गजे घलेको टोप र जगदीशचन्द्रको टाउको

नियात्रा नारायण मरासिनी May 23, 2021, 2:07 am

नारायण मरासिनी
नारायण मरासिनी
‘गजे घलेको टोप र जगदीशचन्द्रको टाउको’, साहित्यकार मोदनाथ मरहट्टाको मुखबाट निस्केको यस बिम्बले यात्राको अन्तिम क्षणसम्म पनि मलाई रन्थन्याइरह्यो । कति राम्रो बिम्ब जुराउन सके मरहट्टाले ! आँबुखैरेनीको साहित्यिक गोष्ठीमा जुराएका हुन् उनले यो बिम्ब । जगदीशचन्द्र भण्डारीले जब आफ्नो टाउकाबाट क्याप हटाए त्यति नै बेला फुत्त निस्केको थियो यो पदावली मरहट्टाको मुखबाट । एउटाको हातबाट उम्केको माछो पछि जसले समात्यो उसैको हुन्छ भन्थ्यौँ हामी बाल्यकालमा दुवाली थुनेर माछा मार्ने क्रममा । मैले दह्रैसँग समाएँ मरहट्टाको मुखबाट निस्केको यो बिम्ब । जगदीशचन्द्रको खुइलो टाउको र भोलिपल्ट जाने भनिएको वारपाक गाउँ जुन सर्वप्रथम भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गजे घलेको जन्मस्थल हो, त्यही परिवेशलाई दिमागमा ल्याएर जुराएका थिए उनले यो बिम्ब । ब्रिटिस साम्राज्यको हितमा आफ्नो बैँसको लगानी गरेका गजे घले आज त्यस गाउँमा छैनन् । यद्यपि वारपाकीहरूको मानसपटमा उनको तस्बिर जीवितै छ । र हामी गजे घलेको जन्मथलो हेर्ने रहरले हौसिएका छौँ ।

मलाई यात्राको आरम्भदेखि नै नियात्रा लेखनले कुत्कुत्याएको थियो । शीर्षकको प्रसव पीडामा थिएँ म । जुराउन त मैले पनि जुराएको थिएँ लाप्राकबाट वारपाक फर्कने क्रममा ओरालो झर्दै गर्दा ‘लाप्राकको बाटामा धुलो उडाउँदै ।’ मलाई यो शीर्षक कतैबाट प्रभावित जस्तो लागेकाले फेरि अर्को जुराएको थिएँ, ‘मेरो पिँडुलाको मासु र मित्रलालका खुट्टा ।’ ओरालो झर्ने क्रममा हामी नौ जना जगदीशचन्द्र भण्डारी, ताराकान्त पाण्डेय, कृष्णराज अधिकारी, मित्रलाल पंज्ञानी, गोपालबाबु मरहट्टा, भीम रानाभाट, अनिल श्रेष्ठ, खगेश्वर सापकोटा र यो पंक्तिकार थियौँ । लाप्राकबाट वारपाक झर्ने क्रममा बुङबुङ्ती उडेको धुलो देखेर पहिलो शीर्षक जुराएको थिएँ । दोस्रो शीर्षकका सन्दर्भमा भने पातलो पातलो कदका सुइखुट्टे मित्रलाल अगाडि अगाडि निकै फूर्तिफार्तीका साथ हिँडिरहेका थिए, तर म चाहिँ हिँडाइ बढी भएकाले पिँडुला र तिघ्राको मासु दुखेर पछाडि पछाडि लखरलखर तानिएको थिएँ । मलाई आफैले जुराएका दुवै शीर्षक त्यति चित्तबुझ्दा लागेनन् र जे पर्ला पर्ला, परेको बेहोरुँला भन्ने मनसायले मरहट्टाको पदावलीलाई जस्ताको तस्तै राखिदिएँ । बसाइका क्रममा चितवन झरिसकेका मरहट्टामा बुढेसकाल लागे पनि गोर्खाली तागत चाहिँ घटिसकेको छैन तर पनि मलाई चोरीको बात लगाउन सक्दैनन् भन्नेमा म ढुक्क छु ।

