पटनाको दोस्रो भ्रमण

नियात्रा अर्जुन यावा March 6, 2021, 7:54 am

अर्जुन यावा
अर्जुन यावा
बिहानको 3ः40 तिर ओर्लिएँ ‘क्यापिटल एक्सप्रेस’-बाट ‘राजेन्द्र नगर’ रेलवे स्टेशनमा। रातभरिको यात्रामा निदाएको शरीरलाई पनि एसीको चिसोले थोरै अस्वस्थ अनुभव गराइरहेको थियो। प्लेटफर्ममा झर्दा पहिले न्यानो लागेको भए पनि केहीक्षण मै पसिनासरि हुँदै रेलवे स्टेशनदेखि बाहिरिएँ। मूलद्वारको अघिल्तिर बसिरहेको थिएँ। थुप्रैजना आए ‘कहाँ जाना है?’ सोध्दै। यति बिहानै कसैलाई म आइपुगेको सूचित गर्नु उचित लागेन। यही बेला एकजना अधवैंशे रिक्सावाललाई जवाब दिएँ- ‘सम्मेलन मार्ग, दमककुआँ।’

बिहानको 4ः30 बजेको थियो 2370 नम्बरको रिक्सा कदमकुआँमा रोकिँदा। उज्यालो भुइँमा झरिहालेको थिएन। सुनसान सड़कबीच उभिएको बिजुलीको पोलमा झुण्डिएका बल्बहरूले प्रकाश छरिरहेका थिए। त्यसैको उज्यालोमा एउटा ‘सेल्फी’ लिएँ रिक्सावालसित। 150 रुपियाँ थापिसकेपछि जानअघि मलाई चिया पिउने व्यवस्था मिलाउन खोजिरहेका थिए उनी। तर पसलका सटरहरू बन्द थिए चारैतिर। अनि लागे उनी आफ्नो बाटो।

कदमकुआँ र अगमकुआँ झण्डै उस्तै लाग्थ्यो नाम। सम्राट अशोकाको समयमा बनाइएको ‘कुवा’-कै कारण त्यो ठाउँको नाम ‘अगमकुआँ’ भएको रहेछ, जुन नामसित धेरै रहस्यहरू लुकेको पाइने भए पनि ‘कदमकुआँ’-को नाम कसरी बस्यो, त्यो थाहा भएन। यसबारेमा इच्छा हुँदाहुँदै जान्न सकिएन। स्थानीयहरूको मान्यताअनुसार बर्षौं अघिदेखि यो स्थानलाई ‘कदमकुआँ’ भनेर जानिन्छ। सम्मेलनका अध्यक्ष श्री अनिल सुलभसित यो लेखको तयारीको क्रममा पुनः सम्पर्क भएको थियो। उनीअनुसार पहिले-पहिले कदमका रुखहरू हुन्थे। रुखका छेउछाउ अथवा फेदीतिर कुवा हुनेगर्थ्यो। त्यसैले त्यो ठाउँको नाम पनि ‘कदमकुआँ’ भएको हुनुपर्छ।

कदमकुआँ चारैतिर सुनसान थियो। सड़कहरू लम्पसार तर शान्त। सड़कका छेउ-कुनाहुँदी मलाई नै नियालीरहेका थिए रित्ता ठेलागाड़ीहरू। बिस्तारै तातिँदैछ लाग्ने सड़कमाझ मलाई स्वागत जनाइरहेका थिए एक-दुई गाई-बस्तु र ठ्वास्स नाखैभित्र पसिजाने शरीरको पसिनाभन्दा भिन्दै एउटा गन्धले।

‘बिहार हिन्दी साहित्य सम्मेलन’-को मूलद्वारमा दाहिनेतिर लगाइएको थियो ठूलो ब्यानर। अतिथिहरूको ठूला-ठूला फोटोसितै लेखिएको थियो ‘शताब्दी सम्मान समारोह’। हो त्यही कार्यक्रमको लागि त आएको थिएँ। तर यो समय कसैलाई फोन गर्नु, आफू आइपुगेको जानकारी दिनु ठीक होइन लागेको थियो। त्यसैले उज्यालोको पर्खाइमा त्यो सुनसान सड़कको नाप लिइरहेँ एक, दुई, तीन, चार...।

...

