नुनको बाङ्गो

हास्यव्यङ्ग्य काशीनाथ मिश्रित August 30, 2021, 7:55 pm

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
-“सर ! ‘नुन’को विपरीतार्थक शब्द के हो?” कक्षामा पढाउँदै गर्दा एउटा विद्यार्थीले सोध्छ ।

-“सबै शब्दको विपरीत अर्थ हुन्छ नै भन्ने हुँदैन ।“ मैले स्पस्टीकरण दिन खोज्छु ।

-“कस्ता शब्दको हुन्छ त सर?” विद्यार्थी जान्न खोज्छ ।

-“भैरब अर्यालको टाउको जस्तो शब्दको हुन्छ ।“ म झोक्किन्छु । भन्न त तेरो टाउको जस्तो भन्न खोजेको थिएँ तर एक्कासी भैरब अर्यालको टाउकोको याद भयो र भनिदिएँ । यसो भन्नुमा पहिलो त विद्यार्थीसितै झगडा होला भन्ने डर थियो भने दोस्रो मैले अहिलेसम्म ‘नुन’को विपरीतार्थक शब्द पढेकै थिइन । त्यसैले टाउकोमा अर्यालले भने झै ‘म पढेको मास्टर नपढेको कुरा जान्दिन ।‘ भन्ने सम्झनाले पनि यसो भन्न कर लाग्यो । तेस्रो कुरो चाहिँ टाउकोको शैली पनि ठ्याक्कै यस्तै ! अब त झन् स्पष्टीकरणको साटो अस्पष्टीकरण पो भयो । विद्यार्थीले तेस्रो चोटी सोध्ने आँटै गरेन । गरोस् पनि कसरी उसले त टाउको खाने गरी आजभोलिका सस्ता सामाजिक सञ्जाल हेर्छ भैरबको टाउको कहाँ पाएर हेरोस् । मलाई पनि विद्यार्थीलाई कुरै नबुझाएर हप्काईहप्काई पढाइटोपल्न सकेकोमा गौरब लाग्यो र नुनको बाङ्गो गर्न सकेकोमा मनमनै खुसी पनि ।

म सरकारको नुनपानी खाएको एउटा शिक्षक । विद्यार्थीले सोधेको कुरा बुझाउनु मेरो कर्तव्य । उसलाई सम्झाएर जान्ने बुझ्ने गराउनु मेरो दायित्व । विद्यार्थीलाई अध्ययनप्रति आकर्षित गराउनु मेरो जिम्मेवारी !! कि कसो? यो त नुनको सोझो भैहाल्यो नि । मैले गर्न खोजेको, लागेको र चाहेको त नुनको बाङ्गो पो हो । उसले सोझोको विपरीतार्थी सोधेको भए म भनिदिन्थेँ बाङ्गो ! तर नुनको पो सोध्छ अनि झोँक चल्दैन?तपाईँ भन्नोस् त के हो नुनको उल्टो अर्थ दिने शब्द । तपाईँले जे भन्नोस् भन्नोस् म भने अब नुनको विपरीतार्थक शब्द खुर्सानी हो भनेर पढाउँछु ।

म जस्ता नुनको सोझो नगर्नेलाई कार्वाही हुनुपर्छ । लौ को आउँछ मलाई कार्वाही गर्न? मैले सामर्थ्य देखेको छैन । किनकि मेरो निगरानी गर्नुपर्ने ठाउँमा जो जो छन् उनीहरू पनि नुनको बाङ्गो नै गरिरहेछन् । अझै माथि र त्यसभन्दा पनि उपरमाथि जाने हो भने त नुनको बाङ्गो हैन टिङ्गो समेत गर्छन् । अनि मलाई कार्वाही गर्ने कसको हिम्मत? देशको ढाड मानिने शिक्षा क्षेत्रमा त यो गति छ भने तिघ्रा, करङ, कन्चट, मुटु, फोक्सो मानिने अरु अरु क्षेत्रहरूको के गति होला ! टाउको मानिएको राजनीतिको कुरा गर्ने हो भने नुनको सोझो भएको भेटाउन स्वर्गबाट भैरवलाई नै ल्याउनु पर्ला । आँखा मानिएको अदालतको गति उस्तै; पाँसुला मानिएको यातायात क्षेत्रमा उस्तै; मृगौला मानिएको स्वास्थ्य क्षेत्रमा हेरौँ उस्तै; भुँडी मानिएको कृषि क्षेत्रमा हेरौँ उस्तै; कर्मचारी तन्त्रमा उस्तै; ब्रम्हचारी तन्त्रमा उस्तै ! मैले त आँखै उस्तै भएर हो कि कतै पनि नुनको सोझो देखेकै छैन ।

