गुम्बाको गाउँ

नियात्रा राजेन्द्रमान डंगोल August 26, 2020, 11:41 am

राजेन्द्रमान डंगोल
राजेन्द्रमान डंगोल
एउटा महातीर्थस्थल । अमूल्य चीज लुकेको ठाउँ । आमा झ्योमो याङ्ग्री(देवी)ले रक्षा गरेको क्षेत्र । प्रकृतिको अनुपम सौन्दर्यले सिँगारिएको । हिमाल, पहाड र बेसीले सजिएको । विविध संस्कृति र भेषभुषा अङ्गालेको । गुम्बैगुम्बा र छोत्र्तेनैछोत्र्तेनले भरिएको । आठौँ सताब्दीमै पद्मसंभव र ऋषी चोग्यालले ध्यान गरेको ठाउँ हो– नेपालको हेलम्बु ।

हेलम्बुलाई ‘ह्योल्मो’ भनिन्छ तिब्बती भाषामा । यसैलाई अर्को शब्दमा भनिन्छ ‘घाङ्ीरावा’ । ‘घाङ’को अर्थ हिउँ र ‘रावा’को अर्थ बेरिएको । हिउँले बेरिएको अर्थात हिमच्छादित क्षेत्र । यस्तो ठाउँमा बसेर साधना गर्दा साधकले सिद्धि प्राप्त गर्न सक्ने छ भन्नेकुरा भगवान बुद्धको अवतम् सतकसुत्रमा उल्लेख छ ।

कालो विद्या सिकेर जादुगरको रुपमा सबैले चिनेपछि पश्चाताप भएर सद्गुररुको खोजिमा मार्पासम्म पुगेका मिलारेपाले शिक्षा पाइसकेपछि साधनाका लागि हेलम्बु जाने सल्लाह पाए । त्यसपछि उनी आफ्नो मातृभूमि क्याङाचा (केरुङ पारिपट्टिको भूमि) छाडेर हेलम्बु आई ताक्पुक सिँघे जोङ गुफमा बसेर ध्यान गरेका थिए रे । एघारौँ सताब्दीको कुरा हो यो ।

*** ****** ****

फ्ल्यासब्याकमा हेलम्बु

‘आमा याङ्ग्रीको काखैमा

चौँरी त चर्ने पाखैमा

झन् हे¥यो हेरौँ, हेरौँ है लाग्ने

मैच्याङको गाजलु आँखैमा.........’

सन् २००१ मा पदयात्रा गरेको थिएँ हेलम्बुमा । काठमाडौँबाट नजिक भएरपनि फेरि जाने मेलोमेसो मिलिरहेको थिएन । मलाई त्यही यात्रामा फर्काइरहेको थियो, गायक फुर्पा स्याङ्पाको यो सेलोले । चलचित्रका दृश्यझैँ आँखाअगाडि आइरहेका थिए, पदयात्राका क्षणहरू । कस्तो भयो होला त मैले उन्नाईस वर्षअधि देखेको हेलम्बु ? साँच्चै तानिरहेको थियो मलाई हेलम्बुले । सुनेको थिएँ– अचेल सबै ठाउँमा बाइकमै पुग्छ सकिन्छ । मौका मिल्नेबित्तिकै यात्रा गरिहाल्ने सोचमा थिएँ म ।

००००

कोभिड–१९ माथि चीनले विजय हाँसिल गरिसकेको भएपनि यसले अमेरिकालगायत एसियाका देशहरू र युरोपभर तिब्रगतिमा साम्राज्य बिस्तार गर्दै थियो । विश्वभर फैँलदो संक्रमणले वसन्त ऋतुमा नेपाल आउन लागेका सबै विदेशी पर्यटकहरूले भ्रमण रद्द गरिसकेका थिए । विदेशीहरूको आगमन लगभग सून्यतिर झर्दै थियो । पर्यटक नै नभएपछि मणी हराएको सर्पजस्तै भएका थिए समस्त पर्यटन व्यवसायी । आफू पनि परियो उही ।

यसबाट संक्रमित भएका कोही पनि भेटिइसकेको थिएन नेपालमा । तैपनि त्रसित थियौँ हामी । सरकारले ‘नेपाल भ्रमण २०२०’ को कार्यक्रमलाई पहिले नै रद्द गरिसकेको थियो । ०७६ चैत्र ५ गतेसम्मका लागि मात्र चल्दै थिए विद्यालयहरू । राजधानी भित्रिनेहरू भित्रँदै थिए र बाहिरिनेहरू बाहिरिँदै । मान्छेहरूको ज्यान जोगाउने एउटा मेलो थियो त्यो !

मान्छेहरूले कम्तिमा पनि चार महिनालाई पुग्ने खाद्य–सामग्रीहरूको जोहो गरिरकेको थिए । मास्क र ह्यान्ड स्यानिटाइजरजस्ता जिनिसहरूको कृतिम अभाव सिर्जना गरेर मौकामा चौका हान्न भ्याएसकेका थिए पसलेहरूले । किनौँला नि त भन्दाभन्दै रू. पाँचमा पाउने मास्कलाई रू. पन्ध्र र रू. डेढ सयमा पाउने ह्यान्ड स्यानिटाइजरजलाई रू. दुईसयमा परैँ म आफैँ पनि ।

अर्थ थिएन अफिस जानुको । दिनभरि अफिसमा बसेर फर्कनुबाहेक केही काम थिएन । वास्तवमा चैत १ गतेदेखि नै एकखालको अघोषित ‘होम क्वारेन्टाइन’मा बसेजस्तो महसुस भइसकेको थियो । कोभिड–१९ सित लड्ने कायदा भनेको घरमा बसेर लुक्नु नै हो । सङ्क्रमित देखापर्न थाल्यो भने त क्वारेन्टाइनमा बस्नुको बिकल्प छैन भन्ने थाहा छ । तथापि यो स्थिति आएमा कसरी दिन बिताउने होला भन्ने प्रश्न मात्र उठिरहन्थ्यो मनमा । टाउको नै भारी बनाइरहेको थियो यही प्रश्नले ।

जम्जमाइरहेको थिएँ म कोरोनाको कहरले । सोचेँ– सरकारले आधिकारिक रूपमा लकडाउन गर्नुअघि नै कुनै छोटो दुरीको यात्रा गरेर समयको सदुपयोग किन नगर्ने ! र, सकिन्छ भने त्यो यात्रालाई शब्दचित्रमा किन नउतार्ने !