नेहरु युवा केन्द्र, पटनाद्वारा युवा आवास, पटनामा 21 देखि 27 फरवरी 2013-मा आयोजित एनआइसी (नेशनल इन्टिग्रेशन क्याम्प)-मा भाग लिएको 6.5 वर्षपछि पुनः दोस्रो पटक पुगेको थिएँ पटना। यो शहरमा त्यसै पनि तापक्रम बढ्दो थियो। सूर्यले पखेटा पूरै खोलिसकेपछि त्यही नम्बरमा फोन लगाएँ, जुन नम्बरबाट फोन आएको थियो अघिल्लो बिहान अनि सोधिएको थियो- ‘कुन गाड़ी छ, कतिबजी आइपुग्ने?’ यतिबेला मोबाइल स्वीत अफ रहेछ। अध्यक्षलाई फोन लगाएँष रिसिभ भएन। दुई मिनटपछि ‘कल ब्याक’ आयो। आधा-एकघण्टापछि बल्ल हाम्रोअघि उभियो एउटा इनोभा। बलराम रहेछन् चालक। उनले फेरि अर्को उनोभामा म लगाएर अरूहरूलाई पठाइदिए लगभग 40 मिनटको दुरीमा रहेको ‘गुरुद्वारा गेस्टहाउस’-मा, जहाँ हाम्रो बस्ने व्यवस्था मिलाइएको रहेछ।

दिउँसो लगभग एकबजी पुनः सम्मेलन भवन पुग्यौं। दुई बजीदेखि कार्यक्रम थियो। बिहार हिन्दी साहित्य सम्मेलन स्थापनाको 100 वर्षको अवसरमा सम्मेलनले देशभरिका 100 युवा साहित्यकारहरूलाई सम्मान जनाइरहेको थियो। साथमा आयोजन गरिएको थियो कविगोष्ठी। पूर्वोत्तरको त्रिपुरा, उत्तरमा जम्मु-कश्मीर, पश्‍चिम भारतको गुजरात-राजेशथानदेखि दक्षिणमा अन्दामान टापुसम्मका साहित्यकारहरूको उपस्थितिले कार्यक्रम हल खचाखच थियो। केन्द्र सरकारको विधि मन्त्री श्री रविशंकर प्रसादको मुख्य आतिथ्यमा सम्पन्न भइरहेको कार्यक्रममा चाणक्य राष्ट्रिय विधि विश्‍वविद्यालयकी कुलपति न्यायमूर्ति श्रीमती मृदुला मिश्र, विश्‍वविद्यालय सेवा आयोग- बिहारका पूर्वाध्यक्ष प्रो. शशिशेखर तिवारी, प्रसिद्ध गीतकार प. बुद्धानाथ मिश्र आदिको विशेश उपस्थिति रहेको समारोहलाई स्वयं बिहार हिन्दी साहित्य सम्मेलनका अध्यक्ष डा. अनिल सुलभले अध्यक्षता गर्नुभएको थियो।

दुई सत्रमा विभाजित पहिलो दिन 11 अगस्तको पहिलो सत्रमा देशभरिका 100 युवाहरूलाई सम्मान जनाइएको थियो। बिहान सुनसान-सुनसान रहेको सड़क यतिबेला पार गर्नसम्म हम्मे-हम्मे पर्ने अवस्थामा थियो। वाहनहरूको असङ्ख्य आवात-जावत, दिक्कलाग्दो हर्न। टनटलापुर घाम र बहिरहेको तातो हावा। कोठामा ‘फेन’ चलिरहेकै थियो। बेला-बखत पानीका बपोतलहरू वितरण गरिँदै थिए। तर, जति पानी पियो, त्यति नै पसिना। सम्मानको कार्यक्रमपछि बेलुकी चारबजीदेखि सम्मानित कविहरूको ‘राष्ट्रिय युवा कवि सम्मेलन’ हुनुथियो। तर थोरै विश्रामपछि कवि सम्मेलन आयोजन गरियो। तर, धेरैले सुनाए कविता, थोरैले सुनाएनन्।

