17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झनामा रोल्पा यात्रा

नियात्रा प्रमाण अधिकारी January 4, 2024, 1:19 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

कामको सिलसिलामा फाट्टफुट्ट नेपालबाहिर जानुपर्ने भएकाले कार्यालयतिर साथीभाइसँग भेट हुँदा “तपाईं त अन्तर्राष्ट्रिय मान्छे” भनेर मलाई दिनमा एकपटक कसै न कसैले व्यङ्ग्यरुपी वाण हानेकै हुन्छन् । १२-१३ वर्षसम्मको कामका सन्दर्भमा करिब १५ वटा मुलुक पुगेको भए पनि मलाई त्यसमा गर्व गर्नुपर्ने कुनै कारण छ जस्तो लाग्दैन । गर्व त मैले तब गर्न सकुँला जब मैले आफ्नै देशका अधिकांश भूभाग घुमेको हुनेछु । जसले मलाई हाम्रो समाज, हाम्रा सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेश र परिस्थितिसँग साक्षात्कार गर्ने, अन्तरक्रिया गर्ने र बुझ्ने मौका दिनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा त देशभित्रको भ्रमणले हाम्रा मान्छे र हाम्रो समाजलाई बुझ्न सहयोग गर्नेछ । पढेर प्राप्त हुने ज्ञानभन्दा परेर प्राप्त हुने ज्ञान अझ बढी उपयोगी हुने र त्यसले हामीलाई परिपक्व पनि बनाउँदै लैजान्छ भन्ने मलाई लाग्दछ । आफ्नै देशका बारे पनि पढेर धेरै ज्ञान त बटुल्न सकिएला तर त्यसको वास्तविक ठम्याइ त्यति बेलामात्र गर्न सकिन्छ जतिबेला हामीले माथि भनिएजस्तै साक्षात्कार, अन्तरक्रिया, एकआपसमा सम्बन्धित विषयबारे कुराकानी, अनुगमन आदि गर्न पाइन्छ ।
यी पंक्ति लेख्तासम्म म नेपालका ७७ जिल्लामध्ये ५८ जिल्ला घुमेको रहेछु । यात्राका क्रममा सम्बन्धित ठाउँमा पुगेर फर्केपछि मैले बालाई आफ्नो यात्रा अनुभव सुनाउने गर्थें । उहाँसँग आफ्ना यात्रानुभव साझा गर्दा सधैँ “यी मलाई भनेका कुराका आधारमा नियात्रा लेख्” भनेर सुझाव दिइरहनुहुन्थ्यो । उहाँ आफू पनि लेखक–नियात्राकार भएकाले मलाई लेख्नका लागि प्रेरित गर्नु स्वाभाविक थियो । तथापि लेख्ने कामका लागि भने मैले समय मिलाउन सकिरहेको थिइन । त्यति जाँगर चलाउन सकिरहेको थिइन । अहिले बा हुनुहुन्न तर पहिलेका बाका तिनै सल्लाहलाई शिरोपर गरेर अब कुनै नयाँ ठाउँ गएका खण्डमा आफूले देखेका, भोगेका र आफूलाई लागेका कुरा पाठकलाई पनि उपयोगी हुने हिसाबले नियात्रा लेख्न कोसिस जारी राख्ने निधो गरेको छु । साथै अगाडि गरिएका भ्रमणका पनि अविष्मरणीय सन्दर्भ यसै गरी नियात्राका माध्यमबाट साझा गर्ने उद्देश्य लिएको छु ।
नयाँ ठाउँ देख्ने, पुग्ने र यात्रा गर्ने रुचि मलाई सानैदेखि थियो । विशेष गरी बासँग यात्रा गर्दाका समयमा उहाँले ठाउँका नाम बताउने, त्यो नाम कसरी रहन गयो भन्ने कुराको खोजिनीति गरी आफ्नो जानकारीका आधारमा बताउने, खोला चिनाउने, गाउँबस्ती तथा बजार चिनाउने, अर्को पालो सँगै यात्रा गरेका भए पहिले बताएका कुरा सोध्ने, त्यो भेगमा उहाँले चिनेका व्यक्तित्व तथा साहित्यकारहरूका बारेमा बताउने गर्नुहुन्थ्यो । त्यसरी बानी परेकाले पनि होला म नयाँ ठाउँ पुग्दा बाटाभरी आउने ठाउँका नामहरू हत्तपत्त बिर्सन्न ।