यात्रा त गर्नेे तर कहाँ ?

सम्झेँ– आमा याङ्ग्रीको काख अर्थात् उही हेलम्बु ।

“जाने हो त हेलम्बु ?” मैले प्रस्ताव राखेँ माधव घिमिरे ‘अटल’लाई ।

“कहिले ?”

“चैत्र पाँच गते ।”

“फर्कने चाहिँ ?”

“भोलि पल्ट ।”

“जाने भए जाउँ न त ।” हेलै स्वीकारे उनले ।

यही प्रस्ताव राखेँ जय भण्डारीलाई ।

भर्खरैमात्र अन्नपूर्णा सर्किटको पदयात्रा सकेर आएका उनी । बिनासित्तिमा किन जुत्ताको तलुवा खियाउन मनलाग्दो हो उनलाई !

उनी अन्कनाउँन थालेपछि मैले भने– ‘हिँड्ने होइन, बाइकमा जाने हो ।’

त्यसपछि मात्र सहमति जनाए उनले ।

उही प्रस्ताव कवि आरएम् डङ्गोललाई पनि राखेको थिएँ तर कार्य व्यस्तताको कारणले सहभागी हुन सकेनन् उनी ।

पाँच गते बिहान मात्र नाटककार पुरु लम्साललाई यात्राको बारेमा बताएँ । राजी भए उनी पनि ।

००००

यसोउसो गर्दा गर्दै काठमाडौँबाट हिँड्ने बेलामा बाह्र त बजि’गो ।

मोटर साइकल दुई, यात्रु चार । लाग्यौँ काठमाडौँको किनारतर्फ ।

के यस्तो अवस्थामा यात्रा गर्नु सही थियो त ? केही सोचेनौँ हामीले । आखिर मुडकै कुरा त हो यात्रा भनेको । मूडी भएरै निस्केका थियौँ हामी ।

सुन्दरीजलको बराह चोकबाट उँभो लागेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र प्रवेश ग¥यौँ हामी । वि. सं. २०५८ सालमा स्थापना गरिएको राजधानी नजिकको राष्ट्रिय निकुञ्ज । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र निकुञ्ज । शिवपुरी १४४ वर्ग कि.मि र नागार्जुन १५ वर्ग कि.मी गरी १५९ वर्ग कि.मी छ, यसको जम्मा क्षेत्रफल ।

गुडेका छन् एकाध सवारीका साधन । धुँवा छैन, शहरमा जस्तो । कच्ची सडक भएपनि उडेको छैन ज्यास्ती धुलो । शान्त र शितल छ निकुञ्जको छायाँ । जङ्गलभित्रको सडकमार्गमा गुड्दै गर्दा वसन्तको हरियाली सरिरहेको आभास हुन्छ मनभित्र । चराहरूको चिरविरलाई निस्तेज पारेको छ मोटरसाइकलले । यातायातका साधनहरूको आवाजले कति विघ्न पार्दो हो तिनलाई ! मेरो मनले भनिरहेको थियो– ‘राष्ट्रिय निकुञ्जभित्रको सडक संरचनाले वन्यजन्तुहरूको हित गर्दैन ।’ पदयात्रा गरेको भए सायद देख्न पाइन्थ्यो होला रुखको हाँगामा लुकेर मान्छेहरू नियालिबस्ने हाब्रे र कालो भालुका बच्चाहरू ।

पच्चीस मिनेटमै पुगियो, उबेला सुन्दरीजलबाट हिँडेर जाँदा झण्डै दुई घण्टा लागेको मूलखर्क । पदयात्रा गर्दा लन्च गर्ने ठाउँ हो यो । चारजनाको मलेसियन परिवारलाई क्याम्पिङ ट्रेक गराएको थिएँ, चैत महिनाकै अन्तिम हप्तातिर ।

से लिम र जेनी वाङ– छोरा–बुहारी, स्यू लिङ छोरी र आमा– जोयस लिम । जोयसको त्यो सानो र सुखी परिवार । पिताको मृत्यु भएको वर्ष दिनपछि छोरा–बुहारी र छोरी मिलेर आमालाई पदयात्रा गराउन ल्याएका थिए नेपालमा । सालिन थियो त्यो परिवार । आफ्नै परिवारका सदस्यहरू लिएर घुमेजस्तै महसुस भएको थियो, उनीहरूलाई पदयत्रा गराउँदा ।

हामी नेपाली मात्र तेह्रजना थियौँ, उनीहरूका सहयोगीका रूपमा । कुकसहित किचनमा काम गर्ने चारजना, भरिया सातजना, शेर्पा(पाल लगाउने काम गर्ने) एकजना र म । सात दिनको लागि आवस्यक खाद्यान्न र बन्दोबस्तीका सामान लिएर उकालो लागेका थियौँ सुन्दरीजलबाट । उतिबेला लजबेस ट्रेकभन्दा क्याम्पिङ ट्रेक नै बढी चल्थ्यो हेलम्बु क्षेत्रमा । लजहरू खुलेको भएपनि रिमोट र आइसोलेटेडकै रूपमा चिनिन्थ्यो हेलम्बु ।

पदयात्रा तालिकाका गन्तव्यहरू थिए– चिसापनी, कुटुम्साङ, ठाडेपाटी, तार्केघ्याङ, सेमान्थाङ र मेलम्चीपुल बजार ।

त्यो बेला ट्रेकिङ गर्दै मुलखर्कको सिरानतिर पुग्दा बाटो छेउछाउका घरहरूमा रक्सी पारीरहेका थिए तमाङ्नी दिदीहरू ।

“रक्सी चाख्न पाइन्छ कि दिदी !” सोधनी हुन्थ्यो देण्डी शेर्पाको ।

मतवाली न परे ! हिच्किचाउँदैन थिए उनी ।

उनकै लहैलहैमा लागेर आफू पनि रक्सी चाख्दै उकालो लागेको कहिल्यै बिर्सिन्नँ । जातैले आतिथ्यकारी तमाङहरू ! पैसा लिन मान्दैनथे उनीहरू । भन्थे– ‘यति जाबोको के पैसा लिनु ! भैगो ।’

