17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धर्म अधर्म

कथा भाउपन्थी April 14, 2024, 2:40 pm
भाउपन्थी
भाउपन्थी

सधैँझैँ लवदेवको बा बिहान मन्दिरबाट फर्कनुभयो । बिहानै मन्दिर जाने गर्नुभा’छ उहाँ । एक्लै, कहिलेकाहीँ मात्रै लवदेवकी आमालाई सँगै लग्ने गर्नुभा’को छ । तर लवदेवकी आमालाई धेरैजसो बिसन्चो भइरहन्छ । त्यसैले आमा जान सक्नुहुन्न र बाले पनि जोड गर्नुहुन्न । भन्नुहुन्छ— ‘बूढाको पुण्य बूढीलाई पनि भाग लाग्छ । तिमी घरै बस, म मात्रै जान्छु ।’ बाले मन्दिर जाँदा अरूलाई साथ लिएर कमै जानुहुन्छ, खलल पुग्छ भन्नुहुन्छ । मन्दिरमा भगवान्को दर्शनपछि उहाँ केहीबेर भजनमण्डलीमा पनि सामेल हुनुहुन्थ्यो । मन्दिरबाट फर्कंदा उहाँ प्रसन्नचित्त देखिने गर्नुहुन्छ । आज भने अलि उहाँ अँध्यारिएको देखियो । खिन्न र उदास । कारण खुल्न धेरैबेर लागेन । उहाँले सुस्त स्वरमा भन्नुभयो कसैलाई बिनासम्बोधन, ‘आज मेरो लौरो हरायो । मेरो प्यारो लौरो ।’

यो एउटा स्वगत कथन मात्र थिएन तर थियो उहाँको मनको भित्री व्यथाको सूचना । लवदेवले यो सुन्यो । मन्दिरबाट फर्केपछि पहिलोप्रथम बाले उसैलाई प्रसादस्वरूप टीका लगाइदिनुहुन्थ्यो र चिरञ्जीवी हुनु भन्नुका साथै अरू आशीर्वाद पनि दिनुहुन्थ्यो । बाको हात शीतल हुन्थ्यो र लवदेवले टीका थापेपछि मनभित्र शान्ति अनुभव गथ्र्यो । आज उसले बाको आशीर्वादका शब्द सुन्न पाएन । बाले टीका लगाइदिने तत्परता देखाउनुभएन । उहाँ सुस्त देखिनुभो र मनमा अज्ञात चोट परेजस्तो मुद्रामा कमेचमाथि बसिरहनुभो । उठ्ने उपव्रmम गर्नुभएन । बुहारीले भित्रबाट ल्याएर अगाडिको चिया टेबलमा राखिदिएको स्टिलको कपको चिया खाने उत्साह पनि देखाउनुभएन । बुहारी पनि लवदेवको छेउमा गएर उभिई र बाको शोकमग्न मुखाकृति टोलाएर हेरिरही ।

लौरो हराएको सूचना भनिसकेपछि बा केही बेर आँखा चिम्लेर बस्नुभो । भित्र मानसमा लौरोको चित्र आइरह्यो होला । लवदेवलाई पनि राम्रो लागेन । लौरो बाको प्रिय वस्तु थियो । अभिन्न साथीजस्तो भइसकेको थियो । घरभित्र लौरोसँगै बा पसेपछि उहाँले लौरो ¥याकको छेउमा जतनसाथ ठड्याएर राख्नुहुन्थ्यो । लौरो आज हरायो । लवदेवले खटाउन नसकेर सोध्यो, ‘कसरी हराएछ ।’ बाले चिम्लिएका आँखा सुस्तरी खोल्नुभो । बाका गालाहरूमा मुजा परेका थिए्, त्यहाँ गहिरा धर्का देखिन्थे । आँखावरिपरिका छाला चाउरिएका थिए । बाको उमेरअनुसार त्यस्तो हुनु स्वाभाविक थियो । तर आज लौरो हराएकाले उहाँको मुखाकृति झन् उदास देखिएको थियो । मुजा र चाउरीहरू झन् गहिरा र तिनलेृ बाको अनुहार कोपरिरहेका जस्ता देखिने भएका थिए ।

