विभाजन

कविता डिल्लीप्रसाद अधिकारी March 25, 2025, 9:23 am

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
छुट्टिनुको आर्तनाद

मेरो ढुकढुकी सुन्दा थाहा हुन्छ

पुराना स्थापना ध्वस्त पारेर

कोही किन बिथोल्न चाहन्छ अझै

हाम्रो जोडिन थालेको समाजलाई ।।

खुकुरीको धारमा हिंसा दलेर

को हो यो दुष्कर्मी

कि टुक्राटुक्रा पारेर फेरि

टुक्र्याउने हाम्रो एकतालाई

वस्तुतः हाम्रो एकता

भर्खर टुसाउन लागेको छ।।

सभ्यताको यो होडमा

हामीले ऐँचो- पैँचो बिर्सेका छौँ

हामीले मेला पर्म बिर्सेका छौँ

हाम्रोमा विभाजनको श्रीगणेश

जसै उसले गर्‍यो

हामी बिस्तारै टुक्राटुक्रा बन्यौँ।

जब हामीलाई चोइटिनु हुन्न भन्ने ज्ञान भयो

उसको सत्ता ढल्यो

तर पनि अझै हामी त्यही युग

फर्काउने मोहमा छौँ

विभाजनको हलाहल कति हिंसक छ

छुट्टिनुको आर्तनाद थाहा पाउन

मेरो ढुकढुकी सुने हुन्छ ।।

भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।