यो नियात्राका सन्दर्भमा कुरा गर्नुपर्दा कार्यालयकै एक अग्रज तथा कास्की, पोखराको चापाकोटमा घर भएका भानुभक्त पराजुली सरले मलाई संस्थाकै एक कार्यक्रम सञ्चालन भएको जिल्ला रोल्पा जान प्रस्ताव गर्नुभयो । कामकै सिलसिलामा उहाँ काठमाडौंदेखि रोल्पासम्म यात्रा गर्दै हुनुहुन्थ्यो । कामको चापबाट केही मुक्ति मिलेको समय, नयाँ ठाउँको अवलोकन गर्ने अभिलाषा र भुइँ तहसम्म पुगेर आफ्नो समाज बुझ्न पाउने अवसरलाई विचार गरी उहाँसँग रोल्पासम्मको भ्रमणमा जान सहमति प्रकट गरें । उहाँ पनि एक्लै यात्रा गर्दै हुनुहुँदो रहेछ । म उहाँलाई साथी हुने भएँ अनि त्यो ठाउँ नपुगेको मेरा लागि उहाँ पथप्रदर्शक र जानकार व्यक्तित्व ।
यही २०८० सालको मङ्सिर १६ गते शनिबारका दिन बिहान काठमाडौंबाट यति एअरलाइन्सको जहाज चढेर भैरहवाका लागि दुई दाजुभाइ प्रस्थान गरियो । मेरा बा (प्रा.डा. रविलाल अधिकारी) को स्मृतिग्रन्थ निकाल्ने सन्दर्भमा व्यक्तित्व, कृतित्व र संस्मरण सङ्कलनको काम उक्त बेला चलिरहेकाले बाका तीन कृति समीक्षार्थ भैरहवामै रही साहित्यसेवा गरिरहनुभएका ऋषिराम भुषाल, डा. मुरारी पराजुली र प्रा.डा. कपिल लामिछाने सरहरूलाई पुस्तकहरू हस्तान्तरणका साथ समीक्षा लेख्नका लागि अनुरोध गर्ने पनि मेसो मिलेकाले भैरहवा उत्रिएपछि लुम्बिनी–द्वार, बुद्धचोकमा कपिल लामिछाने सरलाई भेटेर पुस्तक हस्तान्तरण ग¥यौँ । त्यसपछि बुटवलतिर नलागी गोरुसिंगे निस्कने बाटो छोटो हुने भएकाले भाडामा लिएको गाडीमा हामी रोल्पाको होलेरीका लागि प्रस्थान गर्‍यौं । लुम्बिनी आइनपुग्दै झुलनीपुर भन्ने ठाउँमा चिया खान झरियो, जहाँ आजसम्म खाएका चियामध्येको एक अविस्मरणीय स्वाद लिन पाइयो । त्यसपछि कपिलवस्तु जिल्लाअन्तर्गत धानखोलामा रहेको एक होटलमा खाना खाई यात्रालाई पुनः निरन्तरता दियौं ।
दाङ, अर्जुनखोलाबाट दायाँ घोराही जाने बाटो समातेपछि वि.सं. २०६७ मा एक सर्वेक्षणका क्रममा एक हप्ता घोराही बसेको र एशिया महादेशकै दोस्रो ठूलो उपत्यका दाङ देख्न पाउने उत्सुकताले प्रफुल्लित बनाएको सम्झन पुगें । साथै अहिले दोस्रोपटक पुग्दा दाङका वरिष्ठ पत्रकार तथा बाका साथी आदरणीय नारायणप्रसाद शर्मालाई पनि सम्झन पुगें जसले नियमित रूपमा ‘युगबोध’ नामक पत्रिका बाका नाममा पोखरास्थित मेरो घरमा पठाइरहनुहुन्थ्यो । हामी केटाकेटी बेलाका भए पनि बाले पढिसकेपछि त्यसका सामग्री हेर्ने गथ्र्यौं । बाको स्मृतिग्रन्थ प्रकाशनका लागि उहाँलाई संस्मरण उपलब्ध गराउन अनुरोध गर्ने सन्दर्भमा मैले उहाँसँग टेलिफोनमा केही दिनअघि मात्र कुराकानी गरेको थिएँ र उहाँले स्वास्थ्य अवस्था त्यति अनुकूल नभए पनि प्रयास गर्ने कुरा जनाउनुभएको थियो । होलेरी पुग्दा अँध्यारो भइसक्ने र भाडाको गाडी पुनः भैरहवा नै फर्कनुपर्ने कारणले पनि दाङमा नभुलीकन हामी अगाडि बढ्न बाध्य भयौं । आदरणीय व्यक्तित्व नारायणप्रसाद शर्मासँगको भेटघाटका कुरालाई थाँती राख्नुपर्ने अवस्था आयो । दाङको बाह्रकुने दह क्षेत्रभित्रको चिया पसलमा चिया खाएर हामीले यात्रा पुनः अघि बढायौं । यो दहमा त्यहाँका स्थानीयहरू विशेष गरी बिदाका दिन प्राकृतिक विचरण, वनभोज तथा जलबिहारका लागि आउने गर्दारहेछन् ।