मेरो यस यात्रारम्भको गन्थन पोखराबाटै सुरु गर्नु उपयुक्त हुन्छ । अधिकांश साथीहरूले यात्रारम्भ काठमाडौँ, चितवन, तनहुँ र गोरखैबाट गरे पनि मैले चाहिँ पोखराबाट गरेको थिएँ । पोखराबाट कृष्णराज अधिकारी, भीम र परशुरामको साथमा थिएँ म । यात्राको अवसर जुराइदिएको थियो ‘आँबुखैरेनी स्रष्टा समाज’ले र व्यवस्थापनमा दौडधुप गरेका थिए मोदनाथ ।

२०७७ सालको अन्तिम महिना चैतको मध्य समय । आकाश निकै धमिलो थियो । तुवाँलो दुई÷चार दिन पहिलेदेखि नै भरिएको थियो । एकातिर दलीय राजनीतिक वातावरणले जनमानसलाई असर पारिरहेको समय थियो भने अर्कातिर आकाशमा भरिएको तुवाँलाले पनि बस्ती बस्तीहरूलाई नै ढाकेको अवस्था थियो । एकाबिहानै पोखराबाट हिँड्दा राजमार्ग छेउछाउका घरहरू त्यति उज्याला देखिएका थिएनन् । घामको रातो टाटो पनि सहजै दुबै आँखाले देख्न सकिन्थ्यो । आँबुखैरेनी पुग्दा साढे दस बजेको थियो । हामीले खाना खाएपछि कार्यक्रम सुरू भयो । आँबुखैरेनी स्रष्टा समाजद्वारा कवि मित्रलाल पंज्ञानी, हास्य कलाकार रमेश केसीलगायतलाई सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथि थिए प्रा.डा. जगदीशचन्द्र भण्डारी । विशेष अतिथि थिए प्रा.डा. ताराकान्त पाण्डेय, गाउँपालिकाका प्रमुख वीरबहादुर थापा र डा. कृष्णराज अधिकारी । सोही अवसरमा विमोचन गरिएको थियो सानुकाजी थापाको पुस्तक ‘अनावरण’ ।

साँझपख काव्य सन्ध्याको चाँजोपाँजो मिलाए अनिलले । राजमार्गको भित्तामा थियो होटल शुभकामनामा । मस्र्याङ्दी नदीतिर फर्केर बसेको होटल । त्यसैको सभाकक्षमा हामी बिस जना जति कविले रचना वाचन गरेका थियौँ । हाम्रा लागि खाने र सुत्ने व्यवस्था पनि त्यहीँ नै थियो । भोलिपल्ट बिहानै सात बजेबाट यात्रा आरम्भ गर्ने योजना बनाएर हामी सुत्यौँ । भोलिपल्ट यात्रामा सहभागी हुन आउनुभयो चुम्लिङटारबाट कवि कृष्णप्रसाद पोखरेल र तेजविलासको जोडी । यसरी नै दमौलीबाट जोडिन आइपुग्यो आकाश अधिकारीको जोडी पनि । जोडीकै कुरा गर्दा त्यहाँ ताराकान्त पाण्डेय, मित्रलाल पंज्ञानी, अनिल श्रेष्ठ र गणेशकुमार श्रेष्ठको पनि जोडी नै थियो । शिला योगी जो ताराकान्तकी जीवनसँगिनी हुन्छ उहाँ कवि प्रतिभाका रुपमा पनि परिचित हुनुहुन्छ । हिजै दिउँसो आइपुग्नुभएको थियो काठमाडौँबाट गौरी देवकोटा । चितवनबाट सिर्जन अबिरल र अम्बिका मुडभरी ।

हामीले बिहान सात बजे नै छाड्यौँ आँबुखैरेनी । खगेश्वर सापकोटा जो लाप्राकमा पढाउनुहुन्थ्यो, उहाँले गाइडको काम गर्नुभएको थियो । गाइड गर्ने काममा अर्का सहयोगी थिए गोपालबाबु मरहट्टा । १२ किलोमा चिया पिएपछि गोरखा बजारतिर नउक्ली हामी दरौंदीको किनारतिर झर्यौँ । गोरखा नगरपालिका काटेर दरौंदीको किनारैकिनार केही भाग पालुङटार नगरपालिकाको बाटो गुड्यौँ । छेपेटारबाट गाडीले धुलो उडाउन सुरु गर्यो । के बिहान, के दिन उस्तै थियो तुवाँलो । च्याङ्लीटारमा चैते धानले मुन्टो उठाउन थालेको रहेछ । आकाशमा प्रदूषण व्याप्त भए पनि त्यस टारमा चाहिँ केही हरियाली देख्न पाउँदा मनलाई थोरै भए पनि शीतलता मिल्यो । आकाशमा देखिएको घुर्मैलो घामको टाटो हेर्दै सिरानचोक गाउँपालिका, चोरकाटे पुगेपछि बसबाट ओर्लेर मरहट्टाले देखाए सुरेश वाग्ले ‘वासु’ले सशस्त्र युद्धका क्रममा सहादत प्राप्त गरेको ठाउँ ।