००००

उकालोमा गुड्दा तातिएको इन्जिन सेलाउन नपाउँदँै लाग्यौँ चिसापनीतर्फ ।

पन्छीका प्वाँखझैँ निर्वाध फिरफिराइरहेका छन्– खस्रु, झिँगाने, बाँझ र लिसोका पातहरू हाम्रै बाइकको आवाजमा रमाउँदै । फूलहरूले झरझराउँदो जवानी फिँजाइरहेका छन् सडक छेउछाउ– कतै सुकिला पैयुँ त कतै सेता र राता लालीगुराँस । मात चढ्दै छ मलाई हरियाली र सौरभित फूलहरूको ।

चरा प्रेमी मान्छे चरा नदेखेपछि किन रोकिन्थे र ! तिब्र गतिमा कुदाइरहेका थिए जयजीले बाइक । निकै पछि परिसकेको थिएँ म । प्राकृतिक दृश्यपान गराउनु थियो मैले माधवजीलाई । मेरो बाइकको पछिल्लो सिटमा सवार उनी धमाधम तस्बिर लिँदै थिए । केही समय बिश्राम पाएका छन् उनले कोरोनाको कारण । सायद आनन्दानुभूति गर्दै थिए उनी प्रकृतिको माँझमा आफूलाई पाउँदा । पेशाले शिक्षक तर राम्रो कविको पहिचान बनाएका छन् उनले । लागिरहेको थियो– सायद कविता बुन्दै होलान् उनी त्यतिबेला ।

मैले बाइक रोकेरै नगरकोट जाने बाटो, मनिचर र झुलेका बस्तीहरू एकएक गरी चिनाएँ उनलाई ।

“चौँसठ्ठी जीबीको मेमोरी कार्ड किनेको छु । भर्नु त प¥यो नि ! आउनुस्, खिचौँ दुईचार थान तस्बिर !” उत्साहित भए माधवजी ।

हो, तस्बिर त खिच्नैपर्छ । उतिबेला आफूसँग क्यामरा नभएर एउटै तस्बिर खिच्न पाएको थिइनँ । धुमिल बन्दै गइरहेका छन् मस्तिष्कमा अडिएका यादहरू । फेरि ताजा गराउनु छ मैले पुरानो सम्झनाहरूलाई । मनोलाप गर्दै भ्याटभ्याटेको कान मज्जैले बटारैँ मैले जयजी भेट्न । उन्मादी भावना बोकेका फुक्कापाल एकजोडी मन हुँइकिन थाल्यो कच्ची सडकमा ।

मूलखर्कबाट कस्सिएर हिँड्दा साढे तीन घण्टा लाग्ने बाटो हो तर महाभारत पर्वत शृङ्लाको एउटा सिङ्गै पहाडलाई फेरो मारेर फर्कंदा पनि चालिस मिनेट मात्रै लाग्यो चिसापानी पुग्न । कति छिटो ! यही त हो फाइदा गुड्नुको । गाउँबस्ती र जङ्गल पार गर्दै हिँड्दाको जस्तो रमाइलोचाहिँ नहुने । पदयत्रा भनेको पदयात्रा नै हो ।

सुन्दरीजलबाट हिँडेर आउँदा उकालो, उकालो र केबल उकालो मात्र हो चिसापनी(२,१३४ मि.)सम्म । कम मिठो निद्रा पर्दैन यो साढे पाँच घण्टाको बाटो हिँडेर छिचोल्दा । जीवनमा कहिलेकाहीँ थकाइ पनि मिठो हुन्छ ।

क्षितिजमा टाँगिएका लाङटाङ, दोर्जेलाक्पा, गोन्चेम्पो र गौरीशंकर लगातका सुन्दर चित्रहरूमा पुगेथे मेरा आँखा । हेर्नकै लागि सबैभन्दा पहिले हिमाल नै खोज्दोरहेछ आँखाले । सृष्टिकर्ताको सुन्दर सिर्जनाले को नै नलोभिएला र !

नुवाकोट र सिन्धुपाल्चोकको साँधमा थियौँ हामी । सडकको एउटा किनार नुवाकोट र अर्को किनार सिन्धुपाल्चोकमा पर्छ । दुई जिल्लाको भूगोललाई छुट्टयाइदिएको छ सडकले ।

जयजी र पुरुजीको जोडी चिसापनी पुगेर धमाधम नियाल्दै थिए, ०७२ को महाभूकम्पले उजाडिएका बस्ती र खण्डहर बनेका उतिबेलाका होटलका संरचनाहरू । भूकम्पको धक्काले थचक्क बसेको रहेछ होटल मिलन । झिक्न मिल्ने जति झ्याल, ढोका र खापाहरू झिकिएका छन् । उही हालत थियो होटल माउन्टेनको पनि । पखेटा काटिएका पञ्छीजस्तै लाग्थे ती । होटल दोर्जेलाक्पा र साङ्बालाको त जगमात्रै देखिन्थ्यो । होटलको स्वरूपलाई खुम्च्याएर उही नाममा होमस्टेजस्तै खालको संरचना निर्माण गरेका रहेछन् दोर्जे लामा र सन्तु लामा दुबैले । भूकम्पका रेखाहरू मेटिएका छैनन् मान्छेका अनुहारमा । चिसापानी अझै उठ्न नसकेको प्रतीत हुन्छ, ती दृश्यहरू देख्दा । नेपालको पहाड र पर्यटनलाई जोड्ने ती सेतुको हालत देख्दा बेसरी कुडियो मन । पहाड नभए पर्यटन हुँदैन । पर्यटक नभए पहाड मात्र हुनुको पनि के अर्थ भो र पर्यटनका लागि !