बाले लवदेवको प्रश्नमा सुस्तरी आँखा खोलेर उसलाई गहिरो गरी हेनुभो । कुनै किसिमको अपजसे प्रश्न गरेछु कि भनेर लवदेव झस्क्यो । बाले सन्तानलाई हप्काउनुहुन्नथ्यो तर बाको हेराइ यस्तो बिझ्ने खालको हुन्थ्यो, हेराइ खानेले स्वतः चाल पाउँथ्यो उसले गल्ती ग¥यो— कामले वा वचनले वा दुवैले । तर यस पटक बाको हेराइ लाचार देखियो । ‘मन्दिरभित्र पनि बूढाबूढीको सामान चोरिएला भन्ने मलाई कहिल्यै लागेको थिएन । म भजनतिर लागेँ । तर के गर्नु, आज मेरै लौरो चोरियो मन्दिरजस्तो पवित्र ठाउँमा ।’ बाको भनाइ वेदनापूर्ण थियो । बाले कसैमाथि शङ्का लागेको प्रकट गर्नुभएन । मात्र चुप बसिरहनुभो । वरिपरि, बुहारी र लवदेवलाई पनि उदास छायाले छोपेजस्तो भयो । लौरो भन्नु बाले किनेको होइन । आमाले बाका लागि माघ महिनाको स्वस्थानी मेलामा शाली नदी गएको बेला किनिदिनुभएको थियो । लौरो टेकेर हिँड्ने मन थिएन बालाई ।

‘लौरो टेकेर हिँड्ने भएको छैन क्या म ।’ बाले आमाले दिएको लौरो हातमा लिँदै मुस्कानसहित प्रतिवाद गर्नुभएको थियो । आमा पनि बाका अगाडि उभिएर लौरो बाकै हातमा दिइसकेपछि भन्नुभो, ‘बुढेसकालमा हातको शोभा । हिँड्नुको शोभा । बूढाबूढीले लौरो साथमा लिएर हिँडेको सुहाउँछ ।’ त्यसको जबाफमा बाले केही भन्नुभएन । लवदेव, बुहारी र नाति शम्भु पनि रमाए । बाको हातमा लौरो आयो । बा अब लौरो टेकेर हिँड्नुहुन्छ । यस्तो भनाइ थियो उनीहरूको । लौरो दुई अम्मल मोटो बेँतको थियो, रङ पहेँलो र टुप्पो हँसियाभन्दा बढी खुम्राइएको । ‘हलुङ्गो रैछ,’ बाले हातले लौरो उचालेर तौलँदै भन्नुभाथ्यो । फेरि उभिएर लौरोले टेक्दै भन्नुभाथ्यो, ‘बलियो पनि छ । दरो के । आडभरोस भएको । बूढाहरूलाई चाहिने यस्तै लौरा हु्न् ।’

तर आज लौरो हरायो । बाको विचारमा त्यो चोरिएकै हो । मनमा हरि नभएकाले छड्काएछ । कसलाई चाहिएको थियो ? वा कुनै गँजेडीभङेडीले सस्तैमा बेचेर काम चलाउने पो हो कि ? बाको धारणामा लौरोको मूल्य पैसाले होइन त्यसको उपयोगिताले थियो । साथी जस्तै मान्नुहुन्थ्यो लौरोलाई । आमाले पनि भनिराख्नुहुन्थ्यो, बा कतै जान तयार हुँदा, ‘लौरो नर्बिर्सनुहोला ।’ लौरो कहाँ छ ? कुनै कुना फालिएको होला। कसैले कुकुर पिट्न प्रयोग गरिरहेको होला ? यस्तो सोचेर बा चिन्तित हुनुभो यद्यपि लौरो निर्जीव वस्तु थियो । तर भन्नुभो, ‘लौरो भनेर भएन, मलाई असाद्धे माया लाग्ने वस्तु हो त्यो नि ।’ लवदेवले समर्थनमा टाउको हल्लायो यद्यपि उसलाई इङ्गित गरेर बाले त्यसो भन्नुभएको थिएन । तर कोठामा ऊ र बा मात्रै थिए । बुहारी भित्र पकाउनतुल्याउन गइसकेकी थिई । आमा भित्र पूजाकोठामा पूजा गर्नैमा व्यस्त हुनुहुन्थ्यो । आमाको पूजा लामै चल्थ्यो । भित्रबाट टिङरिङटिङरिङ घण्टी नबजेसम्म आमाको पूजा सकिएको थाहा पाइँदैनथ्यो ।

आमाका कानमा बाको लौरो हराउको सूचना परेछ । बुहारीले भनिहोला । सधैँभन्दा चाँडै पूजा सकेर आमा बाहिर आउनुभो । ‘कसरी हरायो ?’ आमको प्रश्न थियो, उत्सुकताले हराउनुको कारण खोजी गर्ने प्रश्न । लौरो हराउनुको कारण थिएन । एउटै कारण थियो, चोरिएको हुनुपर्छ । मन्दिरमा पनि चोरी ? यही प्रश्न उठ्थ्यो तर त्यसको कुनै समाधान थिएन । मन्दिर परिसरबाट अनेक चीज हराएका हुन्छन् । मन्दिरबाट मूर्ति त चोरी हुन्छ भने ? लौरो त के चीज हो र ? बाले यसमा चित्त बुझाउनुभएन, भन्नुभो, ‘हैन, मूर्ति चोरिनु भनेको एक थोक तर लौरो जस्तो त्यो पनि दुईचार वर्ष पुरानो भइसकेको हराउनु भनेको अर्को थोक ।’आमाले थपमा यत्ति भन्नुभो, ‘अर्को थोक भए पनि चोरी त चोरी नै हो ।’

