सात कृतिका पद्यान्तर

कविता होम सुवेदी January 30, 2025, 2:27 pm

होम सुवेदी
होम सुवेदी
(प्रसिद्ध केही कथा, नाटक, निबन्ध र गद्य कविताहरूको पद्यमा रूपान्तर)

१. पिन्जडाको सुगा ....... लेखनाथ पौडेल

२. परालको आगो ..... गुरुप्रसाद मैनाली

३. के नेपाल सानो छ ? ......... लक्ष्मीप्रसाद देवकोटा

४. खैराँती मास्टर .... हृदयचन्द्रसिंह प्रधान

५. श्वेत भैरवी ..... विश्वेश्वप्रसाद कोइराला

६. शिखा मैनबत्तीको ...... भूपि सेरचन

७.मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित .... वैरागी काइँला

पिन्जडाको सुगा

(उपजातिमा)

छैनन् यहाँ बान्धव बाबु आमा

एक्लै परेको छु म पिन्जडामा

तितो छ यो भाग्य सकिन्न जानी

मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो

आफन्तले शून्य निरीह जस्तो

सुगा भनी चिन्दछ रात साँझ

सर्वत्र यो मानवको समाज ।।

न पिन्जडाभित्र छ थोर चैन

खोजूँ कहाँ शान्ति यहाँ हुँदैन

न शान्तिको सास सकिन्छ फेर्न

संसार नौलो सकिएछ हेर्न ।।

न बन्धु छन् वा न त इष्टमित्र

रहेन त्यो शान्ति यहाँ म भित्र

ब्युँझो छँदा शान्ति यहाँ रहेन

निधाउँदैमा पनि पाइएन ।।

मेरा सबै बान्धव बाबु आमा

बस्छन् र उड्छन् वनका कुनामा

छन् ताप मेरा मनभित्र ऐले

व्यथा सबै कोसँग पोख्नु मैले ।।

आधा भएको छ सुकेर मासु

रुँदै यहाँ झार्छु बलिन्द्र आँसु

के शान्ति मिल्थ्यो मनमा छ ताप

यो पिन्जडाबाट गरी बिलाप ।।

मिठा उहाँका फलफूल खाई

बस्थें उहाँ जङ्गलमा रमाई

यो पिन्जडामा किन हो नसोची

हे दैव पार्यौ बबुरो मलाई ।।

यो पिन्जडाभित्र छ सास थुन्नु

निस्प्राण मुर्दा सम तुल्य बन्नु

उतातिरैको सुख सम्झिएर

पला पला मात्र यहाँ छ गन्नु ।।

झन् पिन्जडाभित्र थुनिन्छ सास

मुर्दा भयो जीवन छैन आश

र जङ्गलैको सुख सम्झिएर

के बाँच्नु खै पागल झैं भएर ।।

समीप छन् शत्रु रहेन्न चारा

यहाँ कतै छैन कुनै सहारा

वैरी सबै छन् न छ एक मित्र

मेरो छ यो कर्म बडो विचित्र ।।

यो दर्द मेरो म कता बिसाऊँ

ताजै छ मेरो मनभित्र घाउ

सो घाउमा बस्न सकेन खाटो

उम्केर भाग्ने पनि छैन बाटो ।।

पीडा हजारौं मनमा थुरिन्छन्

वैरी सबै सामु यतै धुरिन्छ्न्

चौतर्फ घेरो पहरा छ यस्तो

कठोर कारागृह भन्नु जस्तो ।।

भागूँ भनी कोसिस गर्न थालें

यो पिन्जडाको डिल फोर्न थालें

उल्टै भयो घायल आज चुच्चो

चुच्चो बिना बन्न पुगें म बुच्चो ।।

यो पिन्जडामा कुँजियो शरीर

बन्दी हुँदै बन्नु कता म धीर

रहेन सोचै अब के चिताऊँ

हा दैव यो काल कता बिताऊँ ।।

खाने र बस्ने नहुँदा प्रबन्ध

यहाँ म भोकै छु भएर बन्द

न गर्दछन् जीवनको सवाल

न बुझ्दछन् यो विकराल हाल ।।

यो हाल बुझ्ने किन हुन्न एक

कता हराएछ यहाँ विवेक

के पापको आज मिल्यो सजाय

रहन्न मेरो मन हाय हाय ।।

आदेश बोल्ने छ ठुलाबडाको

चर्को छ झन् बन्धन पिन्जडाको

छ घाँटी सुख्खा अझ बोल्नु पर्छ

नबोलिए पाप यहाँ ठहर्छ ।।

एक्लै परेको छु म हाय हाय

नबोल्नुको हुन्छ ठुलो सजाय

लिएर लाठी करमा उझाई

तयार पर्छन् अझ पिट्नलाई ।।

यौटा यता भन्दछ यो छ पाजी

अर्को उता भन्दछ यो बिराजी

तेस्रो अझै बोल्दछ रामराम

पढो रखो जी प्रभु राम नाम ।।

वैशिष्ट्यको शत्रु मनुष्य जाति

चुसी चुसी पार्दछ शुष्क छाती

गुणीहरूको गुण चुस्छ यस्तो

शरीरमै प्राण रहन्न जस्तो ।।

मनुष्य यो जाति अचम्मको छ

के भन्नु खै यो यतिसम्मको छ

मनुष्य नै प्राणपखेरु हर्छ

हरेर यो मानव दङ्ग पर्छ ।।

पीडा व्यथाका सब भाव छोडी

गर्दैछु बिन्ती अब हात जोडी

सुगा म जस्तो अति तुच्छलाई

प्रभो यहाँबाट मिलोस् बिदाइ ।।

कुनातिरै होस् कि त कन्दरामा

मान्छे हुँदासम्म यहाँ धरामा

यो तुच्छको जन्म कतै नदेऊ

हे दैव बिन्ती यति एक लेऊ ।।

८८

परालको आगो

आरम्भमा ः

पतिको नाम होे चामे पत्नीको गौंथली थियो

यो जोडी गाउँको एक सानो झोपडीमा थियो ।

घरबाहिरको काम चामेको भागमा थियो

दुबैको यत्नले बल्थ्यो मिलेर घरको दियो ।

गौंथली घरको धन्दा गर्थी खाना बनाउँथी

घाँसपात चुलो चौको गरेरै त्यो अघाउँथी

चामे हुन्थ्यो कुनै बेला गोठालो कहिले हली

बबुरो गाउँको मान्छे कहाँ पाओस् ढलीमली ।

बाझाबाझ कुनै बेला गरे तापनि मिल्दथे

कहिले कहिले मानौं भुरा जस्तै ती खेल्दथे ।

गौंथलीमा थियो कालो वर्ण सौन्दर्य–सम्पदा,

गृहस्थी थाम्नमा पोख्त हुँदैथी कलिलै छँदा ।

गाई भैंसी समालेर बस्तुको रेखदेखमा,

दिन काट्थी सधैं जस्तो गौंथली घरकाममा ।

लामो केस मिलाएर चुल्ठो पार्थी सपक्कको,

थियो पूmल फुले जस्तो जवानी ढकमक्कको ।

हेर्दा बाहिर देखिन्थी सोमती तर भित्रकी,

लात्ती हान्ने कुनै गाई भने झैं गौंथली थिई ।

केही बाङ्गा कुरा झिक्तै थाल्दथी त्यो ततर्कन,

छक्कै पर्दाे थियो बानीे थाल्दथी अझ झर्कन ।

कुनै बेला त्यहाँ पथ्र्याे कटाच्छे मिल्दथे तर,

लोग्नेस्वास्नीहरू माझ बाझाबाझ हुँदैन र ?

लालाबाला हुने छाँट थिएन नभए पनि,

हुने सम्भावना लाग्थ्यो ढिलो केही भए पनि ।

स्वादिलो वस्तुमा चाख उसभित्र निकै बढ्योे

खान लाउन भो इच्छा जवानी उसमा चढ्यो ।

युवतीहरू चाहन्छन् परिधान मिलाउन

थपिन्छन् चाखमा चाख सुकिलो मुकिलो हुन ।

गौंथलीभित्रको त्यस्तै स्वभाव अहिले फि¥यो

बेहुला बेहुली हेर्न अथवा अमिलो पिरो ।

गुरुप्रसादले छाने तिनैको गर्न वर्णन,

गद्यमा, म त थाल्दैछु पद्यबद्ध गराउन ।

जोत्नु पर्ने थियो आज नगरी केही अल्मल,

चामे गोरु फुकाएर जाँदैछ बेंसीमा तल ।

यता गौंथलीको जिम्मा घरको रेखदेखमा—

लगाई जोत्नका लागि चामे पुग्दछ खेतमा ।

चामेले दिनको मेलो जोतेर खेत बन्जर

साँझ पर्दै थियो आज त्यो बेला फर्कियो घर ।।

घरमा फर्कियो चामे हलो हालेर काँधमा

जुवा हरिसमा बाँधी बोकेर साँझ साँझमा ।

साँझ पर्दै थियो चामे श्रमले भई जर्जर,

गोरुलाई धपाएर बल्ल आइपुग्यो घर ।

झुत्ती खेल्दै थिए आन्द्रा भोकले पेटभित्रका,

कान्लामा बारीको उस्ले ठड्यायो त्यो हलो जुवा ।

जोती मुस्किलले खेत अबेला साँझसाँझमा,

फर्किएर जसै देख्यो गौथली छैन बासमा ।

पुसेर पसिना केही सुस्केरा हाली बेगले,

गोठमा गोरु बाँधेर थला हे¥यो विचारले ।

सोहोरेको यता छैन किन हो गोरुको थलो,

चिन्ता केही उठ्यो भित्र देखेन मनले भलो ।

खोल्माबाट झिक्यो घाँस गोरुलाई फटाफट,

दिई चामे यता लाग्यो घरभित्र सटासट ।

तत्कालै मनमा उस्को शङ्का सन्देह क्यै भयो,

बिरामी पो भई क्यारे भन्दै त्यो घरमा गयो ।

थिइन घरमा उस्की गौंथली त्यो कता गई,

सोच्न थाल्यो जसै चामे गौंथली तब भित्रिई ।

भात पाक्नु थियो पर्ने यो बेलासम्म साँझमा,

आगो सम्म नजोरेको अँघेनु छ चिसो चिसो ।

हतपत्त भए जस्तो गौंथलीले गरेपछि,

काखीमा गाग्री च्यापेर पँधेरामा हिंडेपछि

आगो बाल्न यता चामे घरभित्र स्वयं पस्यो,

तमाखु भरी ल्याएर बाहिरी पिंढीमा बस्यो ।

पानी दर्कन लागेको कालो बादल झैं भई,

तमाखु तान्न त्यो थाल्यो बाहिरै पिंढीमा गई ।

काखीमा गौथलीे गाग्रो बोकेर घर भित्रिन,

लाग्दैथी रिसले चामे थाल्यो मानौं छचल्किन ।

त्यो बेला गाउँको एक छिमेकैमा बिहा थियो,

गइछे त्यो बिहा हेर्न भन्ने त्यस्ले कुरा बुझ्यो ।

नहुनु गौंथली साँझ घरमा के कुरा थियो,

यो कुरा चाल पाएर चामे आवेशमा गयो ।

“जन्तीका साथ झिम्क्याई राँड आँखा दिनै भरि,

पार्छे स्वाङ यहाँ बल्ल बल्ल पो घर घस्किई !”

भन्दै लात्ती जसै हान्यो उत्तानो परी गौंथली,

यता थेचारिई अर्काेतर्फ गाग्री उसै फुट्यो ।

भरेका गाग्रीको पानी मझेरी माझ घोप्टियो,

मझेरी पानीले मानौं सानो आहाल भैंm भयो ।

फुटेका गाग्रीका केही खबटा बटुलीकन,

आफल्न गौंथली लागी चामे भो अझ रन्थन ।

पछा¥यो गौंथलीलाई तानेर सिकुवानिर,

घिसारेर लतारेर पु¥यायोे घरबाहिर ।

हतेर्न जब त्यो थाल्यो लामो चुल्ठो समाउँदै,

राता आँखा लगाएर पछा¥यो फन्फनाउँदै ।।

“गइहाल् तँ जहाँ जान्छेस् एकै छिन् तँ नबस् यहाँ,

चाँडै निस्केर जा घस्की तेरा नाठाहरूसँग ।”

केही आफ्नो थियो गल्ती त्यसैले गौंथली अघि,

चूप लागी, यहाँ सम्म अब त्यो पनि बम्किई,

भकुर्दै लात्तीले चुट्ता चूप लागेकी गौंंथली,

यातना थाम्न के सक्थी दारा किट्तै ततर्किई ।।

“कोरले सल्किएका छन् हात मोरा पिसादका,

साथमा पुर्पुरो मेरो जोडिएछ हरे शिव !

फुटेको भाग्य यो मेरो निर्दयी पापी लन्ठका–

साथमा सुम्पिए मेरा आमाबाबु अधर्मीले ।

यस्ता कङ्गालकी स्वास्नी भएर बस्नु ता बरु,

डुबेर मर्नु नै जाति हे दैव अब के गरूँ ?”

उता के कम थ्यो चामे उसको मुख झन् छुचो,

तथानाम ग¥यो गाली के लाग्थ्यो मुखमा बुजो ?

“राँड आफ्नो बूढो बाबु ठान्छे खूबै धनाढ्य छ,

छाकै टार्न नसक्ने त्यो मगन्ते र गरीब छ ।

बूढो गोरु सरी खोख्छ साँझसाँझ परेपछि,

गतिली यो कहाँ हुन्थी त्यस्कै छोरी भएपछि ।”

काढेर मुखमा राल गौंथली बर्बराउँदै,

रुँदैथी र सराप्तै थी चामेले भकु¥यो अझै ।

बिहेको घरमा नाच्तै थिए केही भुराभुरी

तमासा हेर्न छाडेर चामेका घरमा पुगी

बिहेका घरको भन्दा चामेका घरको मजा

मानेर रमिता हेर्न थाले केही भुराभुरी ।।

चामेले डिलमा उक्ली लिएर लठ्ठी हामता

केटाकेटीहरू खेदी फर्कियो तब वासमा ।।

क्वाँक्वा शब्द निकालेर रुँदैथी गौंथली यता,

पिढींमा गुन्द्री ओछ्याई भोकै चामे सुत्यो उता ।

भोलिपल्ट बिहानैको कुरा हो गोरु लिकन,

चामे भोकै हिंड्यो बेंसी हलो हालेर काँधमा ।

बेलुका फर्कियो चामे भोकले थिल्थिलो भई

गौंथली घरमा छैन गौंथली त्यो कता गई ।।

हिंडिछे दिउँसै एक्लै गौंथली माइतीघर,

चामेले सूचना पायो कोकलेका घरैनिर ।

दाम्लो छिन्ला भने जस्तो गरेर भैंसी लम्कियो,

चामेले मनमा सोच्यो ‘ज्या है भोकै रहेछ यो !’

भित्र फेरि गयो चामे गबुवा हातमा लिई

बकेर्नो जो थियो भैंसी त्यस्लाई घाँस क्यै दिई

सुम्सुम्याई फकाएर बिस्तारै टाङमा बसी

भैंसीले लात्तीले हान्यो सिर्का केही दुहेपछि ।।

भोका प्राणीहरूलाई मान्छे हत्पती आँकन,

सक्तैन तैपनि चामे थाल्यो फेरि फकाउन ।

भैंसीले लात्तीले हान्दा चामे उत्तानु भो पर,

काँचो गोबरको थुप्रो थियो एक त्यहींनिर ।

त्यसैमाथि प¥यो चामे गबुवा झन् उछिट्टियो,

उसका जिउमा आलो काँचो गोबर टाँसियो ।

खोजेर लठ्ठीले हान्यो भैंसीलाई दनादन,

रिसले तिल्मिलाएर चामे भो अझ फन्फन ।

भैंसी दाम्लो चुँडाएर उफ्रियो बारीमा जब,

चामेका लागि यो भैंसी चुनौती हुन गो अब ।

कोकलेको मकै बारी पसेर भंैसी जोडले,

दौडियो पशु के जानोस् झन् चामे पिट्छ तोडले ।

यो छेउबाट त्यो छेउ गरेर भैंसी दौडियो,

यसै कारणले गर्दा मकै बारी मडारियो ।

जति खोज्थ्यो त्यहाँ चामे भैंसीलाई फकाउन,

तर भंैसी अझै थाल्थ्यो ठाडो पुच्छर लाउन ।

पशुबाट सबै हाम्रो पेटको स्रोत जुट्तछ,

दयाहीन हुँदै मान्छे उल्टै झन् पशु कुट्तछ ।

कोकलेकी यता आमै निस्किई घरबाहिर,

धारे हात लगाएर श्राप्नमा अझ माहिर ।

सराप्न अझ त्यो थाली चामेलाई घरी घरी,

साडी माथि उचालेर रणचण्डी भए सरि ।

‘मोरो चामे परोस् बाँझै छरौटीले मरोस् बरु,

हिजो स्वास्नी कुटे जस्तै भैंसी कुट्न ग¥यो सुरु–

खाने वर्षभरि हाम्रो अन्नबाली सखाप भो,

कहाँको बजिया मोरो फटाहा र कसाई यो ।

के भा’को यो गधा भाङ्ले अर्काको गर्छ आरिस,

कसैको नभए जस्तो कस्तो हो यसको रिस ?

पोहोर लात्तीले खाँद्या बिस्र्यो कि धनवीरले,

पुरिएको अझै छैन पोल्दो हो त्यही घाउले ।

खुबै छु बलियो भन्दो होला मोरो अझै पनि,

यो पानीमरुवा मोरो सारैको रैछ बैगुनी ।

पुरुषार्थ गरें भन्दो होला भैंसी पिटीपिटी,

यो पाजी ह’न के भाको खेद्यो स्वास्नी कुटीकुटी ।

यो पानीमरुवा ल्वाँठे साँच्चैको बलियो भए,

परचक्रीहरूलाई कुट्न पो सक्नुपर्दथ्यो ।

प¥यो कि साँझ यो एक पारेर निहँु खल्बल,

अशान्त गर्छ यो ठाउँ यो कस्तो मूर्ख लठ्ठक ?”

आमा त्यो झन् उरालेर कोकेलेकी कराउँथी,

गर्दै गाली तथानाम चामेलाई सराप्तथी ।

चामे बोल्न कता सक्थ्यो गाली खानै परे पनि,

मान्छे हुन्छ त्यसै निम्जो थोरै गल्ती भए पनि ।

बिहेको भोजमा मस्त केही थे धनवीरका,

घरमा हुल्लडे केटा मातेका जाँडपानीमा ।

कोकले मारुनी जस्तै भएर भिरी मादल,

बिहेमा नाच्न थाल्दैथ्यो जहाँ थ्यो हुल्लडे दल ।

त्यसै बेला त्यहाँ आई उसकी बैनी झट्पटी,

बारीमा भैंसी चामेको पसेको सूचना गरी ।

मारुनीकै लिई भेस कोकले बारीमा पुग्यो,

ठाडो पुच्छर लाएर भैंसी त्यो अझ दौडियो ।

मकैको घरको बारी देखिन्थ्यो अझ सोत्तर,

रिसका बेगले मानांै कोकले भो भयानक ।

हान्यो झम्टेर चामेका गालामा दुई थप्पड,

त्यो निर्धाे बिचरो चामे बोलेन बोल्नु के छ र ?

आफूलाई कहाँ थाम्छ मान्छे क्रोध बढेपछि,

बोल्न सक्थ्यो कहाँ मान्छे थोरै गल्ती भएपछि ।

चार पाँच जना मान्छे मिलेर एकसाथमा,

बल्ल भैंसी अँचेटेर बाँधियो मध्यरातमा ।

चामेले पछुताएर आफैैंमाथि दया ग¥यो,

आपूm पापी भएजस्तो उसका मनमा प¥यो ।

भोलिपल्ट बिहानैको कुरा हो गाग्री हातमा,

लिएर एक त्यो गाग्री पुग्छ चामे पँधेरीमा ।

काँधमा उसले गाग्रो बोकेर घर फर्कंदै–

गर्दा त्यो बिच बाटैमा जुठेकी जोई भेटिई ।

बोकेको देखी चामेले काँधमा पानी गाग्रीको,

जुठेकी स्वास्नीले गिल्ला गरेको स्वरमा भनी–

“लोग्ने मानिसले पानी बोकेको हेर लौ यहाँ,

देखियो अय्यू हे दैव सुहाउँदो रहेनछ ।”

“के गर्नु भाउजू राँड माइतीतर्फ घस्किई,

कसले बोक्छ यो पानी राँड भागिएपछि ?”

हलुका स्वरमा फेरि चामेको भाव यो सुनी,

अघिकै भावमा फेरि जुठेकी स्वास्नीले भनी–

“कुट्न थालेपछि आँखा देख्तैनौ बिचरी अनि,

के गरोस् त नभागेर मान्छे हो गौंथली पनि ।”

“भाउजू उसको मानौं छुरा झैं मुख चल्दछ,

त्यस्ता दुर्छेहरूलाई भकुर्नु अझ पर्दछ ।”

“तिम्रा यस्ता कुरा सुन्दा सम्झन्छु म त गौंथली,

जथाभावी कुटेकैले मुखाले हुन त्यो पुगी ।”

घच्चाघच्ची भएजस्तो तिनका बिचमा प¥यो,

केही हप्काउँदै फेरि चामेले यो कुरा भन्यो ।

“अर्काको के कुरा गछ्र्यौ ? आफ्नै मात्र कुरा गर,

ढाकेको पिरले तिम्रो जिन्दगी सुखको छ र ।

जुठे हिर्काउने गथ्र्याे तिमीलाई दिनै दिन,

तिमीले यतिका चाँडै बिर्सियौ त्यो कुरा किन ?

एकै शब्द फिराएकी थियौ र कहिले त्यहाँ ?,

स्वानी हुन् त तिमी जस्ता यस्ता स्वास्नी मिलून् कहाँ ?”

कुट्थ्यो स्वास्नी सधैं जस्तो जुठे झन् कम थ्यो कहाँ

बेलुका जाँड खाएर निहुृँ खोजी नयाँ नयाँ ।

कटाच्छे पर्दथ्यो अर्कै चाडबाड भएपछि,

मारामार हुने गथ्र्यो साँझसाँझ परेपछि ।

झरी बालद पर्दैमा जुठेकी जोईको जिउ,

दुख्ने गर्छ अझैसम्मन् त्यही हो दुख्नुको निहँु ।

यिनै केही कुरा साथ जुठेकी जोईले पनि,

अन्त्यमा जिउ मर्काई केही यस्ता कुरा भनी—

“भक्त जस्ता भएका छन् अब ता अहिले यहाँँ,

पुराना के कुरा भन्नु नकुटेकै थियो कहाँ ?

फर्केन मुखले मेरो यौटै मात्र कुरा पनि,

सहेरै बस्तथें आफू जहाँसम्म कुटे पनि ।”

जुठेकी स्वास्नीका आफ्ना बितेका दिनका कुरा,

सुनेर पग्लियो चामे गौंथलीमा कता कता ।

“हो त नि ! के कुटेकैले मुखाले भई भन्दछ्यौ ?

तिमी जस्तो भएदेखि राख्थें पूजा गरी गरी ।”

चामेमा भित्री यो भाव जुठेकी पत्नीले बुझी,

सुझाब दिन त्यो थाली चामेका मनमा पसी ।

“जे भए पनि हो स्वास्नी, स्वास्नी जैरीहरूसँग,

सधंै टेक लगाएर बस्तछौ अब कोसँग ?

बोक्ने पानी पँधेराको कोही छैन सघाउन,

बिहान भोलि नै जाऊ गौंथलीलाई ल्याउन ।”

जुठेकी स्वास्नीको यस्तो सल्लाह उसले सुन्यो,

तथापि उसले फेरि भक्भके स्वरमा भन्यो–

“ज्ञान जानेर आएमा छँदैछ घर यो यहाँ,

त्यस्लाई लिनका लागि पोडे भए म जाउँला !”

हेर्दा चामे थियो लर्दू इस्टकोट लगाउँथ्यो,

तेर्छे कछाड फेरेको उसलाई सुहाउँथ्यो ।

जवानीको थियो बेला छड्के पारेर लाउँथ्यो,

मैलोले टल्किएजस्तो टोपी कालै भए पनि ।

भर्खरै रेखी बस्तै थे जुँगाका ओठमा यता,

लाउँथ्यो आँखीभौं माझ टिको सिन्दुरको उता ।

भेसमा लाग्दथ्यो यस्तो चामेलाई सुहाउने,

भान पथ्र्यो हिंड्यो झिल्के तरुनी नै फकाउने ।

कुनै एकाबिहानै त्यो घरधन्दा छिटै सकी,

तमाखु खान लागेर सुस्तायो पिंढीमा बसी ।।

त्यसै बेला त्यतैबाट गाउँमा काममा कतै

जाने काम भएकोले जुठेको जोडी देखियोे ।

स्वास्नी पछाडि लाएर आफू लागी अघिल्तिर

उसैको घरको बाटो जुठे आयो त्यतैतिर ।

छोरो बोकेर लागेको अगाडि त्यो जुठे थियो,

बोकेर कुटुरो सानो स्वास्नी हिंंड्थी पछि पछि ।

चामेलाई त्यहाँ देखी जुठेले मुस्कुराउँदै,

“के मेलो गर्दछस् कान्छा ?” भन्यो सुर्ती उडाउँदै ।

चामेले मुस्कुराएरै दियो उत्तर झट्पट,

“बसिबसाउ मात्रै छ बाँकी के गर्नु नै छ र ?”

व्यङ्ग्यका भावमा फेरि जुठेले यो कुरा भन्यो,

“गरेर मोज बस् एक्लै धपाइस् स्वास्नी माइत ।”

यस्ता केही कुरा गर्दै बाटो लाग्यो जुठे जब,

चामेका मनमा लाग्यो जुठे धन्य छ वास्तव ।

सारै पिर्ति थियो भित्र जुठेका परिवारमा,

चामेले शून्यता पायो उसका घरबारमा ।

स्वास्नीलाई लगाएर अगाडि हिंड्दथ्यो सधंै,

सिएर कपडा त्यस्ले गुजारा गर्दथ्यो सधैं ।

गृहस्थी घरका केही सुखका दुःखका कुरा,

गर्दै जान्छे सधंै जस्तो अनि फिर्थे त्यसै गरी ।

बारखरी सिकेकोले जुठे थाल्थ्यो कुनै दिन,

विराटपर्वका श्लोक पढेर गुन्गुनाउन ।

भट्याउँथ्यो जसै चामे सिलोक हेरी सुस्तरी,

सुन्दथी उसकी पत्नी चुलो चौको गरीगरी ।

जुठे पथ्र्याे सधैं जस्तो बिरामी यामयाममा,

धामी र झाँक्री खोजेर हिंड्दथी स्वास्नी गाउँमा ।

कपडा सिउने गथ्र्याे इष्टमित्रहरूकहाँ,

स्वास्नीलाई सँगै लान्थ्यो जान्थ्यो आफू जहँजहाँ ।

स्वास्नीकै साथ जिस्कन्थ्यो इत्रन्थ्यो त्यो सधैं भरि,

स्वास्नीकै साथमा आँखा झिम्क्याउँथ्यो घरी घरी ।

‘दाँत फुक्ले अझै ठट्टा गर्ने बानी छ यो किन !

कस्तो हो यो बूढो मान्छे राम्रो लच्छिन देख्तिनँ ।’

उसकी स्वास्नीले छेड हानेर भन्दथी यता,

झन् अझै स्वाद मानेर आँखा झिम्क्याउँथ्यो उता ।

जिउ पाकेर के गर्नु मन काँचै भएपछि,

मान्छे जोगी कहाँ हुन्थ्यो स्वास्नी साथै भएपछि ?

