुखै त हौ नि तिमी प्यारी
प्यारी प्यारी अङ्गना
प्यारी अंगी
जरा पनि छन् तिम्रा
कडा काडा जरा !
तीनवटा कडा जरा !
एउटा जरा जर्खरिन्छ
एउटा जरा मोटाउँछ
ज्ञानी हुन्छ्यौ तिमी
ध्यानी हुन्छ्यौ
दयालु हुन्छ्यौ
मायालु हुन्छ्यौ ।
अरु मोटाउदा,
तिमी लोभीन्छ्यौ
भ्रमित हुन्छ्यौ,
तिमी भ्रान्त, भ्रष्ट हुन्छ्यौ,
अशान्त, अभिमानी हुन्छ्यौ ।
प्यारी अङ्गना, प्यारी अंगी
अंगीका गुण त् हुन् नि जरा !

त्यसै रुख भन्या हो र अङ्गना !
प्यारी अंगी !
प्यारी प्यारी अंगी !
हाम्रा जस्तै
तिम्रा पनि रस छन्
एक दुई होइन चार चार रस छ्न ।
तिमी अंगी हुनुको धर्ममा छौ
तिमी अंगीले गर्ने धर्म गर्छ्यौ,
हामीले रुख हुनुको धर्म गरे जस्तै
हामीले फल फलाए जस्तै
कर्तव्यका कर्मवृति
धर्म हो तिम्रो ।
कर्मवृत्ति अर्थवृत्ति न हो तिम्रो,
अंगीका अंशीहरुको ।
हामीलाई हलक्क बवढ्ने कामना छ
तिमीलाई सलक्क हुने कामना छ
हामीर्लाइ तिमीलाई पुज्य पुज्या हुने रहर छ ।
हामीमा काम छ
काम छ तिमीमा पनि ।
अनि अंगी प्यारी !
प्यारी प्यारी अंगी !
तिमीलाई शान्त भावले
विलिन हुने मन छ
निर्वार्ण चाहिएको छ
चाहिएको छ आनन्द
आनन्दै आनन्दको मोक्ष ।

प्यारी अङ्गना ! प्यारी अंगी !
तिम्रो
मन छ, माया छ, ममता छ
रहर माथि रहर छ
कायाका कामना छ,
कुद्दै कुद्दै पछ्याएको
लट्टे, वाङ्गे कालुको काया न हो तिमीले ।
प्यारी अंगी !
चुसुक्क केहि हुनुहुँदैन
आगो ओकल्छौ तिमी
आक्रोशको आगो पोख्छ्यौ तिमी
क्रोधको आगो बाल्छ्यौ तिमी ।
चित्त नदुखाउ अंगी,
देख्यो कि चाहियो तिमीलाई
आफ्नो भए पनि चाहियो
अरुकै भए पनि चाहियो
लोभी छौ अङ्गना तिमी
लोभै लोभ छ नि तिमीमा अंगी !
आफ्नो भन्यो
ज्यान दियो
माया गर्यो
सबैसबै बिर्सियो
अंगी ! प्यारी अंगी
त्यैैं त गर्यौ नि तिमीले !
प्यारी अङ्गना !
आफ्नो हुँदा तिमी मात्तिन्छ्यौ
अरुको हुँदा डाढो गर्छ्यौ !
यी सवै तिम्रा रस हुन्
तिम्रा जीवनका रस हुन्
रुखका रस जस्तै ।
छ रस हुन् तिमी अंगीका
छ रस सवै अंगीका !

प्यारी अङ्गना! प्यारी अंगी
फेरी भने
तिमी रुख त हौ
हाम्रा जस्तै तिम्रा
बोक्रा छन्
हाँगा छन्
प्वाल छन्
वायु छन् ।
गनेर हेर त, अंगी
अंगीका सात बोक्रा,
आठ हाँगा
नौ प्वाल
अनि दस वायु !

थाकेकी अङ्गना
थाह छ ? थकित् थकित अंगी !
प्यारी प्यारी अंगी
तिम्रा पल्लवित पातका हाँगामा
सुन्दर सुन्दर दुई चरा बस्छन् !
कहिले कहिले देख्दिनौ तिमी
सुन्दर आत्मा चरी !
सुन्दर परमात्मा चरी !
अंगीका अनादि आत्मा !
अंगीका अनादि परमात्मा !

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।