सधैजस्तो घरबाट काम शुरू के गरेकीमात्र थिएँ हाकिमको म्यासेज आयो ए तैंले थाहा पाइस, जेनीको श्रीमानको अकस्मात मृत्यू भएछ नि! भन्दै। हं के भन्छ यो! मनमा एकैचोटी धेरै कुरा खेले। अलि ढिलो र थोरै बोल्ने जेनी आंखा अगाडि आइ । त्यति छिटो के भएछ त? मैले अलि अत्तालिएर सोधें। “वितेको कुरा पक्का भएपछि मैले फोन गरेको थिएं, उ बोल्नै सकिन, कसैलाई खबर गर्नपनि सकेके छैन रे”, उसले फेरी थप्यो । कसरी बोल्न सकोस होला र! आफनै जीवनमा त्यत्रो बज्रपात परेको छ, म्यासेज पढेर मनमनै भने । ४,५ महिना अगाडि मात्र जेनीले मलाइ हर्ट एट्याक भएर अस्पताल जानु परेको थियो धन्न ठूलो केही भएको रहेनछ भनेकी थिइ । सायद उसको बुढालाईपनि त्यही भयो कि! मात्र मैले अनुमान गरें । सत्यतथ्य थाहा भएन ।
अमेरिकामा मेमोरियल डे (शहिद दिबस) भनेर मे महिनाको अन्तिम सोमबारमा देशका लागि ज्यान दिएको मान्छेहरुको सम्झनामा विदा दिन्छन् । यो वर्षभरीका १२ दिन दिने सरकारी विदा मध्येको एक विदा हो । अगाडिको शनिवार, आइतबार र थपिएको एक दिनलाई लगं विकेन्ड भन्न अभ्यस्त छन् मान्छेहरु । यस्तो लामो विदा मान्छेलाई कतै जाउंजाउं र खर्च गरौँ गरौँ बनाउने सजिलो र ठूलो माध्याम पनि हो। तीनदिनको यस्तो विदामा कोही आफनो परिवारसहित टाढा कतै घुम्न गइरहेका हुन्छन् भने कोही घरमै बसेर रमाइलो गरिरहेका हुन्छन् । यस्तै बिदामा बजारले केही प्रतिशत छुटमा सामान दिएर ग्राहकलाई लोभ्याइरहेका हुन्छन । अरुबेलाभन्दा सस्तोमा सामान किन्न पाइने भएकोले मान्छेहरु लामो विदा पर्खेर बसेका हुन्छन्। कतै जाने योजना छैन भने बजार गएर किनमेल गरिरहेका हुन्छन् मान्छेहरू । हामीपनि घुम्न गएर फर्किसकेका थियौं । भोलिपल्टदेखि अफिस लागेको थियो तर घरैबाट काम गरेकाले को कहां गए, केही थाहा थिएन । चियाको कप हातमा लिएर भर्खर काम शुरु गरेकी मात्र थिएं मैलेपनि। अस्तिकै हप्ता नसकिएको प्रोजेक्ट सक्न थियो। नक्शामा बाटो बनाउन रेखा तान्दै थिएं, हाकिमको म्यासेजले कोर्न लागेका रेखाहरु त्यसै रोकिए, पटक्कै अगाडि तानिन मानेनन् ।
कोसँग सोधेर जेनीका बारेमा अझ धेरै कुरा थाहा पाउने होला, नाम सम्झन थालें । यसैबेला मिसा दिमागमा आइ । उ अफिसका धेरै कुराको अनुभवी र पुरानो मान्छे भएकीले पक्कैपनि जेनीको बारेमापनि केही कुरा थाहा पाएकी छे भनेर उसैलाई म्यासेज गरें । तुरुन्तै उसले ‘जेनीहरूले घरलाई चाहिने केही सामान किनेका रहेछन हिंजो, दिनभरी तिनै सामान जोडजाड गरेर भान्सामा गएकोमात्र के थियो रे त्यही लडेछ । हस्पिटल लान त लगेछन् तर त्यहां पुग्दा उ गइसकेको थियो रे’, मिसाले लेखेर पठाइ । ओ.. हो..कस्तो छिटो मृत्यू । जानेलाई त एक शोक एक भोग भयो होला तर बाच्नेलाई हजार शोक एकैचोटी आए। जेनीले ति सबैबाट कसरी चित्त बुझाउन सक्ली र! म एक्लै बोलिरहें।