जुठे चोखी निती गथ्र्यो मनको त्यो सफा थियो,

पँधेरातिर लागेर बिहानै त्यो नुहाउँथ्यो ।

पँधेर्नीहरूले धुन्थे पँधेरामा सधैं लुगा,

खर्कुंडामा उमालेर आगो बालेर दन्दन ।

खरानी त्यही नै झिक्तै जुठे चन्दन लाउँथ्यो,

त्यो बेला उसले एक सिलोक पनि गाउँथ्यो ।

बाहुका बलले आफ्नै एक मानु कमाउँथ्यो,

जुठेको घर चामेको आदर्श कहलाउँथ्यो ।

एकातर्फ जुठेचाहिँ भात खाई सकेपछि,

विराटपर्वका श्लोक पढ्थ्यो रात भएपछि ।

त्यसै बेला उतातर्फ चामेका घरमा भने,

रुवावासी हुने गथ्र्याे नित्यकर्म गरे सरी ।

सँगैका घरमा यस्तो शान्तिले वास छाउनु,

चामेका घरमा कस्तो अशान्ति नै छ पाउनु ?

तमाखु तान्नमा मस्त चामेका मनमा प¥यो,

आफ्ना गृहस्थीका साथ जुठेको तुलना ग¥यो ।

जुठेका जोडीको कस्तो माया पिर्ति छ साँधमा,

फुटेको कर्म बोकेर आएँछु म निधारमा ।

सँगै बस्छन् सँगै खान्छन् सँगै हिंड्छन् सँधै भरि,

जुठेको भाग्य पो भाग्य मेरो भाग्य कठैबरी !

लोग्ने होस् त जुठेजस्तो भाग्यमानी परोस् हुन,

चामेको भाग्य के भाग्य ? त्यस्ले पर्छ सधैं रुन ।

बिहाका यतिका वर्ष बितेका छन् कुनै दिन,

मिठो बोली कता सुन्ने थाल्दछे अझ बम्कन ।

झगडा मात्र त्यो गर्र्छे माइतैतिर भाग्दछे,

तेरो भाग्य फुट्यो चामे त्यो खाली मुख लाग्दछे ।

भएको एउटा भैंसी एकहाते बनाइछे,

मलाई नजिकै पर्न नदिने पो गराइछे ।

यही नै भैंसीले गर्दा गालामा लबटो प¥यो,

कोकले पाजीले मेरो गर्नु नगर्नु नै ग¥यो ।

यो भैंसी अब के गर्ने भिरबाट खसाऊँ कि ?,

साहूका रिनको पोको साहूलाई फिराऊँ कि ?

भोकै बस्छु सधैं एक्लो चुलोचौको कति गरूँ,

खोलामा हाम फालूँ कि अथवा झुन्डिई मरूँ ?

यो छुसी जिन्दगीलाई कसरी हो बिताउनु,

फुस्रा जोगीहरू जस्तै घरानी घसूँ कि अब ?

बहुरङ्गी भनी भुक्लान् गाउँ नै भरि कुक्कुर,

भन्लान् पामर हो चामे नबुझेको कहाँ छ र ?

गृहस्थी सब छाडेर जोगी जस्तो भए पनि,

के शान्ति पाइएला र एक पेट भरे पनि ।

त्यस्तो गर्दा कुरा गर्लान् गाउँठाउँ उँधो उँभो,

कोदालो खन्न छाडेर भयो कस्तो लबस्तरो ?

लौ बने म अरे जोगी पाटीको बास हुन्छ त्यो,

तातो पानी दिने कस्ले बिरामी परियो भने ?

त्यस्ता जोगीहरूलाई स्वाँठ हुन् म त भन्दछु,

काममा लाग्न छाडेका छाडा साँढे म ठान्दछु ।

भनोस् कि नभनोस् अर्काे आफू नारायनै भनी,

त्यस्ता जोगीहरू ठग्छन् गाउँगाउँ गनीगनी ।

खरानी घस्तछन् आफ्नो निधारै भरि यस्तरी,

लबस्तरा कुनै हुन्छन् कुनै हुन्छन् लबस्तरी ।

ठुलाठुला खला हेरी झोला बोकी चहार्दछन्,

ठगेर दुनियाँलाई आआफ्नो भुँडी भर्दछन् ।

यो पनि जिन्दगी हो र त्यो खाली ठगी मात्र हो,

संसारी रापले पोल्दा छेलिने ठाउँ मात्र हो ।

यस्ता धेरै कुरा सोच्यो चामेले भई भावुक,

यस्ता काँचा कुराबाट के पाओस् उसले सुख ।

एकातिर प¥यो चामे फन्दामा व्यवहारको,

दूध धेरै दिने भंैसी थाकेको छ उतातिर ।

भागेर गौंथली एक्लै माइतीमा गएपछि,

गौंथलीको लिँदा नाम चामे झम्टन खोज्दथ्यो ।

गौंथली नहुँदा आए मनमा धेर मन्थन,

बिजोग घरको देखी थाल्यो गौंथली सम्झन ।

सारै जाँगरिली लाग्थी घाँस काटेर ल्याउँथी,

मनभित्र थियो माया मुखाले नै भए पनि ।

बिहान साँझ जे हुन्थ्यो एक मानु पकाउँथी,

सुखमा दुःखमा मेरो दिन रात सघाउँथी ।।

धेरै काल भएँ भोको खानको छैन साइत,

म खाऊँ के बनाएर जब त्यो गई माइत ।

ठेट्नाका भरमा काटूँ लामो रात कसो गरी,

तातो तातो पकाएरै खान दिन्थी घरीघरी ।

पशुको जात हो कस्तो एकहाते भएछ यो,

गौंथली दुहुने गर्थी त्यो गएपछि बिच्कियो ।

दुहुन्थी भैंसीको दूध सधैं त्यो गबुवा भरी,

अघाई डम्म त्यो हुन्थ्यो गल्ली गल्ली चरी चरी ।

दही दूध पुगेकै थ्यो छताछुल्ल घरै भरि,

भैंसी यो हुन गो दुर्छे पाल्ने हो अब के गरी ?

छिमेकीहरूले भन्छन् गौंथलीलाई ल्याउन,

कसरी जानु हो आफ्नै स्वास्नीलाई फकाउन ?

जाऊ झट्टै लिई आऊ भन्दैछन् इष्टमित्रले,

के गरी लिन हो जाने मेरो जस्ता चरित्रले ?

चामेका मनमा यस्तो द्वन्द्वको छाल छल्कियो,

गौंथलीमाथिको क्रोध मानौं त्यो पनि अल्पियो ।

जे पर्ला त्यो त्यसै टर्ला लिनै जानुप¥यो अब,

त्यो आए आउली हेरौं नआए त्यो नआउली ।

यस्ता धेरै कुरा सम्झी चामे सुस्त भयो अब,

भोलिपल्ट लिनै जाने ग¥यो अन्तिम निर्णय ।

भोलिपल्ट बिहानैको कुरा हो त्यो जसो तसो,

भातसात टिपी चाँडै लिन जान तयार भो ।

पनेलाका थिए दौरा सुरुवाल झिकिकन,

झिकेर लाउने त्यस्ले गर्न लाग्यो उपक्रम ।

पट्याएर नराख्नाले खुम्चिएछन् लुगाहरू,

त्यो देखी रिसले चामे फन्फनायो अझै अरू ।

“हेर यो राँडको छाँट कस्ती हो यो अलच्छिनी,

‘माल पाएर के गर्नु चाल पाउनुपर्दछ ।’

बिर्के टोपी लगाएको उस्का बाबु बराजुले,

भए पो त्यसको अर्थ जान्दथी त्यस मूर्खले ।

फाटेको टोपी लाएर भिरी भाङ्लो सधैं भरि,

गादो पारेर जो हिंड्छ मगन्ते सरिको भई ।

बूढो खोल्मे छ काक्ल्याँटो छोरी कस्ती बनाउँछ ?

कुनै बाहुनले च्याउ खाए पो स्वाद पाउँछ ।”

केही बेर त्यहाँ चामे फत्फतायो यसो उसो,

खुम्चेकै कपडा भिर्दा बेहुलो सरी देखियो ।

इस्टकोट कुनै अर्काे थिएन जे थियो उही,

लगायो बाहिरी त्यस्ले टाँसिएको कुरो टिपी ।

छड्के पारी डँडेल्नोमा ससानो कुटुरो भिरी,

हातमा एउटा झुत्रो छाता बोक्यो त्यसै गरी ।

घरबाट हिंड्यो चामे सोझो बाटो फटाफट,

दायाँबायाँ नहेरेर आफ्नै बाटो सटासट ।

ढल्किनै घाम लागेका बेलामा ससुरालीको

घरमुन्तिरको एक बस्यो चौतारीमा पुगी ।

पसिना जिउका पुछ्तै चामे सुस्ताउँदै थियो,

त्यसै बेला त्यहाँ माथि वनमा गीत गुन्जियो ।

भिरमा घाँस काटेर गौंथली फर्कंदै थिई,

बिसाई घाँसको भारी गीत यो गाउँदै थिई ।

‘मान्छे हुँ म उडिजाने पङ्खी जस्तो म होइन,

भित्र मेरो मनै छैन बस्न ता यस ठाउँमा ।’

यस्तै आशयको गीत सुरिलो स्वरमा अझ,

गुन्जियो यस्तरी मानौं थर्किंदै छ कि जङ्गल ?

चामे मुर्मुरियो भित्रै गौंथीलीको सुनी गीत,

घरमा भैंसी भोकै छ कस्तो हो यसको रीत ?

उहाँ घाँसै नपाएर भैंसीको पेट खाली छ,

यहाँ ता गौंथली हेर गीत गाउन थालिछ ।

सारङ्गी झैं भई पेट भैंसी भोकै छ गोठमा,

यसको लौ यहाँ हेर गीत फुर्दैछ ओठमा ?

चामेका मनमा भित्र यस्तै आशय झल्कियो,

सुस्ताएपछि बिस्तारै उकालोतिर लम्कियो ।

बाटो थोरै थियो हिंड्न हिंड्दा सुस्तरी सुस्तरी,

चामेका मनमा फेरि शङ्का आए थरी थरी ?

‘किन छोरी कुट्यौ ?’ भन्लान् गाली गर्लान् सके जति,

हुन्छ होला यहाँ चामे तेरो कस्तो अधोगति ?

‘गौंथली घर हिंड्’ भन्छु जस्तो जस्तो परे पनि,

सासूले ससुराबाले जे जे गाली गरे पनि ।

माया गर्दै म यो भन्छु लौ लथालिङ्ग भयो घर

बुझायो मन आफैंले चामे यो कम के छ र ?

कुटेको गौंथलीलाई सम्झी झस्केर तर्सियो,

मान्छे तर्सन्छ सानैमा गल्ती साँच्चै ठुलै थियो ।

तमाखु तान्नमा मस्त ससुरो पिंढीमा बसी,

रहेछ त्यो जसै देख्यो चामेले घरमा पसी ।

सासूलाई जसै देख्यो चामेले जोडी हातले,

नमस्कार ग¥यो त्यस्ले केही आदर भावले ।

फर्काई सासूले ढोग भाँडा मल्दै भए पनि,

जुठै हात थिए उस्का जुठा हातै भए पनि ।

अन्कनायो त्यहाँ चामे केही बेर कता कता,

बाङ्गो ढाड लगाएर बात मार्दै यता उता ।

नली हुक्का थमाएर चामेका हातमा उता,

ससुरो ढोग्न लाग्दैथ्यो खुट्टा जोडिदियो यता ।

चूपचाप बस्यो चामे हुक्का तानेर यस्तरी,

पिंढीका डिलमा मानौं मूर्ति नै ठडिए सरी ।

चामे बाहिर बस्तैथ्यो केही काल बितेपछि

बोकेर घाँसको भारी गौंथली घरमा पसी,

बिसाई घाँसको भारी त्यसले पसिना पुसी ।

छड्के नजरले हे¥यो चामेले गौंथलीतिर,

उसकै जोई हो क्या रे केको सर्म छ आखिर ?

चोलो त्यस्ले पनेलाको लाएकी रहिछे अनि,

मिलाई छाँद पारेर छिटको फरिया पनि ।

पारेर फरिया गुत्थो लाएकी त्यो कुनै परी,

जस्ती लागी यता चामे चोरी हेथ्र्यो घरी घरी ।

रातो गुराँसको फूल घुसारेर कपालमा,

स्वर्गकी अप्परा मानौं पस्तै छे कि सँघारमा ?

पुष्ट छाती थिए त्यस्मै चामेको दृष्टि ठोक्कियो,

फुरौला मनमा पाके मानौं सन्सार रोकियो ।

फरिया माथि सार्नाले पिंडौला केही देखियो,

तिनै सेता पिंडौलामा चामेको दृष्टि ठोक्कियो ।

हातमा छन् नयाँ बाला प्वाँलोको घाँटीमा लुङ,

रातो सिन्दुरको टीका लाएकी छे निधारमा ।

साँवलो वर्णकी केही काली जस्ती हुँदा पनि,

स्वर्गकै सुन्दरी ठान्यो आफ्नै स्वास्नी भए पनि ।

स्वास्नी मानिस देख्यो कि लोग्ने मानिसको मन,

चोरेरै हेर्न चाहन्छ चामे थ्यो अझ के कम ?

त्यो चामेले जसै देख्यो गौंथलीको मुखाकृति,

उसले मनमा पायो अनौठोे एक कुत्कुती ।

मनमा उसका आए सुनौला भावनाहरू

गौंथलीका प्रतीक्षामा चामे व्यग्र भयो अरू ।

चामेका नजिकै आई गौंथली साँझ साँझमा,

समाई त्यसका खुट्टा र ढोगी एक सासमा ।

चाहन्थी भाग्न त्यो चाँडै चामेबाट कतैतिर,

घोसे मुन्टो लगाएर बसी थोरै त्यहींनिर ।

चामेको मन भो दङ्ग त्यो अझै परितृप्त भो,

त्यसलाई समाएर चुम्न पाए हुने थियो ।

केही यस्तै कुरा ठानी गरेरै केही साहस,

हात गांैथलीको छाम्यो चामेले प्रेमपूर्वक ।

ठुस्किएभंैm गरी भान भागी गौंथली क्यै पर,

चामेका हात पन्साई लागी भित्र कुनातिर ।

साँझको भात खाएर सुत्नलाई प्रबन्ध भो,

बाहिरै पिंंढीमा त्यस्को बिच्छ्यौना लाइने भयो ।

चामे ओच्छ्यानमा पल्ट्यो, खोज्थ्यो चाँडै निधाउन,

बाहिरैसम्म निस्कन्न गौंथली किन हो किन ?

सबैले भात खाएर चुलोचौको सकेपछि,

सुत्न लागे सबै प्राणी ठुलो रात भएपछि ।

केही काल बित्यो कोही बत्ती बोकेर हातमा,

चोटामा पस्न लागेको चामेका दृष्टिमा प¥यो ।

राती निद्रा नलागेरै भयो के गरूँ के गरूँ,

चामेका मनमा फेरि खेले यस्ता कुराहरू ।

‘कुटेंछु व्यर्थमा मैले गौंथलीलाई त्यो दिन,

कसरी कसरी पस्छ मेरा भित्र अलच्छिन ।

हाट भर्न बिहा हेर्न चौचौ गर्छन् घरीघरी,

स्वास्नी मानिसको हुन्छ मनभित्र परिपरी ।

चढ्दो उमेरकी मेरी गौंथलीले ठुलो खती,

गरेकी के थियो गल्ती मै हँु वास्तव दुर्मति ।

रमिता हेर्नका लागि गाउँमा ठाउँमा गई,

त्यसैको निहँु पारेर कुटेंछु निर्दयी भई ।

त्यतिसम्म नखप्नेले सुमर्नु स्वास्नी व्यर्थ हो,

त्यस्ता मोराहरू बस्नु बिहे नै नगरी बरु ।

भात चाँडै पकाएर त्यसले ख्वाउँदै थिई,

ढिलो भन्ने निहुँ पारी कुटेंछु निर्दयी भई ।

स्वास्नीमानिस हुन् लक्ष्मी स्वास्नीमानिस हुन् धन,

नबुझ्ने हुन् महापापी स्वास्नी मानिसको मन ।

नबुझ्ने म पनि कस्तो ! लाटोबुङ्गो रहेछु कि ?

अधर्मी पापी बैमानी लाटो गाँडै रहेछु कि !

व्यर्थै हात उठाएँछु हे दैव पाप भो किन,

फर्किएर गए फेरि कहिल्यै अब कुट्तिनँ ।

जुठे दमाईंको भन्दा धेरै माया गरीकन,

गौंथलीलाई राख्नेछु राम्रो लोग्ने भईकन ।’

चामेका मनमा भित्र यस्तो खुल्दुली चल्दथ्यो,

सुत्न खोज्थ्यो जसै चामे उपियाँ अझ टोक्तथ्यो ।

आँखा चिम्लेर के हुन्थ्यो निद्रा नै नपरेपछि,

स्वास्नी पाएर के हुन्थ्यो नजिकै नपरेपछि ।

काट्यो वर्केर फर्केर लामो रात यसै उसै,

केही झप्की भयो मात्र बिहानी पख भो जसै ।

बिहानी पखमा ढोका घ¥याक्क गरी खोलियो,

यो पक्कै गौंथली नै हो चामेका मनमा भयो ।

ढोका खोलेर आएको ससुरो पो रहेछ त्यो,

हलुको हुनका लागि करेसातिर त्यो गयो ।

के भन्ने आजको रात छट्पटाई बिदा भयो

औडाहा मनमा बोकी चामेको रात यो गयो ।

बिहानै घर छाडेर कोही लागे कताकता

गाउँमा घरमा हुन्छ एक यस्तो विशेषता ।

घरका काममा लागे मेलो पात थियो जता,

गाई खर्काउने बेला भएको देखियो यता ।

ससुरो चाहिँ चामेको माथि पर्खालमा बसी,

तमाखु तान्न त्यो लाग्यो हुक्का हात थियो नली ।

डालामा बोकी ल्याएर भित्रबाट त्यसै घरी,

मकै छोडाउनै लागी सासू त्यो पिंढीमा बसी ।

भित्र गौंथली गर्दैथी चुलोचौको मझेरीमा,

केही भन्ने ग¥यो आँट चामेले यही माझमा ।

लाज माने गरी जस्तो चामे बोल्न ग¥यो सुरु,

सानो बोली लगाएर बोल्न थाल्यो खुरु खुरु ।

“खेती कमाइको बेला चटारो घरमा प¥यो,

ससुराज्यू म एक्लै छु छोरी पठाउनै प¥यो ।”

उसको ससुरो थाल्यो पहिले अन्कनाउन,

गालामा नली अड्याई ग¥यो यो अनि गन्थन ।

“हुन ता ज्वाइँ तिम्रै हो मेरी छोरी जसै गरे,

अनेक नाम राखेर सरापेका थियौ अरे ।

गरीबी हो ठुलोे रोग गरिबै छु अझै पनि,

हात थाप्नु प¥या छैन आजसम्म कतै पनि ।

मेरी छोरी दिएकै हुँ तिम्रै पाउ पुजीकन,

आफ्नी स्वास्नी रिझाएर लगे हुन्छ म रोक्तिनँ ।”

यस्ता केही कुराबाट बूढाको बुझी आशय,

चामेले ङिच्च हाँसेर मुख बाङ्गो ग¥यो अब ।

त्यहाँ बेर बित्यो यस्तै गरेर केही गन्थन,

तयार हुन गो चामे आज नै घर फर्कन ।

तयार भो यता चामे जुठोचुलो सकीकन,

उता जङ्गलमा जान तयार परी गौंथली ।

बिस्तारै अब त्यो चामे गौंथलीतिर लम्किँदै,

बोल्न थाल्यो कुरा यस्ता पाखुरामा समाउँदै ।

“डोको नाम्लो लिई ऐले हिंड्दैछेस् किन बाहिर,

भैगो लौ घरमा जाऊँ लथालिङ्ग भयो घर ।”

रिसाएझैं गरी बोली गौंथली “यो कुरा किन ?

भैगयो घरमा हेर, मारे मार म जाँदिनँ ।”

तत्कालै फेरि चामेले सोध्यो गौंथलीलाई यो–

“घर आफ्नो नजाने रे ? कहाँ जान्छेस् उसो भए ?”

दिई उत्तर चामेको गौंथलीले उसै गरी,

चामेका मनमा आए धेरै शङ्का थरीथरी ।

“जोगिनी हुन्छु भो जान्न, फेरि त्यो घरमा अब,

एउटा जिउ हो मेरो पालिहाल्छु जहाँ पनि ।”

एकपल्ट उठ्यो झ्वाँक चामेका मनमा पनि,

काटूँ कि जिन्दगी एक्लो गौंथली नभए पनि ?

भुक्तभोगी थियो चामे एक्लो जिन्दगीकोे पनि

तत्कालै त्यसले सोच्तै बोल्यो सम्झाउँदै अनि ।

“घरमा भैंसी भोकै छ, कसले घाँस काट्तछ ?

जोगिनी हुन्छु पो भन्छे त्यस्तो जिन्दगी व्यर्थ छ !”

“काट्नु क्या घाँस आफैंले आफ्नो भैंसी भएपछि,

मलाई पर्छ के खाँचो जोगिनी म भएपछि ?”

“नबोल् धेरै कुरा चाँडै खुरुक्क घर हिंड् अब,

घरबाट हिंडिस् जैले लठिभद्रै भयो घर ।”

गौंथलीले कुरा केही चपाएर यसो भनी,

फुरौलाहरू पाक्तैथे उसैका मनमा पनि ।

“लगेर घरमा कुट्छौ खोजी खोजी नयाँ निहूँ,

तिम्रो बानी बुझेकै हो अझै झिर्न छ यो जिउ ।”

“अब पोडे भए फेरि कुटौंला !” त्यसले भन्यो,

गौंथलीका गुनासाले भरिएका कुरा सुन्यो ।

अब कैल्यै नकुट्ने त्यो वाचा गौंथलीले सुनी,

“नाप्पियो भो कुरा तिम्रो !” ओठ लेब्र्याउँदै भनी ।

भित्र भित्र फिेरेकै हो गौंथलीको मनोदेशा,

स्वाङ पारेर झिक्तै थी कुरा बाहिरबाहिर ।

डोको नाम्लो त्यसै छाडी गौंथली घरभित्र गै,

आफ्नो लोग्नेसितै जान चाँडो चाँडै तयार भै ।

लुगा टम्म लगाएर हल्का शृङ्गारमा सजी,

गौंथली बाहिरै आई चामेकै छेउमा बसी ।

गाउँकै भेसमा यद्वा सादा शृङ्गारमै पनि,

नारी लोभ्याउने गर्छन् शृङ्गारै नगरे पनि ।

चामे दङ्ग प¥यो यस्तो उसका चालढालमा,

चुमौं कि मनमा हुन्थ्योे गौंथलीका निधारमा ।

ठेकीमा दही बोकेर सासू बाहिर निस्किई,

बाटो लाग्यो उता चामे बोकेर ठेकीको दही ।

हातमा ठेकी झुन्ड्याई लोग्ने लाग्यो अघिल्तिर,

पोटली एक बोकेर स्वास्नी लागी पछिल्तिर ।

गौंथली नबुझे जस्तो भएर केही चञ्चले,

घर पुग्न थियो धेरै जाँदा जाँदै कुरा चले—

“कति दिन्छ हिजो आज साँझमा भैंसीले दूध ?

घाँसै खान नपाएर के देला त्यसले दूध ?”

“माना चारेक त्यो दिन्छ भैंसीले दूध साँझमा !”

ढाँटेर प्रश्न फर्कायोे छाम्दै आफ्नो निधारमा ।

चामेकै तर्फ फर्केर लोप्र्याई ओठ गौंथलीे,

उसले भाव यो पोखी मान्छे यो छ बडो छली ।

डाँडामा घाम बस्तै थे साँझ साँझ हुँदै थियो,

बाटो लामै थियो हिंड्ने बल्ल त्यो मार्ग काटियो ।

गाईवस्तुहरू साथ गोठाला फर्कंदै थिए,

चामे र गौंथली धूलो उडेको ठाउमै पुगे ।

गौंथली अघि लागेर पँधेरानिर आउँदा,

जुठकीे स्वास्नीले देखी सामुन्ने जोडी पाउँदा ।

व्यङ्ग्यका भावमा बोली जुठेकी स्वास्नी झट्पट,

मुखबाट झिकी लामो जिब्रो तानेर फट्फट ।

“ओहो क्या देखियो आज चखेवा र चखेवी झैं,

क्या राम्रो छ सुहाएको यस्तै देख्नुपरोस् सधैं ।”

जुठेकी स्वास्नीको यस्तो व्यङ्ग्य बोध गरेपछि,

मुसुक्क मुस्कुराएर भन्दछे अब गौंथली ।

“भो नहाँस दिदी फेरि चाहिन्थ्यो किन साइत,

कटाच्छे कहिले पर्छ भन्ने लाग्छ मलाई त !”

जुठेकी स्वास्नीले यस्तो शङ्का गौंथलीको सुनी,

प्रसङ्ग केही फेरेर त्यस्ले गाँठी कुरा भनी—

“ठाक्कठुक्क सधैं पर्छ लोग्ने स्वास्नीहरू बिच,

चाटाचाट पनि गर्न बेर लाग्दो रहेनछ ।

यो हो परालको आगो कहिले बल्छ दन्दन,

बेरै लाग्दैन यो आगो तुरुन्तै साम्य यो हुन ।”

अन्तमा ः

माफ माग्नु प¥या छैन मैले पाठकका सँग,

गुरुप्रसादका साथ माफ माग्नु प¥यो अब ।

तलमाथि नपारेरै पद्यबद्ध गरूँ भनी,

केही यत्न गरें मैले यसका धनी हौ तिमी ।

कसैले यो कथालाई लीला लेखनको निहूँ

झिकेर यति कुच्याए तिनको पोल के भनूँ ?

पुनर्मिश्रणको आज कला र गीतमा यति,

भएको छ यहाँ सस्तो बिङ्गो लाउनु हो कति ?

छन्दको लोभले गर्दा धेरै वर्ण खँुडा भए,

माफ मागिदिनु होला लेखनाथ त्यहाँ भए ।

अनुष्टुप् छन्द हो यस्का बेग्लै नाना प्रकार छन्

त्यसैमा लेख्न यो थालें धेरै यस्मा विकार छन् ।।

तथापि पद्यमा लाँदा धेरै गल्ती भए भने

क्षमा पाऊँ भए गल्ती माया राम्रो भयो भने ।

।। समाप्त ।।

महाकवि देवकोटाको निबन्ध

के नेपाल सानो छ ?

‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,

कुनै बेला म आफैंले लेखें यो छ मनोहर ।

कसरी शब्द त्यो आयो अहिले छक्क पर्दछु

लेखें त्यो कसरी मैले म आफैं मख्ख पर्दछु ।

के भनौं म यहाँ धेर यसमा के छ साधना

मेरै नेपालका लागि आयो त्यो किन भावना ?

