वरपरको जगत नै मेरो दुश्मन

कविता अशेष अधिकारी March 16, 2025, 1:14 am

अशेष अधिकारी
अशेष अधिकारी
मेरो वरपर घर छ, सहर छ, चिहान छ,

रात र बिहान छ।

ती कुरामा टाँसिएको म,

ती कुरा मै अल्झिरहन्छु।

मेरो क्षमता महान छ,

तर क्षमता देखाउने ठाउँ बेकार छ।

मलाई मेरो वरपरको जगतले

आफू तर्फ तानी रहन्छ,

म हेरिरहन्छु यीनीहरूको फुर्ती,

म जाँचिरहन्छु यसैको क्षतिपूर्ति।

मेरो आँखामा विश्वास छ, क्रान्ति छ, पौरख छ,

घाम र पानी छ।

ती कुरालाई मालिक सम्झने म,

ती कुरा मै टाँसिरहन्छु।

मेरो चाल अकल्पनीय छ,

तर चाल चल्ने मैदान भत्किएको छ।

मलाई शान्ति खोज्दा खेरी

वरपरले अशान्ति मच्चाउँछ,

म नापी रहन्छु यीनीहरूको प्रभाव,

म थेगी रहन्छु यसैको घुमाउरो जवाफ।

मेरो बुद्धिमा संसार छ, भुल छ, पछताप छ,

भौतिक जगतको आलस्य छ।

ती कुरालाई म हुँ भन्ने म,

ती कुरालाई भगवान सम्झन्छु।

मेरो स्वभाव अस्थिर छ,

तर मेरो वास्तविक स्वरूप स्थिर छ।

मलाई छुट्टिन खोज्दा खेरी

सबै वस्तुले चुट्टिन दिँदैनन्,

म गाइ रहन्छु दुनियाँको गीत,

म लगाइ रहन्छु संसारसँग मीत।

मेरो कार्यमा सुस्तता छ, समय छ, विसंगति छ,

गाली र ताली छ।

ती कुराको पछि नलागौँ भन्ने म,

ती कुरालाई नै बाँच्ने आधार बनाइरहेछु।

मेरो नाम म जस्तो छैन,

अझै भनौँ भने मेरो कर्म पनि म जस्तो छैन।

मलाई आफ्नो दुनियाँमा रमाउँ भने खेरी,

रमाइलो आफैं सुइँकुच्चा ठोक्छ,

म गरिरहन्छु निस्कर्षविहीन कुरा,

म बनाई रहन्छु जीवनभर लक्ष्य अधुरा।

मेरो विचारमा दाग छ, अस्थिरता छ, कम्पन छ,

ध्वनीमा कठोरता र कर्कश छ।

तिनीहरूलाई नसुनौँ भन्ने म,

तिनै कुरालाई सुन्दै मनोरञ्जन गरिरहन्छु।

मेरो सफलता कुनै कामको छैन,

अझ भनौँ भने मेरो सफलता अस्थायी छ।

म आफू भित्रै डुबौँ भने खेरी,

डुब्ने विषय आफैं टाढा बन्न जान्छ,

म मरिरहन्छु हर पल हर क्षण,

म देखिरहन्छु हर ग्रह हर कण।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।