एकछिनमा तिमीहरु भेट्न जान्छौ होला हैन? मैले मिसालाई सोधें ।’जानुपर्छ तर कहिले जाने अफिसमा कुरा गरेर टुंगो गर्नुपर्ने छ, सायद अरुपनि जान्छन होला,’ मिसाले भनी । मैले मपनि उनिहरूसँगै जेनीलाई भेट्न जाने विचार मिसालाई पठाएँ।
अमेरिकनहरु मर्दापर्दा फूल लिएर भेटन जान्छन् भन्ने सुनेकी थिएं तर आजसम्म आफू त्यस्तोमा नगएकोले फुल लाने हो कि हैन भन्ने कुरा थाहा पाउन मिसालाई नै प्रश्न फालें। “जेनीले फूल नल्याउनु मैले जोगाउंन सक्दिन भनेकी छे । अहिले यसै भेटन जाउं, पछि उ अफिस आइसकेपछि के दिने सल्लाह गरेर दिउंला नि” भनेर मिसाले कुरोको विट मारी ।
हातमा खासै कामपनि आएन, लर्याङलुरुङ अलिअलि गर्दैथिएं । दिउंसोतिर मिसाले जेनीको श्रीमान् फिलिप्सको अन्त्यष्टी गर्ने समय, मिति र ठाउँ सहितको लामो इमेल पठाइ । पुग्नुपर्ने मेकनिल फिनुरल होम सेन्टपल, नर्थ क्यारोलाईना रहेछ। म गइराखेको त मृतकको सत्गतपछि शोकसभा अर्थात श्रद्वाञ्जली कार्यक्रममा थियो तर इमेलमा भेजिटेसन लेखेको देखेर गुगललाई सोधेँ । मृतकको पार्थिब शरिरलाई नउठाउदैं साथीभाइ, आफन्त बोलाएर मनाउने उसको जीवनउत्सबलाई भेजिटेसन(Visitation) भन्दारहेछन्, गुगलले भनिदियो। श्रीमान् गुमाएर विछिप्त भएकी जेनीलाई सँगै काम गरिरहेका साथिभाइ भेटदा अलिकति खुशी मिल्लाकि भनेर मैलेपनि जान्छु भनेर रिप्लाइ गरें । स्टाफहरु एकपछि अर्कोले जाने कुरामा रिप्लाइ गरें।
फिलिप्सको जीवनउत्सब मनाउने दिन भोलिपल्ट बुधबार १० वजेलाई तोकेकोले घर परिवारमा बेलुका सुनाएं ।’ मृतकको अनुहार हेर्ने र नहेर्ने दुइटा अप्सन हुन्छन्। यदि रहेछन् भने नहेर्नेचाहि छान्नु है मामु, हेर्नु भयो भने तपाइलाई धेरै दिनसम्म डिस्टर्व हुन्छ’, छोरीले भनी । कसरी थाहा पायौ? मैले किताबमा पढेकी! उसले तुरून्तै जवाफ दिई । ल त्यसो भए म तिमीले भनेजस्तै गर्छु भनेर ओछ्यानतिर गएं ।
बुधबार बिहानै घरबाट निस्किएं । दिमागमा हिंजैदेखि जेनी घुमिरहेकी थिइ, अरू कुरा खेलेननपनि। बाटामा गाडीको भीँड रहेनछ, कतै रोकिन परेन, समयमा नै अफिस पुगें । पुग्नासाथ इमेल चेक गरें । नगरी नहुने काम केही नआएकोले तुरुन्तै मिसालाई भेट्न गएं । पाँच जना स्टाफहरू अघि नै जान तयार भैसकेका रहेछन । म थपिएपछि हामी ६ जनाको टोली एउटा गाडीमा जाने भयौं । हाकिम लिले ड्राइभ गर्ने भयो । अफिसबाट आधाघण्टा लाग्छ मिसाले भनेकी थिइ।