चिसापानीबाटै देखिन्छन् डाँडाभरिभरि बिछ्याइएका सडक सञ्जाल । साँच्चिकै हेलम्बु त सुगम पो भइसकेछ । सन् २०१४ मा नगरकोटबाट चिसापानी पदयात्रा गर्दा त्यति धेरै सडक संरचना देखिन्नथ्यो ।

योजनामा चिसापानीमै बस्ने भएपनि प्रयाप्त समय भएकोले कुटुम्साङ जाने सल्लाह भयो हाम्रो ।

सडकले पदमार्गलाई बिस्तापित गरेपनि पदयात्रा रोकिएको छैन हेलम्बुमा । सडक सञ्जालको बीचमा परम्परागत मार्र्ग कोट्याउँदै पर्यटकहरूलाई हेलम्बु क्षेत्रको प्रत्येक गन्तव्यमा पु¥याउँछन् हाम्रा अनुभवी पथप्रदर्शकहरू । सन् २००१ मा आफैँ हिँडेको त्यही परम्परागत मार्र्ग खोज्दै थिएँ म । सडक निर्माण गरेपनि परम्परागत मार्र्गलाई नछल्नु किमार्थ सही थिएन भन्ने लागिरहेको थियो मेरो मनमा । भारी बोकेर परिवार पाल्ने मजदुर र ठाउँठाउँका चिया पसलेहरूको कन्तबिजोग नै बनाइदिएको छ सडकले ।

पाटीभञ्याङको ठूलो थकनी माविको प्राङ्गणमा पुगेर रोकियौँ । पहिला त प्रावि मात्र थियो । सात वर्ष भएछ मावि भएको । राम्रै भो । आफ्नै गाउँमा बिद्यालयस्तरको शिक्षा लिन पाएका छन् जनताका छोराछोरीले ।

“हल्का नास्ता गर्ने हो कि ?” सोधनी भयो माधवजीबाट ।

तीन बजिसकेको थियो । कुँइकिन थालिसकेको थियोे पेट । नास्ता गर्ने विषयमा असहमति हुने त कुरै भएन । छि¥यौँ एउटा भट्टीमा । अर्डर ग¥यौँ चाउचाउ र कालो चियाको ।

“दिदी तपाइँको नाम के हो ?” पुरुजीको प्रश्न साहुनीलाई ।

“उमा श्रेष्ठ ।”

“नाक छेड्नु भएको छ नि त !”

“मेरो माइतीचाहिँ थपलिया ।”

“नेवारको कुलमा परेर पो मिठो बनाउन जान्नु भएको रहेछ ।” ठट्टाभावमा प्रस्तुत भएँ म ।

कालो चियामा मरिचको फ्लेवर । अपूर्व संयोजन थियो चिनी, चियापति र मरीचको । साँच्चिकै प्रशंसनीय थियो उनले बनाएको चिया ।

आलु, कोदो र मकैका बाली लाग्छ यहाँ । भारापर्म गर्ने युवाहरू भने विदेशमा पसिना बगाउँन विवश छन् । जिम्मेवारी महिलाहरूकै काँधमा थपिएको छ । खेतिपाती, घाँसदाउरा, वस्तुभाउ र केटाकेटीको स्याहारसुसारमै दिन बित्छ उनीहरूको । यही त हो पहाडी जीवन ! गुजाराको अर्को बाटो थियो, उनको त्यो चिया पसल ।

ठकुने भञ्याङ, चिप्लिङ, गुल भञ्याङ हुँदै कुटुम्साङ जान्छ बायाँतर्फ लाग्दा । पिप्ले, धौलेडाँडा, तालमाराङ र मेलम्चीपुल बजार पुग्छ दायाँतर्फ मोडिँदा ।

“कति समय लाग्छ कुटुम्साङ पुग्न ?” साउनीलाई सोधेँ ।

“डेढ घण्टा ।”

“कुटुम्साङबाट आजै तार्केघ्याङ पुग्न सकिन्छ ?”

“किन नसक्नु नि !”

ठानेँ– हिँड्दा साढे तीन घण्टा लाग्नेबाटोलाई डेढ घण्टा लाग्नु ठिकै हो । मोडियौँ हामी कुटुम्साङतर्फ । भ्याएसम्म तार्केघ्याङ पुग्ने बिचार पो आयो । जे त होला ! स्टेयरिङ आफ्नै हातमा त भएपछि के भो र ! सुरिएँ म ।

उकालो बाटो, उबडखाबड सडक । पचासी किलोको म आफैँ र पचहत्तर किलोको माधवजी । इन्डियन होन्डा बाइकलाई अब के चाहियो र ! एक नम्बर गियरमा पनि धौधौ परि‘गो । धन्न तानिरहेको इन्जिनले । शनैःशनैः चिसिँदै थियो हाम्रो ज्यान उकालिँदै गर्दा र तातिँदै थियो होन्डाको इन्जिन । कष्टकर हुँदै थियो बाइक हाँक्न मलाई । त्यसैले पो गाएका रहेछन् सुन्दर श्रेष्ठ र तिर्थ कुमारीहरूले यस्तो गीत–

‘उकालीमा पनि हजुर मोटर जादोरै’छ

ड्राइभर दाइलाई सासना

माया सलल जाउँ हिँड रेलैमा ..............’

गाएरै सुनाइ दिएँ मैले माधवजीलाई ।

“सलल त हुन्थ्यो होला नि रेल भइदिएको भए ! अझ सरर हुन्थ्यो केवलकार भए त ! सम्भार गर्न नसक्ने हो भने सडक किन खन्नु कुन्नी ! कम्तिमा खाल्डाखुल्डी त पुर्नू नि ।” असन्तुष्टि पोखे माधवजीले ।

“कुटुम्साङ पुग्न कति समय लाग्ला ?” चिप्लिङ पुगेपछि एक स्थानियलाई सोध्यौँ ।

उत्तर आयो– “डेढ घण्टा ।”

पाटीभञ्ज्याङबाट डेढ घण्टा लाग्छ भनेको । आधा घण्टा गुडिसक्दा पनि फेरि डेढ घण्टा ? लाग्यो– बाटोको अवस्था अनुसार उनको कुरा बेठिक थिएन । ट्याङ्की खोलेर हेरँे, पेट्रोल त निकै तल पुगिसकेको रहेछ । अस्तिको दिन मात्र ट्याङ्की भरेको थिएँ, उकालोले स्वाट्टै खाइदिएछ ।

परेन फसाद !