अमरसिंह थापाको गाउँ सिरानचोक, हामी दरौँदीको किनारैकिनार अगाडि बढ्यौं । जति अगाडि बढ्यो उति नै अग्ला अग्ला पहाडहरू आउन थाले । गजधुम्म परेर बसेका छन् पहाडहरू । हामी दुई पहाडको बिचबाट गुडिरहेका छौँ, विपरीत दिशातिर बगिरहेको छ दरौँदी । बाटो साँघुरो र ठाउँ ठाउँमा भत्केको, कतै कतै त मर्मतको काम पनि चल्दै रहेछ । यसै बिचमा हामीसँगै सामेल छन् वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट र उनकी जीवनसँगिनी पनि ।

दरौंदीको दुबै किनारमा सालघारी । सुलिकोट र वारपाक दुवैतिर उस्तै जङ्गल । चैतको उराठिलो महिना । सालका पातहरू पहेंलिएर झर्दै गरेको अवस्था । कतैकतै चिलाउनेका रूखहरू । चिलाउनेका रूखमा भने नयाँ पातहरू पलाउन थालेका यद्यपि पुराना पातहरू पनि केही बाँकी नै रहेका । वनमा ठाउँ ठाउँमा आगाको लप्को र धुवाँको मुस्लो देखिएको । डढेलाका कारण तुवाँलालाई धुवाँले पनि मजैले साथ दिएको थियो । वातावरण हेरिनसक्नुको दूषित । डढेलो लागेका ठाउँमा रूखहरू सिख्रा देखिन्थे ।

पारि सुलिकोटको पाखामा काला पत्थर र पहराहरू । त्यस भिरपहरामा लागेको आगोसँगै जलिरहेको थियो मन । यी र यस्तै विभिन्न ठाउँका डढेलाको कारण हुन सक्छ बाटाभरि भरी तुवाँलो बाक्लिएको थियो । भर्खरै पहिलो लटको कोरोना केही मत्थरिएको तर पनि सन्त्रास बाँकी नै थियो मन मनमा, हामी सतर्क थियौँ । मास्कले अनुहार ढाके पनि मन ढाक्न सकिरहेका थिएनौँ । मन प्राकृतिक परिवेशको विचरणमा रूमल्लिइरहेको थियो । झ्यालको सिसाबाट आँखाहरू बाहिर दौडिरहेका थिए । हरियाली जल्दै गरेको देख्दा हामी यात्रीहरूको मन पनि सँगसँगै जलिरहेको थियो ।

अगाडि बढिरहेका छौँ हामी । यसै बीचमा बाटो छेउमा स–साना बस्ती र बस्ती बिचमा केही भट्टीहरू पनि देखिए । एक्लेटार खानेपानी आयोजना हुँदै अगाडि बढ्ने क्रममा मैले दरौँदीमा बगिरहेको पानीमा पनि आँखा पुर्याएँ । पानी कञ्चन थियो यद्यपि दरौंदी मेरै गाउँमा बग्ने ज्याग्दीभन्दा पनि सानो लागिरहेको थियो मलाई । हामी दरौँदीको सिरानतिरै पुगेकाले पनि हुन सक्छ पानीको मात्रा कम भएको ।

अजिरकोटको बाटो र सालघारीको प्रकृति पनि उस्तै थियो । उसै गरी सालका पात पहेँलिएका र ठाउँठाउँमा डढेलो पनि लागिरहेकै । हामी दरौँदी छाडेर बालुवा हुँदै अगाडि बढ्यौं । वारपाक सुलिकोट गाउँपालिकाको भूगोल यहीँबाट सुरू भयो । पहाडको घाँचमा केही तेर्सिएपछि हामी राङरूङ खोला तरेर वारपाकको उकालो ठडिने तरखरमा लाग्यौँ । ढलान गरिएको ठाडो उकालो बाटो, छोटाछोटा घुम्ती । मान्छे पैदलै हिँड्दा पनि डर लाग्ने बाटो । हामी गाडीमा छौं । ठाउँ ठाउँमा पहरो काटेर बनाइएको छ बाटो । कतिपय ठाउँमा त पहिराको कारण बाटाको निशाना पनि हराउँदै गएको थियो । घुम्तीमा ब्याक गरेर पुनः अगाडि बढाउने गर्थे ड्राइवर दाइ । तलतिर छङ्गाछुर भिर । निकै तल देखिन्थ्यो खोलो । विस्तारै उकालिएका थियौँ हामी ।

