––“ए दलानारे दाइ ! आजकल कतातिर छौ ?”
साइलोको कुरा फुस्कन नपाउँदै दलान घरेले भनिहाल्यो ।
––“म त खाँटी छु नि पुरानैको !”
साइलोले पत्याएर लरक्क आफ्नो उकालो लाग्यो । एकदिन बजारतिर साइलो भारी खेप्न आएको थियो । दलान घरेलाई रातो झण्डा लिएर नारा लगाउँदै जिन्दावाद ! मूर्दावाद ! गर्दैथियो । यतिबेला साइलो अकमक्क पर्यो । केही दिनपछि साइलोले दलान घरेलाई गाऊँतिर लम्कँदै गरेको देख्यो । उसका हातमा यतिबेला पुरानो बिरासतको नयाँ पार्टीको झण्डा थियो । साइलो आफ्नो आँखाका केही दिन अगाडिका दृश्यहरू सम्झन्थ्यो र अगाडिको दृश्यबीच रहेको एक रुपताले नियाल्न खोज्थ्यो । तर उ सक्दैनथ्यो । आफ्ना भ्रमहरू लाई निश्चित गर्न दलान घरेतर्फ लम्केर सोध्यो ।
––“अस्तिका दिन हातमा रातो झण्डा थियो, आज पुरानो बिरासतको पार्टीको अर्कै झण्डा छ, किन ?”
उसले सरल सहज जवाफ दियो
––“तिमीहरू बुझ्दैनौ, यसलाई लिभिङ्ग ट्रयाक भन्छन् अंग्रेजीमा ।”
साइलोले बुझे झैं गरी मुन्टो हल्लायो । अप्सरियाहरू को द्वैध मानसिकता बारे पढेको कथाको आभास लागेर आफ्नो गन्तव्यतिर हिंड्यो ।