कुटुम्साङबाट पनि लामै छ बाटो । इन्धन भर्ने ठाउँ बीचमा कतै छैन । मेलम्ची बजार नपुगी धरै छैन । अहिलेको अवस्थामा त्यहाँ पनि पाउने हो कि नाइँ । बीच बाटोमा ट्याङ्की रित्तियो भने त बित्याँसै पर्छ ।

“के गर्ने त जयजी ?” सुझाव मागेँ मैले ।

“बरु फर्केर मेलम्ची बजार जाऔँ । पिप्लेमा पेट्रोल किन्न पाइन्छ रे भन्ने सुनेको थिएँ । ट्याङ्की भरेर भोलि त्यतैबाट सेर्माथाङहुँदै तार्केघ्याङ जाउँला ।” राम्रो आइडिया फुराए जयजीले ।

हो, बेलैमा बुद्धी नपु¥याए त कुकुरले नपाएको दुःख पाउँछ ज्यानले । फक्यौँ हामी ।

००००

गाह्रो हुदैँ थियो ब्रेकले धान्न त्यो ओरालोमा । बाफ रे ! धन्न तानेको पो रहेछ त इन्जिनले । बालवयमा भर्खरभर्खर गाडी चलेको बेला सुन्ने गरेको उही गीत याद आइरहेको थियो मलाई–

‘उकालीमा इन्जिनले तान्दैन

ओरालीमा बिरेकले धान्दैन............’

००००

“चिसापानी छाडेर कुटुम्साङतर्फ लागेका थियौँ पदयात्राको दोस्रो दिन । चिप्लिङमै आइपुगेर लन्च तयार गरेका थिए हाम्रो किचन टोलीले । कस्तो संयोग ! आज यही ठाउँमा आइपुगेर फर्कंदै छौ ।”

उन्नाईस वर्षअघि उही मलेसियन परिवारसँग गरेको पदयात्राको झल्को आइरहेको थियो मेरो मस्तिष्कमा । सम्झना उप्काएँ मैले माधवजी समक्ष र कहेँ मैले ती मधुर स्मृतिलाई –

गुलभञ्याङको मिठो हावाले निकैबेर भुलाएथ्यो हामीलाई । ठ्याक्कै छः घण्टा लागेको थियो कुटुम्साङ (२,३०० मि.) पुग्न । हामी सरहै हिँडेकी थिइन् सन्ताउन्न वर्षिया जोयस लिम पनि । कस्तो जोश !

“माइ हजब्यान्ड वाज फन अफ ट्रेकिङ । वि डिड माउन्ट किनाबालु ट्रेक टु इयर्स अगो । हि उड इन्जोय इफ हि वेर विथ अस ।”

बेलाबेलामा सम्झिरहेकी हुन्थिन् उनी दिवंगत पतिलाई ।

उनी भन्थिन्– “यु नो, माइ सन् आस्ट मि ह्वेर टु ट्राभल दिस टाइम । आइ चुज द बर्थ प्लेस अफ लर्ड बुद्ध । आइ एम फाइन्डिङ पिस आइ सिक ।”

कुटुम्साङ आफैँमा एउटा भ्यू प्वइन्ट । अनगिन्ती भ्यू प्वइन्टहरू देखिन्थे कुटुमसाङबाट । नजिकै देखिन्थ्यो ३,७३१ मिटर अग्लो याङ्ग्री पिक । अझै नजिक देखिन्थे चिसापानीबाट देखिएका हिमालहरू । याङ्ग्री पिक उही आमा याङ्ग्री हो जसले समस्त हेलम्बुलाई रक्षा गर्छ भन्ने विश्वास गरिन्छ । आखिर आस्था र विश्वासको कुरा न हो ।

सानो स्तुपा छ याङ्ग्रीको थाप्लोमा । फर्फराइरहेका थिए स्वेत लुङ्दा र पञ्चरङ्गी लुङ्दरहरू । बिलाइसकेको थियो लोसारताक परेको हिउँका पत्र । क्रमसः नाङ्गिदै थिए शिशिरभरि हिमालझैँ देखिने अनुहारी उच्च पहाडहरू ।

“रानी राजराजेश्वरीलाई आमा याङ्ग्रीमै राखिएको थियो ।” एकजा जानकारले भने ।

थापा र पाँडेको खेल र राजाको अकर्मण्यता । उतिबेलाको राजनीति नेपालको । इतिहासमा पढेको कुरा स्मरणीय भयो मलाई । वि. सं. १८६० मा काँशीबाट काठमाडौं फर्किए भोगी राजा रणबहादुर शाह । दामोदर पाँडेले असहयोग र अवरोध वापत काटिए । परिस्थितिले कोल्टे फे¥यो । सुवर्णप्रभाको ठाउँमा जेठी महारानी राजेश्वरी कैद हुन पुगिन् । त्यसपछि उनलाई पठाइयो हेलम्बु निर्वासनमा ।

पतिको मृत्युपछि किरिया बस्न हेलम्बुबाट काठमाडौं फर्किएकी राजेश्वरीले जालसाँचीमा परि नौ दिनपछि सतीको रूपमा जिउँदै जल्नु प¥यो । सौताहरू सुवर्णप्रभा र ललित त्रिपुरासुन्दरीको चालमा भिमसेन थापाको तजबिज । रानी राजराजेश्वरी एक्लीको के लाग्नु !

उनी सती गएकी थिइनन्, पठाइएको थियो । आफैँमा प्राकृतिक न्याय विपरितको थियो सतीप्रथा । सती पठाउने नाममा निर्मम हत्यासिवाय थिएन रानीको । मनले पर्गेलिरह्यो नेपालको राजनीति । हुन त त्यो बेलाको भन्दा के नै पृथक छ र यो देशको अहिलेको राजनीति पनि ! लुटनीति, छलनीति, ढाँटनितिको सुर्काउनीमा पल्टिने गर्छ नेपालमा सत्ताको पासो ।

००००

प्रत्येक दिन बेलैमा यात्रा सुरु गथ्यौँ हामी ।

साह्रै मिहिनती थिए– देण्डी । प्रत्येक दिन बिहान सबेरै उठी सहयोगीहरूका साथ लिएर नास्ता तयार पारिसकेका हुन्थे । समयमै पालहरू पट्टयाउने र भरियाहरूको भारी मिलाइसकेका हुन्थे– शेर्पा(भरत कार्की) । क्याम्पिङ ट्रेकमा टेन्ट व्यवस्थापनको जिम्मेवारी लिनेको पद हो– शेर्पा । टिम वर्क हो क्याम्पिङ टे«क । नत्र एउटाले ढिलो गर्दा सबै ढिलो भइजान्छ ।