लवदेवले भन्यो, ‘अर्को किन्नुपर्ला । नभई नहुने जस्तो भइसक्यो बुवालाई ।’ बाले टाउको हल्लाउनुभो असहमतिमा । टाउको सुस्तरी हल्लाउनुभो, यो नठानियोस् उहाँको प्रत्येक कुरामा असहमत हुने बानी छ । असहमति जनाउँदा उहाँ अलि नरम व्यक्तित्व भएको देखिन चाहनुहुन्थ्यो । त्यसैले टाउको झड्कालेर होइन भन्ने देखाउनुको सट्टा टाउको बिस्तारै ‘न’ मा हल्लाएर अहमति जनाउनुहुन्थ्यो । यस पटक पनि उहाँले त्यसै गर्नुभो । बिस्तारै भन्नुभो, ‘त्यो त किनौँला तर नयाँ र पुरानोमा फरक भइहाल्छ । पुरानो भनेको पुरानै हो र नयाँ भनेको नयाँ ।’ यो भनाइले खासै केही सिद्ध हुँदेनथ्यो तापनि सबैले मौन रहनु नै उचित देखे । लौरो बाको हराएको थियो र उहाँको भनाइलाई सबैले सर्वोपरि मान्यता दिएको देखाउनु पनि थियो । प्रतिवाद गर्दा बाको चित्त अझ दुखित हुने सम्भावना थियो । सबैले विचार पु¥याए, मौन बसे ।

चिया सेलाइसकेको थियो । बुहारीले भित्र उभिएर कुरा सुनिरहेकी जस्तो लाग्यो । ऊ आएर स्टिलको कप उठाएर लगी । खानाको समय नजिकिँदै थियो त्यसैले अर्को चिया ल्याऊँ भनेर सोधिन । बालाई पनि चिया पिउने इच्छा मरिसकेको रहेछ । नत्र कहिलेकाहीँ बाले अर्को एक कप तातो चिया भनेर फुर्माइस गर्नुहुन्थ्यो । आज त्यतातिर कसैको ध्यान गएन । सबै मौन बसे मानौँ लौरो हराएकोमा केही बेर अर्थात् दुई मिनेट मौन बस्ने प्रण गरेजस्तो देखियो । आज बाले खान के गर्नुहुने हो ? एउटा अर्को साइडको चिन्ता यो थपिएको थियो । खाना नखाएर भोकै के बस्ने एउटा जाबो लौराका लागि ?

राति पनि निद्रा परेन होला बालाई । तर बिहान सधैँझैँ उहाँ उठ्नुभो । नुहाइधुवाइ सकिवरि मन्दिर जान तयार हुनुभो । लौरो त हराएकै थियो । लौरो टेकेर हिँडे पनि नटेके पनि ठमठमती हिँड्न सक्नुहुन्थ्यो बा । लौरो ल्याएकै दिन पनि भन्नुभाथ्यो, ‘लौरो नभए पनि हिँड्न सकेकै हुँ । तर लौरो भएपछि अझ भर भयो ।’ लवदेवले निश्चय ग¥यो लौरो आजै किनेर ल्याउनुपर्ला तर पुरानो जस्तै नपाइए भोलि । आज अफिस जाने समय हुन लाग्दासम्म उसको मन उज्यालो भइरहेको थिएन । तै एउटा अनौठो कुरो यो भयो, मन्दिरबाट बा आज अलि चाँडै फर्कनुभो । लवदेव अफिस जाने समय भएको थिएन, हातमा एक कप चिया लिएर टोलाएर बसेको थियो । नाति शम्भु स्कुल बसमा गइसकेको थियो ।

बा घरभित्र प्रवेश गर्नुभो, हाँस्दै । अनुहार पनि उज्यालो थियो सधैँभैmँ । मुखाकृतिका चाउरी र मुजा यथास्थान सरिसकेका थिए । कालो चायाँ जस्तो छायाँ हटेको थियो । बाको हातमा उही लौरो् थियो । उहाँले भुइँमा लौरो ठ्याकठ्याक पार्दै टाठो स्वरमा भन्नुभो, ‘लौरो भेटियो नि । उही हिजोकै ठाउँमा उसरी नै ठड्याएर छाडेको रहेछ ।’ सबै खुसी भए । घरभित्र गुम्म परेर बसेको उदासीनताको कालो छायाँ स्वाट्टै हरायो । घर पूरै छ्याङ्ङै उज्यालो भयो । बाले हाँस्दै भन्नुभो, ‘अभैm धर्म हराएको रहेनछ ।’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।