बिहानको ९:३० वजे फिलिप्सलाई समाधिमा राख्नु अघि मनाइने उसको जीवनउत्सब मनाउन सामेल हुन अर्थात फिलिप्सको भेजिटेसनमा सामेल हुन निस्कियौं । जागिरबाट २ दिन मात्र भएको थियो रे अबकाश लिएको, जीवनबाटै अवकाश लिनु पर्ने कस्तो बाध्यता आइ लागेको होला, ली ले भन्यो । त्यसपछि एउटाले अलिकति कुरा थप्यो, अर्कोले अलिकति। हामी वाटाभरी मृतक फिलिप्सकै बारेमा कुरा गर्दै गयौं ।
हामी दिइएको सममयै मेकनिल फिनुरल होममा पुग्यौं । त्यहां हाम्रो अफिसका अरुपनि स्टाफहरु सुटबुटमा सजिएर आइसकेका रहेछन्। त्यस्तो बेलामा जानलाई कालो र सेतो रंगका लुगा लगाइने थाहा थियो मलाइपनि । मैले लुगाको बारेमा मिसासंग कुरा गर्दा अफिसमा लाएर आउने लुगा नै लाए हुन्छ भनेकीले हामी सबै क्याजुअल ड्रेसमा गएका थियौँ ।
बुढाबुढी दुबै जिल्लाको यातायात अफिसका भिन्न बिभागका कर्मचारी भएकाले दुबैतिरका साथिभाइ र आफन्तहरुको भींड थियो । म अमेरिकाको फिनुरल होमभित्र पहिलो पल्ट छिर्दै थिएं, मनभरी अनेक तर्कना बोकेर । एकैछिनमा भित्र जानलाईं लामबद्द भए मान्छेहरु। हामीपनि लाइनमा उभियौं। करिब करिब १०० जना मान्छेहरु एउटै लाइनमाबाट भित्र जांदै थियौँ। ढोकामा उभिने एकजनाले सबैका हातमा एउटा एउटा मोमोरियल बुलेटिन थमायो। त्यसमा फिलिप्सको ठूलो फोटो र उसको परिचय बाहिरी पातोमै थियो।
मान्छेको भींड बिस्तारै अघि बढ्यो । भित्र हल अलिअलि देखिन थालेपछि मेरा आंखा जेनीलाई खोजिरहेका थिए । कहां छे होली? कस्तो अबस्थामा होली? सांच्चै आज उसको जीवनमा ग्रहण लागेको दिन कसरी उभिएकी होली उ ? आदि आदि कुरा खेल्दै थिए मनमा । भींड पातलिएपछि हामी फटाफट भित्र गयौं। धेरै मान्छे कहां अटाए होलन् यति सानो कोठामा भन्दै थिएं तर भित्र त ठूलो र फराकिलो ठाउं रहेछ । मान्छेको लाइन अलि अगाडि पुगेपछि जेनीलाई देखें । मैले अघि सोचेकी जेनी र अहिले देखेकी जेनीमा पुरै फरक पाएँ, अचम्म लाग्यो । मभन्दा अघि पसेका मान्छेहरु उसलाई अंकमाल गर्दै छेउका एउटा एउटा कुर्सीमा गएर बस्दैरहेछन् । जेनी घर परिवार र आफन्तको माझमा उस्तै राम्री भएर उभिएकी थिइ जसरी अफिस आउंदा हुन्थी। उसलाई देखेर म छक्क परें । सान्त्वना दिन आउनेसंग एक श्रीमान् गुमाएकी महिला साधारण रुपमै बोलिरहेकी देख्नु मेरालागि नितान्त नौलो थियो । कसरी यस्तो हुन सक्छन् हिजो श्रीमान् गुमाएका महिलाहरु ? मेरा मनमा एकैचोटी धेरै कुराको बाडी आयो । आंखा अगाडी उभिएकी जेनी पिडा पचाउन सक्ने सांच्चै शक्तिशाली महिला लागी, तर मनमा कुरा खेल्न छाडेनन। मभन्दा अगाडि दुइटी मिसाहरु थिए । उनिहरुले फटाफट गएर जेनीलाई अंगालो हाले। आफनो पालो आएपछि मैले नि गएर अंकमाल गरें। “भेटन आइस खुशी लाग्यो भनी”। उसको धर्यता देखेर म अवाक भएं। म मिसासंगै त्यहांबाट अघि बढें र नजिकैको एउटा कुर्सीमा गएर बसें ।
