वि.सं. २००६ साल फागुन १५ गतेका दिन मेरो ब्रतबन्ध र दिदीको विबाह तिर्थमा गएर गर्ने पारिवारिक सल्लाह भएको थियो । शुभकार्य घर वा तिर्थमा गएर गर्ने चलन पहिलेदेखि नै भएकोले सो कार्य बराहक्षेत्र गएर गर्ने टुंगो भयो ।
नेपालमा भएका तिर्थहरुमध्ये बराहक्षेत्रले छुट्टै पहिचान बनाएको थियो पहिलदेखि नै । बराहक्षेत्रलाई अनादिकालको मन्दिर भन्नेपनि गरिन्छ । किन भनियो कारण चाहिं अहिलेसम्म पत्ता लागेको छैन । धर्ममा आस्था राख्ने नेपालीहरुले यसलाई प्राचिन मन्दिरको रुपमा बुझेको छन ।
अवलोकनको दृष्टीले बराहक्षेत्रको मन्दिरको भौगोलिक स्थानपनि जटिल र विशेष महत्व बोकेकोजस्तो देखिन्छ । तीनतिरका अग्ला र डरलाग्दा पाहाडले मन्दिर परिसरलाई काखि च्यापेको छ । चौबिसैघण्टा सप्तकोसीको बहाब र सुसाइले दर्शन गर्न आउनेहरूलाई थर्कमान पार्छ । उत्तर पश्चिम तर्फवाट पानीको बहाव सानै भएपनि वेगबानको कोकाहा खोलालेपनि सप्तकोसीसंग मितेरी लगाएको छ । यसलाई कोकाहा सप्तकोसी संगम भनिन्छ । यहां स्नान गर्दा पापमोचन हुने धार्मिक बिश्वास रहेको छ ।
सातवटा कोसीको बहाबले अविछिन्न झापट हान्दापनि नडगमगाउंने अति विकट ढुंगाको चट्टानमाथि बनेको बराहको मन्दिर जटिल अनुसन्धानको विषय बन्न पर्ने थियो तर सम्बन्धित निकायले चासो नराख्दा यस क्षेत्रका जटिल प्रमाणहरु दिनानुदिन लोप भैरहरेका छन् । बराहक्षेत्र मन्दिरको महत्वको मापन भनेको बाह्रै महिना स्वदेश र दिदेशका श्रद्धालु तथा पर्यटकहरुको उपस्थिति नै हो भन्दा फरक नपर्ला । यस्तो विकट स्थानमा बराहको मन्दिरको कल्पना गर्ने, निर्माण गर्न प्रेरित गर्ने को होला? अहिलेसम्म सुनेको छैन । खोजि गर्ने दायित्व सरकारी निकाय र पुरातत्व बिभागको हुनुपर्ने हो, किन भैरहेको छैन अचम्म लाग्छ । नेपालका प्रथम जगतगुरु श्री मोहन शरण देवाचार्यले बिभिन्न शास्त्रिय प्रमाण खोजी भारतका ठूलाठूला विद्वानहरुसंग प्रमाणसहित लडेर बराहक्षेत्र चतराधाम सप्तकोसीको तट प्राचिन हरिद्वार हो भनी प्रमाणित गराएका छन । त्यतिमात्र नभएर प्राचिनकालमा समुद्र मन्थन बाट प्राप्त अमृत कुम्भ भारतमा मात्र थियो तसर्थ कुम्भ मेला भारतमा मात्र लगाउन पाइन्छ भन्ने भारतिय मान्यताप्रति बहस गरेर नेपालको बराहक्षेत्र सप्तकोसीको तट चतराधाम धरानको पिण्डेश्वर अमृत कुम्भ भएको प्रमाणित गराएर कुम्भ मेलाको शुरुवात गरेका छन । उनले नै अमृत कुम्भ भारतमा मात्र थियो भनेर भारतमा लाग्ने कुम्भ मेला चतरामा लगाउन शुरु गरेका छन । यसको प्रतक्ष्य प्रमाण २०८० चैत्र २७ गतेबाट २०८१ वैशाख २८ मा पूर्ण कुम्भ मेला सम्पन्न भएकोलाई लिन सकिन्छ। त्यो मेलामा नेपाल, भारतका लाखौं तिर्थालुहरुले सहभागिता जनाएका थिए ।
एकजना सन्तले आफनो देशको राष्ट्रियतालाई यतिसम्म माथि उठाउने काम गरेकोमा खुशी लागेको छ ।