यो भूमण्डलको नक्सा पल्टाएर नियालिए

एक बिन्दु भनेजस्तो लाग्छ यो परिमाणमा ।

त्यहाँ देखिन्छ यो देश कण झैं एक बिन्दुमा

हराएसरि झंै लाग्छ थोपो सागर सिन्धुमा ।

कसैले यसको नाम सुनेका हुन सक्तछन्

नसुन्ने यसको नाम धेरै नै हुन सक्तछन् ।

शान्तिका राजको धानी, हरियो धर्तीको कण

सानो छ तर प्यारो छ खिचिन्छ यसमै मन ।

बढेर गर्न सर्वाङ्ग चाहँदैन प्रदर्शन

यो देखाउनमा भन्दा लुक्नमा रुचि राख्तछ ।

घम्साघम्सी र घच्चाले ढाकेको दुनियाँसँग

काढेर पसिना हिस्सा खोज्दैन यो कसैसँग ।

एकान्त शान्त यो देश शान्तिमा अलमस्त छ

समाधिस्थ हुने योगी यसैमा आई बस्तछ ।

ध्यानमा ज्ञानगङ्गामा अथवा हिमशैलमा

देश यो हुन्छ आह्लाद आफ्नो आफ्नै तरङ्गमा ।

नयाँ सिर्जनमा आस्था राखे तापनि देश यो

हाम्रो प्राचीन आस्थाको हाम्रो देश पुजारी हो ।

हिजैको सपना देख्छ ताजा स्वर्ण प्रभातको

आजका युगमा खेली लुकामारी गरे पनि ।

भन्लान् यो देश सानो छ, सानो छ तर स्वर्ग छ

हेर्दा अल्प छ यो देश हाम्रै आँखा समान छ ।

यहाँ जन्मनु हो पुण्य, कुरा हो अझ गर्वको

मुटुकै केन्द्र हो मानौं हाम्रा भारतवर्षको ।

महत्ता यसको बुझ्ने छैनन् भन्न म सक्तिनँ

तथापि यसको मर्म बुझ्लान् भन्न म सक्तिनँ ।

पर्वतस्तनका भित्र यसको गहिराइ छ,

पार्वतीको क्रीडा क्षेत्र थियो भन्ने भनाइ छ ।

ममा सङ्कोच यो छैन आफ्नो सत्य म जान्दछु ।

आफ्नो आकारमा सानो मेरो देश छ मान्दछु ।

साना हुन्छन् हीरा मोती, सानो हुन्छ अझै मणि

सानैमा प्रिय मानिन्छ मिष्टभाषी कुनै शिशु ।

सानोका गुण लाखौैं छन् हात्तीले शैल छुन्छ र

ठुलो आकारमा हाम्रो आँखाको नानी हुन्छ र ?

सानोको गणना भित्र मान्छेको मुटु पर्दछ

त्यसैको केन्द्रको झल्का सानोमा अझ पर्दछ ।

सानोको के कुरा गर्ने सानो आफैं अनन्त हो

सानो ठान्नु ठुलो ठान्नु सोचकै परिणाम हो ।

त्यसैले म यसैभित्र अनन्ताकार देख्तछु

शान्त सुन्दर यो देश मानेर अझ लेख्तछु ।

पृथ्वीका शिरको बिन्दु परमानन्दको छटा

यो हो आेंकारको बिन्दु अथवा शिवको जटा ।

सानो भन्ने कुरा के हो अनि के हो ठुलो कुरा ?

मात्रै यो भ्रम हो हाम्रो ठुलो सानो हुने कुरा ।

यहाँ ताराहरूलाई ठुलो हुन्छन् भनूँ भने

लाग्छन् जूनकिरी जस्ता व्योमका गहिराइमा ।

सूक्ष्मदर्शी लगाएर हेरेमा बालुवा कण

देखिन्छ त्यसको रूप अपूर्व र अजङ्गम ।

नयाँ विज्ञानले आज पारेको छ झिलीमिली

त्यसका जादूमा मान्छे स्वप्न देख्तछ झल्झली ।

सानो भन्नु ठुलोे भन्नु दृष्टिको भेद मात्र हो ।

एक भौतिक हो त्यस्तै अर्काे अध्यात्म ज्ञान हो ।

कसैले चीनका साथ यसको तुलना गरी

देश यो सानु हो भन्दा हाँसो उठ्छ मलाई ता ।

त्यस्ता क्षुद्र कुरा भित्र महत्ता कति हुन्छ र ?

मान्छे भन्दा ठुलोे हात्ती हुन्छ भन्नु बराबर ।

कुनै खेत ठुलोे हुन्छ माटोका परिमाणले

यस्तो भन्नु वृथा हुन्छ यस्तो मान्न म सक्तिनँ ।

ठुलोे ता गुणले हुन्छ अथवा परिणामले

उब्जनी आदि पो हुन्छन् माटो जाँच्ने नयाँ कसी ।

बाहिरी रूप वा छाँट हेरी अन्तर तौलने–

मान्छेको धर्म के भन्ने त्यस्ता हुन् डेढ अक्कली ।

सङ्ग्रहालयका सारा किरो झंै भई पुस्तक

पढेथ्यो एक खैरेले एकएक गरी गरी ।

निलेका त्यसले लाखौं कृति भन्दा कता कता

माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।

अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले

नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।

दया लाग्छ सुनी यस्ता सोझा पाखण्डीका कुरा

अवकाश यहाँ छैन रुनाको तर त्यो सुनी ।

अङ्ग्रेजी वाणीले विश्व ढाकेको छ म जान्दछु

तथापि मातृभाषामै जादू हुन्छ म ठान्दछु ।

आफ्नै भाषा ठुलोे हुन्छ आफ्नै हुन्छ पवित्रता

अर्काको मातृभाषामा कहाँ पाइनु स्वच्छता ?

भत्भती ग्रीष्मको गर्मी सहेर घर फर्कंने

यात्रीले तरुको छाया पाएझैं हुन्छ शीतल ।

को हो को हो भनेजस्तो क्वैलीले स्वर गाउँछ

नेपाली मातृभाषामा नयाँ सौन्दर्य आउँछ ।

पश्चिमी पनमा मेरो आस्था छैन कतै पनि

मेरै नेपालमा रम्छु सानो सानै भए पनि ।

नाट्य संसारका राजा गेटे मिल्टन आदिका

रचनाहरूमा मैले पाएको छु विभिन्नता ।

तिनका रचनाभित्र छैन आत्मीयता कतै

हाम्रो पर्वतको जस्तो स्वच्छ भाव निनादिनी ।

उनका रचना भन्दा च्याङ्बाको गीत उच्च छ

यहाँ छन् भावना लाखौं त्यहाँको भाव तुच्छ छ ।

आफ्ना भावहरू तोडी अर्काको भई नक्कली

त्यस्तो बन्न म चाहन्न त्यस्ता हुन् डेढ अक्कली ।

‘बाल्ज’ सुन्न म चाहन्न चाहन्न धुन पश्चिमी

लोकगीतहरू मेरै आनन्दी मनमोहनी ।

आन्द्रा झर्लान् भनेजस्तो गरेर गीत गाउने

झ्याम्लेका गीत चाहन्न आत्मालाई रुवाउने ।

तोडफोड गरी काव्य अथवा गरी नक्कल,

लेघ्रो तान्नेहरू देख्ता मानौं रुन्छ नभस्थल ।

अङ्ग्रेजी धुनले मेरो कान पोल्दछ भत्भती

अङ्ग्रेजी धूनमै मस्त बन्छन् देख्छु कठैबरी !

झूटो रवाफले गर्दा सक्कलीपन ह्रास भो

घरको घाटको जस्तो भई हाम्रो विनाश भो ।

मिठा लवजले हाम्रो भाषाको आँत शून्य भो,

अर्काको भाव बोक्नाले सक्कलीपन नाश भो ।

हाम्रा लवजमा हाम्रै झर्नाका कण झर्दछन्

आलाकाँचाहरू व्यर्थै अर्काको बोली भर्दछन् ।

रवाफीपन खोज्दैमा आफ्नो भाव हराउँछ

अर्काको बोली बोल्नाले आफ्नो भाषा बिलाउँछ ।

बङ्गाली हिन्दी वा अर्कै भाषाका शब्द भर्दछन्

आफ्नो भाषा बिगारेर अर्काकै पछि पर्दछन् ।

रवाफीपनमा मस्त हुनाले आत्म गुम्दछ,

छोटा बोक्रेहरूलाई त्यसैमा विश्व घुम्दछ ।

हाम्रै प्रकृतिको हावा हाम्रै संस्कारको बल

भिजेको वाणी हो हाम्रो हाम्रै वाणी छ निर्मल ।

भाषा हो सभ्यता हाम्रो पछौटे नै भए पनि

त्यसैमा सभ्यता हुन्छ फैलेकै नभए पनि ।

यहाँ इन्द्रेणीका जस्ता सप्तरङ्गी तरङ्ग छन्

पहाडी उच्च झर्ना झैं स्वच्छ छन् परिपूर्ण छन् ।

नेपाली पनि के पढ्नु भनेर ठुस्किनेसँग

के बुझेर त्यसो भन्छन् ? सोध्ने हो अब कोसँग ?

गर्विलो बन्न चाहन्छन् आफूले अफूमै छली

तोडेर मातृभाषाका शब्द वाक्य पदावली ।

कोही बोक्रेहरू आफ्नो आत्माको भाव भुल्दछन्

अर्काको आड पाएर अर्काकै बोली बोल्दछन् ।

सानो शान्त तथा रम्य सुगन्धी स्वस्थ सुन्दर

मेरै नेपालमा हुन्छ प्रीतिको भाव निर्मल ।

उन्नति छैन यो मान्छु हाम्रा गाउँ र बस्तीको

तथापि यसमा केही छैन भन्ने म मान्दिनँ ।

गाउँमा ठाउँमा खोज्दा जे खोज्यो त्यही मिल्दछ

के छैन यसमा खोज्दा खोज्न पो सक्नुपर्दछ ।

कोदालो खन्नमा मस्त होलान् वाग्नर गाउँमा

अङ्ग्रेजी नाट्यका राजा हलो जोत्तै कतै हुनन् ।

सुकरात गुफाभित्र अथवा गाउँबस्तीमा

भेटिन्छन् खेत पाखामा आफ्नै मोज र मस्तीमा ।

खाजा खाई रमाएका होलान् होमर गाउमा

उता टर्नरले हाम्रै भेडी गोठ चराउनन् ।

असारे गीतमा मस्त कालीदास यतै हुनन्

धाराप्रवाहमा गाना गाउँदै मस्तीमा हुनन् ।

लेखको नागीमा हुन् कि बेंसीका फाँट फाँटमा

भेडी गोठ चराएका कालीदास यतै हुनन् ।

तिप्लिङ्गीहरूका साथ जिस्कन्छन् वाल्मीकि बूढा ।

लेखको बारीमा आलु खेती गर्छिन् शकुन्तला ।

टिसियन् अथवा अर्का नामी टर्नर पश्चिमी

भेडीगोठ चराएर बस्ता हुन् नागीनागीमा ।

सान्ड्रोला भारी बोकेर मानौं हिंड्छन् यतैतिर

गाउलान् लोकका भाका यहीं केलरले गीत ।

यहाँ सावित्री छन् धेरै विश्वले यिनका कथा

बुझेकै छैन के बुझ्थ्यो विश्वले यिनको कथा ?

यहाँ साहित्यका खानी पाइन्छन् कति हो कति

लेखिएको छँदै छैन नलेखे हुन्छ के खती ।

नाला खोल्साहरू भित्र वेदका वाणी गुँज्दछन्

त्यसको सार बिर्सेर तिलस्मीसँग भुल्दछन् ।

यो कान्तिपुरीको दृश्य यो सूर्याेदयको नभ

सुनौलो दृश्यको आभा कसले बुझ्न सक्तछ ?

हृदयाकाशका साना चराको ध्वनि मर्मर

बेलीकुञ्जहरूबाट बोलिँदैन र उन्नत ?

व्यासजी घाँस काट्ता हुन् हाम्रै पाखा पखेरीमा

पश्चिमी नाट्यका राजा खेत जोत्लान् कतैतिर ।

बिहानै पूmलका माझ टल्कने शितबिन्दुमा

देखिन्छन् मोतीका दाना हेरेमा श्वेत सिन्धुमा ।

सच्चा छन् आर्यका भाव लुकेका यस धर्तीमा

चोखो मानवतावाद फुल्दछन् यही धर्तीमा ।

मुटुमा देव संंस्कार उम्रन्छन् यही धर्तीमा

नयाँ जागृतिका राग गाइन्छन् यही धर्तीमा ।

यहीं निर्मल गङ्गाको छालमा चन्द्र खेल्दछन्

त्यसैका ध्वनिमा मानौ देवका स्वर गुँज्दछन् ।

यहीं निर्मल गङ्गाका छालको हुन्छ कल्कल

त्यही कल्कलमा मानौं गाएझैं लाग्छ कोकिल ।

दुनियाँभरमा शान्त स्वच्छ शीलतका कथा

खोज्नेले फर्किए हुन्छ भेटिनेछन् यता उता ।

चोखो भोजनले गर्दा चोखो रक्त प्रवाह छ

चोखो संस्कारका भित्र चोखो आर्यत्व भाव छ ।

सानो शैशवमै मानौं ज्ञानका रङ्ग झुल्दछन्

नेपाली मुटुमा मानौं सिर्जनाहरू खुल्दछन् ।

बाहिरी देशमा मैले देखेको छै्रन यो कुरा

आर्यको सपना हाम्रै देश भित्र सजीव छ ।

सजिलो पनमा हाम्रो नेपालीत्व छ झल्मल

सफा छन् भावना हाम्रा सिर्जनाहरू निर्मल ।

अर्काकै रूपमा हामी देख्तछौं निजको रूप

अर्काको रूपमा आफ्नो कस्ले देख्तछ त्यो रूप ?

यहाँ मानवले देख्छन् आफूझैं अरूमा पनि

बोक्रे मानवता हुन्छ भित्रको घोर बैगुनी ।

सभ्य हुँ भनिने देशभित्रका केही मानव

मान्छेमा राख्तछन् दृष्टि जस्तो राख्थे ती दानव ।

साँचो नेपाली त्यो हुन्न जसमा हुन्न शिष्टता

नक्कलीपनमा जोड्नु व्यर्थको हुन्छ मित्रता ।

नेपाली त्यो कहाँ हुन्थ्यो नेपालीत्व गुमाउने

नक्कली पनमा भुल्ने अथवा देश बिर्सने ?

नराम्रो मान्दछन् मानौं तिनै हुन् नक्कलेहरू

साँचोमा सत्यमा नित्य असन्तुष्ट हुनेहरू ।

मैदानीहरूको मानौं गिदी उम्लन्छ भत्भत

पहाडी शिशुमा हुन्छ ताजा सन्तुष्टि निर्मल ।

पूर्वाग्रही हुँदा दृष्टि कहाँ देखिन्छ ईश्वर

नेपाली दृष्टिले हेरे सर्वत्र जगदीश्वर ।

भित्री दृष्टि सफा राखे यहाँ दुर्लभ के छ र ?

देवताहरू नै हुन्छन् ढुङ्गामा दृष्टिगोचर ।

विदेशीहरूले मान्लान् हाम्रो भूमि छ जर्जर

यसैमा हामी देख्तैछौं यसै भित्र छ ईश्वर ।

साँघुरो गरी हेर्नाले देख्लान् यो अन्धकार छ

हाम्रा गम्भीर आँखाले हेरेमा यो अपार छ ।

यहाँ ईश्वरका झल्काझल्की मिल्छन् जताततै

ज्ञानका चक्षुले हेरे नहेरे छैन त्यो कतै ।

साँच्चै नै मूल्यवान् हुन्छ ज्ञान विज्ञानका अघि

मैलो चस्मा लगाएर हेरे देखिन्छ नक्कली ।

आज विज्ञानले गर्दा मान्छे यन्त्र भएछ कि

हाम्रा गौरव गाथाको मूल्य ह्रास भएछ कि !

आजका युगको मान्छे झुटो विज्ञान चुम्दछ

अन्धविश्वासको चस्मा लाएर यहीं घुम्दछ ।

यस्ता बोक्रे कुराबाट मेरो देश अलग्ग छ

यो भन्दा शान्तिको देश अर्काे के हुन सक्तछ ?

यो भन्दा शान्तिको ठाउँ भेटिएला कहाँ अब

मलाई लाग्छ यो देश भित्रै शान्ति छ वैभव ।

मैले धेरै यहाँ पाएँ यहाँ पाएँ सबै कुरा

यहीं उन्नतिका फाँट पाएँ आत्मीय पाखुरा ।

जादूका नेत्रले हेरें देखें सौन्दर्यका कण

मैले प्राप्त गरें जैले यहाँ मानवजीवन ।

मैले नेपालको जादू अन्यत्र कँहीं पाइनँ

पाए तापनि सौन्दर्य तिनको गीत गाइनँ ।

मेरो नेपालको भाका हालेर गीत गाउँछु

मेरै नेपालको जादू आफूभित्रै म पाउँछु ।

भनोस् जे जसले मेरै यो नेपाल पवित्र छ

शान्ति खोज्न कता जाऊँ त्यो मेरै घरभित्र छ ।

जसले स्वर्गको झिल्का पाएर लिन्छ जीवन

त्यस्ता मनुष्यले गर्छन् देशको अभिनन्दन ।

गोठालाहरूका साथ वाल्मीकि गीत गाउँछन्

व्यास बाजेहरू आई मेलामा प्रीत लाउँछन् ।

संसारीहरूले थाकी यहाँ विश्रान्ति पाउँछन्

यहीं किन्नर ओर्लन्छन् अप्सरा गीत गाउँछन् ।

पृथ्वीमण्डलमा जे छ त्यो यहीं हुन सक्तछ

सूक्ष्म दृष्टि लगाएर हेरे सर्वश्व युक्त छ ।

उत्तरी ध्रुवका दृश्य देखिन्छन् शीत कालमा

देखिएलान् यता दृश्य दक्षिणी ग्रीष्मकालमा ।

पाइन्छन् बेविकालोन ह्याङ्गिङ् गार्डेनका झुल

अथवा विश्वकै अग्लो झर्ना झर्दछ झर्झर ।

पर्दैन विश्वमा डुल्नु हेर्न आश्चर्यका कुरा

नेपालै भित्र पाइन्छन् टनाटन्न पुरै पूरा ।

गौरी शङ्करमा हाम्रै टल्केको दरबार छ

नेपाली दृष्टिले हेरे शिवको घरबार छ ।

यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ

छैन भन्नेहरू देखी भित्रै आश्चर्य लाग्दछ ।

हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्

आत्माका रूपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।

देवको खोजीमा हाम्रा मान्छे डुल्छन् कहाँ कहाँ ?

मान्छेकै रूपमा हाम्रा परमेश्वर छन् यहाँ ।

माटोमा पानीमा यद्वा हावामा हुन्छ दर्शन

रातमा दिनमा डुल्छन् यहाँ ईश्वरका गण ।

ठुला नक्षत्रका गोला अनन्ताकाश ढाक्तछन्

देख्छौं हामी यहाँबाट झिल्काको रूपमा तर

यस्तै नक्षत्रले गर्छन् मेरै देश सुरक्षित

मेरै नेपालमा बस्तै बारै काल अहर्निष ।

सभ्यताहरूको स्रोत यहाँ भेटिन्छ पूर्वीय

यसैको गर्भमा पूर्ण चमत्कार छ स्वर्गीय ।

मैदानी देशमा हुन्न यहाँ झैं शान्ति शीतल

हावा तातो त्यहाँ बग्छ हुन्छ नाना कचिङ्गल ।

मैदानी देशमा हुन्छ तातो हावा जताततै

कहाँ शीतलता हुन्थ्यो यहाँ झैं त्यस ठाउँमा ?

सुनौला चित्रका रङ्ग मनोहारी कलाकृति

झल्झलाकारका दाना प्रकृति देवीका कृति

हाम्रो पर्वतको उच्च शिखा यो मुस्कुराउँछ

कहाँ मैदानमा हुन्थ्यो त्यहाँ हुन्छ बनावट ।

मिर्मिरे निलिमाभित्र लुकेको हुन्छ मोहनी

शैलको छविमा छाया पर्दा टल्कन्छ जीवनी ।

पहाडी नदीको चाल प्रकृति सप्त रङ्गिमा

चुलिंदै चुलिंदै स्वर्ग छोएझैं हुन्छ भङ्गिमा ।

चिडियाहरूको गाना मधुरो मनमोहनी

सुनौला चित्र झैं लाग्छन् नवभावप्रदर्शनी ।

कलाको स्वर्ग हो मेरो देश नेपाल चम्किदै

अघि लागिरहेको छ उन्नति गर्न लम्किँदै ।

बोधो बोधो हुने गर्छ मैदानी आत्मजीवन

त्यसको तुलना गर्दा यहाँको चुस्त जीवन ।

झुटो वस्तु हटाएर सक्कली वस्तु चित्रित

गरेछन् कि भने जस्तो लाग्छ त्यो चित्रकारले ।

पहाडी देशको दृश्यभित्र हुन्छन् विभिन्नता

यहाँ कृत्रिमता हुन्न यहाँ हुन्छ सजीवता ।

रातो दारिमका दाना जस्ता स्वस्छ सुभाल छन्

आत्माको गीत गाएका कलिला स्वच्छ बाल छन् ।

गीत संगीतले हुन्छ यहाँको काव्य झङ्कृत

साँघुरो जिन्दगी हुन्न हुन्छ जीवन विस्तृत ।

पहाडी टाकुरा हिंड्दा ओर्लने उक्लने मजा

यहाँको झैं कहाँ होला फुर्कन्छु म त सम्झँदा ।

सुनका टल्कने दाना झुल्दछन् खेतबारीमा

प्रीतिको पुष्पका हार फुल्दछन् पूmलबारीमा ।

एक छाक लियो खायो रुख्खासुख्खा भए पनि

छैन सञ्चितिको रोग पेट रित्तै भए पनि ।

डुलाई दृष्टिको कोण एकै ठाउँ बसी बसी

हेर्न सक्ता यहाँ मिल्छन् लाखौं सौन्दर्यका कसी ।

असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी

यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शस्यशालिनी ।

गहिरो गरी हेर्नाले एकभित्र अनेकता

पाइन्छन् यही धर्तीको देश भित्रै जतातता ।

यसैका माझ सौन्दर्य रङ्गदार अनेकन

हुन्छन् सौन्दर्यका आभा नवनित्य प्रतिक्षण ।

पहाडी स्थलमा भिन्न भिन्न विश्व सजीव छ

पशुपक्षीहरू खेल्ने तिनैको घरबार छ ।

मृगशावक उफ्रन्छन् अर्नाका हुल चर्दछन्

हामी मान्छेहरूलाई नौलो पाठ सिकाउँछन् ।

झर्नामा गीत गुन्जन्छन् बारीमा मोती फल्दछन्

हावाको स्पर्शमा मानौं गीत सङ्गीत खुल्दछन् ।

यहाँ पत्थरमा हुन्छ चाँदीकै रङ्ग टल्कने

वृक्षका पत्रमा हुन्छ नौलो सौन्दर्य झल्कने ।

गुफाभित्रै बसे जस्ता लाग्छन् किन्नर किन्नरी

गौरी शङ्कर हुन् मानौं हाम्रा शङ्कर पार्वती ।

भान हुन्छ सधैं हाम्रा पाखामा देव खेल्दछन्

हाम्रा शङ्कट बाधाका क्षणलाई धकेल्दछन् ।

हावाका सारमा झुल्दै कलिला लहराहरू

मानौं फर्फरिए छन् कि चन्द्रसूर्य ध्वजाहरू ।

अनेकौं रङका रङ्ग दृश्य चित्र रची रची

कला कौशलको भान प्रकृति गर्दछिन् बसी ।

हाम्रो उत्तरमा अग्ला हिमशैल खडा भई

रेखदेख सधैं गर्छन् अभिभावक झैं भई ।

मलाई हुन्छ यो भान विशाल हिमशैलले

हाम्रा अन्तरको आत्मालाई गर्छन् सुशिक्षित ।

हाम्रा गौरव गासिन्छन् हिमाली उच्चतासँग

हाम्रो मस्तिष्क गाँसिन्छ यहाँको आढ्यतासँग ।

कला साधक जन्मन्छन् नजिकै फूलबारीमा

महामानव जन्मन्छन् चिसो स्वच्छ पहाडमा ।

देखी बालकका स्वच्छ अनुहार मनोहर

दुष्टको दुष्टता भाव फर्कंदै बन्छ निर्मल ।

मुटुमै टाँसिनै गर्छन् यहाँका ललनाहरू

यहाँको स्नेह सम्मान यहाँका रमणीहरू ।

डर त्रास यहाँ छैन यहाँ छैन कुभावना

बाघका डम्मरुलाई घाँसको हुन्न याचना ।

चराका स्वरमा गँुज्छन् काव्यका स्वर माधुरी

माटोमा उम्रने गर्छ लोकगान थरी थरी ।

आफ्नो जन्मभूमिजस्तो ठुलोे केही रहेनछ

हाम्रो हृदयको केन्द्रबिन्दु सानो भएनछ ।

जति फैलन्छ त्यो क्षेत्र मुटुमा देशप्रेमको

प्रवृत्ति प्रेममा हुन्छ फैलिंदै टाकुरी छुने ।

मुटुमा देशको प्रेम भित्रभित्रै पलाउँछ

प्रवृत्ति प्रेमको त्यै हो आपूm भित्रै टुसाउँछ ।

म मातृभूमिमै सिक्छु विश्वप्रेम निरन्तर

अन्यत्रबाट यो प्रेम सिकेर के सिकिन्छ र ?

मेरा मगजका केस्रा केस्राले देश प्रेम यो

अनुभूत गरेका छन् साँच्चैको देशप्रेम त्यो ।

आमा नेपाल यो मेरा मुटुका केन्द्रमा तिमी

चम्किएर सधैं बस्नू अनकन्टारमै पनि ।

अनकन्टारको टाढा अज्ञातस्थल विश्वमा

कुनै गन्दर्भले विश्व गर्दा गर्दै परिक्रमा—

‘तँ को होस् ?’ भनी सोधेमा हुन्छ मेरो सगौरव

‘म नेपाली हुँ, नेपाली !’ मेरो यो हुन्छ उत्तर ।

ओर्लंदाओर्लंदै गर्दा स्वर्गबाट कुनै दिन

“कता जान हिंडेका हौ छाड्दछौ स्वर्ग यो किन ?”

भनेर जब सोध्नेछन् स्वर्गका अप्सराहरू

तिनलाई म यो दिन्छु छाती खोलेर उत्तर—

“म चाहन्न म चाहन्न स्वर्गको सुखसम्पदा

नेपालैको भलाईमा लागें है लौ उतै म ता ।

मेरो गौरव हो मेरै देशको सुखसम्पदा

स्वर्गमा जोसुकै जाऊन् जान्छु नेपालमै म ता ।”

अर्काको भूमिमा कस्ले ठाडो माथ लगाउला ?

आफ्नो गौरवको देश भित्रै प्रेम रसाउला ।

चाहे गौरव होस् देश रौरवै किन त्यो नहोस् !

यो मातृभूमिमा मेरो छल्कन्छ आर्यसम्यता

लाखौं वर्ष दिंदै आयो जस्ले अध्यात्म सम्पदा ।

मेरो गौरव ता यै हो देशको सुखसम्पदा

दौडियून् स्वर्गमा कोही बस्छु नेपालमै म ता ।

म कतै सुन्न चाहन्न अरूका देशको गीत

चाहे रौरव होस् मेरो देशैमा छु म मोहित ।

हिराको मूल्य के हुन्छ मेरो हृदय जान्दछ

अमूल्य देशको मूल्य मेरो अन्तर मान्दछ ।

मेरा भावहरू हल्का बोक्रेले के समाउलान्

निन्दाको बोलीमा खोक्तै हाँसीहाँसी उडाउलान् ।

निन्दा गर्नेहरू त्यस्ता हाँस्लान् मेरा विचारमा

तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।

यस्ता बोक्रेहरू देखी दया लाग्छ मलाई ता

बिचराहरूमा कस्तो बुद्धिको छ दरिद्रता ।

अध्यात्म ज्ञानको गङ्गा यसैबाट छ उद्भव

सारा संसारकै लागि यै हो पोषक वैभव ।

अरूले देशको ताज शिरमाथि चढाउलान्

हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।

जे छ जस्तो छ नेपाल आँखाकै नानी ठान्छु म

अर्काका देशको गान सपना सरी मान्छु म ।

तारामण्डलकै अद्र्धगोलाको भित्र बाहिर

अर्काे के दुनियाँ होला भन्लान् केही अबूझले

साँच्चैको यो कुरा ठान्छन् साधारण मनुष्यले

आफूमाथि जति देख्छन् त्यत्ति नै पूर्ण ठान्दछन् ।

तिनले जे कुरा देख्छन् त्यसैमा पूर्ण मान्दछन्

अनन्ताकाशको अंश त्यस्ता क्षुद्र दिमागले

यो मेरा देशको भित्री महत्व अझ के बुझोस् ?

