कालो रोदन

कविता अशेष अधिकारी March 1, 2025, 4:12 pm

अशेष अधिकारी
अशेष अधिकारी
देशले जति कठोर गुन्जिए पनि,

मीठो भाका भेटिरहेछु।

मैले कालो आँसु रोए पनि,

सेतो आशा देखिरहेछु।

म जस्तै बालिकाको त्यही प्रतिरूप,

बारम्बार त्यही सडकमा ठोकिए पनि,

प्रिय देश,

उसको लुकेको भेषलाई उठाइदेऊ।

अमानवीय त्यो सडकमा,

आफ्नै नर्कमा फुटिरहेथे।

अपमानजनक त्यो घटनामा,

आफ्नो प्राणलाई लुटिरहेथे।

देखेनन्, देख्ने आँखा भएका अन्धाले,

चाल पाए केवल गिद्धभावको गन्धले।

गुन्जियो केवल एक छिनको लागि रुवाइ,

प्रिय कानुन,

के दिन सक्छौ यसको बारेमा मलाई सफाइ?

सानो आवाजभित्रको,

मेरो ठूलो चिच्याहटको खोजाइ।

कहाँ छन् सहारा दिने?

कसरी जोडूँ फुटेको मलाई?

भागूँ कहाँ, यत्रो भीडमा,

दूर कुनै ठाउँमा न्याय माग्न?

हिँडिरहला ती दुष्ट,

अझै मेरा उमेरका देह चाख्न।

मेरो आवाज केवल स्वयम् दुष्टले नै सुन्नेछन्,

बत्तिस दाँत खोलेका पापीहरू एकमुष्टले नै सुन्नेछन्।

यस्तै छन् घटना, जसका साक्षी

केवल तँ र म।

हे हावा, सुनाइदेऊ अन्याय,

उडेर आज तँ।

शरीर पनि सिकिस्त,

अनि मस्तिष्क पनि विक्षिप्त।

अब उठ्न सक्दिन म,

हुन्न पहिलाजस्तो टिपिक्क।

सहारा दिन्छु भन्नेको बोली मात्र मीठो,

मेरो सानै उमेर छ, प्रभु, बचाऊ मलाई छिटो।

सतीको सराप सबै तिनै माथि जाओस्,

अपराधीका रक्षकहरूलाई किरै मात्र लागोस्।

मेरो सानो बोली, ठूलो प्रतिध्वनि आओस्,

मैले नबोले पनि सबैका हृदयमा आवाज छाओस्।

यदि कुनै दिन फेरि देशको मुहार फेरिएमा,

देशका भ्रष्ट राजनीतिज्ञहरूमा नयाँ नियत बेरिएमा,

नबिर्सनु, मेरो सराप मेटिन बाँकी नै छ।

नबिर्सनु, मेरो जवाफ भेटिन बाँकी नै छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।