जेनीलाई त्यो अबस्थामा देखेपछि म दुइ भिन्न भूगोलका, दुइ भिन्न धर्म अँगालेका तर श्रीमान् गुमाएका श्रीमतीहरुको बारेमा घोत्लिन थालें । कृश्चयनहरुको संस्कारलाई हिन्दुहरुको संस्कारसंग तुलना गर्न थालें। एउटा संस्कारमा त्यही श्रीमान् गुमाएकी महिला हो जसको लगाइरहेका हातका चुरा फुटाइन्छ, सिउंदोको सिन्दुर पखालिन्छ, गलाको पोते चुडाइन्छ। उसको सौन्दर्य खोसेर एक निरिह महिलाको रुपमा १३ दिनसम्म राखिन्छ । उसले जीवनमा रातो लगाएकै थिएन जस्तो गरेर रातो खोसिन्छ, रातोसंगै यो खान हुने, त्यो खान नहुने, यो लाउन हुने, त्यो लाउन नहुने भनेर उसको सातोपनि खोसिन्छ । साच्चै भन्नु हो भने उसको अगाडि अनिश्चत भविष्यको एउटा ठूलो पहाड उभिएको हुन्छ । जताततै अन्धकारमात्र देख्छे, उज्यालोको परिकल्पना कहिले गर्ली उसले थाहा हुंदैन । अझ आफनो श्रीमानको काजकृया आफूलाई गर्न नदिएर छोराले गर्नुपर्ने, आफनो छोरो नभए काकाको छोरो, ठूलाबाको छोरोले गर्न हुने, यदाकदा बिबाह नभएका छोरीले आफना बाआमाको काजकृया गरेको सुन्नमा आएपनि बिबाह भएका छोरीले गर्न नहुने हिन्दु समाज छ । अर्कातिर त्यही महिला हो जो जस्ती भएर अफिस आउँथी त्यस्तै भएर आफनो जीवनसाथीको अन्तिम जीवनउत्सब मनाउंन आफन्तहरुमाझ उभिएकी छे, भेटन आउनेसंग उत्तिकै बोलिरहेकी छे । पछि अफिस आउंदापनि उसको लवाइखवाइ कुनै अन्तर देखिन मैले । ओहो…श्रीगांर नफालेरपनि श्रीमानको अन्त्यस्टी गर्न सकिने रहेछ त ? हिन्दु धर्म चाहिं महिलामाथि किन यति धेरै कठोर भएको होला? जेनीलाई देखेर आफैंसंग कुरा गरें ।
दु:खसुख दुवैजना भएर काटौला भन्ने कसम खाएर बनेका श्रीमान श्रीमतीमाथि मर्दा चाहिं किन त्यति धेरै बिभेद भएको होला हिन्दु धर्ममा? किन महिलालाई मात्र? त्यसको ठीक उल्टो श्रीमती मर्दा श्रीमानले केही गर्नु पर्दैन, किन होला? दाम्पत्य जीवन शुरु गरेपछि आफनो घरलाई बलियो घर बनाउने क्रममा ति दुइजनालेजति मेहनत परिवारका सदस्य अरु कसले गरेको हुन्छ र ! घरमा परेका घटनाहरुले ति दुइजना नचाहेरैपनि मानसिक रुपले कतिपल्ट मरेका हुन्छन्, कसले हेक्का राखेको हुन्छ र ! घरमा पाकेको मीठी कुरा बांडेर खाने, राम्रो कुरा बांडेर लाउने र बाचुन्जेल एउटालाई खोकी लाग्दा अर्काको छाती दुख्ने श्रीमान श्रीमतीको नातामा एक अर्काको मायां कति हुन्छ भनेर जोख्ने कुनै तुलो बनेको छ र आजसम्म ? तरपनि हिन्दु धर्मको संस्कारले किन छुट्याइदिन्छ?