जे जान्यो जे बुझ्यो जस्ले उसको त्यही पूर्ण हो

उस्लाई अरू के खाँचो पूर्णात् पूर्णमिदम् जगत् ।

मलाई छैन क्यै खाँचो बाहिरी विश्व बुझ्नमा

बुझ्दैमा पनि त्यो विश्व लाभ के पाउनै छ र ?

अनन्त विश्व देख्नेका आँखाले हेर्नु हो भने

विशाल सूर्यको गोला कनिका सरी लाग्दछ ।

तर यो पृथिवीवासी हामी मान्छौं सरासर

तिनै ईश्वर हुन् हाम्रा तिनै हुन् जगदीश्वर ।

हाम्रो अज्ञानको कालो सूर्यले नाश गर्दछन्

हामंो जीवनका दाता तिनै हुन् ज्ञान छर्दछन् ।

आगाको गोल हो सूर्य धेरैबाट प्रचार छ

सूर्य हुन् देवता हाम्रा हाम्रो यस्तै विचार छ ।

छैन जिन्दगीको अर्थ अर्काको देशमा बसी

जिन्दगी गर्विलो हुन्छ आफ्नै देश पसेपछि ।

चलचित्र सरी हुन्छ अर्काको देशको रङ

कुनै नाटक झैं लाग्छ अथवा लाग्छ त्यो भ्रम ।

विदेश स्वर्ग जस्तै होस् स्वप्न संसार मात्र हो

जहाँ जन्म्यो जहाँ हुक्र्याे त्यही नै देश स्वर्ग हो ।

देशप्रेमीहरूभित्र साँगुरो पन देख्तछन्

त्यहाँ वाक्क हुँदै कोही बेर्थैमा केही लेख्तछन् ।

रवीन्द्रनाथको देखासेखी गर्ने कठैबरा,

सिकारु केही लेखन्ते भुल्दछन् विश्वप्रेम यो—

तिनमा देशको प्रेम तिनैभित्र टुसाउँछ

पछि मात्र तिनै भित्र विश्वप्रेम सुसाउँछ ।

एकातर्फ यी चाहन्छन् विश्वप्रेम खुलाउन

भुल्दछन् यी उता अर्का तर्फ त्यो विश्वप्रेम ता—

स्वदेशैभित्र जन्मन्छ झाँगिदै अघि बढ्दछ

निजी संस्कृतिका साथै भाषाको बढ्छ इज्जत

सबै जाति सबै वर्ग जहाँ हुन्छ समुच्चय

मान्नुहोस् त्यहीं नै हुन्छ राष्ट्रप्रेम समुन्नत ।

राष्ट्रको प्रेम सक्तैन गर्न जो विश्व प्रेम ता

त्यसले गर्न के सक्ला के बुझ्ला झन् विशिष्टता ?

देशप्रेम नगर्नेले के गर्लान् विश्वप्रेम यो

ताती गर्नै नसक्ने त्यो बालो के कुद्नु सक्छ र ।

देशभक्ति विना कोही विश्वप्रेम भयो भने

मान्नुहोस् त्यो बनेको हो बालुवा माथिको घर ।

नेपाली पन छाडेर माथि माथि उड्यौं भने

विपनाको कुरै छाडौं सपना पनि बेर्थ भो ।

कलाले सजिएको होस् आत्माको होस् प्रकाशन

कल्पना लोकका भाव पोखियून् शब्दशब्दमा ।

त्यही नै हुन्छ साहित्य त्यसैमा हुन्छ भावना

कल्पना लोकको जादु त्यसैको गर्छु साधना ।

सच्चा नेपाली जो छैन त्यस्ले के लेख्न सक्तछ ?

भित्री साहित्यको मर्म त्यस्ले के बुझ्न सक्तछ ?

ममा नेपालका लाखौं दृश्यका वस्तु झुल्छन्

मानौं जीवन्त भै मेरा काव्यभित्रै ती फुल्दछन् ।

जे देखें जे बुझें मैले अझ सिक् देव भन्दछन्

आत्मानुभवमा ढाल्छु मेरा साहित्य बन्दछन् ।

अनेकौं भावका भुल्का सम्झनाको स्वरूपमा

कला कौशलको रङ्ग लिई हुन्छन् प्रकाशन ।

लेख्ने ता कोही अर्कै छ म ता वारिस मात्र हुँ

खालि यो देशका लागि एक माध्यम पात्र हुँ ।

मेरै मातृभूमि लेख्छिन् के नै पो लेख्न सक्छु म

म हुँ नेपालकै छोरो मात्र माध्यम बन्छु म ।

जाति कल्याणका लागि अथवा विश्वसत्यको

नयाँ सम्बन्धको रूपरेखा कोर्न म लेख्तिनँ ।

जोडले फेरि भन्दै छु म ता माध्यम मात्र हुँ

मुटुमा देशको भक्ति भाव बोक्ने म छात्र हुँ ।

मेरै नेपाल हो लेख्ने आत्माभित्र बसी बसी

मेरै नेपाल हो बोल्ने वाणीभित्र पसी पसी ।

यसो गर्नू त्यसो गर्नू भनी अर्जापिने कुरा

जे अरायो त्यही गर्ने म ता मात्र निमित्त हुँ ।

यहाँका शब्दमा मानौं देश प्रेमी विचार छन्

मेरो भाव त्यहाँ छैन नेपालैका विचार छन् ।

म हुँ नेपालको माटो हावा पानी बतास हुँ

यहीं जन्मे यहीं हुर्कें देशकै म त सास हुँ ।

ममा जे आउँछन् भाव भावना वा तरङ्ग ती

आमा नेपालै हुन्छन् नाना भाव र सङ्गति ।

लेख्दा नेपाल नै लेख्छिन् बोल्नेमा पनि हुन् उनै

धारणा भाव वा सोच मेरा छैनन् यहाँ कुनै ।

देखेसम्म सबै लेख्ने त्यो सामथ्र्य ममा कहाँ ?

आमा नेपाल नै लेख्छिन् म ता हुँ एक माध्यम ।

जे लेखें जे बुझें मैले त्यस्को माध्यम मात्र हुँ

श्रव्यदृश्य सबै पोख्ने म ता साधन मात्र हुँ ।

बटुली केही सामग्री जोहोसम्म गरें यहाँ

तिनैं सामग्रीका केही प्रभावै मात्र छन् यहाँ ।

तिनै वस्तुहरूद्वारा नौला नौला अनेकन

भावनाहरू उर्लन्छन् व्यक्त गर्नै म सक्तिनँ ।

त्यस्ता अमृतका तत्व मभित्रै छङ्छगाउँछन्

नयाँ सन्देशका झिल्का आफूभित्रै पलाउँछन् ।

तिनै सन्देश बोकेर सेवाका सब मार्गमा

अग्रगामी भई चल्छु सेवाका नव मार्गमा ।

।।समाप्त ।।

चाहन्थे्र पद्यमा लेखी भावना अझ साफ होस्

हे महाकवि यो मेरो धृष्टता माथि माफ होस् ।

बीचैमा म हराएर भासिएँ भासिएँ भयो

सकिएन सबै झिक्न व्यर्थै थालेंछु झै भयो ।

पद्यमा बाँध्न सक्थें कि भन्ने सोच थियो अघि

धृष्टता गर्नु व्यर्थै हो भन्ने भान भयो पछि ।

जे थियो भावना तिम्रो लथालिङ्गै भयो यहाँ

कहाँ त्यो भावना तिम्रो मजस्तो क्षुद्रको कहाँ ?

।। इति ।।

हृदयचन्द्रसिंह प्रधानको एकाङ्की

खैराँती मास्टर

समय ः बिहानको १० बजे

स्थान ः एउटा भुइँ बैठक

(बैठकमा एउटा सतरन्जा बिछ्याइएको छ, सतरन्जा माथि एक कुनामा एउटा चक्ला । बस, भुइँसिगारमा यत्तिकै । भित्तामा खरिदार नरमानको एउटा आफ्नै तसवीर, दुइटा दृश्यचित्र भएका अरू तसबिर र एउटा विश्व मानचित्र टाँगिएका छन् । एउटा नेपालको नक्सा भएको विक्रमसंवतीय क्यालेन्डर पनि झुन्ड्याइएको छ । यति बाहेक त्यस भुइँ बैठकमा अरू केही छैन । यी बाहेक अरू केही छ भन्नै पर्छ भने दुई गारोमा गरी खापा बन्द गरी राखिएका चार दराज उभिएका छन् । पढ्न आएका तिन विद्यार्थीहरू बैठकमा छन्, तिनमा भुन्टे र नन्दलाल दुई जना कठालो समातासमात गरी लडिरहन्छन् तेस्रो महादेवराम उनीहरूलाई लडाएर आपूm रमिता हेरिरहन्छ । भुन्टे र नन्दलाल देब्रे हातले प्रतिद्वन्द्वीको कठालो पक्री दाहिने हात दुबैले मुक्का पारी साँढे अनुहार झिकी परस्पर ताकाताक गरिरहेका छन् ।)

महादेव राम— (पढ्न पल्टाइराखेको किताब अगाडि राखी आफ्नै आसनमा बसेर)

जसको ज्यान नै हुन्न त्यसको गर्नु के रिस

कस्तो उठ्न सक्या होला कठालोसित यो रिस

जसको आङमा केही बुता हुन्न भने त्यही

कठालोसँग नै गर्छन् त्यस्ता नामर्दले रिस ।

भुन्टे÷नन्दराम—(दुबै एकैचोटि) मदिसे लौ तँ नै भैछस् आपूm मर्द बुता हुने !

लौ आ मान्छेसितै पोख्न रिस

महादेवराम— यो किन हो अझै ?

कठालो अरूको व्यर्थै समाई रहने किन ?

मिलापत्र गरी साथी साथी झैं बस मूर्ख हो ।

रिस उठ्ता उसै मर्छ लुते मानिसको बल

बेर्थको रिस यो कस्तो रिसले पार्छ निर्बल

आआफ्नै घर लौ जाओ एकार्कामा मिलीजुली ।

बिराएँछु भनी एक अर्कामा गर मित्रता ।

भुन्टे— मदिसे तँ खुबै जान्दो रैछस् छुल्याउने कुरा

महादेवराम—मलाई के परेको छ खाँचो छुल्याउने यहाँ ?

तिमी कुत्ताहरूलाई लडाई गर्नु के छ र ?

मलाई हेर्नु क्यै छैन कठालोको लडाइँ यो ।

रङ्गढङ्ग बिना बेर्थै कठालो अरूको यहाँ

समाएर लडेका छन् मूर्ख भेडा सुरो भई ।

तिमी मूर्खहरू छाड बेर्थको झगडा अब ।

मूर्ख हो माफ लौ माग प्रायश्चित्त छिटै गर ।

यस्तो फट्याइँको लागि विनम्र भावमा रही

समाई एकको खुट्टा अर्काेले ढोग्नुपर्दछ ।

(भुन्टे निहुरेर पिँडुला कन्याउँछ, तर देब्रे हातले नन्दलालको कठालो समाई नै रहन्छ । पिडुँला कन्याउँदा निहुरनु परेको र नन्दलालको कठालो पनि समाई नै राखेको हुनाले निहुरँदा नन्दलाललाई अलिक कष्ट हुन्छ ।)

नन्दलाल—कथालो के समाएको छाडिडे मुर्ख ए गढा

आफूलाई डुख्यो कस्टो कस्टरी न्युरनु प¥यो

यो गढालाई ठा छैन डुख्ला भन्न्या कुरा पनि ।

भुन्टे–मलाई के गधा भन्छस् आफैं तैं होस् ठुलो गधा !

तैं गधा तँ गधा मूर्ख तेरो बाबु पनि गधा ।

नन्दलाल– धेरै उड्किनु पर्दैन बाबु बाबु भनि भनी

चड्काइदिउँला फेरि देख्लास् हेर् बाबुको बिहे ।

भुन्टे–तैंले नै हो सिकाएको आपूm तैं होस् सिकाउने

फेरि देखाउने भन्छस् झोक्किँदै बाबुको बिहे ।

नन्दलाल–टँ गढा !

भुन्टे– तँ गधा !

नन्दलाल–(ठुलो स्वरमा) मोरा टँ गढा चोर !

भुन्टे– तैं गधा !

नन्दलाल– चोर !

भुन्टे– चोर !

नन्दलाल– टँ नै चोर !

भुन्टे– तैं होस् चोर नबोल् बढी ।

नन्दलाल–(ठुलो स्वरमा) टँ चोर चोरको राजा पाख्या

भुन्टे– नेवार !

नन्दलाल– पर्वटे !

भुन्टे–नेवार !

नन्दलाल— के भनिस् पाख्या ? नकरा है टँ पर्वटे ।

ढेरै नेवार नेवार नभन् है च्याटुँला मुख ।

भुन्टे– होस राखेर भन् नन्दे मलाई पर्वते म ता

जात हुँ उच्च खान्दानी महाराजाधिराजको ।

महादेवराम–कस्ता मोराहरू हुन् यी झगडा नगरी बस

हाम्रा मास्टर साहेब चाँडै नै अब आउँछन् ।

भुन्टे–आफैं लडाउने आफैं फेरि बन्छ भलादमी

कालो ए मदिसे मोरा आए आउन् तँलाई के ?

महादेवराम–मदिसे मदिसे भन्छस् तेरो के मदिसे म हुँ

नेहरू थे जवाहार उनैको म त जात हुँ ।

नेहरू को थिए भन्ने थाहा हुन्थ्यो तँलाई के ?

नभन् है मदिसे फेरि समाली मुख बोल् अब ।

नन्दलाल–नेहरू जोसुकै होस् ट्यो ट्यल्ले के गर्न सक्टछ ?

महादेवराम–त्यस्ले के गर्छ रे ? (स्वर बिगारेर) त्यस्ले जे पनि गर्न सक्तछ

नन्दलाल–अँ, ट्यल्ले गर्छ के टेरो ? नेहरू ट्यो मुला उसै

फितिक्क केही माट्रै ट्यो चल्यो कि बाबुको बिहे

अठवा छ्यौरमा केस खौरेको स्वाद पाउला ।

भुन्टे–गुरुमापा भएको यो देश हो देश हो ! बुझिस्

हेर् बाबु गुरुमापाको कथा केही कतै सुनिस् ?

स्वस्थानीको कथा तैंले सुनेकै छैन हो कि त ?

महादेव सतीदेवीलाई हेला गरी गरी

निम्तोसम्म नगर्दैमा दक्षको गति के भयो ?

हजारौं देवता हाम्रा यहाँ छन् मदिसे अब

वीरभद्र महाकाल रुद्राक्ष कालभैरव

जाबो नेहरू त्यो तेरो गर्न के सक्छ लौ सुना ।

फुर्ती लाउँछ अर्काका मान्छेको गुन गाउँदै ।

हाम्रो सान्चा पहल्मान देख्यो कि ढल्मलाउँदै

तेरो नेरु उसै भाग्ला ठाडो पुच्छर लाउँदै ।

नन्दलाल–(भुन्टेको मुखहेरेर)जामुन् गुभाजुको टैंले भुन्ते नाम भुलिस् किन ?

जामुन्को जाडुले यस्को (महादेवरामतिर हेरेर) नेहरू हुन्छ छुल्छुल

टेरो ट्यो नेहरू जाला ज्यूँदै रौरव नर्कमा ।

भुन्टे– (नन्दलालको मुख हेरेर) एउटा त्यो छुसी तेरो जवाहार अघि परे

हाम्रो आचाजुले उस्को सातो पुत्लो उडाउँछ ।

महादेवराम–(अलि खिसीको भावमा) हरे कस्ता यी हुन् मूर्ख पहाडेहरूको मन

कस्तो हो यिनको सोच पड्क्यो कि एउटै बम

गुभाजु गुरुमापा हुन् अथवा शान्तिका कर

आचाजुहरूको हुन्छ दुहाइ छिनका छिन ।

भुन्टे– तेरै नेहरूका साथ मात्रै छ पड्किने बम

धाक लाउनु पर्दैन मदिसे !

महादेवराम– मदिसे नभन् ।

मदिसे शब्द यो तेरो साम्प्रदायिक लाग्दछ

मुखबाट निकालिस् कि..

भुन्टे– (उपेक्षित भावमा) तैंले मात्र पहाडिया

पहाडिया भनी हामीलाई लौ भन्न पाउलास् !

नन्दलाल–(भुन्टेको मुख हेरेर) हामीलाई सढैं यस्ले बाटैपिच्छे पहादिया

भन्डा चाहिं हुने उस्ले उस्लाई मडिसे भने

साम्प्रडायिक भो भन्छ कटि बाथो छ—

भुन्टे– हो त नि !

आफूलाई त्यसो भन्दा रिस उठ्ने भएपछि

अरूलाई पनि हुन्न भन्ने पो बुझ्नु पर्दछ ।

महादेव–(गिल्लाको भावमा) अघिसम्म समातेर कठालो लड््दथे किन ?

परिवर्तन यो कस्तो मित्रता छिनका छिन ।

शत्रु थे मित्रता हेर छिनैको परिवर्तन

साला भेना भए आन्द्रो दुबैको जोडिएछ कि

आफ्नो शरीरमा केही हुँदैन जसको हुती

तिनैको फुर्ती देखिन्छ तिनै हुन्छन् महावली ।

धराराबाट हाम्फाल्ने सपना देख्तछन् तिनै

डरले रुनु पर्ने हो बन्छन् जङ्गबहादुर ।

यस्ता काँतरले फेरि घोडा चढ्नु प¥यो किन ? (महादेवरामको यो नारदवाणी सुनेर भुन्टे र नन्दलाल दुवैमा शिथिल भइकेको जोस फेरि उम्लेर आउँछ । यस्तैमा भुन्टे फेरि पिडौंला कन्याउन थाल्छ ।)

नन्दलाल–(दुखाइमा मुख बिगार्दैं) ऐयाऐया ! डुख्यो ढेरै भनेकै छु अघि पनि

मेरो गर्डनमा ढेरै खतिरा छ न छो न छो ।

कथालो किन हो ऐलेसम्म टैंले समाउने

कथालो छोद्नु पर्डैन टेरो बाबु भने पछि

समाइ राख्नु के पर्छ कस्टो मूर्ख रहेछ यो !

कस्टो सारो डुख्यो हेर कथालो छोद् छितो अब

आफ्ना आङभरि जुम्रा बोकेर हिंद्छ यो कुनै

गन्ढे सुँगुर हो कस्टो सेखी गर्दछ मैसँग ।

भुन्टे– तंै होस् सुँगुरको जात

नन्दलाल– साँचो सुँगुर टा टँ होस्

भुन्टे– सुँगुर ! (भुन्टे र नन्दलाल दुबै मुखामुख गर्दागर्दै पिटापिट पनि गर्न थाल्छन् । पिटापिट साथसाथै लुगा पनि च्याताच्यात गर्छन् । महादेवराम उनीहरूको लडन्तभिडन्त बडो चाख मानेर हेरिरहन्छ । यतिकैमा गुप्तसिंहको साथमा खरिदार नरमान आइपुग्छन् । नरमानको उमेर ४० वर्ष, वर्ण गहुँगोरो, रिसाहा प्रकृतिको अनुहार । उनी बाहिर जाने पोसाकमा नरिवलको हुक्कामा नली मिलाई मस्तसित तमाखु खाँदै आइरहन्छन् । उनको साथमा आउने गुप्तसिंहको पनि उमेर उस्तै, शरीर अलि मोटोघाटो, वर्ण साँवलो । हँसिलो अनुहार । लडिरहेको जोसमा आवेशमा भुन्टे र नन्दलाल खरिदार नरमान र गुप्तसिंह आएको बिलकुलै चाल पाउँदैनन् । त्यसैले खरिदार नरमानलाई लडाइँ प्रत्यक्ष हुन्छ । झन् साथी गुप्तसिंह पनि साथैमा हुँदा खरिदार नरमान रिसले भुतुक्क हुन्छन् । महादेवरामचाहिं खरिदार नरमान आएको टाढैबाट चाल पाएर भलादमी भई झटपट पढिटोपल्छ ।)

महादेवराम–गो, वेन्ट गन— जानु गयो गएको,

सिट सायट् सायट्— बस्नु बस्यो बसेको

वेयर, वर्न, वर्न— लाउनु लायो लाएको

ख. नरमान–(भुन्टे र नन्दलाल दुबैलाई पिँडौलामा नलीले ठटाउँदै)

महाभारत यो के हो कस्तो हो यो उपद्रव ?

लडाइँ नित्य लड्ने यो कुरुक्षेत्र भयो अब ?

यिनका लागि सङ्ग्राम गर्ने क्षेत्र भएछ यो

मूर्ख स्वाँठहरू मेरो घर के कुरुक्षेत्र हो ?

यिनको बुद्धिमा आज बिर्काे बन्द भएछ कि ?

युद्ध लड्ने कुनै त्यस्तो मैदानै पो भएछ कि ?

(दुवैजना मुन्टो निहुराएर उभिरहन्छन् । महादेवराम चाहिं स्वर अलिक सानो पारेर पढी नै रहन्छ ।)

मूर्ख हो किन बोल्दैनौ ? किन लड्नु प¥यो यहाँ ?

भन (फेरि नलीले ढोक्तै) बोल (फेरि ठटाउँछन्) यहाँ कुस्ती किन के बिचमा प¥यो ?

(महादेवरामतिर हेरेर) लौ लौ तैं भन् महादेव किन बाझे यिनीहरू ?

महादेवराम– कुन्नि मास्टर साहेब ! किन लड्छन् यिनीहरू

मलाई थाह नै छैन घोक्तै थें आफ्नु पाठ म ।

भुन्टे– यसैले हो लडाएको साँखुल्ले अब बन्छ यो ।

नन्दलाल– हामी टा लद्न छादेर बसेकै ठ्यौं मिलीजुली

उक्सायो उसले यस्टो फेरि लद्न सुरु ग¥यौं ।

महादेवराम– हैन मास्टर साहेब हैन ब्यारे यिनीहरू

आफू लड्छन् अरूलाई सित्यैंमा दोष लाउँछन् ।

भुन्टे– तैंले नै हो लडाएको साँखुल्ले तँ नबन् अब

किन हैन ? नबोल् झूटो !

नन्दलाल– एक पल्त लदेपछि

चूप लागिसकेकै ठ्यौं टम्स्यायो यसले अनि

यसैले हो सु¥याएको हामीलाई लदाउन ।

ख. नरमान–उसले लौ सु¥यायो रे लड्नु पथ्र्यो तिमीहरू ?

कसैले लौ सु¥याएछ भन्दैमा लड्नु पर्छ त ?

भुन्टे– नलड्ने लाछी नामर्द भन्यो

नन्दलाल– भुच्चुक निर्बल !

महादेवराम– सोरै आना झुटो बोल्छ

ख.नरमान– (नलीले उसलाई एक चोटि उसलाई एकचोटि गरी ठटाउँछ)

बहादुर भयौ अब ।

बहादुर भयौ ? (सतरन्जामा मसी पोखिएको देखेर) मूर्ख !

यो काम कसले ग¥यो ?

कुन चाहिं गधा यस्तो काम गर्छ म जान्दिनँ

(फेरि दुवैलाई ठटाउँदै)

कुन चाहिँ गधाले हो पोखेको मसी लौ भन ।

मेरो यो सतरन्जामा पोख्यो कस्ले यहाँ मसी ?

बोल मूर्खहरू पढ्न आएका हौ कि लड्न हौ ?

सर्वनास यहाँ मेरो गर्नका लागि आउँछौ ?

(करकर दाँत किट्तै फेरि पिट्छन् । विद्यार्थीहरू ऐयाऐया भनी कराउँछन् ।) रोएर सुख पाइन्छ बोल आज म राख्तिनँ

छाला काढेर टाँग्नेछु दोहोलो गरी छाड्दछु ।

(महादेवरामतिर हेरेर) लौलौ तंै भन् महादेव घोप्ट्यायो कसले मसी ?

यो कुराको थिइस् साक्षी के हेर्थिस् तँ यहाँ बसी !

(गुप्तसिंह गम्भीर मुद्रामा टोलाएर हेरिरहन्छन् ।)

महादेवराम– तयारै नभएकाले मेरो पाठ यहाँ बसी

घोक्तैथें यिनको तर्फ वास्ता नै गर्न पाइनँ ।

ख. नरमान–(भुन्टेको पिंडौलामा ठटाउँदै)

ए बेकुफ तँ नै भन् लौ पोख्यो कस्ले मसी यहाँ ?

भुन्टे– कुस्ताकुस्ती हुँदा हाम्रो मसीमा नन्दलालको

केही थाहै नपाएर खुट्टा लागेर घोप्टियो ।

(गुप्तसिंह खिस्स हाँस्छन्)

मूर्ख हो मसीको भाँडो नपन्साइ लड्यौ किन ?

के यो मैदान हो तिम्रो कुस्ताकुस्ती ग¥यौ किन ?

भुन्टे– समात्यो पहिले झम्टी उसैले म कसो गरुँ ?

नन्दलाल–(भुन्टेतिर हेरेर)‘लौ आ लौ आ’ भन्या हैन पहिले टिमीले किन ?

ट्यसैले पहिले मैले झम्तिएँ ।

गुप्तसिंह– जिन्दगी भर ।

बस्नेछौ झ्यालखानामा दुनियाँले सधैं भरि

देख्दैमा पनि थुक्नेछ छिछि दुर्दुर् गरी गरी ।

अहिले पढ्नमा ध्यान लगाए जिन्दगी भरि

हाइ हाइ हुन्दै जान्छ तिम्रो नाम सधैं भरि ।

पढाइमा यहाँ ऐले थोरै ध्यान दियौ भने

पछाडि मोजमा तिम्रो जिन्दगी बित्न सक्तछ ।

अहिले ध्यान चाहिन्छ ज्ञान आर्जन गर्नमा

त्यसैबाट तिमी भोलि भोग्न आनन्द पाउँछौ ।

पढ्न छाडी यहाँ ऐल लड्न लागिरह्यौ भने

चोर डाका र चान्डाल तिमी नै हुन सक्तछौ ।

यस्ता अभागीको व्यर्र्थै कुरा गर्नु यहाँ कति

कहिले सप्रने होला यी मूर्खहरूको मति ?

(खरिदार नरमानतिर हेरेर) लौलौ जे हुनु थ्यो भैगो चौपट्टै यिनले गरे

दिएर अहिल्यै पाठ यिनलाई पठाउनोस् ।

ख. नरमान–पाठ के आहुँदो पार्थे खै नयाँ पाठ के दिनु

दिएकै पाठ घोक्तैनन् गधाका बछडाहरू ।

डल्लिएर बसेका छन् अघिल्लै पाठमा अझै

प्रगति कसरी गर्लान् यस्ता लठ्ठकले कठै ?

(उनीहरूतिर हेरेर) आयो पाठ सबैलाई ?

भुन्टे– (दवेको स्वरमा) आयो ।

ख. नरमान– (नन्दलालतिर हेरेर) आयो ! तँलाई नि ?