दाङबाट शुरु भएर रोल्पा हुँदै रुकुमसम्म पुग्ने बाटाको नाम ‘शहीद मार्ग’ रहेको जानकारी भयो । घोराही, दाङबाट ३० किलोमिटर दूरीमा रहेको रोल्पाको होलेरी पुग्न करिब डेढ घण्टा लाग्दो रहेछ । रोल्पा, रुकुम भनेका माओवादीले जनयुद्ध शुरु गर्दाका अवस्थाको ठाउँ भएकाले आफ्नो बाल्यअवस्थादेखि नै यी नामसँग परिचित हुने मौका मिलेको थियो । रोल्पा–रुकुम भन्नासाथ मेरो मानसपटमा माआवादी छापामारहरुको तस्बिर आउँथ्यो । र वर्तमानमा त्यो ठाउँ पुग्न लाग्दा मनमा एक किसिमको कौतुहल र जिज्ञासा जागेको थियो । शहीद मार्गको अवस्था देख्ता, मुगु जिल्ला पुगेका बखत त्यहींकै एक स्थानीयले “हाम्रो राज्यले हामीलाई तिमीहरू नागरिक नै होइनौ झैं व्यवहार गर्छ” भनेको सम्झें । विकास निर्माणका काम सँगसँगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा भोग्नुपरेको कष्टका कारण हुनुपर्छ सायद् ती स्थानीय व्यक्तिले राज्यले गर्ने असमान व्यवहारका बारे धारणा राख्नुभएको थियो । “के हामी यो देशका नागरिक होइनौं ? के हामीले राज्यप्रति निभाउनुपर्ने कर्तव्य निभाएका छैनौं ?” भन्ने प्रश्न शहीद मार्गमा यात्रा गर्दा मेरा मनमस्तिष्कमा पुनः प्रतिध्वनित हुन पुगे । होलेरी पुग्दा जाडाको समयले गर्दा पनि हुनुपर्छ; पाँच, साढे पाँच बज्दा नै अँध्यारो भइसकेको थियो । होलेरी समुन्द्र सतहबाट १८३० मिटर उचाइमा रहेछ । पोखरा र काठमाडौंको तुलनामा क्रमशः एक हजार मिटर र चार सय मिटर माथि उचाइमा रहेको यस ठाउँमा अधिकांश समय चिसै भइरहने र सुत्दाका समयमा प्रायः सिरक अथवा बाक्ला ओढ्ने कपडा प्रयोग नगरी नहुने कुरा जानकारीमा आयो । यो बजार नयाँबजार र पुरानो बजार गरी करिब चार सय मिटर लामो रहेछ । नयाँ बजारमा टिनका टहराहरू धेरै छन् जुन अढाई सय मिटर र पुरानो बजार डेढ सय मिटरजति बाटा छेउछाउ फैलिएको छ । बजारमा प्रहरीको चेकजाँच पोष्ट, किराना पसल, चिया पसल, दुई औषधी पसल, तीन बैंक, कपडा पसल आदि छन् । दिनमा एउटा बस यहाँबाट काठमाडौं जाने गर्दो रहेछ । साथै यहाँबाट भैरहवा, घोराही र रुकुमतिर जाने बस पनि लाग्दो रहेछ । पुरानो बजारको माथिपट्टि रुन्टीगढी गाउँपालिकाको कार्यालय रहेछ । होलेरी बसेका समय बिहान र साँझ साथीभाइ भेट हुँदा बजारको माटे पसलमा चिया दिनहुँ खाइयो । स्वर्गद्वारी दर्शनका लागि जाने–आउने प्रायः भक्तजनहरूले यसै पसलमा खानेकुरा खाँदा रहेछन् । यस पसलमा सुजी र मैदा मिसाएर सेल बनाउँदा रहेछन्, जुन हामीले चिया खाँदा सधैं चाखियो पनि ।