बराहक्षेत्रको पूर्वमा पर्ने धरान, विजयपुर र पिण्डेश्वर, उत्तरमा पर्ने विष्णुपादुकालेपनि कम महत्व बोकेका छैनन् । यो मन्दिर नेपालको पूर्विभाग कोसी प्रदेश, सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिकामा पर्दछ । यो मन्दिरले नेपालको निम्ति राष्ट्रिय गौरवको कुराहरुमा प्रमुख स्थानको रुपमा विकसित मात्र नभै सबै तिर्थ भारतमामात्र छन, त्यहां पुगेमात्र मोक्ष प्राप्त हुन्छ भन्ने मानसिकतालाई विस्थापन गर्न शुरुवात गरेको छ ।
भीरगाउं एकपटकपनि नपुगी नाममात्र सुन्नेलाई अडिनै नसकिने “भीर” पो हो कि भन्ने लाग्न सक्छ । छिटफुट किम्बदन्ती अनुसार पहिले यसको नाम “बीरगाउं” थियो अरे । पछि जनजिब्रोमा भीरगाउं भएको भन्ने कुरापनि सुन्नमा आएको छ तर के कारणले बीरगाउं थियो त भन्ने आधार फेला परेको छैन । धनकुटा जिल्ला सातवटा जिल्लासंग जोडिएको छ । पूर्वमा पांचथर, ताप्लेजुंग, तेह्रथुम, उत्तरमा संखुवासभा पश्चिममा भोजपूर दक्षिणमा मोरंग र सुनसरी रहेका छन् । धनकुटा सदरमुकामदेखि पूर्व पैदल दुइघण्टा जांदा भीरगाउं पुगिन्छ । उत्तरमा गुरांशे, हालको मध्यपहाडी लोकमार्ग, दक्षिणमा तमोर नदि र लमतन्न सुतेको महाभारत डांडो रहेको ऐतिहासिक राजारानी र भेडेटार जस्तो पर्टकिय स्थलहरु रहेका छन् । भीरगाउंमा तीनखालको भूभाग रहेका छन् जसमा उत्तरमा गुरांशे पुग्दा चिसो धेरै हुने हुनाले मान्छेहरुको बस्ती पातलो छ। मध्य भीरगाउं जहां हाम्रो बसोवास रहेको थियो त्यो अलि न्यानो र उब्जनीपनि राम्रै हुनाले मानिसको बस्ती बाक्लो छ । तल्लो भूभागमा औलो र बेंसी पर्छ। छेउछाउमा बग्ने निबुवा खोला, मधु खोला र ताङ्खुवा खोलाको पानीले सिन्चित उर्वर माटोमा खाइ खेली हुर्केको मलाइ अहिले संझदापनि उत्तिकै प्यारो लाग्छ ।
मैले बुझदा न धेरै जाडो न धेरै गर्मी समशितोष्ण प्रकारको जलवायू भएको उत्तिस, चिलाउने, सल्लो, सालको जंगलले सुशोभित रमाइलो गाउंको नाम भीरगाउं हो । बिभिन्न जातजाती भाषाभाषीमा बाहुन, क्षेत्री, राइ, मगर, भुजेल, तामाङ, शेर्पा, कामी, दमाइ, सार्की लगाएतको समाबेसी बसोबास अहिलेपनि उत्तिकै छ । यो गाउंको वीच भागमा मधुगंगा नामले प्रसिद्द तिर्थस्थल रहेको छ । भगवान शंकर र देवीलाई दायांवायां पारेर बगेकी मधुगंगामा बर्षेनी मंसीर शुक्ल पूर्णिमामा रमाइलो मेला लाग्छ जसलाई मधुगंगा मेला भन्दछन् । यो मेलामा छिमेकी जिल्लाहरुबाटपनि धेरै धर्माबलम्बीहरु तिर्थ गर्न आउंछन ।
मेरा अबिभाबकहरुबाट गरिएका शुभकार्यहरुमध्येको एक मेरो व्रतबन्ध र दिदीको विवाह बराहक्षेत्रमा गएर गर्नका लागि बाआमाबाट त्यहां जाने चांजोपांजो मिलाउन शुरु भयो। त्यसबेला हाम्रो बसोवास धनकुटा जिल्लाको भीरगाउंमा थियो, हालको धनकुटा नगरपालिका वार्ड नम्बर २। त्यहां अरु धेरै भएपनि हाम्रो आफनो भनेको दाजु धरणीधरको परिवार र हाम्रो गरेर दुइ परिवार मात्र थियो । यिनै दुइटा परिवार दिदीको विवाह र मेरो वर्तबन्ध गर्न २००६ सालको फागुन ११ गते भीरगाउंबाट प्रस्थान गर्यौं । मानिसको पदचापले बनाएको गोरेटो बाटो हिडनु पथ्र्यौ । पिता मोहनलाल, माता नरेन्द्रकुमारी, दिदी टिकाकुमारी, बैनी द्वय खुशकुमारी र ढाकाकुमारी, म, दाजु धरणीधर, भाउजु