सम्झन्छु– एकजना किचन ब्वाइको नाम पनि ‘देण्डी’ नै थियो । उनी थिए– कुुक देण्डीका जेठानका छोरा । सामान्यतया क्यम्पिङ ट्रेकमा किचन टोलीको चाँजो कुकले नै मिलाउने गर्छन् । आफ्नै मान्छेलाई पारेका रहेछन् उनले त्यो ट्रिपमा । कम उमेरका तर कामको लय समातिसकेका ।

प्रत्येक दिन बिहान म नउठ्दै कफी लिएर आउँथे उनी । र भन्थे– “सरदार सा’प उठ्नु ! माइले काफी ल्यायो ।”

आफ्नै मिहिनतको कमाई खानु त राम्रो कुरा भएपनि श्रम बेच्ने बेला भइसकेको थिएन उमेरको हिशाबले । कस्तो बाध्यता ! गरिबको कुलमा जन्मनुको नियति भोगिरहेका थिए उनी । पकाउने भाँडाकुँडा र डाडुपन्यू समाइरहेका थिए अक्षर लेख्नुपर्ने उनका कलिला हातले । नाम्लोले थाप्लो कुच्याइरहेका थिए । हुन त प्राण धान्नुजस्तो ठूलो कुरा के नै हुन्छ र मान्छेको जीवनमा ! प्राण थामिए शिक्षा भनेको त तपशीलको कुरा हो । विद्यालयको मुखै नदेखेको भएर होला उनी यसैमा खुसी देखिन्थे । लाग्थ्यो– पढ्न नपरेकोमै खुसी छन् उनी । अलिखित पाठ्यु पुस्तक हो जीवन आफैँमा र जिन्दगी भर चलिरहन्छ सिकाई र भोगाईको क्रम । देण्डीकै बाटोमा हिँडेर जीवनको साधना गर्दै थिए उनी ।

नेपालीहरूले बालश्रम प्रयोग ग¥यो भन्ने अर्थमा युरोपियनले नेपाली कार्पेट बहिष्कार गर्दा उद्योग नै धराशायी भएको थियो । कतै यी परिवारले आपत्ति जनाउने त होइन ? कदाचित् नेपालको पदयात्रामा बालश्रम प्रयोग हुन्छ भन्ने सन्देश लगेभने त भोलि व्यवसायमा नकारात्मक पर्छ । फेरि सोधिहाले भने के जवाफ दिने होला ? मनमा कुरा खेलाएथेँ मैले ।

००००

याङ्ग्रीको टाउकोमा आँखा पु¥याएर पैतलालाई उकालोमा राखेपछि सुरु हुन्छ अर्कोदिनको यात्रा ।

सुँघ्दै छौँ, गोब्रेसल्लो र धुपीको मिठो बासना । ओढ्दैै छौँ, राष्ट्रिय फूलको छहारी । पुग्दै छौँ उच्चपहाड, पहाडहरूकै श्रेणी चढ्दै । परपर सर्दै छन्, हिजो–अस्ति आफैँले टेकेका पहाडका धारहरू । रोकिन्छौँ युरिनडाँडाको बार्दली पुगेर । आहा ! क्या शानदार दृश्य हिमालहरूका । ती अनमोल सिर्जना प्रकृतिको ।

कतैकतै कुनकाप्चामा अझै थियो पग्लन बाँकी हिउँ । अघिल्लो महिनासम्म आएका भए उनीहरू हिउँ मै हिँड्न पाउँथे ।

”योर कन्ट्री ह्याज माउन्टेन एन्ड स्नो । वि ह्याव नाइदर माउन्टेन नर स्नो । वि ह्याव थ्री सिजन्स, दे आर– हट, हटर एन्ड हटेस्ट ।” सिसाजस्तै हिउँको डल्लो हातले उचाल्दै से लिमले भने ।

”योर कन्ट्री इज कनेक्टेड टु द ओसन एन्ड ह्याज डिभेलप्मेन्ट । बट वि नो डिभेलप्मेन्ट ।” मैले भने ।

नेपालको प्रकृतिमा उनीहरू लोभिन्छन् । मलेसियाको विकासमा म लोभिन्छु । म उनीहरूको प्रशंसा गर्छु, उनीहरू हाम्रो ।

ट्रेकिङभरिकै कठिन दिन थियो, थारेपाटी पुगेको त्यो दिन ।

उकालो लागेपछि तन्कन थालेका थिए अघिल्ला दुईदिनको हिँडाइले कुँजिइसकेका दुबै गोडा ।

३,५०० मिटरमा पुग्न त हामीलाई यति कठिन भइरहेको छ भने कस्तो भयो तेन्जिङ र हिलारीलाई सगरमाथाको चुुचरोमा पुग्न ! सम्झिरहेको थिएँ ती दुई सेलब्रेटीलाई । साँच्चिकै सर्वाधिक गौरवको दिन थियो समस्त मानवजातिका लागि, सगरमाथालाई जितेको त्यो दिन अर्थात् सन् १९५३ मे २९ । त्यसैले त सगौरव गाउँथ्यौँ हामी–

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

गम्केर बज खैँजडी झम्केर नाच मुजुरा.........’

समुद्री सतहबाट आएका ती परिवार हुरुक्क भएका थिए, यात्राभरिकै सबैभन्दा उचाइमा पुग्ने रहरले । हेलम्बुको पहिलो यात्रा भएकोले हुरुक्कै थिएँ आफैँ पनि । मेरो जीवनको दोस्रो पदयात्रा थियो त्यो । र, जीवनमै पहिलो पटक चुम्दै थिएँ म ३,५०० मिटरको उचाइ । सगरमाथा आरोहणभन्दा कम थिएन मेरै लागि पनि ।

कहीँ थिएन स्थाई बस्ती । मङ्गेन गोठ पुगेपछि मात्र एउटा पसल भेट्यौँ । त्यो पनि अस्थाई । अँगेनुमा पिँधभरि कालो मोसो कट्कटिएको चियादानी र तख्तामा बिस्कुट, चाउचाउ र चुरोटको पासो थापेर ग्राहकको पर्खाइमा थिए एक अधबैँसे ।

“एक पुरी बिस्कुटको कति हो ?” मेरो प्रश्न ।

“दश रुप्पे ।”

तीन पाकेट ग्लुकोज बिस्कुट किनेँ र बोत्तलमा पानी भरेँ ।

“दाइको घर कहाँ हो ?”