नयाँ ठाउँ पुगेपछि सूर्योदय हेर्ने इच्छा जागृत हुनु स्वाभाविकै हो तर पोखरामा आँखै अगाडि हिमाल हेर्दै हुर्केको मान्छे, मलाई, हिमालहरूको लामो शृङ्खला होलेरीबाट पनि देखेपछि कुन कुन हिमाल हुन् भन्ने चासो पलायो । होटलका साहुजी र त्यहाँ कार्यरत अन्य स्थानीयलाई त्यहाँबाट देखिएका हिमालका बारे सोध्दा स्पष्ट जवाफ पाउन सकिएन । बाहिरपुँणो बाटामा भेटिएका स्थानीयले जति सोध्दा पनि कोही निलगिरि, कोही धवलागिरि, कोही माछापुच्छे हिमाल हो कि मात्र भन्न थालेपछि पोखरेली दाजुभाइ दुवै जना मिलेर कुन हिमाल कुन हो भनेर पत्ता लगाउनका लागि होलेरी हिल स्टेसन उक्ल्यौं र त्यहाँबाट देखिने उत्तरतर्फका हिमाली चुचुराहरू चिन्ने प्रयत्न ग¥यौं । तथापि भिन्न–भिन्न कोणबाट हेर्दा फरक–फरक आकृसितमा देखिने हिमालका कारण हामी दुई दाजुभाइमा पनि मतैक्य हुन सकेन । संयोगवश नेपालकै एउटा राजनीतिक दलले पश्चिम झुलाघाटदेखि पूर्व चिवाभञ्ज्याङसम्म थालेको मध्यपहाडी लोकमार्गको यात्राका क्रममा उक्त पार्टीका अधिकांश नेतागणले सामाजिक सञ्जालमा साझा गरेका हिमालका तस्बिर र तिनको विवरणबाट हिमालबारे पनि केही जानकारी प्राप्त भयो जुन यस पंक्तिका लेखकले स्वर्गद्वारी, प्युठान पुगेर त्यहाँका २४ पुजारीमध्येका एक पुजारीसँगको वार्तालापका आधारमा पुनर्पुष्टि गर्ने अवसर पायो । होलेरीबाट सिस्ने हिमाल, अन्नपूर्ण हिमाल, धवलागिरि हिमाल, गणेश हिमाललगायत हाम्रो पोखराबाट नजिकै रहेको कास्की जिल्लाको माछापुच्छ्रे हिमाल पनि देखिने रहेछ ।
होलेरी बजार, रोल्पाका दश स्थानीय तहमध्येको एक रुन्टीगढी गाउँपालिकामा पर्दोरहेछ । यहाँबाट स्वर्गद्वारी, प्युठान २६ किलोमिटरमात्र टाढा रहेछ । त्यसै गरी यस गाउँपालिकाको नाममा प्रयुक्त रुन्टी शब्द चाहिँ स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रहेछ । यहाँबाट मुरुल्ले लेक पुगियो भने इन्डिया पनि देखिने जानकारी मिल्यो । रुन्टी र महाप्रभुको तपोभुमि गढीलेकबाट रुन्टीगढी गाउँपालिकाको नाम रहन गएको थाहा भयो । होलेरीमा ६ दिनको बसाइका क्रममा रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका विभिन्न भूभाग, गाउँबस्ती पुग्ने अवसर मिल्यो । रुन्टीगढीका शालीबाङ, सत्तिम, हुलाकी डाँडा, उघाँ, सुर्पाल र त्रिवेणी गाउँपालिकाका चेत्रे, दहवन, नुवागाउँ, नेर्पा, जुगार आदि ठाउँ पुगियो ।
नेपालका अन्य ग्रामीण भेगमा दृष्टिगोचर हुने जस्तै कुल जनसङ्ख्याका युवा पुस्ताको न्यून उपस्थिति, रोजगारीका सीमित अवसर, मलेसिया र मध्यपूर्वतिर प्राप्त हुने वैदेशिक रोजगारीका लागि देशै छोड्ने प्रवृत्ति, अलिअलि सक्ने घरपरिवारका मानिस अमेरिका (मूलतः अवैध मार्गबाट जाने) र कोहीले इण्डियातर्फ मौसमी रोजगारीका लागि आफ्नो जन्मस्थल छोड्ने गर्ने गरेको पनि पाइयो । यहाँका कोही कसैले आर्थिक स्थितिले सम्भव भएसम्म दाङतिर झरेर स्थायी वा अस्थायी बसोबासको व्यवस्था मिलाउने त कोही काठमाडौं गई काम गरी बस्ने गरेको कुरा जानकारीमा