इन्दिरा, भतिजि देबी कुमारी(राधा), भतिजो गुणराज जम्मा गरेर दशजना परिवारका सदस्य र सातुसामल बोक्ने सहयोगी बजिरसिंह राइ र विरमान भुजेल गरी १२ जना प्राणीको हाम्रो लर्को भीरगाउंबाट शुरु भयो । १ देखि १० वर्षका हामी केटाकेटीहरु र ६ जना वयस्कहरुले आफनो औकात अनुसारको कुम्ला कुटुरा बोकेका थियौं । त्यसमाथि साना साना केटाकेटी बोक्नु परेकोले आमाहरुको हिडाइ ढिलै थियो । बाटो त लाग्यौं तर भीरगाउंबाट बराहक्षेत्र आउने दुइटा बाटा रहेछन् । पहिलो धनकुटा हुंदै मूलघाटको झोलुंगे पुल तरेर लेउती खोला, धारापानी, सांगुरी डांडा, धरान र चतरा हुंदै आउने र दोस्रो चाहिं केही छोटो बाटो लेउतीसम्म यथावत हुंदै धरान आउन छोडेर पश्चिम तर्फ आहले हालको सांगुरीगडी गाउंपालिकाको पश्चिमी भाग हुंदै बराहक्षेत्र पुगिने रहेछ।
दोस्रो बाटो केही छोटो भएकोले हामीले दोस्रो बाटो नै रोज्यौं ।
बराहक्षेत्र जानका लागि १०, १२ जनाको हुल कसेर हिडन रमाइलो थियो। वाटामा फाट्टफुट्ट गाउंघर भेटिन्थे । साना साना खोला, खोल्सा तर्दै जांदा कतै जंगल भेटियो, कतै आंपका बगैंचामा भर्खर भर्खर मुजुरा पलाउंदै गरेका भेटिए । वोटविरुवाले पाउला फेरेको मनमोहक दृश्य थियो त्यो बेला । १ देखि ४९ वर्षसम्मका बटुवाहरुको लर्कोलाई आफनो कामै छोडेर मान्छेहरु एकटकले हेरिरहन्थे । हामीलाई आजजस्तो कुनै होटल अथवा लजको आबश्यक्ता थिएन त्यतिबेला । खाने चिज आफूसंगै थियो । वास बस्न ठूलाठूला रुखका फेद हुन्थे । पानी कुवा अथवा धाराबाट लगिन्थ्यो । वत्तिको लागि जुनेली रात नै काफी थियो, केही कुराको चिन्ता थिएन ।
यात्राको क्रममा एक दिन हामीले एक अनौठो दृश्य देख्यौं । म ६ वर्ष पनि नपुगेको मान्छेले ति कुरा सम्झन के सक्थें होला र तर त्यतिबेला देखेको कुरालाई पछि बा, आमा र दाजुहरुले भनिरहनु हुंदा मैलेपनि अहिलेसम्म संझन सक्ने भएंछु। हिंडदै गर्दा हामी एक समथर ठाउंमा पुगेछौं । गाउंको नाम सोध्दा त्यसलाईपनि धारापानी नै भनेका थिए। धारापानीकै पानी ल्याएर हामीले बिहानको खाना पकाइ खाएर बाटो लागेका थियौं । हामीले खाइपिइ सकेपछि अविरल बगेकी इन्द्रवती भनेजस्तै हाम्रो यात्रा वग्न शुरु भएको थियो । हामी हिडदै गरेको गोरेटो कुनै डांडाकांडाले नछेकेकोले निकै पर सम्मका गाइवस्तु, मान्छे सबै देखिन्थें। अलि पर हेर्दा एकातिर वारपार निकै लामो जंगलपनि थियो भने अर्कातिर समथर खालका खेतका गरा थिए। त्यही खेतमा एकजना आइमाइ माान्छेले गोरु नारेर हलो जोत्दै रहिछन्। जब उनले परबाट हामीलाई आफूतिर आउंदै गरेको देखिन्, एकजना सानो केटोलाई हलोको अनौ समाउन लगाएर उनि नजिकको जंगलतिर पसिन् । हामी त्यही खेत नजिकैको वाटो हिडिरहेका थियौं । हामीले एकछिन त्यो वालकलाई हेर्यौं । अहिले सम्झंदा यो दृश्य अनौठो मात्र थिएन, हृदय विदारकपनि थियो । किनकी त्यो बच्चा हलोको अनौभन्दापनि होचो थियो । त्यो वालकलाई देखेर हाम्रा बा आमाका आंखा रसाएछन, पछि मलाइ भन्नुहुन्थ्यो। धेरै पर पुगेर हेर्दापनि वालकले अनौ छोडेको थिएन । आफू ठूलो भएर यो घटनालाई सामान्य ढंगले विश्लेषण गर्दापनि पहिलो कारण त गरिवी नै थियो । अन्यमा असमानता, अन्याय, सामाजिक भेदभाब, एकल महिला, अशक्त श्रीमान् जेसुकैपनि हुन सक्छन् ।
