17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अपूर्व हिमाली मुस्कान

नियात्रा ज्ञानेन्द्र विवश March 14, 2024, 5:31 pm
ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश

‘नेपाली सर, हजुरले हिमाली मुस्कान देख्नुभयो त ?’ भारी बिसाएर बसेका भरिया भाइले मलाई देखेर प्रश्न गरे ।
‘मज्जाले देखियो भाइ ! भाइले भनेको हो रहेछ । आजदेखि हिमाल राम्रै देख्न पाइयो । बादलले नछोपेको हुँदा अमादब्लम त आँखै सामुन्ने देखिँदोरहेछ । सगरमाथा श्रृङ्खलालाई पनि हेर्न पाइयो ।’ मैले उनलाई यत्ति भनेँ र आफ्नो बाटो लागेँ ।
म सगरमाथा आधा शिविर पदयात्रामा थिएँ । हिँड्दै जाँदा अनेक देशका अनेकौँ यात्रीसँगको भेट र भलाकुसारीले धेरै कुरा जानकारी मिल्थ्यो । भरिया, पथप्रदर्शक र स्थानीयसँगको बोलीचालीले अरू धेरै कुरा थाहा हुन्थ्यो । चुपचाप हिँडिरहनै नसकिने बोल्ने र बोलिरहनेहरू यात्राभरि जम्काभेट भइहाल्ने ।
बाटोमा हिजो केही घण्टा तिनै भरिया भाइसँग एकसाथ पाइला चालिएको थियो । मैले उनीसँग धेरै जिज्ञासा राखेको थिएँ । आज फेरि यहाँ, यो बिसौनीमा उनीसँग जम्काभेट भयो । लैसासाको ओरालो उनीसँगै बात मार्दै झरेको थिएँ । फुङ्गीताङ्गाको बगरबाट म तेङ्बोचेको उकालो लागेँ । उनी भारीसँग बिस्तारै आइरहेका थिए ।
उनलाई भनेको थिएँ– ‘भाइ, हिमालयका ताँतीसँगै हिमाली मुस्कान त मज्जैले देख्न पाइएला नि उँभो लागे पछि है ?’
‘कति हेर्नुहुन्छ, अब भोलिदेखि आँखैमा हिमालै हिमाल देख्न सक्नुहुन्छ । नफर्किउँन्ज्याल ।’ उनले हिजै मलाई हाँस्दै भनेका थिए ।
तेङ्बोचेबाट हिमालय पर्वतका चुचुराहरू देखापर्न थालेका थिए । मनोरम दृश्यहरूलाई आँखामा बास दिँदै म ओरालो झरेँ । यही ठाउँमा यति सुन्दर प्रकृतिलाई हेर्न छाडेर हिँड्न मन थिएन । तर बाटो आफैँले हिड्ने हो । हेरेर बसेर मात्र बाटो छिचोलिँदैन थियो ।
तेङ्बोचेबाट जङ्गलको ओरालो झर्दै गर्दा बिसौनी मात्र होइन बस्ने, खाने होटल पनि आए । दोबुचेको तेर्सैतेर्सो बाटो हिँडिरहँदा फेरि जङ्गल, फेरि होटल पाइलैपिच्छे कति–कति भनेजति । जङ्गलका हाँगाबिगाहरूले बाटोलाई छहारी दिइरहेको । गर्मीमा यात्रीलाई शीतल पार्ने यी स–साना तर झुरूप्प अनेकौँ हाँगाहरूमा फैलिएका बोट । गुराँसको बोट होला भन्ठानेको मैले तर होइन रहेछ ।
अनि अगाडि सगरमाथाको चुचुरो टुप्पो । अर्कोतिर अमादब्लम हिमालको मुस्कान ।
होटल सकिएर जङ्गल आएपछि अगाडि फराकिलो सजिलो बाटो देखियो । अब ठूला रूखहरू हराउँदै गएका थिए । साना पोथ्रा त्यो पनि लेकाली पाटोमा पातला थिए । ती पोथ्रा हिमाली धुपीका भुईमै खुम्चिएका बोट थिए । हलक्क हुर्किन नसकेका, अग्लो धुपी पहिचानमा बढ्न नसकेको ती पोथ्रालाई मैले हातले सुम्सुम्याएँ । साना भए पनि भुईमै खुम्चिएका अर्कटिएका बलिया झ्याङ थिए ती ।