(नन्दलाल शिर निहुराएर केही जवाफ दिंदैन ।)

ए नन्दे के भयो तेरो मुख बन्द भयो किन ?

अथवा कानमा तेरा किरा घोर्लेहरू परे ?

सुन्दैनस् किन हो मेरा कुरा आज कता मरिस् ?

दिएको पाठ के आयो ?

नन्दलाल– (निकै दबेको स्वरमा) आयो ।

ख नरमान– लौ लौ उसो भए ।

‘हाफ् एन् आवर’को अर्थ मलाई झटपट् सुना ।

(दुबै जना चूप) पाठ आयो भनेकै हो तैंले नै अब के भयो ?

तेरो यो गिदीमा अर्थ अङ्ग्रेजी फ्रेजको गयो ?

नन्दलाल– (दबेको स्वरमा) आढा एक घन्ता

ख. नरमान– (भुन्टेसित) हाफ् एन् आवरको माने नन्देले जे भन्यो त्यही

ठिकै हो ?

भुन्टे– हैन त्यो हैन आधा घन्टा र एक हो ।

ख.नरमान– खुबै आयो खुबै आयो पाठ आयो खुबै अब

झगडा गर्न आएझैं पाठ आउँछ घाँटीमा !

दाल भात घिचे जस्तो ठान्छौ मूर्ख तिमीहरू ।

लडाइँ झगडा जस्तो ठट्टा छ पाठ आउन ?

लडाइँ झगडा जस्तोे ठान्दछौ पाठ आउनु ?

यस्तै हुन् नर्कमा जाने गुहुु सोर्नेहरू यहाँ

नर्कमा पनि के होलान् यस्ता मूर्खहरू कहाँ ?

यी जस्ता मूर्खका भाँडा हुँनैनन् नर्कमा पनि

(महादेवरामतिर हेरेर)

तिमी नै भन त्यो माने सोधेका शब्दको अब ।

महादेव– आधा घन्टा

ख.नरमान–(नन्दलालसित पलषभ लेखी त्यसको हिज्जे देखाई उच्चारण गर भन्दै)

यहाँ मैले लेखेको शब्द हेर् यता

यसको अर्थ भन् फेरि उच्चारण गरी सुना ।

नन्दलाल– क्नाइफ

ख.नरमान– लौ यता फर्की, यसले के भन्यो यहाँ

के यस्को यही हो हिज्जे छक्कै पा¥यो मलाई ता ।

क्नाइफ भन्छ यो मूर्ख लौ भयो जे भयो भयो

छाडिदे त्यो कुरा फेरि यसको अर्थ भन् अब

(नन्दलाल चूपचाप रहन्छ)

यसको अर्थ खाएछ उच्चारण सबै भुट्यो ।

एक मूर्ख यता आयो अर्काे मूर्ख उता छुट्यो ।

(भुन्टेसित) हिजै साँझ तिमीलाई केही शब्द अरू पनि

दिएथें घोक्नका लागि कन्ठ पार्नु भनी भनी

‘पेन्स’ को अर्थ भन् भुन्टे

भुन्टे– पेन्स माने ‘कलमहरू’ ।

(एक छिन अक्मकाएर) धेरै कलम

ख.नरमान– लौ मा¥यो यसले अब के गरूँ ?

‘पेन्स’को अर्थ आएन ‘गुड्स्’को अर्थ बता अब ।

भुन्टे– धेरै असल्

ख.नरमान– भयो चौपट् ! मूर्खको अब के कुरा !

पढ्न भन्दा बढी यस्ता पस्तछन् लड्नमा धुरा

धेरै असल हो भन्छस् शब्दार्थ यसको यहाँ ।

तँ जस्ता मूर्खको झुन्ड सुध्रेला खै कहाँ कहाँँ ?

‘असल्’ मात्रै कहाँ भन्थ्यो त्यहाँ झन् ‘हरू’ थप्तछ

‘असल्’ माथि ‘हरू’ थप्ता मूख्र्याइँ अझ बढ्दछ ।

धेरै असल भो तेरा लागि यो अर्थ शब्दको

भो भो चौपट्ट भो यस्तो छोडिदे छोडिदे अब ।

(नन्दलालसित)

ग¥यो चौपट्ट भुन्टेले भुन्टेको पढ्नमा मन

छैन । यो शब्दको अर्थ नन्दलाल तिमी भन ।

नधकाई भने हुन्छ के हो अर्थ ?

नन्दलाल– असलहरू ।

ख.नरमान– पढ्ला भन्थे म यस्ले ता, उहँु ..यो सुन्नु के प¥यो

पढेर खान सक्तैनन् पढाएर म के गरूँ ?

खाँदैनौ पढी खाँदैनौ तिमीले पढ्नु व्यर्थ छ

यसरी पढी के हुन्छ पढाइ यो अनर्थ छ ।

पढ्नका लागि जन्मेका हैनन् यी पटमूर्ख छन्

यिनैका कर्मले यिन्कै आमाबाबु रुवाउँछन् ।

(महादेवरामतिर हेरेर) के हो यो शब्दको अर्थ महादेव तिमी भन ।

महादेवराम– मालताल ।

ख.नरमान– बडो राम्रो ! आयो आयो तँलाई त ।

उत्तिकैमा अरूलाई किन हो आउँदैन त ?

नन्दलाल– ऊ ट मास्तर साहेब ! डुबै तायम आउँछ

पध्नलाई यटा हामी एकै तायम आउँछौं ।

ट्यसैले उसले ढेरै जान्याको हुन सक्टछ

ट्यसरी पध्न पाए टा हामीमा पनि आउँठ्यो ।

ख.नरमान–(रुपियाँ जनाउने हातको सङ्केतमा इसारा देखाउँदै)

यो पनि दिन जाने पो राम्रो हुन्छ पढाइमा

आलटाल सधैं गर्छन् पैसा तिर्न भनेपछि ।

त्यसले गर्छ के लाभ अर्काको गर्छ आरिस

पैसा तिर्नु पनि पर्छ टियुसन पढेपछि ।

महादेव यहाँ आई बिहान साँझ पढ्दछ

अर्काको इख के गर्छौ इखालु हुनु व्यर्थ छ ।

(महादेवरामसित) महादेव ! भरे तिम्रो सुनँुला पाठ पर्खिनु

मलाई फुर्सुदै छैन अहिले घर फर्किनु ।

(भुन्टे र नन्दलालतिर हेरेर)पढेर पेट पाल्दैनौ पढी खान्नौ तिमीहरू

म ता यो लख काट्तै छु डाका बन्छौ तिमीहरू ।

(सबै लड्काहरू किताब च्यापी जान खोज्छन्)

नन्दलाल तिमी काम गरेरै मात्र जाऊ है

सारै तल्तल भो ऐले भरी चिलिम ल्याऊ है ।

व्यर्थै किक्किच गर्दैमा तमाखु खान पाइनँ

नकराई हुँदै हुन्न थोरै मात्र कराइनँ ।

(नन्दलाल हुक्काचिलिम लिई तमाखु भर्न जान्छ । महादेवराम र भुन्टे सरासर जान्छन् । यत्तिकैमा नेपथ्यमा मान्छे आएको सुनिन्छ)

को हो बाहिर आएको ?

(तरकारी हालेको झोला बोक्तै डराइडराइकन गोबहादुर भित्र पस्छ । डरले ऊ सोझै हेर्न पनि सक्तैन ।)

गो’बादुर रहेछ यो ।

मलाई छली बिस्तारै माथि जानु प¥यो किन ?

माथि जानु छ के काम निकैको छस् चलाख तँ ।

मलाई बाहिरै जान लागेको भनी उम्कन

ठान्दोहोस् उम्कनै लागें के तेरो चाल जान्दिनँ ?

तर्कारी किन्नका लागि यत्तिका बेर लाउनु

कस्तो हो चाल यो तेरो लुसुक्कै घर आउनु ?

जाबो पच्चिस पैसाको तर्कारी किन्न यो विधि

बेर गर्नु प¥यो तंैले आफैंलाई गरिस् खती ।

जात्रामात्रा थियो क्यारे हेर्न लागिस् त्यतैतिर

तँ जस्ता मूर्खका लागि अरू के काम नै छ र ?

अथवा पढ्न छाडेर बहाना छलिने भयो

पढ्नु पर्छ यहाँ आई तेरो बुद्धि कता गयो ?

(गोबहादुर एकदम चुप । खरिदार नरमानको मुखमा हेर्दैन ।)

ए गोब्रे किन बोल्दैनस् हरायो बोली त्यो कता

पढ्न छल्दछ यो पाजी छक्कै पर्छु यहाँ म ता ।

अथवा के प¥यो त्यस्तो किन आउन भो ढिलो

चाँडै आउनु पो पथ्र्यो ढिलो के कामले भयो ?

ठग्ने काम गरिस् क्यारे पसलेकै अघिल्तिर

उभिएरै निकै बेर अनि लागिस् यतातिर ।

पैसा पसलमा तिर्न भुलाई पसलेसँग

ताक खोजिरहिस् क्यारे अनि भागिस् यतातिर ।

पाङ्दुरे ! किन बोल्दैनस् तेरो जिब्रो कता गयो ?

तर्कारी किन्नका लागि के गर्नाले ढिला भयो ?

गोबहादुर– उता पसलमा धेरै साँढेहरू जुधिरहे

ख.नरमान– किनेर ल्याउँदा हुन्थ्यो अर्कै पसलमा गई ।

गोबहादुर– (डराउँदै) महँगो हुन्छ तर्कारी अर्काे दोकानमा

ख.नरमान–(झोलाको तर्कारी हेर्दै) अनि

खै यस्ले कति तर्कारी ल्यायो झोला म हेर्दछु

यस्को बानी बुझेकै हुँ यस्लाई अझ खेर्दछु ।

चारानामा छ यो जाबो तर्कारी किन्न मिल्दछ ?

त्यो भन्दा अझ सस्तैमा यति तर्कारी मिल्दछ ।

कस्तो पार्छ कुरा यस्ले ढाँट्नु हो यसको मति

यस्ताले पढ्नु के पढ्नु यस्ताको हुन्छ दुर्गति

तर्कारी ल्याउला भन्दै पर्खंदै दिन यो गयो

बिना तर्कारीमा आज भात निस्तो हुने भयो ।

बिना तर्कारीकै आज छाक टार्नु प¥यो यहाँ

तेरै कारणले गर्दा आज सारै ढिला भयो

तेरो ढाड म सेक्नेछु उता गयल् परें भने ।

भैगयो पाठ आयो कि आएन यो कुरा सुना ।

(गोबहादुर बुढी औंलाले भंै कोतरेर चुप लाग्छ।)

किन बोल्दैन यो आज के सोधें सुनिनस् कि क्या ?

गुप्तसिंह– बिचरा पढ्न छाडेर तर्कारी किन्न जानु छ

घरेलु काम यो गर्छ कसरी पढ्न आउँछ ?

(गोबहादुरतिर हेरेर)

ए बाबु तिमीले यस्तो तर्कारी किनी ल्याउँदा

केही ढिला भएजस्तो भन्ने लाग्यो मलाई ता ।

भैगो लौ जाऊ लौ जाऊ आज जाऊ तिमी पनि

भोलिदेखि सबै मिल्नू रडाको नचलाउनू

पहिले पाठ घोकेरै मात्र तर्कारी ल्याउनू ।

(खरिदार नरमानतिर हेरेर)

यसलाई पनि आज पठाइदिनुहोस् घर

सौदापातहरू गर्न बाँकी केही अझै छ र ?

भैगयो यसको पाठ भोलि मात्रै बुझे भयो

यसको आजको पाठ तर्कारी लिनमै गयो ।

(गोबहादुरसित) जाऊ लौ जाऊ लौ नानी मैले आज्ञा दिएँ दिएँ ।।

(गोबहादुर डराई डराई जान्छ)

ख.नरमान–(गुप्तसिंहसित)

यी केटाहरूमा मैले देखेको छु नराधम

भन्दा हुन् घरमा चाहिँ पुत्र छन् अति उत्तम ।

देखिहाल्नु भयो तिन्को ताल कस्तो थियो यता

दिनहूँ यिनको छाँट उस्तै देख्छु सधैं म ता

परिवर्तनको नाम छैन छैन कतै पनि

प्रगति गर्न के सक्लान् यस्ता लठ्ठकले पनि !

(नन्दलाल तमाखु भरेर चिलिममा आगो फुक्तै आउँछ । उसको त्यसै पनि झुत्रो लुगा, भुन्टेसित लड्दा झन् च्यातिएर धुजा धुजा हुन्छ । लुगाका तुनाहरू पनि सबै चुँडिएका छन् । तुना नभएको लुगा हातले स्याहारी उभिरहन्छ, नन्दलालसित) भोलिदेखि यहाँ हेर यस्तै लड्ने ग¥यौ भने

दिएँ चेतावनी आजै बङ्गारा झारिदिन्छु म ।

जाऊ जाऊ भयो जाऊ लौ जाऊ टाउकै दुख्यो

(नन्दलाल किताबहरू च्यापी लुगा समात्दै जान्छ, गुप्तसिंहसित)

अरूले यही नै बुझ्लान् जम्मा गर्छन् लडाउन

सकिन्न कसरी भन्ने बाध्यता छ पढाउन

नजिकै नजिकैका हुन् आफ्नै नाता कुटुम्बका

नपढाई हुँदै हुन्न आफ्नै नाता परेपछि ।

लड्दछन् घरमा आई गर्छन् भित्र ढलिमली

पैसा दिन्छ त्यही एक महादेव अलिअलि ।

देख्नुभो अरूको काम समयै खानु मात्र छ

पढ्नमा मन के हुन्थ्यो मन ता लड्नु मात्र छ ।

तिनको चाल देखेर रिसैले तिल्मिलाउँछु

पढेर के गरी खालान् सारै अन्योलमा म छु ।

गुप्तसिंह– यो आफ्नै गल्ती हो हेर्नाेस् आफ्नै गल्ती तपाईंको

म स्पष्टै देख्छु त्यो गल्ती छैन गल्ती पराइको ।

अनिकाल प¥यो आजै असली गुरुको पनि

गुरु जस्तो भयो उस्तै हुन्छन् चेलाहरू पनि ।

ख.नरमान– किन के भन्नु भो मित्र के हो अर्थ तपाईंको ?

गुप्तसिंह– कसैलाई पढाएर मुफ्तमा मिल्छ के अब

अलकत्रा पनि चाट्छ मुफ्तमा दुनियाँ सब ।

त्यो पढाइ ठिकै होला आफू फुर्सदमा भए

अनुकूल हुँदै हुन्न भने कस्तो पढाउनू ।

आफ्नै उन्नतिमा बाधा पारेर के पढाउनू

त्यो ता हुन्छ अहोरात्र आफैंलाई सडाउनू

कम्जोरी नभए के हो भन्नुहोस् यो तपाईंको ?

यो कुनै मूर्खले मानौं हाने झैं हुन्छ बन्चरो ।

ख.नरमान–हुन ता हो कुरा साँचो बुझेकै छु तरै पनि

के गर्ने दुनियाँबाट अलग्गै हुन सक्तिनँ ।

मैले मात्रै बुझी हुन्न सबैले बुझ्नु पर्दछ ।

दुनियाँसँग यो बुझ्ने क्षमता हुनु पर्दछ ।

गुप्तसिंह– दुनियाँले कतै केही भन्ला कि भनी हच्किदै

खैराँते काम के गर्नु डराएर अतालिँदै

दुनियाँले कतै स्वार्थी भन्ला भन्ने प¥यो डर

त्यसैले लत्रिएका छौ निर्धाको हुन्छ के भर ?

स्वार्थी लाल्ची तथा लोभी दुनियाँ जेसुकै भनोस्

छाड्नै पर्दछ यो त्रास अरूले जेसुकै बुझोस् ।

ख.नरमान– दुनियाँबाट भागेर सकिन्न जान बाहिर

दुनियाँ भित्र छौं हामी दुनियाँ हामी भित्र छ

कुन टायममा होला खाली खाल्सा तपाईंको ?

गप्तसिंह– (वास्तै नगरी) मेरो ता दृष्टि बेग्लै छ होला बेग्लै तपाईंको

केही गर्नु प¥यो बात हाम्रो आफ्नै भलाइको

भोलिको देशका खम्बा यिनै बालक बन्दछन्

भेटे स्याहार संभार सिर्जनाका मुहान हुन् ।

सुकाइदिनुभो तिन्का चिल्ला पात तपाईंले

केटाकेटीहरू बन्छन् आज्ञाकारी फकाइले ।

कहाँ सप्रनु डन्डाले हिर्काई बालबालिका

उल्टै जन्ड हुँदै जान्छन् तह लाग्नु कता कता !

यिनैभित्र थियो गान्धी हुने मस्तिष्क उर्बर

सुकाइदिनुभो पैल्यै भएर अति बर्बर ।

मार्गदर्शनले हुन्थे गान्धी माक्र्सहरू यिनै

अब सम्भावना छैन भित्री योग्य हुने कुनै ।

के भनौं खै !

ख.नरमान– हँ...! (यति सिवाय केही नबोली वाल्ल पर्छन् ।)

के भन्नु, देख्दैमा लाज लाग्दछ

काम खैराँतिलो देख्दा लाजै लाग्छ मलाई ता

केही थाहै नपाएझैं गर्नुहुन्छ तपाईं झन् ।

यस्तो बेढङ्गिलो काम गर्नु हुन्न तपाईंले

यो दोषी कार्यको घाटा देशले भोग्नु पर्दछ ।

देश भोग गर्दैछ खैराँतेहरूको गीत

यहाँ जो दृश्य देखिन्छ देखेरै बन्छु आजित ।

ख.नरमान–सोच उत्तम हो मित्र यहाँका जो विचार छन्

ती विचारहरू मेरा लागि ता होनहार छन्

तर के गर्नु सोचेर मात्रै चल्दैन जिन्दगी

पढाउन् के गरी तिन्ले पैसा काढेर बन्धकी

खर्च गर्न नसक्नेका यस्तै हालत बन्दछन्

झमेलाहरूमा पर्छन् अनेकौं परिबन्द छन् ।

इस्टमित्रहरूतर्फ पढ्नलाई भिराउँछन्

केही अक्षर पढ्लान् कि भनेर गन्गनाउँछन् ।

बजारु ढँटुवा होला भन्ने सोची पठाउँछन्

सित्यैं भेटे भने तिन्ले अलकत्रै चटाउँछन् ।

केही अक्षर ता सिक्लान् रित्ता हात भए पनि

सित्यैं पढाउनै पर्छ इस्टमित्र भएपछि ।

गल्लीमा चोकमा थाल्लान् रल्लिएर बरालिन

त्यस्तरी रल्लिनु भन्दा यता खेद्छन् बरालिन ।

गुप्तसिंह– मेरो सल्लाह बेग्लै छ खोलेर कान सुन्नुहोस्

यस्तो बेफ्वाँकको ज्ञान दिई के हुन्छ भन्नुहोस् ?

पढाइ यसरी गर्नु भन्दा ज्यामी बनाउनु

धेरै उत्तम मानिन्छ यस्तो खै के पढाउनु ?

ज्यामी मज्दुर वा कर्मी हुनु नै हुन्छ उत्तम

यो पढ्नु पनि के पढ्नु उतै उन्नति देख्छु म ।

बुद्धिको काम छाडेर बलको काम लाउनोस्

मेरो सल्लाह बेग्लै छ यिनलाई पठाउनोस् ।

छाडेर दिनुहोस् अर्कै लागून् बाटो तताउन

ज्यामीका रूपमा थाल्छन् हामीलाई सघाउन ।

त्यसैमा हित देखिन्छ अझै होला त्यतै भलो

सधैं देखिन्छ यो कोठा मानो हो युद्धको थलो ।

यस्तो ज्ञान लिई कोही कहाँ होलान् ठुला बडा

दुष्कर्मैैतर्फ जाकिन्छन् बन्दछन् पापका घडा ।

न ज्यामी न कुनै दक्ष मजदुर कुनै न ता

होलान् भन्नु परै जाओस् ज्ञानी बन्नु कता कता ?

न माथि पुग्दछन् यस्ता न यस्ता तल झर्दछन्

बिचैमा झुन्डिने यस्ता व्यर्थका भई सड्दछन् ।

जता जान्छु उतै यस्तै यस्ताको पुग्छु माझमा

आधा गाग्रा छचल्कन्छन् मानौं हाम्रो समाजमा ।

(हो कुरा भने जस्तो भावमा खरिदार नरमान एक छिन जिल्ल परेजस्तो हुन्छ ।)

नरमान–(सहसा नाडी घडीतिर हेरेर) एघारै बज्न लागेछ, ओहो जानु प¥यो अब !

गुप्तसिंह– जानुहोस् जानुहोस् चाँडै एघारै पो बजेछ त ।

खैंराती काम गर्दैमा निकै बेर भएछ त ।

पर्नु होला गयल् चाँडै लिनुहोस् लक्कु हातमा

बोकेर हिंड्न सक्नेको संसारै हुन्छ साथमा ।

कतै खैराँतमा मित्र पर्नुभो कि कुनै दिन

हाजिर् ता ठोक्न पाइन्छ बेर्थैको त्रास यो किन ?

नरमान– लौ बित्यो के भयो आज दसै मात्र मिनेट छ ।

घरै छु अहिलेसम्म पुग्न सक्छु कि सक्तिनँ

ढोकैमा आई उभ्भिन्छ स्वयं चन्द्रबहादुर

एघारै बज्न पाउन्न रोक्न थाल्दछ हाजिर ।

फर्किएर हिंडे हुन्छ पाइन्न गर्न हाजिर ।

आशा नै लिनु पर्दैन ढिला केही भयो भने ।

गुप्तसिंह– मौकाको ख्याल जो गर्छन् तिनैको हुन्छ जिन्दगी

मौका चुक्ने पछारिन्छन् तिनको हुन्छ दुर्गति ।

हाम्रो जिन्दगीको अर्थ हाम्रो यो गतिशीलता

जसले बुझ्न सक्तैन त्यस्ताको के कुरा गरूँ ?

के भनौं के भनौं हुन्छ देखी काम तपाईंको

मेरै ता चित्त बुझ्दैन अरूको कसरी बुझोस् ।

बेलामा जो ढिलो गर्छ ढोकैबाट फिराउने

सारै उत्तम त्यो काम गर्छन् चन्द्रबहादुर ।

बेलाको ख्याल गर्दैनन् जसले ती गुँगाहरू

त्यस्ता नामर्द मान्छेको यहाँ म के कुरा गरूँ ?

काम चोरहरूलाई निकाल्ने घरबाहिर

ठिकै गर्दा रहेछन् ती थापा चन्द्रबहादुर ।

नेपालीहरूले छाडे बेलैमा पुग्न काममा

केही घन्टा ढिलो गर्नु अहिले मामुली भयो ।

सुध्रने छाँट देखिन्न ढिलो गर्ने भयो मति

यही चाला रहेसम्म यिनैको हुन्छ दुर्गति ।

बेलाको ख्याल जो गर्छ उसैको हुन्छ उन्नति ।

अनुशासनमा हाम्रो अल्छ्याइँ पर भाग्दछ

थापाले जो लिए बाटो प्रशंसायोग्य लाग्दछ ।

अल्छे चोरहरूलाई त्यो नौलो हुन सक्दछ

नरमानजी यो मेरो सुझावै मात्र ठान्नुहोस्

तर थापाजीको काम क्रान्ति हो यति मान्नुहोस् ।

उसैको उन्नति हुन्छ उसैले फल पाउँछ

बेलाभित्र कुनै काम गर्ने बानी ग¥यो भने ।

काम चोरहरूलाई सोझो बाटो हिँडाउने

बानी पार्न यसो गर्छन् भन्ने लाग्यो मलाई ता ।

(खरिदार नरमान नाडीमा फेरि एकचोटि घडी हेर्छ)

जानुहोस् जानुहोस् चाँडै जानुहोस् लौ ढिलो भयो

पुग्नुहुन्थ्यो गएदेखि बार तेर मिनेटमा ।

यहाँ खैराँतिला काम गर्दैमा काट्नुभो दिन

दम फुल्ने भयो आज दौडिएर गएपछि

फेरि खैराँतमा पर्नु होला है ! (खरदानर नरमान र गुप्तसिंह दुबै जुता लगाउँछन् । जुत्ता लगाउँदा लगाउँदै) फर्कंदा हुँदि

मेरैमा आउनू सोझै अड्डा छुट्टी भएपछि

पर्खिएरै ब बस्नेछु धोका होला म जान्दिनँ

भाका काटिसक्यो

ख.नरमान– आज अवश्यै म बुझाउँछु

अब राख्तिनँ त्यो भाका गते तीन भइसक्यो

(दुबै जना जान लाग्छन् । त्यसै बेला भुन्टे मुख भरि पसिना गरी हस्याङफस्याङ गर्दै आइपुग्छ)

ए भुन्टे किन हो यस्तो दौडिएर यता किन ?

गएको अघि नै हैन ? फेरि यो हड्बडी किन ?

के भयो ? किन हो ?

भुन्टे—(रुन्चे आवाजमा) मेरो हरायो आज फुल्टिन

बाले भात दिंदै दिन्न भन्नु भो धर पाइनँ

भिरेकै लाग्दथ्यो खोज्दा हराएछ कता कता ?

त्यसैले हड्बडाएर खोज्न आएँ यहाँ म ता ।

ख.नरमान–(रिसाएर) हरायो बाहिरै यस्ले यहाँ फुल्टिन खोज्दछ ।

यहीं नै हो हराएको भन्ने लौ के प्रमाण छ ?

गल्लीमा चोकमा सारा मालाताल हराउँछन्

खोज्दछन् घरका भित्र लाजै मर्दाे गराउँछन्

थाहै केही नपाएर बाहिरै त्यो कता खस्यो

के भन्छस् त्यो हराएको पाइने ठाउँ हो र यो ?

भुन्टे–(डराइडराई) कुस्ताकुस्ती परेको थ्यो नन्दलालसँगै यहाँ

कुस्ती पर्दा खस्यो होला कोठा भित्र कतैतिर !

ख.नरमान–(खुब रिसाएर) तेरो फुल्टिन ए भुन्टे यतै भित्र खसे खसोस्

खसे के त ! म के गर्छु आज अड्डा छुट्यो भने ।

मेरो मासु सबै खाए यिनले म थला परें

के गरी फुत्किने होला कस्तो सङ्गतमा परें ?

भएछ घर यो मेरो कुस्तीको अखडा अब

थाल्छन् खेल्न यहाँ कुस्ती म हुन्न घरमा जब ।

गुप्तसिंह– भयो बाबु तँ जा ऐले भोलि आएर खोज्नु है

अड्डा पुग्न उहाँलाई आज धेरै ढिला भयो ।

जा, धन्दा मान्नु पर्दैन सुर्ता केही नगर् अब

तेरो फुल्टिन भेटिन्छ यतै भित्र खस्यो भने ।

बेलैमा भोलि आएर खोज्लास् जा अहिले अब ।

भुन्टे– (रुँदै) नलिई जानु पर्दैन मैले फुल्टिन हातमा

भातै खान दिने छैनन् रित्तै हात गएँ भने ।

ख.नरमान– नखुवाएर के भो त ! भोकै बस् आजको दिन

जा जा जा अहिले घस्की बस्छस् फेरि यहाँ किन ?