दोस्रो दिन हुनुथियो ‘राजभाषा सङ्गोष्ठी’। विषय थियो- ‘राजभाषा के संबंध में भारत के युवाओं का विचार’। त्यही दिन परेको रहेछ ‘ईद’। त्यसैले सङ्गोष्ठीको कार्यक्रम नहुने भएपछि आयोजक पक्षले सम्मानित युवाहरूलाई गुरुद्वाराको दर्शन गराउने र गुरुद्वारा समितिले सम्मानित युवा कवि-साहित्यकारहरूलाई सम्मान जनाउने योजना बनाइएको थियो। त्यसपछि भने आफ्नो सुविधाअनुसार सबैले आफ्नो-आफ्नो बाटो लिए। हामी धेरैजनामध्ये कसैको 13 अगस्तको बिहान उड़ान भर्नुपर्ने, कसैको त्यसैदिन बेलुकी। कसैको त्यसै दिन मध्यान्नको रेल चढ़नुपर्ने, कसैको भोलिमात्रै। दिल्लीबाट आएकी टीभी रिपोर्टर अंकिता रासुरीका मित्र अजय आनन्दले दिउँसै मात्र मेरो रेलटिकट गरिदिएका थिए, राति 11 बजीको। त्यसैले हामी घुम्न जानेभयौं। हामी अर्थात पोटबर अन्दामनका अभिशेख, जम्मूकी डा. भगवती वर्मा, छत्तीसगढञका जितेन्द्र (हाल-पटना), अरुणाचलकी तुम्बोम रिबा लिली र सिक्किमबाट म।

बिहानै मात्र गुरुद्वारदेखि पाँचमिनटको पैदल यात्रामा पुगेका थियौं गंगा नदीकिनार। डा. भगवती, रिबा लिली र महाराष्ट्रकी अर्चना पाठ्यासित चारजना थियौं। चित्तबुझिञ्जेली आफैआफैलाई र एकाअर्कालाई कैद गर्‍यौं मोबाइलमा। डा. अर्चना पाठ्या पानीसँग डराउने। तर, गंगास्नान गरिरहेकाहरूको बहकाईमा परेर गंगामा डुब्की लगाईन्। आउँदा ‘म पनि जान्छु’ भनेर रिबा लिलीको पछि लागेर आउने उनी निक्कै हतारमा थिइन्। भन्दैथिइन्- ‘जल्दी चलो, 9 बजे से कार्यक्रम है गुरुद्वारा मे’। तर, यतिबेला गंगास्नानले चित्त बुझाएकी थिइनन्। म उत्तरतिर लागेँ। फोटो खिचाएँ, खिचिदिने एक किशोरसित शेल्फी लिएँ। त्यतिकैमा भगवती र लिली मलाई खोज्दै आइपुगे। फेरि लियौं शेल्फी तीनजनाको। अनि हेर्‍यौं अर्चनालाई। देखिएनन् कतै। त्यहीबेला फोन आयो- ‘लिली मेडम, आप कहाँ हो? जल्दी आओ। मै वेट कररही हूँ। कपड़ा गिली पड़ी है...’ यस्तै के-के भन्दै थिइन् फोनमा। खासमा समस्या चाबीको थियो। चाबी लिली मेडमसितै भएको हुनाले फर्किनुपर्ने भयो। गंगादर्शनले हामी अघाएकै थिएनौं। भगवतीले आउँदैगर्दा छेवैको चियापसलमा ‘मटका’-मा चिया पिउने भनेकी थिइन्। सबै छोड़ेर लाग्यौं कोठातिर। बेलुकी पिउने भयौं चिया। अँ, गंगाजल ल्याउने मन थियो।