वारपाक गाउँको नजिकै पुग्दा अध्यक्ष भट्टले गाडी रोक्न लगाए । हामी झर्यौँ । उनले चोर औँलाले सुलिकोटको जङ्गल देखाउँदै भने, ‘त्यही ठाउँ हो भूकम्पको इपि सेन्टर ।’ २०७२ सालको विध्वंशकारी भूकम्पको केन्द्रविन्दु । त्यही ठाउँबाट तरङ्गिएको थियो ध्वंश । मस्तिष्कमा पाँच वर्षपहिलेको नमिठो याद तरङ्गियो । हजारौँ नेपालीको ज्यान लिएको त्यस भूकम्पको उद्गमस्थल हेरेपछि हामी पुनः बसमा चढ्यौँ । अब भने हामी वारपाकको नजिकै आइपुगेका थियौँ ।

गाउँको बिचैमा रहेछ बसपार्क । हामी १२ बजेतिर पुग्यौँ । होटलमा पोकापन्तुरा बिसाएर जिउको धुलो टकटक्याउन थाल्यौँ । पानी लगाएर पुछ्यौं पनि । लेकको पानी चैतमासमा पनि निकै चिसो थियो । खाना खाँदै गर्दा देखेँ मैले होटलको सामुन्नेमै थियो हिमालय मा. वि. । होली रहेछ आज । केटाकेटीहरू रङ छ्याप्दै दौडिरहेका थिए । बिदाको दिन हुनाले वारपाक घुम्न आउनेहरूको पनि उत्तिकै भिड थियो । भात खाएर उठ्दा मध्यान्हको एक बज्यो । साँझपख यहाँ एउटा साहित्यिक कार्यक्रम गर्ने उद्देश्य राखेका छौँ हामीले । यही बिचमा हामी समय लिाएर लाप्राक पुग्न चाहन्छौँ । त्यहाँको पुनर्निर्मित गाउँ हेर्ने रहर छ । भूकम्पबाट बेघरबार भएकाहरूका लागि एनआरएनको सहयोगमा बनेको नयाँ बस्ती हेर्ने चाहना पलाएको छ हामीमा ।

वारपाक गाउँ निकै ठूलो रहेछ । घरहरू गुजुमुज्ज परेका । भूकम्पपछि पुराना घरहरूको संरचना देख्नै मुस्किल । कताकति मात्रै रहेछन् पुराना घर । अहिले त पुनर्निर्माणका क्रममा धेरैले सिमेन्टेड घर बनाएछन् । सायद नेपालको सबैभन्दा ठुलो गाउँ नै वारपाक हो । बाह्र\तेह्र सय घर एउटै गाउँमा ! घले, गुरुङ र दलितहरूको बस्ती रहेछ वारपाक । ब्रिटिस र इन्डियन लाहुरेहरूको गाउँ । अघाउन्जेल हेर्ने मन छ हामीलाई ।

खाना खाएपछि हाम्रो मन लाप्राक पुगिसकेको छ तर पाइलाहरू वारपाकबाट चलिसकेका छैनन् । जीप पाउन मुस्किल छ आज । यात्रुहरूको भिडभाड छ । गाडीका ड्राइवरहरू होली मनाइरहेका छन् । हिँडेरै गए पनि बेलुका अबेलासम्म त फर्किन सकिन्छ वारपाक तर ठाडो उकालाका कारण कोही पनि हिँड्नका लागि तयार छैनौँ । फेरि पाँच बजेबाट साहित्यिक गोष्ठी गर्ने भनेर हामीले योजना बनाएका पनि छौँ । सवारी साधनको जोहो गर्दागर्दै दुई बज्यो । बल्लतल्ल दुईवटा जीप मिले । हामी वारपाक छोडेर लाप्राकतिर उकालियौँ । धुलौटे बाटामा धुलो उडाउँदै जीपहरू घिस्रिन थाले । वारपाक माथिको थाप्लामा पुगेर बसे दुइटै जीप ।