‘हिउँ परेपछि यी पोथ्राहरू हेर्न लायक हुन्छन् । हिउँका सेता डल्ला बनेर अचम्मका आकृति देखिन्छन् ।’ पोथ्राप्रति मेरो गहिरो रूचि देखेर एकजना भरियाले मलाई जानकारी दिए ।
‘धुपी जस्तै लाग्यो मलाई । यी धुपी हुन कि सल्लाका डल्लेबोट ?’ तिनैसँग मैले जिज्ञासा राखेँ ।
‘लेकाली धुपी हुन् यी । घँघारूका पोथ्रापाथ्री पनि छन् । कलेजी, रातो र हल्का परेँलो रङमा बोटै रङ्गाएर फुल्छन् पनि ।’ उनले मेरो जिज्ञासा मेटाइदिए ।
दूधकोशीमाथि झोलुङ्गे पुल तरेपछि मनमोहक अमादब्लमको सुन्दरताले पाइला त्यही रोकिने रहेछ । आँखै सामु हिमाली सौन्दर्यको मुस्कान यात्राकै ठुलो खुसी थियो । प्राकृतिक परिवेश पनि कलात्मक बान्की–बनोटले शोभायमान । यो हिमाल नामअनुसार अनौठो किसिमको देखिन्थ्यो । चट्टानका पहरामा दशकौँअघि सेतो हिउँ टाँसिएर पहाडलाई हिमाल बनाइदिएको । हिउँको मलिलो खान्की पाएर हिमालको बान्की साह्रै आकर्षक लाग्थ्यो । हेरौँ, हेरिरहौँ लाग्ने, हेरेर नअघाइने ।
प्रकृति भन्नु एकप्रकारले विचित्रको संरचना हो । जहाँ स्वतः मौसमी परिवर्तनले अनेक रूप, अनेक रङ, आकृति र विविध दृश्यहरू निर्माण गर्छ । ती देखेर हामी खुसीले रमाउँछौँ । एकातिर हिमाली चुलीको चम्चम चमत्कार । पहाडी तरेलीको एकपछि अर्को लाइन । नदीको अविच्छिन्न प्रवाह । झरना, खोल्सा, स्तुपा, बाटो, यात्री, भारी बोकेका चौपाया । घरका रूपमा लज, होटल, रेष्टुरेन्टहरू । मनै रमाउने शान्त, सफा, सुन्दर परिवेश ।
कल्पनाको स्वर्ग भनेको सायद यही हो । तर वास्तविकतामै स्वर्गको टुक्रा यहाँ अवस्थित थियो । कल्पना अथवा सपनाको कुरा थिएन यहाँ । यथार्थमा आँखामै नअट्ने प्रकृतिको साक्षात संसार थियो ।
पर्यटकहरू यही संसारमा घुम्न, डुल्न र मज्जा लिन आइरहन्छन् । उनीहरु यतै रमाउने । यहीँ भुलिने । यतै हराउने । यति नजिकबाट अनौठो आकृतिको अमादब्लम हिमाललाई देख्न पाएपछि यात्री खुसीले चिच्याउँदा रहेछन् । सफा मौसममा सुन्दर हिमाललाई आँखैमा भेट्न पाएपछि दिनभरिको थकाइ पनि गायब हुँदोरहेछ ।
सायद यो मिलिङ्गोको उकालो होला । दम्स्याइलो उकालो हिमाल हेर्दै हिँड्नुको आनन्द जिन्दगीको एक अनुपम अनुभूति थियो । केही माथि पुगेपछि बौद्ध स्तुपामा बिसाउनेहरूको भिड थियो । भिडमा अमादब्लमलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नेहरूको प्रतिस्पर्धा हुँदोरहेछ । ‘डकुमेन्ट्री बनाउन आएकाहरू । ‘टिकटक’ मा रमाउनेहरूको हुल हुज्जत त्यही उकालोमा भेटियो ।
यहाँबाट साँच्चै प्रकृतिको मादक दृश्यमा रमाएर कुन यात्री नरोकिइकन हिँड्न सक्ला ? अमादब्लमको रहर लाग्दो यौवन । मात लाग्दो बैंशालु रूपरङ । चित्ताकर्षक सूर्य किरणको रङ । आकाशे रङको मुख्य रङमा अनेकौँ रङका प्रक्षेपण, प्रशारण, परावर्तन र प्रणय–मिलन । आगन्तुकलाई प्रभावित पार्न सक्षम । प्रेरणा दिन र पथप्रदर्शन गर्न सबल ।