कुस्ती खेल्दा यतै भित्र यदि खस्न गयो भने

भोलि खोज्नु यहाँ आई भएमा यहीं पाउलास् ।

(नाडी घडी हेर्दै) लौ मा¥यो लौ गयल् पा¥यो मात्रै आठ मिनेट छ

ए भुन्टे तँ बडो मूर्ख रहेछस् अति जब्बर

आज गयल् भए मेरो तेरो फुट्ने छ खप्पर ।

(नरमान झर्कंदै सरासर जान्छन् गुप्तसिंह पनि साथै जान्छन् । भुन्टे अँध्यारो मुख लाएर भुइँ बैठकको कोठातिर हेरिरहन्छ ।)

।। इति ।।

कथाकार विश्वेश्वरप्रसाद कोइरालाको

श्वेतभैरवी

लाग्ला पाठकमा कथा बिरसिलो होलान् यहाँ गन्थन

को सक्ला रसिलो र स्वच्छ चखिलो आफ्नो कथा बिर्सन

मेरै जीवनको पुरानु छ कथा आफैं हुने दङ्ग म

धेरै वर्ष पुरानु हो तर सबै सम्झन्छु छर्लङ्ग म ।।

यस्मा चित्रित छन् अनेक थरिका नौला सुनौला प्रथा

यो हो यद्यपि बाल्यकालतिरको मेरै बितेको कथा

मेरो नम्र छ भावना नभनियोस् ‘गर्दै छ यो गन्थन’

ढुङ्गैमा पनि सार मिल्छ गरिए यौटा ठुलो मन्थन ।

पक्का वर्ष भुलेंछु सन्धिवयको कौमार्य आरम्भमा

थोरै गन्थन मात्र गर्नु छ यहाँ यो पूर्व प्रारम्भमा ।

त्यो होला दस बार वर्ष तिरको लाग्थ्यो भुरो नै छु म

मेरै बालककालको चहकिलो नौलो कथा भन्छु म ।

सिद्धिएझंंै थियो बर्खा ऋतुको याम भर्खर

शारदी याम थाल्दैथ्यो पृथ्वीमा हुन तर्खर ।

बर्खामा कोशीले रौद्र रूपमा गरी नर्तन

कोशीको रौद्र त्यो रूप शान्त लाग्दै थियो हुन ।

कोशीबाट सबै बस्ती गाउँ डस्नु थियो जति

डसेर फिर्न लागेझैं हुँदैथ्यो त्यसको गति ।

बर्खामा कोशी उर्लेर विकरालै भए पनि

सुक्न लाग्दै थियो आज ढिलो केही भए पनि ।

अहिले कोशीको छाल केही टाढा हुँदै थियो

तथापि बाढीको त्रास गाउँभित्र छँदै थियो ।

कोशीको रौद्र त्यो रूप मेटिदैन कतै पनि

छँदैछ मनमा मेरो कोशीदृश्य अझै पनि ।

भुलुक् भुुलुक् भुलुक् गरी उठेर छाल आउँथ्यो

यता सबै डराउँथ्यौं उता सबै बगाउँथ्यो

अमोघ काल झैं थियो दिगन्त काल ताण्डव

सुलुत्त निल्दथ्यो कतै मिलिक्क बन्धु बान्धव ।

यता डरै थियो उता थियो डरै उतै पनि

लिएर जान सक्तथ्यो बगाउँदै कतै पनि ।

थिएन बाढको अघि कुनै गृहस्थ डेगिलो

अपूर्व कौशिकी (कोशी) त्यहाँ थियो प्रवाह बेगिलो ।

किसान धान रोप्तथे सधै सधैं घुँडा धसी

बगाउँथ्यो डुबाउँथ्यो समस्त खेतमा पसी

कराल काल झैं थियो प्रचण्ड बाढको रूप

विपत्ति आइलाग्दथ्यो गरेर घोर ताण्डव ।

अकास चम्कंदै थियो गरी अनन्त नर्तन

गड्याङ् गुडुङ् गड्याङ् गुडुङ् गरेर घोर गर्जन ।

गरी विनाश फेरि त्यो पुरानु मार्गमै फि¥यो

अखण्ड रुप ताण्डवी भएर सुस्त थामियो ।

आयो कार्तिकको बेला बर्खा याम बितेपछि

शारदी कालको याम लाग्यो बर्खा गएपछि ।

कोशीले धङ्स पारेर गरी ताण्डव नर्तन

पुरानै ठाउँमा फेरि लाग्दैथ्यो अब फर्कन ।

कोशी त्यो बाढीको रूप लिएर यमराजको

अघाएर फिरेजस्तो लाग्दैथ्यो घनघोर त्यो ।

अघिल्लै दिनको जस्तो गाउँ आतङ्कमै थियो

तथापि कोशीको बेग केही ता थामिदै थियो ।

साना तालहरू उस्तै बाटाघाटाहरू उही

डम्म पानी थियो उस्तै उही मैलो हिलो उही ।

बर्खा याम गयो आयो त्यहाँ शारदी वास्तव

त्यसैले केही उत्पात कम भो कोशीको अब ।

बर्खामा गाउँका गाउँ सारै सङ्कटमा थिए

कोशीले डेग छाडेछ मानौ ती अब बौरिए ।

बिदो बाढी हुँदा केही गाउँ जाग्दैछ यस्तरी

नारीले प्रसवी पीडा सहेर ब्यूँझिए सरी ।

लामो प्रसवको पीडा थामिए झैं भयो जब

पृथिवी वेदनाबाट ब्यूँझिएझैं भइन् तब ।

थर्किंदा थर्किंदै मेघ बर्सिंदा बर्सिंदै जल

वायुमण्डलमा केही हट्तैथ्यो अब बादल ।

घटेझै हुन थाल्दै थे प्रचण्ड गर्मीका दिन

केही शीतलता आयो लाग्दा कार्तिकका दिन ।

वायुले मधुरो बेग लिएर बहँदै थियो

मानौ त्यो वायुले प्राण हामी मानवमा दियो ।

कोशीले छुन छाडेका खेतमा धान झुल्दथे

फलेको श्रम देखेर किसानहरू भुल्दथे ।

हिजो अस्ति थियो शङ्का शङ्का त्यो अब दूर भो

निर्धक्कसँगको सोच आएर एक सुर भो ।

कोशीको त्यो महा उग्र रूपको गर्न वर्णन

छाडेर अब थाल्दैछु मेरा कौमार्यका क्षण ।

लेलहा नामको मान्छे थियो केवटको थर

बाबु छोरी सँगै बस्थे सानो छाप्रो थियो घर ।

छाप्रो एक बनाएको दक्षिणी पूर्वमा थियो

हाम्रो बारीतिरै बस्थ्यो सोझो मानव त्यो थियो ।

भँगालो कोशीको एक फाटेर आउँथ्यो त्यहाँ

फर्केरै फेरि त्यो मिल्थ्यो मूल कोशी थियो जहाँ ।

गाउँलेहरूका लागि भँगालो कामको थियो

त्यसैबाट त्यहाँ धेरै पानीको काम चल्दथ्यो ।

भँगालो कामको हुन्थ्यो गाउँलाई नुहाउन

नारीजातिहरूलाई काम दिन्थ्यो लुगा धुन ।

पानीबाट हुने काम भँगालैबाट चल्दथ्यो

हिउँदे बालीका लागि यसैले काम गर्दथ्यो ।

भँगालो अहिले लाग्थ्यो बडो शान्त र शीतल

बर्खामा धमिल्यो हुन्थ्यो भयो त्यो अब निर्मल ।

बर्खाको के कुरा गर्नु अहोरात्रै सुसाउँथ्यो

गाउँलेहरूको यस्ले सातो ठाडै उडाउँथ्यो ।

बर्खाको याममा लाग्ने कुनै उन्मत्त भैरवी

हिउँदे याममा लाग्ने कुनै ग्राम्य बधू सरी ।

प्रचण्ड यसको रूप उर्लेर जब आउँथ्यो

लेलहा माझीका लागि खतरा कहलाउँथ्यो ।

पानीको बेगले केही थियो बारी कटानमा

बग्दथ्यो बारीकै हाम्रो पल्लो दक्षिण पूर्वमा ।

कोशीमा बाढी आयो कि धमिलो हुन थाल्दथ्यो

लेलहाको घरै भित्र पसुँला गर्न थाल्दथ्यो ।

छप्ल्याक् छुप्लुक् गरी केही बेगले बग्न थाल्दथ्यो

लेलहा बिचरालाई सागरै सरी लाग्दथ्यो ।

सप्तकोशी नदीबाट फाटेको केही मास्तिर

भँगालाको थियो घुम्ती लेलहाको घरैनिर ।

केही घुम्ती परेकैले तीब्र बेग त्यहाँ थियो

खुँडाकै धार हो जस्तो धारिलो बेगिलो थियो ।

भँगालै गड्गडाएर गाँवैलाई डराउँथ्यो ।

टुक्रा टुक्रा गरूँला झैं भन्ने भान गराउँथ्यो ।

बर्खाका तिन मैनामा बाबुछोरी त्यहीं निर

बडो मुस्किलमा बस्थे धारकै केही पर्तिर ।

सकियो अब बर्खाको भेलबाढी ढिलो ढिलोे

ओभानो हुन थाल्दैथ्यो सुक्तै थ्यो अघिको हिलो ।

बाढीका पानीले छाड्दा लाग्थ्यो यो नवप्रान्त छ

बिस्तारै सङ्लिंदै आयो अब त्यो धार शान्त छ ।

कुनै लज्जावती ग्राम्य बालाको रूप झैं भयो

हिलोको ताण्डवी रूप भँगालोमा कता गयो ?

लेलहा माझीकी पुत्री फगुनी (फल्गुनी) सोर वर्षकी

हुँदी हो यतिका वर्ष पछि लेख्तै छु त्यो कथा ।

स्मृतिमा अझ ताजै छन् बितेका ती कथा सब

धेरै वर्ष यता लेख्न थाल्दैछु त्यो कथा अब ।

फगुनीको जसै गर्छु सम्झना उसको वय

सोरै वर्ष थियो भन्ने कुरामा हुन्छ संशय ।

सोर वर्ष थिई भन्ने कल्पनै मात्र हो यहाँ

त्यो बेला फगुनी होली चौध वा सत्र वर्षमा ।

तर एक कुरामाथि मेरो छ दृढ निश्चय

युवती कालको फड्को टेक्तै थी फगुनी तब ।

हुन सक्छ थिई होली पन्ध्र वा सत्र वर्षकी

सोरकी हुँदी हो भन्ने मेरो अन्दाज मात्र हो ।

त्यो केटी बालिकाबाट युवाकाल तिरै थिई

सकिन्छ यो पनि भन्न वयको सन्धिमा थिई ।

छोडौं त्यो अब त्यो छोडौं उसका वयको कथा

त्यो कथा सम्झँदा आज भित्र दुख्छ कता कता ।

तिस पैंतिसका वर्ष अघिको यो कथा अझै

मेरो मस्तिष्कमा ताजै रहे झैं लाग्छ त्यो सबै ।

यौटा बेग्लै थियो नौलो फगुनीमा विशेषता

गोरो गोरो थियो वर्ण छक्कै पर्दाे विचित्रता ।

न थिई बालिका जस्ती न थिई युवती सरि

थिएन जो हुनु पर्ने बेग्लै थ्यो मुख माधुरी ।

नयाँ संस्कृतिले आज ढाकेको छ बजारमा

सानैमा छिप्पिए जस्ता देखिन्छन् जिउ डालमा ।

एघारै पुग्न पाउन्नन् आजका बालिकाहरू

परिपक्व भए जस्ता देखिन्छन् जिउडालका ।

वयमा कलिलै हुन्छन् भोग्ने नागर सभ्यता

सोर वर्ष पुगेजस्ता लाग्दछन् ती कता कता ।

सधैं मोज सधैं मस्त रहन्छन् अनि हर्षमा

सोरका युवती जस्ता देखिन्छन् बार वर्षमा ।

यिनै सहरिया बाला हलक्कै बढ्दछन् किन

खानले पानले हो कि केले हो खै म जान्दिनँ ।

सधैं काम सधैं धन्दा सधैंको परिबन्दमा

पर्दछन् गाउँका बाला घनचक्कर द्वन्द्वमा ।

त्यसैले बढ्न छाडेर हुँदैनन् ती हराभरा

कामले छिचिने गर्छन् कहाँ बढ्नु कठैबरा ।

कालो वर्ण हुने केही ताम्र वर्ण हुने अनि

गोरो वर्ण हुने केही थिए मानिस गाउँमा ।

परिवारै थियो कालो त्यस्तोमा कसरी भई

अपवाद भनेजस्तो अचम्मै गोरी त्यो थिई ।

केशको स्वर्ण आभाले थप्थ्यो सुन्दरता अनि

हेर्दा राम्रै थिए आँखा केही खैरा भए पनि ।

सोर शृङ्गारले उस्को सजाउ गर्नु हो भने

भान पर्ने थियो होला उसमा अप्सरा हुने ।

यता खैरा थिए आँखा सुनौलो केश थ्यो उता

युरोपेली कुनै नारी जस्ती लाग्थी कता कता ।

तर शृङ्गारको त्यस्ले कहाँ पाओस् प्रसाधन

राम्री राम्री बनूँ भन्ने हुँदो हो उसको मन ।

आफूलाई सजाएर राख्ने सोच कता हुनु ?

ग्राम्यवालाहरूलाई सोख पूर्ण कहाँ हुुनु ?

कोरी बाटी नगर्नाले केश खस्रो रुखो थियो

जगल्टे जोगीको जस्तो पँहेलो केश त्यो थियो ।

बिसम्भार गरेकैले लट्टियो केश वास्तव

लेलहा पुत्रीका लागि कहाँ शृङ्गार होस् अब ??

गोरी हो तर त्यो गोरोपन सारै विकर्षक

लाग्दथ्यो किन हो मेरो तर्कै हो कि निरर्थक ??

अरू ग्रामीण बालामा हुने झैं त्यो विशेषता

थिएन फगुनी भित्र भन्ने लाग्छ कता कता ।

अनौठोपन थ्यो उस्को अरूमा पाइँदैनथ्यो

एकान्तप्रिय त्यो लाग्थी मित्र नै चाहिँदैनथ्यो ।

बेग्लै लाग्ने थियो चाला अनौठो ढङ्गकी थिई

अरू बालाहरू भन्दा बेग्लै त्यो चञ्चले थिई ।

युवतीहरू मस्कन्थे ख्याल गर्थे घरी घरी

फगुनी तर्किने गर्थी नदेखेझैं गरी गरी ।

घाँस पानीहरू गर्दा जिस्कन्थे युवतीहरू

त्यस्तोमा फगुनी चाहिँ सारै गम्भीर बन्दथी ।

स्वभाव उसमा बेग्लै थियो कि भित्र सञ्चित

भएनन् उसका कोही साथी वा सँगी निश्चित ।

हुर्किएकी थिई बाला पिताको रेखदेखमा

एक्लै सन्तान थी अर्काे थिएन परिवारमा ।

बालकै कालमा मातृस्नेहले थिई वञ्चित

एकान्तप्रियता उस्मा हुँदैगो अनि सञ्चित ।

यही अन्तर्मुखी चाला लेलहामा पनी थियो

मानौ ईश्वरले उस्कै स्वभाव पुत्रीमा दियो ।

भँगालै निर त्यो हुर्की भँगालै निर त्यो बढी

एकल्काँटे थिई त्यस्तो हुनुमा यो थियो कडी ।

हुर्किनै नसके जस्तो लेलहाका घरै अघि

आँपको रुख थ्यो एक कोशी बग्थ्यो त्यहीं निर ।

वसन्त ऋतुमा आँप फुल्नु पर्दछ सर्वदा

देखिन्थ्यो मञ्जरी त्यस्मा आठपाँच यदाकदा ।

फुलिहाले कतै त्यस्मा चिचिलै आँप झर्दथ्यो

रुखमा आँपको दाना हुर्केको देखिंदैनथ्यो ।

एउटै आँप पाकेन थियो कि रुख बैगुनी ?

फगुनीको बित्यो बाल्यकाल त्यो रुखकै मुनि ।

खेतमा कामका बेला जान्थ्यो बाबु उतातिर

माटो खेली यता बस्थी फगुनी रुख मन्तिर ।

यस्तैमा कहिले काहीं खोलाभित्र पसी पसी

पौडन्थी अथवा बेला काट्तथी घरमै बसी ।

यिनै पात्रहरूबाट छाप त्यो उसमा प¥यो

एकान्त प्रेमको काम आँपैको रुखले ग¥यो ।

फगुनी त्यही नै हाम्रो घरमा काम गर्दथी

घरका काममा हाम्रो त्यही नै अघि सर्दथी ।

बसेको छु यहाँ एक दिनको गर्न वर्णन

सम्झन्छु घटना भित्र बिर्सन्न किन हो किन ?

अपरान्ह थियो क्यारे घटना जब त्यो भयो

मानौ जिन्दगीमा मेरो बिजुली घोर चम्कियो ।

भूमिका धेर बाँधेर झिँजो लाउन्न व्यर्थ म

गर्न लौ अब थालें म कथाको मुख्य वाचन ।

घटना पनि सानै हो ठुलो भन्न म सक्तिनँ

अब संक्षेपमा गर्छु व्यर्थै झन्झट गर्दिनँ ।

धन्दापात सबै हाम्रो घरको काम गर्दथी

झाडुपोछा लगाएर साफ सुघ्घर पार्दथी ।

घरको काम गर्दैमा हुन्थ्यो केही ढिलो ढिलो

जहान अरूको भन्दा हाम्रो केही थियो ठुलो ।

कोठा चोटा बढारेर झाडु पोछा लगाउनु

सफा सुघ्घर पारेर घरलाई सजाउनु ।

यिनै थे उसका काम दिनचर्या थियो यही ।

झिनाझाक्रा यिनै काम गरी फल्गुनी हुर्किई ।

स्वभावै यो हुने गर्छ संयुक्त परिवारमा

खैलाबैला र होहल्ला हुन्छ त्यो घरबारमा ।

सबैले यो बुझे हुन्छ संयुक्त परिवारमा

तानातान र होहल्ला हुन्छ त्यो परिवारमा ।

केटाकेटी जहाँ हुन्छन् त्यहाँ शान्ति कता हुनु

त्यहाँ हुन्छ कतै हल्ला कतै हाँसो कतै रुनु ।

कसले के कुरा गथ्र्यो हम्मेसी बुझिदैनथ्यो

हाम्रो त्यो घरमा हल्ला कहिल्यै सिद्धिदैनथ्यो ।

बाझाबाझ सधैं गर्थे यता नोकर चाकर

रडाको कहिले पथ्र्यो अर्काेतर्फ बरोबर ।

केटाकेटी यता आमा सानिमा सबका सब

बाझाबाझ गरे जस्तै बसेर चुट्थे गफ ।

यस्तैमा कहिलेकाहीं त्यो बेला पनि आउँथ्यो

कोकोहोलो हराएर शान्तिले बास पाउँथ्यो ।

त्यस्तो बेला जसै आयो शान्त हुन्थ्यो त्यहाँ घर

लाग्दथ्यो अघिको हल्ला गर्ने मान्छे कहाँ छ र ??

दर्के पानी रहे जस्तै कोकोहोलै रहेपछि

यस्तै भान हुने गथ्र्यो हल्ला शान्त भएपछि ।

ठुलो विष्मयका केही घटना हुनु पूर्वको

पूर्वसङ्केत झैं लाग्ने चकमन्न रहेछ त्यो ।

आशङ्काहरू जन्मन्थे शून्य नीरवता बिच

सानो शब्दै त्यहाँ लाग्थ्यो ठुलो विस्फोटको रूप ।

मुटु ढक्क हुने गथ्र्याे केको हो शून्यता यहाँ

आशङ्का तब जन्मन्थ्यो मनभित्र कहाँ कहाँ ।

यस्तो लाग्थ्यो यहाँ हाम्रो घरमा शून्यता भयो

तुलीगाँडाहरू जस्तो ऐले हूल कता गयो ?

किन यस्तो भयो हाम्रो घर यो चकमन्न छ

कान खाने कुरा गर्ने लावालस्कर शून्य छ ।

सानो एक थियो गुन्द्री त्यसैमा पल्टिदै थिएँ

कोठामा पल्टिँदै गर्दा केही झोक्राउँदै थिएँ ।

थामिएको थियो हल्ला यो बेला अघि जो थियो

थाहै पाइनँ त्यो हल्ला कसरी अब रोकियो ।

कस्तो कस्तो भयो ऐले प्रचण्डै चकमन्न छ

घरमा जो थियो हल्ला त्यो हल्ला अब बन्द छ ।

सधैं साथ लिई जान्थे किन छोडी गए हुनन्

कोशीका तटमा पौडी खेल्नलाई गए हुनन् ।

पानीमा पौडी खेल्थें म बालुवा माथि सुत्तथें

साथीले किन हो आज मलाई मात्र बिर्सिए ।

कसरी छुट्टिएँ आज किन भित्र गएँछु म

साथीकै साथ खेल्दै थें कस्तो हुस्सु भएँछु म ।

भुलेछन् अरूले भै गो मिठ्ठूले पनि बिर्सिई

उसैले सम्झनु पर्ने प्यारी मित्र त्यही थिई ।

सँगै खेल्थी सँगै हिंड्थी असाध्यै प्रेम गर्दथी

म उस्का भरमा पर्थे ऊ मेरा भर पर्दथी ।

भित्र एक्लै हुँदा मेरो मनमा डरको हुरी

पसी आतङ्क गर्दैछ कस्तो हुँ डरको पुरी ।

बडो निस्तब्धता आज हुन गो घरमा यहाँ

घरै भित्र डराएर सुरक्षा पाउनु कहाँ ??

सान्नानीहरूले भन्थे त्यस्तो निस्तब्ध भो भने

भूत प्रेत र चाण्डाल त्यस्तैमा हिंड्दछन् अरे ।

किचकन्नेहरू हुन्छन् आँखा पिर्लिक्क पल्टने

बिब्ल्याँटो टेक्तछन् खुट्टा छातीमा सिङ उम्रने ।

तिनैले बोक्सीको कालो थुतुनो हुन्छ भन्दथे

बोक्सी त्यै मनमा आयो हाडखोड चबाउने ।

काला बोक्सीहरू आई सद्दे मान्छे भगाउँछन्

तिनै बोक्सीहरू आई काला जादु जगाउँछन् ।

भूतका प्रेतका यस्तै बोक्सीका र पिसाचका

कथा सुन्थ्यौं सधंै हामी दुःखका र विषादका ।

मनमा सम्झना आए नानाभाँती कुराहरू

डरले छुल्छुली पा¥योे एक्लै आज कसो गरूँ ।

घरको शून्यता भित्र देख्दैथे भूत दौडँदै

थिएँ म घरमा एक्लै कल्पनातिर पौंडिदै ।

घरको शून्यताभित्र छायामा भूत दौडँदै

आएजस्तो भयो भान मेरै टुप्पी समाउँदै ।

वनको बाघले आई खाला भन्नु कता कता

मनका बाघले खाई बौलाएँ अब लौ म ता ।

यस्तै यस्तो थियो शून्य शून्यता तब भङ्ग भो

ढोका उघ्¥यो त्यसै बेला मेरो चित्त झसङ्ग भो ।

तर्छिए झैं भएँ झट्ट डरले मन झस्कियो

यसै कारणले गर्दा मेरो यो छाती चस्कियो ।

रहस्यमाथि झन् अर्काे रहस्य थपिंदै थियो

ढोका मेरो यसै बेला घ¥याक्क गरी उघ्रियो ।

ढोकाको शब्दले पा¥यो विस्फोटै पो भएछ कि

आशङ्का यो पनि जन्म्यो भूकम्पै पो गएछ कि ??

आशङ्का मनमा बोक्ने मान्छे बन्दछ काँतर

नडर्ने दुनियाँभित्र यौटै मान्छे कहाँ छ र ?

जब त्यो फगुनी आई ढोका खोलेर भर्खर

मेरो यो मनको शङ्का तब लाग्यो निरर्थक ।

सानो एक कुनै बाल्टी लिएर भित्र त्यो पसी

रयालेको थियो माटो गोबरै पानीमा मुछी ।

मनमा जो थियो मैले पालेको अघि संशय

फगुनी आई जो भित्र भएँ तत्काल निर्भय ।

“सानो बाबु म आएकी कोठो लिप्नु छ यो पनि

उठ लौ उठ लौ झट्ट” फगुनीले यसै भनी ।

डर त्रास र सन्देह जो थियो मनमा सब

पानी फोका फुटेजस्तो बिलायो सबका सब ।

असामान्य अवस्थामा म त्यहाँ भर्खरै थिएँ

म सामान्य अवस्थामा तत्कालै अब फर्किएँ ।

पल्टिएकै थिएँ ऐले अटेरी अल्छी झैं बनी

“लौ चाँडो उठ हे बाबु” फल्गुनीले यसै भनी ।

“लौ न लौ उठ लौ चाँडो पल्टेका कति धेर हो ?

धेरै काम रहेका छन् मलाई अब बेर भो ।”

थिएँ आलश्यले लस्त पल्टिएकै अझै थिएँ

फगुनी बिन्ती गर्दै थी मैले दृष्टि त्यतै दिएँ ।

अविच्छिन्न प¥यो दृष्टि मेरो फल्गुनीमा जब

“मलाई किन हेरेको ?” उसले यो भनी अब ।

उसलाई भने मैले “लौ तिमी भित्र आइछौ

फगुनी, तिमीले आज नयाँ धोती लगाइछौ ।”

धोती उस्ले लगाएको थियो त्यो चम्चमाउँदो

सेतो त्यो रङ्गको धोती थियो नैनकिलाटको ।

“मलाई मन भो आज नयाँ धोती लगाउन

किन हो किन ? के जान्नु लाऊँ भन्ने भयो मन ।

यसमा जो थियो माड धोएर निख्रिने गरी

खै केले धुन पाइन्न धोएकै छैन राम्ररी ।

पिटेरै धुनु पो पथ्र्यो यस्लाई पिट्न पाइनँ

राम्रै छ हगि यो धोती मिलाएरै लगाइनँ !”

फगुनीले यसो भन्दा “राम्रै देखिन्छ !” यो भनें

राम्रो धोती थियो उस्को सेतो झन् अझ टल्कने ।

मैले राम्रो छ भन्दैमा आत्मसन्तुष्टि देखियो

उसका नेत्रमा बेग्लै सन्तुुष्टि अब चम्कियो ।

खैरा खैरा दुबै आखाँ उसका अझ चम्किए

गोरो वर्ण थियो उस्को खैरा आँखाहरू थिए ।

काला आँखाहरू भन्दा खैरा आँखाहरूतिर

मनको भाव झल्कन्छ मेरै हो सोच आखिर ।

कसैका नेत्रले मेरो आज ध्यान यसै खिच्यो

मेरो जीवनमा त्यस्तो यो मौका पहिलो थियो ।

नयाँ सोच नयाँ छाँट कुत्कुती क्यै नयाँ नयाँ

उम्रिए मनमा मेरा भावना झन् नयाँ नयाँ ।

खैरा आँखाहरू देखी मनमा हुन्छ सक्सक

सोच भिन्नै भयो मेरो जिज्ञासा हो कि कौतुक ?

यस्तै केके फुरे मेरो मनमा भावनाहरू

जैले आँखा जुधे हाम्रा भाव आए अरू अरू ।

देख्दै आइरहेको थें उसलाई दिनै दिन

केही भिन्नै थिई आज फगुनी किन हो किन ??

फगुनी आज बेग्लै छे कुरा गर्छे मिठोमिठो

मानौं चञ्चलता आयो यस भित्र छिटो छिटो ।

हम्मेसी घुल्न सक्तैनन् मान्छेको यो समाजमा

ख्यालठट्टाहरूबाट अलग्गै रहनेहरू ।

मलाई लाग्छ आश्चर्य फगुनी किन त्यो विधि

बडो वाचाल बन्दैछे कस्तो यो नवपद्धति ?