नुनको बाङ्गो गर्नुपर्ने महान् प्रेरणा पनि मलाई माथिल्ला कुर्चीहरूबाटै मिलेको हो । हुन त मैले ठुलाबडाको सङ्गत गर्न त्यति जाँगर देखाउन्न । भैरबले महापुरुषको सङ्गत गर्दा जति ज्ञान पाएका थिए त्यति मलाई पनि मिलेको छ । बाध्यतावश जिल्लास्तरको कुर्ची अगाडि जानै पर्ने भयो एकपल्ट । हाकिम साहेब बाह्र बजेतिर ठ्वास्स रक्सीको सुगन्ध छाड्दै आए । मैले आफ्नो समस्या राख्न नपाउँदै भने – ‘यहाँ ठाउँ छैन, केन्द्रमा जानुस् ।‘ ठुलाले भनेको नमान्ने कुरै भएन । झन् राष्ट्रियस्तरको कुर्चीअगाडि जान पाइने भयो भनेर मख्ख परेँ । त्यहाँका हाकिम साहेबले त आफ्नो पावर देखाउलान् भनेको हालत उस्तै ! मन्त्रीसित हो कि कुन्नी फोनमा कुरा गर्दै रहेछन् शब्दैपिच्छे हस् ... हजुर ... हस् ... हजुर गरिरहेका थिए । डेढ घन्टा कुरेपछि मन्टो तानेर भने के काम हो? मैले जिल्लाका हाकिमले भनेको वृत्तान्त सुनाएपछि भने – ‘पैसाको प्रलोभनमा परेर हो कि किन हो दरबन्दी लुकाइरहेका छन् ।‘ घुस खाएर गलत काम गरेको थाहा छ तर कार्बाही गर्न सक्दैनन् । समस्या माथिका कुर्चीहरूमै छ भन्ने मेरो आफ्नै अनुभवले देखाएपछि म नुनको बाङ्गो गर्न आकर्षित भएको हुँ । आउनुहोस् सबै मिलेर नुनको बाङ्गो नै गरौँ !!

अनुशासन भन्ने पाठ पढाउन म जस्ता अनुशासनहीन शिक्षकलाई नदिए हुन्छ । कसरी पढाउने? लाज लाग्छ । मैले कक्षामै जाँड खाएर हल्लँदै जान्छु र विद्यार्थीलाई सम्झाउँछु ‘जाँड रक्सी खानु हुँदैन ।‘ भुत्रो मान्छ विद्यार्थीले ! चुरोट खाँदै धुम्रपानविरोधी उपदेश छाँट्छु र भन्छु ‘ धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ ।‘ अनि एउटा जगल्टे विद्यार्थीले बाहिर जाने अनुमति माग्छ र बाँसघारीतिर गएर हतार हतार चुरोट तानेर आउँछ । माथिल्ला कुर्चीमा बस्नेहरू मुक्कामुक्की र घुस्साघुस्सी गरेको देखी देखी मैले पढाइरहेको छु ‘बाबुआमा घरमा झगडा गरे भने सन्तानलाई मानसिक असर पर्छ ।‘ अनि पत्याउँछ विद्यार्थीले ! उनीहरूका बाबुआमा झगडा गरे भने उनीहरूलाई असर गर्ने, तर हाम्रा बाबुआमा ठानिएका नेता, सांसद, मन्त्री महोदयहरू टाउको ठोकाठोक गरे भने पनि हामीलाई कुनै असर नपार्ने कस्तो गजब !