नारीहरू हजार हण्डर सहेरपनि आफना वालबच्चाको भोक प्यास मेटाउन दिनरात संघर्ष गरिरहेका हुन्छन भन्ने एक गतिलो प्रमाणपनि थियो त्यो। महिलाका शारिरिक सम्बेदनशिलताका कारणले गर्दा हलो जोत्ने जस्तो कठिन काम गर्ने चलन नभएको हुनसक्छ । चलनचल्तीमा नभएका काम गर्नुपर्दा अप्ठ्यारो हुनुपनि स्वभाविक हो तर अभाबको पिडाले मानिसलाई जेसुकै गर्नपनि बाध्य गराउंछ। घरको जटिल परिस्थिति र सामाजिक बहिस्कारको डरमा च्यापिएर उपायहिन भएपछि ति महिला लुकेर हलो जोत्न बाध्य भएकी हुन सक्छिन् । यो आजभन्दा आठदशक पहिलाको घटना हो । त्यो बेला महिलाको त कुरै छोडौं पुरुषमापनि बाहुनले हलो जोते, जोताएमा गाउंका थरी मुखियाले जात काढेर सामाजिक बहिस्कार गरेका कयौं उदाहरणहरु छन । त्यो केटो उनको छोरो नै हुनुपर्छ नत्र अर्काको बालक छोरोलाई त्यसरी हलोको अनौ समाउंन दिन सक्नेपनि थिइनन होला । छोराको ठाउमा छोरी भइदिएकी भए उनले कसरी आफना बालवच्चाको रित्तो पेट भर्थिन होला थाह छैन तर तर पुरुषप्रधान हाम्रो समाजकालागि उनिसँग छोरो भएकाले कसैले देखिहाले भने त्यही छोरोरुपी लोग्ने मान्छेलाई अनौ समाउन दिएर आफू समाजको आंखाबाट बच्न सक्ने एउटा बलियो आधार सायद तिनमापनि थियो होला। कथित समाजको डरले आफनो नावालक छोरो साक्षी राखेर भएपनि आफना वालवच्चाको सास जोगाउने ति महिला धन्य हुन्। यस्तो सामाजिक परिवेशमा छोरी नै छोरी जन्माउने महिलाको इज्वत, निमुखा, निर्धा र आवाजहिनहरुका आवाज कस्ले बेलिदिन्थ्यो होला र ? यही कुरालाई मात्र हेर्ने हो भनेपनि त्यतिबेलाको सामाजिक परिबेश कस्तो विकराल रहेछ, सजिलै अनुमान गर्न सकिन्छ ।
यो दृश्यले मेरा बा आमा र दाजुहरुलाई धेरै भाबुक बनाएछ तर वहांहरुमापनि टुलुटुलु हेरेर त्यहाँबाट अघि बढनु बाहेक उपाय थिएन अरे त्यो बेला ।
घरबाट हिंडेको चारदिनको बिहान हामी बराहक्षेत्र पुग्यौं । हामी जे गर्न गएका थियौं, हाम्रो कार्यपनि हर्ष र विस्मय दुबै मिस्रित थियो । एउटा दु:खको कुरा दशवर्ष नपुगेकी दिदीलाई ३१ वर्षका भिनाजुलाई सौतामाथि कन्यादान दिनु थियो भने अर्को खुशीको कुरा छोराछोरीको बिबाह र व्रतबन्ध एक महत्वपूर्ण तिर्थस्थलमा सम्पन्न गर्नुपनि थियो । यो कर्म गर्दा मेरा बा आमालाई कस्तो अनुभूति भएको थियो त्यो त मलाइ थाहा भएन। आफनी अबोध छोरीलाई पराइको जिम्मा लगाएर घर फिर्नुपर्दा सहज त पक्कै भएन होला । भिनाजु हरिप्रसाद पोख्रेलको घर धनकुटाको तत्काल चुलीबन भएपनि तराइको सुनसरी जिल्लाको सतेर झोरामा जग्गा भएकोले त्यही जग्गालाई पो दिदी दिएको रहेछ कि भन्ने भइरहेको थियो मलाइ पछिसम्म । हाम्रो समाज कतिसम्म अन्धो रुढिबादको भुमरीको सामना गरेर आज यो अबस्थासम्म आइपुगेको रहेछ भन्ने उदाहरण यो लेखले दिन्छ कि भन्ने आशा राखेको छु ।
मोरङ, हाल: अमेरिका