अँ, लिली र अर्चना दुवैले बिस्लेरीको बोतलमा ‘गंगाजल’ बोकिन्। चाहेर पनि मैले बोक्न सकिन। बोतलको व्यवस्था पनि गरिएको थिएन। गंगाकिनारमा फोटो खिचिरहेका समय देखियो- गंगामा मरेको ठूलो माछा भन्दैथिए अरूहरूले, मलाई कुनै ठूलो पशु मरेको लागिरहेको थियो। गंगासितै बगिरहेको त्यसैमाथि चढ़ेका कागहरू रमाइ-रमाइ त्यसैलाई खाइरहेका थिए। त्यतिबेला लागेको थियो- ‘यो पवित्र गंगाको पवित्र जल स्वच्छ, सफा पनि भइदिए...।’

कोठा पुगेर सिक्किमबाटै आएकी डा. छुकी लेप्चासित केहीबेर कुराकानी भयो। अघिल्लो दिन दिउँसै फर्किने भनेर कार्यक्रमबीचबाटै निस्किएका मेरो रूम पार्टनरको ‘वेटिङ टिकट’ थियो ‘कन्फर्म’ नभएपछि आजै बिहान मात्र निस्किसकेका थिए।

बिहान 9 बजीदेखि गुरुद्वारामा कार्यक्रम हुने तय थियो, भेला भइयो 10 बजीतिर। बल्ल बुझियो, खासै कार्यक्रम होइन रहेछ। उसो त पहिलो दिनको कार्यक्रममा पनि के नमिले-नमिलेजस्तो भइरहेको थियो। शिष्टाचार, अनुशासन, विधिविधान, नियम आदि कुराहरूबीच कता के नमिलिरहेको जस्तो। राष्ट्रियस्तरको यति ठूलो कार्यक्रममा औपचारिकताहरू कता-कता छुटेको हो कि जस्तो। दोस्रो दिन गुरुद्वारा अर्थात ‘पटना साहिब’-मा खासै कार्यक्रम होइन रहेछ। गुरुद्वाराको दर्शन गराइने रहेछ, गराइयो। प्रसाद खुवाइयो। भोजन गराइयो।

सन् 2002-मा पटियाला गएको समय थाहा भएको हो, गुरुद्वारामा प्रवेश गर्दा शिर छोप्नुपर्छ। रुमाल अथवा कुनै कपड़ा आफूसित छैनभने त्यसको व्यवस्था पनि त्यहीँ हुन्छ। जुत्ता-चप्पल राख्नलाई ‘टोक्कन सिस्टम’ हरेक गुरुद्वारामा हुन्छ नै। जुत्ता-तप्पल खोलेर गुरुद्वारा परिसरभित्र प्रवेश गर्नअघि हात-गोड़ा धुएर मात्र पस्न पाइन्छ। भोजनको समय लहरै बसेकै ठाउँमा एकजनाले कटौरा-थाल दिँदै जाने, अर्कोले कटौरामा पानी दिँदै जाने, एकजनाले दाल दिँदै जाने, अर्कोले ‘वाही गुरु’ भन्दै रोटी दिँदै जाने। यसपटक मात्र थाहा भयो, रोटी प्लेटमा होइन तर हातमा दिँदारहेछन्। हात दुईवटै नथापेसम्म रोटी नपाइने। दुईहात थापेपछि रोटी माथिबाट अलग्गै झारिदिने। त्यसो किन हो, बुझेको छुइन।

पटना सिटीमा अवस्थित यो गुरुद्वारालाई ‘पटना साहिब’-को नामद्वारा पनि चिनिन्छ। यही ठाउँमा शिखहरूको दशौं गुरु ‘गुरु गोविन्दसिंह’-को जन्म आजभन्दा 352 वर्ष पहिले भएको रहेछ। यही ठाउँमा उनको बाल्यकाल बितेको रहेछ। उनकै नाममा बनाइएको यो ‘पटना साहिब’ शिख धर्मको देशकै पाँच प्रमुख्य पवित्र स्थानहरूमध्ये दोस्रो मानिने यहाँ गुरु गोविन्दसिंहका कतिपय सामग्रीहरू अहिले पनि सुरक्षित छन्।

...