उस्को प्रवृत्तिमा आयो हठात् यो परिवर्तन

छिनैमा बन्दथी शान्त छिनैमा लाग्थी झर्कन ।

“सानु बाबु यहाँ आज एक्लै बस्नु प¥यो किन ?

खेल्दथ्यौ साथीका साथ हिजो अस्ति दिनै दिन ।”

सोध्दैथी फगुनी यस्तै साधारण कुराहरू

फेरि ठट्यौलीमा उस्ले थपी बेग्लै कुरा अरू ।

“ए सानो बाबु लौ छाडौं कुरा यी मसिना झिना

मन तिम्रो कहाँ लागोस् एक्ला छौ दुलही विना ।”

विवाह दुलही प्रेम यस्ता शब्द सुनेपछि

लाज लाग्दै म खुम्चन्थें माया पिर्ति भनेपछि ।

माया प्रेम तथा यस्तै शब्दको उच्च गम्भीर

थिएन अर्थको ज्ञान थिएँ बालक आखिर ।

यस्ता शब्दहरू हुन्छन् बडो मार्मिक अर्थका

त्यो बेला सम्म के जान्नु होलान् शब्द यी व्यर्थका ।

यिनको अर्थ गाम्भीर्य यद्यपि नबुझे पनि

जान्दथें गोप्य सम्बन्ध दिने शब्द यी हुन् भनी ।

लाजको खोलमा हुन्छन् यस्ता शब्द सधैं भरि

थोरै अर्थ बुझेकैमा लाज लाग्थ्यो घरी घरी ।

थियो त्यो सङ्कटावस्था आफैंभित्र म अल्झिएँ

सारै सङ्कोचमा पर्दा लाजले अझ खुुम्चिएँ ।

यस्ता शब्दहरू हुन्थे लाजले परिवेष्टित

केटाकेटीहरूलाई शब्द हुन् यी विवर्जित ।

लाजबाट निकै माथि पुगेर मर्म मर्ममा

बूढापाकाहरू खेल्छन् यस्ता शब्द र अर्थमा ।

बालबालाहरूलाई शब्द यी परिवर्जित

युवावस्था जसै पुग्छन् गर्छन् शब्दार्थ अर्जित ।

केटाकेटीहरूलाई मायामा छेकबार छ

वृद्धवृद्धाहरूलाई मायामा अधिकार छ ।

मायाका प्रेमका यस्तै लोग्नेका स्वास्नीका कथा

सुन्दैमा सक्सकी लाग्थ्यो मन भित्र कता कता ।

ताता ताता भए कान लाजले केही खुम्चिएँ

‘धत् !!’ मात्रै मुखमा आयो आफैं भित्र म गुम्सिएँ ।

मेरो त्यो सङ्कटावस्था बुझेरै नबुझे सरी

फल्गुनी हाँस्न पो लागी खित्का छोडी घरी घरी ।

आँसु काढेर हाँस्तै थी हाँसो थ्यो तीब्रतातिर

मेरा कान हुँदै जान्थे राता राता यतातिर ।

लाजका भारले भित्री मेरो आँट थिचे पनि

धौ फुुकाएर हाँस्तै थी फगुनी त्यो अझै पनि ।

मेरो पौरुषको गर्व भित्रभित्रै लुते भयो

सधैं ता दर्बिलो हुन्थ्यो आज खै त्यो कता गयो ??

मेरो पौरुषतालाई ब्यूँझाएर कडा गरेंं

त्यसैको आड लागेर सोध्ने साहस यो गरें—

“फगुनी दुलहा तिम्रो खै कता छ ?” भनेपछि

रोकियो उसको हाँसो साहसी म बनेपछि ।

भर्खरै जसरी हाँस्थी त्यो हाँसो अब रोकियो

उसको मुहुडाभित्र बेग्लै आकृति देखियो ।

फगुनी लाज छाडेर बडो बेसर्मी झैं बनी

सोझै आँखा जुधाएर “दुलाहा तिमी हौ !” भनी ।

उसका यी कुरा सुन्दा लाजले पानी झैं बने

अरू केही नबोलेर त्यो बेला मात्र “धत् !” भनें ।

उसको नेत्रको रङ्ग तुरुन्तै किन हो किन

फेरिएछ भने जस्तो लाग्यो धेर म जान्दिनँ ।

रङ्ग कालो भयो उस्को आँखाको त्यही नै घडी

खैरा आँखा भए काला हुनुमा के थियो कडी ?

परिवर्तनको छाप तुरुन्तै स्पष्ट देखियो

के भयो के भयो कालो उसमा रङ्ग पोखियो ।

कुनै उत्कट सम्वेग उसभित्र पसेछ कि

तत्कालै काम्न पो थाली सर्पैले पो डसेछ कि ?

यता फल्गुनी थर्थरी काम्न थाली

तुरुन्तातुरुन्तै भई औधी काली

ठुलो बेगको वायु चल्दैछ यस्तो

कडा वायुमा वृक्ष ढल्दैछ जस्तो ।

कताबाट आयो कताबाट आयो

पुरानो सबै रङ्ग बेग्लै गरायो

कसैबाट यो शास्त्र पढ्नै सकिन्न

अवस्था कतैबाट बुझ्नै सकिन्न ।

हट्यो त्यो पुरानो सबै रङ्गढङ्ग

कताबाट उस्मा चढ्यो रूपरङ्ग

डराएर केही भएँछु झसङ्ग

कुरा बुझ्न मेरो गयो अन्तरङ्ग ।

धत्तेरी के कुरा यस्ता लौ छाड यी कुराहरू

बेर्थका यी कुरा छाडी अरू बेग्लै कुरा गरूँ ।

“देख्न ता छैन देखेको नदेखेकै भए पनि

फगुनी बेहुलो तिम्रो मान्छे लाग्दछ बैगुनी ।

बेर्थैमा बेहुलो तिम्रो मलाई किन ठान्दछ्यौ

छँदैछ बेहुलो तिम्रै मलाई किन मान्दछ्यौ ?”

मेरा यस्ता कुरा सुन्दा औंलाले भुमि कोतरी

केही सम्हालिए जस्ती भए झैं यो कुरा गरी ।

“बिहे हाम्रो भएकै हो यो कुरा किन ढाँट्तथें

तिम्रा साँचा कुरालाई त्यत्तिकै किन काट्थें ?

बिहेको विधिमा हाम्रो दुबैले चुम्नुपर्दछ

चुम्माचुम्मी भएकै हो गौनाको काम बाँकी छ ।”

“के हो त्यो शब्दको अर्थ ?” राम्ररी नबुझेपछि

सोधें मैले त्यसै बेला फेरि उस्ले यसो भनी ।

“हेर चुम्बनको अर्थ अब ता तिमीले पनि

बुझ्नु पर्ने भयो बेला नबुझेको अझै पनि ?

दुबैका ओठले ओठ चुस्नु हो बुझ चुम्बन

चार ओठहरू मिल्छन् मानौं हो प्रेम सङ्गम ।

कोही बेग्लै कुरा भन्लान् प्रेममा यो विधान छ

हाम्रो दाम्पत्यका लागि बुझ यो प्रावधान छ ।

एकाकार दुबै हुन्छन् दुबैका ओठ मिल्दछन्

चिनाजानी यसैबाट गरेर अघि बढ्दछन् ।

यस्तो चुम्बनको मूल्य साना बालक के बुझून्

प्रेम ईश्वर हो भन्ने नजानी कसरी पुजून् ।

माया प्रेम भने जस्तै होला चुम्बन यो पनि

केटाकेटीहरू बुुझ्छन् गोप्य सम्बन्ध हो भनी ।”

फल्गुनी भन्न यो थाली अझै स्पष्ट हुने गरी

“बालकै कालमा गर्छन् हाम्रो चुम्बनको विधि ।

दुबैका कान्छी औंंलाको खुन काटी निकाल्दछन्

जहाँ बाँधिन्छ यो जोडी तिनको खुन साट्छन् ।

काटेर दुईका औंला दुवै खून मिलाउँछन्

बेहुला बेहुली भन्दै नातासम्बन्ध लाउँछन् ।

औंलाबाट जसै बग्छ बगेको त्यो सबै खुन

जोड्नु नै योग्यता हुन्छ बेहुला बेहुली हुन ।

बालकै कालमा हुन्छ बिहेको विधि यो सब

पुनः गौना गरी लान्छन् बन्दछन् ती युवा जब ।”

गौना चुमौनका बार्ता खुन साट्ने कुरा धरी

फल्गुनीले यहाँ यस्ता निकै लामा कुरा गरी ।

फल्गुनी केही बोल्दैथी म ता अन्योलमा परें

पल्टिएरै त्यहाँ मैले अर्काे प्रश्न नयाँ गरें ।

“तिमीलाई सधंै हाम्रो घरैमा देख्छु दिन्दिन

बेहुलो किन आएन तिमीलाई अझै लिन ?”

तत्कालै उग्रता उस्मा देखियो अनि कम्पन

केही खोजिरहे जस्तो देखिन्थ्यो उसको मन ।

भनी “लिप्नु छ यो कोठा लौ चाँडै उठ लौ उठ”

मनमा भाव बेग्लै छ बोल्दैछे यो कुनै झुट ।

“अघि नै भनिहालें नि, मेरा हौ दुलहा तिमी”

यति भन्दा नभन्दै त्यो फगुनी मूर्तिवत् बनी ।

फल्गुको कुरा सुन्दा परेें दोधारमा म ता

बिलायो उसको हाँसो उसैभित्र कता कता ।

ढिलो धेरै भए जस्तो गर्दथी शब्दशब्दमा

तथापि उसको चेष्टा थिएन केही कर्ममा ।

ममाथि उसको दृष्टि थियो यस्तो विचित्रको

नीलो कालो भएँ क्यारे उम्लियो डर भित्रको ।

ठट्टाको जो थियो भाव खै त्यो भाव कता गयो ?

फल्गुनी अब बेग्लै छे भिन्नता अझ देखियो ।

मलाई दुलहा भन्दै जिस्कने फल्गुनी अब

कालो बादलको छाया जस्ती लाग्दथी वास्तव ।

मानौं आमोदको सट्टा आयो बेग्लै कठोरता

क्षणैमा भान भो त्यस्तो के थियो त्यो विचित्रता ?

कोशीमा हुँडलो पारी बाढी त्यो जब आउँछ

मानौं फल्गुनीमा त्यस्तै बाढी यो गड्गडाउँछ ।

भेल बाढी र संवेग फल्गुनीमा चढेछ कि ?

कोशीमा बाढी आएर अनायासै बढेछ कि ??

आशङ्का उग्र फैलन्थ्यो कोशीको गाउँगाउँमा

बडो सन्त्रास फैलन्थ्यो बाढीले ठाउँठाउँमा ।

कोशीका बाढीको ताप मानौ आज यता स¥यो

आशङ्का किन हो त्यस्तो तत्कालै मनमा प¥यो ।

हेर्दा हेर्दै यता उस्को नेत्रमा कालिमा बढ्यो

तत्कालै देहका उस्को शुष्क काठिन्यता चढ्यो ।

अनायासै बढ्यो उस्को वाणीमा शुष्कता पनि

धोद्रो धोद्रो भयो बोली त्यसैमा यो कुरा भनी ।

“अरू कोही यहाँ छैनन् होलान् कि घरबाहिर ?

तुृरुन्तै हेरी फर्कन्छु तिमी सुस्ताउँदै गर ।”

क्षणैमा घर हेरेर कोठामा भई हाजिर

यो बुझी फल्गुनी आई सुनसान थियो घर ।

सिरबाट झ¥यो त्यस्को साडीको लामु आँचल

कसी कम्मरमा बाँधी बडो जोड गरी बल ।

थियो जर्खरिलो केश काँधमा त्यो पनि खस्यो

व्यग्रता उसमा बेग्लै मानौं भित्र गई बस्यो ।

कोरीबाटी नगर्नाले फैलन्थ्यो केश यस्तरी

फैलाई केश नाच्तैछ कुनै झाँक्री भने सरी ।

बडो त्रास लाग्दो भयो रूपरङ्ग

कताबाट आयो नयाँ यो तरङ्ग

फिलुङ्गो निभेझैं भए नेत्र उस्का

कतै भित्र मेरो पस्यो एक झस्का ।

थियो फल्गुनीमा कुनै गौरवर्ण

हरायो र आयो नयाँ कृष्ण वर्ण

भई भूत जस्ती भई प्रेत जस्ती

निभ्यो फल्गुनीको सबै श्वेत वर्ण ।

कोठामा शीघ्र त्यो फर्की बुझेर घरको स्थिति

मानौं सन्तुष्ट त्यो लाग्थी त्यहाँ केही रहेनछ ।

तल झर्दा थियो उस्को जिउमा एक आकृति

फर्किएर जसै आई बेग्लै भो त्यही आकृति ।

सेतो वर्ण थियो उस्को पहिले अनुहार त्यो

फर्किएर जसै आई बैजनी रङ्ग देखियो ।

भासिएका दुबै आँखा देखिए किन हो किन

कताबाट छि¥यो यस्तो रहस्य केही जान्दिनँ ।

फुले जस्तो थियो श्वास श्वासमा तीब्रता थियो

फुलेकै श्वासले गर्दा स्थिति भिन्न हुँदै गयो ।

धेरै मैलो थियो चोली तथापि त्यो सुहाउँथ्यो

मैलो धैलो भए के भो सौन्दर्य महकाउँथ्यो ।

उसको जो थियो साडी सेतो स्वच्छ सफा थियो

त्यसैले उसमा ्आज मानौं सौन्दर्य नै दियो ।

काम केही थियो गर्ने भने झैं भई तत्पर

धोतीको त्यही फुर्काेले कसेर बाँधी कम्मर ।

तत्कालै किन हो मैले स्थितिमा परिवर्तन

भएजस्तो यता देखें उता त्यो लागी गर्जन ।

फल्गुनीमा नयाँ रूप फेरिएझैं भयो अब

भर्खरै जो थियो रूप फेरियो सबका सब ।

छातीमा रौद्रता आयो लाग्थ्यो यस्तो भयानक

फल्गुनीभित्र के त्यस्तो पस्यो उग्र भयावह ।

हरिणीहरूका यस्ता तिखा हुन्छन् दुबै सिङ

त्यसैका सिङ जस्ता हुन् मानौ फल्गुनीका स्तन ।

उसका छातीमा यौटा असाधारण विकृति

देखियो के भयो त्यस्तो कृति हो या त विकृति ।

मलाई लाग्न यो थाल्यो सिंगौरी अब हान्दछन्

जस्मा सौन्दर्य झल्कन्छ दश धारा समाल्दछन् ।

छातीमा रौद्रता ज्यादै उक्सिएर बढेपछि

मलाई डर झन् लाग्यो स्तन ठाडा भएपछि ।

धेरै बन्दी भयौं भन्दै चोलीको जेल तोड्दछन्

गुम्सिँदै लौ कता बस्ने भनेर ठाउँ छोेड्दछन् ।

पुरानो चोलीको जेल भित्र गुम्सनु हो कति

भन्दै विद्रोहमा ओर्ले स्तनको फेरियो मति ।

हाल्नु हो कति यो लामो स्तन कैरन यो सब

चोली नै छेडी निस्केलान् भन्ने भान प¥यो अब ।

यसैले अब छाडेर यिनको गर्न वर्णन

फेरि लागें म बिस्तारै नछाडी अघिको क्रम ।

कोशीको बालुवा माथि चलेको भुमरी सरी

फल्गुनी हुर्रिंदै आई मेरा सामु त्यसै गरी ।

उसमा जो थियो कम्प त्यो अझै बेगमा थियो

मानौ भोको कुनै जन्तु लम्केर खान माग्दथ्यो ।

“दुलाहा तिमी हौ मेरा म तिम्री दुलही अब”

एक्कासी वाक्य यो भन्दै फल्गुनी आई मैनिर ।

हावाको भुमरी जस्तै तातो निःश्वास फाल्दछे

मानौं भोको छ यो सिंह मलाई खान थाल्दछे ।

डरले लग्लगाएँछु मुटु जो तीब्र धड्कियो

उगेल्नु हो कि हो निल्नु घाँटीमै हाड अड्कियो ।

डर लागेर चिच्याएँ भाग्न थालें यता उता

अन्त भाग्नु कहाँ ? आफ्नै कोठै भित्र कता कता ।

कस्तो कारणले भित्र ममा यो त्रास जन्मियो

बुद्धिले पुष्टि के गर्ने तर्कैले पुष्टि हुन्नथ्यो ।

मेरो अस्तित्वका लागि थियो सङ्कटको घडी

फल्गुनी झम्टनै लागी के थियो झम्टने कडी ?

मान्छे धेरै गरें भन्छ उन्नति व्यर्थ हो सब

प्रकृति सामु यो मान्छे निरिह असहाय छ ।

प्रकृति सामु यो मान्छे अझै लाग्दछ बालक

संसारै हाँक्छु यो भन्छ अर्कै छ तर चालक ।

प्रकृतिको कुनै सोझो रूप बुझ्दैन मानव

प्रकृतिको कुनै नग्न रूप के बुझ्छ मानव ?

फल्गुनी फल्गुनी भन्दा भिन्न लाग्दथी त्यो दिन

लाग्दथी कहिले काम्न कैले लाग्थी मडारिन ।

उर्लन्थे फल्गुनी भित्र नाना भाव घरी घरी

भँगालो कोशीको मानौं उर्लिंदैछ भने सरि ।

मुटु हल्लाउने यस्तो फल्गुनी भित्र मेघ छ

कोशीको बाढीमा जस्तै प्रलयङ्कारी वेग छ ।

मुखै बाएर आयो कि हाहाकार मचाउँछ

कोशीको रूपमा काल गाउँ बस्ती पचाउँछ ।

कोशीमा बाढी उर्लन्छ प्रलयङ्कारी हुन्छ त्यो

हामी मानवका लागि उग्र उन्मत्त बन्छ त्यो ।

जटा जिरिङ्ग फैलिए प्रचण्ड रूप देखियो

समग्र त्यो शरीर नै विकारबाट छोपियो

भई विरूप फल्गुनी कठोर भाव उम्रिए

जटाहरू हवासँगै फरर्र फर्र फैलिए ।

तुफानले उडाउँदै लग्यो कता बडारिएँ

डराउँदा डराउँदै यता उता मडारिएँ

यतै उतै घुमाउँदै प¥याक्क पारी भाँच्तछे

प्रचण्ड श्वेत भैरवी भएर आज नाच्तछे ।

कोशीमा बाढीको रूप जस्तो हुन्छ भयावह

फल्गुनी पनि यो बेला त्यस्तै लाग्थी भयानक ।

फल्गुनी त्यो अझै लाग्थी सारै उग्र भयङ्कर

हाहाकार मचाएर खेल्दैछे रौद्र ताण्डव ?

हावामा फैलियो केश बेग्लै भो उसको छवि

श्वेत आतङ्कका लागि बन्दैछे श्वेत भैरवी ।

निभेको अग्नि झैं नेत्र तत्कालै अब देखिए

मानौं ताण्डवका लागि पाउ उस्का खडा भए ।

स्तनमा हुनु पर्ने जो कमनीय कता गयो

श्वेतभैरवीको वक्ष सिङ जस्तै खडा भयो ।

बाफिलो श्वास फेरेको मुख उस्को थियो खुला

श्वेतभैरवी नै लाग्थी फल्गुनी यो खुलम्खुला ।

मेरो भाग्ने भयो इच्छा इच्छा के पुग्न सक्तथ्यो

श्वेतभैरवीका सामु मेरो के चल्न सक्तथ्यो ?

सबै मार्ग भए बन्द अब मात्रै थियो रुनु

बालकै म थिएँ भाग्ने ममा सामथ्र्य के हुनु ?

ममाथि जलको खेदो यो बेला सम्म जारी छ

श्वेतभैरवीले मानौं आहारा हात पारिछ ।

भीमकाय कुनै जन्तुको मुखेन्जी परें कि म

खुस्किएर दुबै खुट्टा भिरैबाट झरें कि म ?

मानौं यौवनले मत्त भएकी श्वेतभैरवी

कोतर्दैछे भने जस्तो देखिन्थ्यो उसको छवि ।

फल्गुनी भित्रको भोको तातो उन्मत्त यौवन

भोकले छट्पटाएर प¥यो कि आतुरी हुन !

मलाई निल्नकै लागि बाउँदैछ ठुलो मुख

श्वेत भैरवीले मेरो फैलाई मनमा दुःख ।

कोशीको बाढीले जस्तै बढारेर कता लग्यो

आधा होस थियो मेरो आधा होस कता गयो ?

माटो गोबर मुछ्नाले कुहिनासम्म हातमा

त्यस्कै लेघ्राहरू उस्का देखिन्थे अनुहारमा ।

मुहुडा उसको यस्तो कसैले यदि देख्तथ्यो

ठाडो पुच्छर लाएर डराई भाग्न सक्तथ्यो ।

हातमा खड्क बोकेको कालीकै रूप देखियो

भर्खरै जो थियो रूप केले त्यो रूप छोपियो ।

त्यसको मुहुडा देखी भागें भित्र यता उता

कोठो एकै थियो भित्र त्यहाँ भाग्नु कता कता ?

मलाई झम्टिने गर्थी फल्गुनीले घरी घरी

बिरालोले मुसोलाई भेटेर झम्टिए सरी ।

भित्र बोकेर आएकी थिई पोतेरी बाल्टीको

भरिएको थियो बाल्टी माटो गोबर पानीले ।

घोप्टिएछ त्यही बाल्टी भाग्दा ध्यानै गएनछ

दौडँदा दौडँदै उस्को थाहा सुद्धी भएनछ ।

बाल्टीको बिटमा यौटा काँटी छोटो तिखो थियो

दौडँदा दौडँदै उस्को त्यसैमा पाउ ठोक्कियो ।

बाल्टीको बिटले खुट्टा घोच्ला यो सोचिएनछ

मलाई झम्टदै गर्दा उस्मा ख्यालै भएनछ ।

देखिए खुनका थोप्ला कोठाभित्र जताततै

पानी गोबरका साथ मिसिएका कतै कतै ।

ढलेको बाल्टीमा खुट्टोे फल्गुनीको यता प¥यो

भाग्दैमा काटियो खुट्टो ताजा खून उता झ¥यो ।

च्यातियो उसको साडी बाल्टीको काँटीमा परी

थाहा सुद्धी नपाएरै फल्गुनीले यसो गरी ।

कोठाभित्रै म भाग्दैथें जोगिने सुरमा अझै

व्यर्थै यत्न थियो मेरो झन्टन्थी त्यो जताततै ।

जगदीश्वको मैले तत्कालै सम्झना गरें

बचाऊ गर हे दैव असपत्तालमै परें ।

पुकारें फेरि यो मैले हे प्रभो जगदीश्वर

श्वेतभैरवीका साथ भएर अझ थर्थर ।

भट्टीको राप झैं त्यस्को तातो उच्छ्वास पोखियो

श्वेतभैरवीको झन् झन् उन्मत्ताकृति देखियो ।

त्यसका रापले मानौं संसारै यो डढाउँछ

मजस्ता भुसुनालाई काँचै यस्ले पचाउँछ ।

उसका सिङले हान्ने जस्तो लक्षण देख्तछु

बचाऊ गर हे नाथ पुकारा यही पोख्तछु ।

भूतका प्रेतका यस्तै सातो खाने कुराहरू

सम्झना मनमा आए धेरै दन्त्य कथाहरू ।

श्मसानवासीका त्यस्तै किचकन्ने र वायुका

सातै उड्ने कथा सुन्थ्यौं डरलाग्दा भयानक ।

भयभीत भएँ ऐले तिनैको सम्झना भयो

कल्पना लोकमा मानौं महाभूकम्प नै गयो ।

देखिएन त्यहाँ बाँच्ने उपाय सब बन्द छन्

हाम फालेर भागौं कि मनमा केही द्वन्द्व छन् ।

तत्कालै यो भयो भान श्वेतभैरवी नर्क हो

हाम फाल्नु यहाँबाट बाँच्ने अन्तिमा मार्ग हो ।

देखिएन त्यहाँ अर्काे बाँच्ने बाटो कतै पनि

बार्दलीबाट हाम्फालें मरिए मरियोस् भनी ।

सम्झँदा सम्झँदै कस्तो नर्कै भित्र फसें छु म

बाँसका एक थुप्रामा माथिबाट खसेंछु म ।

करेसामा थुपारेका थिए ती बाँसका घना

हामफाल्दा तिनैमाथि झरेंछु सम्झनै बिना ।

कोठाभित्र थियो भुङ्ग्रो भाग्दाभाग्दै यता झरें

मर्दा मर्दै यता फेरि अर्काे सङ्कटमा परें ।

भन्दैथें मरियो होला बाँचिएछ अझै पनि

हाम्फाल्दा बाँसको छड्के जाकिएछ घुँडामुनि ।

गहिरो चोट लागेछ निस्कियो खुनको भल

कता छे फल्गुनी भन्ने भएन केही अड्कल ।

अकस्मात् जो उठ्यो आज फल्गुनीभित्र हुन्डरी

उर्लियो जसरी उस्मा भयो शान्त त्यसै गरी ।

उर्लिएको थियो मानौं कोशी भित्र तुफान यो

सङ्ग्रालो भित्रको रन्को एक्कासी अब थामियो ।

गड्गडाएर आएको भेल यो अघि जो थियो

बाढीको धमिलो पानी घटेर अब सङ्लियो ।

बर्खामा प्रलयङ्कारी कोशीको जो थियो रूप

एक्कासी हुन गो उस्तै पहिले जे थियो रूप ।

व्यवहारै भयो भिन्न फल्गुनीको उसै गरी

पुरानै गतिमा मानौ कोशी बग्छ भने सरि ।

कोशी यो गड्गडाएको घटेर सङ्लियो सब

फल्गुनीभित्रको ताप त्यो सबै सङ्लियो अब ।

डरैले अझ काम्दैथें चित्त शान्तै भएनछ

श्वेतभैरवीका लागि तर वास्तै रहेनछ ।

कुनै उद्विग्नको भाव थिएन अनुहारमा

छर्लङ्गै देखियो उस्को स्मित हास्य मुहारमा ।

सातो उड्ने थियो कालो उसको वर्ण भर्खर

अनुद्विग्न तथा शान्त बन्न गर्र्दैछ तर्खर ।

केही नै नभए जस्तो मुद्रामा त्यो त्यहाँ थिई

फल्गुनी मनिरै आई आएर ढिङ्ग उभ्भिई ।

प्रलयङ्कारी झैं लाग्ने श्वेतभैरवी छैन यो

जस्तो ढाँचा थियो पैले त्यो ढाँचा अब झल्कियो ।

“धेरै नै चोट लाग्यो कि ! सानो बाबु ?” घुँडामुनि

हेरेर साँखुले बन्दै फल्गुनीले यसै भनी ।

देखियो पहिले जस्तै फल्गुनीको मुखाकृति

पूर्ववत् फर्किए उस्का आनीबानी भए जति ।

पुरानो रङ्गमा उस्को अब सर्वाङ्ग फर्कियो

श्वेतभैरवीको ढाँचा अन्यत्रैतिर तर्कियो ।

वेगसम्वेगको राप हटेर अब शान्त छ

सिङ जस्तो थियो छाती कमनीय र कान्त छ ।

नारीको वक्षमा हुन्छ प्रीतिको लाख वैभव

घिनलाग्दो थियो पैले लोभलाग्दो भयो अब ।

सेता आँचलको पर्दा लागेको देख्छु वक्षमा

पुष्ट तारुण्यको शोभा देखियो अब ता त्यहाँ ।

प्रेमाकर्षणको केन्द्र तिनैमा हुन्छ आखिर

नहेरूँ मनले भन्छ आँखा पुग्छन् त्यतैतिर ।

उसका हात गोडामा हिलो मैलो अझै थियो

गृहिणी नारीको मूल्य हुने लक्षण त्यो थियो ।

श्वेतभैरवीको झल्को हटेर फल्गुनी भयो

पहिले जस्ती देखिन्थी त्यस्तै लक्षण देखियो ।

लेलहा माझीकी यौटै दुहिता यही मात्र छ

चुमौन भैसक्यो यस्को द्विरागमन बाँकी छ ।

द्विरागमनका लागि प्रतीक्षा छ निरन्तर

मनमा हुुँडलो बोक्छे देखिन्छे स्वच्छ बाहिर ।

भित्रबाहिरको हाम्रो घरको काम गर्दछे

नोकर्नी भन्नु मात्रै हो हाम्रैमा मख्ख पर्दछे ।

कहाँबाट कहाँबाट उसमा आँधी सल्कियो

सल्किएको थियो आँधी त्यो आँधी अब ढल्कियो ।

मेटाऊँ मनले भन्छु मेट्न देख्तिनँ सम्भव

मनमा टाँसियो यस्तो लाग्छ मेट्नु असम्भव ।

मनमा बल्झने गर्छन् अझै फल्गुनीका कुरा

बिर्सिएर बसूँ भन्छु कहाँ बिर्सनु त्यो कुरा ?