अमादब्लमसँगको साक्षात्कारमा लट्ठ परेर पाङ्बोचे पुग्दा यसरी साँझको सुनौलो रङले हिमाललाई चुमिरहेको दृश्य आँखामा प¥यो ।
लाग्यो, जाँदाजाँदै आफू अस्ताउँदै गर्दा पनि सूर्यकिरणको हिमाल प्रेम असाध्यै प्रगाढ हुँदोरहेछ । आजको दिनको अन्तिम साँझ हिमाललाई सुनले लेपन गरेर आफू स्वर्गलोकतिर प्रस्थान गरेको । अनि यस्तो सुनौलो, स्वर्णिम दृश्य प्रदर्शन गरेर यात्रीहरूलाई आनन्दित पार्न प्रकृतिले जानेको ।
हिमाली छटाका अपूर्व मुस्कानहरू प्रेम पनि, प्रेमिका पनि हो । प्रकृतिप्रेमी म, तिम्रो प्रेममा पागल । तिमीसम्म आइपुग्न कति रहरहरू । तिमीलाई भेटेर, आँखामा राखेर हेर्ने कति ठुलो धोको मेरो । तिम्रै सौन्दर्यमा लालायित भएर धेरै टाढाबाट आएका अरू यात्री जस्तै म पनि थाहै नपाई तिम्रो सुन्दरतामा विलीन हुन आइपुगे छु ।
मेरो चाहनाको क्यानभास यस्तै सुन्दर रङमा लिपिबद्ध भएको अनेकौँ कलात्मक आकृतिहरूले संरचित यौटा विराट सौन्दर्यको बिहान हेर्ने उत्कट अभिलाषा थियो । सीमाहीन चाहनाको त्यो आकाशले आज आत्माका मिलन भएछ अन्जानमै किन हो यहाँ समर्पणमा खुसी पाएछ ।
प्रकृतिको कस्तो सन्तुलित संरचना र संयोजन । रङहरूको लालित्य उस्तै डाँडाकाँडाहरू अग्लोहोचो, टाढिँदै, नजिकिँदै, ओरालिँदै, उकालिँदै सुन्दर संरचनाको विम्ब । घामको किरणमा एउटै रङमा पनि मुख्य, सहायक, शाखा, प्रशाखाहरूको अनेक रङ–किरणहरूको विन्यास ।
मरिहत्ते गरेर उकाली–ओरालीको कष्ट । न भोक, न निद्राको दर्द । आखिर यही हिमकन्या, हिमपरी, हिमालयकी रानी हेर्नका लागि रहेछ । ज्यान फालेर, माया मारेर दौडिएको अर्थ । चाहेको कुरा हेर्न पाएपछि । मनको इच्छा पूरा भएपछि । मन हावासरी खुसीले उड्दोरहेछ । आँखाले हेर्न नभ्याएर छट्पटिँदारहेछ । हृदय हर्षले अवाक !
कलिलो घामको मृदु किरणमा मायाको स्पर्श मात्र पनि बेग्लै अनुभूतिको सागर हुने रहेछ । रातभरिको चिसोले कक्रिएको ज्यान सुनौलो घामको पारिलो प्रेम पाएर उफ्रिँदै हिमालको काखमा हराउन थाल्दोरहेछ ।
जिन्दगीको माया कसलाई हुँदैन ? हिउँदको यो चिसो बिहान उठेर तडकभडक को गर्न सक्छ ? न्यानोमा आफूलाई गुट्मुट्याएर राख्छ । जिन्दगीको मायाको यो एक दर्शन !
किन कि मौसम हिमपातको छ, तुषारो प्रकोपको छ । जाडो आगमनले चिस्याइरहेको छ । त्यसैले जिन्दगी तिमी आफ्नो माया आफैँ गर । आफूले आफैँलाई न्यानो राख । आफ्नो ख्याल आफैँ गर । अपूर्व हिमाली मुस्कान त उस्तै रहन्छ, जसलाई भोलि बिहानको कलिलो घाममा फेरि हेर्नु त छँदैछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।