पहिलो दिनको कार्यक्रम सकेर आएपछि एकलै घुम्न पुगेको थिएँ गुरुद्वारा। त्यो कुरा सुनेपछि साँझमा डा. भगवतीले घुम्नजाने भनेकी थिइन्। मसँगै बस्ने झारखण्डका मित्रसित निस्किएँ घुम्न। यहीबेला डा. भगवतीको फोन आयो। गेटसम्म उनलाई लिन गएँ। हामी धेरैजसो घुम्न जाँदा फोटो खिच्न, रमिता हेर्ने र रमाउने गर्छौं। हामी तीनजना भएपछि एकफन्को घुम्यौं। त्यसपछि अरूसरह संगमरमर बिछ्याइएको फराकिलो मैदानमा बस्यौं गफ गर्न। तर उनीहरूबीच त्यहाँ केवल गफ थिएन। म हो-मा हो मिलाउँथेँ। उनीहरू तर्क गरिरहेका थिए ‘देशको जनजातिको समस्या’-माथि। चर्चा गरिरहेका थिए जनजातिको प्रकारलाई लिएर। चिन्तन गरिरहेका थिए समस्याका समाधानका उपायहरूमाथि। एकजना थिए झारखण्डको मूल जनजातिबाट, अर्की थिइन् जनजातिमाथि अध्ययन गरिरहेकी एसिस्टेन प्रोफेसर। सानामा आमाले ‘सङ्गतगुणाको फल’ भन्नुहुन्थ्यो। यतिबेला आमाको सम्झना आइरहेको थियो।

‘हाँ यार, जाना तो है। गेट मेंगाड़ी आने से ना हमें फोन कर दो...’ भनिरहेकी थिइन् डा. भगवती। ‘तुम भी तो जाओगे ना..?’ सोधेकी थिइन् मलाई। हिँजैदेखि ‘सोचेजस्तो केही भएन’ भनेर अल्सी गरिरहेकी थिइन्। मैले पटना सिटी वरिपरि गान्दी मैदान, गोलघर, साइन्स म्युजियम, बुद्ध पार्क आदि धेरै घुम्ने स्थानहरूको जानकारी गराएको थिएँ। त्यसैले घुम्ने सल्लाह पनि भइसकेको थियो। उनले साथीहरूलाई भनेर सबै व्यवस्था पनि गरिसकेकी रहेछ।

...

नालान्दा-

यतिबेला हामी खासै कहाँ जाँदैछौं भन्ने आन्दमनका डी. अभिषेख र पटनाका जितेन्द्रलाई मात्रै थाहा थियो। तापमान कति छ भन्ने हामीलाई ज्ञान छैन, तर ‘टाटा न्यानो’-मा चढ़ेर गुड़िरहेका हामी सबैलाई नै निक्कै गर्मी भइरहेको थियो। न्यानोको एसीले काम नगरेपछि ऐना नखोली भएन। पसिना पुछेर-पुछेर रुमाल ठ्वास्स गनाउने भइसकेको छ। लम्पसार सड़कमा तीव्रगतिमा गुड़िरहेछ हाम्रो वाहन। ‘पानी परे पनि हुन्थ्यो’ भन्ने लागिरहेको बेला झण्डैझण्डै नालान्दा जिल्ला प्रवेश गरिसकेका थियौं। त्यहीबेला निक्कै अगाड़ि सड़कमा पानी देखियो। पानीमा अघि बढ़िरहेका वाहनहरूको छाता देखिन्थे। वाहनको पछिल्तिर बलेको रातो ‘ब्रेक लाइट’ टल्किरहेको थियो पानीमा। पानी परिदिए त मौसम शितल हुन्छ भन्ने लागिरहेको समय मनमा खुशी लाग्यो। डा. भगवती के-के के-के सन्दर्भ झिकेर बोलिरहने, अक्स कनेक्शनद्वारा मोबाइलका गीतहरू सुनाइरहने अनि ‘कैसा है?’ प्रतिक्रिया मागिरहने। पानी देखेर पहिला डा. भगवती नै बोलिन्- ‘देखो देखो यार, सड़क पे पानी...!’ यस्तै के भनेकी थिइन्। अभिषेखले ‘त्यो पानी होइन’ भन्ने बताएपछि ‘के हो त?’ त्यसमा हाम्रो जिज्ञासा थियो। सायद जितेन्द्रले होला ‘चर्को घाम लागेका कारण तात्तिएको सड़मा घामको किरणले त्यस्तो देखिएको’ स्पष्ट बताए। नभन्दै हामी त्यहाँसम्म पुग्दा थिएन पानी। तर, अघिका वाहनहरूलाई अझै अगाड़ि हेर्दा त्यस्तै पानी देखिन्थ्यो। मनमा लागेको अलिकति खुशी हाम्रो मनैमा सेलायो।

