17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोटगाउँ : मेरो कोटगाउँ

निबन्ध ईश्वर पोखरेल July 7, 2024, 9:22 am
ईश्वर पोखरेल
ईश्वर पोखरेल

“शरीरमा एक प्रकारले बिसन्चो भइरहेको थियो । विहान उठेपछि पधेँरामा गएँ । नुहाएँ । भातभान्सा गर्न भान्सेले नुहाउनु पथ्र्यो । बज्यैले मलाई असहज भएको ख्याल गरिरहनु भएको रहेछ । भन्नु भो— ‘आज तैले पकाउनु पर्दैन । जा, आराम गर् ।’ अनि म कोठामा आराम गर्न लागें । दश बजेको थियो होला; तँ जन्मिस्” आमाले असार १९ गते भन्नु भएको थियो ।

बाले बीचैमा थप्नुभएको थियो— “०६ सालमा ओखलढुंगाको माम्खाबाट सिन्धुलीको तीनपाटनमा बसाइँ आएका हौं हामी । त्यतिबेला तल बेसीमा कोही बस्दैनथे, शिखरमा बस्थे । हामीलाई पाइक पर्ने शिखर थियो— कत्लेशिखर । कत्लेशिखरमा घना बसोबास थियो । हामीले त्यहाँ घडेरी खोज्यौं, पाएनौं । कत्लेशिखरमा भने जस्तो घडेरी नपाएपछि कोटगाउँमै अडियौं र कोटगाउँमै बसेका हौं हामी ।” आमाले फेरि भन्नु भयो— “कोटगाउँको हाम्रो घर तँलाई सम्झना छ ? तँ त्यही घरमा आजकै दिन जन्मेको होस् ।”

कोटगाउँको हाम्रो घर पछिसम्म थियो; मलाई के सम्झना नहुनु ?

ध्रुव जन्मेताका हजुरआमाले बेंसीबाट मलाई पनि लिएर जानु भएको थियो– कोटगाउँ । बेंसीमा काठैकाठको घरलाई घर भनेर चिनेको मैले कोटगाउँको ढुङ्गाको गारो लगाएको र रातोमाटोले लिपेको घरलाई पनि हाम्रो घर भनेर चिनें । अनि हजुरआमासंगै म सिरिसे पनि गएँ । त्यहाँ हजुरआमाले केही माना ध्यूको बन्दोबस्त गर्नु भयो ।

पछि अलि बुझ्ने भएपछि पनि पटक पटक गएँ– कोटगाउँ । यतिबेलासम्म गोलेटोल वा चम्पागाउँमा रहेको हाम्रो त्यो घर ढलिसकेको रहेछ । पछिपछि यहाँ म प्रायः गोलेटोलमा बस्थें । यहाँ मलाई एकप्रकारको न्यानो अनुभव हुन्थ्यो । बा, हजुरबा र समग्र परिवारको साख आलो थियो यहाँ ः सबैले माया गर्नु हुन्थ्यो । जिम्दार्नी हजुरआमा त्यही भत्केको घरतिर औल्याएर भन्नु हुन्थ्यो— ’तो त्यही जन्मेको होस् ।’ अनि ‘यो बाहुनलाई काँक्रा मिठो लाग्छ, जाँ, बारीमा टिपेर खाँ ।’ पनि भन्नुहुन्थ्यो । पछि जिम्दार्नी हजुररामाका लागि मेरो नाम नै ‘काँक्रे बाहुन’ भयो । भन्नु हुन्थ्यो— “लौ, काँक्रे बाहुन आएछा । एल्लाई काक्राँ टिपेर देओ ।”

पछि गोलेटोलका सबैलाई थाहा भयो— म पोलेको मकै पनि खुबै रुचाउँछु । जिम्दार्नी हजुरआमा भन्नुहुन्थ्यो— “तेरो बाउलाई पनि पोलेको मकै पाए केही चाहिदैना ।”

गोलेटोल उचो थुम्कामा बसेको टोल थियो । साँझ परेपछि यहाँबाट परपरसम्म देखिन्थ्यो । साँझ छिप्पिदै गएपछि घरमा बालेका बत्ती पनि देखिन्थे । मानिसहरु राँको बालेर गीत गाउँदै घर फर्केका हुन्थे । कतै मादल बजेको सुनिन्थ्यो । कुकुर भुकेको आवाजसंग मिसिएर आउँथे यी सबै आवाज । यसरी गोलेटोलबाट साँझपख पूर्वतर्फ हेर्दा बत्तीको झल्याकझुलुक देखिन्थ्यो । पर कतै मादल बजेको सुनिन्थ्यो । कोही गीत गाउँदै हुन्थ्यो । म पूर्वतिर फर्किएका घरको आँटीमा बसेर यी दृश्य र आवाजमा मुग्ध हुन्थें । बेसींमा रहेको हाम्रो घरबाट यस्ता दृश्यावली देखिदैनथे ।

बेसीबाट उकालो चढेर कोटगाउँ जाँदा म यहाँको भूगोल देखेरै चकित हुन्थें— उकालो; ओरालो । ढुङ्गाको गारो भएका डगर । ढुङ्गाको गारो भएका रातो र कमेरे माटोले पोतिएका घरहरू । घरमा दलान र आँटी । बेंसीका घरहरूमा दलान त हुन्थ्यो, आँटी हुँदैनथ्यो । माथि नाङ्गा डाँडा, अनि केही रूखहरू अनि खरबारी । यतैकतै पाटनदेवीको थान । खरबारीको बीचोबीच गोरेटो बाटो ।

समथर कागेचौर । धान रोप्न र मकै छर्नका लागि समथर भूमि छाडिदिएझै हटेर कागेचौरको दक्षिणतर्फ उभिएका घरहरू । कागेचौरमा भने अलि पछिसम्म थियो— हाम्रो बारी । बारीको उत्तरतर्फ अलि अग्लो गह्रामा बनाइएको थियो– हाम्रो कामचलाउ घर । हाम्रो घरभन्दा माथि थियो– डगरपरिका ठूलाबाको घर । मह र भुइँकटहर सबैभन्दा बढी मैले यहीँ खाएँ हुँला ।

मकै भाँचेपछि कागेचौरमा गाईबस्तु छाडिएको र गाईगोरु जुधेर उधुम मच्चाएको सम्झिन्छु । मकैको ढोढ गुलियो मानेर खाएको सम्झिन्छु । ढुङ्गा छापेर बनाइएको सार्वजनिक पँधेरो, पँधेरामा विविध आकारका पित्तले र तामे गाग्रीहरु र पधेर्नीसंग पालो मागेर ढुङ्गेधाराको पानी पिएको सम्झिन्छु ।

महालक्ष्मी—३, बोझेपोखरी, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।