समानताका हकमा कृश्चयन धर्म बढि उदार रहे झैं लाग्यो मलाइ । जेनी आफनो श्रीमानको अन्त्यस्टी आफैले गर्न उभिएकी देखेर गर्व लाग्यो। यसको मतलब जेनीका छोरछोरी नभएर अथवा छोरछोरीले उसलाई मायां नगरेर होइन। बाउ गुमाएकी जेनीकी छोरीपनि आमासंगै उभिएकी छे। जेनीको ठाउंमा फिलिप्स भइदिएको भएपनि उसले त्यसै गर्ने थियो । खोइ अहिलेसम्म यिनहरू कसैलाई पाप लागेको सुनेको छैन त ? कि पाप हिन्दु धर्म मान्नेलाई त्यसमाथिपनि महिलालाई मात्र लाग्छ ? फिलिप्सको जीवन उत्सब मनाउन जांदा मेरो मन उडेर घरीघरी नेपाल पुगिरहयो र श्रीमान गुमाएका महिलाका कानमा गएर भनिरहयो- प्रिय महिलाहरु! चुडाउं समाजका यि बन्धनहरु र बांकी जीवन सहज बनाउं ।
हलको दुइ कुनामा ठूलाठूला टिभीका स्कृनमा फिलिप्स र जेनीका रमाइला दिनका तस्बीर र भिडियोहरु एकपछि अर्को आइरहेको थिए । कुर्सीमा बसेपछि म हाम्रो संस्कार, रितिरिवाजलाई र उनिहरुको संस्कारसंग तुलना गर्न थालें । आखिर उसलेपनि आफूले सबैभन्दा धेरै मायां गरेको मान्छे गुमाएकी छ आज, के उसकोपनि आधा आकाश खसेको होइन र ? उसको घरको ढोकापनि फिलिप्स गएदेखि लागेको हैन र ? हैन यति सजिलै कसरी सहन सक्छन आला घाउ यिनीहरु? हाम्रो संस्कारमापनि अरुको अगाडि रुनुपर्छ भनेर भएभरको साहस बटुलेर रोएको त हैन नि? मन त दुखेरै आउने हो नि आंशु! मनमा यस्तै बिभिन्न तर्कनाहरु खेल्न थाले।
बाहिरका मान्छेहरुको भित्र आउने क्रम सकिएपछि चर्चका मिनिस्टरले कार्यक्रमको शुरुवात एउटा गीत बजाएर शुरु गरे । गीत बजिसकेपछि उनले फिलिप्ससंगका उनका केही रमाइला दिनका कुरा गरेर त्यो सुनसान हलमा अलिकति हांसो ल्याइदिए । त्यहीबेला उनले एउटा कविता सुनाए जसको श्रीर्षक ‘यदि म विनै नै भोलीको दिनको शुरुवात भयो भने’ । वाचन गरेको कविता सबै त बुझिन तर त्यो कविता प्रिन्ट गरेर हात हातमा दिएको मेमोरियल बुलेटिनमा रहेछ ।अरू २,३ जनाले त्यस्तै रमाईला किस्सा सुनाएर हलभित्र हाँसो छरिदिए।अन्त्यमा तोप पडकाएर सलामी दिएपछि त्यो शोकसभा सकिने रहेछ। बसिराखेका सबैजना कुर्सीबाट उठेर बाहिर आयौँ । एक घण्टाको शोकसभाको कार्यक्रमपछि हामी अफिस फर्कियौं।
अफिस फर्केर आएपछि मैले धेरैपल्ट पढें त्यो कविता, एक एक अर्थ लगाएर पढें। लेखकको नाम थिएन। पढदा शुरूमा गला अबरूद्द भयो, आँखामा आँशु भरियो तर अन्तिममा पुग्दा मेरा आंखाका आंशु आफैं सुके । ओ…हो… एउटा कविताले कति धेरै सामार्थ्य बोकेको हुनेरहेछ । एउटा रोइरहेको मान्छेको चित्त बुझाउन सक्नु भनेको लर्तरो कुरो हो र ?
कविता लेख्नु त यस्तो, जस्ले रुदै गरेको मान्छेलाई चुप लाउन सकोस! लडिरहेको मान्छेलाई उठाउन सकोस!भन्ने लाग्यो।
राम्रा कुरा त एक अर्काबाटै सिकिने हो, हिन्दु धर्म मान्ने समाजले यस्ता कुरालाई अनुसरण गरे आफनो जीवनसाथी गुमाएमा महिलालाई केही राहत मिल्ने थियो कि ?
अमेरिका