जल मन्दिर, पावापुरी ः

बल्ल थाहा भयो, हामी नालान्दाको प्रसिद्ध पावापुरी जाँदैथियौं, जहाँ जैनधर्मावलम्बीहरूको ‘जैन मन्दिर’ थियो। पुग्दा मलाई अमृतसरको सम्झना गरायो, परैबाट टलक्क देखिने सेतो। ठ्याक्क त्यस्तै देखिने। माझमा मन्दिर, वरिपरि पानीले छेकेको। अथवा पोखरीमाझ मन्दिर। तर यहाँ पानी रहेन छ, नजीक पुगेर थाहा भयो। टनटालापुर घामले वाहनबाट बाहिर ननिस्कौं लाग्ने। देख्यौं, मन्दिरको जुन सुन्दरता हुनुपर्ने त्यो थिएन। पोखरीमा ‘लोटस’ झ्याँगिएर ‘झोड़ी’ नै देखिने। राजगीर र बुद्धगयाको नजीक मानिने पावापुरीलाई जैन धर्मावलम्बीहरूको अत्यन्त पवित्र शहर पनि मानिन्छ। यही ठाउँमा भगवान महावीरले ई.पू. 572 तिरै 72 वर्षको उमेरमा ‘मोक्ष’ प्राप्त गरेका थिए भन्ने स्थानीय लोकविश्‍वास छ। यस स्थानलाई लिएर जैन तथा बौद्ध धर्वावलम्बीहरूबीच आ-आफ्नै मान्यता रहेको पाइन्छ। जैन-जल मन्दिरको अघिल्तिरसम्म नै पुगेको छ सड़क। गेट छिर्नेबित्तिकै मन्दिरसम्म पुग्ने 600 फीट लामो पुल छ। भनिन्छ, यो पुल मन्दिर बनाइँदा केवल बालुवा र ढुङ्गाले बनाइएको थियो। जम्मा 17 ऐकरको फराकिलो स्थानमा रहेको यो मन्दिरको वरिपरि पहिले पानी-पानी हुने गर्थ्यो र पानीमा कमल फुल्नेगर्थ्यो भन्ने धेरैले सुनाउँछन्। तर, अहिले त्यो सबै देख्न सकिन्न। सरकारको नजर नपुगेको हुनसक्छ अथवा मन्दिर सञ्चालन समिति सक्रिय नरहेको हुनसक्छ। पुल तरिसकेपछि जुत्ता खोल्नुपर्ने। त्यसो हुँदा मन्दिर वरिपरि ओछ्याइएको सङ्गमरमर घामको तापले केट्नसम्म गाह्रो थियो। तर मनमा एकप्रकारको आनन्द आएको थियो मन्दिर प्रवेश गरिसक्दा। केहीबेर बसेपछि निस्कियौं।

नालान्दा विश्‍वविद्यालय खण्डहरः

जैन मन्दिरको दर्शनपछि हाम्रो योजना थियो नालान्दा विश्‍वविद्यालय खण्डहर हेर्ने। पावापुरीदेखि 20-30 किलोमिटर टाड़ा। 12-15 किलोमिटर परदेखि बाटो छुट्टिँदैथियो नालान्दा जाने कि आएकै बाटो फर्किने भनेर। झण्डै 10-12 किलोमिटर पर पुगिसकेपछि लिलीलाई फोन आयो। समस्या हिजोकै थियो, चाबी। घुम्ने योजना मिलिसक्दा हामी पाँचजनाको टोली भइसकेका थियौं। त्यसैर पनि अर्चना पाठ्यालाई साथमा ल्याउन सकेका थिएनौं। साथीहरूले ‘बजार घुम्न गएको’ भनिदिएका थिए। यतिबेला सबै अरकच्च परेका थियौं। गाड़ी गुड़िरहेको छ। उता अर्को चाबीको व्यवस्था गरिरहेका थिए लिली र भगवती। फर्किनै पर्ने भएपछि नालान्दा हेर्ने रहर मेटायौं। दोबाटो छोड़िएको पनि झण्डै सायद 10 किलोमिटरजति भएको थियो। चाबी भेटिएको खबर आयो। फेरि अर्को दजोधार। अन्तमा गाड़ी घुमायौं नालान्दातिर।