सबै जनतालाई छोराछोरी सरह ठान्छौँ, सबैलाई सुखी पार्छौँ भनेर हैन डाडु पन्यु समाउन गएको? हो भने नुनको सोझो यही हो त ! उनीहरूलाई नुनको बाङ्गो गर्न छुट छ भने हामीलाई नहुनुपर्ने कुरो कसले उठाउँदो रहेछ? सुखी नेपाली समृद्ध नेपाल भनेर नारा भट्याउँदा नुनको बाङ्गो गर्लान् जस्तो लागेको भए भोट कसले हाल्दो हो र ! आखिर हामी जनता त भूपि सेरचनले भने जस्तै ‘ म एउटा भोट हुँ’ न हौँ । यो कुरालाई वर्षौँपछि पनि साबित गरिदिएका छन् । सरकारको नुनपानी खाएकाले नुनको सोझो गर्नु पर्ने तर जनताको रगत पसिना खाएकाले भने नुनको बाङ्गो गरे पनि हुने ! कस्तो अचम्म ।

हामीले सिक्ने ठुलाबडाबाट हो । उहाँहरू कुर्ची तानातान र छेड हानाहान गर्नुहुन्छ । हामी उहाँका अनुयायीहरू पनि पिर्का तानातान गरौँ न । कुर्चीमा त पुग्न पाए पो ! त्यसैले जो जहाँ छ त्यहीँबाट नुनको बाङ्गो गर्नै पर्छ । म शिक्षक हुँ यस्तै उल्टोपाल्टो पढाइदिन्छु । तपाईँ कर्मचारि हुनुहुन्छ राजाको काम कैले जाला घाम गर्नुहोस् । उहा. व्यापारि हुनुहुन्छ हरेक वस्तुमा मिसावट गरेर बेच्नुहोस् । हजुर सुरक्षाकर्मी हुनुहुन्छ सुन तस्कर, हत्यारा, बलात्कारी जस्ता महान् समाजसेवीहरूको संरक्षण गर्नुहोस् । उनी डाक्टर हुन् घाँटी दुखेकालाई पेटको अपरेसन गरेर सक्दो उपचार गरून् । तँ खेलाडी होस् म्याचफिक्सिङ जस्तो महत्त्वपूर्ण सम्झौता गरेर खेल हार अनि देशको नाम चम्का । यसरी हरेक पेशा, तह र तप्काका मान्छेहरूले आआफ्नो क्षेत्रबाट सके जति नुनको बाङ्गो गरेर देश अघि बढाउनु पर्छ । यो मेरो मात्र हैन म जस्ता नुनको बाङ्गो गर्न चाहने मित्रहरूको समेत आग्रह हो ।

तपाईँले नुनको बाङ्गो गर्न सिक्नुभएको छैन भने प्रशिक्षण लिनुहोस् । त्यस्ता प्रशिक्षण केन्द्रहरू जताततै खुलेका छन् । सरकारी स्तरमा सिक्नुहुन्छ कि गैर सरकारी स्तरको प्रशिक्षण लिनुहुन्छ तपाईँकै इच्छा । सामूहिक रूपमा जान्न चाहनुहुन्छ कि व्यक्तिगत त्यो पनि तपाईँकै रोजाइ । कतै कुनै क्षेत्रमा पनि नुनको सोझो भेट्नुभयो भने मसँग आउनुहोला । धार्मिक प्रवचन दिने योगी महाराजहरू महिला बेचबिखन केन्द्रका संयोजक हुन्छन भने आफै विचार गर्नुहोस् के हो नुनको बाङ्गो? अन्य ससाना केन्द्रमा हुने भ्रष्टाचार र अनियमिततालाई त नुनको बाङ्गो भनिरहनु नै पर्दैन ।

मलाई नुनको विपरीतार्थक मात्र हैन पर्यायवाची शब्द पनि आउन्न । अब विद्यार्थीले सोध्यो भने नुनको पर्यायवाची शब्द चुक भनेर बताइदिन्छु । आखिर जे पढाए पनि हुन्छ । मलाई न कार्बाही हुन्छ न त त्यसो हैन यसो गर्नुहोस् भनेर तालिम दिइन्छ । अनुगमन गर्नुपर्ने निकायलाई कहिल्यै फुर्सद हुँदैन । रोग एउटा उपचार अर्को ! रोग लागेको छ ‘नुनको बाङ्गो’ उपचार हुन्छ कोरोनाको ! अनि देश स्वस्थ भएर लम्कने भो समृद्धितिर फटाफट ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।