आयो । बाल विवाहका सन्दर्भमा पनि समुदायस्तरमा सचेतता कम आएका कारण अनौपचारिक ढङ्गमा पहिलेका तुलनामा कम नै भए पनि यो क्रमले निरन्तरता पाएकै देखियो । मकै, गहुँ, गोलभेँडा, सिमी, काउली, बन्दा, मुला, साग आदि यस ठाउँका मुख्य कृषिजन्य उत्पादन रहेछन् । साथै यहाँको टिमुर चर्चित रहेछ । पोखरा, काठमाडौंजस्ता शहरमा पाइने टिमुर नाकैनिर ल्याए मात्र बासना थाहा पाइन्छ तर यस क्षेत्रमा उत्पादित टिमुर चाहिँ निकै रागिलो रहेको पाइयो । रोल्पाको सम्झनाका लागि होलेरी बजारमा टिमुर र भाँगो पनि किनियो ।
रुन्टीगढी गाउँपालिकामा रहेका चुनढुड्गा खानी, त्यसको उत्खनन् र ठूला सवारीमार्फत गरिने त्यसको ढुवानी, जुन कालोपत्रे गरिएका सडकको क्षमताभन्दा दोब्बर–तेब्बर बढी छन्, जसका कारण शहीद मार्गको बेथिति भएको स्थानीयले बताए । राम्रा पक्षका सन्दर्भमा कुरा गर्नुपर्दा जातीय छुवाछुतका कुरा यहाँ देखिंदैन; यो मलाई निकै राम्रो लाग्यो । हाम्रो शहरी समाज जसरी एकाकी र स्वार्थी हुँदै गइरहेको छ त्यसको मात्रा यस परिवेशमा कम छ । मानिस सामुदायिक क्रियाकलापमा सक्रिय छन्, कुनै दिवस विशेषका दिन हाजिरी जबाफ प्रतियोगिता होस् कि खेलकुद् प्रतियोगिता, र्‍याली होस् कि खुला सभा जता पुग्दा पनि देख्न पाइन्छ । मानिस सामाजिक काममा सक्रिय देखिन्छन् । नेपालको समग्र अवस्थामा भन्ने हो भने मानिस सामाजिक मुद्दाहरूका कारण पिरोलिन छाडेका छन् । जघन्य अपराध र बलात्कारका घटना, दाइजोका कारण हुने हिंसा र हत्या, मिटरब्याजका नाममा हुने डकैती आदि नियमित रूपमा सञ्चार माध्यममा आए पनि विरोधमा नगण्य व्यक्ति अगाडि आएको देखिन्छ । अहिलेको हाम्रो नेपाली समाजमा सामाजिक, राजनीतिक मुद्दाहरूमा चुप रहने, बाहिर खुला रूपमा आएर विरोध नजनाउने शिथिलता व्याप्त देखिन्छ । यस किसिमको शिथिलता जनवितृष्णाको अर्को रूप पनि हुन सक्छ । अङ्गे्रजी भाषामा यसलाई सिभिक इनर्सिया भनिन्छ सायद ।
रोल्पा जिल्लाको दुई स्थानीय तह मात्रको भ्रमणका आधारमा लेखिएको यस संस्मरणले यस जिल्लाको समग्र अवस्थाको प्रतिनिधित्व गर्न नसक्ला । लिवाङ र थवाङजस्ता महत्त्वपूर्ण भूभागको भ्रमणले पनि केही थप दृष्टिकोण ल्याउन सक्लान् । भविष्यमा समय र मौका मिलेमा ती ठाउँसम्म पुगियो भने अझै धेरै विषयवस्तु आउनेछन् तर त्यो आम नेपाली र समग्र नेपाली समाजको चरित्रभन्दा ज्यादै फरक भने नहोला भन्ने लाग्छ ।
होलेरीबाट केबल २६ किलोमिटर टाढा रहेको स्वर्गद्वारी तपोभूमिको भ्रमण झनै स्मरणीय र उपयोगी रहन गयो । यसबारे मैले अर्को संस्मरण लेख्ने विचार गरेको छु । स्वर्गद्वारीबाट साँझ होलेरी नै फर्केर बास बसेपछि बिहीबार, मङसिर २१ गतेका दिन उही शहीद मार्गको बाटो फर्कियौं । दाङको घोराहीमा खाना खाएर फेरि पनि झुलनीपुरमा चिया खाने र भैरहवा पुग्ने उद्देश्यका साथ यात्रालाई निरन्तरता दियौं ।

रामघाट, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।