मूलद्वारअघि पुग्न पाएका थिएनौं- गाइडहरू निस्किए खरिजुकासरह। हामी गाइड नलिनेपक्षमा। उनीहरू भनिरहेका थिए- ‘यहाँको इतिहास हामीलाई थाहा छ। यहाँ भएका भित्ता-पर्खालहरू निर्जीव छन्, निस्प्राण छन्। बोल्दैनन्। तिमीहरूलाई के बताउँछन् यहाँको इतिहास...।’ टिकट लियौं चालीस रुपियाँ प्रतिव्यक्ति अनि हामी प्रवेश गर्‍यौं। प्रवेशद्वार मै लेखिएको थियो ‘नालान्दा विश्‍वविद्यालय खण्डहर’। गयादेखि 83 किलोमिटर टाड़ा रहेको यो खण्डहरू राजगीरदेखि 11 किलोमिटरको दुरीमा अवस्थित छ। प्रवेश गरिसक्दासम्म यसको महत्व नबुझेको मेरो निम्ति प्रवेशद्वारमा गाइडहरूले भनेकै सम्झना आइरहेको थियो। साँच्चै निर्जीव-निस्प्राण भित्ता-पर्खालहरूले के बताउँदारहेछन् र आफ्नै इतिहास। तर, ठाउँ-ठाउँमा लेखिएका थिए सङ्गमर्मरको त्यहाँका इतिहास। पढ़िरहने समय थिएन। मोबाइलमा क्याप्चर गरी बोकेँ।

त्यहाँ घुमिरहेका समय बुझ्न नसकेपनि नालान्दा विश्वविद्यालयको अवशेषहरू हेर्नसक्यौं। जलेर उजाड़ भएपनि हामी रमिरहेका थियौं त्यहाँ। त्यसैर त फोटि खिचिरहेका थियौं। कुनै समय भारतीय शिक्षाको क्षेत्रमा सर्वाधिक महत्वपूर्ण मानिने विख्यात केन्द्र थिएछ नालान्दा विश्‍वविद्यालय। ईसापूर्व 450-470 को बीचका सम्राट कुमारगुप्त प्रथमले यसको स्थापना गरेका थिए भन्ने जानकारी अहिले पनि लिनसकिँदोरहेछ। चारैतिर रात्तै (इँटैइँटाको)-पर्खाल। जता हेर्‍यो उस्तै। जता गयो त्यतै साना-साना कोठा। एशीयाका तीनवटा प्रमुख विश्‍वविद्यालयमध्ये तकशिला (हाल- रावलपिण्जी, पाकिस्तान) बाहेक विक्रमशिला (भागलपुर) र नालान्दा विश्‍वविद्याल (नालान्दा बिहार) तेस्रो सर्वाधिक ठूलो विश्‍वविद्यालय मानिन्छ, जसले 10 हजार विद्यार्थी अध्ययन गर्ने क्षमता राख्दछ भने त्यस समय दुईहजार शिक्षक-शिक्षिका थिए। नालान्दाको अर्थ हुन्छ ज्ञान दिनु। अथवा जसले ज्ञान दिन्छ, उसलाई नालान्दा भनिँदोरहेछ। 10 किलोमिटरको लम्बाई र 5 किलोमिटरको चौढ़ाईको क्षेत्रफलमा फैलिएको नालान्दा विश्‍वाविद्यालय विश्‍वकै पहिलो विश्‍वविद्यालय मानिन्छ। त्यो समय तकशिलासितै तीनवटै विश्‍वविद्यालय भारतमा पर्दथ्यो।