गोपनीय रह्यो हाम्रो नयाँ सम्बन्ध गाँसियो

नयाँ ज्ञान उदाएर नयाँ सम्बन्ध बाँधियो ।

बडो आतङ्किलो आँधी आएर अब रोकियो

उम्लियो फल्गुनी भित्र ममा आएर पोखियो ।

थाहै पाएन तेस्रोले किस्सा त्यो अब सुल्झियो

अझै सम्झन्छु छर्लङ्ग थियो सारै विचित्र त्यो ।

घरैमा आउँदा आँधी घरका बाहिरै थिए

सुराकै सम्म पाएनन् भोक्ता हामी थियौं दुबै ।

अपरान्ह थियो घट्दा घटना त्यो भयङ्कर

थिएँ म त्यसको दोषी निर्दोषी भन्न मिल्छ र ?

बाँधियो एक सम्बन्ध मनै भित्र कताकता

केही सक्सक लागेझैं हुन लाग्यो मलाई ता ।

घटना जे थियो त्यस्तो के आश्चर्य थिएन र ?

यस्ले बेग्लै दियो ज्ञान ज्ञान बेग्लै थिएन र ??

यौटा बेग्लै फु¥यो ज्ञान त्रासका भित्र भित्र यो

भन्नु हुन्न कसैलाई भन्ने नै ज्ञान त्यो थियो ।

तर भित्र कुनै अर्काे शङ्काको भुँवरी चल्यो

शङ्काको तरुमा कैल्यै नपाक्ने फल यो फल्यो ।

शङ्काले मनमा छायो म आफैंसित रुन्छु कि

कसैले चाल पाएमा लाजले पानी हुन्छु कि ?

के हो कारण यो लाज लाग्छ भन्ने विवेचना

गर्ने सामथ्र्य त्यो बेला हामी भित्र कता हुनु ?

किन लाग्दछ यो लाज के होला स्पष्ट कारण

जान्न पाइन्न के हुन्छ कस्ले गर्ला निवारण ?

कसैले चाल पाएछन् भने सर्म हुने भयो

के भयो घटना त्यस्तो सर्म लाग्दो कुरा छ यो ।

कसैलाई नहोस् ज्ञान यहाँ जो घटना घट्यो

बडो आवेगको आँधी सर्लक्कै अब ता हट्यो ।

द्विविधा मनको राखी भनें यो धर्मराउँदै

“ठिकै छु म यहाँ हेर फल्गुनी तिमी जाऊ है !”

आफूमा जे उठ्यो रन्को फल्गुनी धेर बुझ्दी हो

बालकै म थिएँ मेरा लागि त्यो भुमरी भयो ।

के के कारणले होला लाज सर्म पलाउँछ

मलाई छैन यो ज्ञान फल्गुनीलाई आउँछ ।

फल्गुनीले नियालेर मलाई हेरी सुस्तरी

कोठो लिप्ने बहानामा अनि त्यो माथि उक्लिई ।

धेरै बेर बरन्डामा बसें एक्लै पिरोलिँदै

नाना भावहरू आए मनमा भित्र हुत्तिंदै ।

साँझ साँझै हुँदा हाम्रो घरमा सब फर्किए

मलाई त्यो अवस्थामा देखेर सब तर्सिए ।

“के भयो ? के भयो ?” भन्दै घरमा हल्लीखल्ली भो

ठुलै दुर्घटना ठानी औडाहा पिर मच्चियो ।

लाजै लाग्ने कुरा ठानी भनिएन कतै पनि

रडाको झगडा बेर्थै घरभित्र नहोस् भनी ।

मेरो घाउ फखालेर दबाइ पट्टी बाँधियो

घुँडामुन्तिर त्यो घाउ निकै नै गहिरो थियो ।

यता फल्गुनीमा भूत चढेको जे कुरा थियो

थाहा पत्तै नपाएर साम्मसुम्म सबै भयो ।

सानो घाउ भएदेखि चाँडै ओभाउने थियो

ठुलै घाउ भएकाले खाटो बस्नै ढिलो भयो ।

के भयो के भयो भन्ने जिज्ञासा जो त्यहाँ थियो

बारपन्ध्र दिनै भित्र आफैं सेलाउँदै गयो ।

बिर्सिंएँ घाउको पीडा घरैभित्र बसी बसी

पुरियो घाउ यो मेरो केही काल बितेपछि ।

भँगोलो पारिको काम थियो जाने कुनै दिन

भँगालोबाट तर्दैथें लेलहाको घरै निर ।

घुँडासम्म थियो पानी बडो स्वच्छ र निर्मल

मानौं अमृत झैं लाग्थ्यो त्यहाँ त्यो कोशीको जल ।

तर्थें धोती लगाएरै भिज्ला कि धोती त्यो भनी

भिज्ला कि धोती त्यो भन्दै सुर्किएर घुँडामुनि ।

त्यो बेला रहिछे आफ्नै घरकै अघि फल्गुनी

जो थियो आँपको बुथ्रो त्यो आँपैका रुखै मनि ।

भरिएकै थियो दाग त्यस्मा खाटो अझै थियो

चोरले दसी छाडेझैं त्यो अझै टल्कँदै थियो ।

टाढैबाट नियालेर मैलाई नै यता उता

नियाल्दै रहिछे जस्तो लाग्यो भित्र कता कता ।

मनमा दुविधा बोकी पुगें बुथ्रे रुखैनिर

तरेर नदीको धार फल्गुनीका अघिल्तिर ।

उसको जो थियो जात्रा सम्झँदै छु अझै पनि

यता म सम्झँदै गर्दा उता उस्ले यसो भनी—

“के हो चुमौनको अर्थ बुझ्यौ कि तिमीले अब ?

दुबैका खुनको मेल गर्नु नै त चुमौन हो ।

संयोगैले त्यहाँ हाम्रो मिसिएको थियो खुन

बार्दलीबाट हाम्फाल्यौ बाँस माथि कुनै दिन ।”

उसका भाव थे बेग्लै हेर्दाहेर्दै सबै गनें

गन्दागन्दै यता मैले केही बेग्लै कुरा भनें—

“चुमौन पहिले हुन्छ बडो गाँठी कुरा छ है

गौनाका लागि ता धेरै दिन पर्खिनु पर्छ है !”

ममा गम्भीरता आयो अनि आयो उता पनि

बडो गम्भीर मुद्रामा उस्ले अर्काे कुरा भनी—

“हाम्रो संस्काका लागि चुमौन मुख्य हो कुरा

बिना चुमौनले हुन्न हाम्रो सादी बिहा पूरा ।

तर जेहोस् तिमी हेर मेरो यो मन्त्र सम्झनू

मैले डाम लगाएर छाँडे भन्ने नबिर्सनू ।

देख्तैमा तिमी तर्कछौ अबदेखि नतर्कनू

फल्गुनीलाई देखेर अर्कातर्फ नफर्कनू ।

घुँडामुन्तिरको दाग देखेर सम्झने गर

त्यो आफ्नो दाग बोकेर हिंड्नेछौ जिन्दगी भर ।

तिम्रो मात्र कहाँ हो र मेरै जिन्दगीमा पनि

त्यो पापी क्षणको दाग लागेको छ अझै पनि ।”

उसका यी कुरा सुन्दा मेरो भित्र चिसो पस्यो

मानौं यो उसको दाग जिन्दगी भर नै बस्यो ।

बुझिन्थ्यो उसको चित्त अझै शान्त रहेनछ

नभन्दै उसको घाउ अझै स्वस्थ भएनछ ।

केके भन्दै थिई हाम्री फगुनी यो त्यहाँ निर

यथातथ्य कुरा सुन्ने थिएन मन सुस्थिर ।

यसैले म त्यहाँबाट बिदा मागी कतैतिर

लागेको सम्म सम्झन्छु बाँकी सम्झन सक्तिनँ ।

अब ता फल्गुनीलाई सम्झँदा मन पोल्दछ

घुँडा मुन्तिरको दाग अहिलेसम्म बोल्दछ ।

अन्तराल भयो लामो तिस पैंतिस वर्षको

कथाको रूपमा हेर्दा लाग्छ त्यो रोमहर्षको ।

कोशीमा बाढी उर्लेझैं उर्लन्छन् सम्झनाहरू

फगुनीको कथालाई कसरी हो पूरा गरुँ ?

नगई पतिका साथ माइतैतिर पो छ कि

अथवा सम्झना मेरो उसलाई हुँदैछ कि ?

कहाँ होली कता होली जीवितै छ कि फल्गुनी

बाँचेकै छ भनेदेखि बस्ती हो त्यो रुखैमुनि ।

गौना कैले भयो होला गौनामा के कसो भयो ?

उसका पतिले आई लिएर कहिले गयो ?

कहिले कहिले मेरो मनमा हुन्छ खुल्दुली

फल्गुनीलाई सम्झ्यो कि होला कि हिक्क बाडुली ।

श्वेतआतङ्कको रूप देख्यो कि पतिले पनि

उर्लन्थ्यो श्वेत आतङ्क फल्गुनीभित्र दन्दनी ।

अज्ञातैमा भयो मेरो श्वेतभैरवी संगम

त्यो कथा अहिले हुन्छ आफैं दृष्टि विहङ्गम ।

हुर्कनै नसके जस्तो आँपको रुख जो थियो

होला कि अहिलेसम्म अथवा कोशीमा डुब्यो ?

लेलहा त्यो बूढो माझी अझैसम्म छँदै छ कि

मलाई किन हो आज फल्गुनीले त्यतै लगी ।

।। इति श्वेतभैरवी ।।

क्षमापन ः यहाँ मैले फगुनीलाई छन्दका लागि कति ठाउँमा फल्गुनी भनेकोमा कथाकारसँग क्षमा माग्नु आफ्नो मूल धर्म सम्झिएँ ।

भूपि सेरचनको कविता

मैनवत्तीको शिखा

यौटा मोम समीप धिप्धिप गरी बल्दैछ मेरा अघि

शङ्का लागिरहेछ निभ्दछ भनी मेरो हुँदै खुल्दुली

कालो खान्छ प्रकाश छर्छ त्यसले कालै धुवाँ फाल्दछ

टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।

एकातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि ?

अर्कातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि ?

मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्ने कुनै

यौटी भर्खरकी नयाँ युवति झैं सर्माउँदै पो छ कि ?

पैलो पल्ट रजश्वला पछि कुुनै बाला नुहाए सरि

आफैं भित्र भएर लाज सहसा मुन्टो लुकाए सरि

नौलो ज्ञान हुँदा बडो चकित झैं मुस्कान छाडिन् कि क्या ?

सेकौं ढाड भनी शरीर तिनले केही झुकाइन् कि क्या ?

आफैं भित्र हराउँदै थकित भै आफैं हराए सरि

त्यो नौलो अनुभूतिको स्मरणमा नारी लजाए सरि

मानौ यो अनुहार हो युवतिको मुस्कान छर्दैैछ कि ?

यौटी सुन्दरीको मुहार सरिको यो मोम बल्दैछ कि ??

आँखाका भरि वेदना छ अहिले बग्दै छचल्कन्छ कि

आँखैको पुलती उमङ्गित हुँदै हाँसो झझल्कन्छ कि

सारै कष्ट सहेर भर्खर थिइन् सन्त्रासको बोझमा

मानौ शल्य क्रिया गरेपछि कुनै आमा फिरिन् होसमा ।

हेर्दैैछिन् नवजात पुत्र अघिको बिर्सेर सारा पिर

लामो घोर व्यथा सहेर अहिले ठाडो लगाई शिर

मानौं दीपशिखा छ धप्धप स्वयं सन्तोषकी सेविका

शुभ्रः शान्त र श्निग्धको छ अहिले जो मोमको हो शिखा ।।

झर्छन् झर्झर आँसु तप्तप्प गरी लाग्दैछ एकातिर

मानौं चम्कन लाग्छ धप्धप गरी बल्दैछ अर्कातिर

आयोे कि विधवा कुनै युवतिमा त्यो यामको सम्झना

एकैसाथ सुहागरात पति जो स्वर्गीयको कल्पना ।

पग्ली तप्तप मोम झर्दछ यहाँ हेर्दै बसेको छु म

मेरै सामु शिखा छ श्निग्ध अब झन् निस्तब्धतामा छु म

मेरा सामु परेर दृश्य अहिले लाग्यो बडो मार्मिक

नारीका नव रूपको झलक भो यस्को अवस्थासँग ।।

।। समाप्त ।।

बैरागी काइँला

मातेको मान्छेको भाषण

मध्यरातपछिको सडकसित

भट्टीमा जाँड धोकेर अहिले मध्यरातमा

निम्ठिँदै झुस्सिंदै आयो ज्ञान मेरो दिमागमा ।

बल्ल बल्ल भयो ज्ञान आधा रात बितेपछि

मान्छे बिर्सन्छ संसार भट्टी भित्र पसेपछि ।

रक्सीले पर्पराएको ह्वास्स गन्ध उडाउँदै

अहिले निस्किएको छु भट्टीबाट म बाहिर ।

भाले बासिरहेको छ पखेटा फट्फटाउँदै

विद्रोही स्वरमा मानौं भाले यो गर्छ स्वागत ।

रक्सीको खारमा भिज्ने मेरो विश्वास यो पनि

ठुलो आँधी चलेजस्तो अहिले भान पर्दछ ।

प्रत्येक पाइला टेक्छु पाइलैमा भूकम्प छ

रक्सीको सुरमा मेरो मनभित्र तरङ्ग छ ।

लामबद्ध भएका हे घर हो ! अब यो सुन

पाइला अब चाल्दैछु भासिन्छौ कि जगैसँग ?

घर हो ! उभ्भिएका छौ लामबद्ध भइकन

होसले उभिने गर्नू सक्तछौ भित्र भासिन ।

प्रत्येक चालमा नौलो बेग्लाबेग्लै भूकम्प छ

ज्वालामुखी छ यो भित्र फुट्न मात्र तयार छ ।

ढल्नै लागिरहे जस्ता साँगुरा घरभित्र म

के गरी म बसें होला लामो यो अवधिभर ?

आफैं छक्क परें आज गहिरो पिरमा परें

साँघुरा ठाउँमा बस्ने मैले निर्णय के गरें ।

गँड्यौला झैं गुडुल्किन्छन् यो बेलासम्म सुत्तछन्

आफैं भित्र हराएर हारेका मनुवाहरू ।

अस्वस्थकर देखिन्छन् हेर्दैमा भित्रका घर

खोर भित्र अभैmसम्म सुत्तछन् नर बानर !

म आज फैलिएको छु मेरो यस्तो विशालता

अट्दैन धर्तीमा सिङ्गै कहाँ अट्ने यताउता ।

सासै यो थुनियो मेरो पिचमा हिंड्न जानिनँ

फैंलन्छु अझ फैलन्छु के सक्थें अब खुम्चन ।।

सडकै भरि फैलेर आँखा खोलेर हिंड्छु म

फैलिएर जसै हिंड्छु अरूमा हुन्छ यो भ्रम ।

मलाई ती यसो भन्छन् रक्सी धोकेर टिल्ल छ

नमात्ने दुनियाँ हेर आफैंमा रनभुल्ल छ ।

जानुहोस् छेउ लागेर छेउमै अड्नु पर्दछ

छाड्नुहोस् दाहिने बाटो देब्रेतर्फ दगुर्नु छ ।

साझा सडक हो हाम्रो यसै माथि अटाउनु

सबैको हकमा हुन्छ आफ्नै बाटो तताउनु ।

हामी धेरै अटाएर यसैमा हिंड्नु पर्दछ

छेउ हाम्रो भयो माझ अरूको हक लाग्दछ ।

तथापि छेउ लाग्दैमा सुख के उपलब्ध छ ?

प्रहरीहरूले ठान्लान् जाँडमा अति लुब्ध छ ।

कसैलाई कता खेद्छन् कसैलाई कतातिर

मत्तु देख्छन् सुरक्षामा खटिने प्रहरीहरू ।

स्वर्गैैैलाई छुने जस्ता घर छन् यो अगिल्तिर

थाप्लामा तिनमा बल्छन् राती नीला गुलुफ्हरू ।

अग्ला धरहरा जस्ता घरका टापु टापुमा

उल्लुका धप्धपाएका आँखा झैं बत्ती बल्दछन् ।

उल्लुकै नेत्र हुन् मानौ बलेका बत्ती धप्धप

यो मध्य रातमा लाटोकोसेरो देख्न सक्तछ ।

यहाँ रातभरि लाटोकोसेरो मार्ग ढुक्तछ

यो मध्य रातमा कोठा बत्तीले देख्छु जग्मग ।

अड्डाको बोझ बोकेर गिदीमा हाली फालय

यहाँ रन्थनिएका छन् भएर केही घायल ।

मक्किएछन् भनेजस्ता घडीका सुइराहरू

छातीमा बोक्तछन् भित्ते घडीकै सुुइराहरू ।

थाप्लामा पत्रका पत्र अड्डाको बोझ बोक्तछन्

भट्टी भित्रै सधैं आई मसँगै जाँड धोक्तछन् ।

आफ्नो माथा दुबैतर्फ काँधमाथि भिराउँदै

टाउको क्यै घिसारेझैं यो बाटैमाथि हिंड्दछन् ।

मुर्कट्टाहरू दौडिन्छन् टेकेर अन्धकारमा

खुट्टाले पथ यो माथि छन् यहाँ मध्यरातमा ।

मार्ग साँघुरिएको छ त्यसैले आज भोलि यो

खुम्चिँदै खुम्चिदै जान्छ फैलियोस् त कता कता ?

घटेकै छ घटेकै छ घट्नु हो यसको रीत

यो मार्ग (सडक) यसरी घट्छ अनि भाग्छ कसैसित ।

कसले चोर्छ देखिन्न छेउ भित्ता कुनाहरू

आफ्नो स्वत्व गुमाएर साँघुरिन्छन् सडक्हरू ।

कसैले जिन्दगीलाई टुक्रा पारेर च्यात्दछ

यो छेउबाट च्यातेर त्यो छेउतिर फ्याँक्दछ ।

खुम्चिएर सधैं जस्तो रात आयो कि घट्तछ

झन् सारो साँघुरो बन्दै बाटो खुम्चेर बस्तछ ।

कोही छौ कि यता हेर यसको ननिको रूप

छाला काढेर लोक्त्याऊ सारै लाग्दछ विदू्रप ।

उत्तानो पारी पल्टाऊ जोतेर बाहुसे गर

उघारेर ठुलो पार सडक् (मार्ग) को अब के भर ।

मेरो यो घोषणा मूर्ख डन्ठेले सुन्न सक्तछ

प्रहरी नामको दूत नजिकै हुन सक्तछ ।

मेरो भाषण यो त्यस्ले नजिकैबाट सुन्दछ

तत्कालै त्यसले पक्डी मलाई थुन्न सक्दछ ।

किनकि रक्सी धोकेर मातेको छु यहाँ म ता

सुरा सेवनमा जिब्रो लट्पटिन्छ कता कता ।

साँघुरो जो थियो मेरा मनमा अति क्षुद्रता

मलाई भान भो ऐले ममा आयो विशालता ।

निर्बाह जसरी हुन्छ आमाको भित्र गर्भमा

त्यस्तै लाग्छ अटाइन्न यस्तो सङ्कीर्ण मार्गमा ।

मेरो यो घोषणा आज प्राविधिक सबै सुनून्

नेता लेखकका साथै प्राध्यापकहरू सुनून् ।

कान खोलेर यो मेरो घोषणा राम्ररी सुनोस्

आन्दोलनहरूबाट हुर्केको इतिहासले ।

हुलाक घरको अग्र भागको पेटीबाट यो

उभ्भिएर म वक्तव्य तत्कालै जारी गर्दछु ।

कसैले घोषणा मेरो उल्टापाल्टी ग¥यो भने

उसले पाउने छैन क्षमा, बन्नेछ दण्डित ।

ए सडक !!!

लम्पसार परेको छस् उठ् तेरो छातीमा यहाँ

उफ्रँदै म हिंडेको छु तेरो ध्यान गयो कहाँ ?

कति खुम्चनु हो मैले पाइलै टेक्न पाइनँ

तेरो फैलनुको सीमा भित्र आज अटाइनँ ।

यसर्थ यो छ आदेश साँघुरा मार्ग हो सुन

फैलँदा फैलँदै बन्नु च्यातिएर विभाजित ।

बाटा हो ! अब लौ फाट अथवा फैलने गर

साँघुरो गल्ली झैं लाग्छौ अब ता च्यातिने गर ।

अतिक्रमण गर्दैछन् तिम्रो विस्तारमा कुनु

हात बाँधेर बस्नाले लक्ष्य प्राप्त कहाँ हुनु ?

लम्पसार परेको छस् उठ् तेरो छातीमै यहाँ

लाखौं मान्छे हिंडेका छन् तेरो ध्यान गयो कहाँ ?

हजारौं क्षणका तेरा इतिहासै हराउलान्

ठुल्ठुला घरले तेरो साँध सीमा कटाउलान् ।

कोत हान्ने विजेताको प्रशस्ति टाँगिने थलो

ठुला बिल्डिङको अग्र भागका हुन्छ के भलो !

जितेर कोतमा सत्ता हातमा लिई शासन

गर्ने सामन्तको गान प्रशस्ति गाइने थलो ।

अथवा तिनकै वंशगान लेख्ने नयाँ नयाँ

खाली पन्नाहरू जस्ता तिमी हौ यो कुरा सुन ।

कोतमा मार हानेर विजेता जो भए अघि

प्रशस्ति गान लेखिन्छ तिनैका परिवारको ।

रित्ता पन्नाहरू जस्तो पेटीको इतिहास छ

टुक्र्याएर धुलो पार दुर्गन्धे इतिवृत्त छ ।

च्यात यस्तो गरी च्यात मुटुमा थालनी गरी

मस्तिष्कसम्म लौ फाड चूर्ण चूर्ण हुने गरी ।

शिर ठाडो लगाएर यौटा विद्रोहले पनि

आफ्नो अस्तित्व थामेर हिंड्न पाउनु पर्दछ ।

लौ फाट फाट हे मार्ग च्यातिएर अझै तिमी

फैलनू टेक्न पाएनन् तिम्रो छाती अझै पनि ।

कोलम्बस् टेक्न चाहन्छ उसले टेक्नु पर्दछ

पैताला उसले यस्मा राख्न पाउनु पर्दछ ।

विद्रोहै नहुने ठाउँ खोजेरै पाउनु कहाँ

बुट हानी दबाएका धेरै विद्रोह छन् यहाँ ।

आदेश म यहाँ गर्छु खुम्चेका मार्गहो अब !

च्यातिनु अहिल्यै पर्छ फाट लौ सबका सब ।

फैल फैल अझै फैल फैलने छ सीमा जति

निस्फिक्रीसँगले फैल खुम्चिई बस्तछौ कति ?

जति बन्द छ यो खाल्डो त्यति नै जाँड रक्सीले

भिजाएर रसाएर यहाँ सद्भाव पोख्तछु ।

उर्लिएको छ मैभित्र मेरो आफ्नै विसालता

फैलाई त्यसको छाया ढाकिदिन्छु सबैतिर ।

तिमीले फैलनै पर्छ मैले क्यै सुख पाइनँ

लम्बेतान हुँदै तन्क नत्र ता म अटाइनँ ।

तिमीले साँघुरो बन्दा सारै कष्ट प¥यो यहाँ

सानो बालकले भोलि टेकेर जानु हो कहाँ ?

मैले र त्यस्की आमाले स्कुलमा लानु पर्दछ

त्यो हो बालक विद्यार्थी पढ्न पाउनु पर्दछ ।

तर खुट्टाहरू टेक्नै साँघुरा ठाउँ छन् यहाँ

पाइएन भने टेक्नै हिंडेर जानु हो कहाँ ?

अटाउन्न जहाँ एकै खुट्टाको पाइलो पनि

कस्तो यो साँघुरो ठाउँ यो ठाउँ कति बैगुनी ?

किच्चिएको छ हज्जारौं बुटले पिल्सिने गरी

भास्सिएको छ यो बाटो चक्का घुम्दा घरी घरी ।

थुनेर हुस्सुले बन्छौ बडो निष्क्रिय निष्क्रिय

लम्पसार र उत्तानो पर्ने हो ! बन सक्रिय !

यो घुम्तीबाट त्यो घुम्ती गर्दैमा हुन्छ खण्डित

टुक्रिँदै टुक्रिँदै जान्छ यस्तो बाटो विभाजित ।

यो विज्ञापनको खम्बाहरूमा हुन्छ सीमित

खिइँदै खुम्चिएको छ त्यस्तैमा बन्छ हर्षित ।

संसारै जित्नका लागि छोडेका चक्रवर्तीका

घोडाका टाप बज्रन्छन् मार्गमा अश्वमेधका ।

देखिन्छन् यस धर्तीमा सहस्रौं चोइटाहरू

मानौं हुन् त्यही घोडाका हज्जारौं पाइलाहरू ।

टापले खाँदिएका हे खुँदिएका सडक्हरू !

सुन लौ सुन्न छाडेर बाँकी फाल्तु कुरा अरू ।

दसौं हज्जारको संख्या राजा सगरपुत्र हो,

विश्वविजयका लागि बढेका हे कुपुत्र हो ।

अग्निको रापले जस्तो श्रापले भई शापित

विश्वविजयका लागि बढ्दथ्यौ भई हर्षित ।

आफ्नै मुख्र्याइँले गर्दा श्रापको रापमा प¥यौ

मुढो ताक्नु थियो पर्ने घुँडामा बन्जरो ग¥यौ ।

हिम आलय झैं लाग्ने ठुलो उन्नत मुष्टिले

पृथ्वीको गहमा लाग्ने कचेरा यत्नले पुछी

एकै पल्ट यता हेरिदेओ छु म जहाँनिर

हेर्दाहेर्दा जहाँसम्म आँखाले भ्याउने जति

दूरदृष्टि लगाएर हेर यो पृथिवीतिर ।

यो युद्धभूमिका लागि हेर हाम्रो वरिपरि

आँखाले भ्याउनेसम्म हेरिराख घरीघरी ।

गाथा विजयको लेख्छौं उज्यालै मात्र देख्तछौं

हामै्र विजयको बाटो यत्नले हामी टेक्तछौं ।

त्यसैले मार्ग हो फैल फैल चौडा भई भई

पालना गर यो आज्ञा, आज्ञा यो शिरमा लिई ।

हाम्रो जीवनका लागि उज्यालो अब दूर छ

बाटो विजयको हिंड्ने मात्र यो एक सूर छ ।

।। इति ।।

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।