अहो कस्तो सुन्दर दृश्य ! एकातिर वारपाक सुलिकोटको भूगोल, अर्कातिर धार्चे लाप्राकको भूगोल । वरिपरि चारैतिर लालीगुराँसको जङ्गल । सिङ्गो पहाड नै लालीगुराँस फुलेका कारण राताम्य । कतै कतै बिच बिचमा लालीगुराँसका सेता फूलहरू पनि देखिए । यसपछि हामी पैदलै हिँड्यौँ । एनआरएनले बनाएको नयाँबस्तीतिर लाग्यौँ । चिटिक्क परेका ससाना घरहरू, एउटै आकारप्रकारका पाँच सयजति घर । नयाँ बस्तीमा बसोबास भइसकेको रहेनछ । त्यस बस्तीभन्दा केही तल पुगेर हेर्यौँ हामीले लाप्राक गाउँ । समयले साथ नदिने हुँदा हामी गाउँमै पुग्न सकेनौँ तर पनि माथि डाँडाबाट अघाउन्जेल हेर्यौँ लाप्राक ।

लाप्राकको पुरानो बस्तीमा खेतीपाती गर्नका लागि केही जग्गाजमिन थियो । नयाँ बस्तीमा खेतबारी केही थिएन । खेती गर्नका लागि तल पुरानै ठाउँमा झर्नुपर्ने । पाइपातका लागि असजिलो हुने हुँदा लाप्राकीहरू नयाँ बस्तीमा सर्न गाह्रो मानिरहेका । ठाउँ सुन्दर भएर के गर्नु, मुखमा माड लगाउनै पर्यो । पसिना पोख्ने जमिन नभएका कारण लाप्राकीहरूका लागि नयाँ बस्ती ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ बन्न पुगेको गुनासो पनि सुनेँ मैले ।

लाप्राकबाट फर्कने क्रममा हामी नौ जनाले स्थानीय यात्रुलाई आफ्नो सिट छाडिदियौँ र ओरालो बाटो पैदलै हिँड्यौँ । मरहट्टा हामीसँगै लाप्राक गएका थिएनन् । उनी पहिले पनि पुगिसकेको ठाउँ भनेर बेलुकाको कार्यक्रमको तारतम्य मिलाउनका लागि वारपाकमै बसेका थिए । दुईतिनपटक फोनमार्फत ढिला भयो भनेर उनले हामीलाई ताकेता गरिरहेका थिए । हामीलाई ओरालो झर्नै दुई घन्टा लाग्यो । जीप चढेर झर्नेहरू पनि हामीभन्दा पन्ध्र\बिस मिनेट अगाडि मात्र ओर्लेका रहेछन् । थाकेर लखतरान । रात ओर्लिहाल्यो । अब केको कार्यक्रम गर्नु नि ! हामी खाना खाएर बिछ्यौनातिर लाग्यौँ ।

म सुतेकै कोठामा परशुराम, सिर्जन, तेजविलास र आकाश मिलेर कविताको दोहोरी खेल्न थाले । तिनीहरू पैदल नहिँडी जीपमा झरेका, त्यति थाकेका थिएनन् तर म भने ओरालामा पैदल झर्ने क्रममा खुट्टा खाँदिएर निकै थाकेको थिएँ । अबेलैसम्म चल्यो दोहोरी । मलाई भने निद्राले झुपुझुपु बनाइरहेको थियो ।

भोलिपल्ट बिहान उठ्नासाथ चिया पिएर बाटो लाग्यौँ । फर्कने क्रममा सौरपानीको फाँट हुँदै मध्यपहाडी लोकमार्गमा गुडेर घ्याम्पेसाल भई गोरखा बजार निस्कने योजना बनेको रहेछ । हामी ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ भने झँ पालिका अध्यक्षले जता जता भन्छन् त्यतै त्यतै गुडिरहेका थियौँ । राङरूङ खोला हुँदै बालुवाबाट केही तल झरेपछि बसले हिजो आएको बाटो छोड्यो । सुलिकोटको उकालो चढ्न भनेर बस दरौँदीलाई छाडी पाखातिर लाग्यो । बाटाको हालत उस्तै । कच्ची बाटो ।