स्थापनादेखि सातसय वर्षसम्म सञ्चालित नालान्दा विश्‍वविद्यालयमाथि अफगानिस्तानले आक्रमण गरेको इतिहास छ। त्यही आक्रमणमा जलेको यो विश्‍वविद्यालयलाई पछि भुइँचालोले पूर्णरूपमा क्षतिग्रस्त पारेको थियो। त्यसपछि त माटोको पहाड़ नै बनेको रहेछ, जहाँ स्थानीयहरूले खेतिसम्म गरेको थाहा पाउनसकिन्छ। पछिबाट पुरिएको विश्‍वविद्यालयको भू-भागलाई खनेर एककिलोमिटरसम्म निकालियो। अहिले देखिने भनेको पनि त्यतिमात्रै नै हो। भनिन्छ, अफगानिस्तानको आक्रमणमा परेर लागेको आगो 6 महिनासम्म रहेको थियो। अहिले पनि त्यहाँका भित्ता (देवल)-हरूमा काटो टाटाहरू देखिन्छन्। साउण्डप्रुफ कोठाहरू रहेको यो विश्‍वविद्यालयमा त्यस समय रहेको ‘माइका स्टोन’ अहिले पनि देख्न सकिन्छ, जुन स्टोन रातको समय जूनको प्रकाश फ्याँकेर उज्यालोको निम्ति प्रयोग गरिन्थ्यो भन्ने धेरैको भनाइ छ। पानीको निम्ति बनाइएको कुवा अहिले पनि सुक्खा अवस्थामा यथावत छँदैछ। त्यो समय कागजको आविस्कार नभए पनि ताम्र-पत्र आदिको 3 वटा पुस्तकालय यही विश्‍वविद्यालयमा थिएछन्। सुनियोजित नरहे पनि यी सबै कुराहरू हेर्ने एउटा सुनौलो अवसर पाएका थियौं हामीले।

सबैभन्दा रमाइलो पक्षभनेको हामी पाँच अलग-अलग राज्यबाट पहिलोपल्ट पाँचैजना एकसाथ थियौं। तर, हामी पहिलोपल्ट अचानक एकसाथ घुम्न निस्केका हौं भन्ने किन्चित अनुभव गरेका थिएनौं। बाटोमा रमाइरहेका थियौं। आफ्नो-आफ्नो ठाउँको आफ्नो-आफ्नो अनुभव सुनाइरहेका थियौं। बेलुकी सायद चार बजीतिर हुनुपर्छ, फर्कियौं। पटना सिटीनजीक पुगेर सँगै डिनर गरेपछि छुट्टै सल्लाह थियो। बाटैमा रोकियो हाम्रो वाहन। पस्यौं होटल। तर डा. भगवतीले कानेखुसी गरिन्- ‘यहाँ ठीक छैन।’ निस्न्यौं सबै। बाटोमा बताइन्, त्यहाँ लुकिछिपी मादक पदार्थ विक्री गरिँदो रहेछ सायद। अँ, एउटा कुरा, पटनामा कतै पनि ‘लिक्वेर शप’ देखिएनन्। बिहारमा कसैले लुकेर बेचेको भेट्टाएको खण्डमा पनि कानुनी कार्वाही गरिँदो रहेछ। बल्ल एकठाउँ सबैको चित्तबुझ्दो होटल भनेर पस्यौं। निस्किँदा कसैको पनि अनुहार उज्यालो थिएन। एउटा कारण थियो- सरसफाइमा कमी। सरसफाईमा भने बिहार अहिले पनि साँच्चै पछि परेको देखिन्थ्यो।

राति गाड़ीको समस्या थियो मेरो लागि। जितेन्द्रले यो समस्या पनि समाधान गरिदिए। उसैको गाड़ीमा राजेन्द्रनगर स्टेशनसम्म पुर्‍याइदिएका थिए। अहिले पनि सम्झिरहेको छु त्यो पटनाको दोस्रो यात्रा, पहिलोपल्ट भेटेका लिली, भगवती, अभिशेख र जितेन्द्रलाई।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।