प्यारा युवक - ११

कविता काशीनाथ मिश्रित May 17, 2022, 4:00 pm

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
झोली थाप्नेतिर किन गयो देश हाम्रो? युवा हो !

यस्तै चाला अझ रहिरहे डुब्न पो जान्छ क्या हो !!

स्वाभिमानीपन जुन थियो जान्छ क्यारे गुमेर!

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

पैसा पैसा मगजभरि नै घन्कियो क्यार तिम्रो !

जान्छौ टाढा प्रिय जनविना थन्कियो प्यार तिम्रो !!

कैलेकाहीँ त बुझ न युवा प्रेयसीको पियार !

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

तिम्रा जोडा सृजनशिल ति हातको काम के हो?

बिर्सौला है नवयुवक हो ! देशको नाम के हो?

बारी बेची नउड अब भो फर्क माटो सपार !

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

नेपालीको रगत पसिना खेर जाँदा मलाई

चिन्ता लाग्यो मन छटपटियो गर्छु रोई कराई !

आँसू बग्छन् तरर दिनहुँ पुछ्न को आउला र?

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

तिम्रो इच्छा परतिर हुने ! जे होओस् देशभित्र !

आफ्नी आमा धुरुधुरु रुने ! नित्य हेर्छौ र मित्र?

भन्द्यौ ऐल्यै अब पर म ता जान्नँ कैल्यै भनेर !

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

आत्मा रम्दा बुझ नव युवा ! साग सिस्नो मिठो हो !

आमा रम्दा द्रुत जति चलोस् लिफ्ट, लिस्नो छिटो हो !!

हुर्केका हौ शिशुवय तिमी वक्ष यिन्कै चुसेर !

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

तिम्ले सम्झे नव युवक हो बुद्धको देश हो यो!

तिम्ले बिर्से सुन युवक हो, वृद्धको देश हो यो

बिर्सन्छौ या स्मरण तिमीले गर्दछौ सो विचार !

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

मैले यस्तो अनुनय गरेँ देश छोडी नजाऊ ।

आफ्नै माटो परिश्रम गरी स्वर्ग जस्तो बनाऊ !!

गर्छिन् हाम्री व्यथित जननी मातृभूमि पुकार !!

मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।