“कुटुम्साङ ।”

“हरेक दिन कुटुम्साङ आउनेजाने गर्नु हुन्छ ?”

“साथे आयो भने यहीँ बस्छ । नत्र घरै जान्छ । अफ सिजनमा त पसल चल्दैन । घरमै बस्छ । खेतिपाति गर्छ । यस्तै छ दाजु ।” दिनचर्या बताए उनले ।

कहिलेकाहीँ ब्यापार नहुँदा कति दिक्क लाग्दो हो उनलाई । सोच्दै थिएँ म ।

कुस्त हिँड्यौँ त्यो दिन । पूर्व क्षितिज अँध्यारिँदै थियो थारेपाटीपुग्दा । उकालोले गलाए पनि स्फूर्ति भरिदिएको थियो मलाई मन्द बतासले । गर्वानुभूति हुँदै थियो प्रकृतिको रङ स्पर्श गर्दा । पलपलमा बद्लिरहेझैँ लाग्थ्यो प्रकृतिको ढाँचाकाँचा ।

सामुन्ने उभिएको थियो अजङ्गको कालो पहाड ।

”उः त्यही हो घोप्टेभिर । तल छ घोप्टे । गोसाइकुण्डबाट लौरिबिना ला पारगरेर आउने बाटो त्यही हो ।” औँलाले देखाउँदै देण्डीले जानकारी गराए मलाई ।

जोमिपूर्ण छ लाङटाङ पदयात्राको यो खण्ड । प्रत्येक पाइलामा चुच्चे ढुङ्गासित मितेरी लगाउनुपर्छ जुत्ताका तलुवाले । केहीगरी चिप्लिहाले फर्कंदैन जीवन । तैपनि साहस गर्छन् एडभेन्चरका सौखिनहरू । नत्र नेपालको ट्रेकिङ व्यावसाय कसरी चल्नु !

अपरिचित मान्छेसँग जम्काभेट हुँदाको बेलाकाझैँ मौन देखिन्थे तमाम लेकाली डाँडाहरू । शालीन देखिए पनि निर्मम छ घोप्टेभिर । सन् १९९२ जुलाई ३१ का दिन सिङ्गै थाइ एअर बस निलेको थियो यो भिमकाय पहरोले । एक सय तेह्रले जीवन गुमाएका थिए त्यो दुर्घटनामा । छरबरी भएका जहाजका अवशेषहरू अझै दखिन्थे कुनाकाप्चामा । बिरक्तिएँ म त्यो त्रासदीपुर्ण दुर्घटना सम्झेर ।

चैतको महिना गर्मिदै थियो काठमाडौँ । किन गर्मिन्थ्यो र त्यो चिसो थारेपाटी काठमाडौँ गर्मिदैमा ! थेगेन हिमालबाट आएको चिसो सिरेटोलाई मेरो एकपत्रे फ्लीस ज्याकेटले । गएँ आगो ताप्न भट्टीमा ।

००००

भेलिपल्ट । गोसाइँकुण्ड जाने बाटो छाडेर दाहिनेतर्फ तेर्सियौँ । अबको यात्रा तार्केघ्याङ अर्थात् हेलम्बु क्षेत्रको । बाटो ओरालै ओरालो, जङ्गलैजङ्गल । क्या अद्भुत आनन्द दिँएथ्यो गुरासेँ जङ्गलले ! आकासलाई लोभ्याइरहेझैँ लाग्थ्यो धर्तीमा फुलेका गुराँसले । आनन्दकै श्वास फेरिरहेका छन् यहाँ उड्ने पन्छीहरू । फुर्रफर्र गरिरहेका छन् पुतलीहरू गुराँसका रङ बोकेर । फूलबिना त्यति धेरै कहाँ रमाउँथे होलान् र ती पुतलीहरू ! रोमाञ्चक थियो पाइलैच्छिेका दृश्यहरू ।

गुराँसेपाखा छिचोलेपछि मेलम्ची खोला त¥यौँ । दशक बितिसकेको थियो, मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा चलेको । कामको सुरसार केही देखिएन । हात चोबल्दै मेलम्चीलाई भनेथेँ– ‘छिट्टै आउ है काठमाडौँमा !’ मोहित भएथेँ म कञ्चन छङ्छङिएको अमृतमय मेलम्चीको तेजिलो बहावले ।

त्यसपछि आयो मेलम्चीगाउँ । खोलाको नाम र गाउँको नाम एउटै । चारैतरि जङ्गल बीचको आवादी । अगाडि बढ्न मानेको थिएन मेरो पाइला पहराले च्यापेको मेलम्ची गाउँको मोहले ।

किचन टोलीले लन्च तयार गरुन्जेल गाउँको अवलोकन गराएँ मैले लिम परिवारलाई ।

यतै बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो मनमा । तर आफूले मात्र चाहेर नहुने !

००००

“होप रेस्ट अफ द ट्रेल इज इजियर !” मेलम्चीगाउँ छाड्नुअघि स्यू लिङले भनिन् ।

पहाड, गोरेटो, गाउँबस्ती, नेपाली जनजीवन, संस्कार पढ्दै थिइन् उनी पहिलो पटक । अघि घुँडा दुखेर ओरालो हिँड्न कठिन हुँदा उनको हात समातको थिएँ मैले । फलामको च्यूरा भइसकेको थियो ती नवयौवनालाई त्यो पदयात्रा ।

“नो मेजर अपहिल ! द ट्रेल इज इजी आफ्टर तार्केघ्याङ बट इट्स अ लङ्ग वाक टु सेर्माथाङ । यु क्यान डु इट !” उनमा उत्साह भर्ने कोशिस गरेँ मैले । मुस्कुराइन् मात्र स्यू लिङ ।

‘चुत्रो त पाक्यो फुलबिङको लेकमा

अम्बा त पाक्यो दोभानमा

खेलौँ न माया ओहोरी दोहोरी

तेरो मेरो कलिलो जोवनमा...........’

