बिरामी पहाड

कविता चिरञ्जीवी दाहाल April 6, 2025, 6:33 am

चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल
पहाड मेरो जन्मभूमि हो

मेरो मातृभूमि हो

पितृभूमि पनि हो

मेरो क्रीडा भूमि हो ।

अन्नदाता, दौँतरी र सहपाठी

साथी, नातेदार र दाजुभाइ

सबै हो पहाड ।

मेरो गाउँमा

सबैभन्दा शक्तिशाली थियो त

पहाड नै थियो

बहादुर, हकी र इमान्दार पनि ।

यदि यो पहाडको

कुनै प्रतिद्वन्द्वी थियो भने,

केवल हावामात्र रहेछ ।

युरोपतिरको चिसो हावा,

क्यानडा र अमेरिकी हिउँमा रङ्गिएको,

अष्ट्रेलियामा कङ्गारुले सास फेरेको ,

चिसो हावा ।

यसैगरि

अफ्रिकी वालुवामा पेलिएको,

खाडीको रसेटोबाट निस्किएको,

तातो हावा ।

मेरो पहाडका असली दुस्मन यिनै हावा थिए

यहुदीहरूको दुस्मन हिटलर जस्तै

त्यसैले लाग्छ,

हावा एकमात्र क्रुर शासक हो ।

जब पिरो धुवाँ बोकेर

हावाले शासन गर्न थाल्यो

शान्त पहाडलाई उकुसमुकुस बनायो

पहाडले हावाको प्रहार सहन सकेन

पहाडले हावाको अत्याचार सहन सकेन

पहाड अचानक बिरामी भयो ।

आजभोलि पहाड दुब्लाउँदै गएको छ

पहाडलाई अरुचि भएको छ

पहाड निदाउन छोडेको निकै भयो

ऊ सधैंजसो चिन्तित देखिन्छ

उसको शरीरमा

हाड र छाला मात्र देखिएको छ ।

सायद

अझै उपचारको उचित व्यवस्था नभए

एकदिन मेरो पहाडको

दु:खद अवसान हुनेछ ।

लाग्छ, अझै बितिसकेको छैन

समय केही बाँकी छ

मेरो पहाडले

उचित उपचार पायो भने

ऊ अझै बाँच्न सक्छ ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।