हामी सौरपानीको फाँट हुँदै सीता गुफा हेर्न पुग्यौँ । स्थानीय बासिन्दाहरूका अनुसार यो गुफा निकै लामो छ तर हामी भने मुखबाट दस÷पन्ध्र मिटर जति मात्रै भित्र पुगेर फक्र्यौं । भित्र बत्तीको व्यवस्था रहेनछ, मोबाइल उज्यालाको सहाराले गुफाभित्रका केही स्थलाकृतिहरू हेरेका थियौँ । गाडी घरि गाउँ त घरि सालघारीको बाटो हुँदै उक्लन थाल्यो । कतै कतै पखेराहरूमा पनि गुडेको थियो । वारपाक सुलिकोट गाउँपालिकाको कार्यालय रहेको ठाउँ सुलिकोटमा साढे बाह्र बजेतिर पुगियो । बन्दै गरेको पालिका कार्यालयको भवन निकै भव्य थियो । कार्यालयको परिसरमा थोरै विश्राम गरेपछि हामीले त्यहीँको क्यान्टिनमा खाना खायौँ ।

खानापश्चात् पालिकाको नवनिर्मित सभाकक्षमा सङ्क्षिप्त रुपमा साहित्यिक–सांस्कृतिक परिचयात्मक कार्यक्रमको आयोजना भयो । जगदीशचन्द्र भण्डारी र ताराकान्त पाण्डेयका सौन्दर्यशास्त्रीय चिन्तनका साथमा पालिका अध्यक्ष विष्णुप्रसाद भट्टको वैचारिक प्रस्तुति पनि बेजोड थियो । आफू अध्यक्ष भएपछिका विकासनिर्माणका कामहरू पनि सुनाउन भ्याए उनले । समय अभावका कारण थोरै मात्र कविहरूबाट रचना वाचन भयो ।

पालिकाको कार्यालयभन्दा केही तल नजिकै रहेको सूर्यज्योति मा.वि. जसले माओवादी सशस्त्र युद्धका क्रममा आफ्ना दुई शिक्षक र दस विद्यार्थी गुमाएको थियो । अध्यक्ष भट्टले हामीलाई युद्धकालको पहिलो सहिद दिलबहादुर रम्तेलको नाममा बन्दै गरेको स्मृति पार्कको भ्रमण गर्ने सल्लाहा दिएपछि हामी उनीसँग बिदाबादी भएर त्यतै लाग्यौँ । रम्तेलको घरमा पुग्नका लागि बिस\पच्चिस मिनेट जति हिँड्नुपर्ने रहेछ । त्यस पार्कबाट रम्तेलको घरमा पुगेर फर्कंदा लगभग एक घन्टा समय लाग्ने हुँदा जान सकिएन । उनको नाउँमा बनेको पार्क हेरेर चित्त बुझायौँ ।

हामी घ्याम्पेसाल हुँदै गोरखा बजार निस्क्यौँ । बजारको केही तल रहेको महेन्द्र नमुना मा.वि.मा चिया पिएर आँबुखैरेनी झर्दा साँझ खस्नै लागेको थियो । अब भने हामी हतारिएका थियौँ । काठमाडौँ र चितवन जाने साथीहरूले आआफ्नो बाटो समाए । बिदाइका हातहरू हल्लाउँदै हामी पोखराका चार जना पनि गाडी चढ्यौँ ।

यात्रा जम्मा तिन दिनको थियो । हामी विभिन्न भूगोलबाट जम्मा भएर नयाँ भूगोलमा पुगेका थियौँ । मलाई मरहट्टाको ‘गजे घलेको टोप र जगदीशचन्द्रको टाउको’को बिम्बले छोड्नै सकेन । जति बेला पनि झलक्क झलक्क आइरह्यो । बसमा बस्दाखेरि पनि गजे घलेले छोडेन । गजे घलेहरू किन देश छोड्छन् ? गजे घलेहरू किन आफ्नो देशको स्वतन्त्रताका लागि स्वाभिमानको लडाइँ लड्न सक्दैनन् ? राज्यले गजे घलेहरूको बल र बैँसको उपयोगका लागि किन गतिलो योजना बनाउन सकिरहेको छैन ? सायद् प्रोफेसर जगदीशचन्द्र भण्डारीको खुइलो टाउको पनि यिनै प्रश्नमा केन्द्रित भएर चिन्तन गरिरहेको छ ।

ज्याग्दीखोला, स्याङ्जा, हाल : पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।