तार्केघ्याङ नपुगुन्जेल गुन्गुनाइरहेथ्यो देण्डी लोकभाकामा । उनी ओखलढुङ्गामा जन्मेका शेर्पा । ट्रेकिङ पेशामा लाग्दा बाहुन–क्षेत्रीको सङ्गतमा परेर यस्ता थुप्रै गीत सिकेका रहेछन् उनले । शेर्पा भएर के गर्नु ! अति चलाक । र, त सबैले भन्थे– ‘शेर्पाहरूको त बाहुन नै हो देण्डी ।’

देण्डीले नजानेको र नसक्ने काम के छ र ! ट्रेकिङ गाइड र कुक त उनको पेशा नै हो । क्लाइम्बिङको दक्षता पनि छ उनीसँग । चिसा हिमाल चुलीहरूमा पुगेर नेपाली झण्डा फहराउने एउटा तातो मुटु पनि हुन् उनी ।

तार्केघ्याङ अर्को सुन्दर गाउँ । हरिया पहाडको काखैमा बसेको छ ह्योल्मो बस्ती च्यापेर । गाउँको बीचतिर छ सोतो छोर्तेन । प्रत्येक घरमा फहराइरहेका थिए बौद्धमार्गीका निशानी । ह्योल्मो जातिको बसोबास छ माथिल्लो बेल्टमा । भुइँतल्ला (होकाङ) र माथिल्लो तल्ला (साकाङ) भएका एकनासका घरहरू । घरका झ्याल (कार्कुङ) र ढोका (घो)मा आकर्षक बुट्टा खोपिएका । यो खालको नमुनालाई ‘मिर्चा कुम्बा’ भन्दारहेछन् स्थानिय भाषामा । भुइँ तल्लोमा खाना खाने, सुत्ने र पूजापाठ गर्ने ठाउँ छ । काठको भुइँ, काठको भित्ता र काठकै सिलिङ छापिएको । भान्सा कोठाको दराज (छिटि) मा लोभलाग्दो गरी भाडाकुडा सजाइएका । खाना खाने होचो टेबुल (सोल्जो) ले कोठाको सौन्र्दय थपेको हुन्छ ।

कति सुन्दर बस्ती ! कति राम्रो रीतिपरम्परा !

मिर्चा कुम्बा उतार्न सम्भव नभएपनि एकएक थान बुट्टेदार सोल्जो र छिटि भइदिए कति सौन्दर्य बढ्नेथियो मेरो घरमा भान्छाको । कुरा खेलाउँदै थिएँ म ।

पाँच सय वर्ष पुरानो दुईतले गुम्बामा छि¥यौँ हामी । तिब्बतबाटै ल्याइएका रे त्यहाँभित्र भएका मुर्तिहरू । दिवंगत् पतिका नाममा बत्ती बालेकि थिइन् जोयस लिमले ।

००००

ओरालो झर्दा झर्दै पिप्ले नजिक पुगिसकेका रहेछौँ । संस्मृतिमा मेलम्चीगाउँ पु¥याइरहेछु मैले माधवजीलाई । उनी ध्यान दिएर सुनिरहेका छन् मेरो संस्मरण ।

दुखाइ र थकाइ थप्दै शरीरमा छ एकोहोरो गुडाइले । मेरुदण्ड पिरो भएर दुख्न थालिसकेको छ । यस्तै हो भने भोलि बाइक चलाउन सकिएला त ? मेलम्चीबजार पुगेपछि दुखेको ज्यानलाई इलाज गर्ने सोचाइमा पुगेको छु म । साथदिने जयजी छँदै छ के भो र !

सडकको छेउमा ठाउँठाउँका नाम लेखिएका साइनबोर्ड ठड्याइएका छन् । पिप्ले पुग्नुअघि ‘देविस्थान’ र ‘साल्मे’ लेखिएको बोर्डलाई मोबाइलमा कैद गरिरहेका छन् माधवजीले ।

थकनी एरियाभित्रैकै सडकमा थियौँ हामी । अर्को साइनबोर्ड आयो ।

लेखिएको थियो– “वेलकम टु सिनोहाइड्रो कर्पोरेशन लिमिटेड मेलम्ची वाटर प्रोजेक्ट ।”

अलपत्र परेका उपकरणहरू थिए, सडकको किनारमा । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका उपकरणहरू थिए ती ।

इटालियन कम्पनीले ०७५ मंसिरदेखि छाडेर गएपछि सम्झौता भएको थियो चीनको सिनोहाइड्रोसित । सिएमसीले छाडेको ११ महिनापछि बाँकी काम थालेको थियो सिनोहाइड्रोले । राष्ट्रिय गौरवको आयोजना हो यो । यसो चासो त भइहाल्ने ! त्यसमाथि पनि पानीको प्यासले छटपटाइरहेको काकाकुल काठमाडौँको बासिन्दा न परेँ म !

एकछिन रोकिएर कामदारको पोशाकमा उभिएका कर्माचारीसँग भलाकुसारी गरेँ मैले ।

“अब कति समय धैर्य गर्नुपर्ला काठमाडौँबासीले ?”

“बढीमा तीन महिना ।

कतिकाम बाँकी छ ?

“सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको जिम्म लिएको हो यो कम्पनीले । काम अन्तिम चरणमा पुगेको छ ।”

निराशामै आधा जीवन बितिसकेको थियो । अलिकति आशा जगायो उनको कुराले ।

रसिला छन् यहाँका पहाडहरू । भरिला छन् खेलका गह्राहरू । जीवन दिएको दिएको छ सिन्धु खोलाले । मौलाइरहेका छन् तोरी र गहँुका बालीनाली र लुकामारी गरिरहेका छन् घामसित । हाँसिरहेको छ जीवन यहाँ ।

पिप्ले पुगेर पेट्रोल भरेपछि हतारिएका थियौँ मेलम्ची बजार पुग्न । सोचेभन्दा ढिलै भयो । बजारको चमकलाई खोसिसकेको थियो अँध्यारोले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।